अध्याय २६
असल काम गर्न किन गाह्रो छ?
शावलले खराब काम गर्दा को खुसी भयो?—हो, सैतान खुसी भयो। अनि यहूदीहरूका धार्मिक नेताहरू पनि खुसी भए। तर शावल महान् शिक्षकका चेला पावल बनेपछि भने ती धार्मिक नेताहरूले तिनलाई घृणा गर्न थाले। येशूका चेलाहरूलाई असल काम गर्न किन गाह्रो छ भनेर तिमीले बुझ्यौ होला नि, होइन र?—
असल काम गर्दा पावलले किन दुःख पाए?
एक पटक, हननिया नाम गरेका प्रधान पुजारीले मानिसहरूलाई पावलको मुखमा हिर्काउने आदेश दिए। हननियाले पावललाई झ्यालखानामा हाल्ने प्रयाससमेत गरे। येशूको चेला बनेपछि पावलले धेरै दुःख भोग्नुपऱ्यो। उदाहरणका लागि, खराब मानिसहरूले पावललाई पिटे र तिनलाई ठूलठूला ढुङ्गाले हिर्काएर मार्न खोजे।—प्रेषित २३:१, २; २ कोरिन्थी ११:२४, २५.
हामीलाई धेरै मानिसले परमेश्वरलाई मन नपर्ने काम गर्न लगाउन खोज्नेछन्। त्यसैले यी प्रश्नहरूबारे विचार गर: असल कुरालाई तिमी कत्तिको प्रेम गर्छौ? असल काम गरेकोले अरूले घृणा गर्दा समेत त्यसप्रतिको गहिरो प्रेमले के तिमी असल काम गरी नै रहनेछौ? यसो गर्न साहस चाहिन्छ, होइन र?—
तिमीलाई लाग्ला: ‘असल काम गरे पनि मानिसहरूले हामीलाई किन घृणा गर्छन्? उनीहरू खुसी पो हुनुपर्ने त!’ यसो हेर्दा उनीहरू खुसी हुनुपर्ने नै हो। अक्सर, मानिसहरूले येशूले गरेको असल कामको लागि उहाँलाई मन पराउँथे। एकचोटिको कुरा हो, एउटा सहरका सबै मानिस उहाँ बसेको घरको ढोकामा जम्मा भए। येशूले बिरामीहरूलाई निको पार्नुहुने कुरा सुनेकाले ती मानिसहरू उहाँकहाँ आएका थिए।—मर्कूस १:३३.
तर येशूले सिकाएको कुरा कहिलेकाहीं मानिसहरूलाई मन पर्दैन थियो। उहाँले सधैं सही कुरा सिकाउनुभए तापनि केही मानिसले उहाँलाई घृणा गरे किनभने उहाँ सत्य बोल्नुहुन्थ्यो। यस्तै एउटा घटना येशू हुर्केको सहर नासरतमा भयो। एक दिन उहाँ सभाघरमा अर्थात् परमेश्वरलाई उपासना गर्न यहूदीहरू भेला हुने ठाउँमा जानुभयो।
त्यहाँ उहाँले धर्मशास्त्रबाट राम्रो भाषण दिनुभयो। सुरुमा त मानिसहरूले उहाँको भाषण मन पराए। उहाँका मीठा-मीठा वचन सुनेर तिनीहरू छक्क परे। यी मानिस आफ्नै सहरमा हुर्केका हुन् भनेर तिनीहरूलाई विश्वास गर्नै गाह्रो भयो।
तर पछि येशूले अर्कै एउटा कुरा भन्नुभयो। परमेश्वरले यहूदीबाहेकका अरू जातिलाई विशेष दया देखाएको समयबारे उहाँले बताउनुभयो। उहाँको यो कुरा सुनेर सभाघरमा हुनेहरू रिसाए। किन?—किनभने परमेश्वरको विशेष दया पाउने मानिसहरू आफूहरू मात्र हो भनी तिनीहरू सम्झन्थे। तिनीहरूले आफूलाई अरू मानिसभन्दा उच्च ठान्थे। त्यसैले येशूको कुरा सुनेर तिनीहरूले उहाँलाई घृणा गरे। तिनीहरूले उहाँलाई के गर्न खोजे, तिमीलाई थाह छ?—
बाइबल भन्छ: ‘तिनीहरूले येशूलाई समाते र हतारपतार सहरबाहिर पुऱ्याए। अनि उहाँलाई डाँडाको टुप्पोतिर लगे र भीरबाट खसालेर उहाँलाई मार्न खोजे। तर भीडलाई पन्छाउँदै उहाँ आफ्नो बाटो लाग्नुभयो।’—लूका ४:१६-३०.
यी मानिसहरू किन येशूलाई मार्न खोज्दैछन्?
तिमीलाई यस्तो भएको भए के तिमी ती मानिसहरूलाई परमेश्वरबारे बताउन फर्केर जाने थियौ?—यसको लागि साहस चाहिन्छ नि, होइन र?—तर येशू लगभग एक वर्षपछि फेरि नासरतमा जानुभयो। बाइबल भन्छ: “उहाँले तिनीहरूको सभाघरमा सिकाउन थाल्नुभयो।” परमेश्वरलाई प्रेम नगर्ने मानिसहरूसित डराएर येशूले सत्य बोल्न छोड्नुभएन।—मत्ती १३:५४.
अर्को एकचोटि, विश्राम-दिनमा येशू हात सुकेको एक जना मानिस भएको ठाउँमा पुग्नुभयो। परमेश्वरबाट पाएको शक्तिद्वारा येशू उक्त मानिसलाई निको पार्न सक्नुहुन्थ्यो। तर त्यहाँ भएका केही मानिसले उहाँको लागि समस्या खडा गर्न खोज्दै थिए। महान् शिक्षकले के गर्नुहुने थियो?—सुरुमा उहाँले सोध्नुभयो: ‘आफूसित भएको एउटा भेडो विश्राम-दिनमा खाल्डोमा खस्यो भने तिमीहरू त्यसलाई समातेर बाहिर निकाल्दैनौ र?’
तिनीहरूले विश्राम-दिन भए तापनि भेडोलाई खाल्डोबाट अवश्यै निकाल्ने थिए। तर खासमा विश्राम-दिनमा केही काम नगरी आराम गर्नुपर्थ्यो। त्यसैले येशूले यसो भन्नुभयो: ‘विश्राम-दिनमा मानिसलाई मदत गर्नु झन् राम्रो हो। किनभने भेडोभन्दा मानिस झन् धेरै बहुमूल्य हुन्छ।’ येशूले ती मानिसलाई निको पारेर मदत गर्नु उचित हो भनेर स्पष्ट भयो नि, हगि!
उहाँले ती मानिसलाई ‘हात पसार’ भन्नुभयो। अनि उनको हात निको भइहाल्यो। उनी कत्ति खुसी भए होलान्! तर त्यहाँ भएका अरू मानिस नि? के तिनीहरू खुसी भए?—अहँ, भएनन्। तिनीहरूले येशूलाई झन् धेरै घृणा गर्न थाले। तिनीहरू त्यहाँबाट गए अनि उहाँलाई मार्ने योजना बनाए।—मत्ती १२:९-१४.
आज पनि अवस्था यस्तै छ। जे-जसो गरे पनि हामी कहिल्यै सबैलाई खुसी पार्न सक्दैनौं। त्यसैले कसलाई साँच्चै खुसी पार्न चाहन्छौं, त्यो हामीले पक्का गर्नुपर्छ। हामीले खुसी पार्न चाहने यहोवा परमेश्वर र उहाँको छोरा येशू ख्रीष्ट हुनुहुन्छ भने सधैं उहाँहरूले सिकाएअनुसार गर्नै पर्छ। तर यसो गर्दा हामीलाई कसले घृणा गर्नेछ? असल काम गर्न हामीलाई कसले गाह्रो बनाइदिन्छ?—
हो, सैतान अर्थात् दियाबलले। अनि अरू कसले?—तिनीहरूले जो दियाबलले मूर्ख बनाएको कारण गलत कुराहरूमा विश्वास गर्छन्। येशूले आफ्ना समयका धार्मिक नेताहरूलाई यसो भन्नुभयो: “तिमीहरू आफ्नो बुबा दियाबलबाट आएका हौ अनि आफ्नो बुबाकै इच्छा पूरा गर्न चाहन्छौ।”—यूहन्ना ८:४४.
दियाबलले मन पराउने मानिसहरू थुप्रै छन्। येशूले ती मानिसहरूलाई “संसार” भन्नुभयो। येशूले भनेको “संसार” के हो?—यूहन्ना अध्याय १५ को पद १९ पढी हेरौं है! त्यहाँ येशूले यसो भन्नुभएको पाउँछौं: “तिमीहरू यस संसारका हुँदा हौ त, संसारले आफ्नो ठानेर तिमीहरूलाई माया गर्नेथियो। अब तिमीहरू यस संसारका होइनौ तर मैले तिमीहरूलाई यस संसारबाट रोजेको छु। त्यसैले संसारले तिमीहरूलाई घृणा गर्छ।”
यसकारण येशूका चेलाहरूलाई घृणा गर्ने संसार, येशूको पछि नलाग्ने मानिसहरू मिलेर बनेको छ। संसारले येशूका चेलाहरूलाई किन घृणा गर्छ?—सोच त! यो संसारको शासक को हो?—बाइबल भन्छ: “सारा संसार त्यस दुष्टको हातमा परेको छ।” त्यो दुष्ट, सैतान अर्थात् दियाबल हो।—१ यूहन्ना ५:१९.
असल काम गर्न किन गाह्रो छ, अब तिमीले बुझ्यौ कि?—सैतान अनि त्यसको संसारले गर्दा गाह्रो भएको हो। तर अर्को कारण पनि छ। त्यो के हो, तिमीले सम्झेका छौ?—हामी सबै पापसहित जन्मेका छौं भनेर हामीले अध्याय २३ मा सिकेका थियौं। पाप, दियाबल अनि त्यसको संसार केही पनि नहुँदा कत्ति राम्रो हुनेछ नि, होइन र?—
यो संसार बितेर जाँदा असल काम गर्नेहरूलाई के हुनेछ?
बाइबल यस्तो प्रतिज्ञा गर्छ: “संसार बितेर जाँदैछ।” यसको मतलब महान् शिक्षकको पछि नलाग्नेहरू सबै नाश हुनेछन्। तिनीहरूलाई सधैंभरि बाँच्न दिइनेछैन। त्यसोभए सधैंभरि को बाँच्नेछन्, तिमीलाई थाह छ?—बाइबल अझै यसो भन्छ: “जसले परमेश्वरको इच्छा पूरा गर्छ, ऊ सधैंभरि रहिरहन्छ।” (१ यूहन्ना २:१७) हो, असल काम गर्नेहरू र ‘परमेश्वरको इच्छा पूरा गर्नेहरू’ मात्र नयाँ संसारमा सधैंभरि बाँच्नेछन्। त्यसैले गाह्रै भए पनि हामी असल काम गर्न चाहन्छौं नि, होइन र?—
असल काम गर्न किन गाह्रो छ भनेर देखाउने यी बाइबल पदहरू पढौं: मत्ती ७:१३, १४; लूका १३:२३, २४ अनि प्रेषित १४:२१, २२.