बाहिरी रूप भ्रमात्मक हुन सक्छ
“बाहिरी रूपलाई विश्वास गरेर साध्य छैन।” सो टिप्पणी आयरिश नाटककार रिचर्ड शेरिडॅनले गरे। र यो कुरा वृक्ष र मानिस दुवैमा लागू हुन्छ।
सा० यु० ३३ मार्च महिनाको अन्ततिर एक दिन, येशू ख्रीष्टले एउटा नेभाराको रूख देख्नुभयो। त्यतिबेला उहाँ र उहाँका चेलाहरू बेथानीबाट यरूशलेम तर्फ हिड्नु हुँदै थियो। त्यो रूखमा पातहरू झ्याम्मै पलाएको थियो तर नजिकबाट नियालेर हेर्दा चाहिं त्यसमा एउटा फल पनि फलेको भेट्टिएन। त्यसकारण येशूले त्यसलाई यसो भन्नुभयो: “अब उप्रान्त तेरो फल कोही मानिसले नखाओस्।”—मर्कूस ११:१२-१४.
तर मर्कूसको व्याख्या अनुसार त, “त्यसबेला नेभाराको समय थिएन”। (मर्कूस ११:१३) यसकारण, येशूले त्यस रूखलाई किन श्रापनु भएको? कुरा के हो भने, नेभाराको रूखमा पात पलाउँदा, सामान्यतया त्यसमा नेभारा पनि चाँडै नै फलिसकेको हुन्छ। सालको त्यस समयतिर नेभाराको रूखमा पातहरू हुनु निश्चय नै एउटा अनौठो कुरा थियो। तैपनि त्यसमा पातहरू भएको हुँदा येशूले त्यसमा फल भेट्टाउने आशा गर्नु मनासिब थियो। (माथिको चित्र हेर्नुहोस्।) तर त्यस रूखमा पातहरू मात्र पलाएको हुनाकारण त्यो पक्कै पनि अफलदायी नै हुने थियो। त्यसको बाहिरी रूप भ्रमात्मक थियो। फलफूलका रूखहरूमा कर लगाइने भएको हुनाले, एउटा अफलदायी रूख आर्थिक बोझ थियो र त्यसलाई काटेर ढालिदिनु आवश्यक थियो।
नेभाराको त्यस अफलदायी रूखद्वारा येशूले विश्वास सम्बन्धी एउटा महत्त्वपूर्ण पाठ सिकाउनु भयो। भोलिपल्ट, त्यो रूख पूरै ओइलाइ सकेको देख्दा चेलाहरू छक्क परे। येशूले तिनीहरूलाई भन्नुभयो: “परमेश्वरमा विश्वास राख। . . . सबै कुरा जेको निम्ति तिमीहरू प्रार्थना गर्दछौ, र माग्दछौ, सो पाएका छौ भन्ने विश्वास राख, र त्यो तिमीहरूले पाउनेछौ।” (मर्कूस ११:२२-२४) विश्वासका साथ प्रार्थना गर्नु पर्ने आवश्यकतालाई चित्रण गर्नु बाहेक, विश्वासको अभाव हुने राष्ट्रको गति के हुने छ, सो कुरा पनि नेभाराको त्यो सुकेको रूखले प्रष्टसङ्ग देखायो।
केही महिना अघि मात्र येशूले यहूदी राष्ट्रलाई नेभाराको एउटा रूखसङ्ग तुलना गर्नुभएको थियो। त्यसले तीन वर्षसम्म फल फलाएको थिएन र त्यो यसरी नै अफलदायी रहेमा त्यसलाई काटेर ढालिने थियो। (लूका १३:६-९) तर यहूदी राष्ट्रले पश्चाताप योग्यको फल फलाएन र अब त्यसको नाश हुने छ भन्ने कुरा येशूले आफ्नो मृत्युभन्दा चार दिन अघि मात्र नेभाराको रूखलाई श्रापेर देखाउनुभयो। नेभाराको रूख जस्तै, त्यो राष्ट्र पनि बाहिरबाट झ्वाट्ट हेर्दा त ठीकठाक देखिन्थ्यो। तर नियाँलेर हेर्दा त्यसमा विश्वासको अभाव फेला पऱ्यो। यसैले गर्दा, अन्ततोगत्वा त्यसले मसीहलाई समेत इन्कार गर्न पुग्यो।—लूका ३:८, ९.
आफ्नो डाँडाको उपदेशमा, येशूले “झूटा अगमवक्ताहरू”-को विरुद्धमा चेताउनी दिनुभयो र भन्नुभयो: “तिनीहरूको फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के काँढाका बोटहरूबाट अङ्गूर अथवा सिउँड़ीहरूबाट नेभारा बटुलिन्छ र? त्यसैगरी हरेक असल रूखले बढ़िया फल फलाउँछ। तर बिग्रेको रूखले खराब फल फलाउँछ। असल रूखले खराब फल फलाउनसक्तैन, नता बिग्रको रूखले असल फल फलाउनसक्तछ। बढ़िया फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ। यसकारण तिनीहरूका फलबाटनै तिमीहरूले तिनीहरूलाई चिन्नेछौ।” (मत्ती ७:१५-२०) येशूका यी शब्दहरू र नेभाराको त्यस श्रापित रूखको वर्णनले हामीलाई आत्मिक तवर्मा सतर्क हुने खाँचो देखाउँछ किनभने धर्मको रूप पनि भ्रमात्मक हुन सक्छ। (w92 11/15)