प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ४/१५ पृ. २२-२५
  • एजियन समुद्रमा मानिसहरू पक्रने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एजियन समुद्रमा मानिसहरू पक्रने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • इनामदायी प्रचार अभियानहरू
  •  बन्दरगाहहरूमा “जाल हान्दै”
  • घुमन्ते “माछा” पक्रने
  • यहोवाले बढाउनुहुन्छ
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ४/१५ पृ. २२-२५

एजियन समुद्रमा मानिसहरू पक्रने

एजियन समुद्रलाई उत्तर तथा पश्‍चिममा धेरैजसो ग्रीसको भूभागले घेरिएको छ भने, दक्षिणमा क्रेट टापु अनि पूर्वमा टर्कीले घेरेको छ र त्यस समुद्रले पूर्वीय भूमध्यसागरको अधिकांश भाग ओगटेको छ। केही पुराना सभ्यताहरूको उद्‌गमस्थल एजियन समुद्र, ठूला-साना टापुहरूले सिंगारिएको छ। घामको किरणले चमक्क चम्केका सेता रंगका स-साना घरहरू छरपस्ट भएका टापुहरूको गल्ड्याङगुल्डुङ परेका सिमानाहरू देखेर एक कविले उत्प्रेरित भई ती टापुहरूलाई “बाक्लो भुत्ला भएका ढुंगे घोडाहरू” भने।

अतः यी टापुहरू संसारका सबैभन्दा लोकप्रिय पर्यटक क्षेत्रहरूमध्ये एक हुनु कुनै अनौठो कुरो होइन! त्यहाँ बसोबास र काम गर्ने पुरुष तथा स्त्रीहरूको उत्कृष्ट गुणहरूले त्यस ठाउँलाई अझै सुन्दर बनाएको छ। विनम्र र अतिथि सत्कार गर्नुमा सिपालु टापुवासीहरूको स्वाबलम्बीपनले गर्दा पनि यो ठाउँ अनुपम हुन पुगेको छ।

प्रायजसो टापुवासीहरू एजियन समुद्रका माछा पक्रेर जीविका चलाउँछन्‌। तथापि, अर्को महत्त्वपूर्ण ‘जाल हान्‍ने काम[ले]’ पनि त्यस ठाउँमा प्रशस्त फल फलाइरहेको छ। “मानिसहरूका जलाहारी” अर्थात्‌ परमेश्‍वरको राज्यको सुसमाचार प्रचारकहरू मसीही चेला बनाउँदै एजियनका टापुहरू वारपार जान्छन्‌।—मत्ती ४:१८, १९; लूका ५:१०.

लगभग १९ औं शताब्दीअघि मसीही प्रचारकहरूले एजियनका टापुहरूमा प्रवेश गरेका थिए। सा.यु. ५६ तिर आफ्नो तेस्रो मिसनरी यात्राबाट फर्कंदा प्रेरित पावलले लेज्बस, चिओस, सेमस, कोस र रोडसका टापुहरूमा केही समय बिताएका थिए। सधैं जोसिलो भएर प्रचार गर्ने पावलले ती टापुहरूका केही मानिसहरूलाई पक्कै पनि प्रचार गरेको हुनुपर्छ। (प्रेरित २०:१४, १५, २४; २१:१, २) दुई वर्ष रोमको कैदमा बिताएपछि तिनले अवश्‍य क्रेटको भ्रमण गरेर मसीही क्रियाकलापमा भाग लिएको हुनुपर्छ। पहिलो शताब्दीको अन्तमा प्रेरित यूहन्‍नाले “परमेश्‍वरको वचन र येशू ख्रीष्टको साक्षीको निम्ति” पत्मोसको टापुमा निर्वासित जीवन बिताउनुपऱ्‍यो। (प्रकाश १:९) अहिले ती टापुहरूमा सुसमाचारका उद्‌घोषकहरू के गर्दैछन्‌ त?

इनामदायी प्रचार अभियानहरू

यी टापुहरूमा प्रचार गर्न गाह्रो र चुनौतिपूर्ण छ। त्यसको लागि कडा परिश्रम र आत्म-त्यागी भाव चाहिन्छ। कुनै कुनै टापुहरू अत्यन्तै दुर्गम छन्‌। तीमध्ये कुनै ठाउँहरूमा समुद्री वा हवाई यात्रा गरेर जानु सधैं उपयुक्‍त हुँदैन भने कुनै कुनै ठाउँमा त जानै मिल्दैन, अझ विशेष गरी हिउँदको मौसममा। मेल्टेम्या अर्थात्‌ उत्तर दिशाबाट तेज हावा बग्दा समुद्रमा यात्रा गर्न गाह्रो हुनसक्छ। साथै, टापुमा भएका थुप्रै गाउँहरू एकलास ठाउँमा छन्‌ र बुंगबुंगती उड्‌ने धूलो तथा खाल्डाखुल्डी बाटोले गर्दा त्यहाँ जान पनि सजिलो छैन। कुनै कुनै गाउँहरूमा त साना डुंगाहरू चढेर मात्र जान सकिन्छ।

उदाहरणका लागि, ईकेरिया टापुलाई लिनुहोस्‌। त्यहाँको सानो मण्डलीमा राज्यको सुसमाचार प्रचार गर्ने ११ जना प्रकाशकहरू मात्र छन्‌। तिनीहरूले त्यस टापुको सबै गाउँ र नजिकैका स-साना टापुहरूमा गएर प्रचार गर्नसक्दैनन्‌। तसर्थ, सेमसका मसीही भाइबहिनीहरू आएर ईकेरियाका साथै फूर्नी, पत्मोस र लिप्सेसका टापुहरूका मानिसहरूलाई प्रचार गर्न मदत गर्छन्‌। भर्खरैको कुरा हो, यस्तै दुई दिने अभियानमा साक्षीहरूले ६५० वटा पत्रिका, ९९ वटा पुस्तिका र बाइबल विषयका २५ वटा पुस्तकहरू वितरण गरे! यहोवा को हुनुहुन्छ भनेर चिन्दै नचिन्‍ने मानिसहरूले बाइबलका अझ थुप्रै कुराहरू सिकाउन बसून्‌ भनेर बिन्ती गर्दा तिनीहरू छक्क परे। एउटी महिलाले एउटी साक्षीलाई यसो भनिन्‌: “तपाईं त जानलाग्नुभयो। तर मलाई बाइबलबाट अझ थुप्रै प्रश्‍नहरूको जवाफ चाहिएको छ। मलाई कसले मदत गर्छ?” त्यस मसीही बहिनीले टेलिफोनद्वारा कुरा गर्ने वचन दिइन्‌ र टेलिफोनद्वारै बाइबल अध्ययन पनि सुरु गरिन्‌।

परिभ्रमण निरीक्षकले ईकेरियाको भ्रमण गर्दा एकै सप्ताहन्तमा पूरै टापुको भ्रमण गर्ने प्रबन्ध मिलाए। तिनले सेमसका ३० जना राज्य प्रकाशकहरूको मदत मागे। भ्रमण गर्न आएका ती भाइहरूले दुई रात होटेलमा बसेको पैसालगायत मोटर र फोर-व्हिल-ड्राइभको गाडी भाडा तिर्नुपर्थ्यो। त्यतिखेर दुई दिन मुसलधारे पानी परिसकेको थियो र त्यस सप्ताहन्तको मौसम पनि त्यति अनुकूल नहुने अनुमान गरिसकिएको थियो। तर भाइहरूले उपदेशक ११:४ का यी शब्दहरू सम्झँदै अघि बढे: “बतासको विचार गर्नेले कहिल्यै छर्दैन, औ बादलमा नजर राख्नेले कहिल्यै कटनी गर्दैन।” पछि मौसम केही मात्रामा भए पनि सुध्रन थाल्यो। आफूसित भएको महत्त्वपूर्ण सन्देश पूरै टापुमा सुनाइसकेपछि ती भाइहरू खुसी र सन्तुष्ट भएर घर फर्के।

आन्ड्रोस टापुमा बसोबास गर्ने १६ जना प्रकाशकहरू पूरै टापु ढाक्न कडा परिश्रम गर्छन्‌। दुई भाइहरूले एकलासमा भएको गाउँमा पुगेपछि त्यहाँका सबै गाउँलेहरूलाई प्रचार गर्ने संकल्प गरे। तिनीहरूले घर, बाटो र खेतहरूमा मानिसहरूसित कुरा गरे। प्रहरी चौकीमा समेत गएर तिनीहरूले साहित्य प्रस्तुत गरे। सबै गाउँलेहरूलाई भेट्‌न सिद्धियो भनेर निश्‍चित हुँदै तिनीहरू एकअर्कालाई बिदा मागेर गाउँको चोकबाट फर्कनै लाग्दा तिनीहरूले ग्रीक अर्थोडक्स पादरी आउँदै गरेको देखे। तिनलाई पनि साक्षी दिने हेतुले तिनीहरूले एउटा सानो प्रकाशन दिए, जुन तिनले खुसीसाथ स्वीकारे। अब भने प्रचार गर्न कोही पनि बाँकी छैन भनेर ढुक्क हुँदै तिनीहरू फर्के!

क्रेटको खोचमा ३८ जना मात्र बासिन्दाहरू भएको सानो टापु, गेभ्डसलाई (अथवा क्लौदा) युरोपको सबैभन्दा दक्षिणी भाग भनिन्छ। (प्रेरित २७:१६) परिभ्रमण निरीक्षक र तिनकी पत्नीले अर्को विवाहित दम्पतीसँग त्यस ठाउँमा प्रचार गर्दै तीन दिन बिताए। खर्च कम गर्नको लागि तिनीहरू पालमा सुते। तिनीहरूले त्यहाँका सबै बासिन्दाहरूलाई सुसमाचार सुनाए र मानिसहरूले पूर्वाग्रह नदेखाएकोमा रमाए। तिनीहरूले यहोवाका साक्षीहरूबारे राम्रो नराम्रो केही पनि सुनेका थिएनन्‌। पादरीलगायत त्यहाँका मानिसहरूले १९ वटा पुस्तक र १३ वटा पुस्तिकाहरू राखे। ती साक्षीहरू सानो डुंगा चढेर क्रेट फर्कंदै गर्दा ज्यानै खतरामा पार्ने गरी समुद्र उर्ल्यो। तिनीहरूले यसो भने, “सुरक्षितसाथ घर फर्कन पाएकोमा हामीले यहोवालाई धन्यवाद दिनुका साथै युरोपको सबैभन्दा दक्षिणी भागमा उहाँको नाउँको सम्मान गर्ने अनुमति पाएकोमा पनि उहाँको महिमा गऱ्‍यौं।”

प्रेरित यूहन्‍नाले पत्मोस टापुमा बाइबलको अन्तिम पुस्तक, प्रकाश लेखेका हुन्‌। केही समयअघिसम्म पत्मोसमा एक जना पनि साक्षी थिएन। सेमसका भाइहरूले होसियारीसाथ, त्यस टापुमा प्रचार गर्ने प्रबन्ध मिलाए किनकि उक्‍त टापु ग्रीक अर्थोडक्स चर्चको मुख्य गढ भएकोले घोर विरोध आइपर्नसक्छ भनेर तिनीहरूलाई थाह थियो। दुई बहिनीहरूले एउटी महिलालाई सुसमाचार सुनाइरहेका थिए। त्यस महिलाले तिनीहरूलाई घरभित्र बोलाइन्‌। त्यस महिलाको पतिले ती बहिनीहरूलाई तिनको घरमा कसले पठाएको भनेर बताउन जिद्दी गरे। हामी सबैको घर जान्छौं भनेर ती बहिनीहरूले भन्दा तिनले फेरि सोधे: “के साँच्चै तपाईंहरूलाई हाम्रो कुनै छिमेकीले पठाएको होइन?” जाइरमा हुँदा तिनकी पत्नीले यहोवाका साक्षीहरूबारे थाह पाएकी रहेछिन्‌। साक्षीहरू आउनुअघि त्यस बिहान भएको घटनाबारे ती बहिनीहरूलाई तिनले पछि बताइन्‌। तिनले यसो भनिन्‌: “यस टापुमा पनि कुनै साक्षीहरूलाई पठाइदिऊन्‌ भनेर मैले सधैंझैं त्यस बिहान पनि यहोवालाई प्रार्थना गर्दै थिएँ। मैले त्यसो गरेको देखेर मेरो पति हाँस्नुभयो। तपाईंहरूलाई ढोकामा देख्दा म र मेरो पति छक्कै पऱ्‍यौं। त्यसैकारण, तपाईंहरूलाई यहाँ कसले पठाएको भनेर उहाँले सोध्नुभएको।” त्यस महिलासित तुरुन्तै बाइबल अध्ययन सुरु गरियो। दस महिनासम्म टेलिफोन मार्फत अध्ययन सञ्चालन गरियो। त्यस बहिनी र इच्छुक महिला, दुवैले थुप्रै पैसा खर्च गर्नुपऱ्‍यो। तिनले बप्तिस्मा लिइन्‌ र प्रेरित यूहन्‍नालाई १,९०० वर्षअघि एक्लै राखिएको त्यस टापुमा अब तिनी एक मात्र साक्षी हुन्‌।

 बन्दरगाहहरूमा “जाल हान्दै”

हरेक ग्रीष्म ऋतुमा बिदा मनाउन आउने थुप्रै मानिसहरू बोक्ने ठूलठूला पानीजहाजहरू एजियन टापुका विभिन्‍न बन्दरगाहहरूमा रोक्छन्‌, जुन यहोवाका साक्षीहरूको निम्ति थुप्रै राष्ट्र र भाषाहरूका मानिसहरूलाई भेट्‌ने सुनौलो मौका हो। मण्डलीहरूले विभिन्‍न भाषाहरूमा थुप्रै बाइबल साहित्यहरू राख्छन्‌ र प्रकाशकहरूले पर्यटकहरूलाई हजारौं हजार पत्रिकाहरू वितरण गर्छन्‌। केही ठूलठूला पानीजहाजहरू हरेक हप्ता एउटै बन्दरगाहमा आउँछन्‌ र त्यसले गर्दा भाइहरूले पुनःभेट गर्ने तथा जहाजका केही कामदारहरूसित बाइबल अध्ययन गर्नेसमेत उत्कृष्ट मौका पाएका छन्‌।

सन्‌ १९९६ को ग्रीष्म ऋतुको कुरा हो, रोडसमा पूर्ण-समय प्रचारकको रूपमा सेवारत एउटी बहिनीले त्यस बन्दरगाहमा हरेक शुक्रबार आउने जंगी पानीजहाजमा काम गर्ने जमैकाका एक जवानलाई साक्षी दिइन्‌। अर्को शुक्रबार उक्‍त व्यक्‍तिलाई त्यस टापुमा आयोजित जिल्ला अधिवेशनमा उपस्थित हुन आमन्त्रित गरियो। अंग्रेजी बाइबलको मदतले त्यस अग्रगामी बहिनीले तिनलाई कार्यक्रममा प्रस्तुत गरिएका केही बाइबल सत्यहरू बुझ्न मदत गरिन्‌। अधिवेशनमा साक्षीहरूले देखाएको प्रेम र स्नेह देखेर त्यस जवान व्यक्‍ति निकै प्रभावित भए। अर्को शुक्रबार त्यस व्यक्‍तिले दुई जना अग्रगामीहरूलाई जहाजमा बोलाए। अंग्रेजी र स्पेनी साहित्यहरू लिएर ती अग्रगामीहरू गए। तिनीहरूको झोला खाली हुन एक घण्टा पनि लागेन! जमैकाका त्यस जवान व्यक्‍तिले ग्रीष्म ऋतुको अन्तसम्म हरेक शुक्रबार बाइबल अध्ययन गरे। अर्को ग्रीष्म ऋतुमा फेरि अध्ययन थाल्न तिनी फर्के। तथापि, यसपाली आध्यात्मिक प्रगति गर्न तिनले जागिर फेर्ने निर्णय गरे। त्यसपछि, तिनी फेरि फर्केर गए। सन्‌ १९९८ को सुरुतिर त्यस जवान व्यक्‍तिले बप्तिस्मा लिए भनेर सुन्‍न पाउँदा रोडसका भाइहरू असाध्यै खुसी भए!

घुमन्ते “माछा” पक्रने

सार्डिन अनि सोडफिसजस्ता घुमन्ते माछाहरू एजियन समुद्रमा प्रशस्त पाइन्छ, जो अन्ततः घुम्दैफिर्दै सिपालु जालहारीहरूको जालमा फँस्छन्‌। त्यस्तै गरी, राज्य प्रचारकहरूले विभिन्‍न पूर्वीय युरोपेली देशहरूबाट ग्रीसमा बसाइँ सर्ने मानिसहरूमध्ये थुप्रै सुन्‍न इच्छुक भएको पाएका छन्‌।

प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-का पानाहरूमा यहोवा र उहाँका उद्देश्‍यबारे पहिलो चोटि पढ्‌दा रेजी दस वर्षकी थिइन्‌। त्यतिखेर तिनी अल्बेनियामा थिइन्‌। तीन वर्षपछि तिनी आफ्नो परिवारसित रोडस टापुमा बसाइँ सरिन्‌। एक दिन रेजीले तिनको नयाँ घरमा यहोवाका जनहरू भेट्‌न पाऊँ भनेर प्रार्थना गरिन्‌। अर्को दिन तिनको बुबाले चिरपरिचित पत्रिकाहरू अर्थात्‌ प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! लिएर घर फर्के। यो देखेर रेजी अत्यन्तै खुसी भइन्‌। तिनको बुबालाई ती पत्रिकाहरू दिने बहिनीलाई रेजीले भेटिन्‌ र चाँडै ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकबाट अध्ययन सुरु गरिन्‌। कहिलेकाहीं तिनी एकै दिनमा तीन चोटि अध्ययन गर्न आग्रह गर्थिन्‌! दुई महिनापछि तिनी बप्तिस्मा अप्राप्त प्रकाशक भइन्‌ र १९९८ मार्च महिनामा १४ वर्षको उमेरमा बप्तिस्मा लिइन्‌। त्यही दिनदेखि तिनले सहायक अग्रगामीको काम सुरु गरिन्‌ र छ महिनापछि तिनले नियमित अग्रगामी अथवा पूर्ण-समय सेविका बन्‍नका लागि नाउँ लेखाइन्‌।

कोस टापुमा एक जना भाइले केही रूसीहरूसित अध्ययन गरिरहेका थिए। तिनले बाइबल अध्ययन गर्न चाहने तिनीहरूको कोही साथीहरू छन्‌ कि भनेर सोद्धा तिनीहरूले तिनलाई लगभग ३० किलोमिटर टाढा गाउँमा बस्ने आर्मेनियाली दम्पती, लिओनिडास र तिनकी पत्नी ओफेलिआकहाँ लगे। ती भाइहरूले अचम्मको कुरा देख्न बाँकी नै थियो। उक्‍त आर्मेनियाली दम्पतीले वाच टावर सोसाइटीद्वारा प्रकाशित एक झोला आर्मेनियाली र रूसी बाइबल साहित्यहरू देखाए! तिनीहरूले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्दै जाँदा उन्‍नति पनि गरेर आफू बप्तिस्मा अप्राप्त प्रकाशक हुनको लागि ठिक्क परेको कुरा बताए। राजनैतिक उथलपुथल र आर्थिक समस्याहरूले गर्दा तिनीहरूले स्वदेश छोड्‌नुपऱ्‍यो। कोसमा आउनेबित्तिकै तिनीहरूले पहिलादेखि नै त्यहाँ बस्दै आएका लिओनिडासकी आमा र बहिनीसित अध्ययन गर्न थाले। केही समय नबित्दै उक्‍त साक्षीले तीन वटा नयाँ बाइबल अध्ययनहरू सञ्चालन गर्नु पर्ने भयो—एउटा ओफेलियासँग, एउटा लिओनिडाससँग र अर्को तिनकी आमा तथा बहिनीसँग। यसको लागि तिनले हरेक हप्ता मोटरसाइकलमा ३० किलोमिटर यात्रा गर्नुपर्थ्यो। केही महिनापछि लिओनिडास र तिनकी पत्नीले बप्तिस्मा लिए। स्थानीय भाइहरूको आत्म-त्यागी भावको कस्तो असल इनाम!

यहोवाले बढाउनुहुन्छ

यी एजियन टापुहरूका २,००० भन्दा बढी सक्रिय राज्य उद्‌घोषकहरूको अथक प्रयासमाथि यहोवाले दिनुभएको आशिष्‌ प्रस्ट छ। अहिले त्यहाँ ४४ वटा मण्डली र यहोवाका साक्षीहरूको २५ वटा समूहहरू छन्‌। तीमध्ये १७ वटा समूहहरू विदेशी भाषाहरूमा सञ्चालन हुन्छन्‌ किनकि “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌” भनेर यहोवाले इच्छा गर्नुहुन्छ। (१ तिमोथी २:४) यसबाहेक, १३ जना विशेष अग्रगामीहरूले ती थुप्रै एकलासे क्षेत्रहरूमा जानको लागि कडा मेहनत गर्दैछन्‌।

शताब्दीयौंदेखि एजियन समुद्र, सांस्कृतिक विकास र व्यापारको केन्द्र हुँदै आएको छ। हालैका दशकहरूमा लाखौं पर्यटकहरूको लागि त्यो टापु छुट्टी मनाउने लोकप्रिय ठाउँ भएको छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने, “मानिसहरूका जलाहारी[को]” हैसियतमा राज्य उद्‌घोषकहरूले ती टापुहरूमा यहोवाको प्रशंसा गर्न इच्छुक र सोझो हृदय भएका थुप्रै मानिसहरू भेट्टाएका छन्‌। तिनीहरू सबैले यस भविष्यसूचक निमन्त्रणाप्रति सकारात्मक प्रतिक्रिया देखाएका छन्‌: “तिनीहरूले परमप्रभुलाई महिमा देऊन्‌, र समुद्र किनारका देशहरूमा उहाँको प्रशंसाको प्रचार गरून्‌।”–यशैया ४२:१२.

[पृष्ठ २२-मा भएको नक्सा]

एजियन समुद्र

ग्रीस

लेज्बस

चिओस

सेमस

ईकेरिया

फूर्नी

पत्मोस

कोस

रोडस

क्रेट

टर्की

[पृष्ठ २३-मा भएको चित्र]

लेज्बस टापु

[पृष्ठ २४-मा भएको चित्र]

पत्मोस टापु

[पृष्ठ २४-मा भएको चित्र]

क्रेट टापु

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने