प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 १२/१५ पृ. १७-१८
  • मेक्सिकोमा भएका चिनियाँहरूलाई मदत गर्दै

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मेक्सिकोमा भएका चिनियाँहरूलाई मदत गर्दै
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 १२/१५ पृ. १७-१८

मेक्सिकोमा भएका चिनियाँहरूलाई मदत गर्दै

“सबै जातिका विभिन्‍न भाषा बोल्नेहरूमध्ये दश जना मानिसले एउटा यहूदीको लुगा समातेर यसो भन्‍नेछन्‌, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।’ ” (जकरिया ८:२३) यो सुन्दर भविष्यवाणी आज संसारभरि पूरा भइरहेको छ। “सबै जातिका विभिन्‍न भाषा बोल्ने” मानिसहरूले यहोवा परमेश्‍वरको उपासना गर्न आध्यात्मिक इस्राएलको लुगा समातिरहेका छन्‌। यस भविष्यवाणीको पूर्तिमा यहोवाका साक्षीहरू गहिरो चासो राख्छन्‌। विश्‍वव्यापी प्रचारकार्यमा भाग लिनको लागि तिनीहरूमध्ये थुप्रैले अर्को भाषा सिकिरहेका छन्‌।

मेक्सिकोका यहोवाका साक्षीहरूले पनि यसो नगर्ने त कुरै भएन। मेक्सिकोमा चिनियाँ भाषा बोल्ने मानिसहरू झन्डै ३०,००० छन्‌ भन्‍ने अनुमान गरिएको छ। सन्‌ २००३ मा मेक्सिको सिटीमा ख्रीष्टको मृत्युको स्मरणार्थ मनाएको बेला चिनियाँ भाषा बोल्ने १५ जना मानिसहरू उपस्थित भए। त्यसपछि मेक्सिकोका साक्षीहरूले चिनियाँ भाषा बोल्ने मानिसहरूमा आध्यात्मिक वृद्धिको सम्भावना देखे। चिनियाँ भाषा बोल्ने मानिसहरूलाई प्रचार गर्न धेरै प्रचारक चाहिएकोले मेक्सिकोका साक्षीहरूलाई चिनियाँ भाषाअन्तर्गतकै म्यानडरिन भाषामा सरल ढङ्‌गमा प्रचार गर्न तीन महिने कोर्स सुरु गरियो। जम्माजम्मी २५ जना साक्षीले त्यस भाषाको कोर्स लिए। कोर्सको अन्तमा प्रमाण-पत्र दिने कार्यक्रम थियो। त्यस कार्यक्रममा मेक्सिको सिटीस्थित म्यानडरिन भाषा बोल्ने समुदायका एक जना अफिसर पनि उपस्थित भए। यसबाट त्यस कोर्सले समुदायमा पारेको प्रभाव छर्लङ्‌ग भयो। चिनियाँ भाषा फर्रर बोल्न सक्ने हुन त्यहाँको एउटा चिनियाँ भाषाको इन्स्टिच्युटले तीन जना विद्यार्थीलाई विदेशमा भाषा पढ्‌न जाने छात्रवृत्ति प्रदान गऱ्‍यो।

भाषाको कोर्समा बोल्ने अभ्यास पनि गराइन्थ्यो। चिनियाँ भाषा फाटफुट बोल्न आएपछि त भाषा सिकिरहेका साक्षीहरू मेक्सिको सिटीको बजारमा चिनियाँहरूलाई प्रचार गर्न गइहाले। ती जोसिला साक्षीहरूले २१ वटा बाइबल अध्ययन सुरु गरे। अङ्‌ग्रेजी अक्षरमा लेखिएको चिनियाँ भाषाको परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका निकै मदतकारी साबित भयो। अङ्‌ग्रेजी अक्षरमा लेखिएको यस्तो चिनियाँ भाषालाई पिनयिन भनिन्छ।

भर्खरै चिनियाँ भाषा सिक्न थालेका साक्षीहरूले कसरी बाइबल अध्ययन सञ्चालन गरे? सुरुमा त उनीहरूले केवल “शिङ डुँ [पढिदिनुस्‌ न]” भन्थे अनि अनुच्छेद र प्रश्‍न देखाउँथे। घरधनीले चिनियाँ भाषामा पढेर जवाफ दिएपछि तिनीहरूले “शे-शे [धन्यवाद]” र “हिङ हाउँ [धेरै राम्रो]” भन्थे।

एउटी महिलासित बाइबल अध्ययन सुरु भयो। तिनी नाउँ मात्रको क्रिश्‍चियन थिइन्‌। ती महिलासित तीन चोटि बाइबल अध्ययन गरिसकेको भए तापनि तिनले छलफल गरेको कुरा साँच्चै बुझिन्‌ कि बुझिनन्‌ भनेर अध्ययन गराउने बहिनी पक्का थिइनन्‌। त्यसकारण ती बहिनीले आफ्नो मातृभाषा चिनियाँ भएको एक जना भाइलाई आफूसँगै अध्ययनमा लगिन्‌। ती भाइले तपाईंले नबुझेको केही छ कि भनेर उक्‍त महिलालाई प्रश्‍न गर्दा तिनले भनिन्‌: “बप्तिस्मा लिन मैले पोडी खेल्न जान्‍नुपर्छ?”

चाँडै चिनियाँ भाषाको मण्डली पुस्तक अध्ययन स्थापना भयो। त्यस समूहमा चिनियाँ भाषा बोल्ने त्यस्तै ९ जना र मेक्सिकोका २३ जना साक्षीहरू उपस्थित भए। त्यस समूहमा एक जना चिनियाँ डाक्टर पनि आउँथे। ती डाक्टरकहाँ जचाउन आउने एउटी महिलाले तिनलाई स्पेनी भाषामा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! दिएकी थिइन्‌। तर डाक्टरलाई स्पेनी भाषा नआउने हुँदा तिनले अरू कसैलाई ती पत्रिकाको एक-दुई लाइन अनुवाद गर्न लगाएछन्‌। पत्रिकामा बाइबलसम्बन्धी कुरा रहेछ भनेर थाह पाएपछि तिनले ती महिलालाई चिनियाँ भाषामा पनि पत्रिकाहरू पाइन्छ कि भनेर सोधे। उनले पत्रिका ल्याइदिइन्‌। मेक्सिकोस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयलाई पत्र लेखेर चिनियाँ भाषा बोल्ने कोही साक्षी तिनलाई भेट्‌न जाने प्रबन्ध पनि मिलाइयो। चीनमै बस्ने तिनकी आमासित बाइबल थियो र ती डाक्टर बाइबल पढ्‌न रुचाउँथे। तिनले मेक्सिको जाने निर्णय गर्दा तिनकी आमाले बाइबल पढ्‌न नछोड्‌नू है भनेकी थिइन्‌। त्यसैले तिनले बाइबलबारे सिक्न मदतको लागि प्रार्थना गरिरहेका थिए। खुसी हुँदै तिनले यसो भने: “परमेश्‍वरले मेरो प्रार्थना सुन्‍नुभएको छ!”

पुस्तक अध्ययनमा एउटा चिनियाँ परिवार पनि आउँथ्यो। त्यस परिवारको घरपेटीले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरिरहेका थिए। चिनियाँ परिवारलाई स्पेनी भाषा त्यति नआउने भए तापनि तिनीहरू बाइबल अध्ययनमा बस्थे। केही समयपछि त्यस परिवारले चिनियाँ भाषामा कुनै पत्र-पत्रिका छ कि भनेर सोधे। चाँडै तिनीहरूसित चिनियाँ भाषामा बाइबल अध्ययन सुरु गरियो। केही समयपछि नै त्यस परिवारले आफ्नो देशका मानिसहरूलाई प्रचार गर्ने र यहोवालाई आफ्नो जीवन समर्पण गर्ने इच्छा व्यक्‍त गरे।

हो, चिनियाँ भाषा सिक्न धेरै गाह्रो छ। तर माथिका अनुभवहरूले देखाएझैं यहोवाको मदत पाएर पृथ्वीको अन्य भागमा जस्तै मेक्सिकोमा पनि चिनियाँ र अरू थुप्रै भाषाका मानिसहरूले परमेश्‍वरको इच्छा सिकिरहेका छन्‌।

[पृष्ठ १७-मा भएको चित्र]

मेक्सिको सिटीमा चिनियाँ भाषाको कक्षा

[पृष्ठ १८-मा भएको चित्र]

मेक्सिकोकी एउटी साक्षी चिनियाँ भाषामा बाइबल अध्ययन सञ्चालन गर्दै

[पृष्ठ १८-मा भएको चित्र]

मेक्सिको सिटीमा चिनियाँ भाषामा घर-घरमा प्रचार गर्दै

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने