प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lv अध्या. ७ पृ. ८४-९७
  • परमेश्‍वरले जस्तै के तपाईं पनि जीवनलाई अनमोल ठान्‍नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरले जस्तै के तपाईं पनि जीवनलाई अनमोल ठान्‍नुहुन्छ?
  • “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जीवन र रगत पवित्र छ
  • उपचारमा रगतको प्रयोग
  • यहोवाको नियममा बुबाको जस्तै प्रेम झल्किन्छ
  • हानि पुऱ्‍याउने सोचाइ त्याग्नुहोस्‌
  • रक्‍तदोषी सङ्‌गठनहरूबाट अलग रहनुहोस्‌
  • राज्यसन्देश सुनाएर जीवनलाई अनमोल ठानेको देखाउनुहोस्‌
  • ७. के तपाईँ परमेश्‍वरले जस्तै जीवनलाई अनमोल ठान्‍नुहुन्छ?
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • जीवनप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्नुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • तपाईंको जीवनको वरदानको सही मोल गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • जीवनको कदर गर्नुहोस्‌
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
“आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
lv अध्या. ७ पृ. ८४-९७
A Christian woman records her medical decisions on a health proxy form

अध्याय ७

परमेश्‍वरले जस्तै के तपाईं पनि जीवनलाई अनमोल ठान्‍नुहुन्छ?

“जीवनको मूल तपाईंसँग छ।”—भजन ३६:९.

१, २. परमेश्‍वरले दिएको कुन वरदान विशेषगरि अहिलेको समयमा महत्त्वपूर्ण छ र किन?

स्वर्गका बुबाले हामीलाई अमूल्य धन दिनुभएको छ। हो, उहाँले हामीलाई बौद्धिक प्राणीको रूपमा जीवनको वरदान दिनुभएको छ र हामी उहाँका गुणहरू झल्काउन सक्षम छौं। (उत्पत्ति १:२७) यो अमूल्य वरदानले गर्दा बाइबल सिद्धान्तले हामीलाई कसरी लाभ पुऱ्‍याउँछ भनेर बुझ्न सकेका छौं। बाइबल सिद्धान्तहरू पालन गर्दा हामी आध्यात्मिक रूपमा परिपक्व हुन सक्छौं। आध्यात्मिक रूपमा परिपक्व व्यक्‍तिले यहोवालाई प्रेम गर्छ र तिनको ‘सोच्ने-बुझ्ने क्षमताले सही र गलत छुट्ट्याउन तालिम’ पाएको हुन्छ।—हिब्रू ५:१४.

२ विशेषगरि अहिलेको समयमा बाइबल सिद्धान्तले हामीलाई कसरी लाभ पुऱ्‍याउँछ भनेर बुझ्नु महत्त्वपूर्ण छ। किनभने जीवनमा सामना गर्नुपर्ने हरेक सम्भाव्य परिस्थितिको लागि चाहिने नियमहरू बनाउनै नसकिने गरी संसार झन्‌-झनै जटिल बन्दै गइरहेको छ। यसको एउटा राम्रो नमुना चिकित्सा विज्ञान हो, विशेषगरि रगतका तत्त्वहरू समावेश भएको उत्पादन तथा रगत समावेश भएको उपचार विधि। यहोवाको आज्ञा पालन गर्न चाहने हरेकका लागि यो चासो राख्नुपर्ने र महत्त्वपूर्ण विषय हो। यससम्बन्धमा बाइबल सिद्धान्तहरू के-कस्ता छन्‌ भनेर बुझ्यौं भने हामीले आफ्नो अन्तस्करणलाई चित्तबुझ्ने र आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइरहने तरिकामा बुद्धिमानी निर्णयहरू गर्न सक्छौं। (हितोपदेश २:६-११) त्यसो भए ती सिद्धान्तहरूमध्ये केही विचार गर्नुहोस्‌।

जीवन र रगत पवित्र छ

३, ४. रगत पवित्र छ भनेर धर्मशास्त्रमा पहिलो पटक कहाँ उल्लेख गरियो? यो कुन तथ्यमा आधारित छ?

३ कयिनले हाबिलको हत्या गरेको केही समयपछि नै यहोवाले जीवन र रगतबीच गहिरो सम्बन्ध छ, यो पवित्र अर्थात्‌ शुद्ध छ भनेर पहिलो पटक बताउनुभयो। परमेश्‍वरले कयिनलाई भन्‍नुभयो: “तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ।” (उत्पत्ति ४:१०) क्रूरतापूर्वक हत्या गरिएका हाबिलको रगतले तिनको जीवनलाई प्रतिनिधित्व गऱ्‍यो भनेर यहोवाले सम्झनुभयो। त्यसकारण एक अर्थमा, बदला लिनको निम्ति हाबिलको रगतले परमेश्‍वरसँग दुहाई गरिरहेको थियो।—हिब्रू १२:२४.

४ नूहको जलप्रलयपछि परमेश्‍वरले मानिसहरूलाई जनावरको मासु खाने अनुमति दिनुभएको थियो तर रगतचाहिं होइन। परमेश्‍वरले भन्‍नुभयो: “मासु त्यसको प्राणसमेत, अर्थात्‌ रगतसमेत नखाओ। तिमीहरूको रगत, अर्थात्‌ प्राणको रगतको निम्ति म निश्‍चय लेखा लिनेछु।” (उत्पत्ति ९:४, ५) यो आज्ञा नूहलाई मात्र होइन तर अहिलेसम्मका तिनका सम्पूर्ण सन्तानलाई लागू हुन्छ। पहिला कयिनलाई परमेश्‍वरले भनेको तथ्यलाई यस आज्ञाले अझै जोड दियो अर्थात्‌ सम्पूर्ण जीवजन्तुको रगतले तिनीहरूको प्राण अथवा जीवनको प्रतिनिधित्व गर्छ भनेर झनै पक्का भयो। साथै यस आज्ञाले जीवन र रगतप्रति आदर नदेखाउने सम्पूर्ण मानिसले जीवनको मूल यहोवालाई लेखा दिनुपर्छ भन्‍ने तथ्यलाई पनि सही साबित गऱ्‍यो।—भजन ३६:९.

५, ६. रगत पवित्र र अमूल्य छ भनी मोशाको व्यवस्थाले कसरी देखायो? (पृष्ठ ९० मा भएको पेटी पनि हेर्नुहोस्‌।)

५ रगतले जीवनको प्रतिनिधित्व गर्छ र रगत पवित्र छ भन्‍ने तथ्य मोशाको व्यवस्थामा पनि बताइएको थियो। लेवी १७:१०, ११ मा यस्तो लेखिएको पाउँछौं: “कसैले रगत खायो भने, त्यो रगत खानेको म विरोध गर्नेछु, र त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कृत गरिदिनेछु, किनकि जीवधारीको प्राण त्यसको रगतमा हुन्छ। मैले रगतचाहिं वेदीमा तिमीहरूको प्रायश्‍चित गर्नलाई दिएको छु, किनभने त्यसमा प्राण भएको हुनाले रगतद्वारा प्रायश्‍चित गरिन्छ।” a—पृष्ठ ८८ मा भएको “रगतको प्रायश्‍चित गर्ने शक्‍ति” शीर्षकको पेटी हेर्नुहोस्‌।

रगतको प्रायश्‍चित गर्ने शक्‍ति

परमेश्‍वरको वचनमा रगतलाई जीवनसित तुलना गरिएको छ। तसर्थ प्राचीन इस्राएलमा कसैले यहोवाको आज्ञा उल्लङ्‌घन गऱ्‍यो तर पश्‍चात्तापी मनोभाव देखायो भने तिनलाई सजाय दिनुको साटो तिनले परमेश्‍वरको वेदीमा जनावरको बलिदान चढाउन सक्थे। (लेवी ४:२७-३१) त्यस्तो बलिदानले तिनको पापलाई ढाक्थ्यो तर अस्थायी रूपमा।

बाइबलमा प्रयोग गरिएको “प्रायश्‍चित” शब्दले “सट्टापट्टा गर्नु” वा कुनै डिब्बालाई ठ्याक्क मिल्ने बिर्कोले बन्द गरेजस्तै “ढाक्नु” भन्‍ने बुझाउँछ। निश्‍चय नै कुनै पनि जनावरले मानिसजातिको पापलाई पूर्णतया “ढाक्न” सक्दैन अथवा उनीहरूको निम्ति प्रायश्‍चित गरिदिन सक्दैन। तर जनावरको बलिदान आउनेवाला त्रुटिरहित प्रायश्‍चितको बलिदानको छाया थियो।—हिब्रू १०:१, ४.

यो प्रायश्‍चित “येशू ख्रीष्टले एकैचोटि सधैंभरिका लागि चढाउनुभएको आफ्नो शरीरको भेटीले गर्दा” सम्भव भयो। (हिब्रू १०:१०) “निष्खोट अनि बेदाग थुमा” अर्थात्‌ ख्रीष्टको त्रुटिरहित मानव जीवनलाई उहाँको “अमूल्य रगत”-ले प्रतिनिधित्व गऱ्‍यो। अनि उहाँको जीवन आदमले गुमाएको जीवन बराबर थियो। (१ पत्रुस १:१९) यसरी अत्यन्त आकर्षक अनि मायालु तरिकामा न्याय गरियो अनि हामीले “चिरस्थायी छुटकारा” पाउन सम्भव भयो।—हिब्रू ९:११, १२; यूहन्‍ना ३:१६; प्रकाश ७:१४.

६ मारिएको जनावरको रगत वेदीमा नचढाइएको खण्डमा त्यसलाई भुइँमा पोखाइदिनुपर्थ्यो। यसरी प्रतीकात्मक रूपमा जीवनका स्रोतलाई नै जीवन फिर्ता गरिन्थ्यो। (व्यवस्था १२:१६; इजकिएल १८:४) तर याद गर्नुहोस्‌, इस्राएलीहरूले जनावरको एक-एक थोपा रगत निथारेर फ्याँक्नुपर्छ भन्‍ने थिएन। यदि कुनै प्राणीलाई उचित तरिकाले मारिएको छ र त्यसको रगत बगाइएको छ भने इस्राएलीहरूले सफा अन्तस्करण राखेर त्यसको मासु खान सक्थे। त्यस किसिमले रगत बगाइएको छ भने त्यसले जीवनका स्रोतलाई आदर देखाएको हुन्थ्यो।

७. रगतको पवित्रताप्रति दाऊदले कसरी आदर देखाए?

७ परमेश्‍वरको “मन मिल्ने मानिस” दाऊदले रगतसम्बन्धी परमेश्‍वरले दिएका नियमहरूमा लुकेका सिद्धान्तहरू बुझे। (प्रेषित १३:२२) एक पटकको कुरा हो, दाऊद साह्रै तिर्खाएको बेला तीन जना वीरहरू शत्रुको छाउनीको बीचबाट छिरिगएर तिनलाई इनारको पानी ल्याई दिए। दाऊदले के गरे? तिनले भने: “के म यी मानिसहरूको रगत पिऊँ जसले यसको निम्ति आफ्नो प्राण खतरामा हाले?” हो, तिनीहरूले ल्याएको पानीलाई दाऊदले तिनीहरूको प्राण अर्थात्‌ जीवनै ठाने। त्यसैले तिर्खा लागे तापनि तिनले “त्यो पानी परमप्रभुको सामने खन्याइदिए।”—२ शमूएल २३:१५-१७.

८, ९. ख्रीष्टियन मण्डली स्थापना हुँदा के जीवन र रगतप्रति परमेश्‍वरको दृष्टिकोण बदलियो? बताउनुहोस्‌।

८ नूहको जलप्रलय भएको लगभग २,४०० वर्षपछि अनि व्यवस्थाको करार दिएको लगभग १,५०० वर्षपछि यहोवाले प्रारम्भिक ख्रीष्टियन मण्डलीका परिचालक निकायलाई यस्तो लेख्ने प्रेरणा दिनुभयो: “यी आवश्‍यक कुराहरूबाहेक अरू थप बोझ तपाईंहरूलाई नबोकाउन पवित्र शक्‍ति र हामीलाई उचित लाग्यो: मूर्तिलाई बलि चढाइएका थोकहरू, रगत, गला अँठ्याएर मारेको जनावरको मासु र अवैध यौनसम्बन्धबाट सधैं अलग रहनूहोस्‌।”—प्रेषित १५:२८, २९.

९ स्पष्ट भन्‍ने हो भने रगत पवित्र छ र रगतको दुरुपयोग गर्नु मूर्तिपूजा वा अवैध यौनसम्बन्ध राख्नु जत्तिकै गलत हो भनेर प्रारम्भिक ख्रीष्टियन मण्डलीका परिचालक निकायले बुझेको थियो। अहिले पनि साँचो ख्रीष्टियनहरू यस्तै अडान लिन्छन्‌। साथै, तिनीहरू खास नियम दिएको आशा गर्नुको साटो बाइबल सिद्धान्तहरूमा विचार गर्छन्‌ र त्यसैअनुसार कदम चाल्छन्‌। यसरी रगतसम्बन्धी निर्णयहरू गर्दा तिनीहरूले यहोवालाई खुसी पार्न सक्छन्‌।

उपचारमा रगतको प्रयोग

A Christian woman explaining her personal decisions regarding the use of blood to her physician

रगतका सूक्ष्म तत्त्वहरू प्रयोग गर्ने सन्दर्भमा आफ्नो निर्णय म डाक्टरलाई कसरी बताउनेछु?

१०, ११. (क) रगत तथा त्यसका मूल तत्त्वहरू लिने सन्दर्भमा यहोवाका साक्षीहरू कस्तो दृष्टिकोण राख्छन्‌? (ख) रगतसम्बन्धी कस्तो विषयमा ख्रीष्टियनहरूको विचार फरक हुन सक्छ?

१० ‘रगतबाट अलग रहनूहोस्‌’ भनेको रगत नलिनु, रक्‍तदान नगर्नु र पछि रगत लिनको लागि आफ्नै रगत पनि सङ्‌कलन नगर्नु हो भनेर यहोवाका साक्षीहरूले बुझेका छन्‌। परमेश्‍वरको नियमलाई आदर गर्ने भएकोले तिनीहरू रगतका चार मूल तत्त्वहरू—रातो रक्‍तकोष, सेतो रक्‍तकोष, प्लेट्‌लेटस्‌ अनि प्लाज्मा पनि स्वीकार्दैनन्‌।

११ आजकाल थप प्रक्रियाद्वारा यी तत्त्वहरूलाई सूक्ष्म तत्त्वहरूमा विभाजन गर्न सकिन्छ। यसरी विभाजन गरेको तत्त्वलाई विभिन्‍न तरिकामा प्रयोग गरिन्छ। के कुनै ख्रीष्टियनले यस्ता सूक्ष्म तत्त्वहरू स्वीकार्नु हुन्छ? के तिनले यसलाई “रगत” नै ठान्‍नुपर्छ? यस विषयमा प्रत्येकले व्यक्‍तिगत निर्णय गर्नै पर्छ। साथै सङ्‌कलन नगरिएको आफ्नै रगतको प्रयोग हुने हेमोडाइलसिस, हेमोडाइल्युशन अनि सेल साल्भेज जस्ता उपचारपद्धति अपनाउँदा पनि आफैले निर्णय गर्नुपर्छ।—पृष्ठ २४६-२४९ मा भएको अतिरिक्‍त लेख हेर्नुहोस्‌।

१२. अन्तस्करण र त्यसअनुसार निर्णय गर्नेबारे हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

१२ हामी आफैले निर्णय गर्नुपर्ने विषयलाई यहोवा हल्का ठान्‍नुहुन्छ भन्‍ने हो? अहँ, होइन। किनभने उहाँ हाम्रो विचार र हाम्रो चाहनाप्रति एकदमै चासो राख्नुहुन्छ। (हितोपदेश १७:३; २१:२; २४:१२) औषधी तथा उपचार विधिबारे डोऱ्‍याइको लागि प्रार्थना गरिसकेपछि र होसियारीसाथ अनुसन्धान गरिसकेपछि हामीले बाइबल प्रशिक्षित अन्तस्करणअनुसार कदम चाल्नुपर्छ। (रोमी १४:२, २२, २३) पक्कै पनि अरूले तिनीहरूको अन्तस्करणअनुसार जे निर्णय गर्छन्‌ हामीले पनि त्यस्तै गर्नुपर्छ भन्‍ने छैन। साथै हामीले यस्तो प्रश्‍न नसोध्नु नै राम्रो हो, “मेरो ठाउँमा भएको भए तपाईं के गर्नुहुन्थ्यो?” यस्तो विषयमा प्रत्येक ख्रीष्टियनले ‘आफ्नो भारी आफै बोक्नुपर्छ।’ b—गलाती ६:५; रोमी १४:१२; पृष्ठ ९३ मा भएको “के म रगतलाई पवित्र ठान्छु?” शीर्षकको पेटी हेर्नुहोस्‌।

के म रगतलाई पवित्र ठान्छु?

सिद्धान्त: “रगतबाट अलग रहनू।”—प्रेषित १५:२०.

आफैलाई सोध्नुहोस्‌

  • रगतका चार मूल तत्त्वहरू अनि सूक्ष्म तत्त्वहरूबीचको भिन्‍नतालाई म कसरी व्याख्या गर्नेछु?e

  • रगतका सूक्ष्म तत्त्व अनि आफ्नै रगत प्रयोग हुने कुनै-कुनै उपचार स्वीकार्ने या नस्वीकार्ने भनेर किन म आफैले निर्णय गर्नुपर्छ?—रोमी १२:२; गलाती ६:५.

  • रगतका सूक्ष्म तत्त्वहरू लिने वा नलिने भन्‍ने विषयमा म आफ्नो चिकित्सकलाई कसरी बताउनेछु?—हितोपदेश १३:१६, NRV.

यहोवाको नियममा बुबाको जस्तै प्रेम झल्किन्छ

१३. यहोवाका नियम र सिद्धान्तले उहाँबारे के प्रकट गर्छ? उदाहरण दिनुहोस्‌।

१३ बाइबलमा पाइने नियम र सिद्धान्तहरूले यहोवा बुद्धिमान्‌ नियमदाता अनि आफ्ना छोराछोरीको हितलाई एकदमै ध्यान दिने मायालु बुबा हुनुहुन्छ भन्‍ने कुरा देखाउँछ। (भजन १९:७-११) ‘रगतबाट अलग रहनूहोस्‌’ भन्‍ने आज्ञा स्वास्थ्यसम्बन्धी नियम नभए तापनि यसले हामीलाई रगत लिंदा आइपर्ने समस्याहरूबाट जोगाउँछ। (प्रेषित १५:२०) वास्तवमा चिकित्सा क्षेत्रमा लागेका थुप्रैले रगतविना गरिने उपचारलाई आधुनिक उपचार विधिको “सुनौलो स्तर” नै ठान्छन्‌। यस्ता उपचार विधि त साँचो ख्रीष्टियनहरूका लागि यहोवाको अथाह बुद्धि अनि बुबाको जस्तै प्रेमको प्रमाण हो।—यशैया ५५:९; यूहन्‍ना १४:२१, २३.

१४, १५. (क) परमेश्‍वर आफ्ना जनहरूलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरा उहाँले दिएका कुन-कुन नियममा देखिन्थ्यो? (ख) सुरक्षासम्बन्धी नियमहरूमा लुकेका सिद्धान्तहरू तपाईं कसरी लागू गर्न सक्नुहुन्छ?

१४ प्राचीन इस्राएलमा आफ्ना जनहरूको हितप्रति परमेश्‍वर ध्यान दिनुहुन्थ्यो भन्‍ने कुरा उहाँले दिएका थुप्रै नियमहरूबाट देखिन्थ्यो। उदाहरणका लागि, इस्राएलीहरूको समयमा धेरैजसो गतिविधि घरको छतमा गरिने हुँदा दुर्घटना हुन नदिन चारैतिर बार लगाउनुपर्छ भनेर यहोवाले भन्‍नुभयो। (व्यवस्था २२:८; १ शमूएल ९:२५, २६; नहेम्याह ८:१६; प्रेषित १०:९) हान्‍ने गोरुहरूलाई बाँधेर राख्ने आज्ञा उहाँले दिनुभएको थियो। (प्रस्थान २१:२८, २९) कसैले यस्ता आज्ञाहरू पालन नगर्दा अरूको हितलाई एकदमै बेवास्ता गरेको देखिन्थ्यो अनि तिनी रगतको दोषी हुन सक्थे।

१५ यी नियमहरूमा लुकेको सिद्धान्त तपाईं कसरी लागू गर्न सक्नुहुन्छ? आफ्नो सवारीसाधनको अवस्था कस्तो छ, कसरी चलाउँदै छु, जनावरलाई कसरी राखेको छु, घरको अवस्था कस्तो छ, काम गर्ने ठाउँ ठीक छ कि छैन अनि कस्तो मनोरञ्जन छान्दै छु भन्‍नेबारे कृपया गम्भीरतासाथ सोच्नुहोस्‌। कुनै-कुनै मुलुकमा जवानहरूको मृत्यु हुनुको मुख्य कारण दुर्घटना हो। किनभने तिनीहरू अक्सर अनावश्‍यक जोखिम मोल्ने गर्छन्‌। तर परमेश्‍वरको प्रेम पाउन लायक भइरहन चाहने जवानहरू भने जीवनलाई अनमोल ठान्छन्‌। आनन्द उठाउन खतरनाक गतिविधिहरूमा भाग लिंदैनन्‌। जवानहरूलाई त केही पनि हुँदैन भन्‍ने मूर्ख सोचाइ तिनीहरू राख्दैनन्‌। बरु आफूमाथि अनावश्‍यक विपत्ति आइनपरोस्‌ भनेर चनाखो हुँदै तिनीहरू युवा अवस्थाको आनन्द उठाउँछन्‌।—उपदेशक ११:९, १०.

१६. गर्भपतनसम्बन्धी कस्तो बाइबल सिद्धान्त लागू हुन्छ? (पादटिप्पणी पनि हेर्नुहोस्‌।)

१६ परमेश्‍वरको नजरमा गर्भमा रहेको बच्चाको जीवनसमेत अमूल्य छ। प्राचीन इस्राएलमा यदि कुनै मानिसले गर्भवती स्त्रीलाई चोट पुऱ्‍याएको कारण तिनको गर्भमा भएको बच्चाको अथवा तिनको मृत्यु भयो भने चोट पुऱ्‍याउने व्यक्‍तिलाई परमेश्‍वरले हत्यारा ठान्‍नुहुन्थ्यो र त्यस मानिसले “प्राणको सट्टा प्राण” c दण्ड भोग्नुपर्थ्यो। (प्रस्थान २१:२२, २३) त्यसकारण आफ्नो स्वार्थको लागि वा अवैध यौनसम्बन्धको कारण थुप्रैले वर्षेनी गर्भपात गरेर अनगिन्ती भ्रूणको जानाजानी हत्या गर्दा यहोवालाई कस्तो महसुस हुन्छ होला, कल्पना गर्नुहोस्‌ त!

१७. परमेश्‍वरको स्तर सिक्न नपाउँदै कसैले गर्भपतन गरिसकेको छ भने तपाईं उसलाई कसरी सान्त्वना दिनुहुन्छ?

१७ तर यदि कुनै स्त्रीले बाइबल सत्य थाह नपाउँदै गर्भपतन गरेकी थिइन्‌ भने के गर्ने? के तिनी परमेश्‍वरको कृपा पाउन सक्दिनन्‌? त्यसो होइन! यदि कसैले साँच्चै पश्‍चात्ताप गर्छ भने उसले येशूले बगाएको रगतको आधारमा यहोवाबाट क्षमा पाउन सक्छ। (भजन १०३:८-१४; एफिसी १:७) वास्तवमा ख्रीष्ट स्वयम्‌ले यसो भन्‍नुभयो: “म धर्मीहरूलाई बोलाउन आएको होइन तर पापीहरूलाई पश्‍चात्ताप गर्न बोलाउन आएको हुँ।”—लूका ५:३२.

हानि पुऱ्‍याउने सोचाइ त्याग्नुहोस्‌

१८. धेरैजसो रक्‍तदोष लाग्नुको मूल कारणबारे बाइबल के बताउँछ?

१८ हामीले अरूलाई हानि नपुऱ्‍याओस्‌ भन्‍ने मात्र होइन तर रक्‍तदोषी हुने मूल कारण अर्थात्‌ घृणालाई नै आफ्नो मनबाट उखेलेर फालोस्‌ भन्‍ने यहोवा चाहनुहुन्छ। “हरेक जसले आफ्नो भाइलाई घृणा गर्छ, ऊ हत्यारा हो अनि कोही पनि हत्याराले अनन्त जीवन पाउँदैन” भनी प्रेषित यूहन्‍नाले लेखे। (१ यूहन्‍ना ३:१५) यस्ता व्यक्‍तिले आफ्नो भाइलाई मन नपराउने मात्र होइन तर ऊ मरोस्‌ भन्‍ने चाहन्छन्‌। तिनले शत्रुताको भावले अर्को भाइको घोर निन्दा गर्छन्‌ वा ती भाइले परमेश्‍वरबाट दण्ड पाउने खालको गम्भीर गलत काम गरेको आरोप लगाउँछन्‌। (लेवी १९:१६; व्यवस्था १९:१८-२१; मत्ती ५:२२) त्यसैले आफ्नो मनमा हुन सक्ने कुनै पनि दुष्ट चाहना हटाउनु कत्ति महत्त्वपूर्ण छ नि, होइन र!—याकूब १:१४, १५; ४:१-३.

१९. बाइबल सिद्धान्तअनुसार चल्ने व्यक्‍तिले भजन ११:५ र फिलिप्पी ४:८, ९ जस्ता पदहरूलाई कस्तो दृष्टिले हेर्छन्‌?

१९ यहोवाले जस्तै जीवनलाई अनमोल ठान्‍नेहरू र आफूलाई उहाँको प्रेम पाउन लायक बनाइरहन चाहनेहरूले हिंसाको जस्तोसुकै रूपलाई पनि त्याग्छन्‌। भजन ११:५ भन्छ: “दुष्ट र अत्याचार निको मान्‍नेलाई [यहोवाको] आत्माले घृणा गर्छ।” यस पदले परमेश्‍वरको व्यक्‍तित्वबारे मात्र बताएको होइन, यो जीवनलाई डोऱ्‍याउने एउटा सिद्धान्त पनि हो। परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई यस सिद्धान्तले के नगर्न उत्प्रेरित गर्छ? हिंसालाई जोड दिने कुनै पनि मनोरञ्जन नगर्न उत्प्रेरित गर्छ। त्यसैगरि यहोवा “शान्तिका परमेश्‍वर” हुनुहुन्छ भन्‍ने अभिव्यक्‍तिले उहाँका सेवकहरूलाई शान्ति कायम गर्न मदत गर्ने कुराहरू अर्थात्‌ प्रेम गर्न योग्य, सद्‌गुण अनि प्रशंसायोग्य कुराहरू आफ्नो मन-मस्तिष्कमा भर्न प्रेरित गर्छ।—फिलिप्पी ४:८, ९.

रक्‍तदोषी सङ्‌गठनहरूबाट अलग रहनुहोस्‌

२०-२२. संसारप्रति ख्रीष्टियनहरू कस्तो अडान लिन्छन्‌ र किन?

२० यहोवाको नजरमा सैतानले शासन गरेको यो संसार नै रक्‍तदोषी छ। धर्मशास्त्रमा डरलाग्दो जन्तुले चित्रण गरिएको त्यसको राजनैतिक प्रणालीले कयौंको ज्यान लिएको छ जसमा यहोवाका थुप्रै सेवक पनि पर्छन्‌। (दानियल ८:३, ४, २०-२२; प्रकाश १३:१, २, ७, ८) यो जन्तुरूपी शक्‍तिसित मिलेर व्यापार र विज्ञानजगत्‌ले कल्पना गर्नै नसकिने एकदमै खतरनाक हतियारहरू बनाएका छन्‌ र थुप्रै नाफा कमाएका छन्‌। “सारा संसार त्यस दुष्टको हातमा परेको छ” भन्‍ने कुरा कत्ति सत्य साबित भएको छ!—१ यूहन्‍ना ५:१९.

२१ येशूका अनुयायीहरू व्यक्‍तिगत अनि सामूहिक रक्‍तदोषबाट परै बस्छन्‌। किनभने तिनीहरू ‘यस संसारका होइनन्‌’ अनि तिनीहरू राजनीति अनि लडाइँको मामिलामा निष्पक्ष रहन्छन्‌।d (यूहन्‍ना १५:१९; १७:१६) अरूले सताउँदा ख्रीष्टको अनुकरण गर्दै तिनीहरू हिंसात्मक प्रतिक्रिया देखाउँदैनन्‌। बरु आफ्ना शत्रुलाई प्रेम गर्छन्‌ र तिनीहरूका लागि प्रार्थनासमेत गर्छन्‌।—मत्ती ५:४४; रोमी १२:१७-२१.

२२ सबैभन्दा महत्त्वपूर्ण कुरा साँचो ख्रीष्टियनहरू झूटो धर्मको विश्‍व साम्राज्य अनि सबैभन्दा रक्‍तदोषी “महान्‌ बेबिलोन”-सित कुनै साठगाँठ गर्दैनन्‌। परमेश्‍वरको वचन भन्छ: “भविष्यवक्‍ता र पवित्र जनहरू अनि पृथ्वीमा मारिएकाहरू सबैको रगत त्यसैमा पाइयो।” त्यसैले हामीलाई यस्तो चेतावनी दिइएको छ: “हे मेरा मानिसहरू हो, . . . त्यसबाट निस्केर आओ।”—प्रकाश १७:६; १८:२, ४, २४.

२३. महान्‌ बेबिलोनबाट निस्कनुको अर्थ के हो?

२३ महान्‌ बेबिलोनलाई त्याग्नुको मतलब त्यसका सदस्यहरूको सूचीबाट आफ्नो नाम हटाउनु मात्र होइन। यसमा झूटो धर्मले स्वीकार्ने दुष्ट प्रचलनहरूलाई घृणा गर्नु वा त्यसले खुलेआम बढवा दिने अनैतिकता, राजनैतिक संलग्नता वा धन कमाउने लोभमा नमुछिनु पनि समावेश छ। (भजन ९७:१०; प्रकाश १८:७, ९, ११-१७) यस्ता गतिविधिहरूले प्रायजसो रक्‍तदोषी बनाउँछ।

२४, २५. रक्‍तदोषीले पश्‍चात्ताप गर्दा परमेश्‍वर केको आधारमा कृपा देखाउनुहुन्छ? यसले बाइबलकालीन समयको कुन प्रबन्धबारे सम्झाउँछ?

२४ साँचो उपासना अपनाउनुअघि हामी प्रत्येक नै कुनै न कुनै तरिकामा सैतानको संसारलाई समर्थन गर्थ्यौं। तसर्थ केही हदसम्म रक्‍तदोषी थियौं। तर हामीले आफ्नो आनीबानी परिवर्तन गरिसकेको कारण, ख्रीष्टको फिरौतीको बलिदानमा विश्‍वास खेती गरेको कारण र परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरेको कारण उहाँको अनुग्रह पाएका छौं र उहाँसितको सम्बन्धलाई हानि पुऱ्‍याउन सक्ने कुराहरूबाट सुरक्षा पाएका छौं। (प्रेषित ३:१९) यो सुरक्षाले हामीलाई बाइबलकालीन समयका शरणनगरहरूबारे सम्झाउँछ ।—गन्ती ३५:११-१५; व्यवस्था २१:१-९.

२५ त्यो प्रबन्ध कस्तो थियो? यदि कुनै इस्राएलीले अनजानमा कसैलाई माऱ्‍यो भने तिनी कुनै एउटा शरणनगरमा भागेर जानुपर्थ्यो। योग्य न्यायकर्ताहरूले यससम्बन्धी निर्णय गरिसकेपछि प्रधान पुजारीको मृत्यु नहोउन्जेल उक्‍त व्यक्‍ति त्यही शरणनगरमा बस्नुपर्थ्यो। प्रधान पुजारीको मृत्युपछि तिनी अरू ठाउँमा जान पाउँथे। परमेश्‍वरको कृपा अनि उहाँले मानव जीवनलाई अमूल्य ठानेको कस्तो उल्लेखनीय उदाहरण! प्राचीन समयका ती शरणनगर परमेश्‍वरको अहिलेको प्रबन्धसित मेल खान्छ। जीवन र रगतको पवित्रतासम्बन्धी उहाँको आज्ञा अनजानमा भङ्‌ग गरेकोले मृत्युबाट जोगिनको लागि उहाँले हामीलाई ख्रीष्टको फिरौतीको बलिदानको प्रबन्ध गरिदिनुभएको छ। के तपाईं यस प्रबन्धलाई अनमोल ठान्‍नुहुन्छ? ठान्‍नुहुन्छ भनेर कसरी देखाउन सक्नुहुन्छ? एउटा तरिका हो, अरूलाई पनि परमेश्‍बरले दिइरहनुभएको सुरक्षा स्वीकार्न मदत गरेर। “महासङ्‌कष्ट” झन्‌-झनै नजिकिएको कारण यसो गर्नु अझै महत्त्वपूर्ण छ।—मत्ती २४:२१; २ कोरिन्थी ६:१, २.

राज्यसन्देश सुनाएर जीवनलाई अनमोल ठानेको देखाउनुहोस्‌

२६-२८. हाम्रो परिस्थिति कसरी भविष्यवक्‍ता इजकिएलको जस्तै छ? हामी कसरी आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख्न सक्छौं?

२६ अहिले हाम्रो समयका परमेश्‍वरका जनहरूको परिस्थितिले हामीलाई भविष्यवक्‍ता इजकिएलको याद दिलाउँछ। यहोवाले तिनलाई इस्राएलको घरानाको आध्यात्मिक पहरेदारको रूपमा सेवा गर्ने आज्ञा दिनुभएको थियो। परमेश्‍वरले भन्‍नुभयो: “तैंले नै मबाट समाचारहरू लिएर मेरो चेतावनी तिनीहरूलाई लैजानेछस्‌।” यदि इजकिएलले यो आज्ञालाई बेवास्ता गरेका भए यरूशलेमको लेखा लिने बेलामा मारिनेहरूको रक्‍तदोष तिनलाई लाग्ने थियो। (इजकिएल ३३:७-९) तर इजकिएल आज्ञाकारी भए र तिनलाई रक्‍तदोष लागेन।

२७ अहिले हामी सैतानको सम्पूर्ण संसार अन्त हुनै लागेको बेलामा बाँचिरहेका छौं। त्यसैले यहोवाका साक्षीहरू परमेश्‍वरको “बदला दिने दिन”-बारे र राज्य सन्देशबारे घोषणा गर्न पाउनुलाई जिम्मेवारी अनि सुअवसर ठान्छन्‌। (यशैया ६१:२; मत्ती २४:१४) के तपाईं यो एकदमै महत्त्वपूर्ण काममा पूर्णतया भाग लिंदै हुनुहुन्छ? प्रेषित पावलले प्रचार गर्ने आज्ञालाई गम्भीरतापूर्वक लिए। फलतः तिनले यसो भन्‍न सके: “सबै मानिसहरूको रगतबाट म निर्दोष छु . . . किनकि तपाईंहरूलाई परमेश्‍वरको उद्देश्‍यबारे सबै कुरा बताउनदेखि म पछि हटेको छैन।” (प्रेषित २०:२६, २७) हामीले अनुकरण गर्नुपर्ने कस्तो राम्रो उदाहरण!

२८ यहोवाले गर्ने बुबाको जस्तै न्यानो प्रेम पाउन लायक बनिरहने हो भने हामीले जीवन र रगतलाई यहोवाको दृष्टिकोणले हेरेर मात्र पुग्दैन। हामी उहाँको नजरमा शुद्ध अर्थात्‌ पवित्र पनि रहनै पर्छ। यस विषयमा हामी अर्को अध्यायमा छलफल गर्नेछौं।

a “जीवधारीको प्राण त्यसको रगतमा हुन्छ” भन्‍ने परमेश्‍वरको भनाइप्रति साइन्टिफिक अमेरिकन (अङ्‌ग्रेजी) पत्रिका यसो भन्छ: “रगतलाई जीवनको प्रतीकको रूपमा लिन त सकिन्छ। तर यो भनाइ शाब्दिक अर्थमा पनि सही हो। किनभने जीवनको लागि प्रत्येक किसिमका रक्‍तकोष नभई हुँदैन।”

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी) अगस्त २००६, पृष्ठ ३-१२ हेर्नुहोस्‌।

c बाइबल कोशकारहरू यो हिब्रू पदमा चलाइएका शब्दहरूले “स्त्रीलाई मात्र चोट पुऱ्‍याउने कुरा गरेको हुनै सक्दैन” भनी बताउँछन्‌। साथै यो पनि याद गर्नुहोस्‌, कति दिन वा कति महिनाको भ्रूणलाई माऱ्‍यो भने यहोवाले न्याय गर्नुहुन्छ, त्यो पनि बाइबलले बताएको छैन।

d “संसारबाट कसरी अलग रहने?” अध्याय ५ हेर्नुहोस्‌।

e थप जानकारीको लागि पृष्ठ २४६-२४७ हेर्नुहोस्‌।

पशुपक्षीको प्राणको कदर गर्नुहोस्‌

यहोवाले हामीलाई खाना र लुगाको लागि वा आफैलाई हानिबाट जोगाउनको लागि पशुपक्षी मार्ने अनुमति दिनुभएको छ। तर यो अख्तियार चलाउँदा हामी सन्तुलित अनि दयालु हुनै पर्छ। (उत्पत्ति ३:२१; ९:३) रमाइलोको लागि हामी पशुपक्षीलाई मार्दैनौं। बरु हामीले सानो पक्षी भँगेरालगायत सम्पूर्ण पशुपक्षीको हित चाहने यहोवाको अनुकरण गर्नुपर्छ।—योना ४:११; मत्ती १०:२९.

परमेश्‍वर के चाहनुहुन्छ भन्‍ने कुरा मोशाको व्यवस्थाबाट हामी थाह पाउन सक्छौं। (प्रस्थान २३:४, ५, १२; व्यवस्था २२:१०; २५:४) हितोपदेश १२:१० ले यो व्यवस्थासित मेल खाने कुरा बताउँछ: “असल मानिसले आफ्नो पशुको वास्ता गर्छ, तर दुष्ट मानिस मनमा कठोर हुन्छ।” चाँडै नै यी कठोर मानिसहरू अनि तिनीहरूले गर्ने कामको नामोनिसानै मेटिनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने