प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ९/१ पृ. ८-१३
  • झूटा ईश्‍वरहरूका विरुद्धमा साक्षीहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • झूटा ईश्‍वरहरूका विरुद्धमा साक्षीहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सत्यको पक्षमा अब्राहामको साक्षी
  • साक्षीहरूको राष्ट्र
  • ईश्‍वरहरूका मुद्दा
  • ईश्‍वरीय सार्वभौमिकताका लागि मसीही साक्षीहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • ‘तिमीहरू मेरा साक्षी हौ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • “हामी दृष्टिले होइन तर विश्‍वासले हिंड़छौं”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • तिनीहरू जन्मँदै परमेश्‍वरले छान्‍नुभएको राष्ट्रका सदस्य थिए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ९/१ पृ. ८-१३

झूटा ईश्‍वरहरूका विरुद्धमा साक्षीहरू

“परमप्रभु भन्‍नुहुन्छ, ‘तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ।’”—यशैया ४३:१०.

१. साँचो परमेश्‍वर को हुनुहुन्छ र आज उपासना गरिने अनगिन्ती ईश्‍वरहरूभन्दा उहाँ कसरी सर्वोच्च हुनुहुन्छ?

साँचो परमेश्‍वर को हुनुहुन्छ? आज सारा मानवजातिले यो महत्त्वपूर्ण प्रश्‍नको जवाफ दिनुपरेको छ। मानिसहरू अनगिन्ती ईश्‍वरहरूको उपासना गर्छन्‌ तर तीमध्ये एउटैले मात्र जीवन र सुखी भविष्य दिनसक्छ। केवल एक जनालाई हामी यसो भन्‍नसक्छौं: “हामी उहाँमै जिउँछौं, र चलहल गर्दछौं, र यसरी हाम्रो अस्तित्व रहेको छ।” (प्रेरित १७:२८) निस्सन्देह, एउटै परमेश्‍वर मात्र पूजनीय हुनुहुन्छ। यसबारे प्रकाशको पुस्तकमा उल्लिखित स्वर्गीय गानले यसो भन्छ: “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।”—प्रकाश ४:११.

२, ३. (क) उपासनाको एक मात्र हकदार यहोवामाथि शैतानले कस्तो झूटो चुनौती खडा गऱ्‍यो? (ख) हव्वाले पाप गर्दा तिनले र तिनका सन्तानले के नतिजा भोगे र शैतानलाई चाहिं के लाभ भयो?

२ यहोवा मात्र उपासनाको हकदार हुनुहुन्छ। यद्यपि, अदनको बगैंचामा शैतानले झूट बोलेर त्यस अधिकारमाथि चुनौती खडा गऱ्‍यो। साँपलाई चलाएर त्यसले हव्वालाई यहोवाको नियमको विद्रोह गर्न लगायो। साथै हव्वाले निषेधित फल खाएमा परमेश्‍वरजस्तै हुनेछिन्‌ पनि भन्यो। त्यसले यसो भन्यो: “परमेश्‍वर जान्‍नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्‌, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्‍वरजस्तै हुनेछौ।” (उत्पत्ति ३:५) हव्वाले साँपलाई विश्‍वास गरिन्‌ र निषेधित फल खाइन्‌।

३ निस्सन्देह, शैतानले झूट बोल्यो। (यूहन्‍ना ८:४४) किनभने हव्वा एउटै कुरामा मात्र “परमेश्‍वरजस्तै” भइन्‌। त्यो थियो, तिनले सही र गलत निर्णय गर्ने अधिकार आफ्नो हातमा लिइन्‌ जुन अधिकार वास्तवमा यहोवाको थियो। शैतानको झूटको बावजूद तिनी मरिन्‌। अतः हव्वाको पापको नाजायज फाइदा उठाउने मुख्य व्यक्‍ति नै शैतान थियो। निस्सन्देह, हव्वालाई पाप गर्न लगाउनुको पछाडि आफू नै परमेश्‍वर बन्‍ने त्यसको लक्ष्य थियो। पाप गरेपछि हव्वा त्यसको प्रथम मानव अनुयायी भइन्‌ र चाँडै नै आदमले पनि तिनलाई साथ दिइन्‌। तिनीहरूका प्रायजसो सबै सन्तान “पापैमा” जन्मनुका साथै शैतानको प्रभावमा परे। फलतः केही समयसम्म साँचो परमेश्‍वरबाट अलग एउटा सिंगो संसार देखा पऱ्‍यो।—उत्पत्ति ६:५; भजन ५१:५.

४. (क) यो संसारको देव को हो? (ख) कुन कुरा नितान्त आवश्‍यक भएको छ?

४ त्यो संसार जलप्रलयमा नष्ट भयो। (२ पत्रुस ३:६) तर जलप्रलयपश्‍चात्‌ यहोवादेखि अलग अर्को संसार फेरि विकसित भयो, जुन आजसम्म अस्तित्वमा छ। त्यसबारे बाइबल यसो भन्छ: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) यहोवाको नियमको मनसाय र महत्त्वको विरुद्ध चलेर यो संसारले शैतानलाई आफ्नो लक्ष्य हासिल गर्न सघाउँछ। वास्तवमा शैतान नै यो संसारको देव हो। (२ कोरिन्थी ४:४) यद्यपि, त्यो कमजोर छ। त्यसले मानिसहरूलाई खुशी तुल्याउन अथवा जीवन दिन सक्दैन। केवल यहोवाले त्यसो गर्न सक्नुहुन्छ। तसर्थ, अर्थपूर्ण जीवन र सुन्दर पृथ्वीको कल्पना गर्ने मानिसले प्रथमतः यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ भनेर सिक्नैपर्छ अनि त्यसपछि तिनले उहाँको इच्छा पूरा गर्न सिक्नुपर्छ। (भजन ३७:१८, २७, २८; उपदेशक १२:१३) अतः विश्‍वासी पुरुष तथा स्त्रीहरूले यहोवाबारे साँचो कुरा घोषणा गर्नु नितान्त आवश्‍यक छ।

५. पावलले उल्लेख गरेका “गवाहीको मेघ” के हो? तिनले सूचीबद्ध गरेका केही मानिसहरूको नाउँ बताउनुहोस्‌।

५ मानव इतिहासको प्रारम्भदेखि नै त्यस्ता विश्‍वासी व्यक्‍तिहरू विश्‍व रंगमञ्चमा देखा परेका छन्‌। प्रेरित पावलले हिब्रू अध्याय ११ मा ती विश्‍वासी व्यक्‍तिहरूको लामो सूची दिन्छन्‌, जसलाई तिनी “गवाहीका मेघ” भनी सम्बोधन गर्छन्‌। (हिब्रू १२:१) पावलको सूचीमा पहिलो स्थान आदम र हव्वाको पहिलो छोरो हाबिलले पाएको छ। हनोक र नूहलाई पनि जलप्रलयअघिका विश्‍वासी मानिसहरूमध्ये उल्लेख गरिएका छन्‌। (हिब्रू ११:४, ५, ७) तिनीहरूमध्ये विशिष्ट चाहिं यहूदी जातिका पुर्खा अब्राहाम छन्‌। “परमेश्‍वरका मित्र” कहलिने अब्राहाम “विश्‍वासयोग्य र साँचो साक्षी” येशूको पुर्खा थिए।—याकूब २:२३; प्रकाश ३:१४.

सत्यको पक्षमा अब्राहामको साक्षी

६, ७. अब्राहामको जीवनी र तिनका कामहरूले यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ भनेर कसरी साक्षी दियो?

६ अब्राहाम कसरी साक्षी भए? यहोवामाथिको बलियो विश्‍वास तथा वफादार आज्ञाकारिताद्वारा। ऊर देश छोडेर बाँकी जीवन टाढाको मुलुकमा बिताउने आज्ञा दिंइदा अब्राहामले पालन गरे। (उत्पत्ति १५:७; प्रेरित ७:२-४) शहरमा स्थायी जीवन बिताउन फिरन्ते जातिहरू प्रायः आफ्नो यात्रा अनि बस्ती छाड्‌छन्‌। तसर्थ, पालमा जीवन बिताउन शहरी जीवन छोडेर अब्राहामले यहोवा परमेश्‍वरमाथि आफ्नो बलियो विश्‍वासको प्रमाण दिए। तिनको आज्ञाकारिता प्रत्यक्षदर्शीहरूका लागि साक्षी थियो। तिनको विश्‍वासको कारण यहोवाले अब्राहामलाई प्रशस्त आशिष्‌ दिनुभयो। पालमै जीवन बिताउनु परे तापनि अब्राहामको भौतिक धन सम्पत्ति भने थोरै भएन। लूत र तिनको परिवारलाई कैदी बनाएर लैजाँदा अब्राहाम तिनीहरूलाई बचाउन गएका थिए र यहोवाले तिनलाई सफल गराउनु पनि भयो। अब्राहामकी पत्नीले बुढेसकालमा छोरा जन्माइन्‌। फलतः अब्राहाम वंशको पिता हुनेछ भनी यहोवाले गर्नुभएको प्रतिज्ञा पक्का भयो। अब्राहाम मार्फत मानिसहरूले यहोवा जीवित तथा आफ्ना प्रतिज्ञाहरू पूर्ति गर्ने परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा देखे।—उत्पत्ति १२:१-३; १४:१४-१६; २१:१-७.

७ लूतलाई शत्रुहरूको हातबाट छुटाएर ल्याउँदा अब्राहामले शालेमका (पछि यरूशलेम) राजा मल्कीसेदेकलाई भेटे। तिनले अब्राहामलाई “सर्वोच्च परमेश्‍वरको अब्रामलाई आशिष्‌ मिलोस्‌” भन्दै स्वागत गरे। सदोमका राजाले पनि तिनलाई भेटे र भेटी दिन चाहन्थे। तर अब्राहामले इन्कार गरे। किन? किनभने आफूले पाएका आशिष्‌हरूको श्रोतबारे कसैलाई भ्रम परोस्‌ भनी तिनी चाहँदैनन्‌ थिए। तिनले यसो भने: “स्वर्ग र पृथ्वीका परमप्रभु सर्वोच्च परमेश्‍वरमा मैले यसरी किरिया हालेको छु, एउटा धागो अथवा जुत्ताको फिता वा तपाईंको कुनै पनि थोक म लिनेछैनँ। नत्रता ‘मैले अब्रामलाई धनी तुल्याएँ’ भनेर तपाईं भन्‍नुहुनेछ।” (उत्पत्ति १४:१७-२४) अब्राहाम साँच्चै नै असल साक्षी थिए!

साक्षीहरूको राष्ट्र

८. मोशाले यहोवामाथि ठूलो विश्‍वास कसरी देखाए?

८ अब्राहामको सन्तान मोशा पनि पावलले लेखेका साक्षीहरूको सूचीमा पर्छ। मोशाले मिश्र देशका धन-सम्पत्तिहरूलाई त्याग्नुका साथै पछि इस्राएलका सन्तानको स्वतन्त्रता माग्न महान्‌ विश्‍व शक्‍तिका शासकसमक्ष निर्भयतासाथ खडा भए। तिनले यति ठूलो साहस कहाँबाट पाए? आफ्नो विश्‍वासबाट। पावलले यसो भने: “अदृश्‍यलाई देखेझैं गरी . . . [मोशा] स्थिर रहे।” (हिब्रू ११:२७) मिश्रका देवताहरूलाई देख्न र स्पर्श गर्न सकिन्थ्यो। आजसम्म पनि तिनीहरूका मूर्तिहरू देखेर मानिसहरू प्रभावित हुन्छन्‌। तर यहोवा अदृश्‍य हुनुभए तापनि मोशालाई ती सबै झूटा ईश्‍वरहरूभन्दा उहाँ नै वास्तविक लाग्थ्यो। यहोवाको अस्तित्व छ र उहाँले आफ्ना उपासकहरूलाई इनाम दिनुहुनेछ भन्‍ने कुरामाथि मोशालाई कुनै शंका थिएन। (हिब्रू ११:६) मोशा विशिष्ट साक्षीका उदाहरण थिए।

९. इस्राएल राष्ट्र यहोवाको के हुनुपर्थ्यो?

९ इस्राएललाई स्वतन्त्रता दिइसकेपछि मोशा याकूबद्वारा उत्पन्‍न अब्राहामका सन्तानहरू र यहोवाबीच मध्यस्थ भए। फलतः इस्राएल राष्ट्र यहोवाको निज धन भयो। (प्रस्थान १९:५, ६) अब भने प्रथम पटक देशव्यापी साक्षी दिइने थियो। झन्डै ८०० वर्षपछि यहोवाले यशैया मार्फत बोल्नुभएका यी शब्दहरू मूलतः यस राष्ट्रको सुरुआतदेखि नै लागू हुन्थ्यो: “परमप्रभु भन्‍नुहुन्छ, ‘तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ। तिमीहरूले मलाई जान्‍न र विश्‍वास गर्न सक, र म उही हुँ भनी बुझ्न सक।’” (यशैया ४३:१०) यो नयाँ राष्ट्र कसरी यहोवाका साक्षीहरू हुने थिए? तिनीहरूको विश्‍वास तथा आज्ञाकारिताका साथै यहोवाले तिनीहरूको हकमा गर्नुभएका कामहरूद्वारा।

१०. इस्राएलको हकहितका लागि यहोवाले गर्नुभएका शक्‍तिशाली कार्यहरूले कसरी प्रभावशाली साक्षी दियो र नतिजाहरू के भए?

१० इस्राएल राष्ट्र स्थापित भएको ४० वर्षपश्‍चात्‌ त्यो प्रतिज्ञा गरिएको देश कब्जा गर्ने तयारीमा थियो। सुराक पत्ता लगाउन यरीहो पसेका जासुसहरूलाई यरीहो निवासी राहाबले बचाइन्‌। किन? तिनले यसो भनिन्‌: “तपाईंहरू मिश्र देशबाट निस्केर आउनुहुँदा तपाईंहरूका सामने परमेश्‍वरले लाल समुद्रको पानी सुकाइदिनुभएको र यर्दन पारिका एमोरीहरूका दुवै राजा, सीहोन र ओगलाई तपाईंहरूले नाश गर्नुभएको पनि हामीहरूले सुनेका छौं। यो सुन्‍ने बित्तिकै हामी भयाकूल बन्यौं र तपाईंहरूका कारणले हामीहरू कसैमा आँटै रहेन, किनकि परमप्रभु तपाईंहरूका परमेश्‍वरनै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्छ।” (यहोशू २:१०, ११) यहोवाका शक्‍तिशाली कामहरूको विवरण सुनेर राहाब तथा तिनको परिवार यरीहो र त्यसका झूटा देउताहरूलाई त्यागेर इस्राएलीहरूसँगै यहोवाको उपासना गर्न प्रेरित भए। यहोवाले इस्राएलद्वारा प्रभावशाली साक्षी दिनुभएको थियो भन्‍ने कुरा यसबाट स्पष्ट हुन्छ।—यहोशू ६:२५.

११. साक्षी दिने सम्बन्धमा सबै इस्राएली आमाबाबुहरूको के जिम्मेवारी थियो?

११ इस्राएलीहरू मिश्र देशमै हुँदा यहोवाले मोशालाई यसो भन्‍नुहुँदै फिरऊनकहाँ पठाउनुभएको थियो: “फिरऊनकहाँ जा, किनकि तिनीहरूका बीचमा मेरा यी चिन्हहरू देखाऊँ भनेरनै मैले त्यो र त्यसका भारादारहरूका हृदय कठोर गरेको हुँ। मैले कसरी मिश्रीहरूको उपहास गरें, र तिनीहरूको बीचमा कस्ता कस्ता चिन्हहरू देखाएँ सो तैंले आफ्ना छोरा नातिहरूलाई बताउनू, र म परमप्रभुनै हुँ भनी तिमीहरूले थाह पाओ।” (प्रस्थान १०:१, २) यसअनुरूप आज्ञाकारी इस्राएलीहरूले आफ्ना छोराछोरीहरूलाई यहोवाका शक्‍तिशाली कामहरू सुनाउने थिए। अनि तिनीहरूका छोराछोरीहरूले आफ्ना छोराछोरीहरूलाई सिकाउँदै जाँदा क्रमशः एक पुस्तादेखि अर्को पुस्तासम्म ती शक्‍तिशाली कामहरू सुनाइने थिए। यसप्रकार यहोवाका शक्‍तिशाली कामहरूको सम्झना भइरहने थियो। त्यस्तैगरि, आज पनि आमाबाबुहरूले छोराछोरीहरूलाई साक्षी दिने जिम्मेवारी पाएका छन्‌।—व्यवस्था ६:४-७; हितोपदेश २२:६.

१२. यहोवाले सुलेमान तथा इस्राएललाई दिनुभएका आशिष्‌हरूले कसरी साक्षी दियो?

१२ इस्राएल विश्‍वासी छऊञ्जेल यहोवाले त्यसलाई दिनुभएको प्रशस्त आशिष्‌हरूले वरपरका राष्ट्रहरूलाई साक्षी दियो। यहोवाले प्रतिज्ञा गर्नुभएका आशिष्‌हरू दोहोऱ्‍याएर सुनाएपछि मोशाले यसो भने: “पृथ्वीका समस्त मानिसहरूले तिमीहरू परमप्रभुका हो भनी थाह पाएर तिमीहरूसँग डराउनेछन्‌।” (व्यवस्था २८:१०) विश्‍वासैले गर्दा सुलेमानलाई बुद्धि र धन दिइयो। तिनको शासनकालमा इस्राएल राष्ट्र फलिफाप हुनुका साथै त्यहाँ लामो समयसम्म शान्ति छायो। त्यस समयबारे हामी यस्तो लेखिएको पाउँछौं: “सुलेमानको बुद्धि सुन्‍नलाई सबै जातिका मानिसहरू आउँथे। औ तिनका बुद्धिका कुरा सुन्‍ने सबै राजाहरूबाट तिनले सौगात पाउँथे।” (१ राजा ४:२५, २९, ३०, ३४) सुलेमानलाई भेट्‌न आउनेहरूमध्ये शबाकी रानी उल्लेखनीय छिन्‌। इस्राएल राष्ट्र र त्यसका राजालाई यहोवाले दिनुभएको आशिष्‌ आफ्नै आँखाले देखेपछि तिनले यसो भनिन्‌: “तपाईंसित प्रसन्‍न भई तपाईंलाई राजा नियुक्‍त गरेर सिंहासनमा बसाल्नुहुने परमप्रभु तपाईंका परमेश्‍वर धन्यका होऊन्‌। किनभने तपाईंका परमेश्‍वरले आफ्नो प्रेममा सदा सर्वदै रहन इस्राएललाई चुन्‍नुभयो।”—२ इतिहास ९:८.

१३. इस्राएलको सबैभन्दा प्रभावशाली साक्षी के थियो होला अनि त्यसबाट हामी अझै कसरी लाभान्वित हुन्छौं?

१३ तर इस्राएलले दिने सम्भवतः सबैभन्दा प्रभावशाली साक्षीबारे पावलले उल्लेख गरे। रोमको मसीही मण्डलीसित शारीरिक इस्राएलबारे छलफल गर्दा तिनले यसो भने: “परमेश्‍वरको वाणी तिनीहरूलाई विश्‍वाससँग सुम्पियो।” (रोमी ३:१, २) यहोवाले इस्राएलसित गर्नुभएको व्यवहारका साथै उहाँको सल्लाह, व्यवस्था तथा अगमवाणीहरू अभिलेख गर्न मोशा अनि त्यसपछि अन्य केही विश्‍वासी इस्राएलीहरू प्रेरित भए। यी लेखोटहरूद्वारा पुरातन समयका ती शास्त्रीहरूले साँचो परमेश्‍वर केवल एक हुनुहुन्छ र उहाँको नाउँ यहोवा भनेर हामीलगायत सबै भावी पुस्ताहरूलाई साक्षी दिए।—दानियल १२:९; १ पत्रुस १:१०-१२.

१४. यहोवाको साक्षी दिने कसै कसैले किन सतावट भोग्नुपऱ्‍यो?

१४ दुःखलाग्दो कुरा, इस्राएल बारम्बार अविश्‍वासी भयो। फलतः यहोवाले आफ्नै राष्ट्रमा साक्षीहरू पठाउनु पऱ्‍यो। यीमध्ये धेरै जना सताइए। पावलको भनाइअनुसार यिनीहरूमध्ये कसै कसैले “गिल्ला, कोराबाजी, औ अझ बढ़ी बन्धन र कैदको परीक्षा भोग्नुपऱ्‍यो।” (हिब्रू ११:३६) निस्सन्देह, तिनीहरू विश्‍वासी साक्षीहरू थिए। यद्यपि, यहोवाले चुन्‍नुभएका आफ्नै देशवासीहरूद्वारा प्रायजसो सतावट भोग्नु चाहिं असाध्यै दुःखलाग्दो कुरा हो! (मत्ती २३:३१, ३७) वास्तवमा यो राष्ट्रको पाप यति धेरै भयो, सा.यु.पू. ६०७ मा यहोवाले बेबिलोनीहरूको हातबाट यरूशलेम तथा त्यसको मन्दिरलाई नष्ट गर्नुका साथै बाँकी रहेका अधिकांश इस्राएलीहरूलाई निर्वासनमा पठाउनुभयो। (यर्मिया २०:४; २१:१०) त्यसोभए के यहोवाको नाउँको देशव्यापी साक्षी दिने कामको अन्त भयो त? भएन।

ईश्‍वरहरूका मुद्दा

१५. बाबेलमा निर्वासित हुँदा समेत कसरी साक्षी दिइयो?

१५ बाबेलमा निर्वासित जीवन बिताउनु पर्दा पनि इस्राएल राष्ट्रका विश्‍वासी सदस्यहरूले यहोवाको ईश्‍वरत्व र उहाँको शक्‍तिको साक्षी दिन हिचकिचाएनन्‌। उदाहरणको लागि, दानियलले निर्भयतापूर्वक नबूकदनेसरलाई सपनाको अर्थ बताए, बेलसजरलाई भित्तामा लेखिएका शब्दहरूको अर्थ खोलिदिए अनि दारा राजाको आदेशको बावजूद प्रार्थनाको मामिलामा सम्झौता गर्न इन्कार गरे। तीन जना हिब्रूहरूले पनि प्रतिमासमक्ष झुक्न इन्कार गरेर नबूकदनेसरलाई अद्‌भुत साक्षी दिए।—दानियल ३:१३-१८; ५:१३-२९; ६:४-२७.

१६. इस्राएल आफ्नो भूमिमा फर्कनेछ भनेर यहोवाले कसरी अगमवाणी गर्नुभयो र त्यसरी फर्कनुको उद्देश्‍य के हुने थियो?

१६ तर यसो भए तापनि यहोवाले इस्राएली भूमिमा देशव्यापी साक्षी दिने उद्देश्‍य रच्नुभयो। बाबेलमा निर्वासित यहूदीहरूबीच अगमवाणी गर्ने इजकिएलले उजाड मुलुकबारे यहोवाले गर्नुभएको यो दृढ निर्णय उल्लेख गरे: “धेरै मानिसहरूको संख्याले म तँलाई भरिभराउ पार्नेछु, अर्थात्‌ इस्राएलका समस्त घरानाले। शहरहरूमा फेरि मानिसहरू बास गर्नेछन्‌ र महलहरू फेरि बनाइनेछन्‌।” (इजकिएल ३६:१०) तर यहोवाले किन त्यसो गर्न लाग्नुभएको थियो? मुख्यतः आफ्नो नाउँको साक्षी दिन। इजकिएल मार्फत उहाँले यसो भन्‍नुभयो: “हे इस्राएली हो, म ता तिमीहरूकै खातिर काम गरिरहेको होइन, तर मेरो पवित्र नाउँको खातिर हो, जुन नाउँलाई तिमीहरू गएका जाति जातिहरूका बीचमा तिमीहरूले अपवित्र पारेका छौ।”—इजकिएल ३६:२२; यर्मिया ५०:२८.

१७. यशैया ४३:१० को प्रसंग के थियो?

१७ वास्तवमा इस्राएलीहरू बाबेलको निर्वासनबाट फर्केर आउनेछन्‌ भनी अगमवाणी गर्दा यशैया अगमवक्‍ता यशैया ४३:१० का शब्दहरू कोर्न प्रेरित भएका थिए। उपरोक्‍त पदमा इस्राएललाई यहोवाको साक्षी तथा सेवक भनी सम्बोधन गरिएको छ। यशैया ४३ र ४४ अध्यायमा यहोवालाई इस्राएलको सृष्टिकर्ता, संस्थापक, परमेश्‍वर, पवित्र परमप्रभु, मुक्‍तिदाता, उद्धारक, राजा र रचनाकार भनी वर्णन गरिएको छ। (यशैया ४३:३, १४, १५; ४४:२) इस्राएल राष्ट्रले यहोवालाई त्यसो नसम्झेर बारम्बार महिमा नगरेकोले निर्वासनमा पठाइएको थियो। तथापि, तिनीहरू आखिरमा उहाँकै जन थिए। त्यसैकारण यहोवाले तिनीहरूलाई भन्‍नुभयो: “नडरा, किनकि मैले तँलाई छुटाएको छु। मैले तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु, तँ मेरै होस्‌।” (यशैया ४३:१) इस्राएल सधैंभरि बाबेलमा निर्वासित हुने थिएन।

१८. इस्राएल बाबेलबाट मुक्‍त हुँदा त्यसले कसरी यहोवा मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनेर प्रमाणित गऱ्‍यो?

१८ निस्सन्देह, यहोवाले इस्राएललाई बाबेलबाट मुक्‍ति दिनुभएर ईश्‍वरहरूसमक्ष मुद्दा हाल्नुभयो। उहाँले राष्ट्रहरूका झूटा देउताहरूलाई आ-आफ्ना साक्षी पेश गर्ने चुनौती दिनुभयो र इस्राएललाई आफ्नो साक्षी भनी सम्बोधन गर्नुभयो। (यशैया ४३:९, १२) इस्राएललाई बाबेलको निर्वासनबाट मुक्‍त गर्नुभएर उहाँले बाबेलका ईश्‍वरहरू वास्तवमा ईश्‍वरहरू होइनन्‌ र उहाँ मात्र साँचो ईश्‍वर हुनुहुन्छ भनेर प्रमाणित गर्नुभयो। (यशैया ४३:१४, १५) अझ इस्राएल राष्ट्रले मुक्‍ति पाउनुभन्दा २०० वर्षअघि नै फारसी राजा कोरेस उहाँको सेवक हो र तिनले नै यहूदीहरूलाई मुक्‍ति दिनेछन्‌ भनी बताउनु भएर यहोवाले आफ्नो ईश्‍वरत्वको थप प्रमाण दिनुभयो। (यशैया ४४:२८) तर इस्राएललाई किन मुक्‍ति दिने? यहोवा यसरी वर्णन गर्नुहुन्छ: “[ताकि इस्राएलले] मेरो प्रशंसा गरून्‌।” (यशैया ४३:२१) त्यसले साक्षी दिने थप मौका प्रदान गर्नेथियो।

१९. कोरेसले इस्राएलीहरूलाई यरूशलेम फर्कन दिएको निमन्त्रणा र फर्केपछि विश्‍वासी यहूदीहरूले गरेको कामहरूले कस्तो साक्षी दियो?

१९ अगमवाणी गरिएझैं समयमा फारसी राजा कोरेसले बाबेलमाथि विजय हासिल गरे। कोरेस मूर्ति- पूजक थिए। तापनि बाबेलमा बस्ने यहूदीहरूलाई आफ्नो फैसला सुनाउँदा तिनले यहोवाको ईश्‍वरत्वको घोषणा गरे: “तिनीहरूका बीचमा हुने उहाँको प्रजाको हरेक मानिसलाई म यो भन्दछु, ‘परमेश्‍वर त्यससँग रहून्‌। त्यो मानिस यहूदाको यरूशलेममा उक्लेर जाओस्‌, र यरूशलेम शहरमा हुनुहुने [साँचो, न्युव] परमेश्‍वरको भवन त्यसले फेरि निर्माण गरोस्‌।” (एज्रा १:३) थुप्रै यहूदीहरूले तिनको कुरा सुने। प्रतिज्ञा गरेको देशमा पुग्न तिनीहरूले लामो यात्रा गरे अनि पुरातन मन्दिर क्षेत्रमा वेदी खडा गरे। निरुत्साह र कडा विरोधको बावजूद अन्ततः तिनीहरूले मन्दिर तथा यरूशलेम शहर पुनः निर्माण गरे। स्वयं यहोवाले भन्‍नुभएझैं यी सबै कुरा “नता बलले, न शक्‍तिले, तर [उहाँको] आत्माले” गर्दा सम्भव भयो। (जकरिया ४:६) त्यसरी मन्दिर तथा शहर पुनः निर्माण गर्नसक्नु पनि यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने थप प्रमाण थियो।

२०. इस्राएलका कमजोरीहरूका बावजूद त्यसले पुरातन संसारमा यहोवाको नाउँबारे दिएको साक्षीबारे के भन्‍न सकिन्छ?

२० यसप्रकार इस्राएल राष्ट्र असिद्ध अनि बेलाबेलामा विद्रोही भए तापनि यहोवाले त्यसलाई आफ्नो साक्षी बनाई नै राख्नुभयो। मसीही पूर्व संसारमा इस्राएल राष्ट्र र त्यसका मन्दिर तथा पूजाहारीगिरी नै साँचो उपासनाको एक मात्र केन्द्र थियो। यहोवाले इस्राएलसित गर्नुभएका व्यवहारहरूबारे हिब्रू शास्त्र पढ्‌ने कसैले पनि साँचो परमेश्‍वर एक मात्र हुनुहुन्छ र उहाँको नाउँ यहोवा हो भनेर शंका गर्न सक्दैन। (व्यवस्था ६:४; जकरिया १४:९) तथापि, यहोवाको नाउँबारे अझ ठूलो साक्षी दिइन लागेको थियो। त्यसबारे हामी आगामी लेखमा पढ्‌नेछौं।

के तपाईंलाई सम्झना छ?

◻ यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ भनेर अब्राहामले कसरी साक्षी दिए?

◻ मोशाको कुन चाहिं विशिष्ट गुनले गर्दा तिनी विश्‍वासी साक्षी हुन सके?

◻ इस्राएलले कुन कुन तरिकामा यहोवाबारे देशव्यापी साक्षी दिए?

◻ इस्राएलले बाबेलबाट पाएको मुक्‍तिले कसरी यहोवा मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनेर प्रदर्शित गऱ्‍यो?

[पृष्ठ १०-मा भएको चित्र]

आफ्नो विश्‍वास र आज्ञाकारिताद्वारा अब्राहामले यहोवाको ईश्‍वरत्वको विशिष्ट साक्षी दिए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने