असमानताले ल्याएको सर्वव्यापी पीडा
“हामी यी कुराहरू स्वप्रमाणित तथ्यको रूपमा स्वीकार्छौं कि सबै मानिस समान छन्, जन्मैदेखि उनीहरूलाई जीवन, स्वतन्त्रता र सुख प्राप्ति जस्ता जन्मसिद्ध अधिकारहरू प्राप्त छन्।”— अमेरिकी स्वतन्त्रताको घोषणापत्र, १७७६.
“सबै व्यक्ति जन्मजात स्वतन्त्र र समान छन्।”—मानिस तथा नागरिक अधिकारहरूको फ्रान्सेली घोषणापत्र, १७८९.
“सबै मान्छे जन्मजात स्वतन्त्र र फुक्का हुन्छ। सबैको समान अधिकार र समान महत्त्व छ।”—संयुक्त राष्ट्र संघको साधारण सभाले १९४८ मा पारित गरेको मानवअधिकारको विश्वव्यापी घोषणापत्र।
यसमा शंका गर्नुपर्ने कुनै ठाउँ छैन। मानिसहरू जहाँसुकै किन नहोस्, समानता चाहन्छन्। तर दुःखको कुरा, मानव समानताको कुरा अहिलेसम्म पनि दोहऱ्याइ तेहऱ्याइ रहनुपर्ने तथ्यले नै देखाउँछ कि मानिसजातिले अहिलेसम्म समानता पाउन सकेका छैनन्।
अहिले २० औं शताब्दीको अन्तमा कामकुरा सुध्रिरहेको छ भनेर के कसैले दाबी गर्नसक्छ र? संयुक्त राज्य, फ्रान्स वा संयुक्त राष्ट्र संघका १८५ सदस्यहरूमध्ये कसले आफ्नो जन्मसिद्ध समान अधिकारको उपभोग गर्न पाइरहेका छन् र?
सबै मानिसहरू समान हुन् भन्ने धारणा “स्वप्रमाणित” होला तर सबै मानिसहरूले समान “जीवन, स्वतन्त्रता र सुख” पाएका छैनन्। उदाहरणका लागि, अफ्रिकामा २,५६९ जना बिरामी बच्चाको लागि एक जना मात्र चिकित्सक उपलब्ध छ, जबकि युरोपमा हरेक २८९ बिरामीको लागि एक जना चिकित्सक छ। अब यसलाई जीवनको अधिकारको कस्तो समानता भन्ने? भारतका एक तिहाइ केटाहरू र दुई तिहाइ केटीहरूले लेखपढ गर्ने मौकासमेत पाउँदैनन् जबकि जापान, जर्मनी र बेलाइतका प्रायजसो सबै बच्चाले शिक्षादिक्षा पाउँछन् भने त्यसलाई स्वतन्त्रता र सुख प्राप्तिको कस्तो समानता भन्ने?
के प्रति व्यक्ति आय १,३८० अमेरिकी डलर कमाउने मध्य अमेरिकी राष्ट्रका मानिसहरूले पनि प्रति व्यक्ति आय २४,९९० डलर कमाउने फ्रान्सका मानिसहरूले जस्तै समान “मर्यादा र अधिकार” पाइरहेका छन्? अफ्रिकी नवजात बच्ची सालाखाला ५६ वर्ष बाँच्छिन् तर उत्तर अमेरिकी बच्ची ७९ वर्ष बाँच्छिन् भने त्यसलाई के समानता भन्ने?
असमानताका प्रायः सबै पक्षहरू तीता छन्। जीवनस्तर, स्वास्थ्य सेवा र शिक्षामा असमानताका केही उदाहरणहरू मात्र हुन्। कहिलेकाहीं राजनैतिक, जातीय वा धार्मिक भिन्नताहरूले मानिसहरूलाई आफ्नो मर्यादा र स्वतन्त्रताबाट वञ्चित गराउन निर्णायक भूमिका खेलेको हुन्छ। समानताबारे जति धेरै कुरा गरे तापनि हामी असमानताले भरिएको संसारमा बाँचिरहेका छौं। सर्वव्यापी पीडा शब्दको अर्थअनुरूप “व्यापक तवरमा फैलिएको वा अत्यधिक दुःखकष्ट” जस्तै असमानताले मानव समाजको हरेक पक्षलाई असर गरेको छ। गरिबी, बिरामी, अज्ञानता, बेरोजगारी र भेदभावको रूपमा असमानताको पीडाले हृदय छियाछिया पार्छ।
“सबै मानिस समान छन्।” कस्तो उच्च विचार! तर वास्तविकता भने त्यसको ठीक विपरीत हुनु कत्ति दुःखको कुरा हो।
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
UN PHOTO 152113/SHELLEY ROTNER