असमानता—के परमेश्वरले चाहनुभएको हो?
एउटै शब्दमा जवाफ दिने हो भने, होइन। त्यसको कारण के हो, हामी हेरौं।
सबै मानिसहरूले जीवनको आनन्द उठाओस् र सुखी रहने समान अधिकार पाओस् भन्ने परमेश्वर चाहनुहुन्थ्यो। मानिसको सृष्टिबारे हामी यस्तो लेखिएको पाउँछौं: “फेरि परमेश्वरले भन्नुभयो, ‘मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तुपशुहरू र जमीनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्।’ ” पृथ्वीमा सृष्टिको काम पूरा भएपछि “आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।”—उत्पत्ति १:२६, ३१.
के परमेश्वरले अहिले व्याप्त असमानताको दुःखद अवस्थालाई “साह्रै राम्रो” भन्न सक्नुहुन्छ? पटक्कै सक्नुहुन्न किनभने “परमेश्वर प्रेम हुनुहुन्छ।” (१ यूहन्ना ४:८) “उहाँले कहिल्यै पक्षपात गर्नुहुन्न” र “उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसंगत छन्। परमेश्वर अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ” भनिएको छ। (व्यवस्था १०:१७; ३२:४; तुलना गर्नुहोस् अय्यूब ३४:१९) अनि प्रेरित पत्रुस यस्तो निष्कर्षमा पुगे: “साँच्चिनै म देख्तछु, कि परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।”—प्रेरित १०:३४, ३५.
परमेश्वर दयालु, निष्पक्ष, न्यायी, साँचो र धर्मी हुनुहुन्छ भने उहाँले सुख प्राप्त गर्ने सन्दर्भमा मानिसहरूलाई जन्मैदेखि असमान सृष्टि गर्नुभएको होला र? मानिसहरूबीच भेदभाव र तिनीहरूलाई असमानता व्याप्त समाजमा राख्नु उहाँको व्यक्तित्वसित पटक्कै नमिल्ने कुरा हो। “सबै मानिसहरूले जन्मजात स्वतन्त्रता, समान मर्यादा र अधिकार” पाओस् भन्ने हेतुले सृष्टि गर्नुभएको थियो। यद्यपि, अहिले कामकुराहरू त्यस्तो पटक्कै भइरहेको छैन। किन?
असमानताको मूल कारण
परमेश्वरले सबै मानिसहरूलाई समान बनाउनुभयो भन्नुको मतलब हरेक पक्षमा सबै मानिसहरू समान होस् भन्नुभएको होइन। तिनीहरूको खुबी, चासो र व्यक्तित्व बेग्लाबेग्लै हुनसक्छ। तिनीहरूको जीवनस्तर वा हरेकले पाएको अख्तियार बेग्लाबेग्लै हुनसक्छ। उदाहरणका लागि, पुरुष र स्त्री हरेक पक्षमा बराबर छैनन् तर परमेश्वरले स्त्रीलाई पुरुषको “सहयोगी” हुन बनाउनुभयो। (उत्पत्ति २:१८) आमाबाबु र छोराछोरीले एकैनासे अख्तियार पाएका हुँदैनन्। तर यी भिन्नताहरूको बावजूद सबै पुरुष, स्त्री तथा बालबच्चाहरूले सुख प्राप्त गर्ने आधारभूत आवश्यकताहरू पूरा गर्न परमेश्वरले समान अधिकार दिनुभएको छ। तिनीहरू सबैले परमेश्वरको सामु समान मर्यादा र स्थान पाउनुपर्छ।
त्यस्तै गरी, मानिसहरूभन्दा पहिले सृष्टि गरिएका परमेश्वरका आत्मिक पुत्रहरूलाई बेग्लाबेग्लै काम र जिम्मेवारीहरू दिइएको थियो। (उत्पत्ति ३:२४; १६:७-११; यशैया ६:६; यहूदा ९) तर जे होस्, तिनीहरूलाई जे जति दिइएको छ त्यसको आधारमा सबैले जीवन र सुख प्राप्ति गर्ने समान ईश्वरीय प्रबन्धहरूको आनन्द उठाउने मौका पाएका थिए। यसप्रकार तिनीहरू मार्फत परमेश्वरको निष्पक्षता झल्कियो।
दुःखको कुरा, एउटा आत्मिक प्राणीलाई परमेश्वरको निष्पक्ष प्रबन्ध चित्त बुझेन। त्यसले परमेश्वरले दिनुभएको भन्दा बढी कुराको चाह गऱ्यो। त्यसले अझ उच्च, ठूलो ओहदाको लालसा गऱ्यो। यो गलत इच्छा मनमा खेलाइरहेर सार्वभौम सृष्टिकर्ता यहोवाको विरुद्ध खडा भयो। परमेश्वरको त्यस विद्रोही पुत्रले पछि अरू मानिसहरूलाई पनि परमेश्वरले दिनुभएको भन्दा बढी कुरा चाह गर्न उस्कायो। (उत्पत्ति ३:१-६; तुलना गर्नुहोस् यशैया १४:१२-१४) तसर्थ, मानिसहरूले सुखमय जीवन पाओस् भन्ने परमेश्वरको प्रबन्ध एकदमै गोलमाल भएजस्तो देखियो। मानव असमानता उस्काउने प्रमुख त्यो आत्मिक विद्रोहीलाई प्रकाश २०:२ मा, “दियाबल र शैतान” भनिएको छ।
के यो अवस्था कहिल्यै परिवर्तन हुनेछ?
एउटै शब्दमा भन्ने हो भने, हुनेछ!
तर सबैले आशा गरेको यस्तो परिवर्तन कसले ल्याउनसक्छ? कोही कोही मानव शासकहरूले निष्कपट भावले परिवर्तन ल्याउन संघर्ष गरेको शताब्दीयौं भइसक्यो। तिनीहरूले सीमित सफलता मात्र हासिल गरेका छन्। त्यसैकारण थुप्रै मानिसहरू मानव असमानताको समस्या समाधान हुनेछ भनी आशा गर्नु अव्यवहारिक ठान्छन्। तथापि, यशैया ५५:१०, ११ मा परमेश्वरको दृष्टिकोण यसप्रकार लिपिबद्ध गरिएको छ: “जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमीनलाई भिजाएर बाली उमार्छ, औ छर्नेलाई बीउ र खानेलाई भोजन दिन्छ, त्यसरीनै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेका काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।”
सबै मानिसलाई जीवन र आनन्दको समान अधिकार दिने आफ्नो सुरुको उद्देश्य यहोवा परमेश्वरले घोषणा गर्नुभएको थाह पाउनु कत्ति सान्त्वनादायी कुरा हो! सत्यको परमेश्वर हुनुभएको हुँदा उहाँ आफूले प्रतिज्ञा गर्नुभएको कुरा पूरा गर्नैपर्ने महसुस गर्नुहुन्छ। आनन्दको कुरा, उहाँले त्यसो गर्ने इच्छा गर्नुहुन्छ र उहाँसित शक्ति पनि छ। उहाँले त्यो कसरी पूरा गर्नुहुनेछ?
येशू ख्रीष्टले आफ्ना अनुयायीहरूलाई प्रार्थना गर्न सिकाउनुभएको परमेश्वरको राज्य मार्फत उहाँले त्यो पूरा गर्नुहुनेछ: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।” (मत्ती ६:९, १०) हो, परमेश्वरको राज्य मार्फत यहोवाले “[अहिले अस्तित्त्वमा भएका] सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।”—दानियल २:४४.
स्वर्गीय राज्य शासन अन्तर्गत नयाँ मानव समाजको उदय हुनेछ। यस सन्दर्भमा प्रेरित यूहन्नाले बाइबलको अन्तिम पुस्तक, प्रकाशमा यसप्रकार लेखे: “मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी ता बितिहाले।” (प्रकाश २१:१) असमानताले फेरि आफ्नो टाउको उठाउन पाउनेछैन—गरिबी, बिरामी, अज्ञानता, भेदभाव र अन्य मानव दुःखकष्टहरू बितिसकेका हुनेछन्।a
यहोवाका साक्षीहरूले त्यो राज्यतिर मानिसहरूको ध्यानाकर्षण गर्दै आएको एक शताब्दीभन्दा बढी भइसक्यो। (मत्ती २४:१४) विभिन्न प्रकाशन र व्यक्तिगत सहयोगद्वारा तिनीहरूले बाइबलमा लिपिबद्ध परमेश्वरको उद्देश्यबारे ज्ञान हासिल गर्न मानिसहरूलाई मदत गरिरहेका छन्। तथापि, तिनीहरूको विश्वव्यापी शैक्षिक कार्यले मानिसहरूलाई समानता पाउने आशा र भविष्यमा सुख मात्र नभई अहिल्यै पनि असमानताले ल्याएको पीडामाथि विजयी हुने निकै मदत दिएको छ। आउनुहोस्, त्यो कसरी भइरहेको छ हेरौं।
[फुटनोट]
a परमेश्वरको राज्यले चाँडै सबैका लागि समानता कसरी ल्याउनेछ भनी विस्तृत छलफलको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तकको अध्याय १० र ११ हेर्नुहोस्।
[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]
सबै मानिसले जीवन र सुख प्राप्तिको समान अधिकार पाओस् भन्ने उद्देश्य परमेश्वरले राख्नुभएको थियो