प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 १/१ पृ. १८-२२
  • धार्मिकता खोजी गर्दा हामी सुरक्षित हुनेछौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धार्मिकता खोजी गर्दा हामी सुरक्षित हुनेछौं
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धार्मिकताको महत्त्व
  • अधर्मी संसारमा धर्मी
  • अनैतिकताको पासो
  • समाजबाट आउने दबाब
  • यहोवालाई नभुल्नुहोस्‌
  • आफूखुसी गर्ने झुकाव राख्नदेखि होसियार
  • येशूको देखासिकी गर्नुहोस्‌
  • धार्मिकतालाई सारा मनले प्रेम गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • यहोवाको धार्मिकतामा आनन्दित हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • यहोवाका मानिसहरू धार्मिकतालाई प्रेम गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • पहिले “उहाँको धार्मिकता” खोजिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 १/१ पृ. १८-२२

धार्मिकता खोजी गर्दा हामी सुरक्षित हुनेछौं

“पहिले [ परमेश्‍वरको ] . . . धार्मिकता खोजी गर।”—मत्ती ६:३३.

१, २. एउटी जवान मसीही बहिनीले कस्तो निर्णय गरिन्‌ र उनले त्यस्तो निर्णय गर्नुको कारण के थियो?

एसियाकी एउटी जवान मसीही बहिनी सरकारी अफिसमा सेक्रेटरीको काम गर्थिन्‌। उनी समयमै अफिस पुग्थिन्‌ र अल्छी नमानी काम गर्थिन्‌। साँच्चै भन्‍ने हो भने, उनी कर्तव्यनिष्ठ कर्मचारी थिइन्‌। तर उनको जागिर अस्थायी थियो। त्यसैकारण उनलाई स्थायी बनाउने कि नबनाउने भनेर निधो गर्ने बेला आयो। ती जवान मसीही बहिनी काम गर्ने विभागका हाकिमले उनको जागिर स्थायी बनाइदिने र बढुवा पनि गरिदिने वचन दिए। तर त्यसको लागि उनले हाकिमसित अनैतिक यौनसम्बन्ध राख्नुपर्ने थियो। जागिर गुमे पनि गुमोस्‌, केही वास्ता नगरी ती बहिनीले हाकिमको प्रस्ताव ठाडै इन्कार गरिन्‌।

२ के ती जवान मसीही बहिनीले सोचविचार नगरी मूर्ख निर्णय गरेकी थिइन्‌? अहँ, थिइनन्‌ किनभने उनले येशूले दिनुभएको यो सल्लाह होसियारसाथ पालन गरिरहेकी थिइन्‌: “पहिले [परमेश्‍वरको] . . . धार्मिकता खोजी गर।” (मत्ती ६:३३) अवैध यौनसम्बन्ध राखेर जागिर स्थायी बनाउनुभन्दा परमेश्‍वरका धार्मिक सिद्धान्तहरू पालन गर्नु उनको लागि कता हो कता महत्त्वपूर्ण थियो—१ कोरिन्थी ६:१८.

धार्मिकताको महत्त्व

३. धार्मिकता भनेको के हो?

३ “धार्मिकता” भनेको नैतिक रूपमा निष्ठावान्‌ र इमानदार हुनु हो। बाइबलमा धार्मिकता बुझाउन प्रयोग गरिएका युनानी तथा हिब्रू शब्दले “सोझोपना” भन्‍ने अर्थ दिन्छ। सोझो हुनु भनेको आफूले निर्धारण गरेको नैतिक स्तरअनुसार आफूलाई धर्मी ठहऱ्‍याउनु होइन। (लूका १६:१५) यो त यहोवाको स्तरअनुसारको सोझोपना हो। हो, यो परमेश्‍वरको धार्मिकता हो।—रोमी १:१७; ३:२१.

४. मसीहीहरूका लागि धार्मिकता किन महत्त्वपूर्ण छ?

४ धार्मिकता किन महत्त्वपूर्ण छ? किनभने आफ्ना जनहरू धार्मिक चालमा चल्दा “धार्मिकताका परमेश्‍वर” यहोवा उनीहरूमाथि अनुग्रह देखाउनुहुन्छ। (भजन ४:१; हितोपदेश २:२०-२२; हबकूक १:१३) तर अधर्मी मानिसले यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न सक्दैन। (हितोपदेश १५:८) त्यसैकारण प्रेरित पावलले तिमोथीलाई “जवानीका अभिलाषाहरूबाट भाग” अनि “धार्मिकता” र अरू अत्यावश्‍यक गुणहरूको “पछि लाग” भनेर आग्रह गरे। (२ तिमोथी २:२२) त्यही कारणले, विभिन्‍न किसिमका आध्यात्मिक हातहतियार धारण गर्ने विषयमा बताउँदै जाँदा पावलले “धार्मिकताको छाती-पाता” लगाउने सल्लाह दिए।—एफिसी ६:१४.

५. असिद्ध मानिसहरूले कसरी धार्मिकता खोज्न सक्छन्‌?

५ हुन त हो, कुनै पनि मानिस शत-प्रतिशत धर्मी छैन। आदमले सबैमा असिद्धता सारिदिएका छन्‌ र सबै जना जन्मजात पापी र अधर्मी छन्‌। तरैपनि, हामीले धार्मिकता खोज्नुपर्छ भनेर येशूले बताउनुभयो। तर सम्भव छ र? सम्भव नहुने त कुरै छैन। किनभने हाम्रो लागि भनेरै येशूले आफ्नो सिद्ध जीवन बलिदान चढाउनुभयो। त्यस बलिदानमा विश्‍वास गऱ्‍यौं भने हाम्रो पाप क्षमा गर्न यहोवा तयार हुनुहुन्छ। (मत्ती २०:२८; यूहन्‍ना ३:१६; रोमी ५:८, ९, १२, १८) त्यसै बलिदानको आधारमा उहाँका धार्मिक स्तरहरू सिक्यौं र ती पालन गर्न सक्दो प्रयास गऱ्‍यौं अनि आफ्ना कमीकमजोरी हटाउन यहोवालाई प्रार्थना गऱ्‍यौं भने उहाँले हाम्रो उपासना स्वीकार्नुहुनेछ। (भजन १:६; रोमी ७:१९-२५; प्रकाश ७:९, १४) कत्ति सान्त्वनादायी कुरा!

अधर्मी संसारमा धर्मी

६. प्रारम्भिक मसीहीहरूका लागि संसार किन खतरै-खतराले भरिएको ठाउँ थियो?

६ “पृथ्वीको अन्तसम्म” येशूका गवाही बन्‍ने जिम्मेवारी स्वीकारेपछि उहाँका चेलाहरूले एउटा कठिनाइको सामना गरे। (प्रेरित १:८) उनीहरूलाई काम गर्न खटाइएको सम्पूर्ण इलाका “दुष्ट [शैतानको] अधीनमा परेको” थियो। (१ यूहन्‍ना ५:१९) शैतानले संसारभरि आफ्नो दुष्टता फैलाएको थियो र त्यसले मसीहीहरूलाई असर नगर्ला भन्‍न सकिन्‍नथ्यो। (एफिसी २:२) उनीहरूका लागि संसार खतरै-खतराले भरिएको ठाउँ थियो। पहिला परमेश्‍वरको धार्मिकता खोजेको खण्डमा मात्र उनीहरू निष्ठावान्‌ रहिरहन सक्थे। धेरैजना निष्ठावान्‌ रहे पनि कोही-कोही भने ‘धार्मिकताको बाटोबाट’ तर्केर गए।—हितोपदेश १२:२८; २ तिमोथी ४:१०.

७. मसीहीहरूले भ्रष्ट प्रभावको किन डटेर प्रतिरोध गर्नुपर्छ?

७ के आज मसीहीहरू यस संसारमा सुरक्षित छन्‌? कहाँ हुनु! प्रथम शताब्दीमा संसार जति भ्रष्ट थियो आज त्योभन्दा धेरै भ्रष्ट भइसकेको छ। त्यति मात्र होइन, शैतानलाई पृथ्वीमा फ्याँकिएको छ र त्यसले अभिषिक्‍त मसीहीहरूसँग अर्थात्‌ “परमेश्‍वरको आज्ञा पालन गर्ने, र येशूको साक्षी दिने, [त्यस स्त्रीका] बाँकी सन्तानहरूसँग” भीषण युद्ध लड्‌दैछ। (प्रकाश १२:१२, १७) त्यस “सन्तान[को]” पक्ष लिने जोसुकैमाथि शैतान जाइलाग्छ। तर मसीहीहरू यस संसारबाट भागेर अन्त कतै जान सक्दैनन्‌। संसारको भाग नभए पनि उनीहरू यहीं बस्छन्‌। (यूहन्‍ना १७:१५, १६) साथै, सोझा व्यक्‍तिहरूलाई खोज्न र ख्रीष्टका चेलाहरू बन्‍न सिकाउन उनीहरूले यही संसारमा प्रचार गर्नुपर्छ। (मत्ती २४:१४; २८:१९, २०) यस संसारको भ्रष्ट प्रभावबाट मसीहीहरू पूरै अछुतो रहन नसक्ने भएकाले ती प्रभावको उनीहरूले डटेर प्रतिरोध गर्नुपर्छ। आउनुहोस्‌, ती भ्रष्ट प्रभावहरूमध्ये चारवटा छलफल गरौं।

अनैतिकताको पासो

८. इस्राएलीहरूले किन मोआबीहरूका देवीदेवताको पूजाआजा गर्न थाले?

८ उजाडस्थानमा बिताएको ४० वर्ष सिद्धिनै लाग्दा थुप्रै इस्राएलीहरू धार्मिकताको मार्गबाट तर्किए। यहोवाले धेरैपल्ट उद्धार गर्नुभएको तिनीहरूले आफ्नै आँखाले देखेका थिए। तिनीहरू प्रतिज्ञा गरिएको देशमा पनि पुग्नै लागेका थिए। तर त्यस्तो महत्त्वपूर्ण घडीमा तिनीहरूले मोआबीहरूका देवीदेवताको पूजाआजा गर्न थाले। किन? तिनीहरू “शरीरको अभिलाषा[को]” वशमा परे। (१ यूहन्‍ना २:१६) विवरण यसो भन्छ: “मानिसहरूले मोआबका छोरीहरूसँग व्यभिचार गर्नलागे।”—गन्ती २५:१.

९, १०. अहिलेको कस्तो अवस्थाले गर्दा गलत शारीरिक अभिलाषाको भ्रष्ट प्रभावबारे सधैं सचेत रहनु जरुरी भएको छ?

९ होस पुऱ्‍याएन भने गलत शारीरिक अभिलाषाले कसरी भ्रष्ट बनाउन सक्छ भनेर त्यस घटनाले देखाउँछ। यसबाट हामीले पाठ सिक्नुपर्छ किनभने अचेल अनैतिकतालाई सामान्य ठान्‍नेहरू धेरै छन्‌। (१ कोरिन्थी १०:६, ८) अमेरिकाबाट प्राप्त रिपोर्टमा यसो भनिएको छ: “सन्‌ १९७० अघिसम्म विवाह नभएका केटा र केटी सँगै बस्नुलाई अमेरिकामा गैरकानुनी मानिन्थ्यो। अहिले त यसरी बस्नु सामान्य भइसक्यो। पहिलो चोटि विवाह गर्ने जोडीहरूमध्ये आधाभन्दा बढीले सँगै बसिसकेपछि मात्र विवाह गरेका हुन्छन्‌।” अब, विवाहअघि सँगै बस्ने चलन र अरू छाडा आचरण एउटा देशमै मात्र सीमित रहेन। यस्तो चलन संसारभरि दिन-प्रतिदिन सामान्य हुँदैछ। दुःखको कुरा, केही मसीहीहरू यस्तो लहडको पछि लागेका छन्‌ र यसो गर्दा उनीहरूलाई ताडना दिइएको छ र मण्डलीबाट बहिष्कारसमेत हुनु परेको छ।—१ कोरिन्थी ५:११.

१० यसबाहेक, अनैतिकतालाई प्रोत्साहन दिने कुराहरू व्यापक प्रचारप्रसार गरिन्छ। विवाहअघि यौनसम्बन्ध राख्नु गलत होइन भनेर चलचित्र तथा टेलिभिजन कार्यक्रमले जवानहरूको दिमागमा नराम्रो छाप पारिदिन्छ। केटा-केटा र केटी-केटीबीच राखिने यौनसम्बन्धलाई सामान्य रूपमा लिइन्छ। थुप्रै चलचित्रमा यौनसम्बन्ध राखेका स्पष्ट दृश्‍यहरू विस्तृत रूपमा देखाइन्छ। यस्ता दृश्‍यहरू इन्टरनेटमा पनि सजिलै हेर्न मिल्छ। उदाहरणको लागि, एउटा खबरपत्रिकाका स्तम्भकारले यसो भने: “सात वर्षको मेरो छोरा स्कूलबाट आएर खूब जोसिंदै उसको साथीले नाङ्‌गो केटीहरूले यौनसम्बन्ध राखिरहेको दृश्‍य भएको इन्टरनेट साइट पत्ता लगाएको कुरा मलाई सुनायो।” छोराको कुरा सुनेर बुबा छाँगाबाट खसेझैं भए। तर आफ्ना आमाबुबालाई थाहै नदिई यस्तो इन्टरनेट साइट हेर्ने केटाकेटीहरू कति होलान्‌, सोच्नुहोस्‌ त! आफ्ना छोराछोरीले कस्तो भिडियो गेम खेल्छन्‌ भनेर कति जना आमाबुबालाई थाह होला? एकदमै चलेको भिडियो गेमहरूमा यौनसम्बन्ध राखेको घिनलाग्दो दृश्‍य, भूतप्रेत र हिंसा हुन्छ।

११. संसारको अनैतिकताबाट परिवारलाई कसरी जोगाउन सकिन्छ?

११ यस्तो पतित “मनोरञ्जन”-बाट परिवारलाई कसरी जोगाउन सकिन्छ? अनैतिकताको छनक दिने कुनै पनि कुरामा मुछिन इन्कार गर्दै पहिला परमेश्‍वरको धार्मिकता खोजेर। (२ कोरिन्थी ६:१४; एफिसी ५:३) आफ्ना छोराछोरीले गर्ने कामकुरामा राम्रोसँग निगरानी राख्ने अनि छोराछोरीको मनमा यहोवा र उहाँको धार्मिक व्यवस्थाप्रतिको प्रेम ठप्प राख्ने आमाबाबुले छोराछोरीलाई अश्‍लील पत्रपत्रिका नपढ्‌न, अश्‍लील भिडियो गेम नखेल्न, छाडा चलचित्र नहेर्न र खराब काम गर्न लोभ्याउने कुराबाट टाढा बस्न दृढ बनाउँछन्‌।—व्यवस्था ६:४-९.a

समाजबाट आउने दबाब

१२. प्रथम शताब्दीमा कस्तो समस्या खडा भयो?

१२ एसिया माइनरको लिस्त्रामा छँदा पावलले चमत्कार गरेर एक जना मानिसलाई निको पारे। विवरण यसो भन्छ: “जब पावलले यो गरेको कुरो भीडले देख्यो, तब तिनीहरूले आफ्नो लाइकाओनिया भाषामा उच्च सोरले यसो भने, ‘देवहरू मानिसहरूका रूपमा हामीकहाँ ओर्लेर आएछन्‌।’ अनि तिनीहरूले बर्णाबासलाई जुपिटर र पावललाई मर्करी भन्‍नलागे, किनकि यिनीचाहिं मुख्य वक्‍ता थिए।” (प्रेरित १४:११, १२) तर पछि त्यही भीडले पावल र बर्णाबासलाई मार्न खोज्यो। (प्रेरित १४:१९) समाजको दबाबमा आएर भीडले त्यस्तो कदम चालेको थियो भन्‍ने कुरा स्पष्ट छ। त्यस ठाउँका केही व्यक्‍तिहरू पछि मसीही भए तैपनि तिनीहरूले अन्धविश्‍वासमा आधारित प्रचलन भने त्यागेनन्‌ जस्तो देखिन्छ। कलस्सीका मसीहीहरूलाई लेखेको पत्रमा पावलले “स्वर्गदूतलाई” पूजा नगर्न चेतावनी दिए।—कलस्सी २:१८, NRV.

१३. मसीहीहरू कस्ता प्रचलनहरूबाट अलग्गै बस्नुपर्छ र उनीहरूले यसो गर्ने बल कहाँबाट पाउन सक्छन्‌?

१३ आज साँचो मसीहीहरू पनि बाइबलका सिद्धान्तहरू उल्लङ्‌घन गर्ने झूटो धार्मिक विचारधारामा आधारित प्रचलनहरूबाट अलग्गै बस्नुपर्छ। उदाहरणको लागि, कुनै-कुनै मुलुकमा जन्मदिन र मृत्युसित सम्बन्धित थुप्रै रीतिथितिहरू छन्‌। यस्ता रीतिथिति मरेपछि पनि आत्मा अमर रहिरहन्छ भन्‍ने झूटो धारणामा आधारित छन्‌। (उपदेशक ९:५, १०) अझ कतिपय मुलुकमा त बालिकाहरूको योनी विच्छेद गर्ने चलन छ। यो सरासर क्रूर र अनावश्‍यक परम्परा हो र मसीही आमाबाबुले आफ्ना छोराछोरीको मायालुपूर्वक हेरचाह गर्नुपर्छ भन्‍ने बाइबलको सल्लाहसित पटक्कै मेल खाँदैन। (व्यवस्था ६:६, ७; एफिसी ६:४) समाजबाट आउने दबाबको प्रतिरोध गर्न र यस्ता प्रचलनहरू चटक्कै त्याग्न मसीहीहरूले के गर्न सक्छन्‌? यसको लागि यहोवामाथि पूर्ण भरोसा राख्नुपर्छ। (भजन ३१:६) हृदयबाटै यहोवा “मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, मेरा परमेश्‍वर, जसमा म भरोसा राख्तछु” भन्‍ने व्यक्‍तिलाई धर्मी परमेश्‍वरले सुदृढ पार्नुहुन्छ र हेरचाह गर्नुहुन्छ।—भजन ९१:२; हितोपदेश २९:२५.

यहोवालाई नभुल्नुहोस्‌

१४. प्रतिज्ञा गरिएको देशमा छिर्नै लाग्दा यहोवाले इस्राएलीहरूलाई कस्तो चेतावनी दिनुभयो?

१४ इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा छिर्नै लाग्दा यहोवाले मलाई नभुल्नू भनेर तिनीहरूलाई चेतावनी दिनुभयो। उहाँले यसो भन्‍नुभयो: “सावधान बस! मैले तिमीहरूलाई आज दिएको उहाँका आज्ञाहरू र उहाँका विधि-विधान उल्लङ्‌घन गरेर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई नभूल। जब तिमीहरू खाएर तृप्त हुनेछौ, र राम्रा राम्रा घरहरू बनाएर बस्नेछौ, जब तिमीहरूका बगाल र बथानको वृद्धि भएर जानेछ, र तिमीहरूका सुन-चाँदी र तिमीहरूसित भएका सबै थोक प्रशस्त हुनेछन्‌, तब तिमीहरू अहंकारी भएर तिमीहरूलाई दासत्वको घर मिश्रबाट ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरलाई नभूल।”—व्यवस्था ८:११-१४.

१५. यहोवालाई भुलेका छैनौं भनेर हामी कसरी पक्का गर्न सक्छौं?

१५ के आज पनि यहोवालाई भुल्न सक्ने सम्भावना छ? गलत कुरालाई प्राथमिकता दियौं भने भुल्न के बेर! तर पहिला परमेश्‍वरको धार्मिकता खोजी गऱ्‍यौं भने हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा शुद्ध उपासना नै हुनेछ। पावलले हामीलाई प्रोत्साहन दिएझैं “समयको सदुपयोग” गर्नेछौं र बियाँलो नगरी सेवकाईमा लाग्नेछौं। (कलस्सी ४:५, NRV; २ तिमोथी ४:२) तर आराम गर्न अथवा रमाइलो गर्नमै मात्र बढी समय बिताउन थाल्यौं र सभाहरूमा उपस्थित हुन अनि क्षेत्र सेवामा भाग लिन महत्त्वपूर्ण लाग्न छोड्यो भने, आफ्नो जीवनमा यहोवालाई दोस्रो स्थानमा राखिरहेका हुनेछौं। त्यसपछि त उहाँलाई चटक्क भुल्न सक्ने सम्भावना हुन्छ। आखिरी दिनमा मानिसहरू “परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने” हुनेछन्‌ भनी पावलले बताएका थिए। (२ तिमोथी ३:४) यस किसिमको सोचाइले नबहकिन निष्कपट मसीहीहरूले नियमित तवरमा आत्मपरीक्षण गरिरहन्छन्‌।—२ कोरिन्थी १३:५.

आफूखुसी गर्ने झुकाव राख्नदेखि होसियार

१६. हव्वाले र पावलको समयका केही मानिसहरूले कस्तो गलत झुकाव राखेका थिए?

१६ अदनको बगैंचामा, आफूखुसी गर्ने हव्वाको स्वार्थी झुकावको शैतानले नाजायज फाइदा उठायो। सही र गलत के हो भन्‍ने विषयमा हव्वा आफ्नो लागि आफै निर्णय गर्न चाहन्थिन्‌। (उत्पत्ति ३:१-६) प्रथम शताब्दीमा कोरिन्थ मण्डलीका कसै-कसैले आफूखुसी गर्ने यस्तै झुकाव देखाए। तिनीहरूले आफूलाई पावलभन्दा टाठो-बाठो ठाने। त्यसैले होला पावलले तिनीहरूलाई व्यङ्‌ग्य गर्दै मुख्य प्रेरितहरू भने।—२ कोरिन्थी ११:३-५; १ तिमोथी ६:३-५.

१७. हामी कसरी आफूखुसी गर्ने झुकाव हटाउन सक्छौं?

१७ हामी बाँचिरहेको संसारमा “उत्ताउला, अहङ्‌कारले” फुल्ने मानिसहरू धेरै छन्‌ र त्यस्तो सोचाइले केही मसीहीहरूलाई असर गरेको छ। अझ कसै-कसैले त सच्चाइको विरोधसमेत गरेका छन्‌। (२ तिमोथी ३:४, NRV; फिलिप्पी ३:१८) शुद्ध उपासनासित सम्बन्धित कामकुरामा डोऱ्‍याइको लागि यहोवामा भर पर्नु र “विश्‍वासी र बुद्धिमान्‌ दास” अनि मण्डलीका प्राचीनहरूसित मिलेर काम गर्नु नितान्त जरुरी छ। धार्मिकता खोज्ने एउटा तरिका यही हो र यसले हामीलाई आफूखुसी गर्ने झुकाव हटाउन मदत गर्छ। (मत्ती २४:४५-४७; भजन २५:९, १०; यशैया ३०:२१) अभिषिक्‍त मसीहीहरूको मण्डली अर्थात्‌ समूह “सत्यको खामा र जग हो।” हाम्रो रक्षा गर्न र हामीलाई डोऱ्‍याउन यहोवाले अभिषिक्‍त मसीहीहरूको समूहको प्रबन्ध मिलाउनुभएको छ। (१ तिमोथी ३:१५) त्यसको भूमिका बुझ्यौं भने, “फोस्रो घमन्डले केही” नगर्न र यहोवाको धार्मिक इच्छाअनुसार नम्र भई चल्न हामीलाई मदत गर्नेछ।—फिलिप्पी २:२-४; हितोपदेश ३:४-६.

येशूको देखासिकी गर्नुहोस्‌

१८. कुन-कुन तरिकामा येशूको देखासिकी गर्न हामीलाई प्रोत्साहन दिइएको छ?

१८ येशूको विषयमा बाइबलले यस्तो भविष्यवाणी गरेको थियो: “तपाईंलाई धार्मिकता मन पर्छ, र दुष्टतालाई तपाईं घृणा गर्नुहुन्छ।” (भजन ४५:७; हिब्रू १:९) देखासिकी गर्नुपर्ने कस्तो राम्रो मनोवृत्ति! (१ कोरिन्थी ११:१) येशूलाई यहोवाका धार्मिक स्तरहरू राम्रोसँग थाह थियो। साथै, ती स्तरहरू अनुरूप चल्न पाउँदा उहाँ रमाउनुहुन्थ्यो। त्यसैकारण त उजाडस्थानमा शैतानले येशूलाई प्रलोभनमा पार्न खोज्दा आनाकानी नगरी उहाँले शैतानको प्रस्ताव ठाडै इन्कार गर्नुभयो र “धार्मिकताको बाटो[बाट]” नतर्किन कटिबद्ध हुनुभयो।—हितोपदेश ८:२०, NRV; मत्ती ४:३-११.

१९, २०. धार्मिकता खोजी गर्दा कस्ता असल परिणामहरू पाउन सकिन्छ?

१९ हो, शरीरको अनुचित अभिलाषा एकदमै प्रबल हुन सक्छ। (रोमी ७:१९, २०) तर धार्मिकतालाई प्रेम गर्छौं भने दुष्ट काम नगर्न बल पाउनेछौं। (भजन ११९:१६५) धार्मिकतालाई अगाध प्रेम गऱ्‍यौं भने यसले हामीलाई खराब कुरामा फस्नदेखि रक्षा गर्नेछ। (हितोपदेश ४:४-६) जब हामी प्रलोभनमा फस्छौं तब शैतानको जीत हुन्छ भनेर नबिर्सनुहोस्‌। शैतानको प्रतिरोध गरेर यहोवालाई विजयी बनाउनु कत्ति बेस!—हितोपदेश २७:११; याकूब ४:७, ८.

२० साँचो मसीहीहरू धार्मिकता खोजी गर्छन्‌। त्यसैले उनीहरू “परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्टद्वारा हुने धार्मिकताका फलले भरिपूर” हुन्छन्‌। (फिलिप्पी १:१०, ११) उनीहरू “नयाँ मानिसलाई धारण [गर्छन्‌], जो परमेश्‍वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ।” (एफिसी ४:२४) उनीहरू यहोवाकै हुन्‌ र आफ्नो खुसी गर्न होइन तर उहाँको सेवा गर्न बाँच्छन्‌। (रोमी १४:८; १ पत्रुस ४:२) उनीहरूको सोचाइ र कामले त्यो कुरा झल्काउँछ। उनीहरूले स्वर्गमा बस्नुहुने पितालाई साँच्चै खुसी बनाइरहेका छन्‌!—हितोपदेश २३:२४. (w06 1/1)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित पारिवारिक आनन्दको रहस्य पुस्तकमा अनैतिक प्रभावबाट परिवारलाई कसरी जोगाउन सकिन्छ भन्‍ने विषयमा आमाबाबुलाई काम लाग्ने सुझावहरू दिइएका छन्‌।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• धार्मिकता खोजी गर्नु किन नितान्त जरुरी छ?

• असिद्ध मसीहीहरूले कसरी धार्मिकता खोजी गर्न सक्छन्‌?

• संसारका कस्ता कुराबाट मसीहीहरू अलग्गै रहनुपर्छ?

• धार्मिकता खोजी गर्दा कसरी हाम्रो रक्षा हुन्छ?

[पृष्ठ १९-मा भएको चित्र]

येशूका चेलाहरूका लागि संसार खतरै-खतराले भरिएको ठाउँ थियो

[पृष्ठ २०-मा भएको चित्र]

यहोवालाई प्रेम गर्न सिकाइएका छोराछोरी अनैतिकताबाट टाढै बस्नेछन्‌

[पृष्ठ २१-मा भएको चित्र]

प्रतिज्ञा गरिएको देशमा धनी भएपछि केही इस्राएलीहरूले यहोवालाई चटक्कै बिर्से

[पृष्ठ २२-मा भएको चित्र]

येशूले जस्तै मसीहीहरू पनि दुष्टतालाई घृणा गर्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने