प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 ३/१ पृ. १३-१८
  • पत्नी हो—आफ्ना पतिको गहिरो आदर गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्नी हो—आफ्ना पतिको गहिरो आदर गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विवाह गर्न चाहनेहरूलाई सल्लाह
  • येशूले अधीनमा बसेको कसरी देखाउनुभयो
  • पत्नीहरूले कसरी आफ्ना पतिको मन जित्न सक्छन्‌
  • पाठ सिक्न सकिने उदाहरणहरू
  • थप ईश्‍वरीय सल्लाह
  • विवाहित दम्पतीहरूका लागि बुद्धिमानी डोऱ्‍याइ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • पति हो—ख्रीष्टले देखाउनुभएको शिरत्वको नमुना अनुसरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • ‘स्त्रीको शिर पुरुष हो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • जसलाई परमेश्‍वरले एक साथ जोड्‌नुभएको छ, त्यसलाई नछुट्याउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 ३/१ पृ. १३-१८

पत्नी हो—आफ्ना पतिको गहिरो आदर गर्नुहोस्‌

“ए पत्नी हो, . . . आफ्ना आफ्ना पतिको अधीनमा बस।”—एफिसी ५:२२.

१. पतिको आदर गर्नु किन अक्सर गाह्रो हुन सक्छ?

थुप्रै मुलुकमा, विवाहको दिन दुलहीले आफ्ना पतिलाई गहिरो आदर गर्नेछु भनी वाचा गर्छिन्‌। तर पत्नीलाई त्यो वाचा पूरा गर्न गाह्रो हुनु वा नहुनु पतिहरूको व्यवहारमा भर पर्छ। तर विवाहको सुरुआत उत्कृष्ट ढंगमा भएको थियो। परमेश्‍वरले प्रथम पुरुष आदमको एउटा करङ निकालेर स्त्री बनाउनुभएको थियो। त्यसपछि आदमले दंग पर्दै यसो भने: “यो ता मेरै हाडको हाड र मासुको मासु हो।”—उत्पत्ति २:१९-२३.

२. महिलाहरूको भूमिका र विवाहप्रति उनीहरूको सोचाइमा अहिले कस्तो परिवर्तन आएको छ?

२ विवाहको सुरुआत त्यस्तो असल तरिकामा भएको भए तापनि स्त्रीहरूले पुरुषहरूको प्रभुत्वबाट मुक्‍त हुन सन्‌ १९६० दशकको सुरुतिर अमेरिकामा एउटा आन्दोलन चलाए जसलाई महिला मुक्‍ति आन्दोलन भनिन्थ्यो। त्यतिबेलासम्म परिवारलाई त्याग्ने प्रायजसो पतिहरू मात्र हुन्थे भने सन्‌ १९६० दशकको अन्ततिर आइपुग्दा परिवार त्याग्ने पत्नीहरूको संख्या ह्वात्तै बढ्यो। अहिले त जथाभावी मुख छाड्‌ने, रक्सी पिउने, चुरोट तान्‍ने र अनैतिक कामकुरो गर्ने सन्दर्भमा महिलाहरू पनि पुरुष सरह नै देखिन्छ। के यसो गरेर स्त्रीहरू खुसी छन्‌ त? अहँ छैनन्‌। केही देशमा, विवाह गर्नेहरूमध्ये आधा जतिले अन्तमा गएर सम्बन्ध विच्छेद गर्छन्‌। आफ्नो वैवाहिक समस्या सुधार्न केही महिलाहरूले गरेका त्यस्तो प्रयासले सुधार गरेको छ या झन्‌ बिगार?—२ तिमोथी ३:१-५.

३. विवाहलाई असर गर्ने मुख्य समस्या के हो?

३ यसको मुख्य समस्या के हो? केही हदसम्म त यो, ‘दियाबल र शैतान भनिने त्यो वृद्ध साँपले’ हव्वालाई लोभ्याएदेखि नै जरा गाडेर बसेको समस्या हो। (प्रकाश १२:९; १ तिमोथी २:१३, १४) परमेश्‍वरले सिकाउनुभएका कुराहरूलाई शैतानले फितलो बनाइदिएको छ। उदाहरणको लागि, विवाह भनेको बन्देजमा पार्ने कठोर बन्धन हो भन्‍नेजस्तो भान शैतानले पारिदिएको छ। त्यसको अधीनमा भएको यस संसारको सञ्चार माध्यमलाई चलाएर त्यसले परमेश्‍वरका निर्देशनहरू निष्पक्ष छैनन्‌ र ती काम नलाग्ने उहिलेका कुरा हुन्‌ भन्‍ने जस्तो गलत कुराहरू फैलाउँछ। (२ कोरिन्थी ४:३, ४) तर विवाहमा स्त्रीको भूमिकाबारे परमेश्‍वरले दिनुभएको निर्देशन खुला मनले चिन्तन-मनन गऱ्‍यौं भने परमेश्‍वरको वचन कत्ति व्यावहारिक र बुद्धिमानी छ भनेर बुझ्नेछौं।

विवाह गर्न चाहनेहरूलाई सल्लाह

४, ५. (क) विवाह गर्ने विचार गर्दा एउटी स्त्री किन होसियार हुनुपर्छ? (ख) विवाह गर्न राजी हुनुअघि एउटी स्त्रीले के गर्नुपर्छ?

४ विवाह गर्न चाहनेहरूलाई बाइबलमा सल्लाह दिइएको छ। सफल वैवाहिक जीवन बिताइरहेकाहरूलाई पनि शैतानले शासन गरेको यस संसारमा “कष्ट” हुनेछ भनी बाइबलमा बताइएको छ। त्यसैकारण, विवाह परमेश्‍वरकै प्रबन्ध भए तापनि विवाह गर्न चाहनेहरूलाई बाइबलले सतर्क गराउँछ। पतिको मृत्यु भइसकेकोले दोस्रो विवाह गर्न स्वतन्त्र भएकी स्त्रीबारे एक बाइबल लेखकले परमेश्‍वरबाट प्रेरित भएर यस्तो लेखे: “त्यो त्यसै बस्छे भने झन्‌ सुखी हुन्छ।” साथै, ‘ग्रहण गर्न सकिन्छ’ भने अविवाहित नै रहन येशूले पनि सल्लाह दिनुभयो। तर यदि कसैले विवाह गर्न चाहन्छ भने “प्रभुमा मात्र” अर्थात्‌ परमेश्‍वरका समर्पित र बप्तिस्माप्राप्त उपासकसित मात्र गर्नुपर्छ।—१ कोरिन्थी ७:२८, ३६-४०; मत्ती १९:१०-१२.

५ विशेष गरी स्त्रीले आफूले विवाह गर्न लागेको व्यक्‍तिलाई ध्यान दिनुपर्ने कारण, बाइबलको यो सल्लाह हो: “पति भएकी स्त्री पति जिउञ्जेल व्यवस्थाबमोजिम त्यससँग करमा परेकी हुन्छे।” यदि तिनका पति मरे वा उनले व्यभिचार गरे वा उनीहरूको सम्बन्ध विच्छेद भयो भने मात्र तिनी “पतिको व्यवस्थाबाट . . . मुक्‍त हुन्छे।” (रोमी ७:२, ३) दुई दिनको मायाप्रीती गाँस्न त एकै नजरमा एकअर्काप्रति आकर्षित हुनु काफी होला। तर आनन्दित वैवाहिक जीवनको लागि यस्तो आकर्षणले मात्र पुग्दैन। तसर्थ, अविवाहित स्त्रीले आफैलाई यो प्रश्‍न गर्नुपर्छ, ‘विवाह बन्धनमा बाँधिएर के म त्यस व्यक्‍तिको व्यवस्थामा रहन तयार छु?’ यो प्रश्‍न सोध्ने समय विवाहअघि नै हो, विवाहपछि होइन।

६. आज धेरैजसो स्त्रीहरूले कस्तो निर्णय गर्न सक्छन्‌ र यो किन एकदमै महत्त्वपूर्ण छ?

६ आजकल थुप्रै ठाउँमा, विवाह गर्ने/नगर्ने निर्णय स्त्रीहरू आफैले गर्न सक्छन्‌। तर यस विषयमा बुद्धिमतापूर्ण निर्णय गर्नु एउटी स्त्रीको लागि जीवनमा सबैभन्दा गाह्रो निर्णय हुन सक्छ। किनभने विवाह गरेपछि पतिबाट पाउन सकिने आत्मीयता र मायाको चाहना तिनमा अति प्रबल हुन सक्छ। एक लेखकले यस्तो लेखे: “चाहे विवाह गर्ने सन्दर्भमा होस्‌ या कुनै हिमाल चढ्‌ने सन्दर्भमा, हाम्रो चाहना जति प्रबल हुन्छ खराब परिणामहरूप्रति आँखा चिम्लिदिने र मनपर्ने कुराहरूप्रति मात्र ध्यान दिने सम्भावना त्यति नै बढी हुन्छ।” विवेकहीन निर्णय गर्दा हिमाल चढ्‌ने व्यक्‍तिले ज्यान गुमाउन सक्छ। त्यस्तै गरी, गलत वैवाहिक जोडी छनौट गर्नु पनि बर्बादी निम्त्याउनु बराबर हुन सक्छ।

७. वैवाहिक जोडी रोज्ने सन्दर्भमा कस्तो बुद्धिमान्‌ सल्लाह दिइएको छ?

७ कसैले विवाहको प्रस्ताव राख्दा एउटी स्त्रीले त्यसलाई स्वीकार्नुअघि पतिको व्यवस्थामा बस्नुमा के-के कुरा समावेश हुन सक्छ भनी गम्भीरतापूर्वक विचार गर्नुपर्छ। धेरै वर्षअघि भारतकी एउटी जवान केटीले नम्रतासाथ यसो भनिन्‌: “हाम्रा आमाबाबु उमेर र अनुभवले हामीभन्दा पाका र बुद्धिमान्‌ छन्‌। उहाँहरू हामीजस्तो कसैको धोकामा सजिलै पर्नुहुन्‍न। . . . मैले आफै जोडी छान्‍नु परेको भए अवश्‍यै गलत जोडी छान्थें होला।” आमाबाबु र अरूबाट मदत लिनु महत्त्वपूर्ण छ। विवाहको विषयमा एक बुद्धिमान्‌ सल्लाहकारले जवानहरूलाई धेरै वर्षदेखि सल्लाह दिदै आएका छन्‌। तिनले जवानहरूलाई आफ्नो हुनेवाला जोडीको आमाबाबुसित चिनजान गर्न अनि उक्‍त व्यक्‍तिले आफ्ना आमाबाबु र परिवारका अन्य सदस्यसित कस्तो व्यवहार गर्छन्‌ सो थाह लगाउन प्रोत्साहन दिए।

येशूले अधीनमा बसेको कसरी देखाउनुभयो

८, ९. (क) परमेश्‍वरको अधीनमा बस्नुलाई येशूले कसरी हेर्नुभयो? (ख) अधीनमा बस्दा कस्तो लाभ पाउन सकिन्छ?

८ अधीनमा बस्नु गाह्रो हुन सक्छ। तैपनि, स्त्रीहरूले यसलाई आदरणीय ठान्‍न सक्छन्‌। येशूको लागि परमेश्‍वरको अधीनमा बस्नुको अर्थ अनेक दुःखकष्ट भोग्नु थियो जसमा शासनाको खम्बामा मर्नु पनि समावेश थियो। तरैपनि, परमेश्‍वरको अधीनमा बस्दा उहाँलाई आनन्द महसुस भयो। (लूका २२:४१-४४; हिब्रू ५:७, ८; १२:३) स्त्रीहरूले नमुनाको रूपमा येशूलाई हेर्न सक्छन्‌। किनभने बाइबल यसो भन्छ: “स्त्रीको शिर पुरुष हो, र ख्रीष्टका शिर परमेश्‍वर हुनुहुन्छ।” (१ कोरिन्थी ११:३) तर उल्लेखनीय कुरा के हो भने, विवाह गरेपछि मात्र स्त्रीहरू पुरुषको अधीनमा बस्नुपर्छ भन्‍ने चाहिं होइन।

९ विवाहित हुन्‌ या अविवाहित, स्त्रीहरू मसीही मण्डलीको रेखदेख गर्ने आध्यात्मिक तवरमा योग्य पुरुषहरूको शिरत्वको अधीनमा बस्नुपर्छ। (१ तिमोथी २:१२, १३; हिब्रू १३:१७) स्त्रीहरूले परमेश्‍वरको यो निर्देशन पालन गर्दा परमेश्‍वरको संगठनात्मक प्रबन्धमा स्वर्गदूतहरूका लागि राम्रो उदाहरण बसालिरहेका हुन्छन्‌। (१ कोरिन्थी ११:८-१०) त्यसबाहेक, पाको विवाहित स्त्रीहरूले राम्रो उदाहरण बसालेर अनि मदतकारी सल्लाह दिएर जवान स्त्रीहरूलाई ‘आफ्ना आफ्ना पतिको अधीनमा रहन’ सिकाउँछन्‌।—तीतस २:३-५.

१०. अधीनमा बस्ने सन्दर्भमा येशूले कस्तो उदाहरण बसाल्नुभयो?

१० येशूलाई उचित अधीनताको महत्त्व थाह थियो। एक पटक येशूले प्रेरित पत्रुसलाई आफ्नो र तिनको कर तिर्न सरकारी अख्तियारवालाकहाँ पठाउनुभयो र उहाँले पत्रुसलाई करको पैसा समेत दिनुभयो। पछि पत्रुसले यस्तो लेखे: “प्रभुको खातिर मानिसका हरेक विधानको अधीनमा रहो।” (१ पत्रुस २:१३; मत्ती १७:२४-२७) अधीनमा बस्ने सन्दर्भमा येशूले बसाल्नुभएको सर्वोत्कृष्ट उदाहरणबारे हामी यस्तो लेखिएको पाउँछौं: “उहाँले आफूलाई रित्याईकन कमाराको रूप लिएर मानिसहरूको समानतामा हुनुभयो। औ रूपमा मानिसजस्तो भएर मृत्युसम्मै आज्ञाकारी हुनुभयो, [र] . . . मृत्युसम्मै आफूलाई होच्याउनुभयो।”—फिलिप्पी २:५-८.

११. अर्कै धर्म मान्‍ने पति भएका पत्नीहरू समेत पतिको अधीनमा बस्नुपर्छ भनी पत्रुसले किन प्रोत्साहन दिए?

११ यस संसारको कठोर र अन्यायी अख्तियारवालाहरूको समेत अधीनमा बस्न मसीहीहरूलाई प्रोत्साहन दिंदै पत्रुसले यसो भने: “यसैको निम्ति तिमीहरू बोलाइएका हौ। किनभने तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड्‌नलाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।” (१ पत्रुस २:२१) येशूले धेरै कष्ट झेल्नुपरे तापनि अधीनमा रही ती कष्ट सहनुभयो भनी बताइसकेपछि पत्रुसले अर्कै धर्म मान्‍ने पति भएका पत्नीहरूलाई यस्तो प्रोत्साहन दिए: “हे पत्नी हो, त्यही किसिमले तिमीहरू पनि आफ्ना आफ्ना पतिका अधीनमा रहो, र कसैले वचन नमाने तापनि तिनका पत्नीहरूका चाल-चलनले गर्दा, विना वचनले भए पनि, तिमीहरूका डरसहितको पवित्र चाल-चलन देखेर तिनीहरू विश्‍वास गर्ने होऊन्‌।”—१ पत्रुस ३:१, २.

१२. येशू अधीनतामा बस्नुहुँदा कस्तो लाभ भयो?

१२ यसो हेर्दा गाली र गिल्ला सहँदै अधीनमा बस्नु कमजोरी जस्तो देखिएला। तर येशूले त्यस्तो ठान्‍नुभएन। पत्रुसले लेखे: “[उहाँले] गाली खाएर आफूले फेरि गाली गर्नुभएन। दुःख भोगेर धम्काउनुभएन।” (१ पत्रुस २:२३) येशूले कष्ट भोग्नुभएको देख्नेहरूमध्ये कतिपयले केही हदसम्म भए पनि उहाँलाई विश्‍वास गरे। जस्तै, येशूसँगै झुन्ड्याइएको डाँकु र उहाँलाई मृत्युदण्ड दिंदा हेरिहेका कप्तान। (मत्ती २७:३८-४४, ५४; मर्कूस १५:३९; लूका २३:३९-४३) त्यस्तैगरि अर्कै धर्म मान्‍ने कतिपय पतिहरू पनि आफ्ना पत्नी अधीनमा बसेको देखेर विश्‍वासी बन्‍नेछन्‌ भनी पत्रुसले संकेत गरे, यहाँसम्म कि दुर्व्यवहार गर्ने पतिहरू समेत। यो कुरा आज पूरा भइरहेको हामीले देखेका छौं।

पत्नीहरूले कसरी आफ्ना पतिको मन जित्न सक्छन्‌

१३, १४. अर्कै धर्म मान्‍ने पतिको अधीनमा बस्दा कस्तो फाइदा भएको छ?

१३ विश्‍वासमा भएका पत्नीहरूले येशूको जस्तै आचरण देखाएर आफ्ना पतिको मन जितेका छन्‌। यहोवाका साक्षीहरूको हालै सम्पन्‍न एउटा जिल्ला अधिवेशनमा एक पतिले आफ्नो पत्नीबारे यसो भने: “मैले उनलाई कठोर व्यवहार गरेको झलझली सम्झन्छु। तैपनि उनले मलाई अत्यन्तै आदर गर्थिन्‌। मलाई होच्याउने काम कहिल्यै गरिनन्‌। उनको धर्म अँगाल्न मलाई कर पनि गरिनन्‌। मलाई मायालु ढंगमा हेरचाह गरिन्‌। सम्मेलनहरूमा जानुअघि उनले मेरो लागि पहिल्यै खाना तयार पार्थिन्‌ र घरधन्दा पनि सिध्याउँथिन्‌। तिनको व्यवहारले गर्दा बाइबलप्रति मलाई चासो जाग्न थाल्यो। परिणाम? हेर्नुहोस्‌ त, उनैले गर्दा अहिले म यहोवाको साक्षी भएको छु!” हो, तिनकी पत्नीले “विना वचन” आचरणद्वारा नै तिनको मन जितिन्‌।

१४ पत्रुसले जोड दिएझैं पत्नीको बोलीले होइन तर कामले राम्रो परिणाम ल्याउँछ। उदाहरणको लागि, एउटी पत्नीले गरेको कामलाई हेरौं। तिनले बाइबल सच्चाइ सिकिन्‌ र मसीही सभाहरू धाउने निधो गरिन्‌। “अग्नेस, तिमी त्यो ढोकाबाट निस्क्यौ भने फर्केर नआउनू” भन्दै तिनका पति गर्जे। तिनी पतिले देखाएको “ढोकाबाट” नगई अर्कै ढोकाबाट बाहिर निस्किन्‌। अर्को चोटि सभा जानेबेला पतिले यसो भन्दै धम्काए: “भरे तिमी आउँदा मलाई घरमा भेट्‌दैनौ।” साँच्चै, उनी घरमा थिएनन्‌, तीन दिनसम्म घर आएनन्‌। जब पति घर फर्के तिनले मीठो बोलीमा सोधिन्‌: “केही खानुहुन्छ, ल्याइदिउँ?” अग्नेस परमेश्‍वरको भक्‍तिबाट अलिकता पनि तर्किनन्‌। अन्ततः तिनका पतिले बाइबल अध्ययन गर्न थाले र परमेश्‍वरलाई जीवन समर्पण गर्नुका साथै पछि थुप्रै जिम्मेवारी सम्हाल्दै निरीक्षकको हैसियतमा सेवा गरे।

१५. मसीही पत्नीहरूलाई कस्तो “सिंगार” गर्ने सल्लाह दिइएको छ?

१५ माथि बताइएका पत्नीहरूले विशेष गरी स्त्रीहरूका लागि प्रेरित पत्रुसले सल्लाह दिएको ‘सिंगार’ प्रदर्शित गरेका छन्‌। तर यो सिंगार भनेको ‘कपाल बाट्‌न र किसिम किसिमको पोशाक लाउनमा’ मात्रै अत्याधिक ध्यान दिनु होइन। यस सिंगारबारे पत्रुसले यसो भने: “[तिमीहरूको सिंगार] नम्र र शान्त आत्माको अविनाशी पोशाक लाएको हृदयको त्यो गुप्त मानिस होस्‌, जो परमेश्‍वरको दृष्टिमा ठूलो मोलको हुन्छ।” यस्तो सिंगार उनको मीठो बोली र असल आचरणमा देखिनुपर्छ, पतिलाई चुनौती दिनु र पतिसित धेरै माग गर्नुमा होइन। यसरी मसीही पत्नीले आफ्ना पतिप्रति गहिरो आदर देखाउँछिन्‌।—१ पत्रुस ३:३, ४.

पाठ सिक्न सकिने उदाहरणहरू

१६. कुन तरिकामा सारा मसीही पत्नीहरूका लागि एउटा असल उदाहरण हुन्‌?

१६ पत्रुसले लेखे: “अघिअघि परमेश्‍वरमा आशा राख्ने पवित्र स्त्रीहरूले पनि तिनीहरूका पतिहरूका अधीनमा रहेर सिंगार गर्थे।” (१ पत्रुस ३:५) परमेश्‍वरको सल्लाह स्वीकारेर उहाँलाई प्रसन्‍न पार्दा नै सुखी पारिवारिक जीवनका साथै अनन्त जीवन पाउन सकिन्छ भनेर ती स्त्रीहरूले बुझेका थिए। अब्राहामकी सुन्दरी पत्नी साराले तिनलाई “स्वामी भनेर तिनको आज्ञा मान्दथिइन्‌” भन्दै पत्रुस साराबारे बताउँछन्‌। अब्राहामलाई परमेश्‍वरले टाढा देशमा सेवा गर्न खटाउनुहुँदा साराले परमेश्‍वरको डर मान्‍ने आफ्ना पतिको समर्थन गरिन्‌। तिनले आरामदायी जीवन त्यागिन्‌ र आफ्नो ज्यान समेत खतरामा हालिन्‌। (उत्पत्ति १२:१, १०-१३) साराको साहसी उदाहरणको प्रशंसा गर्दै पत्रुसले यसो भने: “यदि तिमीहरू पनि भलाइ गर्छौ र कुनै किसिमको डर मान्‍न नपर्ने हुन्छौ भनेता तिनीहरूकै सन्तान हौ।”—१ पत्रुस ३:६.

१७. मसीही पत्नीहरूका लागि उदाहरणको रूपमा पत्रुसले अबिगेललाई किन सम्झेको हुनुपर्छ?

१७ अर्की साहसी स्त्री हुन्‌, अबिगेल। तिनी परमेश्‍वरमा भरोसा राख्थिन्‌। स्त्रीहरूलाई सल्लाह दिंदा पत्रुसले तिनलाई सम्झेको हुनु पर्छ। तिनी “बुद्धिमानी स्त्री” थिइन्‌ तर तिनका पति नाबाल चाहिं ‘निष्ठुर र नीच मानिस’ थियो। नाबालले दाऊद र उनका मानिसहरूलाई सहयोग गर्न इन्कार गरेपछि तिनी र तिनको सम्पूर्ण घरानालाई नाश पार्न दाऊद तम्सिए। तर आफ्नो घरानालाई बचाउन अबिगेल अघि सरिन्‌। तिनी खानेकुरा गधामा बोकाएर दाऊदलाई भेट्‌न गइन्‌ र तिनले दाऊद र उनका मानिसहरूलाई बाटैमा भेटिन्‌। दाऊदलाई देखेपछि तिनी गधाबाट ओर्लिन्‌ र तिनको अघि भुइँसम्मै निहुरेर हतारमा कदम नचाल्न बिन्ती गरिन्‌। दाऊदलाई गहिरो असर पऱ्‍यो। तिनले यसो भने: “परमप्रभु इस्राएलका परमेश्‍वर धन्यका होऊन्‌, जसले आज मसँग भेट गर्नलाई तिमीलाई पठाउनुभयो। तिम्रो बुद्धि धन्यको हो।”—१ शमूएल २५:२-३३.

१८. परपुरुषहरूले अनुचित चासो देखाउँदा पत्नीहरूले कसको नमुना अनुकरण गर्न सक्छन्‌ र किन?

१८ पत्नीहरूका लागि अर्को असल नमुना हुन्‌, जवान शूलम्मेनी युवती। तिनी एक साधारण गोठालाप्रति वफादार रहिरहिन्‌ जससित तिनको विवाह हुनेवाला थियो। धनी राजाबाट प्रेम प्रस्ताव आउँदा पनि तिनी गोठालोप्रति नै वफादर रहिरहिन्‌। ती जवान गोठालोप्रतिको आफ्नो प्रेमलाई तिनले यसरी व्यक्‍त गरिन्‌: “मलाई तिम्रो हृदयमा एउटा छापजस्तै लगाऊ, तिम्रो पाखुरामा एउटा छापजस्तै, किनभने प्रेम चाहिं मृत्युजस्तै प्रबल हुन्छ, . . . धेरै पानीले प्रेमको आगोलाई निभाउनसक्‍तैन, कुनै पनि भलले त्यसलाई बगाएर लैजान सक्‍तैन।” (श्रेष्ठगीत ८:६, ७) विवाहको प्रस्ताव स्वीकार्ने सम्पूर्ण स्त्रीहरूले पनि आफ्ना पतिप्रति त्यसरी नै वफादार रहने र तिनीहरूलाई आदर गर्ने संकल्प गरून्‌।

थप ईश्‍वरीय सल्लाह

१९, २०. (क) के कारण पत्नीहरू आफ्ना पतिको अधीनमा बस्नुपर्छ? (ख) पत्नीहरूका लागि कस्तो असल उदाहरण दिइएको छ?

१९ अन्तमा हाम्रो मुख्य पदलाई विचार गर्नुहोस्‌: “ए पत्नी हो, . . . आफ्ना आफ्ना पतिको अधीनमा बस।” (एफिसी ५:२२) यस्तो अधीनता किन चाहिन्छ? “किनकि पत्नीका शिर पति हुन्‌, जस्तो ख्रीष्ट . . . मण्डलीका शिर हुनुहुन्छ” भनी एफिसी ५:२३ भन्छ। त्यसैकारण पत्नीहरूलाई यस्तो आग्रह गरिएको छ: “जसरी मण्डली ख्रीष्टको अधीनमा छ, उसरी पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्‌।”—एफिसी ५:२३, २४, ३३.

२० यो आज्ञा पालन गर्न पत्नीहरूले ख्रीष्टका अभिषिक्‍त अनुयायीहरूको मण्डलीको उदाहरण चिन्तन-मनन र अनुसरण गर्नुपर्छ। कृपया २ कोरिन्थी ११:२३-२८ पढ्‌नुहोस्‌ र मण्डलीको एक जना सदस्य प्रेरित पावलले आफ्ना शिर येशू ख्रीष्टप्रति विश्‍वासी रहन के-के सहे, त्यो थाह लगाउनुहोस्‌। पावलजस्तै पत्नीहरूलगायत मण्डलीका अरू सदस्य पनि येशूको अधीनमा रहनुपर्छ। पत्नीहरूले यो कुरा पतिहरूको अधीनमा बसेर देखाउँछन्‌।

२१. आफ्ना पतिको अधीनमा बस्न पत्नीहरूलाई कुन कुराले प्रोत्साहन दिन सक्छ?

२१ धेरैजसो पत्नीहरूले अधीनमा बस्ने कुरा सोच्दा मात्रै पनि नाक खुम्च्याउलान्‌। तर बुद्धिमानी स्त्रीले यसबाट हुने फाइदहरूलाई विचार गर्छिन्‌। उदाहरणका लागि, अर्कै धर्म मान्‍ने पतिको अधीनमा बस्ने कुरालाई लेऔं। परमेश्‍वरको नियम वा सिद्धान्तलाई भंग नगर्ने हरेक कुरामा पतिको अधीनमा बस्दा तिनले अत्यन्तै राम्रो इनाम पाउन पनि सक्छिन्‌। मतलब, तिनी ‘आफ्ना पतिलाई बचाउन’ सक्षम हुन सक्छिन्‌। (१ कोरिन्थी ७:१३, १६) त्यसबाहेक, आफूले गरेको कामलाई यहोवाले स्वीकार्नुहुन्छ अनि उहाँका प्रिय पुत्रको उदाहरण पछ्याँउदा प्रचुर आशिष्‌ दिनुहुनेछ भनी जानेर तिनले सन्तुष्टि पाउन सक्छिन्‌। (w 07 2/15)

के तपाईंले सम्झनुभएको छ?

• पतिको आदर गर्न पत्नीलाई किन गाह्रो हुन सक्छ?

• विवाहको प्रस्ताव स्वीकार गर्नु किन गम्भीर कुरा हो?

• येशूले पत्नीहरूका लागि कसरी उदाहरण बसाल्नुभयो र उहाँको उदाहरण पछ्याउँदा कस्ता लाभहरू पाउन सकिन्छ?

[पृष्ठ १५-मा भएको चित्र]

विवाहको प्रस्ताव स्वीकार्ने/नस्वीकार्ने निर्णय किन गम्भीर कुरा हो?

[पृष्ठ १७-मा भएको चित्र]

अबिगेल जस्ता बाइबल पात्रहरूबाट पत्नीहरूले कस्तो पाठ सिक्न सक्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने