प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ११/१ पृ. १०-१४
  • तपाईंका प्रार्थनाहरूले तपाईंबारे के बताउँछन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंका प्रार्थनाहरूले तपाईंबारे के बताउँछन्‌?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नम्र भई यहोवालाई प्रार्थना गर्नुहोस्‌
  • परमेश्‍वरलाई अन्तरबिन्ती र धन्यवाद चढाउनुहोस्‌
  • अरूको लागि प्रार्थना गर्नुहोस्‌
  • हाम्रा प्रार्थनाहरूले हामीबारे थप कुरा बताउँछन्‌
  • सार्वजनिक प्रार्थनामा अरूको प्रतिनिधित्व गर्दा
  • प्रार्थनामा के भन्‍ने?
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
  • “तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • प्रार्थना द्वारा सहायता कसरी प्राप्त गर्न सकिन्छ
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ११/१ पृ. १०-१४

तपाईंका प्रार्थनाहरूले तपाईंबारे के बताउँछन्‌?

“हे प्रार्थना सुन्‍नुहुने, तपाईंकहाँनै सबै प्राणी आउनेछन्‌।”—भज. ६५:२.

१, २. यहोवाका सेवकहरूले किन विश्‍वस्त भई प्रार्थना गर्न सक्छन्‌?

आफ्ना वफादार सेवकहरूको बिन्ती यहोवाले कहिल्यै नसुनेझैं गर्नुहुन्‍न। उहाँ हाम्रो बिन्ती सुन्‍नुहुन्छ भनेर हामी विश्‍वस्त हुन सक्छौं। एकै समयमा यहोवाका लाखौं साक्षीहरूले प्रार्थना गरे तापनि एउटैले पनि ‘व्यस्त छ’ भन्‍ने संकेत पाउँदैन।

२ आफ्नो बिन्ती परमेश्‍वरले सुन्‍नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुँदै भजनरचयिता दाऊदले यसरी गाए: “हे प्रार्थना सुन्‍नुहुने, तपाईंकहाँनै सबै प्राणी आउनेछन्‌।” (भज. ६५:२) दाऊद यहोवाका वफादार उपासक भएकोले तिनको प्रार्थनाको सुनवाइ भयो। हामीले आफैलाई यसरी सोध्नु बेस हुन्छ: ‘के मेरा अन्तरबिन्तीहरूले म यहोवामा भरोसा गर्छु र मेरो प्रमुख चासोको विषय शुद्ध उपासना हो भनेर देखाउँछ? मेरा प्रार्थनाहरूले मबारे के बताउँछन्‌?

नम्र भई यहोवालाई प्रार्थना गर्नुहोस्‌

३, ४. (क) परमेश्‍वरलाई प्रार्थना गर्दा हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ? (ख) गम्भीर पापको कारण “चिन्ताहरू”-ले पिरोल्दा हामीले के गर्नुपर्छ?

३ हाम्रो प्रार्थनाको सुनवाइ भएको चाहन्छौं भने परमेश्‍वरलाई नम्र भई प्रार्थना गर्नैपर्छ। (भज. १३८:६) दाऊदले जस्तै हामीले पनि मलाई जाँच्नुहोस्‌ भन्दै यहोवालाई पुकार्नुपर्छ: “हे परमेश्‍वर, मलाई जाँच्नुहोस्‌, र मेरो हृदयलाई जान्‍नुहोस्‌। मलाई जाँच्नुहोस्‌, र मेरा चिन्ताहरूलाई जान्‍नुहोस्‌। हेर्नुहोस्‌, ममा कुनै खराब चाल छ कि, र मलाई अनन्तको मार्गमा डोऱ्‍याइदिनुहोस्‌।” (भज. १३९:२३, २४, NRV) प्रार्थना गर्ने मात्र होइन; परमेश्‍वरले जाँच्दा इन्कार नगरौं र उहाँको वचनको सल्लाह स्वीकारौं। अनन्त जीवनको बाटो पछ्याउन मदत गर्दै यहोवा हामीलाई “अनन्तको मार्गमा” डोऱ्‍याउन सक्नुहुन्छ।

४ गम्भीर पापको कारण “चिन्ताहरू”-ले पिरोलेको छ भने नि? ( भजन ३२:१-५ पढ्‌नुहोस्‌) दोषी अन्तस्करणलाई दबाउन खोज्दा ग्रीष्मको खडेरीमा रूख सुकेझैं हामी कमजोर हुन सक्छौं। पापको कारण दाऊदले आनन्द गुमाए र सायद बिरामी परे। तर परमेश्‍वरसामु आफ्नो पाप स्वीकार्दा एकदमै राहत महसुस गरे। यहोवाले ‘क्षमा गर्नुभयो’ भनेर थाह पाउँदा दाऊदले महसुस गरेको आनन्द कल्पना गर्नुहोस्‌। परमेश्‍वरसामु पाप स्वीकार्दा राहत पाउन सकिन्छ र ख्रीष्टियान प्राचीनहरूको सहयोगले पनि गल्ती गर्ने व्यक्‍तिको आध्यात्मिक स्वास्थ्य सुध्रनेछ।—हितो. २८:१३; याकू. ५:१३-१६.

परमेश्‍वरलाई अन्तरबिन्ती र धन्यवाद चढाउनुहोस्‌

५. यहोवालाई अन्तरबिन्ती गर्नुको अर्थ के हो?

५ कुनै कारणले अति चिन्तित भयौं भने पावलको यो सल्लाह लागू गर्नुपर्छ: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌।” (फिलि. ४:६) “अन्तरबिन्ती” भनेको “नम्र भई गरिने बिन्ती” हो। विशेषगरि खतरा वा सतावट आइपर्दा मदत र डोऱ्‍याइको लागि यहोवालाई अन्तरबिन्ती गर्नुपर्छ।

६, ७. कस्ता कारणले गर्दा हामीले धन्यवादसाथ प्रार्थना चढाउनुपर्छ?

६ केही कुरा चाहिएको बेला मात्रै प्रार्थना गर्छौं भने यसले हाम्रो मनोवृत्तिबारे के बताउँछ? परमेश्‍वरसामु हामीले आफ्नो माग “धन्यवादसाथ” जाहेर गर्नुपर्छ भनी पावलले बताए। दाऊदजस्तै धन्यवादी हुने हर कारण हामीसित छ: “हे परमप्रभु, महानता, शक्‍ति, महिमा, गौरव र वैभव तपाईंकै हुन्‌। किनभने स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईंकै हुन्‌। हे परमप्रभु, राज्याधिकार तपाईंकै हो, औ सबैका माथि तपाईं सर्वोच्च हुनुहुन्छ। . . . हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद दिंदैछौं औ तपाईंको महिमित नाउँको प्रशंसा गर्दैछौं।”—१ इति. २९:११-१३.

७ येशूले भोजनको लागि र प्रभुको साँझको भोजको रोटी र दाखमद्यको लागि परमेश्‍वरलाई धन्यवाद चढाउनुभयो। (मत्ती १५:३६; मर्कू. १४:२२, २३) यसरी नै कृतज्ञता व्यक्‍त गर्नुको अलावा हामीले यहोवालाई “मानिसका सन्तानहरूप्रति उहाँका आश्‍चर्यकामको,” उहाँको “धार्मिक इन्साफहरूको” अनि अहिले बाइबलमा पाइने उहाँको वचन वा सन्देशको लागि ‘धन्यवाद चढाउनुपर्छ।’—भज. १०७:१५; ११९:६२, १०५.

अरूको लागि प्रार्थना गर्नुहोस्‌

८, ९. हामीले किन सँगी ख्रीष्टियानहरूका लागि प्रार्थना गर्नुपर्छ?

८ निस्सन्देह हामीले आफ्नो लागि प्रार्थना गर्नुपर्छ। तर हाम्रो प्रार्थनामा अरूलाई अर्थात्‌ नाउँ थाह नभएका ख्रीष्टियानहरूलाई समेत समावेश गर्नुपर्छ। प्रेरित पावलले कलस्सीका थुप्रै विश्‍वासीलाई नचिने पनि यस्तो लेखे: “ख्रीष्ट येशूमा तिमीहरूको विश्‍वास, र सबै पवित्र जनहरूतर्फ तिमीहरूको प्रेमको विषयमा” सुनेकोले “हामी आफ्ना प्रभु येशू ख्रीष्टका पिता परमेश्‍वरलाई तिमीहरूका निम्ति सधैं प्रार्थना गर्दै धन्यवाद चढाउँछौं।” (कल. १:३, ४) पावलले थिस्सलोनिकीका ख्रीष्टियानहरूको लागि पनि प्रार्थना गरे। (२ थिस्स. १:११, १२) यस्ता प्रार्थनाले हामीबारे धेरै कुरा बताउनुका साथै ख्रीष्टियान भाइबहिनीप्रतिको हाम्रो दृष्टिकोण कस्तो छ भनेर पनि देखाउँछ।

९ अभिषिक्‍त ख्रीष्टियानहरू र तिनीहरूका “अरू भेडा”-का सहयोगीहरूका लागि प्रार्थना गर्दा परमेश्‍वरको संगठनप्रति चासो राख्छौं भनी प्रमाणित हुन्छ। (यूह. १०:१६) ‘सुसमाचारको रहस्य जनाउन मलाई उच्चारण गर्न दिइयोस्‌’ भनी प्रार्थना गरिदिन पावलले सँगी उपासकहरूलाई आग्रह गरे। (एफि. ६:१७-२०) के हामी अन्य सँगी ख्रीष्टियानहरूका लागि त्यसैगरि व्यक्‍तिगत तवरमा प्रार्थना गर्छौं?

१०. अरूको लागि प्रार्थना गर्दा हामीमा कस्तो प्रभाव पर्न सक्छ?

१० अरूको लागि प्रार्थना गर्दा तिनीहरूप्रतिको हाम्रो दृष्टिकोण बद्‌लिन सक्छ। यदि हामीलाई कुनै व्यक्‍ति त्यत्ति मन पर्दैन तर पनि उनको लागि प्रार्थना गर्छौं भने के उनलाई माया नगरिरहेका हुन्छौं र? (१ यूह. ४:२०, २१) यस्ता प्रार्थना उत्थानदायी हुन्छन्‌ र यसले भाइबहिनीसितको हाम्रो एकतालाई बलियो बनाउँछ। त्यसबाहेक, यस्ता प्रार्थनाले हामीसित ख्रीष्टको जस्तो प्रेम छ भनेर संकेत गर्छ। (यूह. १३:३४, ३५) यस्तो प्रेम परमेश्‍वरको आत्माको फलको एउटा पक्ष हो। पवित्र आत्माको फलका विभिन्‍न पक्ष प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता र संयम प्रदर्शित गर्न मदत माग्दै के हामी प्रत्येकले पवित्र आत्माको लागि यहोवालाई प्रार्थना गर्छौं? (लूका ११:१३; गला. ५:२२, २३) गर्छौं भने, वचन र कामबाट हामी आत्माअनुसार हिंडिरहेका छौं र बाँचिरहेका छौं भनेर देखिनेछ।—गलाती ५:१६, २५ पढ्‌नुहोस्‌।

११. अरूलाई हाम्रो निम्ति प्रार्थना गरिदिनुहोस्‌ भन्‍नु तपाईंलाई किन उचित लाग्छ?

११ हाम्रा छोराछोरी जाँचमा चिट चोर्न लोभिंदैछन्‌ भनेर थाह पायौं भने तिनीहरू इमानदार होऊन्‌ र कुनै गलत काम नगरून्‌ भनी तिनीहरूका लागि प्रार्थना गर्नुपर्छ र बाइबलबाट पनि मदत दिनुपर्छ। पावलले कोरिन्थका ख्रीष्टियानहरूलाई यसो भने: “अब हामी परमेश्‍वरमा प्रार्थना गर्दछौं, कि तिमीहरूले केही खराबी नगर।” (२ कोरि. १३:७) त्यस्तो नम्र प्रार्थनाले यहोवालाई प्रसन्‍न पार्छ र हामीबारे असल कुरा प्रकट गर्छ। ( हितोपदेश १५:८ पढ्‌नुहोस्‌) प्रेरित पावलले जस्तै हामीले पनि अरूलाई हाम्रो लागि प्रार्थना गरिदिनुहोस्‌ भन्‍न सक्छौं। तिनले लेखे: “हाम्रा निम्ति प्रार्थना गर, किनकि सबै कुरामा इमान्दारीसाथ रहने इच्छा गरेर हाम्रो असल विवेक छ भनी हामी विश्‍वास गर्दछौं।”—हिब्रू १३:१८.

हाम्रा प्रार्थनाहरूले हामीबारे थप कुरा बताउँछन्‌

१२. हाम्रा प्रार्थनाका उल्लेखनीय विषय के हुनुपर्छ?

१२  के हाम्रा प्रार्थनाहरूले हामी यहोवाका आनन्दित र जोसिला सेवकहरू हौं भनी बताउँछन्‌? के हाम्रा अन्तरबिन्ती मुख्यतया परमेश्‍वरको इच्छाबमोजिम गर्नुमा, राज्य सन्देशको प्रचारमा, यहोवाको सार्वभौमिकता उच्च गर्नुमा र उहाँको नाउँ पवित्र पार्नुमा केन्द्रित छन्‌? येशूको नमुना प्रार्थनाले संकेत गरेझैं यी कुरा हाम्रा प्रार्थनाको उल्लेखनीय विषय हुनुपर्छ। उक्‍त नमुना प्रार्थना यसरी सुरु भएको छ: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌। तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।”—मत्ती ६:९, १०.

१३, १४. हाम्रा प्रार्थनाले हामीबारे के प्रकट गर्छ?

१३ परमेश्‍वरलाई चढाएको प्रार्थनाले हाम्रो मनसाय, चासो र चाहना प्रकट गर्छ। हामी वास्तवमा कस्ता छौं यहोवालाई थाह छ। हितोपदेश: १७:३ भन्छ: “चाँदी पगाल्ने भाँडो हुन्छ र सुन खार्ने पात्र हुन्छ, तर मानिसको मन जाँच गर्ने परमप्रभुनै हुनुहुन्छ।” हाम्रो हृदयमा के छ, परमेश्‍वर जान्‍नुहुन्छ। (१ शमू. १६:७) सभाहरू, प्रचारकार्य अनि हाम्रा आध्यात्मिक भाइबहिनीप्रति हामी कस्तो महसुस गर्छौं उहाँलाई थाह छ। ख्रीष्टका “भाइहरू”-प्रतिको हाम्रो दृष्टिकोण कस्तो छ त्यो पनि यहोवालाई राम्ररी थाह छ। (मत्ती २५:४०) जे कुराको लागि प्रार्थना गरिरहेका छौं वास्तवमा हामीले चाहेका छौं कि छैनौं वा शब्दहरू मात्र खेलाइरहेका हौं, उहाँ बुझ्नुहुन्छ। प्रार्थना गर्ने सम्बन्धमा येशूको समयका मानिसहरूको धारणा गलत भएकोले येशूले भन्‍नुभयो: “प्रार्थना गर्दा अन्य जातिहरू जस्ता व्यर्थै नबरबराऊ। किनभने कराएर बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्‍ने तिनीहरू विचार गर्दछन्‌।”—मत्ती ६:७.

१४ प्रार्थनामा व्यक्‍त गरिने शब्दले हामी परमेश्‍वरमा कत्तिको भर पर्छौं, त्यो पनि प्रकट गर्छ। दाऊदले भने: “[यहोवा] तपाईं मेरो शरणस्थान हुनुभएको छ, शत्रुहरूका विरुद्धमा एउटा बलियो धरहरा। म तपाईंको बासस्थानमा सधैं बस्नेछु। म तपाईंका पखेटाको आडमा शरण लिनेछु।” (भज. ६१:३, ४) परमेश्‍वरले लाक्षणिक अर्थमा ‘हामीमाथि आफ्नो मण्डप टाँगिदिनुहुँदा’ सुरक्षित हुन्छौं र उहाँको हेरचाह पाउँछौं। (प्रका. ७:१५) हाम्रो विश्‍वासको जस्तोसुकै जाँचमा यहोवा ‘हामीतर्फ हुनुहुन्छ’ भन्‍ने विश्‍वस्ततासहित प्रार्थना गरेर उहाँसित नजिक हुन पाउनु कत्ति सान्त्वनादायी!—भजन ११८:५-९ पढ्‌नुहोस्‌।

१५, १६. मण्डलीमा थप जिम्मेवारी पाउन योग्यको हुने हाम्रो चाहनाबारे प्रार्थनाले हामीलाई के बुझ्न मदत गर्न सक्छ?

१५ हाम्रा मनोवृत्तिबारे यहोवालाई इमान्दारीसाथ प्रार्थना गर्दा तीबारे सत्य कुरा बुझ्न मदत पाउन सक्छौं। जस्तै:- के हामी मदतकारी हुने र राज्यसम्बन्धी काम अघि बढाउने इच्छाले गर्दा नै परमेश्‍वरका जनहरूमाझ निरीक्षकको रूपमा सेवा गर्न उत्सुक भएका हौं? अथवा “ठूलो हुन खोज्ने” चाहना वा अरूमाथि “प्रभुत्व” जमाउनसमेत चाहेकोले पो हो कि? यहोवाका जनहरूमाझ यस्तो मनोवृत्ति देखिनुहुँदैन। ( ३ यूहन्‍ना ९, १०; लूका २२:२४-२७ पढ्‌नुहोस्‌) हामीमा गलत इच्छा छन्‌ भने इमानदार भई यहोवालाई प्रार्थना गर्दा त्यस्ता गलत मनोवृत्ति बुझ्न सक्छौं र ती मनोवृत्तिले जरो गाड्‌नुअघि नै परिवर्तन गर्न मदत मिल्छ।

१६ आफ्ना पतिहरूले सेवकाई सेवकको रूपमा सेवा गरून्‌ र पछि गएर निरीक्षक वा प्राचीनको रूपमा सेवा गर्न सकून्‌ भन्‍ने प्रबल इच्छा ख्रीष्टियान पत्नीहरूको हुन सक्छ। यी बहिनीहरूले व्यक्‍तिगत प्रार्थनामा व्यक्‍त गरेका यस्ता इच्छाबमोजिम नै उदाहरणीय हुन अथक प्रयास गर्नेछन्‌। यसो गर्नु महत्त्वपूर्ण छ किनभने कुनै भाइको परिवारको बोलीवचन तथा आचरणले गर्दा उक्‍त भाइलाई मण्डलीमा हेर्ने तरिकामा फरक पर्छ।

सार्वजनिक प्रार्थनामा अरूको प्रतिनिधित्व गर्दा

१७. किन एकान्तमा प्रार्थना गर्नुपर्ने हुन्छ?

१७ एकान्तमा पितालाई प्रार्थना गर्न येशू प्रायः भीडबाट निस्केर जानुहुन्थ्यो। (मत्ती १४:१३; लूका ५:१६; ६:१२) हामीलाई पनि त्यस्तै एकान्त चाहिन्छ। एकान्तमा शान्त भएर प्रार्थना गर्दा यहोवालाई मन पर्ने निर्णयहरू गर्न सक्नेछौं र दृढ भएर उहाँको उपासना गर्न मदत पाउँनेछौं। तर येशूले सार्वजनिक प्रार्थना पनि गर्नुभयो। अतः सार्वजनिक प्रार्थना गर्ने उचित तरिका विचार गर्नु बेस हो।

१८. मण्डलीको प्रतिनिधित्व गर्दै सार्वजनिक प्रार्थना गर्दा भाइहरूले ध्यान दिनुपर्ने केही कुरा के हुन्‌?

१८ सभामा उदाहरणीय पुरुषहरूले मण्डलीको प्रतिनिधित्व गर्दै सार्वजनिक प्रार्थना गर्छन्‌। (१ तिमो. २:८) यस्ता प्रार्थनाहरूको अन्तमा सँगी विश्‍वासीहरूले “आमिन” अर्थात्‌ “यस्तै होस्‌” भन्‍न सक्नुपर्छ। तर त्यसको लागि प्रार्थनामा भनिएको कुरामा उपस्थित सबै सहमत हुनैपर्छ। येशूको नमुना प्रार्थनामा अरूलाई आघात पुऱ्‍याउने खालको वा विचार नपुऱ्‍याई बोलिएको कुनै पनि कुरा थिएन। (लूका ११:२-४) यसबाहेक उहाँले प्रत्येक श्रोताको आवश्‍यकता वा समस्या एकएक गरी खुलाउनुभएन। व्यक्‍तिगत चासोका कुराहरू व्यक्‍तिगत प्रार्थनामा व्यक्‍त गर्नुपर्छ सार्वजनिक प्रार्थनामा होइन। समूहको प्रतिनिधित्व गर्दै प्रार्थना गर्दा गोप्य कुरा समावेश गर्नदेखि टाढै बस्नुपर्छ।

१९. सार्वजनिक प्रार्थना गरिएको बेला हामीले कस्तो आचरण देखाउनुपर्छ?

१९ हाम्रो प्रतिनिधित्व गर्दै सार्वजनिक प्रार्थना गरिएको छ भने हामीले ‘परमेश्‍वरप्रतिको श्रद्धेय डर’ प्रकट गर्नु जरुरी छ। (१ पत्रु. २:१७) केही आचरण कुनै खास समयमा वा ठाउँमा उचित भए तापनि ख्रीष्टियान सभामा भने अनुचित हुन सक्छन्‌। (उप. ३:१) जस्तै:- सभामा प्रार्थना गरिंदा कसैले समूहका सबैले एकअर्काको हात समातौं भन्लान्‌। यसो गरेको कसैलाई र सभामा आएका आगन्तुकहरूलाई पनि मन नपर्न सक्छ वा उनीहरूको ध्यान खलबलिन सक्छ। सार्वजनिक प्रार्थनामा केही दम्पतिले शिष्टतासाथ एकअर्काको हात समात्लान्‌ तर तिनीहरूले एकअर्कालाई अँगालोमा बाँधे भने देख्नेहरूले ठक्कर खान सक्छन्‌। किनकि उनीहरूलाई तिनीहरूले यहोवाको श्रद्धा गर्नुभन्दा पनि आफ्नो रोमान्समा बढी ध्यान दिएजस्तो भान पर्न सक्छ वा तिनीहरूले त्यस्तै गरेका हुन्‌ भन्‍नेलाग्न सक्छ। त्यसैले उनीहरूको भावनाको गहिरो कदर गर्दै “सबै परमेश्‍वरकै महिमाको निम्ति” गरौं र अरूको ध्यान खलबल्याउने, अरूलाई आघात पुऱ्‍याउने वा ठक्कर पुग्ने कुनै पनि गतिविधि नगरौं।—१ कोरि. १०:३१, ३२; २ कोरि. ६:३.

प्रार्थनामा के भन्‍ने?

२०. रोमी ८:२६, २७ लाई तपाईं कसरी व्याख्या गर्न सक्नुहुन्छ?

२० व्यक्‍तिगत प्रार्थनामा कहिलेकाहीं के भन्‍ने हामीलाई थाह नहुन सक्छ। पावलले लेखे: “किनभने जसरी प्रार्थना गर्नुपर्ने हो, हामी त्यसरी गर्न जान्दैनौं, तर बयान गर्न नसक्ने स्वरले [पवित्र] आत्मा आफैले हाम्रा निम्ति अन्तरबिन्ती गर्नुहुन्छ, औ हृदयका कुरा खोजी गर्ने [परमेश्‍वर]-ले आत्माको मन के छ [अर्थात्‌ “विचार के हो,” NRV ] भनी जान्‍नुहुन्छ।” (रोमी ८:२६, २७) यहोवाले बाइबलमा थुप्रै प्रार्थना लेख्न लगाउनुभएको छ। यी प्रेरित मागहरूलाई उहाँ हामीले गरेको आग्रहको रूपमा स्वीकार्नुहुन्छ र ती पुऱ्‍याइदिनुहुन्छ। परमेश्‍वर हामीलाई चिन्‍नुहुन्छ र आफ्नो आत्मा प्रयोग गर्दै बाइबल लेखकहरूमार्फत बोल्नुभएका कुराको अर्थ पनि बुझ्नुहुन्छ। आत्माले हाम्रो निम्ति “अन्तरबिन्ती” गरिदिंदा यहोवा हाम्रा व्यग्र बिन्तीको जवाफ दिनुहुन्छ। तर उहाँको वचनसित जति परिचित हुन्छौं, प्रार्थनामा भन्‍ने कुरा मनमा त्यति नै फुरिहाल्न सक्छ।

२१. अर्को लेखमा हामी कुन विषय केलाउनेछौं?

२१ हामीले सिक्यौं, हाम्रा प्रार्थनाहरूले हामीबारे थुप्रै कुरा बताउँदा रहेछन्‌। जस्तै:- हामी यहोवासित कत्तिको घनिष्ठ छौं र हामीलाई उहाँको वचन कत्तिको राम्ररी थाह छ, हाम्रा प्रार्थनाहरूले प्रकट गर्न सक्छन्‌। (याकू. ४:८) अर्को लेखमा बाइबलमा लेखिएका केही प्रार्थना र प्रार्थनामा व्यक्‍त गरिएका शब्दहरू केलाउनेछौं। यसरी केलाउँदा परमेश्‍वरलाई प्रार्थना गर्ने सम्बन्धमा हामीमा कस्तो असर पर्न सक्छ? ( w09 11/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• यहोवालाई प्रार्थना गर्दा हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ?

• हामीले सँगी विश्‍वासीहरूको लागि पनि किन प्रार्थना गर्नुपर्छ?

• हाम्रा प्रार्थनाहरूले हामी र हाम्रो मनोवृत्तिबारे के प्रकट गर्न सक्छ?

• सार्वजनिक प्रार्थना गरिएको बेला हामीले कस्तो आचरण देखाउनुपर्छ?

[पृष्ठ ११-मा भएको चित्र]

के तपाईं नियमित तवरले यहोवालाई प्रशंसा अनि धन्यवाद चढाउनुहुन्छ

[पृष्ठ १३-मा भएको चित्र]

सार्वजनिक प्रार्थनाको बेला आफ्नो व्यवहारबाट सधैं यहोवाको आदर गर्नुपर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने