के तपाईं आफ्नो राज्यभवनको आदर गर्नुहुन्छ?
१ “समाजका दाज्यू-भाइहरू आपसमा एकतामा भएर बस्नु कत्ति असल र मनोहर कुरा हुन्छ!” (भज. १३३:१) राज्यभवनका सभाहरूले हामीलाई आफ्ना भाइबहिनीहरूसँग एकताबद्ध हुने मौका दिन्छ। यसरी हामी एकअर्कालाई प्रोत्साहन दिनुका साथै प्रेम र सुकर्ममा उत्तेजित गर्नसक्छौं।—हिब्रू १०:२४, २५.
२ हाम्रो जीवनमा राज्यभवनको महत्त्वपूर्ण स्थान भएकोले के हामी साँच्चै यसको आदर गर्छौं? राज्यभवन स्थानीय क्षेत्रको साँचो उपासनाको केन्द्र हो। तसर्थ, हामीले यसको अति कदर गर्नुपर्छ। सबैले व्यक्तिगत रूपमा राज्यभवन सफा र राम्रो अवस्थामा राख्नुपर्ने जिम्मेवारी महसुस गर्नुपर्छ। भवन सफा गर्ने जिम्मेवारी हाम्रो पुस्तक अध्ययन समूहलाई पनि दिइएको हुन्छ। सम्भव भएसम्म यस्तो सफाइ कार्यमा भाग लिनुपर्छ र भाग लिन हामी इच्छुक पनि हुनुपर्छ। यसो गरेमा हामीले सफा अनि आकर्षक सभास्थलप्रति मूल्यांकन देखाइरहेका हुनेछौं।
३ हामीलाई सफा गर्ने जिम्मा दिइएको होस् या नहोस् हामी सबैले आफ्नो राज्यभवनप्रति चासो देखाउन सक्छौं। कसरी? एकदमै सरल कामहरू गरेर। जस्तै, भवनको भुइँ फोहोर हुन नदिन भवन भित्र पस्नुअघि जुत्ता पुछेर यसो गर्न सक्छौं। विशेष गरी प्रतिकूल मौसम छ भने त यसो गर्नु झनै आवश्यक हुन्छ। शौचालय प्रयोग गरिसकेपछि वरपर राम्ररी पखालेर फर्कन सक्छौं। यसो गर्दा शौचालय सधैं सफा देखिन्छ। साहित्य र पत्रिका काउन्टरमा काम गर्ने भाइहरूले खाली बाकसहरूलाई छिटै तह लगाएर सफाइमा चासो देखाउन सक्छन्। सबै फोहोर, फोहोर राख्ने भाँडोमा फाल्नुपर्छ। यदि हामीले भुइँमा कागजका टुक्राटाक्री वा फोहोर देखेमा अरूले टिपेर फाल्ला नि भनेर त्यतिकै छोड्नुको साटो त्यसलाई टिपेर सम्बन्धित ठाउँमा फाल्नुपर्छ।
४ सम्मेलन तथा अधिवेशनहरूमा उपस्थित हुँदा पनि यही कुरा लागू हुन्छ। हाम्रै सम्मेलन भवन होस् वा कुनै अन्य भवन, सम्मेलन गर्ने ठाउँ साँचो उपासनाको केन्द्र हो। त्यसैले, आदरपूर्वक प्रयोग गर्नुपर्छ। सम्मेलन भवन छोड्दा आफू बसेको सिटमा कतै हामीले केही फोहोर छाडेका छौं कि भनी सधैं याद गर्नुपर्छ। हामीले सधैं सहयोगी मनोभाव देखाउनुपर्छ र सफाइमा जिम्मा पाएका भाइहरू छँदै छन् नि भनेर सोच्नु हुँदैन।
एउटै भवन प्रयोग गर्दा
५ जग्गा अनि भवन निर्माणमा धेरै खर्च लाग्ने हुनाले अधिकांश राज्यभवन एकभन्दा धेरै मण्डलीले प्रयोग गर्ने गर्छन्। शहरी क्षेत्रमा त पाँच वा छ वटा मण्डलीले एउटै राज्यभवन प्रयोग गरेका हुनसक्छन्। प्रत्येक मण्डलीले राज्यभवन यहोवाको हो र यसलाई उहाँको उपासनाको लागि प्रयोग गरिन्छ भन्ने कुरा बुझेर यसप्रति चासो देखाउनुपर्छ। तसर्थ, यहोवाप्रतिको प्रेमले मात्र होइन तर सोही भवन प्रयोग गर्ने अर्को मण्डलीका हाम्रा भाइबहिनीहरूप्रतिको प्रेमको कारण पनि राज्यभवनप्रति आदर देखाउनु आवश्यक छ।
६ साधारणतया, हप्तामा एक चोटि राज्यभवन सफाइ गरिन्छ। यदि एकभन्दा बढी मण्डलीहरूले एउटै राज्यभवन प्रयोग गर्छन् भने प्रत्येक सभापछि केही सफाइ गर्नु आवश्यक छ। त्यसो गरेमा अर्को मण्डलीका भाइबहिनीहरू आउँदा भवन सफा वा हेर्न लायकको देखिन्छ। एउटा मण्डलीको सभा सकिन बित्तिकै अर्को मण्डलीको सभा हुने दिन आइतबार पनि यही कुरा लागू हुन्छ। समयले भ्याएसम्म अर्को मण्डलीका भाइबहिनीहरूको लागि केही सफाइ गर्नु राम्रो हुन्छ। एकै दिनमा धेरै मण्डलीहरूले एउटै भवन प्रयोग गर्दा राम्रो ध्यान दिइएन भने दिनको अन्तमा भवन एकदमै फोहोर हुनसक्छ।
७ आध्यात्मिक कुरामा हामी “एकै मन र एकै विचारमा सिद्ध” त छौं नै, यसका साथै आफ्नो राज्यभवनप्रति आदर देखाएर पनि हामी एकताबद्ध हुनसक्छौं।—१ कोरि. १:१०.