के तपाईं बाहिरी रूपरंग मात्र हेर्नुहुन्छ?
१ जन सेवकाईमा भाग लिंदा मानिसहरूबारे हाम्रो सुरुको धारणाले तिनीहरूलाई सुसमाचार सुनाउन हामीलाई अप्ठ्यारो लाग्ला। उदाहरणका लागि, सत्यप्रति चासो देखाउने व्यक्तिकहाँ जानुहुँदा तिनको डरलाग्दो छिमेकीले तपाईंलाई सधैं शंकालु आँखाले हेर्छ भने तपाईं के गर्नुहुन्छ? एक जना अग्रगामी बहिनीसित पनि त्यस्तै भयो। त्यस मानिससित कुरा गर्ने निर्णय तिनले गरिन्। त्यस मानिसले तिनलाई रूखो ढंगमा अभिवादन गरे। तर अचम्मको कुरा, त्यस मानिसले बाइबलको सन्देशलाई सुने र उत्सुक भएर अध्ययन गर्न पनि राजी भए। फलस्वरूप, यस बहिनीले बाहिरी रूपरंग मात्र नहेरेकोले त्यस मानिस र तिनकी पत्नीले सत्य सिक्ने मौका पाए।
२ एक जना अर्की बहिनी पनि लामो कपाल भएको जवान व्यक्ति देखेर पहिले डराउँथिन्। तर त्यो व्यक्ति तिनी काम गर्ने पसलमा आउँदा जत्तिखेर पनि छोटकरीमा साक्षी दिने साहस तिनले गरिन्। तिनको साहसले राम्रो फल फलायो र अहिले उक्त व्यक्ति बप्तिस्मा प्राप्त साक्षी भएका छन्। यस्ता मानिसहरूले सुन्दैनन् भनेर हतारपतार निष्कर्षमा नपुग्न हामीलाई केले मदत गर्छ?
३ येशूको उदाहरण अनुकरण गरेर: सबैको लागि आफ्नो जीवन अर्पण गर्दैछु भनेर येशूलाई थाह थियो। तथापि, अरूको बाहिरी रूपरंगले गर्दा उहाँ हतोत्साहित हुनुभएन। अनैतिक व्यवहार भएकाहरूलाई पनि उचित सहायता र प्रोत्साहन दिएमा तिनीहरूले परिवर्तन गर्नसक्छन् भन्ने पनि उहाँलाई थाह थियो। (मत्ती ९:९-१३) उहाँले धनी र गरिब, दुवैलाई सहायता गर्ने प्रयत्न गर्नुभयो। (मत्ती ११:५; मर्कू. १०:१७-२२) त्यसरी नै सेवकाईमा भेटेका मानिसहरूको असल गुणहरूप्रति आँखा चिम्लेर तिनीहरूको बाहिरी रूपरंग मात्र हेरेर इन्साफ नगरौं। (मत्ती ७:१; यूह. ७:२४) येशूको यो उल्लेखनीय उदाहरणको अनुकरण गर्न हामीलाई केले मदत गर्नसक्छ?
४ बाइबल अध्ययनद्वारा परमेश्वरको वचनले व्यक्तिविशेषहरूको सोचाइ, आचरण र व्यक्तित्वमा परिवर्तन ल्याउनसक्छ भनेर हामीले मूल्यांकन गरेका छौं। (एफि. ४:२२-२४; हिब्रू ४:१२) त्यसैकारण, हामीले सकारात्मक मनोवृत्ति राखेर मानिसको हृदय पढ्नुहुने यहोवाको हातमा सबै कुरा छोड्नुपर्छ।—१ शमू. १६:७; प्रेरि. १०:३४, ३५.
५ मानिसहरूको बाहिरी रूपरंग चाहे जस्तोसुकै किन नहोस्, हामीले सबैलाई निष्पक्षसाथ सुसमाचार सुनाउनाले यस अन्तिम दिनमा महान् कटनीको काम पूरा हुनसकोस्।—१ तिमो. २:३, ४.