‘सबै मानिसले उद्धार पाउनेछन्’
१. परमेश्वरले कुन आधारमा हामीलाई स्वीकार्नुहुन्छ?
१ परमेश्वरले अपार करुणा देखाएर छुटकाराको बाटो खोल्नुभएको छ। “सबै मानिसले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन्” भन्ने इच्छा यहोवा गर्नुहुन्छ। (१ तिमो. २:३, ४) हाम्रो भाषा, आर्थिक अवस्था, क्षमता अथवा बाहिरी सुन्दरतालाई यहोवा हेर्नुहुन्न। बरु, येशूले चढाएको फिरौतीको बलिदानमा ज-जसले विश्वास गर्छन्, यहोवा तिनीहरूलाई स्वीकार्नुहुन्छ। (यूह. ३:१६, ३६) परमेश्वरको सहकर्मी भएकोले हामी पनि निष्पक्ष हुनैपर्छ। पक्षपाती भावना हुने व्यक्तिलाई यहोवाले मनपराएका मानिसहरूलाई स्वीकार्न गाह्रो पर्न सक्छ।
२, ३. हामीले किन मानिसहरूको बाहिरी रूपरंग हेरेर व्यवहार गर्नुहुँदैन?
२ मानिसहरूलाई नतौलनुहोस्: यहोवा पक्षपात वा द्वेषको भावना राख्नुहुन्न, बरु मानिसहरूको हृदयमा के छ, त्यो हेर्नुहुन्छ। (१ शमू. १६:७) उनीहरू कस्ता व्यक्ति बन्न सक्छन्, त्यो पनि यहोवा हेर्नुहुन्छ। त्यसैले त उहाँको इच्छाबमोजिम चल्न इच्छुक मानिसहरूलाई उहाँ बहुमूल्य सम्पत्ति सम्झनुहुन्छ। (हाग्गै २:७) के हाम्रो दृष्टिकोण यहोवाको जस्तै छ?
३ प्रचार जाँदा हामी विभिन्न थरिका मानिस भेट्छौं। कसै-कसैको रूपरंग देखेर हामीलाई कुरा गर्नै अप्ठेरो लाग्न सक्छ। उनीहरूले जथाभावी अथवा अभद्र देखिने लुगा लगाएका हुन सक्छन्। कसैले चाहिं, जिङग्रिङ्ग कपाल वा दाह्री पालेका हुन सक्छन् भने कोहीचाहिं गरिबीले गर्दा झुत्रेझाम्रे हुन सक्छन्। अनि कोहीचाहिं फुटपाथमै जीवन बिताइरहेका हुन सक्छन् वा कसैले हामीसित छुच्चो व्यवहार गर्न सक्छ। हामीले मानिसहरूको रूपरंग वा व्यवहार हेरेर ‘यस्तो मान्छे यहोवाको उपासक के बन्ला र’ भनेर सोच्नुहुँदैन। उनीहरूप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्छ। “किनभने हामी पनि पहिले मूर्ख, अट्टेरी, ठगिएका [मानिस नै] थियौं।” (ती. ३:३) यो कुरालाई मनमा राख्यौं भने, यहोवाको सेवक बन्न अयोग्य देखिने रूपरंग भएका मानिसहरूलाई समेत प्रचार गर्न हामी हिच्किचाउनेछैनौं।
४, ५. येशू अनि पावलले बसालेका उदाहरणबाट हामी के सिक्छौं?
४ हाम्रो निष्पक्ष परमेश्वरको अनुकरण गर्नुहोस्: येशू ख्रीष्टले त्यस्ता मानिसहरूलाई मदत गर्न पनि समय निकाल्नुभयो जसलाई अरूले सायद यहोवाको उपासक बन्न लायकै सम्झने थिएनन्। (लूका ८:२६-३९) मानिसहरूको कुलत अनि कुकर्मलाई येशूले कहिल्यै ठीक छ भनेर समर्थन गर्नुभएन। तर नचाहँदा-नचाहँदै मानिसहरूले खराब काम गर्न सक्छन् भनेर येशूलाई थाह थियो। (लूका ७:३७, ३८, ४४-४८) त्यसैले उहाँ “तिनीहरूमाथि टिठाउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेडाहरूजस्ता थिए।” (मर्कू. ६:३४) के हामी येशूको अझ राम्ररी अनुकरण गर्न सक्छौं?
५ प्रेरित पावलले प्रचार गर्दा मानिसहरूले तिनलाई ढुंगाले हाने, कुटे, अनि जेलमा हाले। (प्रेरि. १४:१९; १६:२२, २३) तर ‘बित्थैमा प्रचार गरेछु’ भनेर के प्रेरित पावल कहिल्यै पछुताए? अहँ, पछुताएनन्। निष्कपट मानिस ‘जुनसुकै जात वा कुलको’ हुन सक्छ भनेर प्रेरित पावललाई थाह थियो र तिनले त्यस्तो मानिस नभेटेसम्म खोजिरहने कम्मर कसेका थिए। बेग्लै पृष्ठभूमि अथवा संस्कारमा हुर्केका मानिसहरू भेट्दा के हामी पावलको जस्तै दृष्टिकोण राख्छौं?
६. हाम्रो निष्पक्ष परमेश्वरको हामी कसरी अनुकरण गर्न सक्छौं?
६ यहोवाले अपार करुणा देखाउनुभएको छ। हाम्रो निष्पक्ष परमेश्वरको अनुकरण गर्दै उहाँको त्यस्तो करुणा पाउन सबैलाई आमन्त्रित गरौं।—प्रेरि. १०:३४, ३५.