प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 अक्टोबर पृ. १३-१९
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग २

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग २
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबललाई नै बोल्न दिनुहोस्‌
  • उत्साहित र विश्‍वस्त हुँदै सिकाउनुहोस्‌
  • विद्यार्थीलाई मण्डलीमा साथीहरू बनाउन प्रोत्साहन दिनुहोस्‌
  • समर्पण र बप्तिस्मा गर्नुको महत्त्वलाई जोड दिनुहोस्‌
  • बेलाबेलामा विद्यार्थीको प्रगति केलाउनुहोस्‌
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • बाइबल विद्यार्थीलाई बप्तिस्मा गरेर चेला बन्‍न मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • मण्डलीको रूपमा बाइबल विद्यार्थीहरूलाई बप्तिस्मासम्म प्रगति गर्न मदत गरौँ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • कसरी “शिक्षा” दिनुहुन्छ, होसियार हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 अक्टोबर पृ. १३-१९

अध्ययन लेख ४२

बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग २

“आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा तिमी सधैँ होसियार होऊ।”—१ तिमो. ४:१६.

गीत ७७ अन्धकार संसारमा आशाको किरण

परिचयa

१. चेला बनाउने काम जीवन बचाउने काम हो भनेर हामी किन भन्‍न सक्छौँ?

चेला बनाउने काम जीवन बचाउने काम हो! हामी किन त्यसो भन्‍न सक्छौँ? मत्ति २८:१९, २० मा येसुले यस्तो आज्ञा दिनुभयो: “जाओ . . . चेला बनाओ . . . बप्तिस्मा गराओ।” बप्तिस्माको महत्त्वबारे हामीलाई कुन कुरा थाह छ? उद्धार पाउन चाहन्छौँ भने बप्तिस्मा गर्नै पर्छ। येसुले आफ्नो जीवन बलिदानस्वरूप दिनुभएकोले र उहाँ फेरि जीवित हुनुभएकोले मात्र हाम्रो उद्धार सम्भव भएको हो भन्‍ने कुरामा बप्तिस्मा गर्न लागेकाहरूले विश्‍वास गर्नुपर्छ। त्यसैले प्रेषित पत्रुसले सङ्‌गी ख्रिष्टियनहरूलाई यसो भने: “बप्तिस्मा[ले] येसु ख्रिष्ट फेरि जीवित हुनुभएको कुराद्वारा अहिले तिमीहरूलाई बचाउँदै छ।” (१ पत्रु. ३:२१) त्यसैले कुनै नयाँ चेलाले बप्तिस्मा गर्दा तिनले उद्धार पाउने आशा राख्न सक्छन्‌।

२. दोस्रो तिमोथि ४:१, २ अनुसार हामी कस्तो शिक्षक हुनुपर्छ?

२ चेला बनाउन हामीले आफ्नो “शिक्षणकला” तिखार्दै लैजानुपर्छ। (२ तिमोथि ४:१, २ पढ्‌नुहोस्‌) किन? किनकि येसुले हामीलाई यस्तो आज्ञा दिनुभएको छ: “जाओ . . . चेला बनाओ . . . सिकाओ।” यस काममा ‘लागिरहन’ प्रेषित पावलले सल्लाह दिए। किनकि ‘यसो गऱ्‍यौँ भने हामीले आफ्नो र हाम्रो कुरा सुन्‍नेहरूको उद्धार गर्नेछौँ।’ त्यसैले पावलले यसो भने: “आफ्नो शिक्षाको विषयमा . . . सधैँ होसियार होऊ।” (१ तिमो. ४:१६) सिकाउने र चेला बनाउने काम आपसमा सम्बन्धित भएकोले हामी निपुण शिक्षक हुन चाहन्छौँ।

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

३ हामीले लाखौँ मानिसलाई नियमित तवरमा बाइबलको सत्य सिकाइरहेका छौँ। तर अघिल्लो लेखमा छलफल गरिएझैँ हामी सकेसम्म धेरै जनालाई येसु ख्रिष्टको चेलाको रूपमा बप्तिस्मा गर्न मदत दिन चाहन्छौँ। यस लेखमा विद्यार्थीलाई बप्तिस्मासम्म पुऱ्‍याउन प्रत्येक अध्ययन सञ्चालकले गर्नुपर्ने थप पाँच वटा कुराबारे छलफल गर्नेछौँ।

बाइबललाई नै बोल्न दिनुहोस्‌

चित्रहरूको सँगालो: १. अघिल्लो लेखमा उल्लेख गरिएकी बहिनी विद्यार्थीलाई बाइबल अध्ययन गराउँदै छिन्‌। तिनी हात पूरै फैलाएर केही बताउँदै छिन्‌ र तिनले बाइबल टेबुलमा घोप्ट्याएर राखेकी छिन्‌। एक वृद्ध दिदी पनि अध्ययनमा बसेकी छिन्‌ अनि उनी र बाइबल विद्यार्थी दुवै अलमल्ल परेको देखिन्छ। २. पछि क्याफेमा ती अनुभवी दिदीले आफ्नो शिक्षणकला कसरी सुधार्ने भनेर केही सुझाव दिँदा ती बहिनी सुनिरहेकी छिन्‌।

बाइबललाई नै बोल्न दिने सन्दर्भमा सिपालु हुन अनुभवी सञ्चालकसित मदत माग्नुहोस्‌ (अनुच्छेद ४-६ हेर्नुहोस्‌)f

४. बाइबल अध्ययन सञ्चालकले किन आत्मसंयम देखाउनुपर्छ? (फुटनोट हेर्नुहोस्‌)

४ आफूले परमेश्‍वरको वचनबाट सिकेको कुरा हामीलाई असाध्यै मन पर्छ। त्यसैले हामीलाई आफूले जाने-बुझेको सबै कुरा बताउन मन लाग्ला। तर प्रहरीधरहरा अध्ययन, मण्डली बाइबल अध्ययन वा गृह बाइबल अध्ययन सञ्चालन गर्दा नै किन नहोस्‌, सञ्चालक आफै मात्र धेरै बोल्नु हुँदैन। बाइबललाई नै बोल्न दिएर सञ्चालकले आत्मसंयम देखाउनुपर्छ अनि कुनै बाइबल पद वा विषयबारे आफूले जाने-बुझेको सबै कुरा बताउन खोज्नु हुँदैन।b (युह. १६:१२) बप्तिस्मा गर्दा तपाईँसित बाइबलको जति ज्ञान थियो, त्यसलाई अहिले तपाईँसित भएको ज्ञानसित तुलना गरेर हेर्नुहोस्‌। सायद बप्तिस्मा गर्नुअघि तपाईँले बाइबलको प्राथमिक शिक्षा मात्र बुझ्नुभएको थियो। (हिब्रू ६:१) आज तपाईँलाई बाइबलबारे जे-जति थाह छ, त्यो सिक्न वर्षौँ लाग्यो। त्यसैले नयाँ विद्यार्थीलाई भएभरको कुरा एकैचोटि सिकाउन नखोज्नुहोस्‌।

५. (क) पहिलो थिस्सलोनिकी २:१३ अनुसार हामी आफ्नो विद्यार्थीले कुन कुरा बुझेको चाहन्छौँ? (ख) विद्यार्थीलाई आफूले सिकिरहेको विषयबारे कुरा गर्न हामी कसरी प्रोत्साहन दिन सक्छौँ?

५ हामी आफ्नो विद्यार्थीले तिनले सिकिरहेको कुरा परमेश्‍वरको प्रेरित वचनबाट आएको हो भनेर बुझेको चाहन्छौँ। (१ थिस्सलोनिकी २:१३ पढ्‌नुहोस्‌) हामी कसरी त्यसो गर्न सक्छौँ? विद्यार्थीलाई आफूले सिकिरहेको विषयबारे कुरा गर्न प्रोत्साहन दिनुहोस्‌। बाइबलका पदहरू सधैँ आफैले व्याख्या गर्नुको सट्टा कुनै-कुनै पद तिनलाई नै व्याख्या गर्न दिनुहोस्‌। परमेश्‍वरको वचनले तिनलाई व्यक्‍तिगत रूपमा कस्तो लाभ पुऱ्‍याउँछ भनी बुझ्न मदत दिनुहोस्‌। आफूले पढेका शास्त्रपदहरूबारे तिनले के सोचिरहेका छन्‌ वा कस्तो महसुस गरिरहेका छन्‌ भनेर बुझ्न मदत दिने प्रश्‍नहरू सोध्नुहोस्‌। (लुका १०:२५-२८) जस्तै: “यस पदबाट तपाईँले यहोवाको कुन गुणबारे सिक्नुभयो?” “बाइबलको यस कुराबाट तपाईँ कस्तो लाभ उठाउन सक्नुहुन्छ?” “भर्खरै सिकेको कुरा तपाईँलाई कस्तो लाग्यो?” (हितो. २०:५) विद्यार्थीलाई के-कति थाह छ, त्यो होइन बरु आफूलाई थाह भएको कुरालाई तिनी कत्तिको माया गर्छन्‌ र लागू गर्छन्‌, त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

६. अनुभवी शिक्षकलाई बाइबल अध्ययनमा सँगै लैजानु किन राम्रो हो?

६ के तपाईँ आफ्नो बाइबल अध्ययनमा अनुभवी शिक्षकहरूलाई सँगै लैजानुहुन्छ? यदि लैजानुहुन्छ भने तपाईँको बाइबल अध्ययन गराउने तरिका कस्तो छ अनि तपाईँले बाइबललाई नै बोल्न दिइरहनुभएको छ कि छैन भनेर याद गरिदिन आग्रह गर्न सक्नुहुन्छ। आफ्नो शिक्षणकला तिखार्न चाहनुहुन्छ भने तपाईँ नम्र हुनै पर्छ। (प्रेषित १८:२४-२६ तुलना गर्नुहोस्‌) अनि तपाईँको विद्यार्थीले आफूले सिकिरहेको कुरा बुझेको छ कि छैन भनेर अनुभवी प्रकाशकलाई सोध्नुहोस्‌। तपाईँ एक हप्ता वा अझ धेरै समयको लागि कतै जाँदै हुनुहुन्छ भने ती प्रकाशकलाई नै तपाईँको अध्ययन सञ्चालन गरिदिन आग्रह गर्न सक्नुहुन्छ। यसो गर्दा अध्ययन नियमित रूपमा हुन्छ अनि विद्यार्थीले पनि अध्ययनको महत्त्व बुझ्न सक्छन्‌। ऊ “मेरो” अध्ययन हो अनि उसलाई मैले नै अध्ययन गराउनुपर्छ भन्‍ने सोचाइ कहिल्यै नराख्नुहोस्‌। किनकि तपाईँ विद्यार्थीको सर्वोत्तम हित चाहनुहुन्छ; तिनले सत्य सिकेर प्रगति गरिरहेको तपाईँ चाहनुहुन्छ।

उत्साहित र विश्‍वस्त हुँदै सिकाउनुहोस्‌

चित्रहरूको सँगालो: १. बहिनीले बाइबल विद्यार्थीलाई एउटा वास्तविक अनुभवको भिडियो देखाउँछिन्‌। २. बाइबल विद्यार्थी पतिलाई आफूले सिकिरहेको कुरा बताउँछिन्‌।

विद्यार्थीलाई बाइबलका सिद्धान्तहरू कसरी लागू गर्न सकिन्छ भनेर बुझाउन तिनले जस्तै समस्या भोगेका कुनै भाइबहिनीको अनुभव बताउनुहोस्‌ (अनुच्छेद ७-९ हेर्नुहोस्‌)g

७. विद्यार्थीलाई आफूले सिकिरहेका कुराहरूबारे उत्साहित हुन केले मदत गर्छ?

७ विद्यार्थीले तपाईँको उत्साह अनि बाइबलमा पाइने सत्यहरूमा तपाईँ विश्‍वस्त हुनुहुन्छ भन्‍ने कुरा देख्नु आवश्‍यक छ। (१ थिस्स. १:५) तब मात्र तिनी आफूले सिकिरहेका कुराहरूबारे उत्साहित हुन सक्छन्‌। उपयुक्‍त छ भने बाइबल सिद्धान्तहरूअनुसार चल्दा तपाईँले कस्तो लाभ उठाउनुभएको छ भनी बताउनुहोस्‌। यसो गर्दा आफूले पनि लाभ उठाउन सक्ने व्यावहारिक डोऱ्‍याइ बाइबलमा पाइन्छ भनेर तिनले बुझ्नेछन्‌।

८. बाइबल विद्यार्थीलाई मदत गर्न तपाईँ अरू के पनि गर्न सक्नुहुन्छ र तपाईँ किन त्यसो गर्न चाहनुहुन्छ?

८ बाइबल अध्ययनको दौडान तपाईँ विद्यार्थीलाई तिनले जस्तै समस्या भोगेका र ती समस्यामाथि विजयी भएका भाइबहिनीबारे बताउन सक्नुहुन्छ। तिनले जस्तै समस्या भोगेका कुनै भाइ वा बहिनीलाई अध्ययनमा सँगै लैजान सक्नुहुन्छ। अथवा jw.org मा भएको “बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” भन्‍ने शृङ्‌खलाबाट कुनै मन छुने अनुभव बताउन सक्नुहुन्छ।c त्यस्ता लेख तथा भिडियोबाट विद्यार्थीले जीवनमा बाइबलका सिद्धान्तहरू लागू गर्नु कत्ति बुद्धिमानी हो भनेर बुझ्न सक्नेछन्‌।

९. विद्यार्थीलाई आफूले सिकिरहेको कुरा परिवार र साथीभाइलाई पनि बताउन कसरी प्रोत्साहन दिन सक्नुहुन्छ?

९ यदि तपाईँको विद्यार्थी विवाहित हुन्‌ भने के तिनको पति वा पत्नीले पनि अध्ययन गर्दै छन्‌? छैनन्‌ भने उनलाई पनि अध्ययनमा सँगै बस्न बोलाउनुहोस्‌। विद्यार्थीलाई आफूले सिकिरहेको कुरा परिवार र साथीभाइलाई पनि बताउन प्रोत्साहन दिनुहोस्‌। (युह. १:४०-४५) तपाईँ कसरी प्रोत्साहन दिन सक्नुहुन्छ? तपाईँ तिनलाई यस्तो प्रश्‍न सोध्न सक्नुहुन्छ: “बाइबलको यो सत्य तपाईँ आफ्नो परिवारलाई कसरी बताउनुहुन्छ?” वा “यो कुरा प्रमाणित गर्न तपाईँ आफ्नो साथीलाई कुन बाइबल पद देखाउनुहुन्छ?” यसो गर्दा तपाईँले आफ्नो विद्यार्थीलाई शिक्षक बन्‍न तालिम दिइरहनुभएको हुनेछ। अनि तिनी योग्य भएपछि तिनले बप्तिस्मा नगरेका प्रकाशकको रूपमा प्रचारकार्यमा भाग लिन सक्नेछन्‌। विद्यार्थीलाई अध्ययन गर्न चाहने अरू पनि कोही छन्‌ कि भनेर सोध्न सक्नुहुन्छ। छन्‌ भने ती व्यक्‍तिलाई तुरुन्तै सम्पर्क गर्नुहोस्‌ अनि बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। उनलाई बाइबल अध्ययन कसरी गरिन्छ?d भन्‍ने भिडियो देखाउनुहोस्‌।

विद्यार्थीलाई मण्डलीमा साथीहरू बनाउन प्रोत्साहन दिनुहोस्‌

चित्रहरूको सँगालो: १. एक बहिनी बाइबल विद्यार्थीलाई सभाभवनमा अर्की बहिनीसित परिचय गराइदिँदै छिन्‌। २. ती बहिनी, तिनकी विद्यार्थी र ती विद्यार्थीको पति सभाभवनमा भेटेको बहिनीको घरमा रमाइलो गर्दै छन्‌।

विद्यार्थीलाई मण्डलीमा साथीहरू बनाउन प्रोत्साहन दिनुहोस्‌ (अनुच्छेद १०-११ हेर्नुहोस्‌)h

१०. पहिलो थिस्सलोनिकी २:७, ८ अनुसार अध्ययन सञ्चालकले कसरी पावलको अनुकरण गर्न सक्छन्‌?

१० अध्ययन सञ्चालकले आफ्नो विद्यार्थीप्रति निष्कपट र व्यक्‍तिगत चासो देखाउनुपर्छ। तिनलाई भविष्यको आध्यात्मिक भाइ वा बहिनीको रूपमा हेर्नुहोस्‌। (१ थिस्सलोनिकी २:७, ८ पढ्‌नुहोस्‌) संसारका साथीहरू छोड्‌न अनि यहोवाको सेवा गर्नको लागि आवश्‍यक छाँटकाँट गर्न तिनलाई पक्कै सजिलो हुँदैन। हामीले तिनलाई मण्डलीमा साँचो साथीहरू भेट्टाउन मदत गर्नुपर्छ। अध्ययनको बेला मात्र होइन, अरू बेला पनि तिनीसित समय बिताएर तिनको साथी बन्‍नुहोस्‌। फोन गरेर, मेसेज पठाएर वा अरू बेला पनि भेट्‌न गएर तिनको साँच्चै ख्याल राखेको देखाउनुहोस्‌।

११. हामी आफ्ना विद्यार्थीहरूले मण्डलीमा के पाएको चाहन्छौँ र किन?

११ भनिन्छ, “एउटा बच्चा हुर्काउन पूरै गाउँको साथ चाहिन्छ।” हामी पनि यसो भन्‍न सक्छौँ: “एउटा चेला बनाउन पूरै मण्डलीको साथ चाहिन्छ।” त्यसैले प्रभावकारी अध्ययन सञ्चालकले आफ्नो विद्यार्थीलाई मण्डलीका अरू भाइबहिनी चिनाइदिन्छन्‌, जसले तिनमा राम्रो प्रभाव पार्न सक्छन्‌। तब मात्र विद्यार्थीलाई परमेश्‍वरका जनहरूसित सङ्‌गत गर्न रमाइलो लाग्नेछ, जसले तिनलाई आध्यात्मिक र भावनात्मक रूपमा साथ दिनेछन्‌। हामी आफ्ना प्रत्येक विद्यार्थीले आफू पनि मण्डलीको अनि आध्यात्मिक परिवारको भाग हुँ भनेर महसुस गरेको चाहन्छौँ। तिनले हाम्रो न्यानो र मायालु भ्रातृत्व अनुभव गरेको चाहन्छौँ। त्यसपछि मात्र यहोवालाई प्रेम नगर्ने मानिसहरूसित घनिष्ठ नहुन तिनलाई सजिलो हुनेछ। (हितो. १३:२०) पहिलाका साथीहरूले त्यागे भने पनि यहोवाको सङ्‌गठनमा साँचो साथीहरू पाउनेछु भन्‍ने कुरामा तिनी विश्‍वस्त हुन सक्नेछन्‌।—मर्कु. १०:२९, ३०; १ पत्रु. ४:४.

समर्पण र बप्तिस्मा गर्नुको महत्त्वलाई जोड दिनुहोस्‌

बाइबल विद्यार्थी बप्तिस्मा गरेर आउँदै छिन्‌। उनको पति, अध्ययन सञ्चालक र मण्डलीका अरू भाइबहिनी खुसी हुँदै ताली बजाइरहेका छन्‌।

असल मनसाय भएको बाइबल विद्यार्थी एकपछि अर्को कदम चाल्दै बप्तिस्मा गर्ने लक्ष्यसम्म पुग्न सक्छन्‌ (अनुच्छेद १२-१३ हेर्नुहोस्‌)

१२. हामीले आफ्नो विद्यार्थीलाई समर्पण र बप्तिस्माबारे किन बताउनुपर्छ?

१२ यहोवालाई आफ्नो जीवन समर्पण गर्नु र बप्तिस्मा गर्नुको महत्त्वबारे विद्यार्थीलाई खुलस्त रूपमा बताउनुहोस्‌। किनकि कसैलाई बाइबल अध्ययन गराउनुको हाम्रो लक्ष्य भनेको तिनलाई बप्तिस्मा गरेर चेला बन्‍न मदत गर्नु हो। नियमित रूपमा बाइबल अध्ययन हुन थालेको केही महिनाभित्रै, अझ विशेषगरि विद्यार्थी सभाहरूमा उपस्थित हुन थालेपछि तिनले आफ्नो अध्ययनको उद्देश्‍य भनेको पछि गएर एक जना यहोवाको साक्षी बन्‍नु हो भनेर बुझ्नुपर्छ।

१३. बप्तिस्मा गर्ने लक्ष्यसम्म पुग्न विद्यार्थीले के-कस्ता कदम चाल्नुपर्छ?

१३ असल मनसाय भएको बाइबल विद्यार्थी एकपछि अर्को कदम चाल्दै बप्तिस्मा गर्ने लक्ष्यसम्म पुग्न सक्छन्‌। सबैभन्दा पहिला, विद्यार्थीले यहोवालाई चिन्‍न र प्रेम गर्न थाल्छन्‌ अनि उहाँमाथि विश्‍वास गर्छन्‌। (युह. ३:१६; १७:३) त्यसपछि विद्यार्थीले यहोवासित घनिष्ठ सम्बन्ध गाँस्छन्‌ अनि मण्डलीसित घुलमिल हुन थाल्छन्‌। (हिब्रू १०:२४, २५; याकु. ४:८) समयको दौडान तिनले खराब आनीबानी त्याग्छन्‌ अनि आफ्ना पापहरूको पश्‍चात्ताप गर्छन्‌। (प्रेषि. ३:१९) साथै तिनको विश्‍वासले तिनलाई बाइबलको सत्य अरूलाई पनि बाँड्‌न उत्प्रेरित गर्छ। (२ कोरि. ४:१३) त्यसपछि तिनले यहोवालाई जीवन समर्पण गर्छन्‌ अनि बप्तिस्मा गरेर आफ्नो समर्पण जनसमक्ष प्रकट गर्छन्‌। (१ पत्रु. ३:२१; ४:२) त्यो दिन सबैको लागि साँच्चै कत्ति खुसीको दिन हो! विद्यार्थीले आफ्नो लक्ष्यसम्म पुग्न एकपछि अर्को कदम चाल्दै जाँदा तिनको मनैदेखि प्रशंसा गर्न नबिर्सनुहोस्‌ अनि तिनलाई अझ प्रगति गर्दै जान प्रोत्साहन दिनुहोस्‌।

बेलाबेलामा विद्यार्थीको प्रगति केलाउनुहोस्‌

१४. अध्ययन सञ्चालकले कसरी विद्यार्थीको प्रगति केलाउन सक्छन्‌?

१४ विद्यार्थीलाई समर्पण र बप्तिस्मासम्म प्रगति गर्न मदत दिँदा हामी धीरजी हुनुपर्छ। तर अध्ययन अघि बढ्‌दै जाँदा तिनी साँच्चै यहोवा परमेश्‍वरको सेवा गर्न चाहन्छन्‌ कि चाहँदैनन्‌ भनेर पत्ता लगाउनु पनि आवश्‍यक छ। विद्यार्थीले येसुका आज्ञाहरू पालन गर्न प्रयास गरिरहेको के कुनै सङ्‌केत देखिन्छ? अथवा तिनको उद्देश्‍य बाइबलको ज्ञान लिने मात्र हो कि?

१५. विद्यार्थीले प्रगति गरिरहेको सङ्‌केत सञ्चालकले कसरी पाउन सक्छन्‌?

१५ विद्यार्थीले कस्तो प्रगति गरिरहेका छन्‌ भनेर नियमित रूपमा केलाउनुहोस्‌। जस्तै: के तिनी यहोवाप्रतिको आफ्नो भावना व्यक्‍त गर्छन्‌? के तिनी यहोवालाई प्रार्थना गर्छन्‌? (भज. ११६:१, २) के तिनलाई बाइबल पढ्‌न रमाइलो लाग्छ? (भज. ११९:९७) के तिनी सभामा नियमित रूपमा उपस्थित भइरहेका छन्‌? (भज. २२:२२) के तिनले आफ्नो जीवनशैलीमा आवश्‍यक छाँटकाँट गरेका छन्‌? (भज. ११९:११२) के तिनले आफूले सिकेको कुरा परिवार र साथीभाइलाई बताउन थालिसकेका छन्‌? (भज. ९:१) सबैभन्दा महत्त्वपूर्ण कुरा, के तिनी यहोवाको साक्षी बन्‍न चाहन्छन्‌? (भज. ४०:८) यदि विद्यार्थीले यी क्षेत्रहरूमा प्रगति गरेका छैनन्‌ भने किन गरेका छैनन्‌ भनेर कुशलतापूर्वक पत्ता लगाउने कोसिस गर्नुहोस्‌। अनि त्यसबारे तिनीसित दयालुपूर्वक तर खुलस्त रूपमा कुरा गर्नुहोस्‌।e

१६. कस्तो अवस्थामा अध्ययन छोड्‌नुपर्ने हुन सक्छ?

१६ कुनै व्यक्‍तिलाई अध्ययन गराइरहने कि छोड्‌ने भनेर बेलाबेलामा केलाउनुहोस्‌। आफैलाई सोध्नुहोस्‌: ‘के विद्यार्थीले अध्ययनको तयारीमा हेलचेक्र्‌याइँ गर्छन्‌? तिनलाई सभामा उपस्थित हुन अल्छी लाग्छ कि? के तिनमा अझै पनि खराब आनीबानी छ? के तिनी अझै पनि झूटो धर्ममा संलग्न छन्‌?’ यदि तिनी यस्तै छन्‌ भने तिनलाई अध्ययन गराइरहनु भनेको पानीमा भिज्न नचाहने व्यक्‍तिलाई पौडी खेल्न सिकाउनुजस्तै हो! यदि विद्यार्थीले आफूले सिकिरहेको कुराको मनैदेखि मोल गर्दैनन्‌ र छाँटकाँट गर्न इच्छुक छैनन्‌ भने तिनलाई अध्ययन गराइरहनुको कुनै औचित्य हुन्छ र?

१७. पहिलो तिमोथि ४:१६ अनुसार सबै अध्ययन सञ्चालकले के गर्नै पर्छ?

१७ हामी चेला बनाउने जिम्मेवारीलाई गम्भीरतासाथ लिन्छौँ अनि आफ्ना बाइबल विद्यार्थीहरूले बप्तिस्मासम्म प्रगति गरेको चाहन्छौँ। त्यसैले हामी बाइबललाई नै बोल्न दिन्छौँ अनि उत्साहित र विश्‍वस्त हुँदै सिकाउँछौँ। हामी विद्यार्थीलाई मण्डलीमा साथीहरू बनाउन प्रोत्साहन दिन्छौँ। हामी समर्पण र बप्तिस्मा गर्नुको महत्त्वलाई जोड दिन्छौँ। अनि बेलाबेलामा विद्यार्थीको प्रगति केलाउँछौँ। (“विद्यार्थीलाई बप्तिस्मासम्म पुऱ्‍याउन सञ्चालकले के गर्नुपर्छ?” भन्‍ने पेटी हेर्नुहोस्‌) जीवन बचाउने यस काममा भाग लिन पाएकोमा हामी खुसी छौँ! त्यसैले आउनुहोस्‌, बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न मदत गर्ने उद्देश्‍यले प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने सङ्‌कल्प गरौँ।

एक बहिनी खुसी भएर बाइबल अध्ययन गराउँदै छिन्‌।

विद्यार्थीलाई बप्तिस्मासम्म पुऱ्‍याउन सञ्चालकले के गर्नुपर्छ?

  1. १. बाइबललाई नै बोल्न दिनुहोस्‌

    • आफै मात्र धेरै नबोलेर आत्मसंयम देखाउनुहोस्‌

    • आफ्नो शिक्षणकला तिखार्न अनुभवी सञ्चालकहरूसित मदत माग्नुहोस्‌

  2. २. उत्साहित र विश्‍वस्त हुँदै सिकाउनुहोस्‌

    • विद्यार्थीले बाइबलका सत्यहरूप्रतिको तपाईँको उत्साह देख्नुपर्छ

    • आफूले सिकेको कुरा लागू गरेकाहरूको अनुभव बताउनुहोस्‌

    • विद्यार्थीलाई आफूले सिकिरहेको कुरा अरूलाई बाँड्‌न प्रोत्साहन दिनुहोस्‌

  3. ३. विद्यार्थीलाई मण्डलीमा साथीहरू बनाउन प्रोत्साहन दिनुहोस्‌

    • विद्यार्थीप्रति साँचो र व्यक्‍तिगत चासो देखाउनुहोस्‌

    • विद्यार्थीलाई तिनमा राम्रो प्रभाव पार्न सक्ने भाइबहिनी चिनाइदिनुहोस्‌

    • तिनलाई आफू पनि मण्डलीको भाग हुँ भनेर महसुस गर्न मदत गर्नुहोस्‌

  4. ४. समर्पण र बप्तिस्मा गर्नुको महत्त्वलाई जोड दिनुहोस्‌

    • विद्यार्थीलाई बप्तिस्मासम्म पुऱ्‍याउन एकपछि अर्को कदम चाल्न मदत गर्नुहोस्‌

    • विद्यार्थीलाई मनैदेखि प्रशंसा गर्नुहोस्‌ र प्रोत्साहन दिनुहोस्‌

  5. ५. बेलाबेलामा विद्यार्थीको प्रगति केलाउनुहोस्‌

    • विद्यार्थी यहोवाको सेवा गर्न चाहन्छन्‌ कि चाहँदैनन्‌ भनेर देखिने सङ्‌केतहरू याद गर्नुहोस्‌

    • यदि तिनले प्रगति गरिरहेका छैनन्‌ भने त्यसबारे तिनीसित दयालुपूर्वक तर खुलस्त रूपमा कुरा गर्नुहोस्‌

तपाईँले के सिक्नुभयो?

  • बाइबल अध्ययन गराउँदा सञ्चालकले किन आत्मसंयम देखाउनुपर्छ?

  • बाइबल विद्यार्थीलाई मण्डलीसित नजिक हुन कसरी मदत गर्न सक्छौँ?

  • बाइबल विद्यार्थीलाई समर्पण र बप्तिस्मा गर्नुको महत्त्वबारे बताउन किन हिचकिचाउनु हुँदैन?

गीत ७९ दृढ हुन सिकाऔँ!

a बाइबल अध्ययन गराउँदा हामीले मानिसहरूलाई यहोवाले चाहनुभएको तरिकामा सोच्न, महसुस गर्न र कदम चाल्न मदत गरिरहेका हुन्छौँ। यस लेखमा हामी आफ्नो शिक्षणकला कसरी तिखार्न सक्छौँ भन्‍ने विषयमा थप कुरा बुझ्नेछौँ।

b सेप्टेम्बर २०१६ अङ्‌कको जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-मा भएको “बाइबल अध्ययन सञ्चालन गर्दा यी कुराहरू नगर्नुहोस्‌” भन्‍ने लेख हेर्नुहोस्‌।

c हाम्रो बारेमा > अनुभव अन्तर्गत हेर्नुहोस्‌।

d JW Library® मा मिडिया > हाम्रो सभा र प्रचारकार्य > प्रचारमा मदत गर्ने सामग्री अन्तर्गत हेर्नुहोस्‌।

e मार्च २०२० अङ्‌कको प्रहरीधरहरा-मा भएको “यहोवाप्रतिको प्रेम र कृतज्ञताले तपाईँलाई बप्तिस्मासम्म डोऱ्‍याउँछ” र “के तपाईँ बप्तिस्मा गर्न तयार हुनुहुन्छ?” भन्‍ने लेखहरू हेर्नुहोस्‌।

f चित्रको व्याख्या: बाइबल अध्ययन सिद्धिएपछि अनुभवी दिदीले सञ्चालकलाई अध्ययनको दौडान आफै मात्र धेरै बोल्नु हुँदैन भनेर सम्झाउँदै छिन्‌।

g चित्रको व्याख्या: अध्ययनमा विद्यार्थीले कसरी असल पत्नी हुने भनेर सिक्छिन्‌। पछि उनी आफूले सिकेको कुरा पतिलाई बताउँछिन्‌।

h चित्रको व्याख्या: ती विद्यार्थी र उनको पति सभाभवनमा भेटेको एउटा परिवारसँग रमाइलो गर्दै छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने