प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 अप्रिल पृ. २-७
  • येसुले गर्नुभएका चमत्कारहरूबाट हामी के सिक्न सक्छौँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसुले गर्नुभएका चमत्कारहरूबाट हामी के सिक्न सक्छौँ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा र येसुबारे सिक्न सकिने पाठहरू
  • नम्रताको पाठ
  • करुणाको पाठ
  • विश्‍वास बलियो बनाउने अध्ययन
  • येशूले गर्नुभएका चमत्कारहरू यसबाट तपाईं के सिक्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • ख्रीष्ट—परमेश्‍वरको शक्‍ति
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • येशूका चमत्कारहरूबाट शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • पृथ्वीमा हुनुहुँदा येसुले के गर्नुभयो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 अप्रिल पृ. २-७

अध्ययन लेख १५

येसुले गर्नुभएका चमत्कारहरूबाट हामी के सिक्न सक्छौँ?

“उहाँ सारा देशभरि असल काम गर्दै र . . . निको पार्दै हिँड्‌नुभयो।”—प्रेषि. १०:३८.

गीत १३ ख्रिष्ट—हाम्रो उदाहरण

परिचयa

१. कानाको विवाह-भोजमा के भयो?

इस्वी संवत्‌ २९ को शरद्‌ ऋतुमा येसुले आफ्नो सेवाको काम सुरु गर्नुहुँदा भएको घटना कल्पना गर्नुहोस्‌। येसु, उहाँकी आमा मरियम र केही चेलालाई कानाको एउटा विवाह-भोजमा निम्त्याइएको छ। मरियम दुलाहा-दुलहीको परिवारको साथी हुन्‌। तिनी पाहुनाहरूको स्वागत-सत्कार गर्न व्यस्त छिन्‌ जस्तो देखिन्छ। त्यस भोजमा दुलाहा-दुलही र तिनीहरूको परिवारको ठूलो बेइज्जती हुन सक्ने एउटा समस्या खडा हुन्छ—दाखमद्य सिद्धिन्छ।b विवाह-भोजमा सोचेको भन्दा धेरै मानिस आएका हुन सक्छन्‌। मरियम तुरुन्तै आफ्नो छोराकहाँ गएर यसो भन्छिन्‌: “तिनीहरूसित दाखमद्य छैन।” (युह. २:१-३) त्यसपछि येसुले के गर्नुहुन्छ? उहाँले चमत्कार गरेर पानीलाई “असल दाखमद्य”-मा परिणत गर्नुहुन्छ।—युह. २:९, १०.

२-३. (क) येसुले कस्ता चमत्कारहरू गर्नुभयो? (ख) येसुले गर्नुभएका चमत्कारहरूबाट हामी कस्तो लाभ उठाउन सक्छौँ?

२ येसुले आफ्नो सेवाको दौडान अन्य थुप्रै चमत्कार गर्नुभयो।c उहाँले आफूसित भएको शक्‍ति प्रयोग गरेर हजारौँ मानिसलाई मदत गर्नुभयो। जस्तै: उहाँले एकचोटि ५ हजार पुरुषलाई खुवाउनुभयो भने अर्को चोटि ४ हजार पुरुषलाई खुवाउनुभयो। (मत्ति १४:१५-२१; १५:३२-३८) यसमा स्त्री र केटाकेटीलाई जोड्‌ने हो भने मानिसहरूको कुल सङ्‌ख्या २७ हजारभन्दा धेरै हुन सक्छ। (मत्ति १४:१४; १५:३०, ३१) यी दुवै अवसरमा उहाँले थुप्रै बिरामीलाई पनि निको पार्नुभयो। येसुले चमत्कार गरेर निको पार्नुभएको र खुवाउनुभएको देख्दा मानिसहरू कत्ति छक्क परे होलान्‌!

३ येसुले गर्नुभएका चमत्कारहरूबाट हामीले थुप्रै पाठ सिक्न सक्छौँ। यस लेखमा ती चमत्कारहरूले हाम्रो विश्‍वासलाई कसरी बलियो बनाउन सक्छ भनेर छलफल गर्नेछौँ। साथै चमत्कार गर्नुहुँदा येसुले देखाउनुभएको नम्रता र करुणा हामी कसरी अनुकरण गर्न सक्छौँ भनेर पनि जाँच्नेछौँ।

यहोवा र येसुबारे सिक्न सकिने पाठहरू

४. येसुका चमत्कारहरूबाट हामी कोबारे सिक्न सक्छौँ?

४ येसुका चमत्कारहरूबाट हामीले उहाँबारे मात्र होइन तर उहाँको बुबा यहोवाबारे पनि धेरै कुरा सिक्न सक्छौँ। किनभने येसुले चमत्कारहरू गर्न प्रयोग गर्नुभएको शक्‍तिको स्रोत यहोवा नै हुनुहुन्छ। प्रेषित १०:३८ मा यसो भनिएको छ: “परमेश्‍वरले [येसुलाई] पवित्र शक्‍ति अनि तागतले अभिषेक गर्नुभयो अनि उहाँ सारा देशभरि असल काम गर्दै र दियाबलले दबाइराखेकाहरूलाई निको पार्दै हिँड्‌नुभयो। परमेश्‍वर उहाँको साथमा हुनुभएकोले उहाँले यी सबै गर्न सक्नुभयो।” यो कुरा पनि याद गर्नुहोस्‌, येसुले भन्‍नुभएका र गर्नुभएका सबै कुरामा आफ्नो बुबाको सोचाइ र भावना हुबहु झल्काउनुभयो। (युह. १४:९) उहाँले गर्नुभएका कुराहरूमा चमत्कारहरू पनि समावेश छन्‌। ती चमत्कारहरूबाट सिक्न सक्ने तीन वटा पाठ विचार गरौँ।

५. येसुलाई चमत्कारहरू गर्न केले उत्प्रेरित गऱ्‍यो? (मत्ति २०:३०-३४)

५ पहिलो, येसु र उहाँको बुबा हामीलाई गहिरो प्रेम गर्नुहुन्छ। पृथ्वीमा हुनुहुँदा येसुले मानिसहरूको दुःख हटाउन आफ्नो शक्‍ति प्रयोग गरेर प्रेम गरेको देखाउनुभयो। एकचोटि दुई जना अन्धाले उहाँलाई मदतको लागि पुकारे। (मत्ति २०:३०-३४ पढ्‌नुहोस्‌।) येसु तिनीहरूको दुःख देखेर ‘टिठाउनुभयो’ र तिनीहरूलाई निको पार्नुभयो। ‘टिठाउनु’ भनेर अनुवाद गरिएको ग्रीक क्रियापदले हृदयको गहिराइबाट आउने भावनालाई बुझाउँछ। यस्तो भावना प्रेमको अभिव्यक्‍ति हो र यसले येसुलाई भोकाहरूलाई खुवाउन र कुष्ठरोगीलाई निको पार्न उत्प्रेरित गऱ्‍यो। (मत्ति १५:३२; मर्कु. १:४१) “कोमल करुणाको” परमेश्‍वर यहोवा र उहाँको छोरा हामीलाई गहिरो प्रेम गर्नुहुन्छ अनि हाम्रो दुःख देख्दा उहाँहरूलाई पनि दुःख लाग्छ। (लुका १:७८; १ पत्रु. ५:७) हो, उहाँहरू मानिसहरूलाई पिरोलिरहेको दुःख हटाउन धेरै इच्छुक हुनुहुन्छ!

६. परमेश्‍वरले येसुलाई कस्तो शक्‍ति दिनुभएको छ?

६ दोस्रो, यहोवाले येसुलाई मानिसजातिका सबै समस्या समाधान गर्ने शक्‍ति दिनुभएको छ। येसुले चमत्कारहरूमार्फत मानिसले कहिल्यै समाधान गर्न नसक्ने समस्याहरू हटाउन सक्नुहुन्छ भनेर देखाउनुभयो। जस्तै: उहाँसित मानिसजातिको सबै समस्याको मूल जड पाप अनि यसका असरहरू अर्थात्‌ रोगबिमार र मृत्युलाई हटाउने शक्‍ति छ। (मत्ति ९:१-६; रोमी ५:१२, १८, १९) उहाँले चमत्कारहरूमार्फत मानिसहरूका “हरप्रकारका” रोगबिमारलाई निको पार्न र मरेकाहरूलाई समेत जीवित पार्न सक्नुहुन्छ भनेर देखाउनुभयो। (मत्ति ४:२३; युह. ११:४३, ४४) उहाँसित ठूलो आँधीलाई नियन्त्रणमा राख्ने र प्रेतहरूलाई धपाउने शक्‍ति पनि छ। (मर्कु. ४:३७-३९; लुका ८:२) यहोवाले आफ्नो छोरालाई यस्तो शक्‍ति दिनुभएको कुरा थाह पाउँदा हामी ढुक्क महसुस गर्छौँ!

७-८. (क) येसुले गर्नुभएका चमत्कारहरूबाट हामी कुन कुरामा विश्‍वस्त हुन सक्छौँ? (ख) नयाँ संसारमा तपाईँ कुन चमत्कार हेर्न चाहनुहुन्छ?

७ तेस्रो, परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका सबै असल कुरा उहाँको राज्यले पूरा गर्नेछ भनेर हामी विश्‍वस्त हुन सक्छौँ। येसुले गर्नुभएका चमत्कारहरूबाट नयाँ संसारमा उहाँले अझै व्यापक रूपमा चमत्कारहरू गर्नुहुनेछ भनेर बुझ्न सक्छौँ। ख्रिष्टको शासनमा हामीले कस्ता आशिष्‌हरू पाउनेछौँ, विचार गरौँ। हामी पूर्णतया स्वस्थ हुनेछौँ किनभने उहाँले मानिसजातिलाई पिरोलिरहेको सबै किसिमका रोगबिमार र अशक्‍ततालाई हटाउनुहुनेछ। (यसै. ३३:२४; ३५:५, ६; प्रका. २१:३, ४) हामी कहिल्यै भोको पेट सुत्नुपर्नेछैन न त प्राकृतिक प्रकोपले गर्दा दुःख भोग्नुपर्नेछ। (यसै. २५:६; मर्कु. ४:४१) हामीले ‘चिहानबाट’ निस्किआउने प्रियजनहरूलाई स्वागत गर्न पाउनेछौँ। (युह. ५:२८, २९) नयाँ संसारमा तपाईँ कुन चमत्कार हेर्न चाहनुहुन्छ?

८ येसुले चमत्कारहरू गर्नुहुँदा नम्रता र करुणा देखाउनुभयो। हामीले उहाँका यी गुणहरू अनुकरण गर्नुपर्छ। यस सन्दर्भमा दुइटा उदाहरण विचार गरौँ। सुरुमा कानाको विवाह-भोजको विवरणबारे छलफल गरौँ।

नम्रताको पाठ

९. येसुले विवाह-भोजमा के गर्नुभयो? (युहन्‍ना २:६-१०)

९ युहन्‍ना २:६-१० पढ्‌नुहोस्‌। त्यस विवाह-भोजमा दाखमद्य सकिँदा अर्को दाखमद्यको बन्दोबस्त मिलाउन के येसु बाध्य हुनुहुन्थ्यो र? हुनुहुन्‍न थियो। मसीहले चमत्कार गरेर दाखमद्य बनाउनेछन्‌ भनेर कुनै भविष्यवाणी गरिएको थिएन। तर तपाईँको विवाह-भोजमा पेयपदार्थ सकिएको भए तपाईँलाई कस्तो लाग्ने थियो, सोच्नुहोस्‌ त। येसु दुलाहा-दुलही र तिनीहरूको परिवारप्रति दयाले भरिनुभएको हुन सक्छ र उहाँ तिनीहरूको बेइज्जती हुनदेखि जोगाउन चाहनुहुन्थ्यो। त्यसैले उहाँले सुरुमा बताइएको चमत्कार गर्नुभयो। उहाँले झन्डै ३९० लिटर पानीलाई एकदमै असल दाखमद्यमा परिणत गर्नुभयो। उहाँले यत्ति ठूलो मात्रामा दाखमद्य बनाउनुको कारण उब्रेको दाखमद्य पछि प्रयोग गर्न सकियोस्‌ वा त्यस दम्पतीले त्यो बेचेर केही पैसा जम्मा गर्न सकोस्‌ भन्‍ने हुन सक्छ। त्यो नवविवाहित दम्पती येसुप्रति कत्ति कृतज्ञ भए होलान्‌!

येसु दुलहा-दुलही र तिनीहरूका पाहुनाहरू नाचिरहेको, खाइरहेको र असल दाखमद्यको आनन्द उठाइरहेको हेर्दै हुनुहुन्छ।

येसुको अनुकरण गर्दै आफ्ना उपलब्धिहरूमा घमन्ड नगर्नुहोस्‌ (अनुच्छेद १०-११ हेर्नुहोस्‌)e

१०. युहन्‍ना अध्याय २ को विवरणको केही महत्त्वपूर्ण कुरा बताउनुहोस्‌। (चित्र पनि हेर्नुहोस्‌।)

१० युहन्‍ना अध्याय २ को विवरणको केही महत्त्वपूर्ण कुरा केलाऔँ। याद गर्नुहोस्‌, येसु आफैले ढुङ्‌गाका घ्याम्पाहरूमा पानी भर्नुभएन। उहाँले आफूतर्फ ध्यान नखिच्न सेवा गरिरहेकाहरूलाई घ्याम्पाहरू भर्न भन्‍नुभयो। (पद ६, ७) पानीलाई दाखमद्यमा परिणत गर्नुभएपछि उहाँ आफैले त्यो दाखमद्य भोजका प्रबन्धककहाँ लैजानुभएन। बरु ती सेवा गरिरहेकाहरूलाई लैजान भन्‍नुभयो। (पद ८) साथै येसुले पाहुनाहरूको अगाडि दाखमद्यको कचौरा देखाउँदै यस्तो फुइँ लगाउनुभएन: ‘ल, मैले बनाएको दाखमद्य चाख्नुहोस्‌।’

११. येसुको चमत्कारबाट हामी के सिक्न सक्छौँ?

११ येसुले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको चमत्कारबाट हामी के सिक्न सक्छौँ? हामी नम्र हुनुपर्छ। उहाँले त्यो चमत्कार गरेकोमा घमन्ड गर्नुभएन। वास्तवमा भन्‍ने हो भने आफूले गरेका कामहरूमा उहाँले कहिल्यै घमन्ड गर्नुभएन। बरु उहाँले नम्र भई सधैँ सबै कुराको श्रेय अनि महिमा आफ्नो बुबालाई दिनुभयो। (युह. ५:१९, ३०; ८:२८) येसुको अनुकरण गर्दै नम्र भयौँ भने हामी आफ्ना उपलब्धिहरूमा घमन्ड गर्नेछैनौँ। हामीले यहोवाको सेवामा धेरै गरेका छौँ भने पनि आफूमा घमन्ड नगरौँ बरु हाम्रा महान्‌ परमेश्‍वर यहोवाको सेवा गर्न पाएकोमा घमन्ड गरौँ। (यर्मि. ९:२३, २४) सबै असल कुराको लागि उहाँलाई श्रेय देऔँ। आखिर उहाँको मदतविना हामी के नै गर्न सक्छौँ र?—१ कोरि. १:२६-३१.

१२. येसुको नम्रता अनुकरण गर्न सक्ने अर्को एउटा तरिका के हो? उदाहरण दिनुहोस्‌।

१२ येसुको नम्रता अनुकरण गर्न सक्ने अर्को तरिका विचार गरौँ। यो अवस्था कल्पना गर्नुहोस्‌: एक एल्डरले जवान सहायक सेवकलाई तिनको पहिलो जनभाषणको तयारी गर्न धेरै मदत दिन्छन्‌। ती जवान भाइले राम्रो भाषण दिन्छन्‌ र मण्डलीका भाइबहिनीले पनि त्यसबाट लाभ उठाउँछन्‌। सभापछि एक जनाले ती एल्डरलाई यसो भन्छन्‌: ‘फलानो भाइले कत्ति राम्रो भाषण दिनुभएको है!’ त्यतिबेला ती एल्डरले यसो भन्‍नु उपयुक्‍त होला र: ‘अँ, मैले सिकाएको नि! कत्ति धेरै समय लाग्यो।’ वा नम्र भई यसो भन्‍नु उपयुक्‍त होला: ‘हो, उहाँले धेरै राम्रो भाषण दिनुभयो। कस्तो राम्रो तयारी गर्नुभएको!’ नम्र छौँ भने अरूको लागि गरेका असल कुराहरूको श्रेय हामी लिनेछैनौँ। यहोवा हामीले गरेका असल कुराहरू देख्नुहुन्छ र त्यसको मोल गर्नुहुन्छ भन्‍ने कुरा सम्झेर खुसी हुन्छौँ। (मत्ति ६:२-४ तुलना गर्नुहोस्‌; हिब्रू १३:१६) हो, नम्र हुने सन्दर्भमा येसुको अनुकरण गर्दा हामीले यहोवालाई खुसी बनाइरहेका हुन्छौँ।—१ पत्रु. ५:६.

करुणाको पाठ

१३. नाइन सहरनजिकै येसुले के देख्नुहुन्छ र के गर्नुहुन्छ? (लुका ७:११-१५)

१३ लुका ७:११-१५ पढ्‌नुहोस्‌। येसुले सेवाको काम सुरु गर्नुभएको लगभग डेढ वर्षपछि भएको एउटा घटना कल्पना गर्नुहोस्‌। उहाँ सुनेमनजिकै पर्ने गालीलको सहर नाइन जाँदै हुनुहुन्छ। सुनेममा झन्डै ९०० वर्षअघि भविष्यवक्‍ता एलिसाले एउटी स्त्रीका छोरालाई फेरि जीवित पारेका थिए। (२ राजा ४:३२-३७) येसु त्यस सहरको मूलढोकानजिकै पुग्नुहुँदा उहाँले मलामी गइरहेका मानिसहरू देख्नुहुन्छ। यो दृश्‍य एकदमै हृदयविदारक छ। एउटी विधवाले आफ्नो एक मात्र छोरा गुमाएकी छिन्‌। ती शोकाकुल आमाको साथमा मलामी जानेहरूको भीड पनि छ। येसुले तिनीहरूलाई रोक्नुहुन्छ र एउटा अकल्पनीय कुरा गर्नुहुन्छ। उहाँले त्यस विधवाका छोरालाई जीवित पार्नुहुन्छ! येसुले मरेकाहरूलाई जीवित पार्नुभएको तीन वटा घटनामध्ये यो पहिलो हो।

चित्रहरूको सँगालो: १. आफ्नो छोराको मलामीमा जाँदै गरेकी शोकाकुल आमालाई येसु सान्त्वना दिँदै हुनुहुन्छ। २. सभामा गीत गाउँदै गर्दा एक बहिनीले रोइरहेकी बहिनीलाई सान्त्वना दिँदै छिन्‌।

येसुको अनुकरण गर्दै शोकाकुल व्यक्‍तिहरूलाई करुणा देखाउन अग्रसर हुनुहोस्‌ (अनुच्छेद १४-१६ हेर्नुहोस्‌)

१४. लुका अध्याय ७ को विवरणको केही महत्त्वपूर्ण कुरा बताउनुहोस्‌। (चित्र पनि हेर्नुहोस्‌।)

१४ लुका अध्याय ७ मा पाइने केही महत्त्वपूर्ण कुरा विचार गरौँ। याद गर्नुहोस्‌, येसुले सुरुमा ती शोकाकुल आमालाई ‘देख्नुभयो’ र त्यसपछि ‘टिठाउनुभयो।’ (पद १३) सायद उहाँले ती आमा रुँदै लासको अघिअघि हिँडिरहेको देख्नुभयो र उहाँको मन करुणाले भरियो। येसुले ती आमाको दुःख महसुस मात्र गर्नुभएन, तिनको दुःख हटाउन कदम पनि चाल्नुभयो। उहाँले तिनलाई ढाडस दिँदै यसो भन्‍नुभयो: “नरोऊ।” त्यसपछि उहाँ तिनलाई मदत गर्न अग्रसर हुनुभयो। उहाँले त्यस छोरालाई जीवित पार्नुभयो र “उसलाई उसकी आमाको जिम्मा लगाउनुभयो।”—पद १४, १५.

१५. येसुको चमत्कारबाट हामी के सिक्न सक्छौँ?

१५ येसुले त्यस विधवाका छोरालाई फेरि जीवित पार्नुभएको चमत्कारबाट हामी के सिक्न सक्छौँ? हामीले शोकाकुल व्यक्‍तिहरूलाई करुणा देखाउनुपर्छ। हुनत हामी येसुले जस्तै मरेकाहरूलाई जीवित पार्न सक्दैनौँ। तर येसुले जस्तै शोकाकुल व्यक्‍तिहरूको अवस्था याद गऱ्‍यौँ भने हाम्रो मन करुणाले भरिन सक्छ। अनि आफ्नो बोली र व्यवहारबाट तिनीहरूलाई करुणा देखाउन अग्रसर हुन सक्छौँ।d (हितो. १७:१७; २ कोरि. १:३, ४; १ पत्रु. ३:८) हामीले भन्‍ने दुईचार शब्द र सानो मदतबाट तिनीहरूले ठूलो सान्त्वना पाउन सक्छन्‌।

१६. एउटी आमाको अनुभवबाट तपाईँले के सिक्नुभयो? (पुनःअभिनय गरिएको तस्बिर हेर्नुहोस्‌।)

१६ एउटा अनुभव विचार गरौँ। केही वर्षअघि एक बहिनीले सभामा गीत गाउँदै गर्दा एउटी आमा रोइरहेको याद गरिन्‌। त्यो गीत फेरि जीवित हुने आशाबारे थियो र ती आमाले हालै सानी छोरी गुमाएकी थिइन्‌। यो कुरा थाह भएकोले ती बहिनी तुरुन्तै ती आमाकहाँ गइन्‌ र अङ्‌गालो हालेर सँगै गीत गाइन्‌। त्यो कुरा सम्झँदै ती आमा यसो भन्छिन्‌: “त्यसले गर्दा भाइबहिनीप्रतिको मेरो प्रेम झनै बढ्यो।” सभा नछुटाएकोमा तिनी निकै खुसी थिइन्‌। तिनी अझै यसो भन्छिन्‌: “हामीले मदत पाउने भनेको सभाभवनहरूमै हो।” “टुटेका हृदय भएकाहरू”-लाई करुणा देखाउन हामीले गरेका ससाना कुराहरू पनि यहोवा याद गर्नुहुन्छ र त्यसको मोल गर्नुहुन्छ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौँ।—भज. ३४:१८.

विश्‍वास बलियो बनाउने अध्ययन

१७. यस लेखमा हामीले कस्ता कुराहरू सिक्यौँ?

१७ येसुले गर्नुभएका चमत्कारहरूबारे अध्ययन गर्दा हामीले धेरै प्रोत्साहन पाउन सक्छौँ। ती चमत्कारहरूबाट हामी यस्ता कुराहरू सिक्न सक्छौँ: यहोवा र येसु हामीलाई गहिरो प्रेम गर्नुहुन्छ, येसुसित मानिसजातिको सबै समस्या समाधान गर्ने शक्‍ति छ र नयाँ संसारमा यहोवाले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भनेर हामी विश्‍वस्त हुन सक्छौँ। यी विवरणहरू केलाउँदा हामी येसुका गुणहरू कसरी अनुकरण गर्न सक्छौँ भन्‍ने कुरामा मनन गर्नुहोस्‌। तपाईँले व्यक्‍तिगत अध्ययन वा पारिवारिक उपासनामा येसुले गर्नुभएका अरू चमत्कारहरूबारे अध्ययन गर्ने योजना मिलाउनुभए कसो होला? यसबाट तपाईँले सिक्न सक्ने पाठहरू याद गर्नुहोस्‌ र ती कुराहरू अरूसित पनि बाँड्‌नुहोस्‌। यसरी अरूसित उत्थानदायी कुराकानी गर्न पाउँदा कत्ति रमाइलो हुनेछ, कल्पना गर्नुहोस्‌!—रोमी १:११, १२.

१८. अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

१८ येसुले आफ्नो सेवाको अन्ततिर एक जना मरिसकेको व्यक्‍तिलाई जीवित पार्नुभयो। उहाँले फेरि जीवित पार्नुभएका तीन जनामध्ये यो अन्तिम हो। तर यो चमत्कार अरूभन्दा फरक थियो किनभने उहाँको प्यारो साथी लाजरस मरेको चार दिन भइसकेको थियो। यस चमत्कारबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ? साथै फेरि जीवित हुने आशामाथिको हाम्रो विश्‍वासलाई कसरी बलियो बनाउन सक्छौँ? यसबारे हामी अर्को लेखमा छलफल गर्नेछौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • येसुका चमत्कारहरूबाट विश्‍वासलाई बलियो बनाउन मदत गर्ने कस्ता पाठहरू सिक्न सक्छौँ?

  • युहन्‍ना २:६-१० मा बताइएको चमत्कारबाट नम्रताबारे के सिक्न सक्छौँ?

  • लुका ७:११-१५ मा बताइएको चमत्कारबाट करुणाबारे के सिक्न सक्छौँ?

गीत २० एक मात्र प्यारो छोरा दियौ

a येसुले ठूलो आँधी शान्त पार्नुभयो, बिरामीहरूलाई निको पार्नुभयो अनि मरेका व्यक्‍तिहरूलाई जीवित पार्नुभयो। येसुले गर्नुभएका चमत्कारहरूबारे पढ्‌दा हामी निकै रोमाञ्चित हुन्छौँ। बाइबलमा यी विवरणहरू मनोरञ्जनको लागि नभई हाम्रो शिक्षाको लागि लेखिएका हुन्‌। यस लेखमा हामी येसुले गर्नुभएका केही चमत्कारबारे छलफल गर्नेछौँ, जसले यहोवा र येसुमाथिको हाम्रो विश्‍वास बलियो बनाउन मदत गर्नेछ। साथै हामीले विकास गर्नुपर्ने केही गुणबारे पनि छलफल गर्नेछौँ।

b एक बाइबलविद्‌ यसो भन्छन्‌: “पूर्वीय देशहरूमा अतिथिसत्कार गर्नुलाई पवित्र सेवा ठानिन्थ्यो र घरधनीहरूले पाहुनाहरूलाई पुग्नेजति मात्र खानेकुरा उपलब्ध गराउनुलाई राम्रो मानिँदैन थियो। पाहुनाको राम्रो सत्कार गर्ने व्यक्‍तिले विशेषगरि विवाह-भोजहरूमा प्रशस्त मात्रामा खानपीनको व्यवस्था गर्नुपर्थ्यो।”

c सुसमाचारका किताबहरूमा तोकेरै येसुले गर्नुभएका ३० वटाभन्दा धेरै चमत्कारबारे बताइएको छ। हुनत येसुले अन्य थुप्रै चमत्कार पनि गर्नुभयो तर ती प्रत्येकलाई छुट्टाछुट्टै उल्लेख गरिएको छैन। जस्तै: एकचोटि “पूरै सहर”-का मानिसहरू उहाँकहाँ आए र उहाँले “धेरै मानिसलाई निको पार्नुभयो।”—मर्कु. १:३२-३४.

d शोकाकुल व्यक्‍तिहरूलाई सान्त्वना दिन हामी के भन्‍न र गर्न सक्छौँ भन्‍नेबारे थाह पाउन डिसेम्बर १, २०१० अङ्‌कको प्रहरीधरहरा-मा “शोकसन्तप्त व्यक्‍तिलाई येशूले जस्तै सान्त्वना दिनुहोस्‌” भन्‍ने लेख हेर्नुहोस्‌।

e चित्रको व्याख्या: येसु दुलहा-दुलही र तिनीहरूका पाहुनाहरूले असल दाखमद्यको आनन्द उठाइरहेको हेर्दै हुनुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने