प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अहिले कसले सुसमाचार सुनाइरहेका छन्‌?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • पाठ २१. एक जना पुरुष साहित्य ट्रलीको छेउमा उभिरहेका यहोवाका दुई जना साक्षीसित कुरा गर्छन्‌।

      पाठ २१

      अहिले कसले सुसमाचार सुनाइरहेका छन्‌?

      यहोवाले आफ्नो राज्यमार्फत चाँडै हाम्रा सबै समस्या हटाउनुहुनेछ। योभन्दा राम्रो समाचार अरू हुनै सक्दैन। त्यसैले हामी अरूलाई पनि यसबारे बताउन चाहन्छौँ। येसु आफ्ना चेलाहरूले यो राम्रो समाचार सबैलाई सुनाएको चाहनुहुन्थ्यो। (मत्ति २८:१९, २०) यहोवाका साक्षीहरूले येसुको यो आज्ञा कसरी पालन गर्छन्‌?

      १. अहिले मत्ति २४:१४ कसरी पूरा भइरहेको छ?

      येसुले यस्तो भविष्यवाणी गर्नुभयो: “राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।” (मत्ति २४:१४) यस महत्त्वपूर्ण काममा भाग लिन पाउँदा यहोवाका साक्षीहरू खुसी छन्‌। हामीले सारा संसारभरि १ हजारभन्दा धेरै भाषामा सुसमाचार सुनाइरहेका छौँ। यो विश्‍वव्यापी कार्य गर्न निकै मेहनत गर्नुका साथै सुव्यवस्थित हुनु आवश्‍यक छ। यहोवाको मदतविना यो काम पूरा गर्न असम्भव छ।

      २. मानिसहरूलाई सुसमाचार सुनाउन हामी कस्तो प्रयास गर्छौँ?

      हामी मानिसहरूलाई भेट्‌न सकिने जुनसुकै ठाउँमा सुसमाचार सुनाउँछौँ। हामी प्रथम शताब्दीका ख्रिष्टियनहरूजस्तै “घरघरमा गएर” सुनाउँछौँ। (प्रेषित ५:४२) यस्तो व्यवस्थित तरिकामा काम गर्दा हामी वर्षेनी लाखौँ मानिसलाई सुसमाचार सुनाउन सकिरहेका छौँ। मानिसहरूलाई सधैँ घरमा भेट्‌न सकिँदैन। त्यसैले हामी थुप्रै सार्वजनिक स्थानमा पनि सुसमाचार सुनाउँछौँ। हामी अरूलाई यहोवा र उहाँको उद्देश्‍यबारे बताउन सधैँ मौका खोजिरहन्छौँ।

      ३. अरूलाई सुसमाचार सुनाउने जिम्मेवारी कसको हो?

      अरूलाई सुसमाचार सुनाउने जिम्मेवारी सबै साँचो ख्रिष्टियनको हो। हामी यो जिम्मेवारी गम्भीरतासाथ पूरा गर्छौँ। आफ्नो परिस्थितिले साथ दिएसम्म हामी अरूलाई सुसमाचार सुनाउन प्रयास गरिरहन्छौँ किनभने यसले तिनीहरूको जीवन बचाउन सक्छ भनेर हामीलाई थाह छ। (१ तिमोथि ४:१६ पढ्‌नुहोस्‌।) यो काम गरेबापत हामी पैसा पाउँदैनौँ किनभने बाइबलले भन्छ: “तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।” (मत्ति १०:७, ८) सबै मानिसले हाम्रो सन्देश स्विकार्दैनन्‌। तैपनि हामी सुसमाचार सुनाइरहन्छौँ किनभने यो हामीले चढाउने उपासनाको भाग हो र यसो गर्दा यहोवा खुसी हुनुहुन्छ।

      अझ खोतल्नुहोस्‌

      यहोवाका साक्षीहरूले संसारभरि सुसमाचार सुनाउन कस्तो प्रयास गरिरहेका छन्‌, थाह पाउनुहोस्‌। साथै यहोवाले हामीलाई कसरी मदत गर्नुहुन्छ, बुझ्नुहोस्‌।

      क. कोस्टा रिकामा यहोवाका दुई जना साक्षी एक जना पुरुषलाई घाँसे मैदानमा सुसमाचार सुनाउँदै छन्‌। ख. अमेरिकामा यहोवाका चार जना साक्षी समुद्री किनारामा जलारीहरूलाई सुसमाचार सुनाउँदै छन्‌। ग. बेनिनको एउटा गाउँमा यहोवाका दुई जना साक्षी एक जना पुरुषलाई सुसमाचार सुनाउँदै छन्‌। घ. थाइल्याण्डमा एउटी साक्षी डुङ्‌गामा पसल चलाइरहेकी स्त्रीलाई सुसमाचार सुनाउँदै छिन्‌। ङ. यापमा यहोवाका दुई जना साक्षी ढुङ्‌गाको ठूलठूलो चक्का भएको ठाउँमा एउटी स्त्रीलाई सुसमाचार सुनाउँदै छन्‌। च. स्वीडेनमा यहोवाका दुई जना साक्षी नहरको छेउमा हिउँले सेताम्मै भएको बाटोमा एउटी स्त्रीलाई सुसमाचार सुनाउँदै छन्‌।

      संसारभरि सुसमाचार सुनाउँदै: (क) कोस्टा रिका (ख) अमेरिका (ग) बेनिन (घ) थाइल्याण्ड (ङ) याप (च) स्वीडेन

      ४. हामी सबै मानिसलाई भेट्‌न सक्दो प्रयास गर्छौँ

      यहोवाका साक्षीहरू सबै ठाउँका मानिसहरूलाई सुसमाचार सुनाउन विशेष प्रयास गर्छन्‌। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

      भिडियो: “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” सुसमाचार सुनाउँदै (७:३३)

      • यहोवाका साक्षीहरूले सुसमाचार सुनाउन गरेको प्रयास तपाईँलाई किन विशेष लाग्यो?

      मत्ति २२:३९ र रोमी १०:१३-१५ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • हामीले सुसमाचार सुनाउँदा छिमेकीहरूलाई प्रेम गरेको कसरी देखाइरहेका हुन्छौँ?

      • सुसमाचार सुनाउने मानिसहरू यहोवालाई कस्तो लाग्छ?—पद १५ हेर्नुहोस्‌।

      ५. हामी परमेश्‍वरका सहकर्मीहरू हौँ

      यहोवाले नै हाम्रो कामलाई डोऱ्‍याइरहनुभएको छ भनेर थुप्रै अनुभवले देखाउँछ। उदाहरणको लागि, न्युजिल्यान्डमा पल नाम गरेका एक जना भाइले दिउँसोतिर घरघरमा गएर सुसमाचार सुनाउँदा एउटी स्त्रीलाई भेटे। त्यस स्त्रीले त्यही दिन बिहान यहोवाको नामै पुकारेर प्रार्थना गरेकी रहेछिन्‌। तिनले आफूलाई भेट्‌न कोही आओस्‌ भनेर बिन्ती गरेकी रहेछिन्‌। पल भन्छन्‌, “त्यसको तीन घण्टापछि म तिनको घरमा पुगेँ।”

      पहिलो कोरिन्थी ३:९ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यहोवाले सुसमाचार सुनाउने कामलाई डोऱ्‍याउँदै हुनुहुन्छ भनेर न्युजिल्यान्डका भाइको जस्तै अनुभवहरूले कसरी देखाउँछन्‌?

      प्रेषित १:८ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • साक्षी दिने काम पूरा गर्न हामीलाई किन यहोवाको मदत चाहिन्छ?

      के तपाईँलाई थाह थियो?

      हरेक हप्ता हुने मध्यहप्ताको सभामा हामी अरूलाई कसरी सुसमाचार सुनाउने भनेर तालिम पाउँछौँ। तपाईँ यस सभामा उपस्थित हुनुभएको छ भने त्यहाँ दिइने तालिम तपाईँलाई कस्तो लाग्यो?

      यहोवाका दुई जना साक्षी अरूलाई सुसमाचार कसरी सुनाउने भनेर मण्डलीको सभामा देखाउँदै छन्‌।

      ६. सुसमाचार सुनाउनू भन्‍ने परमेश्‍वरको आज्ञा हामी पालन गर्छौँ

      प्रथम शताब्दीमा विरोधीहरूले येसुका चेलाहरूलाई सुसमाचार सुनाउनदेखि रोक्न खोजे। सुरुसुरुका ख्रिष्टियनहरूले सुसमाचार सुनाउने आफ्नो अधिकारलाई “कानुनी तवरमा स्थापना” गरे। (फिलिप्पी १:७) आज यहोवाका साक्षीहरू पनि त्यसै गर्छन्‌।a

      भिडियो हेर्नुहोस्‌।

      भिडियो: सुसमाचार सुनाउने अधिकारलाई कानुनी तवरमा स्थापना गर्ने (२:२८)

      प्रेषित ५:२७-४२ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • हामी किन सुसमाचार सुनाउन बन्द गर्नेछैनौँ? —पद २९, ३८ र ३९ हेर्नुहोस्‌।

      कसै-कसैले सोध्लान्‌: “यहोवाका साक्षीहरू किन घरघरमा गएर सुसमाचार सुनाउँछन्‌?”

      • तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

      सारांश

      येसुले आफ्ना चेलाहरूलाई सबै जातिका मानिसहरूलाई साक्षी दिनू भन्‍ने आज्ञा दिनुभयो। यो काम गर्न यहोवाले आफ्ना सेवकहरूलाई मदत गरिरहनुभएको छ।

      तपाईँले के सिक्नुभयो?

      • अहिले कसले सुसमाचार सुनाइरहेका छन्‌?

      • हामीले सुसमाचार सुनाउँदा छिमेकीहरूलाई प्रेम गरेको कसरी देखाइरहेका हुन्छौँ?

      • के तपाईँलाई सुसमाचार सुनाउँदा खुसी हुन सकिन्छ जस्तो लाग्छ? किन?

      लक्ष्य

      अझ धेरै जान्‍नुहोस्‌

      यहोवाका साक्षीहरूले ठूला सहरहरूमा कसरी सुसमाचार सुनाउँछन्‌, हेर्नुहोस्‌।

      पेरिसमा विशेष महानगरीय साक्षीकार्य (५:११)

      यहोवाका साक्षीहरूले शरणार्थीहरूलाई मदत गर्न के गरेका छन्‌?

      शरणार्थीहरूको आध्यात्मिक तिर्खा मेटाउन मदत (५:५९)

      पूर्ण-समय सेवामा लाग्दा एक जना स्त्रीले कस्तो सन्तुष्टि पाउन सकिन्‌? तिनको अनुभव सुन्‍नुहोस्‌।

      यो करिअर रोजेकीले म खुसी छु (६:२९)

      सुसमाचार सुनाउन मदत गरेका केही उल्लेखनीय कानुनी विजयबारे थाह पाउनुहोस्‌।

      “राज्य प्रचारकहरूले हासिल गरेका कानुनी विजय” (परमेश्‍वरको राज्यले शासन गर्दै छ!, अध्याय १३)

      a सुसमाचार सुनाउनू भन्‍ने आज्ञा परमेश्‍वरले दिनुभएको हो। त्यसैले सुसमाचार सुनाउन यहोवाका साक्षीहरूलाई मानव अख्तियारवालाहरूको अनुमति चाहिँदैन।

  • बप्तिस्मा—एउटा अर्थपूर्ण लक्ष्य
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • पाठ २३. एउटी स्त्री यहोवाको साक्षी बन्‍न पानीमा चुर्लुम्मै डुबेर बप्तिस्मा गर्छिन्‌।

      पाठ २३

      बप्तिस्मा—एउटा अर्थपूर्ण लक्ष्य

      येसुले बप्तिस्मा ख्रिष्टियनहरूले चाल्नै पर्ने कदम हो भनेर सिकाउनुभयो। (मत्ति २८:१९, २० पढ्‌नुहोस्‌।) तर बप्तिस्मा के हो? बप्तिस्मा गर्ने लक्ष्यसम्म पुग्न के गर्नुपर्छ?

      १. बप्तिस्मा के हो?

      “बप्तिस्मा गराउनु” भनी अनुवाद गरिएको शब्द पानीमा “डुबाउनु” अर्थ लाग्ने ग्रीक शब्दबाट लिइएको हो। येसुले बप्तिस्मा गर्नुहुँदा उहाँलाई यर्दन नदीमा चुर्लुम्मै डुबाइएको थियो र त्यसपछि उहाँ “पानीमाथि” निस्कनुभयो। (मर्कुस १:९, १०) त्यसैगरि साँचो ख्रिष्टियनहरू पनि बप्तिस्मा गर्दा पानीमा चुर्लुम्मै डुब्छन्‌।

      २. बप्तिस्माले के देखाउँछ?

      कुनै व्यक्‍तिले बप्तिस्मा गर्दा तिनले यहोवा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरिसकेका छन्‌ भन्‍ने कुरा देखिन्छ। समर्पण कसरी गरिन्छ? कसैले बप्तिस्मा गर्नुअघि तिनले यहोवालाई व्यक्‍तिगत प्रार्थना गरेर सधैँभरि उहाँको सेवा गर्ने इच्छा व्यक्‍त गर्छन्‌। तिनले यहोवाको मात्र उपासना गर्ने र उहाँको इच्छा पूरा गर्नुलाई जीवनमा पहिलो स्थान दिने प्रतिज्ञा गर्छन्‌। तिनले ‘आफूलाई इन्कार गर्ने’ अनि येसुको शिक्षा र उहाँले बसाल्नुभएको उदाहरणअनुसार चलेर ‘निरन्तर उहाँको पछि लाग्ने’ निर्णय गर्छन्‌। (मत्ति १६:२४) तिनले समर्पण र बप्तिस्मा गर्दा यहोवा र उहाँका उपासकहरूसित घनिष्ठ मित्रता गाँस्न सक्छन्‌।

      ३. बप्तिस्मा गर्ने लक्ष्यसम्म पुग्न के-के गर्नुपर्छ?

      तपाईँ बप्तिस्मा गर्न चाहनुहुन्छ भने यहोवाबारे सिक्नुपर्छ अनि उहाँमाथिको विश्‍वास बढाउँदै लैजानुपर्छ। (हिब्रू ११:६ पढ्‌नुहोस्‌।) तपाईँको ज्ञान र विश्‍वास बढ्‌दै जाँदा यहोवाप्रतिको प्रेम पनि पक्कै बढ्‌नेछ। त्यसपछि तपाईँ अरूलाई उहाँबारे बताउन अनि उहाँका स्तरहरूअनुरूप जीवन बिताउन जुरमुरिनुहुनेछ। (२ तिमोथि ४:२; १ युहन्‍ना ५:३) कुनै व्यक्‍तिले “यहोवा परमेश्‍वरको सेवक कहलाइन योग्य जीवन बिताएर . . . उहाँलाई पूर्ण रूपले प्रसन्‍न बनाउन” प्रयास गरिरहेका छन्‌ भने तिनले परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्ने र बप्तिस्मा गर्ने निर्णय गर्न सक्छन्‌।—कलस्सी १:९, १०.a

      अझ खोतल्नुहोस्‌

      हामी येसुको बप्तिस्माबाट के सिक्न सक्छौँ, बुझ्नुहोस्‌। यो महत्त्वपूर्ण कदम चाल्न कसरी तयारी गर्न सकिन्छ, थाह पाउनुहोस्‌।

      ४. येसुको बप्तिस्माबाट सिक्न सकिने कुराहरू

      येसुको बप्तिस्माबारे थप कुरा बुझ्न मत्ति ३:१३-१७ पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • के येसुले शिशु छँदै बप्तिस्मा गर्नुभयो?

      • उहाँको बप्तिस्मा कसरी गरियो? के उहाँको शिरमा पानी छर्किएको मात्र थियो?

      परमेश्‍वरले येसुलाई पृथ्वीमा जुन विशेष काम गर्न पठाउनुभएको थियो, येसुले त्यो काम बप्तिस्मा गर्नुभएपछि थाल्नुभयो। लुका ३:२१-२३ र युहन्‍ना ६:३८ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • येसुले बप्तिस्मा गर्नुभएपछि कुन कामलाई पहिलो स्थान दिनुभयो?

      ५. बप्तिस्मा—हामीले हासिल गर्न सक्ने लक्ष्य

      सुरुसुरुमा समर्पण र बप्तिस्माबारे सोच्दा मात्र पनि डर लाग्न सक्छ। तर तपाईँले यहोवाबारे सिक्दै जानुभयो अनि उहाँलाई अझ राम्ररी चिन्दै जानुभयो भने निर्धक्क भई यो महत्त्वपूर्ण निर्णय गर्न सक्नुहुनेछ। कसै-कसैले यस्तो निर्णय कसरी गर्न सके भनेर थाह पाउन भिडियो हेर्नुहोस्‌।

      भिडियो: यहोवासितको सम्बन्ध बलियो बनाउने (१:११)

      युहन्‍ना १७:३ र याकुब १:५ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • कुनै व्यक्‍ति बप्तिस्माको लागि कसरी तयार हुन सक्छन्‌?

      क. एउटी स्त्री व्यक्‍तिगत प्रार्थना गरेर आफ्नो जीवन परमेश्‍वरलाई समर्पण गर्छिन्‌। ख. त्यही स्त्री यहोवाको साक्षी बन्‍न पानीमा चुर्लुम्मै डुबेर बप्तिस्मा गर्छिन्‌।
      1. क. हामीले समर्पण गर्दा सधैँभरि यहोवाको सेवा गर्नेछौँ भनेर उहाँलाई बताउँछौँ

      2. ख. हामीले बप्तिस्मा गर्दा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरिसकेका छौँ भनेर अरूलाई देखाउँछौँ

      ६. बप्तिस्मा गर्दा हामी यहोवाको परिवारको भाग बन्छौँ

      बप्तिस्मा गर्दा हामी एकतामा बाँधिएको यहोवाका साक्षीहरूको विश्‍वव्यापी परिवारको भाग बन्छौँ। हामी जुनसुकै ठाउँ वा पृष्ठभूमिका भए तापनि हाम्रो विश्‍वास एउटै छ र हामी बाइबलको नैतिक स्तरअनुसार जीवन बिताउँछौँ। भजन २५:१४ र १ पत्रुस २:१७ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • कसैले बप्तिस्मा गर्दा यहोवा र सङ्‌गी उपासकहरूसितको तिनको सम्बन्ध कस्तो हुन्छ?

      चित्रहरूको सँगालो: बप्तिस्मा गरेकी एउटी बहिनी मण्डलीका भाइबहिनीसितको राम्रो सम्बन्धबारे सोच्दा खुसी हुन्छिन्‌। १. तिनी एउटी बहिनीलाई आफ्नो मनको बह पोख्छिन्‌। २. तिनी एउटी वृद्धालाई हिँड्‌न मदत गर्छिन्‌। ३. तिनी विभिन्‍न उमेरका भाइबहिनीसित खाना खान्छिन्‌। ४. तिनी अर्की बहिनीसित मिलेर एक जना पुरुषलाई सुसमाचार सुनाउँछिन्‌। ५. तिनी अधिवेशनमा बेग्लै जातिका दुई जना साक्षीसित सेल्फी खिच्छिन्‌।

      कोही-कोही भन्छन्‌: “म बप्तिस्मा गर्न तयार भइसकेको छैनँ।”

      • तपाईँलाई त्यस्तो लाग्छ भने पनि के बप्तिस्मा गर्ने लक्ष्य राख्नु राम्रो हो?

      सारांश

      बप्तिस्मा ख्रिष्टियनहरूले चाल्नै पर्ने कदम हो भनेर येसुले सिकाउनुभयो। त्यस लक्ष्यसम्म पुग्न यहोवामाथि बलियो विश्‍वास विकास गर्नुपर्छ, उहाँका स्तरहरूअनुरूप जीवन बिताउनुपर्छ अनि उहाँलाई आफ्नो जीवन समर्पण गर्नुपर्छ।

      तपाईँले के सिक्नुभयो?

      • बप्तिस्मा के हो? यो किन महत्त्वपूर्ण छ?

      • समर्पण र बप्तिस्माबीच कस्तो सम्बन्ध छ?

      • समर्पण र बप्तिस्मा गर्नुअघि कस्ता कदमहरू चाल्नुपर्छ?

      लक्ष्य

      अझ धेरै जान्‍नुहोस्‌

      बप्तिस्मा के हो तर के होइन, बुझ्नुहोस्‌।

      “बप्तिस्मा के हो?” (jw.org को लेख)

      बप्तिस्मा गर्ने लक्ष्यसम्म पुग्न के-के गर्नुपर्छ, थप कुरा बुझ्नुहोस्‌।

      “यहोवाप्रतिको प्रेम र कृतज्ञताले तपाईँलाई बप्तिस्मासम्म डोऱ्‍याउँछ” (प्रहरीधरहरा, मार्च २०२०)

      एक जना पुरुषले भावनामा बहेर बप्तिस्मा गर्ने निर्णय गरेका थिएनन्‌। तिनको अनुभव पढ्‌नुहोस्‌।

      “उहाँहरू मैले सत्य राम्ररी बुझेर स्विकारेको चाहनुहुन्थ्यो” (प्रहरीधरहरा, फेब्रुअरी १, २०१३)

      बप्तिस्मा किन अर्थपूर्ण लक्ष्य हो र त्यसको लागि कसरी तयारी गर्न सकिन्छ, विचार गर्नुहोस्‌।

      “के मैले बप्तिस्मा गर्नुपर्छ?” (युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ, खण्ड २, अध्याय ३७)

      a यदि कुनै व्यक्‍तिले पहिलेको धर्ममा बप्तिस्मा गरिसकेका थिए भने पनि तिनले फेरि बप्तिस्मा गर्नुपर्छ। किन? किनभने त्यस धर्मले तिनलाई बाइबलबाट सत्य कुरा सिकाएको थिएन।—प्रेषित १९:१-५ र पाठ १३ हेर्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने