प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt ओबदियाह १-२१
  • ओबदियाह

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ओबदियाह
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
ओबदियाह

ओबदियाह

१ ओबदियाहले* देखेको दर्शन:*

ब्रह्‍माण्डका मालिक यहोवा एदोमबारे यसो भन्‍नुहुन्छ:+

“हामीले यहोवाबाट एउटा खबर सुनेका छौँ,

एक जना दूतलाई राष्ट्रहरूकहाँ यसो भन्‍न पठाइएको छ:

‘आओ, हामी त्यससित लडाइँ गर्न तयार होऔँ।’”+

 २ “हेर्‌! मैले तँलाई राष्ट्रहरूमाझ सानो बनाइदिएको छु।

तँ अत्यन्तै तुच्छ भएको छस्‌।+

 ३ तेरो हृदयको अहङ्‌कारले तँलाई धोका दिएको छ,+

तँ, जो डाँडाका ओडारहरूमा बस्छस्‌

र अग्ला ठाउँहरूमा बसेर मनमनै यसो भन्छस्‌,

‘कसले मलाई जमिनमा खसाल्न सक्छ र?’

 ४ तैँले आफ्नो गुँड चीलले जस्तै अग्लो ठाउँमा बनाए पनि,*

तैँले ताराहरूमा आफ्नो गुँड लगाए पनि

म तँलाई त्यहाँबाट तल खसाल्नेछु,” यहोवा घोषणा गर्नुहुन्छ।

 ५ “यदि रातमा तँकहाँ चोरहरू पसेका भए, डाँकुहरू आएका भए,

(तेरो सर्वनाश हुनेछ!)*

तिनीहरूले आफूलाई चाहिएको कुरा मात्रै चोरेर लग्ने थिएनन्‌ र?

यदि अङ्‌गुर टिप्नेहरू तँकहाँ आएका भए

तिनीहरूले सिलाबाला बटुल्नेहरूको लागि केही छोडिदिने थिएनन्‌ र?+

 ६ एसावको गर्नुसम्म खोजतलास गरिएको छ!

त्यसले लुकाएर राखेका खजानाहरू खोतलिएका छन्‌!

 ७ तिनीहरूले तँलाई खेदेर सिमानाबाहिर पुऱ्‍याए।

तँसित सन्धि गर्नेहरूले* तँलाई धोका दिएका छन्‌।

तँसित शान्तिमा रहनेहरू तँमाथि विजयी भएका छन्‌।

तँसितै बसेर रोटी खानेहरूले तेरो खुट्टामुनि जाल बिछ्याउनेछन्‌

तर तँलाई त्यसको पत्तै हुनेछैन।”

 ८ यहोवा घोषणा गर्नुहुन्छ,

“त्यो दिन म एदोमका बुद्धिमान्‌ मानिसहरूलाई नाश गर्नेछैनँ र?+

अनि एसावको पहाडी इलाकाका समझदार मानिसहरूलाई सखाप पार्नेछैनँ र?

 ९ अनि ए तेमान, तेरा योद्धाहरू डरले काँप्नेछन्‌+

किनकि एसावको पहाडी इलाकामा भएका सबैलाई मारिनेछ।+

१० तेरो भाइ याकुबमाथि तैँले गरेको अत्याचारको कारण+

तँ लाजमा पर्नेछस्‌+

अनि तँ सदाको लागि नाश हुनेछस्‌।+

११ उसको सेनालाई विदेशीहरूले कैदी बनाएर लैजाँदा+

तँचाहिँ एकातिर उभिएर हेरिरहेको थिइस्‌।

विदेशीहरू उसको मूलढोकाबाट पसेर यरुसलेममाथि गोला हाल्दा+

तैँले पनि त्यसै गरिस्‌।

१२ तैँले यो ठीक गरिनस्‌, तेरो भाइमाथि विपत्ति आइपर्दा तँ रमाइस्‌।+

यहुदाका मानिसहरू नाश भएको दिन तँ खुसी भइस्‌।+

तिनीहरूमाथि दुःख आइपरेको दिन तैँले घमन्डी कुरा गरिस्‌।

१३ मेरा मानिसहरूमाथि विनाश आइपरेको दिन तँ तिनीहरूको मूलढोकाबाट भित्र पसिस्‌।+

तिनीहरूको विपत्तिको दिनमा तैँले हर्ष मनाइस्‌

अनि तिनीहरूको धनसम्पत्ति लिनलाई तैँले आफ्नो हात पसारिस्‌।+

१४ उसका उम्केका मानिसहरूलाई मार्न तँ चौबाटोहरूमा उभिइस्‌।+

अनि उसको दुःखको दिनमा तैँले उसका बाँकी रहेका मानिसहरूलाई शत्रुको जिम्मा लगाइस्‌।+

१५ सबै राष्ट्रमाथि यहोवाको दिन नजिकै आइपुगेको छ।+

तैँले जसो गरिस्‌, तँलाई पनि त्यसै गरिनेछ।+

तैँले अरूसित गरेको व्यवहार तेरै थाप्लोमाथि आइपर्नेछ।

१६ जसरी तिमीहरूले मेरो पवित्र डाँडामा रक्सी पियौ,

त्यसैगरि राष्ट्रहरूले मेरो क्रोधको प्यालाबाट निरन्तर पिउनेछन्‌।+

तिनीहरूले त्यो स्वाट्टै पार्नेछन्‌

अनि तिनीहरू यसरी नाश हुनेछन्‌, मानौँ तिनीहरूको अस्तित्व छँदै थिएन।

१७ तर उम्केका मानिसहरू सियोन डाँडामा हुनेछन्‌+

अनि त्यो पवित्र ठहरिनेछ+

अनि याकुबको घरानाले आफ्नो सम्पत्तिमाथि अधिकार गर्नेछ।+

१८ याकुबको घराना आगोजस्तै हुनेछ,

युसुफको घराना आगोको ज्वालाजस्तै हुनेछ

अनि एसावको घरानाचाहिँ ठोसोजस्तै हुनेछ।

उनीहरूले त्यसलाई जलाएर भस्म गरिदिनेछन्‌

अनि एसावको घरानाको कोही पनि बाँकी रहनेछैन+

किनकि यहोवा स्वयम्‌ले यो कुरा भन्‍नुभएको हो।

१९ तिनीहरूले नेगेबमाथि अनि एसावको पहाडी इलाकामाथि अधिकार गर्नेछन्‌।+

तिनीहरूले सेफेलाहमाथि अनि पलिस्तियालीहरूको देशमाथि अधिकार गर्नेछन्‌।+

तिनीहरूले एप्रैमको जमिन र सामरियाको जमिनमाथि अधिकार गर्नेछन्‌+

अनि बिन्यामिनले गिलादमाथि अधिकार गर्नेछ।

२० बलियो पर्खाल भित्रबाट+ निर्वासनमा लगिएका मानिसहरूले,

हो, इस्राएलका मानिसहरूले सारपतसम्मै कनानीहरूको देश कब्जा गर्नेछन्‌।+

अनि यरुसलेमबाट सेफरादमा निर्वासित भएर गएका मानिसहरूले नेगेबका सहरहरूमाथि अधिकार जमाउनेछन्‌।+

२१ उद्धार गर्नेहरू सियोन डाँडामा उक्लिनेछन्‌

र एसावको पहाडी इलाकाको न्याय गर्नेछन्‌।+

अनि शासन गर्ने अधिकार यहोवाको हातमा हुनेछ।”+

यसको अर्थ हो, “यहोवाको सेवक।”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “चीलजस्तै माथिमाथि उडे पनि।”

वा सम्भवतः “तिनीहरूले कति नोक्सानी गर्ने थिए?”

वा “तँसित करार गर्नेहरूले।”

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने