योना
१ अमित्तैका छोरा योनाकहाँ*+ यहोवा परमेश्वरको यो वचन आयो: २ “उठ, त्यो ठूलो सहर निनवेमा जाऊ।+ त्यसविरुद्ध न्यायदण्ड घोषणा गर किनकि त्यहाँका मानिसहरू कत्ति दुष्ट भएका छन्, मैले देखेको छु।”
३ तर योना भने यहोवा परमेश्वरबाट टाढा भाग्न तर्सिसतिर लागे। तिनी तल जोप्पामा गए र त्यहाँ तर्सिस जाने जहाज भेटे। तिनले भाडा तिरे अनि जहाज चढेर यहोवा परमेश्वरबाट टाढा भाग्न तर्सिसतिर लागे।
४ तब यहोवा परमेश्वरले समुद्रमा ठूलो आँधी चलाउनुभयो अनि समुद्रमा यस्तो डरलाग्दो आँधी चल्यो कि जहाज नै टुक्राटुक्रा होला जस्तो भयो। ५ यो देखेर नाविकहरू असाध्यै डराए अनि तिनीहरूले आ-आफ्नो ईश्वरलाई पुकार्न थाले। तिनीहरूले जहाजलाई हलुका बनाउन त्यसमा भएका मालसामान समुद्रमा फाल्न थाले।+ तर योना भने जहाजको तल्लो भागमा गएका थिए र त्यहाँ तिनी ढल्केर मस्तले निदाइरहेका थिए। ६ तब जहाजको कप्तान आए र तिनलाई भने: “तिमी कसरी सुत्न सकेको? उठ, तिम्रो परमेश्वरलाई पुकार! सायद साँचो परमेश्वरले हामीलाई दया देखाउनुहुनेछ अनि हामी नाश हुनुपर्नेछैन।”+
७ अनि तिनीहरूले एकअर्कालाई भने: “आओ, कसले गर्दा यस्तो सङ्कट आइपरेको हो भनेर पत्ता लगाउन गोला हालौँ।”+ त्यसैले तिनीहरूले गोला हाले अनि गोला योनाको नाममा पऱ्यो।+ ८ तिनीहरूले योनालाई भने: “बिन्ती छ, हामीलाई भन। हामीमाथि यस्तो सङ्कट कसले गर्दा आइपरेको हो? तिमी के काम गर्छौ अनि कहाँबाट आयौ? तिमी कुन देशका हौ अनि कुन जातिका हौ?”
९ तिनले जवाफ दिए: “म हिब्रू हुँ। म स्वर्गका परमेश्वर यहोवाको भय मान्छु,* जसले समुद्र र जमिन बनाउनुभएको हो।”
१० यो सुनेर ती मानिसहरू झनै डराए अनि तिनलाई सोधे: “तिमीले किन यसो गऱ्यौ?” (योना यहोवा परमेश्वरबाट भागिरहेका हुन् भनेर ती मानिसहरूले थाह पाए किनकि योना आफैले त्यो कुरा तिनीहरूलाई बताएका थिए।) ११ त्यसैले तिनीहरूले तिनलाई सोधे: “भन, हामीले तिमीलाई के गऱ्यौँ भने समुद्र शान्त हुनेछ?” किनकि आँधी झन्झनै भयानक भइरहेको थियो। १२ तिनले जवाफ दिए: “मलाई उठाएर समुद्रमा फाल्नुहोस्। त्यसपछि समुद्र शान्त हुनेछ। किनकि मलाई थाह छ, मैले गर्दा तपाईँहरूमाथि यो भयङ्कर आँधी आएको हो।” १३ ती मानिसहरूले जहाजलाई किनारामा लैजान भएभरको बल लगाएर खियाए तर सकेनन् किनकि समुद्री आँधी झन्झनै भयानक भइरहेको थियो।
१४ तब तिनीहरूले यहोवा परमेश्वरलाई पुकारे अनि यसो भने: “हे यहोवा, बिन्ती छ, यस मानिसको कारण हामीलाई नाश नगर्नुहोस्! हामीलाई निर्दोष रगतको दोषी नठहराउनुहोस्। किनकि हे यहोवा, तपाईँलाई जे उचित लाग्यो, तपाईँले त्यही गर्नुभएको छ।” १५ त्यसपछि तिनीहरूले योनालाई उठाए अनि समुद्रमा फालिदिए। तब समुद्र शान्त भयो। १६ अनि ती मानिसहरूले यहोवा परमेश्वरको अत्यन्तै डर माने।+ तिनीहरूले यहोवा परमेश्वरको लागि बलि चढाए र भाकल गरे।
१७ त्यसपछि योनालाई निल्न यहोवा परमेश्वरले एउटा विशाल माछा पठाउनुभयो। अनि योना तीन दिन र तीन रात माछाको पेटभित्र रहे।+
२ तब योनाले माछाको पेटबाट आफ्ना परमेश्वर यहोवालाई प्रार्थना गरे।+ २ तिनले यसो भने:
“सङ्कष्टमा पर्दा मैले यहोवालाई पुकारेँ र उहाँले मलाई जवाफ दिनुभयो।+
चिहानको* गहिराइबाट* मैले पुकारेँ+
अनि तपाईँले मेरो स्वर सुन्नुभयो।
३ जब तपाईँले मलाई पानीको गहिराइमा, खुला समुद्रको बीचमा फ्याँकिदिनुभयो,
तब मलाई पानीका लहरहरूले घेऱ्यो+
अनि तपाईँका ठूलठूला छालहरूले मलाई डुबायो।+
४ अनि मैले भनेँ, ‘तपाईँले मलाई आफ्नो नजरबाट हटाउनुभएको छ!
अब म फेरि कसरी तपाईँको पवित्र मन्दिरलाई हेर्न सक्छु र?’
५ पानीले मलाई छोप्यो र मेरो ज्यान खतरामा पऱ्यो;+
म पानीको गहिराइमा डुब्दै गएँ।
मेरो टाउकोभरि लेउ बेरियो।
६ म डुबेर पहाडहरूको फेदसम्मै पुगेँ।
पृथ्वीको ढोका मेरो लागि सदालाई बन्द हुनै लागेको थियो।
तर हे यहोवा मेरा परमेश्वर, तपाईँले मलाई खाडलबाट बचाएर निकाल्नुभयो।+
७ मेरो सास बन्द हुनै लाग्दा मैले यहोवालाई सम्झिएँ।+
तब मेरो प्रार्थना तपाईँकहाँ, तपाईँको पवित्र मन्दिरमा पुग्यो।+
८ व्यर्थका मूर्तिहरूप्रति समर्पित मानिसहरूले अटल प्रेम* देखाउनुहुनेलाई त्याग्छन्।*
९ तर म त तपाईँलाई धन्यवाद दिनेछु र बलि चढाउनेछु।
आफूले भाकल गरेको कुरा पूरा गर्नेछु।+
यहोवा नै उद्धारक हुनुहुन्छ।”+
१० तब यहोवा परमेश्वरले त्यस माछालाई आदेश दिनुभयो र त्यसले सुक्खा जमिनमा योनालाई ओकलिदियो।
३ तब यहोवा परमेश्वरको वचन दोस्रो पटक योनाकहाँ आयो। उहाँले यसो भन्नुभयो:+ २ “उठ! त्यो ठूलो सहर निनवेमा जाऊ।+ मैले तिमीलाई बताएको सन्देश त्यस सहरमा गएर घोषणा गर।”
३ त्यसैले योना उठे र यहोवा परमेश्वरले आज्ञा गर्नुभएअनुसारै+ निनवे गए।+ निनवे निकै ठूलो सहर थियो,* त्यसको वल्लो छेउदेखि पल्लो छेउसम्म पुग्न तीन दिन हिँड्नुपर्थ्यो। ४ योना सहरभित्र पसे। सहरभित्र एक दिनको बाटो हिँडेपछि तिनले यसो भनेर घोषणा गरे: “अबको ४० दिनमा निनवे नाश हुनेछ!”
५ यो सुनेर निनवेका मानिसहरूले परमेश्वरमा विश्वास गरे।+ अनि तिनीहरूले उपवासको घोषणा गरे र सानादेखि ठूला सबैले भाङ्ग्रा ओढे। ६ जब निनवेका राजाले योनाको सन्देशबारे सुने, तब तिनी आफ्नो सिंहासनबाट उठे अनि शाही पोसाक उतारेर भाङ्ग्रा ओढे र खरानीमा बसे। ७ अनि तिनले निनवेभरि यस्तो घोषणा गर्न लगाए,
“राजा र भारदारहरूबाट यस्तो उर्दी जारी भएको छ: कुनै पनि मानिस वा पशुले, गाईवस्तु वा भेडाबाख्राले केही नखाओस्। कसैले केही खानेकुरा नखाओस्, पानीधरि नपिओस्। ८ मानिस होस् या पशु, सबैले भाङ्ग्रा ओढून्। सबैले परमेश्वरलाई व्यग्रतासाथ पुकारून्, आफ्नो दुष्ट चाल त्यागून् र मारकाट गर्न छोडून्। ९ कसले जान्दछ, साँचो परमेश्वरले आफ्नो निर्णयमाथि पुनर्विचार गरेर* आफ्नो बल्दो रिसलाई शान्त पार्नुहुन्छ कि? अनि हामी नाश हुनदेखि जोगिन्छौँ कि?”
१० अनि जब साँचो परमेश्वरले निनवेका मानिसहरूले पश्चात्ताप गरेको र आफ्नो दुष्ट चाल त्यागेको देख्नुभयो,+ तब उहाँले तिनीहरूमाथि ल्याउन लाग्नुभएको विपत्तिको विषयमा पुनर्विचार गर्नुभयो* र विपत्ति ल्याउनुभएन।+
४ तर यो कुरा योनालाई फिटिक्कै चित्त बुझेन अनि तिनी रिसले चूर भए। २ त्यसैले तिनले यहोवा परमेश्वरलाई यसो भन्दै प्रार्थना गरे: “हे यहोवा, यस्तै हुन्छ भनी मैले आफ्नो देशमा छँदै भनेको थिइनँ र? त्यसैले म सुरुमै तर्सिसतिर भाग्न खोजेको थिएँ+ किनकि मलाई थाह थियो, तपाईँ दयालु र कृपालु हुनुहुन्छ, हतपती रिसाउनुहुन्न अनि अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ+ र कोही सङ्कटमा पर्दा तपाईँलाई दुःख लाग्छ। ३ त्यसैले हे यहोवा, बिन्ती छ, मेरो ज्यान लिनुहोस् किनकि म बाँच्नुभन्दा त मर्नु नै बेस हो।”+
४ तब यहोवा परमेश्वरले सोध्नुभयो: “यसरी रिसले चूर हुनु ठीक हो?”
५ त्यसपछि योना सहरबाट निस्के र सहरको पूर्वतिर गएर बसे। तिनले आफ्नो लागि त्यहाँ एउटा छाप्रो बनाए र त्यस सहरलाई के हुँदो रहेछ भनेर हेर्न त्यसको छहारीमा बसे।+ ६ योनालाई शीतल होस् र तिनले आराम पाऊन् भनेर यहोवा परमेश्वरले एउटा लौकाको बोट* उमार्नुभयो। अनि त्यो लौकाको बोट देखेर योना साह्रै खुसी भए।
७ तर भोलिपल्ट झिसमिसे उज्यालोमा साँचो परमेश्वरले एउटा किरा पठाउनुभयो अनि त्यसले बोटलाई खायो र त्यो बोट ओइलायो। ८ घाम लागेपछि परमेश्वरले तातो पूर्वीय बतास चलाउनुभयो अनि टन्टलापुर घामले योनाको टाउको पोल्यो र तिनी बेहोस हुनै लागे। मर्ने इच्छा व्यक्त गर्दै तिनले यसो भनिरहे: “म बाँच्नुभन्दा त मर्नु नै बेस।”+
९ परमेश्वरले योनालाई सोध्नुभयो: “लौकाको बोटको कारण यसरी रिसले चूर हुनु ठीक हो?”+
अनि तिनले भने: “हो, म रिसाउनु ठीकै हो। मलाई असाध्यै रिस उठेको छ, म मर्न चाहन्छु।” १० तर यहोवा परमेश्वरले भन्नुभयो: “त्यो लौकाको बोट, जसको लागि तिमीले मेहनत गरेकै थिएनौ, जसलाई तिमीले रोपेकै थिएनौ अनि जुन एकै रातमा उम्रियो र एकै रातमा सुक्यो, त्यसको लागि त तिमीमा दया पलायो भने ११ यो ठूलो सहर निनवे,+ जहाँ १ लाख २० हजार मानिस बस्छन्, जहाँका मानिसहरूलाई सही र गलतको फरकसमेत थाह छैन* र जहाँ धेरै वस्तुभाउ पनि छन्, त्यसको लागि ममा दया पलाउँदैन र?”+
यसको अर्थ हो, “ढुकुर।”
वा “उपासना गर्छु।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्।
शा., “पेटबाट।”
शब्दावली हेर्नुहोस्।
वा सम्भवतः “व्यर्थका मूर्तिहरूप्रति समर्पित मानिसहरूले आफ्नो वफादारी त्याग्छन्।”
शा., “परमेश्वरको नजरमा ठूलो सहर थियो।”
वा “निर्णयमा पछुतो मानेर।”
वा “पछुताउनुभयो।”
वा सम्भवतः “अँडिरको बोट।”
वा “जहाँका मानिसहरूले दाहिने र देब्रे हातै चिन्न सक्दैनन्।”