प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt युहन्‍ना १:१-२१:२५
  • युहन्‍नाको सुसमाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युहन्‍नाको सुसमाचार
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
युहन्‍नाको सुसमाचार

युहन्‍नाको सुसमाचार

१ सुरुमा वचन हुनुहुन्थ्यो+ अनि वचन परमेश्‍वरसित हुनुहुन्थ्यो+ र वचन ईश्‍वर* हुनुहुन्थ्यो।+ २ उहाँ सुरुमा परमेश्‍वरसित हुनुहुन्थ्यो। ३ सबै थोक उहाँद्वारै अस्तित्वमा आए,+ उहाँविना एउटै थोक पनि अस्तित्वमा आएन।

उहाँद्वारा जे अस्तित्वमा आयो, ४ त्यो जीवन थियो र त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो।+ ५ अनि त्यो ज्योति अन्धकारमा चम्किरहेको छ+ तर अन्धकारले त्यसलाई दबाउन सकेको छैन।

६ परमेश्‍वरले आफ्नो प्रतिनिधिको रूपमा पठाउनुभएको एक जना मानिस देखा परे। तिनको नाम युहन्‍ना थियो।+ ७ ती मानिस ज्योतिको गवाही दिन साक्षीको रूपमा आए+ ताकि तिनीद्वारा हरकिसिमका मानिसले विश्‍वास गर्न सकून्‌। ८ तिनी त्यो ज्योति थिएनन्‌+ बरु त्यस ज्योतिको साक्षी दिन आएका थिए।

९ हरकिसिमका मानिसलाई ज्योति दिने साँचो ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो।+ १० उहाँ संसारमा हुनुहुन्थ्यो+ अनि उहाँद्वारै संसार अस्तित्वमा आयो+ तर संसारले उहाँलाई चिनेन। ११ उहाँ आफ्नो घरमा आउनुभयो तर उहाँका आफ्नै मानिसहरूले उहाँलाई स्विकारेनन्‌। १२ तर ज-जसले स्विकारे, तिनीहरूलाई उहाँले परमेश्‍वरको सन्तान बन्‍ने अधिकार दिनुभयो+ किनकि तिनीहरूले उहाँको नाममा विश्‍वास गरेका थिए;+ १३ अनि तिनीहरू न रगतद्वारा न शारीरिक इच्छाद्वारा न मानिसको इच्छाद्वारा तर परमेश्‍वरद्वारा जन्मिएका थिए।+

१४ यसरी वचन मानिस हुनुभयो+ र हामीमाझ बस्न थाल्नुभयो अनि हामीले उहाँको महिमा देख्यौँ, यस्तो महिमा, जुन एक मात्र छोराले आफ्नो बुबाबाट पाउँछ;+ अनि उहाँ परमेश्‍वरको अनुमोदन* र सत्यले भरिपूर्ण हुनुहुन्थ्यो। १५ (युहन्‍नाले उहाँको विषयमा साक्षी दिए। हो, तिनी यसो भन्दै कराए: “उहाँ तिनै हुनुहुन्छ, जसबारे मैले यसो भनेको थिएँ, ‘मपछि आउने मभन्दा अघि जानुभएको छ किनकि मभन्दा पहिल्यै उहाँ अस्तित्वमा हुनुहुन्थ्यो।’”)+ १६ हामी सबैले उहाँबाट प्रशस्त गरी असीम अनुग्रह पायौँ किनकि उहाँ असीम अनुग्रहले भरिपूर्ण हुनुहुन्छ। १७ किनकि मोसाद्वारा व्यवस्था दिइयो+ तर येसु ख्रिष्टद्वारा भने असीम अनुग्रह+ र सत्य आयो।+ १८ परमेश्‍वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।+ उहाँको विषयमा आफ्नो बुबाको छेउमा बस्नुहुने*+ एक मात्र छोरा, जो ईश्‍वर हुनुहुन्छ,+ उहाँले बताउनुभएको छ।+

१९ तब यहुदीहरूले यरुसलेमबाट पुजारी अनि लेवीहरू पठाए र युहन्‍नालाई “तिमी को हौ?” भनी सोध्न लगाए।+ २० तिनले त्यसको जवाफ दिन इन्कार गरेनन्‌ अनि “म ख्रिष्ट होइनँ” भनी खुलेआम स्विकारे। २१ अनि उनीहरूले तिनलाई सोधे: “त्यसोभए तिमी को हौ त? के तिमी एलिया हौ?”+ तिनले जवाफ दिए: “होइनँ।” “के तिमी भविष्यवक्‍ता हौ त?”+ तिनले जवाफ दिए: “होइनँ!” २२ तब उनीहरूले तिनलाई सोधे: “त्यसोभए तिमी को हौ? हामीलाई भन र हामीलाई पठाउनेहरूलाई हामी जवाफ दिन सक्नेछौँ। आफ्नो विषयमा तिमी के भन्छौ?” २३ तिनले जवाफ दिए: “भविष्यवक्‍ता यसैयाले भनेझैँ ‘यहोवाको* बाटो सोझो बनाओ’+ भन्दै उजाड ठाउँमा कराउने मानिस मै हुँ।”+ २४ तिनीकहाँ यी मानिसहरूलाई फरिसीहरूले* पठाएका थिए। २५ त्यसैले उनीहरूले यसो भन्दै प्रश्‍न गर्न थाले: “यदि तिमी ख्रिष्ट वा एलिया वा भविष्यवक्‍ता होइनौ भने तिमी किन बप्तिस्मा गराउँछौ?” २६ युहन्‍नाले तिनीहरूलाई जवाफ दिए: “म पानीमा बप्तिस्मा गराउँछु। तिमीहरूमाझ एक जना हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ। २७ उहाँ मपछि आउँदै हुनुहुन्छ, जसको जुत्ताको फित्ता फुकाल्न समेत म लायकको छैनँ।”+ २८ यी घटनाहरू यर्दन नदीपारि बेथानीमा भएका हुन्‌, जहाँ युहन्‍नाले बप्तिस्मा गराउँथे।+

२९ भोलिपल्ट तिनले येसुलाई आफूतिर आउँदै गरेको देखे र तिनले भने: “हेर, परमेश्‍वरको पाठो,+ जसले संसारको पाप हटाउनुहुन्छ!+ ३० उहाँ तिनै हुनुहुन्छ, जसको विषयमा मैले यसो भनेको थिएँ: ‘मपछि आउने एक जना मानिस मभन्दा अघि जानुभएको छ किनकि मभन्दा पहिल्यै उहाँ अस्तित्वमा हुनुहुन्थ्यो।’+ ३१ मैले पनि उहाँलाई चिनेको थिइनँ तर उहाँ इस्राएलमा प्रकट होऊन्‌ भनेर नै म पानीमा बप्तिस्मा गराउँदै आएँ।”+ ३२ युहन्‍नाले साक्षी दिँदै यसो पनि भने: “मैले पवित्र शक्‍तिलाई ढुकुरको रूपमा आकाशबाट ओर्लिँदै गरेको देखेँ र त्यो उहाँमाथि बस्यो।+ ३३ मैले पनि उहाँलाई चिनेको थिइनँ तर पानीमा बप्तिस्मा गराउन मलाई पठाउनुहुनेले नै मलाई भन्‍नुभयो, ‘जसमाथि पवित्र शक्‍ति ओर्लिँदै र बस्दै गरेको तिमीले देखौला,+ पवित्र शक्‍तिमा बप्तिस्मा गराउने उहाँ नै हुनुहुन्छ।’+ ३४ अनि मैले त्यो देखेको छु र उहाँ नै परमेश्‍वरको छोरा हुनुहुन्छ भनेर साक्षी दिएको छु।”+

३५ त्यसको भोलिपल्ट फेरि युहन्‍ना आफ्ना दुई जना चेलासित उभिरहेका थिए। ३६ अनि येसु हिँड्‌दै गर्नुभएको देखेपछि तिनले भने: “हेर, परमेश्‍वरको पाठो!”+ ३७ तिनको कुरा सुनेपछि ती दुई जना चेला येसुको पछि लागे। ३८ तब येसुले फर्केर हेर्दा तिनीहरू आफ्नो पछिपछि आइरहेको देख्नुभयो अनि उहाँले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरू के चाहन्छौ?” तिनीहरूले उहाँलाई जवाफ दिए: “हे रब्बी (जसको अनुवाद गर्दा अर्थ हुन्छ, “गुरुज्यू”), तपाईँ कहाँ बस्दै हुनुहुन्छ?” ३९ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “आओ अनि तिमीहरूले देख्नेछौ।” त्यसैले तिनीहरू गए र उहाँ बस्नुभएको ठाउँ देखे अनि त्यो दिन तिनीहरू पनि उहाँसितै बसे। त्यतिखेर लगभग दसौँ घडी* भएको थियो। ४० युहन्‍नाको कुरा सुनेर येसुको पछि लाग्ने ती दुई चेलामध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास+ थिए। ४१ सबैभन्दा पहिला, तिनले आफ्नो दाइ सिमोनलाई भेटे र तिनलाई भने: “हामीले मसीहलाई+ (जसको अनुवाद गर्दा अर्थ हुन्छ, “ख्रिष्ट”) भेट्टाएका छौँ।” ४२ तिनले उनलाई येसुकहाँ लगे। येसुले उनलाई हेर्नुभयो र भन्‍नुभयो: “तिमी युहन्‍नाको छोरा सिमोन हौ;+ तिमी केफास (जसको ग्रीक अनुवाद हो, “पत्रुस”)+ भनिनेछौ।”

४३ त्यसको भोलिपल्ट उहाँ गालिल जान चाहनुभयो। तब उहाँले फिलिपलाई+ भेट्टाउनुभयो र तिनलाई भन्‍नुभयो: “मेरो पछि लाग।” ४४ फिलिप बेथसेदाका बासिन्दा थिए, जुन अन्द्रियास अनि पत्रुसको पनि सहर थियो। ४५ फिलिपले नथनेललाई+ भेटे अनि तिनलाई भने: “हामीले युसुफको छोरा+ नासरतका येसुलाई भेट्टाएका छौँ, जसबारे मोसाले आफ्नो व्यवस्थामा अनि भविष्यवक्‍ताहरूले आफ्नो पुस्तकमा लेखेका थिए।” ४६ तर नथनेलले तिनलाई सोधे: “के नासरतबाट केही असल कुरा आउन सक्छ र?” फिलिपले तिनलाई जवाफ दिए: “आएर तिमी आफै हेर।” ४७ नथनेललाई आफूतिर आउँदै गरेको देखेर येसुले तिनीबारे भन्‍नुभयो: “हेर, एक जना सच्चा इस्राएली, जसमा कुनै छल छैन।”+ ४८ नथनेलले उहाँलाई भने: “तपाईँले मलाई कसरी चिन्‍नुभयो?” येसुले तिनलाई जवाफ दिनुभयो: “फिलिपले तिमीलाई बोलाउनुअघि नै मैले तिमीलाई अन्जिरको रूखमुनि देखेको थिएँ।” ४९ नथनेलले उहाँलाई भने: “रब्बी, तपाईँ परमेश्‍वरका छोरा हुनुहुन्छ; तपाईँ इस्राएलका राजा हुनुहुन्छ।”+ ५० येसुले तिनलाई भन्‍नुभयो: “मैले तिमीलाई अन्जिरको रूखमुनि देखेँ भनेकोले नै के तिमीले विश्‍वास गरेका हौ? तिमीले यीभन्दा पनि ठूलठूला कुराहरू देख्नेछौ।” ५१ तब उहाँले तिनलाई यसो भन्‍नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरूले स्वर्ग उघ्रिएको अनि परमेश्‍वरका दूतहरूलाई मानिसको छोराकहाँ ओर्लिँदै र उक्‌लिँदै गरेको देख्नेछौ।”+

२ अब तेस्रो दिन गालिलको कानामा विवाह-भोज थियो अनि येसुकी आमा पनि त्यहाँ गएकी थिइन्‌। २ येसु र उहाँका चेलाहरूलाई पनि त्यो विवाह-भोजमा निम्त्याइएको थियो।

३ भोजमा दाखमद्य* सिद्धिनै लाग्दा येसुकी आमाले उहाँलाई भनिन्‌: “तिनीहरूसित दाखमद्य छैन।” ४ तर येसुले तिनलाई भन्‍नुभयो: “ए नारी, तिमीलाई र मलाई यसको के सरोकार?* मेरो बेला अझै आइपुगेको छैन।” ५ उहाँकी आमाले त्यहाँ सेवा गरिरहेकाहरूलाई भनिन्‌: “उहाँले तिमीहरूलाई जसो भन्‍नुहुन्छ, त्यसै गर।” ६ त्यहाँ ढुङ्‌गाका छ वटा घ्याम्पा थिए, जुन यहुदीहरूको शुद्धीकरणसम्बन्धी रीतिअनुसार आवश्‍यक थियो।+ हरेक घ्याम्पोमा दुई वा तीन भाँडो* पानी अटाउँथ्यो। ७ येसुले तिनीहरूलाई भन्‍नुभयो: “घ्याम्पाहरूमा पानी भर।” तिनीहरूले घ्याम्पाको मुखसम्मै भरे। ८ अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “अब अलिकता उघाएर भोजका प्रबन्धककहाँ लैजाओ।” तब तिनीहरूले त्यो लगे। ९ अनि भोजका प्रबन्धकले दाखमद्यमा परिणत गरिएको त्यो पानी चाखे। त्यो कहाँबाट आयो भनेर तिनलाई थाह थिएन। (तर त्यहाँ सेवा गरिरहेकाहरू, जसले पानी उघाएका थिए, तिनीहरूलाई चाहिँ थाह थियो।) तब भोजका प्रबन्धकले दुलहालाई बोलाए १० र तिनलाई भने: “हरेक मानिसले पहिला असल दाखमद्य टक्य्राउँछ अनि जब मानिसहरू मात्तिन्छन्‌, तब कमसलचाहिँ टक्य्राउँछ। तर तिमीले त असल दाखमद्य अहिलेसम्म जोगाइराखेका रहेछौ।” ११ यसरी येसुले गालिलको कानामा पहिलो चमत्कार गरेर आफ्नो महिमा प्रकट गर्नुभयो+ अनि उहाँका चेलाहरूले उहाँमाथि विश्‍वास गरे।

१२ त्यसपछि उहाँ आफ्नी आमा, भाइहरू+ र चेलाहरूसित कफर्नहुम ओर्लनुभयो+ तर त्यहाँ धेरै दिन बस्नुभएन।

१३ अब यहुदीहरूको निस्तार चाड*+ नजिकै थियो र येसु यरुसलेम उक्लनुभयो। १४ उहाँले मन्दिरमा गाईवस्तु, भेडा र ढुकुर+ बेच्नेहरूलाई भेट्टाउनुभयो अनि पैसा साट्‌ने व्यापारीहरूलाई पनि आ-आफ्नो कुर्सीमा बसिरहेका भेट्टाउनुभयो। १५ तब डोरीको कोर्रा बनाएर उहाँले तिनीहरू सबैलाई तिनीहरूका भेडा र गाईवस्तुको साथमा मन्दिरबाट लघार्नुभयो अनि पैसा साट्‌नेहरूको सिक्का छरपस्ट पारिदिनुभयो र तिनीहरूको टेबुल पल्टाइदिनुभयो।+ १६ अनि उहाँले ढुकुर बेच्नेहरूलाई भन्‍नुभयो: “यी सब यहाँबाट लगिहाल! मेरो बुबाको घरलाई व्यापारको थलो* बनाउन छोड!”+ १७ तब पहिल्यै लेखिएको यो कुरा चेलाहरूले सम्झे: “तपाईँको घरको लागि मेरो जोसले मलाई खानेछ।”+

१८ यो देखेर यहुदीहरूले उहाँलाई भने: “तपाईँले यस्ता-यस्ता कामहरू गरिरहनुभएको छ, अब हामीलाई चाहिँ के चिन्ह देखाउनुहुन्छ नि?”+ १९ तब येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “यो मन्दिर भत्काओ अनि तीन दिनमा म यसलाई फेरि खडा गर्नेछु।”+ २० यो सुनेर यहुदीहरूले भने: “यो मन्दिर बनाउन ४६ वर्ष लाग्यो तर के तपाईँचाहिँ यसलाई तीन दिनमा खडा गर्नुहुनेछ?” २१ तर उहाँले जुन मन्दिरको विषयमा बताउँदै हुनुहुन्थ्यो, त्यो उहाँको शरीर थियो।+ २२ अनि जब उहाँ मृत्युबाट ब्युँताइनुभयो, तब उहाँले भन्‍ने गर्नुभएको यो कुरा चेलाहरूले सम्झे+ अनि तिनीहरूले धर्मशास्त्रमा र येसुले भन्‍नुभएको कुरामा विश्‍वास गरे।

२३ जब उहाँ निस्तार चाडको बेला यरुसलेममा हुनुहुन्थ्यो, तब उहाँले गरिरहनुभएका चमत्कारहरू देखेर धेरै जनाले उहाँको नाममा विश्‍वास गरे। २४ तर येसुले तिनीहरूलाई भरोसा गर्नुभएन किनभने उहाँलाई तिनीहरू सबै कस्ता छन्‌ भनेर थाह थियो २५ र कसैले उहाँलाई मानिसको बारेमा बताइरहनु आवश्‍यक थिएन किनकि मानिसको हृदयमा के छ, उहाँ जान्‍नुहुन्थ्यो।+

३ निकोदेमस+ नाम गरेका एक जना फरिसी,* जो यहुदीहरूका शासक* थिए, २ तिनले राती येसुकहाँ आएर+ यसो भने: “रब्बी,+ हामीलाई थाह छ, तपाईँ परमेश्‍वरको तर्फबाट आउनुभएको शिक्षक हुनुहुन्छ किनकि यदि परमेश्‍वर साथमा हुनुहुन्‍न भने कसैले पनि तपाईँले गर्नुभएको जस्तो चमत्कारहरू गर्न सक्दैन।”+ ३ यो सुनेर येसुले तिनलाई भन्‍नुभयो: “म तिमीलाई साँचो-साँचो भन्छु, फेरि नजन्मेसम्म*+ कसैले पनि परमेश्‍वरको राज्य देख्न सक्दैन।”+ ४ निकोदेमसले उहाँलाई सोधे: “हुर्किसकेको मानिस कसरी फेरि जन्मन सक्छ? आफ्नी आमाको गर्भमा पसेर के ऊ फेरि जन्मन सक्छ र?” ५ येसुले जवाफ दिनुभयो: “म तिमीलाई साँचो-साँचो भन्छु, पानी र पवित्र शक्‍तिद्वारा नजन्मेसम्म+ कोही पनि परमेश्‍वरको राज्यमा पस्न सक्दैन। ६ जो शरीरद्वारा जन्मन्छ, ऊ मानिसको सन्तान हो अनि जो पवित्र शक्‍तिद्वारा जन्मन्छ, ऊ परमेश्‍वरको सन्तान हो। ७ तिमीहरू फेरि जन्मनुपर्छ भनी मैले तिमीलाई भनेकोमा अचम्म नमान। ८ बतास आफूलाई जता इच्छा लाग्छ, त्यतै बहन्छ। तिमीले बतास चलेको आवाज त सुन्छौ तर त्यो कहाँबाट आएको हो र कहाँ जाँदै छ, तिमीलाई थाह हुँदैन। पवित्र शक्‍तिद्वारा जन्मेको हरेक मानिस पनि त्यस्तै हुन्छ।”+

९ यो सुनेर निकोदेमसले उहाँलाई सोधे: “यी कुराहरू कसरी हुन सक्छन्‌?” १० येसुले तिनलाई जवाफ दिनुभयो: “इस्राएलीहरूको शिक्षक भईकन पनि के तिमीलाई यी कुराहरू थाह छैन? ११ म तिमीलाई साँचो-साँचो भन्छु, हामीलाई जे थाह छ, त्यही बोल्छौँ अनि जे देखेका छौँ, त्यसैको साक्षी दिन्छौँ तर तिमीहरू हामीले दिने साक्षी स्वीकार गर्दैनौ। १२ मैले तिमीहरूलाई पृथ्वीका कुराहरूबारे बताउँदा त तिमीहरू विश्‍वास गर्दैनौ भने स्वर्गका कुराहरूबारे बताएँ भने झन्‌ कसरी विश्‍वास गरौला? १३ साथै कुनै मानिस स्वर्ग उक्लेको छैन+ तर मानिसको छोरा भने स्वर्गबाट ओर्लेको छ।+ १४ जसरी मोसाले निर्जनभूमिमा सर्पलाई टाँगे,*+ त्यसरी नै मानिसको छोरा पनि टाँगिनै पर्छ*+ १५ ताकि ऊमाथि विश्‍वास गर्ने हरेकले अनन्त जीवन पाओस्‌।+

१६ “किनकि परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो+ ताकि ऊमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।+ १७ किनकि परमेश्‍वरले आफ्नो छोरालाई संसारको न्याय गर्न होइन तर ऊमार्फत संसारको उद्धार होस्‌ भनेर पठाउनुभयो।+ १८ जसले ऊमाथि विश्‍वास गर्छ, उसको न्याय गरिनेछैन।+ जसले ऊमाथि विश्‍वास गर्दैन, उसको न्याय भइसकेको छ किनकि उसले परमेश्‍वरको एक मात्र छोराको नाममा विश्‍वास गरेन।+ १९ अब यस आधारमा न्याय हुन्छ: संसारमा ज्योति आएको छ+ तर मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए किनकि तिनीहरूका कामहरू दुष्ट थिए। २० जसले खराब कामहरू गरिरहन्छ, उसले ज्योतिलाई घृणा गर्छ र आफ्ना कामहरू पर्दाफास नहोऊन्‌ भनेर ज्योतिमा आउँदैन। २१ तर जसले असल काम गर्छ, ऊचाहिँ परमेश्‍वरको इच्छाबमोजिम आफूले गरिरहेका कामहरू प्रकट होऊन्‌ भनेर ज्योतिमा आउँछ।”+

२२ त्यसपछि येसु र उहाँका चेलाहरू यहुदियाको गाउँमा जानुभयो अनि उहाँले तिनीहरूसित त्यहाँ केही समय बिताउनुभयो र मानिसहरूको बप्तिस्मा गराउनुभयो।+ २३ तर युहन्‍ना पनि सालिमनजिकै एनोनमा बप्तिस्मा गराउँदै थिए किनकि त्यहाँ प्रशस्त पानी थियो+ अनि मानिसहरू तिनीकहाँ आउँथे र बप्तिस्मा गर्थे।+ २४ यतिबेलासम्म युहन्‍ना झ्यालखानामा परिसकेका थिएनन्‌।+

२५ अनि शुद्धीकरणको विषयमा युहन्‍नाका चेलाहरू र एक जना यहुदीबीच विवाद भयो। २६ त्यसैले तिनीहरू युहन्‍नाकहाँ गएर तिनलाई भने: “रब्बी, जुन मानिस यर्दनपारि तपाईँसित हुनुहुन्थ्यो अनि जसको विषयमा तपाईँले साक्षी दिनुभएको थियो,+ हेर्नुहोस्‌, उहाँले त बप्तिस्मा गराउँदै हुनुहुन्छ अनि सबै जना उहाँकहाँ जाँदै छन्‌।” २७ युहन्‍नाले जवाफ दिए: “परमेश्‍वरले नदिनुभएसम्म मानिसले एउटै कुरा पाउन सक्दैन। २८ ‘म ख्रिष्ट होइनँ+ तर उहाँको अघिअघि पठाइएको हुँ’+ भनी मैले भनेको कुराको तिमीहरू आफै साक्षी छौ। २९ जोसित दुलही छ, उही दुलहा हो।+ अनि दुलहाको साथी, जसले दुलहाको नजिकै उभिएर तिनको स्वर सुन्छ, उसको खुसीको सीमा रहँदैन। त्यसैले म पनि आनन्दले ओतप्रोत भएको छु। ३० उहाँ बढ्‌दै जानुपर्छ तर म भने घट्‌दै जानुपर्छ।”

३१ जो माथिबाट आउँछ,+ ऊ अरू सबैको माथि हुन्छ। जो पृथ्वीबाट आउँछ, ऊ पृथ्वीको हुन्छ र पृथ्वीकै कुराहरू बोल्छ। जो स्वर्गबाट आउँछ, ऊ अरू सबैको माथि हुन्छ।+ ३२ आफूले जे सुनेको छ र जे देखेको छ, उसले त्यसैको साक्षी दिन्छ+ तर कसैले पनि उसको साक्षी स्विकार्दैन।+ ३३ जसले उसको साक्षी स्विकारेको छ, उसले परमेश्‍वर सत्य हुनुहुन्छ भन्‍ने कुरामा आफ्नो छाप लगाएको छ।*+ ३४ जसलाई परमेश्‍वरले पठाउनुभएको हो, उसले परमेश्‍वरकै कुराहरू बोल्छ+ किनकि उहाँले पवित्र शक्‍ति दिँदा कन्जुस्याइँ गरेर* दिनुहुन्‍न। ३५ बुबाले छोरालाई प्रेम गर्नुहुन्छ+ र सबै थोक उसको हातमा सुम्पनुभएको छ।+ ३६ जसले छोरामाथि विश्‍वास गर्छ, उसले अनन्त जीवन पाउँछ;+ जसले छोराको आज्ञा पालन गर्दैन, उसले जीवन देख्न पाउनेछैन+ तर ऊमाथि परमेश्‍वरको क्रोध आइपर्नेछ।+

४ युहन्‍नाले भन्दा येसुले धेरै जनालाई चेला बनाएर बप्तिस्मा गराउँदै हुनुहुन्छ+ भनेर फरिसीहरूले सुने भनी जब प्रभु येसुले थाह पाउनुभयो,— २ हुनत येसु आफैले नभई उहाँका चेलाहरूले बप्तिस्मा गराउँथे— ३ तब यहुदियाबाट निस्केर उहाँ फेरि गालिल जानुभयो। ४ तर उहाँ सामरिया भएर जानु आवश्‍यक थियो। ५ त्यसैले उहाँ सामरियाको सुखार भनिने सहर पुग्नुभयो, जुन याकुबले आफ्नो छोरा युसुफलाई दिएको खेतनजिकै पर्थ्यो।+ ६ वास्तवमा याकुबको इनार त्यहीँ थियो।+ यात्राले गर्दा थाक्नुभएको येसु इनारको* छेउमा बसिरहनुभएको थियो। त्यतिखेर लगभग छैटौँ घडी* भएको थियो।

७ तब सामरियाकी एउटी स्त्री पानी भर्न त्यहाँ आई। येसुले उसलाई भन्‍नुभयो: “मलाई पानी पिउन देऊ।” ८ (किनकि उहाँका चेलाहरू खानेकुरा किन्‍न सहर गएका थिए।) ९ त्यसैले त्यस सामरियाली स्त्रीले उहाँलाई सोधी: “तपाईँ यहुदी भईकन म सामरियाली आइमाईसित कसरी पानी माग्नुहुन्छ?” (किनकि यहुदीहरू सामरियालीहरूसित कुनै सम्बन्ध राख्दैनन्‌।)+ १० येसुले उसलाई यस्तो जवाफ दिनुभयो: “परमेश्‍वरले सित्तैँमा दिनुहुने वरदान+ तिमीले थाह पाएकी भए अनि ‘मलाई पानी पिउन देऊ’ भन्‍नेलाई चिनेकी भए तिमीले ऊसित माग्ने थियौ अनि उसले तिमीलाई जीवन दिने पानी दिने थियो।”+ ११ उसले उहाँलाई सोधी: “हजुर, इनार गहिरो छ अनि तपाईँसित पानी उघाउने बाल्टीसमेत छैन। तब तपाईँसित जीवन दिने पानी कहाँबाट आयो? १२ हाम्रा पुर्खा याकुब, जसले हामीलाई यो इनार दिनुभयो अनि जसले यही इनारबाट पानी पिउनुभयो र जसका छोराहरू अनि गाईवस्तुले पनि यही इनारबाट पिए, के तपाईँ उहाँभन्दा महान्‌ हुनुहुन्छ र?” १३ तब येसुले उसलाई जवाफ दिनुभयो: “जसले यो पानी पिउँछ, ऊ फेरि तिर्खाउँछ १४ तर जसले मैले दिने पानी पिउँछ, ऊ कहिल्यै तिर्खाउनेछैन।+ बरु मैले दिने पानी ऊभित्र मुहान बनेर उम्रिनेछ र त्यसले उसलाई अनन्त जीवन दिनेछ।”+ १५ त्यस स्त्रीले उहाँलाई भनी: “हजुर, मलाई त्यो पानी दिनुहोस्‌ ताकि म कहिल्यै तिर्खाउन नपरोस्‌ अनि पानी भर्न यहाँ घरीघरी आइरहन नपरोस्‌।”

१६ उहाँले उसलाई भन्‍नुभयो: “जाऊ, तिम्रो पतिलाई बोलाएर यहाँ ल्याऊ।” १७ त्यस स्त्रीले जवाफ दिई: “मेरो पति छैन।” येसुले उसलाई भन्‍नुभयो: “‘मेरो पति छैन’ भनेर तिमीले ठीकै भन्यौ। १८ किनकि तिम्रो पाँच जना पति भइसकेका छन्‌ र अहिले तिमी जोसित बसिरहेकी छ्यौ, ऊ तिम्रो पति होइन। तिमीले साँचो कुरा गऱ्‍यौ।” १९ त्यस स्त्रीले उहाँलाई भनी: “हजुर, तपाईँ पक्कै भविष्यवक्‍ता हुनुहुन्छ।+ २० हाम्रा पुर्खाहरूले यस डाँडामा उपासना गरे तर तपाईँहरू भने मानिसहरूले उपासना गर्नुपर्ने ठाउँ यरुसलेम हो भन्‍नुहुन्छ।”+ २१ येसुले उसलाई भन्‍नुभयो: “ए नारी, मलाई विश्‍वास गर, यस्तो बेला आउनेछ, जब तिमीहरूले न यस डाँडामा न त यरुसलेममा परमेश्‍वरको उपासना गर्नेछौ। २२ तिमीहरू जे जान्दैनौ, त्यसको उपासना गर्छौ;+ हामी जे जान्दछौँ, त्यसको उपासना गर्छौँ किनकि उद्धारबारे सुरुमा ज्ञान पाउनेहरू त यहुदीहरू नै हुन्‌।+ २३ तर बेला आउँछ र त्यो अहिल्यै हो, जब साँचो उपासकहरूले पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम परमेश्‍वरको उपासना गर्नेछन्‌ किनकि परमेश्‍वर यस्तै उपासकहरूको खोजीमा हुनुहुन्छ।+ २४ परमेश्‍वर अदृश्‍य हुनुहुन्छ र स्वर्गमा बस्नुहुन्छ।*+ उहाँको उपासना गर्नेहरूले पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम उहाँको उपासना गर्नुपर्छ।”+ २५ त्यस स्त्रीले उहाँलाई भनी: “ख्रिष्ट भनिने मसीह आउँदै हुनुहुन्छ भनेर मलाई थाह छ। अनि उहाँ आउनुभएपछि हामीलाई सबै कुरा खुलस्त बताउनुहुनेछ।” २६ येसुले उसलाई भन्‍नुभयो: “त्यो मानिस मै हुँ, जो अहिले तिमीसित कुरा गर्दै छ।”+

२७ त्यति नै खेर उहाँका चेलाहरू आइपुगे र उहाँले एउटी स्त्रीसित कुरा गरिरहनुभएको देखेर छक्क परे। तैपनि तिनीहरूमध्ये कसैले पनि “तपाईँ के खोज्दै हुनुहुन्छ?” अथवा “तपाईँ किन ऊसित कुरा गर्दै हुनुहुन्छ?” भनेर सोधेनन्‌। २८ तब त्यो स्त्री आफ्नो घैँटो छोडेर सहरभित्र पसी र त्यहाँका मानिसहरूलाई यसो भनी: २९ “आउनुहोस्‌, एक जना मानिसलाई हेर्नुहोस्‌, जसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो। कतै उहाँ ख्रिष्ट त हुनुहुन्‍न?” ३० त्यसैले तिनीहरू सहरबाट निस्केर उहाँकहाँ आउन थाले।

३१ त्यसबीच चेलाहरूले उहाँलाई यस्तो आग्रह गरिरहेका थिए: “रब्बी,+ खानुहोस्‌ न।” ३२ तर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मसँग यस्तो खानेकुरा छ, जसबारे तिमीहरूलाई थाह छैन।” ३३ यो सुनेर चेलाहरूले आपसमा यसो भने: “कतै उहाँलाई कसैले खानेकुरा ल्याइदियो कि?” ३४ तर येसुले तिनीहरूलाई भन्‍नुभयो: “मलाई पठाउनुहुनेको इच्छाअनुसार गर्नु+ अनि उहाँले दिनुभएको काम पूरा गर्नु नै मेरो भोजन हो।+ ३५ बाली काट्‌ने समय आउन अझ चार महिना बाँकी छ भनेर के तिमीहरू भन्दैनौ? तर हेर, म तिमीहरूलाई भन्छु: आफ्नो आँखा उठाएर खेततिर हेर किनकि बाली पाकेर पहेँला भइसकेका छन्‌।+ ३६ बाली काट्‌नेले अहिल्यै आफ्नो ज्याला पाउँदै छ र अनन्त जीवनका लागि फसल बटुल्दै छ ताकि बिउ छर्ने र काट्‌ने सँगसँगै रमाऊन्‌।+ ३७ यस सन्दर्भमा यो भनाइ सत्य हो: एउटाले छर्छ, अर्कोले काट्‌छ। ३८ तिमीहरूले परिश्रमै नगरेको बाली काट्‌न मैले तिमीहरूलाई पठाएँ। अरूले परिश्रम गरे तर तिनीहरूको परिश्रमको फल तिमीहरूले पाइरहेका छौ।”

३९ त्यस सहरका थुप्रै सामरियालीले उहाँमाथि विश्‍वास गरे किनकि त्यस स्त्रीले यसो भनेर साक्षी दिएकी थिई: “मैले गरेका सबै काम उहाँले मलाई बताइदिनुभयो।”+ ४० त्यसैले उहाँकहाँ आएर ती सामरियालीहरूले उहाँलाई आफूहरूसितै बस्न आग्रह गरे अनि उहाँ दुई दिन त्यहाँ बस्नुभयो। ४१ फलस्वरूप उहाँको कुरा सुनेर अझ थुप्रैले उहाँमाथि विश्‍वास गरे ४२ अनि तिनीहरूले त्यस स्त्रीलाई यसो भने: “अब तिम्रो कुराको भरमा मात्र हामीले विश्‍वास गरेका होइनौँ किनकि हामी आफैले उहाँको कुरा सुन्यौँ र उहाँ साँच्चै संसारको उद्धारक हुनुहुन्छ+ भनेर हामीलाई थाह भयो।”

४३ दुई दिनपछि उहाँ त्यहाँबाट गालिल जानुभयो। ४४ तथापि भविष्यवक्‍ताले आफ्नै इलाकामा आदर पाउँदैन भनेर येसु आफैले साक्षी दिनुभएको थियो।+ ४५ जब उहाँ गालिल आइपुग्नुभयो, तब उहाँले चाडको बेला यरुसलेममा गर्नुभएका सबै काम देखेका हुनाले गालिलवासीहरूले उहाँको स्वागत गरे+ किनकि तिनीहरू पनि चाड मनाउन त्यहाँ गएका थिए।+

४६ त्यसपछि उहाँ फेरि गालिलको काना पुग्नुभयो, जहाँ उहाँले पानीलाई दाखमद्यमा* परिणत गर्नुभएको थियो।+ त्यहाँ राजाको एक जना सेवक पनि थियो, जसको छोरा कफर्नहुममा बिरामी परेको थियो। ४७ येसु यहुदियाबाट निस्केर गालिल पुग्नुभयो भनी जब त्यस मानिसले सुन्यो, तब ऊ उहाँकहाँ गयो अनि आएर आफ्नो छोरालाई निको पारिदिन उहाँलाई बिन्ती गऱ्‍यो किनकि उसको छोरा मर्नै आँटेको थियो। ४८ तर येसुले उसलाई भन्‍नुभयो: “चिन्ह अनि अचम्मका कामहरू नदेखेसम्म तिमीहरू कुनै हालतमा विश्‍वास गर्दैनौ।”+ ४९ राजाको त्यस सेवकले उहाँलाई भन्यो: “हे प्रभु, मेरो सानो बाबु मर्नुअघि नै मसित आइदिनुहोस्‌।” ५० येसुले उसलाई भन्‍नुभयो: “जाऊ, आफ्नो बाटो लाग, तिम्रो छोरा बाँच्छ।”+ त्यस मानिसले येसुको कुरामा विश्‍वास गऱ्‍यो र आफ्नो बाटो लाग्यो। ५१ ऊ बाटोमै छँदा उसका दासहरू आएर उसको छोरा बाँच्यो* भन्‍ने खबर सुनाए। ५२ तब आफ्नो छोरा कुन बेला निको भएको हो भनेर उसले तिनीहरूलाई सोध्यो। तिनीहरूले उसलाई जवाफ दिए: “हिजो सातौँ घडीमा* उसलाई ज्वरोले छोड्‌यो।” ५३ येसुले “तिम्रो छोरा बाँच्छ” भन्‍नुभएकै समयमा छोरा निको भएको रहेछ भनेर उसले थाह पायो।+ अनि ऊ र उसको घरमा भएकाहरू सबैले येसुमाथि विश्‍वास गरे। ५४ यहुदियाबाट निस्केर गालिल पस्नुभएपछि येसुले गर्नुभएको यो दोस्रो चमत्कार थियो।+

५ यी कुराहरूपछि यहुदीहरूको एउटा चाड आयो+ अनि येसु यरुसलेम उक्लनुभयो। २ यरुसलेममा भेडा-ढोकानजिकै+ एउटा कुण्ड छ, जसलाई हिब्रू भाषामा बेथजाथा भनिन्छ र त्यसको चारैतिर खम्बै-खम्बा भएको दलान छ। ३ त्यहाँ बिरामी, अन्धा, लङ्‌गडा र हातखुट्टा सुकेका* थुप्रै मानिस पस्रिरहेका थिए। ४ *— ५ त्यहाँ एक जना मानिस थियो, जो बिरामी भएको ३८ वर्ष भइसकेको थियो। ६ त्यो मानिस पस्रिरहेको देखेपछि अनि ऊ यत्तिका लामो समयदेखि बिरामी रहेछ भनी थाह पाएपछि येसुले उसलाई भन्‍नुभयो: “के तिमी निको हुन चाहन्छौ?”+ ७ त्यस बिरामी मानिसले उहाँलाई जवाफ दियो: “हजुर, कुण्डको पानी छचल्किएको बेला मलाई त्यहाँ हालिदिने मानिस कोही पनि छैन। त्यसैले म त्यहाँ जाँदा-जाँदै मभन्दा अघि नै अर्को मानिस पसिहाल्छ।” ८ येसुले उसलाई भन्‍नुभयो: “उठ, तिम्रो ओछ्यान* बोकेर जाऊ।”+ ९ उत्तिखेरै त्यो मानिस निको भयो र आफ्नो ओछ्यान बोकेर हिँड्‌न थाल्यो।

त्यो विश्रामदिन* थियो। १० त्यसकारण यहुदीहरूले निको भएको त्यस मानिसलाई यसो भन्‍न थाले: “आज विश्रामदिन हो। त्यसैले तिमीले ओछ्यान बोक्नु उचित छैन।”+ ११ तर उसले तिनीहरूलाई भन्यो: “जसले मलाई निको पार्नुभयो, उहाँले नै मलाई ‘तिम्रो ओछ्यान बोकेर जाऊ’ भन्‍नुभयो।” १२ तिनीहरूले उसलाई सोधे: “तिमीलाई ‘ओछ्यान बोकेर जाऊ’ भन्‍ने मानिस को हो?” १३ तर निको भएको त्यस मानिसलाई उहाँ को हुनुहुन्छ भनेर थाह थिएन किनकि उहाँ त्यहाँ जम्मा भएको भीडमा मिसिसक्नुभएको थियो।

१४ यसपछि येसुले उसलाई मन्दिरमा देख्नुभयो र भन्‍नुभयो: “हेर, तिमी निको भएका छौ। अब उप्रान्त पाप नगर ताकि तिमीलाई योभन्दा नराम्रो केही नहोस्‌।” १५ त्यो मानिस गयो अनि आफूलाई निको पारिदिने त येसु पो हुनुहुँदो रहेछ भनेर यहुदीहरूलाई बतायो। १६ यसकारण यहुदीहरूले येसुको खेदो गर्न थाले किनभने उहाँले यी कामहरू विश्रामदिनमा गरिरहनुभएको थियो। १७ तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो: “मेरो बुबा अहिलेसम्म काम गर्दै हुनुहुन्छ र म पनि गर्दै छु।”+ १८ यसकारण यहुदीहरूले उहाँलाई मार्न अझ मौका खोज्न थाले किनभने तिनीहरूको विचारमा उहाँले विश्रामदिनको नियम तोड्‌नुभएको मात्र होइन तर परमेश्‍वरलाई आफ्नो बुबा भनेर+ आफैलाई परमेश्‍वरको बराबर पनि बनाइरहनुभएको थियो।+

१९ त्यसैले येसुले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, छोराले आफूखुसी केही पनि गर्न सक्दैन तर बुबाले जे गर्नुभएको देख्छ, त्यही मात्र गर्छ।+ किनकि बुबाले जे-जे गर्नुहुन्छ, छोराले पनि ती कुराहरू त्यसरी नै गर्छ। २० किनकि बुबाले छोरालाई माया गर्नुहुन्छ+ र आफूले गर्ने सबै कुरा उसलाई देखाउनुहुन्छ अनि तिमीहरू छक्क पर भनेर उहाँले उसलाई यीभन्दा ठूलठूला काम देखाउनुहुनेछ।+ २१ किनकि जसरी बुबाले मरेकाहरूलाई ब्युँताएर जीवित पार्नुहुन्छ,+ त्यसरी नै छोराले पनि जसलाई इच्छा लाग्छ, उसलाई जीवित पार्छ।+ २२ किनकि बुबाले कसैको पनि न्याय गर्नुहुन्‍न तर न्याय गर्ने सम्पूर्ण जिम्मा उहाँले छोरालाई सुम्पनुभएको छ+ २३ ताकि सबैले बुबाको जस्तै छोराको पनि आदर गरून्‌। छोराको आदर नगर्नेले उसलाई पठाउनुहुने बुबाको पनि आदर गर्दैन।+ २४ म तिमीहरूलाई साँचो-साँचो भन्छु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ, उसले अनन्त जीवन पाउँछ+ अनि उसको न्याय गरिँदैन तर मृत्युलाई पार गरेर ऊ जीवनमा प्रवेश गर्छ।+

२५ “म तिमीहरूलाई साँचो-साँचो भन्छु, बेला आउँछ र त्यो अहिल्यै हो, जब मरेकाहरूले परमेश्‍वरको छोराको स्वर सुन्‍नेछन्‌ अनि ज-जसले उसको कुरा मान्छन्‌, तिनीहरू जिउनेछन्‌। २६ किनकि बुबासित अरूलाई जीवन दिने शक्‍ति भएजस्तै*+ उहाँले छोरालाई पनि अरूलाई जीवन दिने शक्‍ति दिनुभएको छ।+ २७ अनि उहाँले उसलाई न्याय गर्ने अख्तियार सुम्पनुभएको छ+ किनभने ऊ मानिसको छोरा+ हो। २८ यसमा अचम्म नमान किनभने बेला आउँदै छ, जब चिहानमा* हुनेहरू सबैले उसको स्वर सुन्‍नेछन्‌+ २९ र बाहिर निस्किआउनेछन्‌। ज-जसले असल काम गरे, तिनीहरू जीवन पाउनको लागि फेरि जीवित हुनेछन्‌ भने ज-जसले खराब काम गरे, तिनीहरू न्याय गरिनको लागि फेरि जीवित हुनेछन्‌।+ ३० म आफूखुसी केही पनि गर्न सक्दिनँ। म जे सुन्छु, त्यसैअनुसार न्याय गर्छु अनि मैले गर्ने न्याय सही छ+ किनभने म आफ्नो होइन तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्न खोज्छु।+

३१ “यदि म एक्लैले आफ्नो विषयमा साक्षी दिएँ भने मेरो साक्षी सत्य हुँदैन।+ ३२ तर मेरो विषयमा साक्षी दिने अर्को एक जना हुनुहुन्छ अनि उहाँले मेरो विषयमा दिने साक्षी सत्य हो भनेर मलाई थाह छ।+ ३३ तिमीहरूले युहन्‍नाकहाँ मानिसहरू पठाएका छौ अनि तिनले सत्यको साक्षी दिएका छन्‌।+ ३४ तथापि म मानिसहरूको साक्षी स्विकार्दिनँ तर तिमीहरूको उद्धार होस्‌ भनेर म तिमीहरूलाई यी कुराहरू भन्दै छु। ३५ ती मानिस बलिरहेका र चम्किरहेका बत्ती थिए अनि केही समयको लागि तिमीहरू तिनको ज्योतिमा असाध्यै रमाउन राजी थियौ।+ ३६ तर मसित युहन्‍नाको भन्दा ठूलो साक्षी छ किनकि बुबाले मलाई जुन कामहरू पूरा गर्न खटाउनुभयो, ती कामहरूले नै बुबाले मलाई पठाउनुभएको हो भनेर साक्षी दिन्छन्‌ र म अहिले ती कामहरू नै गर्दै छु।+ ३७ साथै मलाई पठाउनुहुने बुबा आफैले मेरो विषयमा साक्षी दिनुभएको छ।+ तिमीहरूले न कहिल्यै उहाँको स्वर सुनेका छौ न त उहाँको रूप नै देखेका छौ।+ ३८ अनि उहाँको वचन तिमीहरूको हृदयमा छैन किनभने जसलाई उहाँले पठाउनुभयो, उसलाई तिमीहरू विश्‍वास गर्दैनौ।

३९ “तिमीहरू धर्मशास्त्रमा खोजतलास गरिरहन्छौ+ किनभने त्यसद्वारा अनन्त जीवन पाइन्छ भनी तिमीहरू सोच्छौ अनि त्यसले नै* मेरो विषयमा साक्षी दिन्छ।+ ४० तैपनि तिमीहरू जीवन पाउन मकहाँ आउन चाहँदैनौ।+ ४१ म मानिसहरूले दिने महिमा स्विकार्दिनँ ४२ तर तिमीहरूमा परमेश्‍वरप्रतिको प्रेम छैन भनी मलाई राम्ररी थाह छ। ४३ म आफ्नो बुबाको नाममा आएको छु तर तिमीहरू मलाई स्विकार्दैनौ। यदि अरू कोही आफ्नै नाममा आयो भने तिमीहरू उसलाई स्विकार्छौ। ४४ यदि तिमीहरू एकअर्काबाट महिमा खोज्छौ अनि एक मात्र परमेश्‍वरले दिनुहुने महिमाचाहिँ खोज्दैनौ भने तिमीहरू कसरी मलाई विश्‍वास गर्न सक्छौ?+ ४५ म तिमीहरूलाई बुबासामु दोष लगाउनेछु भनी नसोच; तिमीहरूलाई दोष लगाउने त मोसा हुन्‌,+ जसमाथि तिमीहरूले आफ्नो आशा राखेका छौ। ४६ वास्तवमा तिमीहरूले मोसालाई विश्‍वास गरेका भए मलाई पनि विश्‍वास गर्ने थियौ किनकि तिनले मेरै विषयमा लेखेका थिए।+ ४७ तर तिमीहरू तिनका लेखोटहरूलाई नै विश्‍वास गर्दैनौ भने मैले भनेका कुराहरू कसरी विश्‍वास गर्नेछौ?”

६ त्यसपछि येसु गालिल समुद्र अर्थात्‌ टाइबेरियस समुद्रपारि* जानुभयो।+ २ एउटा ठूलो जमात उहाँको पछिपछि लागिरहेको थियो+ किनकि उहाँले चमत्कारपूर्ण तरिकामा बिरामीहरूलाई निको पार्नुभएको तिनीहरूले देखेका थिए।+ ३ त्यसैले येसु एउटा डाँडामा उक्लनुभयो र आफ्ना चेलाहरूसित बस्नुभयो। ४ अब यहुदीहरूको निस्तार चाड*+ नजिकै थियो। ५ जब येसुले आफ्नो नजर उठाएर हेर्दा एउटा ठूलो जमात आफूकहाँ आउँदै गरेको देख्नुभयो, तब उहाँले फिलिपलाई भन्‍नुभयो: “यिनीहरूलाई खुवाउन हामी कहाँ रोटी किनौँ?”+ ६ तर उहाँले तिनको परीक्षा गर्न यसो भनिरहनुभएको थियो किनकि अब आफूले के गर्न लागेको छु भनेर उहाँलाई थाह थियो। ७ फिलिपले उहाँलाई जवाफ दिए: “यिनीहरूलाई अलि-अलि मात्र खुवाउने हो भने पनि २०० दिनारको* रोटीले समेत पुग्दैन।” ८ उहाँका चेलाहरूमध्ये एक जना, अन्द्रियास, जो सिमोन पत्रुसका भाइ थिए, तिनले उहाँलाई भने: ९ “यहाँ एक जना केटोसित जौका पाँच वटा रोटी र दुई वटा साना माछा छन्‌। तर यत्तिका मानिसलाई यसले कसरी पुऱ्‍याउने?”+

१० येसुले भन्‍नुभयो: “मानिसहरूलाई बस्न लगाओ।” त्यस ठाउँमा प्रशस्त घाँस थियो; त्यसैले मानिसहरू आरामसित बसे। त्यहाँ लगभग ५ हजार पुरुष थिए।+ ११ त्यसपछि येसुले रोटी लिएर धन्यवाद चढाउनुभयो अनि खान बसेकाहरूलाई बाँड्‌नुभयो। उहाँले साना माछाहरू पनि लिएर त्यसै गर्नुभयो र तिनीहरूले चाहेजति खाए। १२ जब तिनीहरू अघाए, तब उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “उब्रेका टुक्राटाक्री बटुल र केही पनि खेर नजाओस्‌।” १३ त्यसैले जौका पाँच वटा रोटीबाट सबैले खाइसकेपछि तिनीहरूले उब्रेका टुक्राटाक्री बटुले र १२ डाला भरिए।

१४ उहाँको यो चमत्कार देखेपछि मानिसहरूले यसो भन्‍न थाले: “संसारमा आउने भनिएका भविष्यवक्‍ता पक्कै पनि यिनी नै हुनुपर्छ।”+ १५ अनि तिनीहरू आएर आफूलाई जबरजस्ती राजा बनाउन आँटेका छन्‌ भन्‍ने थाह पाउनुभएपछि येसु एक्लै फेरि डाँडातिर लाग्नुभयो।+

१६ साँझ परेपछि उहाँका चेलाहरू समुद्रतिर ओर्ले+ १७ अनि डुङ्‌गा चढेर पारिपट्टि कफर्नहुमतिर गए। यतिबेलासम्ममा अँध्यारो भइसकेको थियो अनि येसु अझैसम्म तिनीहरूकहाँ आइसक्नुभएको थिएन।+ १८ साथै बेसरी बतास चलिरहेकोले समुद्रमा छाल उठ्‌न थाल्यो।+ १९ तर डुङ्‌गा खियाएर लगभग पाँच-छ किलोमिटर* पर पुगिसकेपछि तिनीहरूले येसुलाई समुद्रमाथि हिँड्‌दै डुङ्‌गा भएतिर आउँदै गर्नुभएको देखे अनि तिनीहरू डराए। २० तर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मै हुँ, नडराओ!”+ २१ त्यसैले तिनीहरूले उहाँलाई डुङ्‌गामा चढाउने इच्छा गरे अनि केहीबेरमै त्यो डुङ्‌गा तिनीहरू जुन ठाउँमा गइरहेका थिए, त्यस ठाउँमा पुग्यो।+

२२ समुद्रको पारिपट्टि रहेको भीडले भोलिपल्ट किनारामा कुनै डुङ्‌गा देखेन। अघिल्लो दिन त्यहाँ एउटा सानो डुङ्‌गा थियो तर येसु त्यस डुङ्‌गामा जानुभएको थिएन बरु चेलाहरू मात्र गएका थिए। २३ तब टाइबेरियसबाट केही डुङ्‌गा त्यस ठाउँको नजिकै आइपुगे, जहाँ प्रभुले धन्यवाद चढाएर तिनीहरूलाई रोटी खुवाउनुभएको थियो। २४ तर तिनीहरूले त्यहाँ येसु र उहाँका चेलाहरू कसैलाई पनि देखेनन्‌। त्यसैले तिनीहरू ती डुङ्‌गाहरू चढेर येसुलाई खोज्न कफर्नहुम पुगे।

२५ उहाँलाई समुद्रको पारिपट्टि भेट्टाएपछि तिनीहरूले उहाँलाई सोधे: “रब्बी,+ तपाईँ यहाँ कहिले आउनुभयो?” २६ येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, चमत्कारहरू देखेकोले तिमीहरूले मलाई खोजेका होइनौ बरु रोटी खाएर तृप्त भएकोले खोजेका हौ।+ २७ नाश भएर जाने खानेकुराका लागि होइन तर सधैँभरि रहिरहने र तिमीहरूलाई अनन्त जीवन दिने खानेकुराका लागि परिश्रम गर,+ जो तिमीहरूलाई मानिसको छोराले दिनेछ किनकि ऊमाथि बुबा अर्थात्‌ परमेश्‍वरले समेत अनुमोदनको छाप लगाउनुभएको छ।”+

२८ त्यसैले तिनीहरूले उहाँलाई भने: “परमेश्‍वरको अनुमोदन पाउन हामीले के गर्नुपर्छ?” २९ येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “परमेश्‍वरको अनुमोदन पाउन गर्नुपर्ने काम यही हो: उहाँले जसलाई पठाउनुभएको छ, ऊमाथि तिमीहरूले विश्‍वास गर।”+ ३० त्यसकारण तिनीहरूले उहाँलाई सोधे: “त्यसोभए तपाईँ हामीलाई के चिन्ह देखाउनुहुन्छ+ र त्यो देखेर हामी तपाईँमाथि विश्‍वास गरौँ? तपाईँ के गर्नुहुन्छ? ३१ हाम्रा पुर्खाहरूले निर्जनभूमिमा मन्‍न खाए,+ जस्तो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई स्वर्गबाट खानेकुरा दिनुभयो।’”+ ३२ तब येसुले तिनीहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, मोसाले तिमीहरूलाई स्वर्गबाट रोटी दिएनन्‌ तर मेरो बुबाले तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुन्छ। ३३ किनकि जो स्वर्गबाट ओर्लेर आउँछ अनि जसले संसारलाई जीवन दिन्छ, ऊ नै परमेश्‍वरले दिनुहुने रोटी हो।” ३४ त्यसकारण तिनीहरूले उहाँलाई भने: “प्रभु, यो रोटी हामीलाई सधैँ दिनुहोस्‌।”

३५ येसुले तिनीहरूलाई भन्‍नुभयो: “जीवन दिने रोटी मै हुँ। जो मकहाँ आउँछ, ऊ कहिल्यै भोकाउनेछैन अनि जसले ममाथि विश्‍वास गर्छ, ऊ कहिल्यै तिर्खाउनेछैन।+ ३६ तर मैले तिमीहरूलाई भनेझैँ तिमीहरू मलाई देखेर पनि विश्‍वास गर्दैनौ।+ ३७ बुबाले मलाई जो-जो दिनुभएको छ, तिनीहरू मकहाँ आउँछन्‌ र जो मकहाँ आउँछ, उसलाई म कुनै हालतमा धपाउनेछैनँ+ ३८ किनकि म आफ्नो होइन तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्न+ स्वर्गबाट ओर्लेर आएको हुँ।+ ३९ अनि मलाई पठाउनुहुनेको इच्छा यो हो कि उहाँले जो-जो मलाई दिनुभएको छ, तिनीहरूमध्ये एक जनालाई पनि नगुमाऊँ तर तिनीहरूलाई आखिरी समयमा फेरि जीवित पारूँ।+ ४० किनकि मेरो बुबाको इच्छा यही छ कि जसले छोरालाई स्वीकार गर्छ र ऊमाथि विश्‍वास गर्छ, उसले अनन्त जीवन पाओस्‌+ र म उसलाई आखिरी समयमा फेरि जीवित पारूँ।”+

४१ तब यहुदीहरूले उहाँको विरुद्धमा गनगन गर्न थाले किनकि उहाँले यसो भन्‍नुभएको थियो: “म स्वर्गबाट ओर्लेर आएको रोटी हुँ।”+ ४२ तिनीहरूले भन्‍न थाले: “यो युसुफको छोरा येसु होइन र? यसको बुबा र आमालाई हामी चिन्दैनौँ र?+ त्यसोभए अहिले आएर यसले कसरी ‘म स्वर्गबाट ओर्लेर आएको हुँ’ भन्‍न सक्यो?” ४३ येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू आपसमा गनगनाउन छोड। ४४ मलाई पठाउनुहुने बुबाले नखिचेसम्म कुनै मानिस मकहाँ आउन सक्दैन+ र म उसलाई आखिरी समयमा फेरि जीवित पार्नेछु।+ ४५ भविष्यवक्‍ताहरूको लेखोटमा लेखिएको छ, ‘तिनीहरू सबैले यहोवाबाट* शिक्षा पाउनेछन्‌।’+ जसले बुबाको कुरा सुन्छ र उहाँबाट सिक्छ, ऊ मकहाँ आउँछ। ४६ मबाहेक अरू कसैले बुबालाई कहिल्यै देखेको छैन।+ म, जो परमेश्‍वरबाट आएको हुँ, मैले मात्र उहाँलाई देखेको छु।+ ४७ म तिमीहरूलाई साँचो-साँचो भन्छु, जसले विश्‍वास गर्छ, उसले अनन्त जीवन पाउँछ।+

४८ “म जीवन दिने रोटी हुँ।+ ४९ तिमीहरूका पुर्खाहरूले निर्जनभूमिमा मन्‍न खाए; तैपनि तिनीहरू मरे।+ ५० स्वर्गबाट ओर्लेर आउने रोटी यही हो र जसले यो खान्छ, ऊ मर्दैन। ५१ स्वर्गबाट ओर्लेर आएको म, जीवन दिने रोटी हुँ। यदि कसैले यो रोटी खान्छ भने ऊ सधैँभरि बाँच्नेछ र मैले दिन लागेको रोटी वास्तवमा मेरो शरीर हो अनि संसारले जीवन पाओस्‌ भनेर म त्यो दिनेछु।”+

५२ त्यसकारण यहुदीहरू यसो भन्दै आपसमा बहस गर्न थाले: “यो मानिसले कसरी हामीलाई आफ्नो शरीर खान दिन सक्छ?” ५३ त्यसैले येसुले तिनीहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, मानिसको छोराको शरीर नखाएसम्म र उसको रगत नपिएसम्म तिमीहरूले जीवन पाउनेछैनौ।*+ ५४ जसले मेरो शरीर खान्छ र मेरो रगत पिउँछ, उसले अनन्त जीवन पाउँछ अनि म उसलाई आखिरी समयमा फेरि जीवित पार्नेछु+ ५५ किनकि मेरो शरीर साँच्चैको खानेकुरा र मेरो रगत साँच्चैको पिउनेकुरा हो। ५६ जसले मेरो शरीर खान्छ र मेरो रगत पिउँछ, ऊ मसित एकतामा रहन्छ अनि म ऊसित एकतामा रहन्छु।+ ५७ जसरी जीवित बुबाले मलाई पठाउनुभयो अनि बुबाले गर्दा म जीवित छु, त्यसरी नै जसले मेरो शरीर खान्छ, ऊ पनि मैले गर्दा जीवित रहनेछ।+ ५८ स्वर्गबाट ओर्लेर आउने रोटी यही हो। यो त्यस्तो रोटी होइन, जुन तिमीहरूका पुर्खाहरूले खाए तैपनि मरे। जसले यो रोटी खान्छ, ऊ सधैँभरि बाँच्नेछ।”+ ५९ उहाँले यी कुराहरू कफर्नहुममा एउटा सभाघरमा* सिकाउँदा भन्‍नुभएको थियो।

६० यो कुरा सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले यसो भने: “यो कुरा असाध्यै घिनलाग्दो छ; कसले यो सुन्‍न सक्छ र?” ६१ तर आफ्ना चेलाहरू यसबारे गनगनाउँदै छन्‌ भन्‍ने चाल पाएर येसुले तिनीहरूलाई सोध्नुभयो: “के यो कुराले तिमीहरूलाई ठेस पुऱ्‍यायो? ६२ त्यसो हो भने तिमीहरूले मानिसको छोरालाई पहिला ऊ जहाँ थियो, त्यतै उक्लँदै गरेको देख्यौ भने झनै के होला?+ ६३ शरीरको केही काम छैन किनकि जीवन दिने त पवित्र शक्‍ति हो।+ मैले तिमीहरूलाई पवित्र शक्‍तिद्वारा यो कुरा भनेको हुँ र यसले जीवन दिन्छ।+ ६४ तर तिमीहरूमध्ये कोही-कोही यस्ता छौ, जसले विश्‍वास गर्दैनौ।” किनकि विश्‍वास नगर्नेहरू को-को हुन्‌ र कसले आफूलाई धोका दिनेछ भनेर येसुलाई पहिल्यैदेखि थाह थियो।+ ६५ उहाँले अझै यसो भन्‍नुभयो: “त्यसैले मैले तिमीहरूलाई भनेको हुँ, बुबाले अनुमति नदिनुभएसम्म कोही पनि मकहाँ आउन सक्दैन।”+

६६ यो कारणले गर्दा उहाँका चेलाहरूमध्ये धेरै जना उहाँसित हिँडडुल गर्न छोडे अनि आफूले पहिला छोडेर आएका कुराहरूमा लागे।+ ६७ त्यसैले आफ्ना १२ प्रेषितलाई* येसुले सोध्नुभयो: “तिमीहरू त जान चाहँदैनौ नि, होइन र?” ६८ सिमोन पत्रुसले उहाँलाई जवाफ दिए: “प्रभु, हामी कसकहाँ जाऔँ?+ अनन्त जीवनका वचनहरू त तपाईँसित छन्‌।+ ६९ परमेश्‍वरका पवित्र जन तपाईँ नै हुनुहुन्छ भनेर हामीले विश्‍वास गरेका र थाह पाएका छौँ।”+ ७० येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू १२ जनालाई मैले नै छानेको थिएँ, होइन र?+ तर तिमीहरूमध्ये एक जना निन्दक हौ।”*+ ७१ वास्तवमा उहाँले यो कुरा सिमोन इस्करियोतको छोरा यहुदाबारे भनिरहनुभएको थियो किनकि ती १२ जनामध्ये एक भईकन पनि उसले उहाँलाई धोका दिने थियो।+

७ त्यसपछि येसु गालिलमै यात्रा गरिरहनुभयो किनकि यहुदीहरूले उहाँलाई मार्न खोजिरहेकोले+ उहाँले यहुदियामा यात्रा गर्न चाहनुभएन। २ यहुदीहरूले मनाउने झुप्रोबासको चाड*+ नजिकै थियो। ३ त्यसैले उहाँका भाइहरूले+ उहाँलाई भने: “यहाँबाट निस्केर यहुदिया गइहाल्नुहोस्‌ र तपाईँका चेलाहरूले पनि तपाईँका कामहरू देखून्‌। ४ किनकि मानिसहरूले चिनून्‌ भनी इच्छा गर्ने कसैले पनि कुनै काम गुप्तमा गर्दैन। यदि तपाईँ यी कामहरू गर्नुहुन्छ भने आफैलाई संसारसामु प्रकट गर्नुहोस्‌।” ५ वास्तवमा उहाँका भाइहरू उहाँमाथि विश्‍वास गर्दैनथे।+ ६ त्यसैले येसुले तिनीहरूलाई भन्‍नुभयो: “मेरो बेला आइपुगेको छैन।+ तिमीहरूको निम्ति त जुन बेला पनि ठीक छ। ७ संसारले तिमीहरूलाई घृणा गर्ने कुनै कारण छैन तर मलाई भने घृणा गर्छ किनकि त्यसका कामहरू दुष्ट छन्‌ भनी म साक्षी दिन्छु।+ ८ तिमीहरू चाड मनाउन जाओ तर म भने अहिले चाड मनाउन जान्‍नँ किनकि मेरो बेला आइपुगेको छैन।”+ ९ त्यसैले तिनीहरूलाई यी कुरा भनिसकेपछि उहाँ गालिलमै बस्नुभयो।

१० तर आफ्ना भाइहरू चाड मनाउन गइसकेपछि उहाँ पनि जानुभयो तर कसैले नदेख्नेगरि सुटुक्क जानुभयो। ११ त्यसैले यहुदीहरूले चाडको बेला यसो भन्दै उहाँलाई खोज्न थाले: “खोइ त्यो मानिस?” १२ भीड उहाँको विषयमा निकै खासखुस गर्दै थियो। कोही भन्थे: “ऊ असल मानिस हो।” अनि अरूचाहिँ भन्थे: “अहँ, होइन। किनकि उसले भीडलाई बहकाउँछ।”+ १३ तर यहुदीहरूको डरले गर्दा कोही पनि उहाँको विषयमा खुलेआम कुरा गर्दैनथ्यो।+

१४ चाडको बीचतिर येसु उक्लेर मन्दिरभित्र पस्नुभयो र सिकाउन थाल्नुभयो। १५ त्यसैले यहुदीहरू छक्क पर्दै यसो भन्‍न थाले: “यो मानिसले पाठशाला* गएर पढेको छैन, तैपनि यसले धर्मशास्त्रको यत्ति धेरै ज्ञान कहाँबाट पायो?”+ १६ यो सुनेर येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “म जे सिकाउँछु, त्यो मेरो होइन तर मलाई पठाउनुहुनेको शिक्षा हो।+ १७ यदि कोही उहाँको इच्छा पूरा गर्न चाहन्छ भने मेरो शिक्षा मेरो आफ्नै हो कि परमेश्‍वरको हो, त्यो उसले थाह पाउनेछ।+ १८ जसले आफ्नो तर्फबाट बोल्छ, उसले आफ्नै महिमा खोजिरहेको हुन्छ। तर जसले आफूलाई पठाउनेको महिमा खोज्छ,+ ऊ सत्य हो र उसमा कुनै असत्य हुँदैन। १९ के मोसाले तिमीहरूलाई व्यवस्था दिएका होइनन्‌ र?+ तर तिमीहरूमध्ये कोही पनि व्यवस्था पालन गर्दैनौ। तिमीहरू किन मलाई मार्न खोज्दै छौ?”+ २० भीडले जवाफ दियो: “तिमीमा प्रेत* बास गरेको छ। कसले तिमीलाई मार्न खोजेको छ र?” २१ येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “मैले एउटा काम के गरेँ, तिमीहरू सबै छक्क पऱ्‍यौ। २२ त्यसैले यो कुरा विचार गर, मोसाले तिमीहरूलाई खतनाको* नियम दिए+ (हुनत यो चलन मोसाको पालामा होइन तर हाम्रा पितापुर्खाको पालामै सुरु भएको थियो)+ अनि तिमीहरू विश्रामदिनमा* खतना गर्छौ। २३ मोसाको व्यवस्था उल्लङ्‌घन नहोस्‌ भनेर यदि तिमीहरू विश्रामदिनमा खतना गर्छौ भने मैले विश्रामदिनमा एक जना मानिसलाई निको पारेँ भनेर किन रिसले चूर हुन्छौ?+ २४ बाहिरबाट देखिने कुराको आधारमा न्याय गर्न छोड बरु ठीकसित न्याय गर।”+

२५ त्यसैले यरुसलेमका केही बासिन्दाले यसो भन्‍न थाले: “तिनीहरूले मार्न खोजेको मानिस यही होइन र?+ २६ तैपनि हेर त, मानिसहरूसामु यो बोल्दै छ अनि तिनीहरू यसलाई केही पनि भन्दैनन्‌। यो मानिस साँच्चै ख्रिष्ट हो भनेर शासकहरू* पक्का भएछन्‌ कि कसो? २७ यो मानिस कहाँको हो हामीलाई थाह छ+ तर जब ख्रिष्ट आउनुहुन्छ, उहाँ कहाँको हो भनेर कसैले थाह पाउँदैन।” २८ तब मन्दिरमा सिकाइरहेको बेला येसुले ठूलो स्वरमा भन्‍नुभयो: “म को हुँ अनि कहाँको हुँ, तिमीहरूलाई थाह छ। म आफूखुसी आएको होइनँ+ तर मलाई पठाउने जो हुनुहुन्छ, उहाँ साँच्चै अस्तित्वमा हुनुहुन्छ र तिमीहरू उहाँलाई चिन्दैनौ।+ २९ तर म उहाँलाई चिन्छु+ किनकि म उहाँको प्रतिनिधि हुँ र उहाँले नै मलाई पठाउनुभएको हो।” ३० त्यसैले तिनीहरूले उहाँलाई पक्रन खोजे+ तर कसैले उहाँमाथि हात हालेन किनकि उहाँको बेला अझै आइपुगेको थिएन।+ ३१ तैपनि भीडमा हुनेहरूमध्ये धेरैले उहाँमाथि विश्‍वास गरे+ अनि तिनीहरूले यसो भने: “जब ख्रिष्ट आउनुहुन्छ, के उहाँले यो मानिसले भन्दा धेरै चमत्कार गर्नुहोला र?”

३२ भीडले यी कुराहरू भन्दै उहाँको विषयमा खासखुस गरिरहेको फरिसीहरूले* सुने। तब उहाँलाई पक्रन मुख्य पुजारीहरू अनि फरिसीहरूले मन्दिरका पहरेदारहरूलाई पठाए। ३३ तब येसुले भन्‍नुभयो: “जसले मलाई पठाउनुभयो, उहाँकहाँ जानुअघि अब केही बेर म तिमीहरूसित हुनेछु।+ ३४ तिमीहरूले मलाई खोज्नेछौ तर फेला पार्नेछैनौ र म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।”+ ३५ त्यसैले यहुदीहरूले आपसमा यसो भन्दै कुरा गर्न थाले: “हामीले फेला पार्न नसक्नेगरि यो मानिस कहाँ जाँदै छ? ग्रीकहरूमाझ छरिएका यहुदीहरूकहाँ गएर यसले ती ग्रीकहरूलाई सिकाउने विचार गर्दै छ कि कसो? ३६ अनि ‘तिमीहरूले मलाई खोज्नेछौ तर फेला पार्नेछैनौ र म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भनेर यसले के भन्‍न खोजेको?”

३७ तब चाडको अन्तिम अनि सबैभन्दा महत्त्वपूर्ण दिनमा+ येसुले उभिएर ठूलो स्वरमा यसो भन्‍नुभयो: “यदि कसैलाई तिर्खा लागेको छ भने ऊ मकहाँ आओस्‌ र पिओस्‌।+ ३८ जसले ममाथि विश्‍वास गर्छ, धर्मशास्त्रले भनेजस्तै ‘उसको मनको गहिराइबाट जीवन दिने पानीको खोला बग्नेछ।’”+ ३९ उहाँले यी कुरा उहाँमाथि विश्‍वास गर्नेहरूले पाउन लागेको पवित्र शक्‍तिको विषयमा भन्‍नुभएको थियो। त्यतिबेलासम्म कसैले पनि पवित्र शक्‍ति पाएको थिएन+ किनकि उहाँ महिमित भइसक्नुभएको थिएन।+ ४० तब भीडमा हुनेहरूमध्ये कसै-कसैले उहाँको यो कुरा सुनेर यसो भन्‍न थाले: “यी मानिस पक्कै पनि भविष्यवक्‍ता हुनुपर्छ।”+ ४१ अरूचाहिँ यसो भनिरहेका थिए: “यी मानिस ख्रिष्ट हुन्‌।”+ तर केहीले यसो भने: “ख्रिष्ट पनि कहीँ गालिलबाट आउँछन्‌ र?+ ४२ ख्रिष्ट दाउदको सन्तानबाट+ अनि दाउदको गाउँ अर्थात्‌ बेतलेहेमबाट+ आउनेछन्‌+ भनेर के धर्मशास्त्रले बताएको छैन र?” ४३ तब उहाँको विषयलाई लिएर भीडमा फूट उत्पन्‍न भयो। ४४ यद्यपि तिनीहरूमध्ये कोही-कोही उहाँलाई पक्रन चाहन्थे तर कसैले पनि उहाँमाथि हात हालेन।

४५ त्यसैले मन्दिरका पहरेदारहरू फर्केर मुख्य पुजारीहरू र फरिसीहरूकहाँ गए अनि तिनीहरूले ती पहरेदारहरूलाई सोधे: “तिमीहरूले किन उसलाई पक्रेर ल्याएनौ?” ४६ पहरेदारहरूले जवाफ दिए: “यो मानिसले जस्तो त कसैले बोलेको छैन।”+ ४७ तिनीहरूको कुरा सुनेर फरिसीहरूले सोधे: “तिमीहरू पनि बहकियौ कि कसो? ४८ शासक वा फरिसीहरूमध्ये के कसैले त्यसमाथि विश्‍वास गरेको छ र?+ ४९ तर मोसाको व्यवस्था नजान्‍ने यो भीड श्रापित हो।” ५० तब तिनीहरूमध्येका एक जना, निकोदेमस, जो पहिला येसुलाई भेट्‌न गएका थिए, उनले तिनीहरूलाई भने: ५१ “हाम्रो व्यवस्थाअनुसार कसैलाई दोष लगाउनुअघि उसको कुरा सुन्‍नु अनि उसले के गर्दै छ, त्यो बुझ्नु आवश्‍यक छैन र?”+ ५२ उनको कुरा सुनेर तिनीहरूले भने: “के तिमी पनि गालिलकै हौ र? धर्मशास्त्रमा खोजेर हेर, गालिलबाट भविष्यवक्‍ता आउनेछ भनेर कतै लेखिएको छैन।”*

८ १२ तब येसुले तिनीहरूलाई फेरि भन्‍नुभयो: “म संसारको ज्योति हुँ।+ जो मेरो पछि लाग्छ, ऊ कुनै हालतमा अन्धकारमा हिँड्‌नेछैन बरु उसले जीवनको ज्योति पाउनेछ।”+ १३ त्यसैले फरिसीहरूले उहाँलाई भने: “तिमी आफ्नै विषयमा साक्षी दिन्छौ; त्यसैले तिम्रो साक्षी सत्य छैन।” १४ तब येसुले तिनीहरूलाई भन्‍नुभयो: “मैले आफ्नै विषयमा साक्षी दिए तापनि मेरो साक्षी सत्य छ किनकि म कहाँबाट आएँ र कहाँ जाँदै छु, मलाई थाह छ।+ तर म कहाँबाट आएँ र कहाँ जाँदै छु, तिमीहरूलाई थाह छैन। १५ तिमीहरू रूप हेरेर* न्याय गर्छौ+ तर म त कसैको न्याय नै गर्दिनँ। १६ अनि मैले न्याय नै गरेँ भने पनि मेरो न्याय सही हुन्छ किनकि म एक्लो छैनँ तर मलाई पठाउनुहुने बुबा मसँग हुनुहुन्छ।+ १७ साथै ‘दुई जना मानिसले दिएको साक्षी सत्य हुन्छ’ भनेर तिमीहरूकै व्यवस्थामा लेखिएको छ।+ १८ आफ्नो विषयमा साक्षी दिने एक जना मै हुँ अनि मलाई पठाउनुहुने बुबाले पनि मेरो विषयमा साक्षी दिनुहुन्छ।”+ १९ तिनीहरूले उहाँलाई फेरि सोधे: “तिम्रो बुबाचाहिँ कहाँ छ नि?” येसुले जवाफ दिनुभयो: “तिमीहरू न मलाई चिन्छौ न त मेरो बुबालाई।+ तिमीहरूले मलाई चिनेका भए मेरो बुबालाई पनि चिन्‍ने थियौ।”+ २० मन्दिरमा दानपात्रहरू राखिएको ठाउँमा+ बसेर सिकाइरहेको बेला उहाँले यी कुराहरू भन्‍नुभएको थियो। तैपनि कसैले उहाँलाई पक्रेन किनकि उहाँको बेला अझै आइपुगेको थिएन।+

२१ त्यसैले उहाँले तिनीहरूलाई फेरि भन्‍नुभयो: “म जाँदै छु र तिमीहरूले मलाई खोज्नेछौ तैपनि तिमीहरू आफ्नो पापैमा मर्नेछौ।+ म जहाँ जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।”+ २२ तब यहुदीहरूले भन्‍न थाले: “यसले आत्महत्या गर्न लाग्यो कि कसो? किनकि यसले ‘म जहाँ जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भन्दै छ।” २३ त्यसैले उहाँले तिनीहरूलाई अझ यसो भन्‍नुभयो: “तिमीहरू तलका हौ; म माथिको हुँ।+ तिमीहरू यस संसारका हौ; म यस संसारको होइनँ। २४ त्यसकारण मैले तिमीहरूलाई यसो भनेँ, तिमीहरू आफ्नो पापैमा मर्नेछौ। किनकि आउनेवाला मै हुँ भनेर यदि तिमीहरूले विश्‍वास गरेनौ भने तिमीहरू आफ्नो पापैमा मर्नेछौ।” २५ त्यसैले तिनीहरूले उहाँलाई भन्‍न थाले: “तिमी को हौ?” येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूसित कुरा गर्नु नै बेकार छ। २६ तिमीहरूको विषयमा मैले भन्‍नुपर्ने कुरा धेरै छ अनि न्याय गर्नुपर्ने कुरा पनि धेरै छ। साँच्चै भन्‍ने हो भने, मलाई पठाउनुहुने सत्य हुनुहुन्छ अनि उहाँबाट मैले जे सुनेँ, संसारमा त्यही कुरा बोल्दै छु।”+ २७ उहाँले तिनीहरूसित बुबाको विषयमा कुरा गरिरहनुभएको थियो भनेर तिनीहरूले बुझेनन्‌। २८ त्यसपछि येसुले भन्‍नुभयो: “तिमीहरूले मानिसको छोरालाई टाँगेपछि*+ यो थाह पाउनेछौ कि आउनेवाला मै हुँ+ र म आफूखुसी केही पनि गर्दिनँ+ तर बुबाले मलाई जे-जे सिकाउनुभयो, ती नै कुराहरू बोल्छु। २९ अनि मलाई पठाउनुहुने मसँगै हुनुहुन्छ; उहाँले मलाई एक्लै छोड्‌नुभएको छैन किनकि म सधैँ उहाँलाई मन पर्ने कामहरू गर्छु।”+ ३० उहाँले यी कुराहरू भनिरहनुभएको बेला धेरै जनाले उहाँमाथि विश्‍वास गरे।

३१ उहाँमाथि विश्‍वास गरेका यहुदीहरूलाई उहाँले अझै यसो भन्‍नुभयो: “तिमीहरू मेरो वचनमा रह्‍यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ ३२ अनि तिमीहरूले सत्य थाह पाउनेछौ+ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।”+ ३३ तिनीहरूले उहाँलाई जवाफ दिए: “हामी अब्राहामका सन्तान हौँ अनि हामी कहिल्यै कसैको दासत्वमा परेका छैनौँ। ‘तिमीहरू स्वतन्त्र हुनेछौ’ भनेर तिमी किन भन्छौ?” ३४ येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, पाप गर्ने हरेक मानिस पापको दास हो।+ ३५ साथै दास सधैँभरि मालिकको घरमा रहिरहँदैन तर छोरा भने सधैँभरि रहिरहन्छ। ३६ त्यसकारण छोराले तिमीहरूलाई स्वतन्त्र बनायो भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ। ३७ तिमीहरू अब्राहामका सन्तान हौ भनेर मलाई थाह छ तर तिमीहरू मलाई मार्न खोज्दै छौ किनकि तिमीहरू मेरो शिक्षा स्विकार्दैनौ। ३८ आफ्नो बुबासित छँदा मैले जे देखेँ, म त्यही बोल्छु;+ त्यसरी नै तिमीहरू पनि आफ्नो बुबाबाट जे सुन्छौ, त्यही गर्छौ।” ३९ तिनीहरूले उहाँलाई भने: “हाम्रो बुबा त अब्राहाम हुन्‌।” येसुले तिनीहरूलाई भन्‍नुभयो: “यदि तिमीहरू अब्राहामका सन्तान भएका भए+ तिमीहरूले अब्राहामको जस्तो काम गरिरहेका हुने थियौ। ४० तर अहिले तिमीहरू मलाई मार्न खोजिरहेका छौ; एउटा यस्तो मानिसलाई, जसले तिमीहरूलाई आफूले परमेश्‍वरबाट सुनेको सत्य कुरा बताएको छ।+ अब्राहामले त तिमीहरूले जस्तो गरेनन्‌। ४१ तिमीहरू आफ्नो बुबाको जस्तो काम गर्छौ।” तिनीहरूले उहाँलाई भने: “हामी अवैध यौनसम्बन्धबाट* जन्मेका होइनौँ; हाम्रो बुबा एकै जना हुनुहुन्छ अर्थात्‌ परमेश्‍वर।”

४२ येसुले तिनीहरूलाई भन्‍नुभयो: “यदि परमेश्‍वर तिमीहरूका बुबा हुनुहुँदो हो त तिमीहरूले मलाई प्रेम गर्ने थियौ+ किनकि म परमेश्‍वरबाट पठाइएको हुँ र म यहाँ छु। म आफूखुसी यहाँ आएको होइनँ तर उहाँले नै मलाई पठाउनुभएको हो।+ ४३ मैले भनेको कुरा तिमीहरू किन बुझ्दैनौ? किनकि तिमीहरू मेरो वचन सुन्‍न सक्दैनौ। ४४ तिमीहरू आफ्नो बुबा दियाबलबाट आएका हौ अनि आफ्नो बुबाकै इच्छा पूरा गर्न चाहन्छौ।+ त्यो त सुरुदेखि नै हत्यारा थियो+ र त्यो सत्यमा अडिग रहेन किनकि त्यसमा सत्य छैन। जब त्यसले झूट बोल्छ, तब आफ्नो स्वभावअनुसारै बोल्छ किनकि त्यो झूटा हो र झूटको बुबा हो।+ ४५ अर्कोतर्फ म तिमीहरूलाई सत्य कुरा बताउँछु तर तिमीहरू मलाई विश्‍वास गर्दैनौ। ४६ तिमीहरूमध्ये कसले मलाई पापी साबित गर्न सक्छ? यदि म सत्य बोल्छु भने तिमीहरू किन मलाई विश्‍वास गर्दैनौ? ४७ जो परमेश्‍वरको हो, उसले परमेश्‍वरले भन्‍नुभएका कुराहरू सुन्छ।+ तिमीहरू परमेश्‍वरका होइनौ, त्यसैले तिमीहरू सुन्दैनौ।”+

४८ यहुदीहरूले उहाँलाई भने: “तिमी सामरियाली हौ+ र तिमीमा प्रेत* बास गरेको छ+ भनेर के हामीले ठीकै भनेका होइनौँ र?” ४९ येसुले जवाफ दिनुभयो: “ममा प्रेत बास गरेको छैन। म आफ्नो बुबाको आदर गर्छु र तिमीहरू मेरो अनादर गर्छौ। ५० मैले आफ्नै महिमा खोजेको छैनँ+ तर जसले मेरो निम्ति त्यो महिमा खोज्नुहुन्छ, उहाँ न्यायकर्ता हुनुहुन्छ। ५१ म तिमीहरूलाई साँचो-साँचो भन्छु, यदि कसैले मेरो वचन पालन गर्छ भने उसले कहिल्यै मृत्यु देख्नेछैन।”+ ५२ यहुदीहरूले उहाँलाई भने: “तिमीमा प्रेत बास गरेको छ भनेर अब भने हामीलाई पक्का भयो। अब्राहाम मरे अनि त्यसैगरि भविष्यवक्‍ताहरू पनि मरे तर तिमीचाहिँ ‘यदि कसैले मेरो वचन पालन गर्छ भने उसले कहिल्यै मृत्यु चाख्नेछैन’ भन्छौ। ५३ तिमी हाम्रो बुबा अब्राहामभन्दा ठूलो हौ र? तिनी मरे अनि भविष्यवक्‍ताहरू पनि मरे। तिमी आफू को हुँ भनी दाबी गर्छौ?” ५४ येसुले जवाफ दिनुभयो: “यदि म आफ्नै महिमा गर्छु भने मेरो महिमा केही होइन। मेरो बुबा, जसलाई तिमीहरू आफ्नो परमेश्‍वर भन्छौ, उहाँले नै मलाई महिमित तुल्याउनुहुन्छ।+ ५५ तैपनि तिमीहरूले उहाँलाई चिनेका छैनौ।+ तर म उहाँलाई चिन्छु।+ यदि म उहाँलाई चिन्दिनँ भन्छु भने म पनि तिमीहरूजस्तै झूटा हुन्छु। तर म उहाँलाई चिन्छु र उहाँको वचन पालन गरिरहेको छु। ५६ तिमीहरूका बुबा अब्राहाम मेरो दिन हेर्ने आशामा असाध्यै रमाउँथे अनि तिनले त्यो दिन देखे र रमाए।”+ ५७ तब यहुदीहरूले उहाँलाई भने: “तिमी त ५० वर्ष पनि पुगेका छैनौ, त्यसोभए तिमीले कसरी अब्राहामलाई देख्यौ?” ५८ येसुले तिनीहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, अब्राहाम अस्तित्वमा आउनुभन्दा पहिल्यै म थिएँ।”+ ५९ त्यसैले तिनीहरूले येसुलाई हिर्काउन ढुङ्‌गा टिपे तर उहाँ लुक्नुभयो र मन्दिरबाट बाहिर निस्कनुभयो।

९ अब बाटोमा जाँदै गर्दा उहाँले एक जना जन्मजात अन्धो मानिसलाई देख्नुभयो। २ अनि चेलाहरूले उहाँलाई सोधे: “रब्बी,+ कसले पाप गरेकोले यो मानिस अन्धो जन्मियो, यसले कि यसका आमाबुबाले?” ३ येसुले जवाफ दिनुभयो: “न यस मानिसले पाप गरेकोले न त यसका आमाबुबाले पाप गरेकोले तर यस मानिसको मामिलामा परमेश्‍वरका कामहरू प्रकट होऊन्‌ भनेर यसो भएको हो।+ ४ मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ+ किनकि रात आउँदै छ, जब कुनै मानिसले काम गर्न सक्दैन। ५ जबसम्म म संसारमा छु, म संसारको ज्योति हुँ।”+ ६ यी कुराहरू भनेपछि उहाँले भुईँमा थुक्नुभयो अनि थुक र माटो मुछेर लेप बनाउनुभयो र त्यस मानिसको आँखामा लगाइदिनुभयो+ ७ अनि उसलाई भन्‍नुभयो: “जाऊ, सिलोआमको (जसको अनुवाद हो, “पठाइएको”) कुण्डमा गएर पखाल।” तब उसले गएर पखाल्यो अनि देख्ने भएर फर्कियो।+

८ तब छिमेकीहरूले अनि ज-जसले पहिला ऊ माग्न बसेको देख्ने गर्थे, तिनीहरूले यसो भन्‍न थाले: “के यो त्यही मानिस होइन र, जो पहिला माग्न बस्थ्यो?” ९ कोही-कोहीले भनिरहेका थिए: “त्यही हो।” अरूले यसो भनिरहेका थिए: “अहँ, होइन तर हेर्दा चाहिँ त्योजस्तै देखिन्छ।” त्यस मानिसले चाहिँ यसो भनिरहेको थियो: “म त्यही मानिस हुँ।” १० तब तिनीहरूले उसलाई सोधे: “त्यसोभए तिम्रो आँखा कसरी खुल्यो त?” ११ उसले जवाफ दियो: “येसु नाम गरेको एक जना मानिसले लेप बनाएर मेरो आँखामा लगाइदिनुभयो र मलाई ‘सिलोआममा गएर पखाल’ भन्‍नुभयो।+ त्यसैले मैले गएर पखालेँ अनि दृष्टि पाएँ।” १२ यो सुनेर तिनीहरूले उसलाई सोधे: “त्यो मानिस कहाँ छ?” उसले भन्यो: “मलाई थाह छैन।”

१३ तिनीहरूले त्यो मानिस, जो पहिला अन्धो थियो, उसलाई फरिसीहरूकहाँ लगे। १४ संयोगको कुरा, येसुले लेप बनाएर उसको आँखा खोलिदिनुभएको दिन+ विश्रामदिन* थियो।+ १५ त्यसकारण उसले कसरी दृष्टि पायो भनेर अब फरिसीहरूले पनि उसलाई सोध्न थाले। उसले तिनीहरूलाई भन्यो: “उहाँले मेरो आँखामा लेप लगाइदिनुभयो अनि मैले पखालेँ र देख्ने भएँ।” १६ तब केही फरिसीले भन्‍न लागे: “त्यो मानिस परमेश्‍वरबाट आएको होइन किनभने त्यसले विश्रामदिन मान्दैन।”+ अरूले चाहिँ यसो भने: “पापी मानिसले कसरी त्यस्ता किसिमका चमत्कारहरू गर्न सक्छ र?”+ यसरी तिनीहरूमाझ फूट उत्पन्‍न भयो।+ १७ तिनीहरूले त्यस अन्धो मानिसलाई फेरि सोधे: “तिमी उसको विषयमा के भन्छौ? किनकि उसले तिम्रै आँखा खोलिदिएको हो।” त्यस मानिसले भन्यो: “उहाँ भविष्यवक्‍ता हुनुहुन्छ।”

१८ तर त्यस अन्धो मानिसका आमाबुबालाई नबोलाएसम्म यहुदीहरूले ऊ अन्धो थियो र अहिले देख्न सक्ने भएको हो भनेर पत्याएनन्‌। १९ तब तिनीहरूले उसका आमाबुबालाई सोधे: “के यो तिमीहरूको छोरा हो, जो जन्मैदेखि अन्धो थियो भनी तिमीहरू भन्छौ? त्यसोभए अहिले उसले कसरी देख्न सक्यो त?” २० उसका आमाबुबाले जवाफ दिए: “यो हाम्रो छोरा हो र ऊ जन्मैदेखि अन्धो थियो भनेर हामीलाई थाह छ। २१ तर ऊ अहिले कसरी देख्ने भयो वा कसले उसको आँखा खोलिदियो, त्योचाहिँ हामीलाई थाह छैन। उसैलाई सोध्नुहोस्‌। ऊ बच्चा होइन। आफ्नो विषयमा ऊ आफैले बताउनुपर्छ।” २२ यहुदीहरूसित डराएर+ उसका आमाबुबाले यसो भनेका थिए किनकि जसले येसुलाई ख्रिष्टको रूपमा स्विकार्छ, उसलाई सभाघरबाट निकाल्ने* भनी यहुदीहरूले पहिल्यै सहमति गरिसकेका थिए।+ २३ यसैकारण उसका आमाबुबाले भने: “ऊ बच्चा होइन। उसैसित सोधपुछ गर्नुहोस्‌।”

२४ त्यसैले तिनीहरूले त्यो मानिस, जो पहिला अन्धो थियो, उसलाई दोस्रो चोटि बोलाएर भने: “सत्य बोलेर परमेश्‍वरको महिमा गर; यो मानिस पापी हो भनेर हामीलाई थाह छ।” २५ उसले जवाफ दियो: “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्‍न, मलाई थाह छैन। मलाई यति मात्र थाह छ, म पहिला अन्धो थिएँ तर अहिले देख्ने भएको छु।” २६ तब तिनीहरूले उसलाई सोधे: “उसले तिमीलाई के गऱ्‍यो? उसले तिम्रो आँखा कसरी खोलिदियो?” २७ उसले तिनीहरूलाई जवाफ दियो: “मैले तपाईँहरूलाई पहिल्यै भनेको थिएँ तर तपाईँहरूले सुन्‍नुभएन। तपाईँहरू किन फेरि सुन्‍न चाहनुहुन्छ? कतै तपाईँहरू पनि उहाँको चेला बन्‍न त चाहनुहुन्‍न?” २८ यो सुनेर तिनीहरूले उसलाई होच्याउँदै यसो भने: “त्यस मानिसको चेला तिमी नै हौ; हामी त मोसाका चेला हौँ। २९ परमेश्‍वरले मोसासित कुरा गर्नुभएको थियो भनेर हामीलाई थाह छ तर यस मानिसको विषयमा भने ऊ कहाँबाट आएको हो, हामीलाई थाह छैन।” ३० त्यस मानिसले तिनीहरूलाई जवाफ दियो: “कस्तो अचम्मको कुरा! उहाँले मेरो आँखा खोलिदिनुभयो तैपनि उहाँ कहाँबाट आउनुभएको हो भनेर तपाईँहरूलाई थाह छैन। ३१ हामीलाई थाह छ, परमेश्‍वरले पापीहरूको कुरा सुन्‍नुहुन्‍न+ तर यदि कसैले परमेश्‍वरको डर मान्छ अनि उहाँको इच्छाअनुसार गर्छ भने उहाँले उसको कुरा सुन्‍नुहुन्छ।+ ३२ जन्मजात अन्धो मानिसको आँखा कसैले खोलिदियो भनेर आजसम्म सुनिएको छैन। ३३ यदि उहाँ परमेश्‍वरबाट आउनुभएको नहुँदो हो त उहाँले केही पनि गर्न सक्नुहुने थिएन।”+ ३४ तब तिनीहरूले उसलाई जवाफ दिए: “पापैमा जन्मेको मानिस भएर पनि के तिमी हामीलाई सिकाउँदै छौ?” अनि तिनीहरूले उसलाई बाहिर निकालिदिए।+

३५ तिनीहरूले उसलाई बाहिर निकाले भनी येसुले सुन्‍नुभयो र उसलाई भेटेपछि उहाँले सोध्नुभयो: “के तिमी मानिसको छोरामाथि विश्‍वास गर्छौ?” ३६ त्यस मानिसले जवाफ दियो: “उहाँ को हुनुहुन्छ हजुर? मलाई भन्‍नुहोस्‌ ताकि मैले उहाँमाथि विश्‍वास गर्न सकूँ।” ३७ येसुले भन्‍नुभयो: “तिमीले उसलाई देखेका छौ र वास्तवमा तिमी अहिले उसैसित कुरा गरिरहेका छौ।” ३८ तब उसले भन्यो: “प्रभु, म उहाँमाथि विश्‍वास गर्छु।” अनि उसले उहाँलाई दण्डवत्‌ गऱ्‍यो। ३९ येसुले भन्‍नुभयो: “म न्याय गर्न संसारमा आएको हुँ ताकि ज-जसले देख्दैनन्‌, तिनीहरूले देखून्‌+ र ज-जसले देख्छन्‌, तिनीहरू अन्धा होऊन्‌।”+ ४० उहाँसँगै भएका फरिसीहरूले जब यो कुरा सुने, तब तिनीहरूले उहाँलाई सोधे: “के हामी पनि अन्धा हौँ त?” ४१ येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू अन्धा हुँदा हौ त तिमीहरूमा पाप हुने थिएन। तर अब तिमीहरू भन्छौ: ‘हामी देख्छौँ।’ त्यसैले तिमीहरूको पाप रहिरहन्छ।”+

१० “म तिमीहरूलाई साँचो-साँचो भन्छु, जो ढोकाबाट नभई अर्कै ठाउँबाट चढेर गोठभित्र पस्छ, त्यो चोर अनि लुटेरा हो।+ २ तर जो ढोकाबाट भित्र पस्छ, ऊ भेडाहरूको गोठालो हो।+ ३ ढोकेले उसको निम्ति ढोका खोलिदिन्छ+ अनि भेडाहरूले उसको स्वर सुन्छन्‌।+ उसले आफ्ना भेडाहरूलाई नाम काढेर बोलाउँछ अनि डोऱ्‍याएर बाहिर लैजान्छ। ४ आफ्नाजति सबैलाई बाहिर ल्याएपछि ऊ तिनीहरूको अघिअघि जान्छ र भेडाहरू उसको पछिपछि लाग्छन्‌ किनकि तिनीहरूले उसको स्वर चिन्छन्‌। ५ तिनीहरू कुनै हालतमा अपरिचित मानिसको पछि लाग्दैनन्‌ बरु ऊदेखि भाग्छन्‌ किनकि अपरिचित मानिसहरूको स्वर तिनीहरूले चिन्दैनन्‌।” ६ येसुले यो उदाहरण तिनीहरूलाई सुनाउनुभयो तर उहाँले तिनीहरूलाई जे भनिरहनुभएको थियो, त्यसको अर्थ तिनीहरूले बुझेनन्‌।

७ त्यसैले येसुले फेरि भन्‍नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, म भेडाहरूको निम्ति ढोका हुँ।+ ८ जो-जो ढोँगी मेरो ठाउँ लिन आएका छन्‌, तिनीहरू सबै चोर अनि लुटेरा हुन्‌ तर भेडाहरूले तिनीहरूको स्वर सुनेका छैनन्‌। ९ म ढोका हुँ; जो मबाट भित्र पस्छ, उसले उद्धार पाउनेछ र ऊ भित्र-बाहिर गर्नेछ अनि उसले खर्कमा चर्न पाउनेछ।+ १० चोर त चोर्न, मार्न अनि नाश गर्नलाई मात्र आउँछ।+ तर म भने भेडाहरूले अनन्त जीवन पाऊन्‌ भनेर आएको हुँ। ११ म असल गोठालो हुँ;+ असल गोठालोले भेडाहरूका निम्ति आफ्नो ज्यान अर्पण गर्छ।+ १२ तर ज्यालादारी कामदार गोठालो होइन अनि भेडाहरू पनि उसको आफ्नै होइन, उसले ब्वाँसोलाई आउँदै गरेको देख्छ र भेडाहरूलाई छोडेर भाग्छ—ब्वाँसोले तिनीहरूलाई झम्टिन्छ अनि तितरबितर पार्छ— १३ किनकि ऊ ज्यालादारी कामदार हो र उसले भेडाहरूको वास्ता गर्दैन। १४ म असल गोठालो हुँ। म आफ्ना भेडाहरूलाई चिन्छु अनि मेरा भेडाहरूले मलाई चिन्छन्‌,+ १५ जसरी बुबाले मलाई चिन्‍नुहुन्छ र म बुबालाई चिन्छु+ अनि म भेडाहरूको निम्ति आफ्नो ज्यान अर्पण गर्छु।+

१६ “मेरा अरू भेडा छन्‌, जो यस गोठका होइनन्‌;+ तिनीहरूलाई पनि मैले ल्याउनै पर्छ अनि तिनीहरूले मेरो स्वर सुन्‍नेछन्‌ र तिनीहरू सबै एउटै बगालको अनि एकै जना गोठालोका हुनेछन्‌।+ १७ बुबाले मलाई यसैकारण प्रेम गर्नुहुन्छ+ किनकि म आफ्नो जीवन अर्पण गर्छु+ ताकि म त्यो फेरि प्राप्त गर्न सकूँ। १८ कसैले त्यो मबाट खोसेर लग्नेछैन बरु म आफै अग्रसर भएर त्यो अर्पण गर्छु। त्यो अर्पण गर्ने अधिकार मसित छ अनि फेरि प्राप्त गर्ने अधिकार पनि मसित छ।+ मैले आफ्नो बुबाबाट त्यस्तो अधिकार पाएको हुँ।”

१९ उहाँले भन्‍नुभएका यी कुराहरूले गर्दा यहुदीहरूमाझ फेरि फूट उत्पन्‍न भयो।+ २० तिनीहरूमध्ये धेरैले यसो भनिरहेका थिए: “उसमा प्रेत* बास गरेको छ, उसको दिमाग खुस्केको छ। तिमीहरू किन उसको कुरा सुन्छौ?” २१ अरूले चाहिँ यसो भने: “प्रेत बास गरेको मानिसले यस्तो कुरा गर्नै सक्दैन। के प्रेतले अन्धाहरूको आँखा खोलिदिन सक्छ र?”

२२ त्यतिखेर यरुसलेममा समर्पणको चाड चलिरहेको थियो। त्यो हिउँदको बेला थियो २३ अनि येसु मन्दिरमा सुलेमान दलान+ भनिने ठाउँमा हिँडिरहनुभएको थियो। २४ तब यहुदीहरूले उहाँलाई घेरेर सोध्न थाले: “तिमी कतिन्जेल हामीलाई अन्योलमा राख्छौ? यदि तिमी ख्रिष्ट हौ भने हामीलाई प्रस्ट भनिहाल।” २५ येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “मैले तिमीहरूलाई भनिसकेँ तैपनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ। मैले आफ्नो बुबाको नाममा गरिरहेका कामहरूले नै मेरो विषयमा साक्षी दिन्छन्‌।+ २६ तर तिमीहरू विश्‍वास गर्दैनौ किनकि तिमीहरू मेरा भेडा होइनौ।+ २७ मेरा भेडाहरूले मेरो स्वर सुन्छन्‌ र म तिनीहरूलाई चिन्छु अनि तिनीहरू मेरो पछि लाग्छन्‌।+ २८ म तिनीहरूलाई अनन्त जीवन दिन्छु+ अनि तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्‌ र कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजानेछैन।+ २९ मेरो बुबाले मलाई जे दिनुभएको छ, त्यो अरू सबै कुराभन्दा अनमोल छ अनि कसैले तिनीहरूलाई बुबाको हातबाट खोसेर लैजान सक्दैन।+ ३० म र बुबा एक हौँ।”*+

३१ यहुदीहरूले फेरि उहाँलाई हान्‍न ढुङ्‌गा टिपे। ३२ येसुले तिनीहरूलाई सोध्नुभयो: “मेरो बुबाको तर्फबाट मैले तिमीहरूलाई थुप्रै असल काम गरेर देखाएँ। यीमध्ये कुनचाहिँ कामको लागि तिमीहरू मलाई ढुङ्‌गा हान्‍न खोज्दै छौ?” ३३ यहुदीहरूले जवाफ दिए: “तिमीले गरेको कुनै असल कामको लागि हामीले ढुङ्‌गा हान्‍न खोजेका होइनौँ तर तिमीले ईश्‍वरनिन्दा गरेकोले+ हान्‍न खोजेका हौँ किनकि मानिस भएर पनि तिमी आफू ईश्‍वर हुँ भनी दाबी गर्छौ।” ३४ येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “के तिमीहरूको व्यवस्थामा यस्तो लेखिएको छैन, ‘मैले भनेँ: “तिमीहरू ईश्‍वरहरू* हौ”’?+ ३५ यदि परमेश्‍वरले आफ्नो वचनले दोषी ठहराएकाहरूलाई त ‘ईश्‍वरहरू’+ भन्‍नुभयो अनि धर्मशास्त्रमा लेखिएको कुरा रद्द गर्न सकिँदैन भने ३६ मैले ‘म परमेश्‍वरको छोरा हुँ’+ भनेँ भन्दैमा तिमीहरू कसरी मलाई ‘तिमीले ईश्‍वरनिन्दा गऱ्‍यौ’ भन्‍न सक्छौ, जबकि बुबाले नै मलाई पवित्र तुल्याएर संसारमा पठाउनुभएको हो? ३७ यदि मैले आफ्नो बुबाका कामहरू गरिरहेको छैनँ भने मलाई विश्‍वास नगर। ३८ तर यदि गरिरहेको छु भने मलाई विश्‍वास नगरे तापनि मेरा कामहरूलाई विश्‍वास गर+ ताकि म बुबासित एकतामा छु र बुबा मसित एकतामा हुनुहुन्छ भनी तिमीहरूले बुझ्न र विश्‍वास गरिरहन सक।”+ ३९ त्यसैले तिनीहरूले उहाँलाई फेरि पक्रन खोजे तर उहाँ तिनीहरूको हातबाट उम्कनुभयो।

४० तब उहाँ फेरि यर्दनपारि त्यस ठाउँमा जानुभयो, जहाँ युहन्‍नाले पहिला बप्तिस्मा गराउँथे+ अनि उहाँ त्यहीँ बस्नुभयो। ४१ अनि धेरै मानिस उहाँकहाँ आए र तिनीहरूले यसो भन्‍न थाले: “युहन्‍नाले एउटै चमत्कार गरेनन्‌ तर यस मानिसको विषयमा युहन्‍नाले भनेको सबै कुरा सत्य रहेछ।”+ ४२ त्यहाँ धेरै जनाले उहाँमाथि विश्‍वास गरे।

११ बेथानी भन्‍ने गाउँमा लाजरस नाम गरेका एक जना मानिस बिरामी परेका थिए। मरियम र तिनकी दिदी मार्था पनि त्यही गाउँमा बस्थे।+ २ वास्तवमा यी तिनै मरियम थिइन्‌, जसले प्रभुको पाउमा सुगन्धित तेल खन्याएकी थिइन्‌ र आफ्नो कपालले उहाँको पाउ पुछेकी थिइन्‌।+ बिरामी परेका लाजरस तिनकै भाइ थिए। ३ त्यसैले लाजरसका दिदीहरूले उहाँकहाँ यस्तो खबर पठाए: “प्रभु, हेर्नुहोस्‌, जसलाई तपाईँ माया गर्नुहुन्छ, तिनी बिरामी परेका छन्‌।” ४ तर यो कुरा सुनेपछि येसुले भन्‍नुभयो: “यस बिमारीको अन्तिम परिणाम मृत्यु हुनेछैन तर यसले परमेश्‍वरको महिमा गर्नेछ+ ताकि यसद्वारा परमेश्‍वरको छोराको महिमा होस्‌।”

५ मार्था, तिनकी बहिनी र लाजरसलाई येसु माया गर्नुहुन्थ्यो। ६ तैपनि जब उहाँले लाजरस बिरामी परेको खबर पाउनुभयो, उहाँ अझै दुई दिन पहिलेकै ठाउँमा बस्नुभयो। ७ त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “आओ, हामी फेरि यहुदिया जाऔँ।” ८ चेलाहरूले उहाँलाई भने: “रब्बी,+ यहुदियाका मानिसहरूले केही समयअघि मात्र तपाईँलाई ढुङ्‌गा हान्‍न खोजेका थिए+ तैपनि तपाईँ फेरि त्यहीँ जाँदै हुनुहुन्छ?” ९ येसुले जवाफ दिनुभयो: “दिनमा १२ घण्टा उज्यालो हुन्छ, होइन?+ यदि कोही दिनको उज्यालोमा हिँड्‌छ भने उसले कुनै कुरामा ठेस खाँदैन किनकि उसले यस संसारको ज्योति देख्छ। १० तर यदि कोही राती हिँड्‌छ भने उसले ठेस खान्छ किनकि ऊसित ज्योति छैन।”

११ यी कुराहरू भनेपछि उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “हाम्रा मित्र लाजरस सुतेका छन्‌+ तर म तिनलाई ब्युँझाउन त्यहाँ जाँदै छु।” १२ तब चेलाहरूले उहाँलाई भने: “प्रभु, यदि तिनी सुतेका छन्‌ भने त ठीक हुन्छन्‌ होला।” १३ तर येसुले तिनको मृत्युको विषयमा कुरा गर्नुभएको थियो। तर तिनीहरूले भने उहाँले निद्रा लागेर सुत्ने विषयमा भन्‍नुभएको होला भन्ठाने। १४ तब येसुले तिनीहरूलाई प्रस्टसित बताउनुभयो: “लाजरस मरिसकेका छन्‌।+ १५ तर म तिमीहरूको निम्ति रमाउँछु किनकि म त्यहाँ थिइनँ र अब तिमीहरूको विश्‍वास अझ बलियो हुनेछ। आओ, हामी तिनीकहाँ जाऔँ।” १६ त्यसैले जुम्ल्याहा भनिने थोमाले अरू चेलाहरूलाई भने: “लौ, हामी पनि जाऔँ अनि उहाँसितै मरौँ।”+

१७ येसु आउनुभएपछि लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको रहेछ भनेर उहाँले थाह पाउनुभयो। १८ बेथानी यरुसलेमबाट नजिकै, लगभग तीन किलोमिटर* पर थियो। १९ धेरै यहुदीहरू मार्था र मरियमलाई तिनीहरूको भाइको मृत्यु भएकोले सान्त्वना दिन आएका थिए। २० येसु आउँदै हुनुहुन्छ भन्‍ने सुनेर मार्था उहाँलाई भेट्‌न गइन्‌ तर मरियमचाहिँ+ घरमै बसिरहिन्‌। २१ मार्थाले येसुलाई भनिन्‌: “हे प्रभु, तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन। २२ अनि अहिले पनि मलाई थाह छ, तपाईँले परमेश्‍वरसित जेसुकै माग्नुभए तापनि उहाँले तपाईँलाई दिनुहुनेछ।” २३ येसुले तिनलाई भन्‍नुभयो: “तिम्रो भाइ ब्युँतनेछ।” २४ मार्थाले उहाँलाई भनिन्‌: “मलाई थाह छ, अन्तको दिनमा जब मरेकाहरूलाई फेरि जीवित पारिनेछ, तब ऊ ब्युँतनेछ।”+ २५ येसुले तिनलाई भन्‍नुभयो: “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ।+ जसले ममाथि विश्‍वास गर्छ, ऊ मऱ्‍यो भने पनि फेरि जीवित हुनेछ। २६ अनि जो अहिले जीवित छ र ममाथि विश्‍वास गर्छ, ऊ कहिल्यै मर्नेछैन।+ के तिमी यो कुरामा विश्‍वास गर्छ्यौ?” २७ तिनले उहाँलाई भनिन्‌: “गर्छु प्रभु। तपाईँ नै परमेश्‍वरका छोरा अनि संसारमा आउनेवाला ख्रिष्ट हुनुहुन्छ भनेर मैले विश्‍वास गरेकी छु।” २८ यति भनेपछि तिनी फर्किन्‌ र आफ्नी बहिनी मरियमलाई बोलाएर खुसुक्क भनिन्‌: “गुरुज्यू+ आउनुभएको छ र तिमीलाई बोलाउँदै हुनुहुन्छ।” २९ यो सुन्‍नेबित्तिकै मरियम जुरुक्क उठेर उहाँलाई भेट्‌न गइन्‌।

३० येसु यतिबेलासम्म गाउँभित्र पसिसक्नुभएको थिएन; उहाँ अझै मार्थाले भेटेकै ठाउँमा हुनुहुन्थ्यो। ३१ जब ती यहुदीहरू, जो मरियमको घरमा थिए र जसले तिनलाई सान्त्वना दिइरहेका थिए, तिनीहरूले मरियमलाई जुरुक्क उठेर गएको देखे, तब तिनीहरू तिनको पछिपछि लागे। किनकि तिनीहरूले मरियम चिहानमा+ रुन गएकी होलिन्‌ भन्ठाने। ३२ जब मरियम येसु हुनुभएको ठाउँमा आइपुगिन्‌ र उहाँलाई देखिन्‌, तब तिनी उहाँको पाउमा घोप्टो परिन्‌ र यसो भनिन्‌: “हे प्रभु, तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।” ३३ तिनलाई र तिनीसित आएका यहुदीहरूलाई रोइरहेको देखेपछि येसु अत्यन्तै व्याकुल हुनुभयो र सुस्केरा हाल्नुभयो। ३४ अनि उहाँले सोध्नुभयो: “तिमीहरूले उसलाई कहाँ राखेका छौ?” तिनीहरूले उहाँलाई भने: “प्रभु, आएर हेर्नुहोस्‌।” ३५ तब येसु रुनुभयो।+ ३६ यो देखेर यहुदीहरूले भन्‍न थाले: “हेर त, उहाँले तिनलाई कत्ति माया गर्नुहुँदो रहेछ!” ३७ तर तिनीहरूमध्ये केहीले यसो भने: “अन्धो मानिसको आँखा खोलिदिने+ यस मानिसले के उसलाई चाहिँ मर्नदेखि रोक्न सकेन?”

३८ तब येसुले फेरि सुस्केरा हाल्नुभयो र उहाँ चिहानमा जानुभयो। वास्तवमा यो ओडार थियो र यसको मुखमा ढुङ्‌गा राखिएको थियो। ३९ येसुले भन्‍नुभयो: “ढुङ्‌गा हटाओ।” मृतककी दिदी मार्थाले उहाँलाई भनिन्‌: “प्रभु, अहिलेसम्म त गन्हाउन थालिसक्यो होला किनकि चार दिन भइसक्यो।” ४० येसुले तिनलाई भन्‍नुभयो: “के मैले तिमीलाई भनिनँ, यदि तिमीले विश्‍वास गऱ्‍यौ भने परमेश्‍वरको महिमा देख्नेछ्यौ?”+ ४१ त्यसपछि तिनीहरूले ढुङ्‌गा हटाए। तब येसुले आकाशतिर हेरेर+ भन्‍नुभयो: “हे बुबा, म तपाईँलाई धन्यवाद दिन्छु किनकि तपाईँले मेरो प्रार्थना सुन्‍नुभएको छ। ४२ हो, मलाई थाह थियो, तपाईँ सधैँ मेरो प्रार्थना सुन्‍नुहुन्छ तर वरपर उभिरहेको भीडको खातिर मैले तपाईँलाई यसो भनेँ ताकि तपाईँले नै मलाई पठाउनुभएको हो भनेर यिनीहरूले विश्‍वास गर्न सकून्‌।”+ ४३ यी कुराहरू भनेपछि उहाँले ठूलो स्वरमा भन्‍नुभयो: “ए लाजरस, बाहिर आऊ!”+ ४४ त्यो मरेको मानिस उसको हातखुट्टा कपडाले बेरिएकै अवस्थामा उठेर आयो अनि उसको अनुहारमा पनि कपडा बेरिएको थियो। येसुले तिनीहरूलाई भन्‍नुभयो: “उसलाई फुकाइदेओ र जान देओ।”

४५ त्यसकारण मरियमकहाँ आएका र उहाँले गर्नुभएको यो काम देखेका यहुदीहरूमध्ये धेरैले उहाँमाथि विश्‍वास गरे+ ४६ तर तिनीहरूमध्ये केहीले फरिसीहरूकहाँ गएर येसुले गर्नुभएको कामबारे बताइदिए। ४७ तब मुख्य पुजारीहरू र फरिसीहरूले यहुदी न्यायपरिषद्‌को बैठक बोलाए अनि यसो भने: “यस मानिसले धेरै चमत्कार गर्दै छ, अब हामी के गरौँ?+ ४८ यदि हामीले त्यसलाई त्यत्तिकै छोडिदियौँ भने तिनीहरू सबैले त्यसमाथि विश्‍वास गर्नेछन्‌ र रोमीहरू आएर हाम्रो ठाउँ* र हाम्रो जाति दुवै कब्जा गर्नेछन्‌।” ४९ तर तिनीहरूमध्ये एक जना, कैयाफा,+ जो त्यस वर्ष प्रधानपुजारी थिए, तिनले भने: “तिमीहरूलाई केही पनि थाह छैन ५० अनि पूरै जाति नाश हुनुभन्दा सबै मानिसको निम्ति एक जना मानिस मर्नु नै तिमीहरूको निम्ति फाइदाजनक हुन्छ भनेर तिमीहरू सोच्दैनौ।” ५१ तथापि यो तिनले आफ्नै तर्फबाट बोलेका थिएनन्‌। तर त्यस वर्ष प्रधानपुजारी भएकोले तिनले यो भविष्यवाणी गरेका थिए कि पूरै जातिको लागि येसु मर्नुपर्नेछ ५२ अनि त्यस जातिको लागि मात्र होइन तर छरिएर रहेका परमेश्‍वरका सन्तानलाई एकसाथ जम्मा गर्नलाई पनि उहाँ मर्नुपर्नेछ। ५३ त्यसैले त्यस दिनदेखि उसो तिनीहरूले उहाँलाई मार्न मतो गरे।

५४ त्यसैले त्यस उप्रान्त येसु यहुदीहरूमाझ खुल्लमखुल्ला हिँड्‌नुभएन बरु त्यो ठाउँ छोडेर उहाँ निर्जनभूमिनजिकै पर्ने इलाकामा एप्रैम+ भनिने सहरमा जानुभयो र आफ्ना चेलाहरूसित त्यहीँ बस्नुभयो। ५५ अब यहुदीहरूको निस्तार चाड+ नजिकै थियो र धेरै मानिस निस्तार चाडअघि नियमअनुसारै आफूलाई शुद्ध पार्न आ-आफ्ना इलाकाहरूबाट निस्केर यरुसलेम गए। ५६ तिनीहरूले येसुलाई खोज्न थाले र मन्दिर परिसरमा उभिएर आपसमा यसो भन्‍न थाले: “तिमीहरूलाई कस्तो लाग्छ? उहाँ चाडमा आउँदै आउनुहुन्‍न होला त?” ५७ मुख्य पुजारीहरू र फरिसीहरूले उहाँ कहाँ हुनुहुन्छ भनी कसैलाई थाह भएमा त्यसबारे खबर गर्नू भनेर आदेश दिएका थिए किनकि तिनीहरू उहाँलाई पक्रन चाहन्थे।

१२ निस्तार चाड* सुरु हुनुभन्दा छ दिनअघि येसु बेथानी आइपुग्नुभयो। येसुले मृत्युबाट ब्युँताउनुभएका लाजरस यहीँका थिए।+ २ त्यसैले तिनीहरूले त्यहाँ उहाँको लागि साँझको भोज तयार पारे। मार्था उहाँहरूको सेवा गरिरहेकी थिइन्‌।+ अनि उहाँसित खान बसिरहेका मानिसहरूमा लाजरस पनि थिए। ३ तब मरियमले आधा लिटरजति* असल जटामसीको असाध्यै महँगो सुगन्धित तेल ल्याएर येसुको पाउमा खन्याइन्‌ र आफ्नो केशले उहाँको पाउ पुछिन्‌। अनि पूरै घर सुगन्धित तेलको मगमग बास्नाले भरियो।+ ४ तर उहाँका चेलाहरूमध्ये एक जना, यहुदा इस्करियोत,+ जसले उहाँलाई धोका दिन आँटेका थिए, तिनले भने: ५ “यो सुगन्धित तेल ३०० दिनारमा* बेचेर त्यसबाट आएको पैसा गरिबहरूलाई किन दिइएन?” ६ वास्तवमा तिनले गरिबहरूको चिन्ता गरेर यसो भनेका थिएनन्‌ तर तिनी चोर थिए। तिनले कन्तुर बोक्ने गर्थे र त्यसमा राखिएको पैसा चोर्ने गर्थे। ७ तब येसुले भन्‍नुभयो: “भैगो, उनलाई नरोक। मेरो लास गाड्‌ने दिनको तयारीस्वरूप उनले यसो गरेकी छिन्‌।+ ८ गरिबहरू त तिमीहरूसित सधैँभरि हुन्छन्‌+ तर म भने तिमीहरूसित सधैँभरि हुँदिनँ।”+

९ उहाँ त्यहाँ हुनुहुन्छ भनेर यहुदीहरूको ठूलो जमातले थाह पायो अनि तिनीहरू येसुलाई मात्र होइन तर उहाँले मृत्युबाट ब्युँताउनुभएका लाजरसलाई पनि हेर्न आए।+ १० त्यसैले मुख्य पुजारीहरूले लाजरसलाई पनि मार्ने मतो गरे ११ किनभने तिनकै कारणले गर्दा यहुदीहरूमध्ये धेरै जना त्यहाँ गएका थिए अनि तिनीहरूले येसुमाथि विश्‍वास गर्न थालेका थिए।+

१२ यसको भोलिपल्ट, चाडको लागि आएको ठूलो जमातले येसु यरुसलेम आउँदै हुनुहुन्छ भन्‍ने सुन्यो। १३ त्यसैले तिनीहरू खजुरका हाँगाहरू लिएर उहाँलाई भेट्‌न गए। त्यसपछि तिनीहरूले यसो भन्दै जयजयकार गर्न थाले: “हे परमेश्‍वर, उहाँको रक्षा गर्नुहोस्‌! यहोवा* परमेश्‍वरको नाममा आउने इस्राएलका राजा धन्यका हुन्‌!”+ १४ अनि येसुले गधाको एउटा बछेडो भेट्टाउनुभयो र उहाँ त्यसमाथि बस्नुभयो,+ जस्तो लेखिएको छ: १५ “हे सियोनकी छोरी, नडराऊ! हेर, तिम्रा राजा गधाको बछेडोमाथि सवार भएर आउँदै छन्‌।”+ १६ सुरुमा त उहाँका चेलाहरूले यी कुराहरू बुझेनन्‌ तर जब येसु महिमित हुनुभयो,+ तब उहाँको विषयमा लेखिएका यी कुराहरू चेलाहरूले सम्झे र यसैकारण भीडले उहाँलाई त्यसो गरेको रहेछ भनी बुझे।+

१७ येसुले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुभएको+ र तिनलाई मृत्युबाट ब्युँताउनुभएको देखेका मानिसहरूले यस विषयमा साक्षी दिइरहे।+ १८ उहाँले गर्नुभएको यो चमत्कारबारे सुनेकोले पनि मानिसहरूको जमात उहाँलाई भेट्‌न आएको थियो। १९ तब फरिसीहरूले* आपसमा भन्‍न थाले: “देख्यौ, तिमीहरूले केही गर्न सकेनौ। हेर त, सारा संसार उसको पछि लागिसक्यो!”+

२० अब चाडको बेला उपासना गर्न आउनेहरूमध्ये केही ग्रीक पनि थिए। २१ त्यसैले यिनीहरू फिलिपकहाँ आए,+ जो गालिलको बेथसेदाका थिए र उनीहरूले तिनलाई यसो भन्दै बिन्ती गर्न थाले: “हजुर, हामी येसुलाई भेट्‌न चाहन्छौँ।” २२ तब फिलिपले गएर अन्द्रियासलाई भने। त्यसपछि अन्द्रियास र फिलिप गए अनि येसुलाई भने।

२३ तर येसुले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “मानिसको छोरा महिमित हुने बेला आइपुगेको छ।+ २४ म तिमीहरूलाई साँचो-साँचो भन्छु, जमिनमा खसेर नमरुन्जेल गहुँको एउटा गेडा एउटै मात्र रहन्छ तर त्यो मऱ्‍यो भने+ त्यसले धेरै फल फलाउँछ। २५ जसले आफ्नो ज्यानलाई प्यारो ठान्छ, उसले त्यो नाश गर्छ तर जसले यस संसारमा आफ्नो ज्यानलाई घृणा गर्छ,+ उसले अनन्त जीवनको लागि त्यसको रक्षा गर्नेछ।+ २६ यदि कोही मेरो सेवा गर्न चाहन्छ भने ऊ मेरो पछि लागोस्‌ अनि म जहाँ हुन्छु, मेरो सेवक पनि त्यहीँ हुनेछ।+ यदि कोही मेरो सेवा गर्न चाहन्छ भने मेरो बुबाले उसको आदर गर्नुहुनेछ। २७ अब म व्याकुल भएको छु,+ त्यसैले म के भनूँ? हे बुबा, यस घडीबाट मलाई जोगाउनुहोस्‌।+ तर यसैको लागि म यस घडीसम्म आइपुगेको हुँ। २८ हे बुबा, तपाईँको नाम महिमित पार्नुहोस्‌।” तब आकाशबाट एउटा आवाज आयो:+ “मैले महिमित पारेको छु र फेरि पनि महिमित पार्नेछु।”+

२९ जब वरपर उभिरहेको भीडले यो आवाज सुन्यो, तब तिनीहरूले मेघ गर्जिएको हो भन्‍न थाले। अरूले चाहिँ यसो भने: “स्वर्गदूतले उहाँसित कुरा गरेको हो।” ३० येसुले भन्‍नुभयो: “यो आवाज मेरो लागि होइन तर तिमीहरूका लागि आएको हो। ३१ अहिले यस संसारको न्याय हुँदै छ; अब यस संसारको शासक+ बाहिर फ्याँकिनेछ।+ ३२ तर जहाँसम्म मेरो कुरा छ, जब म पृथ्वीबाट माथि उचालिन्छु,+ तब हरकिसिमका मानिसहरूलाई आफूतर्फ आकर्षित गर्नेछु।” ३३ आफूले कस्तो प्रकारको मृत्यु भोग्न लागेको छु भनी देखाउन+ उहाँले वास्तवमा यी कुराहरू भनिरहनुभएको थियो। ३४ तब भीडले उहाँलाई जवाफ दियो: “ख्रिष्ट सधैँभरि रहिरहनुहुन्छ+ भनेर हामीले मोसाको व्यवस्थाबाट सुनेका थियौँ। तर तपाईँचाहिँ मानिसको छोरा टाँगिनुपर्छ* भनेर कसरी भन्‍नुहुन्छ?+ यो मानिसको छोरा को हो?” ३५ तब येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूमाझ अब अलिक बेरसम्म ज्योति रहनेछ। ज्योति छउन्जेल तिमीहरू त्यसैमा हिँड ताकि अन्धकारले तिमीहरूलाई नछोपोस्‌; जो अन्धकारमा हिँड्‌छ, उसलाई आफू कहाँ जाँदै छु भनेर थाह हुँदैन।+ ३६ तिमीहरूसित ज्योति छँदै ज्योतिमा विश्‍वास गर अनि तिमीहरू ज्योतिका सन्तान बन्‍न सक्नेछौ।”+

यी कुराहरू भनेपछि येसु जानुभयो र तिनीहरूबाट लुक्नुभयो। ३७ उहाँले तिनीहरूको अगाडि धेरै चमत्कार गर्नुभएको थियो तैपनि तिनीहरूले उहाँमाथि विश्‍वास गरेनन्‌। ३८ यसरी भविष्यवक्‍ता यसैयाको यो वचन पूरा भयो: “हे यहोवा,* हाम्रो कुरा* कसले विश्‍वास गर्छ?+ कसलाई यहोवाले* आफ्नो शक्‍ति* प्रकट गर्नुभएको छ?”+ ३९ तिनीहरूले विश्‍वास गर्न नसक्नुको कारणबारे यसैयाले फेरि भने: ४० “उहाँले तिनीहरूको आँखा बन्द गरिदिनुभएको छ र तिनीहरूको हृदय कठोर बनाइदिनुभएको छ ताकि तिनीहरूले आफ्नो आँखाले नदेखून्‌ र आफ्नो हृदयले नबुझून्‌ अनि मकहाँ फर्केर नआऊन्‌ र मैले तिनीहरूलाई निको पार्न नपरोस्‌।”+ ४१ यसैयाले यी कुराहरू भने किनकि तिनले ख्रिष्टको महिमा देखेका थिए अनि उहाँको विषयमा बताएका थिए।+ ४२ वास्तवमा शासकहरूमध्ये* धेरै जनाले उहाँमाथि विश्‍वास गर्थे+ तर सभाघरबाट निष्कासित हुन नपरोस्‌ भनेर फरिसीहरूको डरले गर्दा उहाँलाई खुलेआम स्विकार्दैनथे+ ४३ किनकि तिनीहरू परमेश्‍वरबाट पाउने महिमाभन्दा मानिसहरूबाट पाउने महिमा बढी मन पराउँथे।+

४४ तर येसुले ठूलो स्वरमा भन्‍नुभयो: “जसले ममाथि विश्‍वास गर्छ, उसले ममाथि मात्र होइन तर मलाई पठाउनुहुनेमाथि पनि विश्‍वास गर्छ।+ ४५ अनि जसले मलाई देख्छ, उसले मलाई पठाउनुहुनेलाई पनि देख्छ।+ ४६ म यस संसारमा ज्योति बनेर आएको छु+ ताकि ज-जसले ममाथि विश्‍वास गर्छन्‌, तिनीहरू अन्धकारमा रहिरहन नपरोस्‌।+ ४७ तर यदि कसैले मेरो वचन सुन्छ तर पालन गर्दैन भने म उसको न्याय गर्दिनँ किनकि म संसारको न्याय गर्न होइन तर संसारको उद्धार गर्न आएको हुँ।+ ४८ जसले मलाई इन्कार गर्छ अनि मेरो वचन स्विकार्दैन, उसलाई न्याय गर्ने अरू नै कोही छ। मैले बोलेको वचनले नै अन्तको दिनमा उसको न्याय गर्नेछ। ४९ किनभने मैले आफ्नै तर्फबाट बोलेको छैनँ तर मेरो बुबा, जसले मलाई पठाउनुभयो, उहाँले नै के भन्‍ने र के सिकाउने भनी मलाई आज्ञा दिनुभएको छ।+ ५० साथै मलाई थाह छ, उहाँको आज्ञाको अर्थ अनन्त जीवन हो।+ त्यसैले म जे बोल्छु, बुबाले मलाई भन्‍नुभएअनुसारै बोल्छु।”+

१३ यस संसारलाई छोडेर बुबाकहाँ जाने बेला आइसकेको छ भनी येसुलाई निस्तार चाडअघि* नै थाह थियो।+ त्यसैले यस संसारमा भएका उहाँका आफ्नाहरू, जसलाई उहाँ प्रेम गर्नुहुन्थ्यो, तिनीहरूलाई अन्तसम्मै प्रेम गरिरहनुभयो।+ २ साँझको भोज चलिरहेको थियो। यतिन्जेलसम्ममा दियाबलले सिमोनको छोरा यहुदा इस्करियोतको हृदयमा उहाँलाई धोका दिने विचार हालिदिइसकेको थियो।+ ३ येसुलाई पनि बुबाले सबै कुरा आफ्नो हातमा दिइसक्नुभएको छ र आफू परमेश्‍वरबाट आएको हुँ अनि परमेश्‍वरकहाँ नै जाँदै छु+ भनी थाह भइसकेको थियो। ४ त्यसैले खाइरहेको ठाउँबाट उहाँ उठ्‌नुभयो र आफ्नो खास्टो छेउमा राख्नुभयो अनि एउटा तौलिया लिएर कम्मरमा बेर्नुभयो।+ ५ त्यसपछि उहाँले एउटा बाटामा पानी हाल्नुभयो अनि चेलाहरूको खुट्टा धुन र आफूले बेरेको तौलियाले पुछ्‌न थाल्नुभयो। ६ जब उहाँ सिमोन पत्रुसकहाँ पुग्नुभयो, तब तिनले उहाँलाई भने: “प्रभु, तपाईँले मेरो खुट्टा धुने?” ७ येसुले तिनलाई जवाफ दिनुभयो: “म के गर्दै छु, त्यो तिमी अहिले बुझ्दैनौ तर पछि बुझ्नेछौ।” ८ पत्रुसले उहाँलाई भने: “तपाईँले कुनै हालतमा मेरो खुट्टा धुन मिल्दैन।” येसुले तिनलाई भन्‍नुभयो: “मैले धोइनँ भने+ तिम्रो मसित केही भाग हुनेछैन।” ९ सिमोन पत्रुसले उहाँलाई भने: “प्रभु, मेरो खुट्टा मात्र होइन तर मेरो हात र टाउको पनि धोइदिनुहोस्‌।” १० येसुले तिनलाई भन्‍नुभयो: “जसले नुहाइसकेको छ, ऊ पूरै सफा भएकोले उसको खुट्टा मात्र धोए पुग्छ। तिमीहरू पनि सफा छौ तर सबै जना त होइन।” ११ कसले उहाँलाई धोका दिनेछ भनी उहाँलाई थाह थियो।+ त्यसैले उहाँले भन्‍नुभयो: “तिमीहरू सबै त सफा छैनौ।”

१२ तिनीहरूको खुट्टा धोइसकेपछि उहाँले आफ्नो खास्टो ओढ्‌नुभयो र फेरि टेबुलमा बस्नुभयो। त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मैले तिमीहरूका निम्ति के गरेँ, के तिमीहरूले बुझ्यौ? १३ तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ। तिमीहरूले ठीक भनेका हौ किनकि म त्यही हुँ।+ १४ त्यसैले यदि प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएँ भने+ तिमीहरूले पनि एकअर्काको खुट्टा धुनुपर्छ।*+ १५ मैले तिमीहरूका लागि नमुना बसालेको हुनाले मैले तिमीहरूका निम्ति जे गरेँ, तिमीहरूले पनि त्यसै गर्नुपर्छ।+ १६ म तिमीहरूलाई साँचो-साँचो भन्छु, दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन न त पठाइएको व्यक्‍ति उसलाई पठाउनेभन्दा ठूलो हुन्छ। १७ तिमीहरूलाई यी कुराहरू थाह छ अनि यदि तिमीहरू यी कुराहरू गर्छौ भने आनन्दित हौ।+ १८ तिमीहरू सबैको विषयमा मैले यो कुरा भनेको होइनँ किनकि मैले ज-जसलाई रोजेँ, उनीहरूलाई म चिन्छु। तर धर्मशास्त्रमा लेखिएको यो कुरा पूरा होस्‌ भनेर यसो भएको हो:+ ‘जसले मेरो रोटी खान्थ्यो, उसैले मलाई लात हान्‍न खुट्टा उचालेको छ।’*+ १९ अब यी कुराहरू हुनुअघि नै म तिमीहरूलाई भन्दै छु ताकि जब यी कुराहरू हुन्छन्‌, तब म उही हुँ भनी तिमीहरूले विश्‍वास गर्न सक।+ २० म तिमीहरूलाई साँचो-साँचो भन्छु, जसले मैले पठाएको व्यक्‍तिलाई स्वागत गर्छ, उसले मलाई पनि स्वागत गर्छ।+ अनि जसले मलाई स्वागत गर्छ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्छ।”+

२१ यी कुराहरू भनिसकेपछि येसु अत्यन्तै व्याकुल हुनुभयो र खुलस्त यसो भन्‍नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”+ २२ यो कुरा उहाँले कसको विषयमा भन्‍नुभएको होला भन्‍ने नबुझेर चेलाहरू एकअर्कालाई हेराहेर गर्न थाले।+ २३ उहाँका चेलाहरूमध्ये एक जना, जसलाई येसु प्रेम गर्नुहुन्थ्यो,+ तिनी येसुको छेवैमा बसिरहेका थिए। २४ त्यसकारण सिमोन पत्रुसले मुन्टो हल्लाएर इसारा गर्दै ती चेलालाई भने: “उहाँले कसको विषयमा भन्‍नुभएको हो, हामीलाई भन न।” २५ त्यसैले येसुको छातीमा अडेस लाग्दै ती चेलाले सोधे: “प्रभु, कसले?”+ २६ येसुले जवाफ दिनुभयो: “रोटीको टुक्रा चोपेर म जसलाई दिन्छु, उसैले।”+ त्यसपछि उहाँले रोटीको टुक्रा चोपेर सिमोन इस्करियोतको छोरा यहुदालाई दिनुभयो। २७ तिनले रोटीको टुक्रा लिएपछि सैतान तिनीभित्र पस्यो।+ त्यसकारण येसुले तिनलाई भन्‍नुभयो: “तिमी जे गर्दै छौ, झट्टै सिद्‌ध्याइहाल।” २८ तथापि उहाँले किन तिनलाई त्यसो भन्‍नुभयो, टेबुलमा खान बसेकाहरूमध्ये कसैले पनि बुझेनन्‌। २९ यहुदाले पैसाको कन्तुर बोक्ने गरेका थिए,+ त्यसैले येसुले तिनलाई “चाडको लागि हामीलाई चाहिने कुरा किन” भन्‍नुभएको होला वा गरिबहरूलाई केही दिन अह्राउनुभएको होला भनी कोही-कोहीले सोचिरहेका थिए। ३० रोटीको टुक्रा लिएपछि यहुदा तुरुन्तै बाहिर गए। त्यसबेला रात परिसकेको थियो।+

३१ तिनी बाहिर गइसकेपछि येसुले भन्‍नुभयो: “अब मानिसको छोरा महिमित भएको छ+ अनि ऊद्वारा परमेश्‍वर पनि महिमित हुनुभएको छ। ३२ परमेश्‍वर आफैले मानिसको छोरालाई महिमित तुल्याउनुहुनेछ+ र उहाँले त्यो तुरुन्तै गर्नुहुनेछ। ३३ ए साना बालक हो, अब अलिक बेर म तिमीहरूसित हुन्छु। तिमीहरूले मलाई खोज्नेछौ तर मैले यहुदीहरूलाई भनेझैँ अब म तिमीहरूलाई पनि भन्छु, ‘म जहाँ जान्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।’+ ३४ म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदै छु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै+ तिमीहरूले पनि आपसमा प्रेम गर।+ ३५ तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने+ तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।”

३६ सिमोन पत्रुसले उहाँलाई सोधे: “प्रभु, तपाईँ कहाँ जाँदै हुनुहुन्छ?” येसुले जवाफ दिनुभयो: “म जहाँ जाँदै छु, मेरो पछि लागेर तिमी अहिल्यै त्यहाँ आउन सक्दैनौ तर पछि भने आउनेछौ।”+ ३७ पत्रुसले उहाँलाई भने: “प्रभु, म किन अहिल्यै तपाईँको पछि लाग्न सक्दिनँ? तपाईँको लागि म आफ्नो ज्यानसमेत दिनेछु।”+ ३८ येसुले जवाफ दिनुभयो: “तिमीले मेरो लागि ज्यान दिने? म तिमीलाई साँच्चै भन्छु, तिमीले मलाई तीन पटक तिरस्कार नगरेसम्म कुनै हालतमा भाले बास्नेछैन।”+

१४ “तिमीहरूको हृदय व्याकुल नहोस्‌।+ परमेश्‍वरमाथि विश्‍वास गर+ अनि ममाथि पनि विश्‍वास गर। २ मेरो बुबाको घरमा बस्ने ठाउँ धेरै छ। त्यसो नहुँदो हो त म तिमीहरूलाई यो कुरा भन्‍ने नै थिइनँ। तर अब म तिमीहरूको निम्ति ठाउँ तयार पार्न जाँदै छु।+ ३ यदि गएर मैले तिमीहरूको निम्ति ठाउँ तयार पारेँ भने म फेरि आउनेछु अनि तिमीहरूलाई मेरो घरमा लैजानेछु र म जहाँ हुन्छु, तिमीहरू पनि त्यहीँ हुनेछौ।+ ४ अनि म जहाँ जाँदै छु, त्यहाँ जाने बाटो तिमीहरूलाई थाह छ।”

५ थोमाले+ उहाँलाई भने: “प्रभु, तपाईँ कहाँ जाँदै हुनुहुन्छ, हामीलाई थाह छैन। तब कसरी हामीलाई त्यहाँ जाने बाटो थाह हुन्छ र?”

६ येसुले तिनलाई भन्‍नुभयो: “बाटो,+ सत्य+ र जीवन+ मै हुँ। मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।+ ७ यदि तिमीहरूले मलाई चिनेका भए मेरो बुबालाई पनि चिन्‍ने थियौ; अबदेखि तिमीहरूले उहाँलाई चिन्‍नेछौ अनि वास्तवमा तिमीहरूले उहाँलाई देखिसकेका छौ।”+

८ फिलिपले उहाँलाई भने: “प्रभु, हामीलाई बुबा देखाइदिनुहोस्‌, त्यति भए हामीलाई पुग्छ।”

९ येसुले तिनलाई भन्‍नुभयो: “मैले तिमीहरूसित यति लामो समय बिताएँ तैपनि तिमी मलाई चिन्दैनौ फिलिप? जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।+ तैपनि तिमी किन ‘हामीलाई बुबा देखाइदिनुहोस्‌’ भन्छौ? १० म बुबासित एकतामा छु र बुबा मसित एकतामा हुनुहुन्छ भनेर के तिमी विश्‍वास गर्दैनौ?+ म तिमीहरूलाई जे भन्छु, त्यो आफ्नै तर्फबाट भन्दिनँ+ तर मसित एकतामा हुनुहुने बुबाले मद्वारा आफ्नो काम गर्दै हुनुहुन्छ। ११ म बुबासित एकतामा छु र बुबा मसित एकतामा हुनुहुन्छ भनेर मलाई विश्‍वास गर; होइन भने मैले गरेका कामहरूको आधारमा भए पनि विश्‍वास गर।+ १२ म तिमीहरूलाई साँचो-साँचो भन्छु, जसले ममाथि विश्‍वास गर्छ, मैले गरेको काम उसले पनि गर्नेछ। उसले तीभन्दा पनि ठूला कामहरू गर्नेछ+ किनकि म बुबाकहाँ जाँदै छु।+ १३ साथै तिमीहरूले मेरो नाममा जेसुकै मागे तापनि म त्यो गर्नेछु ताकि छोराद्वारा बुबाको महिमा होस्‌।+ १४ यदि तिमीहरूले मेरो नाममा केही माग्यौ भने म त्यो गर्नेछु।

१५ “यदि तिमीहरू मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ+ १६ अनि म बुबालाई बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को मदतगार* दिनुहुनेछ, जुन तिमीहरूसित सधैँभरि रहिरहनेछ+ १७ अर्थात्‌ सत्य प्रकट गर्ने पवित्र शक्‍ति,+ जुन संसारले पाउन सक्दैन किनकि त्यसले पवित्र शक्‍तिलाई न देख्छ न त चिन्छ।+ तर तिमीहरू पवित्र शक्‍तिलाई चिन्छौ किनकि त्यो तिमीहरूसित रहन्छ अनि तिमीहरूसित छ। १८ म तिमीहरूलाई शोकाकुल अवस्थामा* छोड्‌दिनँ। म तिमीहरूकहाँ आउँदै छु।+ १९ अबको केही बेरपछि संसारले मलाई देख्नेछैन तर तिमीहरूले भने देख्नेछौ+ किनकि म जीवितै छु अनि तिमीहरू पनि जीवितै रहनेछौ। २० त्यस दिन तिमीहरूले थाह पाउनेछौ, म बुबासित एकतामा छु र तिमीहरू मसित एकतामा छौ अनि म तिमीहरूसित एकतामा छु।+ २१ जसले मेरा आज्ञाहरू ग्रहण गर्छ र ती पालन गर्छ, मलाई प्रेम गर्ने ऊ नै हो। जसले मलाई प्रेम गर्छ, उसलाई मेरो बुबाले पनि प्रेम गर्नुहुनेछ र म उसलाई प्रेम गर्नेछु अनि ऊसामु खुलेर प्रकट हुनेछु।”

२२ तब यहुदाले+ (तर इस्करियोत होइन) उहाँलाई सोधे: “प्रभु, तपाईँ किन हामीसामु खुलेर प्रकट हुन चाहनुहुन्छ तर संसारसामु भने प्रकट हुन चाहनुहुन्‍न?”

२३ येसुले तिनलाई जवाफ दिनुभयो: “यदि कसैले मलाई प्रेम गर्छ भने उसले मेरो वचन पालन गर्नेछ+ र मेरो बुबाले उसलाई प्रेम गर्नुहुनेछ अनि हामी उसकहाँ जानेछौँ र ऊसित बस्नेछौँ।+ २४ जसले मलाई प्रेम गर्दैन, उसले मेरा वचनहरू पालन गर्दैन अनि तिमीहरूले सुनिरहेको वचन मेरो होइन तर मलाई पठाउनुहुने बुबाको हो।+

२५ “तिमीहरूसित होउन्जेल मैले यी कुरा तिमीहरूलाई बताएको छु। २६ तर बुबाले मेरो नाममा पठाउनुहुने मदतगार अर्थात्‌ पवित्र शक्‍तिले तिमीहरूलाई सबै कुरा सिकाउनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा स्मरण गराउनेछ।+ २७ म तिमीहरूकहाँ शान्ति छोडेर जान्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु।+ मैले तिमीहरूलाई दिने शान्ति संसारले दिने शान्तिभन्दा फरक छ। त्यसैले तिमीहरूको हृदय व्याकुल नहोस्‌ अनि डरले गर्दा कमजोर नहोस्‌। २८ म जाँदै छु अनि तिमीहरूकहाँ फेरि आउँदै छु भनी मैले तिमीहरूलाई भनेको तिमीहरूले सुन्यौ। यदि तिमीहरू मलाई प्रेम गर्छौ भने म बुबाकहाँ जाँदै छु भन्‍ने थाह पाएर खुसी हुनेछौ किनकि बुबा मभन्दा महान्‌ हुनुहुन्छ।+ २९ अब यी कुराहरू हुनुअघि नै मैले तिमीहरूलाई भनिदिएको छु ताकि जब यी कुराहरू हुन्छन्‌, तब तिमीहरूले विश्‍वास गर्न सक।+ ३० अबउसो म तिमीहरूसित धेरै कुरा गर्नेछैनँ किनकि यस संसारको शासक+ आउँदै छ र त्यसले ममाथि कुनै नियन्त्रण जमाउन सक्दैन।*+ ३१ तर बुबाले मलाई दिनुभएको आज्ञा म पालन गर्दै छु+ ताकि म बुबालाई प्रेम गर्छु भनी संसारले जानोस्‌। उठ, हामी यहाँबाट जाऔँ।

१५ “म साँचो अङ्‌गुरको बोट हुँ र मेरो बुबा किसान हुनुहुन्छ। २ मेरो हरेक हाँगा जसले फल फलाउँदैन, त्यसलाई उहाँ काट्‌नुहुन्छ अनि हरेक जसले फल फलाउँछ, त्यसले अझ धेरै फल फलाओस्‌ भनेर+ त्यसलाई उहाँ छाँट्‌नुहुन्छ। ३ मैले तिमीहरूलाई भनेको वचनले गर्दा तिमीहरू सफा भइसकेका छौ।+ ४ मसित एकतामा रहो अनि म तिमीहरूसित एकतामा रहनेछु। जसरी अङ्‌गुरको बोटबाट अलग भएर हाँगा आफैले फल फलाउन सक्दैन, त्यसरी नै मसित एकतामा रहेनौ भने तिमीहरूले पनि फल फलाउन सक्दैनौ।+ ५ म अङ्‌गुरको बोट हुँ अनि तिमीहरू हाँगाहरू हौ। जो मसित एकतामा रहन्छ अनि म जोसित एकतामा रहन्छु, उसले धेरै फल फलाउँछ+ किनभने मबाट अलग भएर तिमीहरू केही पनि गर्न सक्दैनौ। ६ यदि कोही मसित एकतामा रहँदैन भने त्यसलाई एउटा हाँगालाई जस्तै फ्याँकिनेछ र त्यो सुक्नेछ। मानिसहरूले ती हाँगाहरू बटुलेर आगोमा फ्याँक्नेछन्‌ र जलाउनेछन्‌। ७ तिमीहरू मसित एकतामा छौ र मेरा वचनहरू तिमीहरूको मनमा छ भने तिमीहरूलाई जे इच्छा लाग्छ, माग अनि त्यो तिमीहरूले पाउनेछौ।+ ८ तिमीहरूले धेरै फल फलाइरह्‍यौ अनि मेरा चेलाहरू हौ भनी प्रमाणित गऱ्‍यौ भने मेरो बुबाको महिमा हुन्छ।+ ९ जसरी बुबाले मलाई प्रेम गर्नुभएको छ,+ त्यसरी नै मैले तिमीहरूलाई प्रेम गरेको छु; तिमीहरू सधैँ मेरो प्रेम पाउन लायकको भइरहो। १० यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गऱ्‍यौ भने तिमीहरू सधैँ मेरो प्रेम पाउन लायकका भइरहनेछौ, जसरी मैले पनि बुबाका आज्ञाहरू पालन गरेर सधैँ उहाँको प्रेम पाउन लायकको भइरहेको छु।

११ “मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ताकि मेरो आनन्द तिमीहरूले पनि पाउन सक र तिमीहरूको आनन्द झन्‌ बढ्‌दै जाओस्‌।+ १२ म तिमीहरूलाई यो आज्ञा दिन्छु, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू पनि आपसमा प्रेम गर।+ १३ आफ्ना मित्रहरूको लागि आफ्नो ज्यान अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू हुँदैन।+ १४ मैले तिमीहरूलाई दिएको आज्ञा पालन गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ।+ १५ अबदेखि म तिमीहरूलाई दास भन्दिनँ किनभने मालिकले के गर्छ, दासलाई थाह हुँदैन। तर मैले तिमीहरूलाई मित्र भनेको छु किनभने आफ्नो बुबाबाट मैले जे-जे सुनेको छु, ती सबै तिमीहरूलाई प्रकट गरेको छु। १६ तिमीहरूले मलाई रोजेका होइनौ तर मैले तिमीहरूलाई रोजेको हुँ। तिमीहरूले फल फलाइरहो भनेर मैले तिमीहरूलाई नियुक्‍त गरेको हुँ। अनि तिमीहरूको फल सधैँ रहिरहोस्‌ ताकि तिमीहरूले मेरो नाममा बुबासित जेसुकै मागे पनि उहाँले तिमीहरूलाई देऊन्‌।+

१७ “तिमीहरू आपसमा प्रेम गरिरहो+ भनेर म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छु। १८ यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरूले यो जानिराख, तिमीहरूलाई घृणा गर्नुअघि संसारले मलाई घृणा गरेको छ।+ १९ तिमीहरू यस संसारका हुँदा हौ त संसारले आफ्नो ठानेर तिमीहरूलाई माया गर्ने थियो। तर तिमीहरू यस संसारका होइनौ;+ मैले तिमीहरूलाई यस संसारबाट रोजेको छु। त्यसैले संसारले तिमीहरूलाई घृणा गर्छ।+ २० मैले तिमीहरूलाई भनेको वचन मनमा राखिराख, दास उसको मालिकभन्दा ठूलो हुँदैन। यदि तिनीहरूले मेरो खेदो गरेका छन्‌ भने तिमीहरूको पनि खेदो गर्नेछन्‌;+ यदि तिनीहरूले मेरो वचन पालन गरेका छन्‌ भने तिमीहरूको पनि पालन गर्नेछन्‌। २१ तर तिमीहरू मेरा चेलाहरू भएकाले तिमीहरूविरुद्ध तिनीहरूले यी कुराहरू गर्नेछन्‌ किनभने मलाई पठाउनुहुनेलाई तिनीहरू चिन्दैनन्‌।+ २२ यदि म आएर तिनीहरूसित कुरा नगरेको भए तिनीहरूमा कुनै पाप हुने थिएन+ तर अब तिनीहरूले आफ्नो पापको निम्ति कुनै बहाना बनाउन सक्दैनन्‌।+ २३ जसले मलाई घृणा गर्छ, उसले मेरो बुबालाई पनि घृणा गर्छ।+ २४ अरू कसैले नगरेको काम मैले तिनीहरूमाझ गरेँ। यदि मैले ती काम नगरेको भए तिनीहरूमा कुनै पाप हुने थिएन+ तर अब तिनीहरूले मेरो काम देख्नुका साथै म र मेरो बुबा दुवैलाई घृणा गरेका छन्‌। २५ तर तिनीहरूको व्यवस्थामा लेखिएको यो वचन पूरा होस्‌ भनेर यसो भएको हो: ‘तिनीहरूले विनाकारण मलाई घृणा गरे।’+ २६ म तिमीहरूलाई बुबाकहाँबाट मदतगार पठाउनेछु अर्थात्‌ सत्य प्रकट गर्ने पवित्र शक्‍ति,+ जो बुबाबाट निस्कन्छ। त्यो मदतगार आएपछि त्यसले मेरो विषयमा साक्षी दिनेछ।+ २७ त्यसपछि तिमीहरूले पनि साक्षी दिनुपर्छ+ किनभने तिमीहरू सुरुदेखि नै मसित छौ।

१६ “तिमीहरूले ठेस नखाओ भनेर मैले यी कुराहरू भनेको हुँ। २ मानिसहरूले तिमीहरूलाई सभाघरबाट निकाल्नेछन्‌।+ भन्‍ने हो भने, यस्तो समय आउँदै छ, जब तिमीहरूलाई मार्नेजति हरेकले+ परमेश्‍वरलाई पवित्र सेवा चढाइरहेको छु भन्ठान्‍नेछ। ३ तिनीहरूले न बुबालाई न त मलाई नै चिनेका छन्‌;+ त्यसैले तिनीहरूले त्यसो गर्नेछन्‌। ४ तैपनि यी कुराहरू मैले तिमीहरूलाई भनेको छु ताकि जब यी कुराहरू हुने समय आउँछ, तब मैले तिमीहरूलाई त्यसबारे बताएको थिएँ भनी तिमीहरूले सम्झनेछौ।+

“यी कुराहरू मैले तिमीहरूलाई पहिल्यै बताइनँ किनकि म तिमीहरूसितै थिएँ। ५ तर अब भने मलाई पठाउनुहुनेकहाँ म जाँदै छु,+ तैपनि तिमीहरूमध्ये कसैले पनि मलाई ‘तपाईँ कहाँ जाँदै हुनुहुन्छ?’ भनेर सोध्दैनौ। ६ तर मैले तिमीहरूलाई यी कुराहरू भनेकोले तिमीहरूको हृदय पीडाले भरिएको छ।+ ७ तैपनि म तिमीहरूलाई साँचो कुरा भन्दै छु, तिमीहरूकै फाइदाको लागि म जाँदै छु। किनभने म गइनँ भने मदतगार+ तिमीहरूकहाँ आउनेछैन तर यदि म गएँ भने म त्यसलाई तिमीहरूकहाँ पठाउनेछु। ८ अनि जब त्यो मदतगार आउनेछ, तब त्यसले पाप, धार्मिकता* र न्यायको विषयमा संसारलाई चित्तबुझ्दो प्रमाण दिनेछ: ९ सबैभन्दा पहिला पापको विषयमा+ किनकि तिनीहरू ममाथि विश्‍वास गर्दैनन्‌;+ १० त्यसपछि धार्मिकताको विषयमा किनकि म बुबाकहाँ जाँदै छु र अबउसो तिमीहरूले मलाई देख्नेछैनौ ११ अनि न्यायको विषयमा किनकि यस संसारको शासकको न्याय भएको छ।+

१२ “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू अझ धेरै छन्‌ तर अहिले तिमीहरू ती बुझ्न सक्दैनौ। १३ तथापि जब त्यो* अर्थात्‌ सत्य प्रकट गर्ने पवित्र शक्‍ति आउँछ,+ तब सत्य राम्ररी बुझ्न मदत गरेर त्यसले तिमीहरूलाई डोऱ्‍याउनेछ किनकि त्यसले आफूखुसी बोल्नेछैन तर जे सुन्छ, त्यही बोल्नेछ र आउँदै गरेका कुराहरूबारे तिमीहरूलाई बताउनेछ।+ १४ त्यसले मेरो महिमा गर्नेछ+ किनकि त्यसले मबाट ग्रहण गरेका कुराहरू तिमीहरूलाई बताउनेछ।+ १५ बुबासित भएका सबै कुरा मेरै हुन्‌।+ त्यसैले त मैले भनेँ नि, त्यसले मबाट ग्रहण गरेका कुराहरू तिमीहरूलाई बताउनेछ। १६ अब केही बेरपछि तिमीहरूले मलाई देख्नेछैनौ+ अनि फेरि त्यसको केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ।”

१७ तब उहाँका चेलाहरूमध्ये केहीले आपसमा यसो भने: “उहाँले हामीलाई यो के भन्‍न खोज्नुभएको होला: ‘केही बेरपछि तिमीहरूले मलाई देख्नेछैनौ अनि फेरि त्यसको केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ’? साथै ‘किनकि म बुबाकहाँ जाँदै छु’ भनेर चाहिँ उहाँले के भन्‍न खोज्नुभएको होला?” १८ त्यसैले तिनीहरू यसो भन्दै थिए: “‘केही बेरपछि’ भनेर उहाँले के भन्‍न खोज्नुभएको होला? उहाँले के कुरा गर्नुभएको हो, हामी बुझ्दैनौँ।” १९ तिनीहरू उहाँलाई सोध्न चाहन्छन्‌ भन्‍ने थाह पाएर येसुले तिनीहरूलाई भन्‍नुभयो: “‘केही बेरपछि तिमीहरूले मलाई देख्नेछैनौ अनि फेरि त्यसको केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ’ भनेर मैले के भन्‍न खोजेको होला भनी के तिमीहरू एकअर्कालाई सोध्दै छौ? २० म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ तर संसारले आनन्द मनाउनेछ; तिमीहरू शोकाकुल हुनेछौ तर तिमीहरूको शोक हर्षमा परिणत हुनेछ।+ २१ बालक जन्माउने बेला स्त्रीलाई पीडा हुन्छ किनकि उसको बेला आइपुगेको हुन्छ तर जब उसले बालक जन्माउँछे, तब संसारमा एउटा बालकको जन्म भएको खुसीयालीमा उसलाई त्यो वेदनाको सम्झना रहँदैन। २२ त्यसैगरि तिमीहरूलाई पनि अहिले पक्कै पीडा भइरहेको छ तर जब म तिमीहरूलाई फेरि भेट्‌नेछु, तब तिमीहरूको हृदय आनन्दित हुनेछ+ अनि तिमीहरूको खुसी कसैले पनि खोस्नेछैन। २३ त्यो दिन तिमीहरूले मलाई कुनै प्रश्‍न सोध्नेछैनौ। म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरूले बुबासित जे मागे पनि+ मेरो नाममा उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ।+ २४ अहिलेसम्म तिमीहरूले मेरो नाममा एउटै कुरा पनि मागेका छैनौ। माग अनि तिमीहरूले पाउनेछौ; यसरी तिमीहरूको आनन्द पूर्ण हुनेछ।

२५ “मैले तिमीहरूलाई यी कुराहरू उदाहरण चलाएर बताएको छु। यस्तो बेला आउँदै छ, जब म तिमीहरूसित उदाहरण चलाएर कुरा गर्नेछैनँ तर बुबाको विषयमा तिमीहरूलाई प्रस्टसित बताउनेछु। २६ त्यो दिन तिमीहरूले मेरो नाममा माग्नेछौ तर यसको मतलब मैले तिमीहरूको निम्ति बुबालाई बिन्ती गर्नेछु भन्‍ने चाहिँ होइन। २७ बुबा आफैले तिमीहरूलाई माया गर्नुहुन्छ किनकि तिमीहरूले मलाई माया गरेका छौ+ अनि म परमेश्‍वरको प्रतिनिधिको रूपमा आएको हुँ भनेर विश्‍वास गरेका छौ।+ २८ म बुबाको प्रतिनिधिको रूपमा यस संसारमा आएको हुँ। अब म यो संसार छोडेर बुबाकहाँ जाँदै छु।”+

२९ उहाँका चेलाहरूले भने: “हेर्नुहोस्‌, अब भने तपाईँ प्रस्टसित कुरा गर्दै हुनुहुन्छ अनि उदाहरण पनि चलाउनुभएको छैन। ३० अब हामीलाई थाह भयो, तपाईँलाई सबै कुरा थाह छ अनि कसैले पनि तपाईँलाई प्रश्‍न गर्नु आवश्‍यक छैन। तपाईँ परमेश्‍वरको तर्फबाट आउनुभएको हो भनेर यसैबाट हामीलाई विश्‍वास भयो।” ३१ येसुले तिनीहरूलाई भन्‍नुभयो: “के तिमीहरू अहिले विश्‍वास गर्छौ? ३२ हेर, यस्तो समय आउँदै छ अनि भन्‍ने हो भने, त्यो समय आइसकेको छ, जब तिमीहरू सबै तितरबितर भएर आ-आफ्नो घर जानेछौ र मलाई एक्लै छोड्‌नेछौ;+ तैपनि म एक्लो छैनँ किनकि बुबा मसित हुनुहुन्छ।+ ३३ मद्वारा तिमीहरूलाई शान्ति मिलोस्‌ भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको हुँ।+ संसारमा तिमीहरूले सङ्‌कष्ट झेल्नेछौ तर साहसी होओ! मैले यस संसारलाई जितेको छु।”+

१७ येसुले यी कुरा भन्‍नुभएपछि आफ्नो आँखा स्वर्गतिर उठाउँदै यसरी प्रार्थना गर्नुभयो: “हे बुबा, बेला आएको छ। आफ्नो छोराको महिमा गर्नुहोस्‌ ताकि तपाईँको छोराले पनि तपाईँको महिमा गरोस्‌।+ २ तपाईँले आफ्नो छोरालाई जो-जो दिनुभएको छ,+ तिनीहरू सबैलाई उसले अनन्त जीवन दिन सकोस्‌ भनेर+ तपाईँले उसलाई सबैमाथि अधिकार दिनुभएको छ।+ ३ अनन्त जीवन पाउन+ तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्‍वरलाई+ अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टलाई चिन्‍नुपर्छ।*+ ४ तपाईँले मलाई दिनुभएको काम पूरा गरेर+ मैले पृथ्वीमा तपाईँको महिमा गरेको छु।+ ५ त्यसैले हे बुबा, संसारको उत्पत्ति हुनुअघि+ तपाईँसँगसँगै मैले जुन महिमा पाएको थिएँ, त्यही महिमाले अहिले तपाईँसँगै मलाई महिमित पार्नुहोस्‌।

६ “तपाईँले संसारबाट मलाई दिनुभएका मानिसहरूसामु मैले तपाईँको नाम प्रकट गरेको छु।*+ तिनीहरू तपाईँकै थिए र तपाईँले तिनीहरू मलाई दिनुभयो अनि तिनीहरूले तपाईँको वचन पालन गरेका छन्‌। ७ तपाईँले मलाई दिनुभएका सबै कुरा तपाईँकै तर्फबाट आएका हुन्‌ भनेर अब तिनीहरूले थाह पाएका छन्‌ ८ किनभने तपाईँले मलाई भन्‍नुभएका कुराहरू मैले तिनीहरूलाई बताइदिएको छु+ अनि तिनीहरूले ती स्विकारेका छन्‌। साथै म तपाईँको प्रतिनिधिको रूपमा आएको हुँ+ भन्‍ने कुरामा तिनीहरू पक्का भएका छन्‌ अनि तपाईँले मलाई पठाउनुभएको हो भनेर तिनीहरूले विश्‍वास गरेका छन्‌।+ ९ म तिनीहरूको निम्ति बिन्ती गर्छु; म संसारको निम्ति होइन तर तपाईँले मलाई जो-जो दिनुभयो, तिनीहरूको निम्ति बिन्ती गर्छु किनकि तिनीहरू तपाईँकै हुन्‌। १० मेरा सबै कुरा तपाईँका हुन्‌ र तपाईँका सबै कुरा मेरा हुन्‌+ अनि म तिनीहरूमाझ महिमित भएको छु।

११ “अब म यो संसार छोडेर जाँदै छु तर तिनीहरू भने यही संसारमै हुनेछन्‌+ र म तपाईँकहाँ आउँदै छु। हे पवित्र बुबा, तपाईँले मलाई दिनुभएको तपाईँकै नामको खातिर तिनीहरूको हेरचाह गर्नुहोस्‌+ ताकि हामी एक* भएजस्तै तिनीहरू पनि एक* होऊन्‌।+ १२ जब म तिनीहरूसित थिएँ, तपाईँले मलाई दिनुभएको तपाईँकै नामको खातिर म तिनीहरूको हेरचाह गर्थेँ;+ मैले तिनीहरूको रक्षा गरेको छु र तिनीहरूमध्ये एक जना पनि नष्ट भएन+ तर धर्मशास्त्रमा लेखिएको कुरा पूरा होस्‌ भनेर+ विनाशको छोरा भने नष्ट भयो।+ १३ तर अब म तपाईँकहाँ आउँदै छु र मैले पाएको आनन्द तिनीहरूले पनि पूरापूर पाऊन्‌ भनेर म संसारमा छँदै यी कुराहरू बताउँदै छु।+ १४ मैले तिनीहरूलाई तपाईँको वचन दिएको छु तर संसारले तिनीहरूलाई घृणा गरेको छ किनकि जस्तो म यस संसारको होइनँ, तिनीहरू पनि यस संसारका होइनन्‌।+

१५ “तिनीहरूलाई यस संसारबाट लैजानुहोस्‌ भनेर त होइन तर त्यस दुष्टको* कारण तिनीहरूको हेरचाह गरिदिनुहोस्‌+ भनेर म तपाईँलाई बिन्ती गर्छु। १६ तिनीहरू यस संसारका होइनन्‌,+ जस्तो म पनि यस संसारको होइनँ।+ १७ सत्यद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्‌;*+ तपाईँको वचन सत्य हो।+ १८ जसरी तपाईँले मलाई यस संसारमा पठाउनुभयो, त्यसरी नै मैले पनि तिनीहरूलाई संसारमा पठाएँ।+ १९ अनि तिनीहरूको निम्ति म आफूलाई पवित्र पार्दै छु ताकि सत्यद्वारा तिनीहरू पनि पवित्र पारिऊन्‌।

२० “म यिनीहरूको निम्ति मात्र होइन तर यिनीहरूको वचनमार्फत ममाथि विश्‍वास गर्नेहरूको निम्ति पनि बिन्ती गर्छु २१ ताकि तिनीहरू सबै एक* होऊन्‌।+ हे बुबा, जसरी तपाईँ मसित एकतामा हुनुहुन्छ अनि म तपाईँसित एकतामा छु,+ त्यसैगरि तिनीहरू पनि हामीसित एकतामा होऊन्‌ ताकि तपाईँले मलाई पठाउनुभएको हो भनेर संसारले विश्‍वास गरोस्‌। २२ हामी एक भएजस्तै तिनीहरू पनि एक होऊन्‌+ भनेर मैले तिनीहरूलाई तपाईँले मलाई दिनुभएको महिमा दिएको छु। २३ म तिनीहरूसित एकतामा छु अनि तपाईँ मसित एकतामा हुनुहुन्छ ताकि तिनीहरू पनि पूर्णतया एकतामा होऊन्‌ अनि तपाईँले मलाई पठाउनुभयो र मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनेर संसारले थाह पाओस्‌। २४ हे बुबा, म जहाँ छु, तपाईँले मलाई दिनुभएका यी मानिसहरू पनि त्यहीँ होऊन्‌+ भन्‍ने म चाहन्छु ताकि तपाईँले मलाई दिनुभएको महिमा तिनीहरूले पनि देखून्‌ किनकि संसारको प्रारम्भ हुनुभन्दा अघिदेखि तपाईँले मलाई प्रेम गर्नुभयो।+ २५ हे न्यायी बुबा, संसारले निश्‍चय पनि तपाईँलाई चिनेको छैन+ तर म तपाईँलाई चिन्छु+ अनि तपाईँले मलाई पठाउनुभएको हो भनेर यिनीहरूले बुझेका छन्‌। २६ मैले तिनीहरूलाई तपाईँको नाम प्रकट गरेको छु र प्रकट गर्नेछु+ ताकि तपाईँले मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूले पनि प्रेम गरून्‌ र म तिनीहरूसित एकतामा हुन सकूँ।”+

१८ यी कुराहरू भनिसक्नुभएपछि येसु आफ्ना चेलाहरूसित किद्रोन बेँसी*+ पार गरेर बगैँचा भएको ठाउँमा जानुभयो। त्यसपछि उहाँ आफ्ना चेलाहरूसित त्यस बगैँचाभित्र पस्नुभयो।+ २ उहाँलाई धोका दिने यहुदालाई पनि यो ठाउँ थाह थियो किनकि येसु अक्सर यस ठाउँमा आफ्ना चेलाहरूसित भेटघाट गर्नुहुन्थ्यो। ३ त्यसैले सैनिकहरूको एउटा दल अनि मुख्य पुजारीहरूले र फरिसीहरूले* पठाएका मन्दिरका पहरेदारहरूलाई लिएर यहुदा त्यहाँ पुगे। तिनीहरूले राँको, बत्ती अनि हातहतियार बोकेका थिए।+ ४ तर येसुलाई आफूमाथि आइपर्न लागेका सबै कुरा थाह थियो। त्यसैले अघि बढेर उहाँले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरू कसलाई खोज्दै छौ?” ५ तिनीहरूले जवाफ दिए: “नासरी येसुलाई।”+ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “त्यो मै हुँ।” उहाँलाई धोका दिने यहुदा पनि त्यतिखेर तिनीहरूसितै उभिरहेका थिए।+

६ तर उहाँले “त्यो मै हुँ” भन्‍नेबित्तिकै तिनीहरू पछि हटे अनि भुईँमा लडे।+ ७ त्यसैले उहाँले तिनीहरूलाई फेरि सोध्नुभयो: “तिमीहरू कसलाई खोज्दै छौ?” तिनीहरूले जवाफ दिए: “नासरी येसुलाई।” ८ येसुले भन्‍नुभयो: “त्यो मै हुँ भनेर मैले भनिहालेँ नि। यदि तिमीहरूले मलाई नै खोजिरहेका हौ भने यिनीहरूलाई चाहिँ जान देओ।” ९ “तपाईँले मलाई दिनुभएका मानिसहरूमध्ये एक जना पनि मैले गुमाएको छैनँ”+ भन्‍ने आफ्नो वचन पूरा होस्‌ भनेर उहाँले त्यसो भन्‍नुभएको थियो।

१० तब सिमोन पत्रुसले आफ्नो तरबार थुते र प्रधानपुजारीको दासलाई प्रहार गरेर तिनको दाहिने कान च्वाट्टै काटिदिए।+ त्यस दासको नाम माल्कस थियो। ११ तर येसुले पत्रुसलाई भन्‍नुभयो: “तरबार म्यानभित्र हाल।+ बुबाले मलाई दिनुभएको कचौराबाट के मैले पिउनुपर्दैन र?”+

१२ तब सैनिकहरू, तिनीहरूको सेनापति अनि यहुदीहरूका पहरेदारहरूले येसुलाई पक्रेर बाँधे। १३ तिनीहरूले उहाँलाई सबैभन्दा पहिला हन्‍नासकहाँ लगे किनकि तिनी त्यस वर्षका प्रधानपुजारी कैयाफाका+ ससुरा थिए। १४ वास्तवमा कैयाफा उनै थिए, जसले सबैको निम्ति एक जना मानिस मर्नु फाइदाजनक हो भनेर यहुदीहरूलाई सल्लाह दिएका थिए।+

१५ तब सिमोन पत्रुस अनि अर्को एक जना चेला येसुको पछिपछि गइरहेका थिए।+ त्यस चेलाको प्रधानपुजारीसित चिनापर्ची थियो। त्यसैले येसुलाई पछ्याउँदै ऊ प्रधानपुजारीको चोकभित्र पस्यो १६ तर पत्रुस भने बाहिर ढोकामा उभिरहेका थिए। त्यसैले प्रधानपुजारीसित चिनापर्ची हुने त्यो अर्को चेला बाहिर निस्क्यो अनि ढोकेसित कुरा गरेर पत्रुसलाई पनि चोकभित्र ल्यायो। १७ तब त्यस ढोके अर्थात्‌ नोकर्नीले पत्रुसलाई सोधी: “तपाईँ पनि त्यस मानिसकै चेला हुनुहुन्छ जस्तो छ, होइन र?” तिनले जवाफ दिए: “अहँ, होइनँ।”+ १८ त्यतिखेर दासहरू अनि पहरेदारहरू जाडो भएकोले दाउरा बालेर आगो तापिरहेका थिए। पत्रुस पनि तिनीहरूसित उभिएर आगो तापिरहेका थिए।

१९ तब मुख्य पुजारीले येसुलाई उहाँका चेलाहरू अनि उहाँका शिक्षाहरूबारे सोधेर केरकार गरे। २० येसुले तिनलाई यस्तो जवाफ दिनुभयो: “मैले मानिसहरूसामु खुल्लमखुल्ला बोलेँ। मैले सधैँ सभाघर अनि मन्दिरमा सिकाएँ,+ जहाँ सबै यहुदी भेला हुन्छन्‌। मैले कुनै कुरा गुप्तमा बोलिनँ। २१ तैपनि तपाईँ मलाई किन केरकार गर्नुहुन्छ? गएर तिनीहरूलाई नै सोध्नुहोस्‌, जसले मेरा कुराहरू सुनेका छन्‌। हेर्नुहोस्‌, मैले के-के भनेँ, तिनीहरूलाई थाह छ।” २२ उहाँले यी कुराहरू भन्‍नुभएपछि त्यहाँ उभिरहेका एक जना पहरेदारले येसुलाई अनुहारमा एक थप्पड हिर्काएर+ यसो भन्यो: “मुख्य पुजारीलाई जवाफ दिने तरिका यही हो?” २३ येसुले उसलाई भन्‍नुभयो: “यदि मैले गलत कुरा गरेको हुँ भने मेरो गल्ती देखाइदेऊ; यदि सही कुरा गरेको हुँ भने तिमी मलाई किन त्यसै थप्पड हिर्काउँछौ?” २४ तब हन्‍नासले उहाँलाई बाँधिएकै अवस्थामा प्रधानपुजारी कैयाफाकहाँ पठाए।+

२५ सिमोन पत्रुस उभिएर आगो तापिरहेका थिए। तब उनीहरूले तिनलाई सोधे: “तिमी पनि त्यस मानिसकै चेला हौ कि क्या हो?” तिनले यसो भन्दै नकारे: “अहँ, होइनँ।”+ २६ तब प्रधानपुजारीका दासहरूमध्ये एक जना, जो पत्रुसले कान काटेका+ मानिसको नातेदार थियो, उसले यसो भन्यो: “मैले तपाईँलाई उहाँसित बगैँचामा देखेको होइनँ र?” २७ तर पत्रुसले फेरि नकारे अनि उत्तिखेरै भाले बास्यो।+

२८ त्यसपछि तिनीहरूले येसुलाई कैयाफाकहाँबाट राज्यपालको निवासमा लगे।+ त्यतिखेर झिसमिसे उज्यालो भएको थियो। तर अशुद्ध हुन नपरोस्‌+ अनि निस्तार चाडको* रोटी खान सकियोस्‌ भनेर तिनीहरू भने राज्यपालको निवासभित्र पसेनन्‌। २९ त्यसैले पिलातस आफै बाहिर निस्केर तिनीहरूकहाँ आए र सोधे: “तिमीहरूले के आरोपमा यस मानिसलाई मकहाँ ल्यायौ?” ३० तिनीहरूले पिलातसलाई यस्तो जवाफ दिए: “यदि यस मानिसले केही गल्ती* नगरेको भए हामी यसलाई तपाईँको हातमा सुम्पने नै थिएनौँ।” ३१ यो सुनेर पिलातसले तिनीहरूलाई भने: “तिमीहरू आफै यसलाई लगेर आफ्नो व्यवस्थाबमोजिम न्याय गर।”+ तर यहुदीहरूले तिनलाई यस्तो जवाफ दिए: “हामीसित कसैलाई मार्ने अधिकार छैन।”+ ३२ आफूले कस्तो प्रकारको मृत्यु भोग्नुपर्ने हो, त्यस विषयमा येसुले भन्‍नुभएको कुरा पूरा होस्‌ भनेर वास्तवमा यसो भएको थियो।+

३३ तब पिलातस फेरि आफ्नो निवासभित्र गए अनि येसुलाई बोलाएर सोधे: “के तिमी यहुदीहरूका राजा हौ?”+ ३४ येसुले जवाफ दिनुभयो: “तपाईँ आफैलाई त्यस्तो लागेर सोध्नुभएको हो वा अरूले मेरो विषयमा भनेको कुरा सुन्‍नुभएर?” ३५ पिलातसले जवाफ दिए: “के म यहुदी हुँ र? तिम्रो आफ्नै जाति अनि मुख्य पुजारीहरूले तिमीलाई मेरो हातमा सुम्पेका हुन्‌। भन, तिमीले के गऱ्‍यौ?” ३६ येसुले जवाफ दिनुभयो:+ “मेरो राज्य यस संसारको होइन।+ यदि मेरो राज्य यस संसारको हुँदो हो त म यहुदीहरूको हातमा नपरूँ भनेर मेरा सेवकहरूले लडाइँ गर्ने थिए।+ तर वास्तवमा मेरो राज्य यस संसारको होइन।” ३७ यो कुरा सुनेर पिलातसले उहाँलाई सोधे: “उसोभए के तिमी राजा नै हौ त?” येसुले जवाफ दिनुभयो: “म राजा हुँ भनेर तपाईँ आफै भन्दै हुनुहुन्छ।+ सत्यको साक्षी दिन म जन्मिएको हुँ र यसैको लागि म यस संसारमा आएको हुँ।+ सत्यको पक्षमा हुनेजति सबैले मेरो स्वर सुन्छन्‌।” ३८ पिलातसले उहाँलाई सोधे: “के हो सत्य?”

यति भनिसकेपछि फेरि बाहिर गएर तिनले यहुदीहरूलाई भने: “मैले यस मानिसमा कुनै दोष भेटिनँ।+ ३९ यसबाहेक निस्तार चाडको बेला मैले एक जना मानिसलाई मुक्‍त गर्नुपर्ने तिमीहरूको चलन छ।+ त्यसोभए के तिमीहरू मैले यहुदीहरूका राजालाई मुक्‍त गरिदिएको चाहन्छौ?” ४० तिनीहरू यसो भन्दै फेरि चिच्याए: “यस मानिसलाई होइन, बरब्बालाई मुक्‍त गर्नुहोस्‌!” बरब्बाचाहिँ डाँकु थियो।+

१९ तब पिलातसले येसुलाई लगे र कोर्रा हान्‍न लगाए।+ २ त्यसपछि सैनिकहरूले काँडाको मुकुट उनेर उहाँको शिरमा पहिराइदिए र बैजनी रङ्‌गको लुगा लगाइदिए।+ ३ अनि तिनीहरूले उहाँको छेउमा गएर यसो भनिरहे: “हे यहुदीहरूका राजा, प्रणाम!”* तिनीहरूले उहाँको अनुहारमा थप्पड पनि हानिरहे।+ ४ तब फेरि बाहिर मानिसहरूकहाँ गएर पिलातसले यसो भने: “हेर, मैले उसमा कुनै दोष भेटिनँ+ भनी तिमीहरूले थाह पाओ भनेर मैले उसलाई बाहिर तिमीहरूकहाँ ल्याएको छु।” ५ तब काँडाको मुकुट अनि बैजनी रङ्‌गको लुगा पहिरिनुभएको येसु बाहिर निस्कनुभयो। त्यसपछि पिलातसले मानिसहरूलाई यसो भने: “हेर, यो मानिस!” ६ तर उहाँलाई देखेपछि मुख्य पुजारीहरू अनि पहरेदारहरू यसो भन्दै चिच्याए: “त्यसलाई खम्बामा टाँग्नुहोस्‌! त्यसलाई खम्बामा टाँग्नुहोस्‌!”+ यो सुनेर पिलातसले तिनीहरूलाई भने: “तिमीहरू आफै लगेर उसलाई मार* किनकि म उसमा कुनै दोष भेट्टाउँदिनँ।”+ ७ यहुदीहरूले तिनलाई भने: “हाम्रो आफ्नै व्यवस्था छ, जसअनुसार यो मानिस मर्नै पर्छ+ किनकि यसले आफू परमेश्‍वरको छोरा हुँ भन्‍ने दाबी गऱ्‍यो।”+

८ तिनीहरूको यो कुरा सुनेर पिलातस झन्‌ डराए ९ अनि फेरि आफ्नो निवासभित्र पसेर येसुलाई सोधे: “तिमी कहाँका हौ?” तर येसुले तिनलाई कुनै जवाफ दिनुभएन।+ १० त्यसैले पिलातसले उहाँलाई भने: “के तिमी मसित बोल्दैनौ? तिमीलाई मुक्‍त गर्ने अख्तियार अनि तिमीलाई मार्ने* अख्तियार पनि मसित छ भनेर के तिमीलाई थाह छैन?” ११ येसुले तिनलाई जवाफ दिनुभयो: “यदि परमेश्‍वरले तपाईँलाई नदिनुभएको भए ममाथि तपाईँको कुनै अख्तियार हुने थिएन। त्यसैले जसले मलाई तपाईँकहाँ सुम्प्यो, त्यसले झन्‌ ठूलो पाप गरेको छ।”

१२ यसकारण उहाँलाई कसरी मुक्‍त गर्ने भनेर पिलातसले उपाय खोज्न थाले। तर यहुदीहरू भने यसो भन्दै चिच्याए: “यदि तपाईँले यस मानिसलाई मुक्‍त गर्नुभयो भने तपाईँ सिजरको* मित्र होइन। आफूलाई राजा तुल्याउने जुनसुकै व्यक्‍तिले सिजरको विरुद्धमा बोलिरहेको हुन्छ।”*+ १३ यी कुराहरू सुनेपछि पिलातसले येसुलाई बाहिर ल्याए र तिनी ढुङ्‌गे-पेटी अर्थात्‌ हिब्रूमा गब्बथा भनिने ठाउँमा राखिएको न्यायासनमा बसे। १४ त्यतिखेर निस्तार चाडको तयारीको दिन* चलिरहेको थियो+ अनि लगभग छैटौँ घडी* भएको थियो। तब पिलातसले यहुदीहरूलाई भने: “हेर, तिमीहरूको राजा!” १५ तर तिनीहरू यसो भन्दै चिच्याए: “त्यसलाई लैजानुहोस्‌! त्यसलाई लैजानुहोस्‌! त्यसलाई खम्बामा टाँग्नुहोस्‌!” पिलातसले तिनीहरूलाई सोधे: “के म तिमीहरूको राजालाई मारूँ?” मुख्य पुजारीहरूले जवाफ दिए: “सिजरबाहेक हाम्रो अरू कुनै राजा छैन।” १६ तब पिलातसले उहाँलाई खम्बामा टाँग्न तिनीहरूको हातमा सुम्पे।+

त्यसैले तिनीहरूले येसुलाई आफ्नो जिम्मामा लिए। १७ तब येसु यातनाको खम्बा* आफैले बोकेर खप्पर स्थान+ अर्थात्‌ हिब्रूमा गलगथा भनिने ठाउँमा जानुभयो।+ १८ तिनीहरूले त्यहाँ उहाँलाई अरू दुई जना मानिससँगै खम्बामा टाँगे।+ दुई जनाको बीचमा येसु पर्नेगरि तिनीहरूले एक जनालाई उहाँको दायाँपट्टि अनि अर्कोलाई बायाँपट्टि टाँगे।+ १९ पिलातसले एउटा दोष-पत्र पनि तयार पारेर त्यसलाई यातनाको खम्बामा* टाँग्न लगाए। त्यसमा यस्तो लेखिएको थियो: “नासरी येसु, यहुदीहरूका राजा।”+ २० येसुलाई टाँगिएको ठाउँ सहरनजिकै पर्ने भएकोले धेरै यहुदीले त्यो दोष-पत्र पढे; त्यो हिब्रू, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो। २१ तर यहुदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई यसो भने: “‘यहुदीहरूका राजा’ भनेर होइन तर यसले ‘म यहुदीहरूका राजा हुँ’ भन्यो भनेर लेख्नुहोस्‌।” २२ पिलातसले जवाफ दिए: “मैले जे लेखेँ, सो लेखेँ।”

२३ अब येसुलाई खम्बामा टाँगिसकेपछि सैनिकहरूले उहाँको लुगा चार भाग लगाएर एक-एक भाग लिए। उहाँले त्यसभित्र लगाउनुभएको लुगा पनि तिनीहरूले लिए। त्यो सिउनी नभएको माथिदेखि तलसम्म बुनिएको सग्लो लुगा थियो। २४ त्यसैले तिनीहरूले आपसमा भने: “यसलाई चाहिँ नच्यातौँ बरु कसको भागमा पर्छ, गोला हालेर हेरौँ।”+ “मैले लगाइराखेको लुगा तिनीहरूले आपसमा भाग लगाए अनि मेरो जीउको कपडा तिनीहरूले गोला हालेर लिए” भनी धर्मशास्त्रमा लेखिएको कुरा पूरा होस्‌ भनेर यस्तो भएको थियो।+ ती सैनिकहरूले वास्तवमै त्यसो गरे।

२५ येसु टाँगिनुभएको यातनाको खम्बाको* छेवैमा उहाँकी आमा अनि उहाँकी सानीमाका साथै क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी+ उभिरहेका थिए।+ २६ आफ्नी आमा र आफूले प्रेम गरेको चेलालाई+ नजिकै उभिरहेको देखेर उहाँले आफ्नी आमालाई भन्‍नुभयो: “आमा, हेर्नुहोस्‌, तपाईँको छोरा!” २७ त्यसपछि उहाँले ती चेलालाई भन्‍नुभयो: “हेर, तिम्री आमा!” त्यसबेलादेखि ती चेलाले उहाँकी आमालाई आफ्नै घरमा लगे।

२८ यसपछि जब येसुले सबै कुरा अब पूरा भइसक्यो भनेर थाह पाउनुभयो, तब धर्मशास्त्रमा लेखिएको कुरा पूरा होस्‌ भनेर उहाँले यसो भन्‍नुभयो: “मलाई तिर्खा लाग्यो।”+ २९ त्यहाँ अमिलो दाखमद्यले* टन्‍न भरिएको एउटा भाँडो थियो। त्यसैले दाखमद्यमा स्पन्ज चोपेर तिनीहरूले त्यसलाई हिसपको* डाँठमा अड्‌काए अनि उहाँको मुखसम्म पुऱ्‍याए।+ ३० अमिलो दाखमद्य चाखेपछि येसुले भन्‍नुभयो: “सबै पूरा भयो!”+ अनि आफ्नो शिर झुकाएर उहाँले अन्तिम सास लिनुभयो।+

३१ त्यो दिन तयारीको दिन* थियो+ र विश्रामदिनमा यातनाको खम्बामा कुनै लास नरहोस्‌ भन्‍ने यहुदीहरू चाहन्थे+ (किनकि यो महाविश्रामदिन थियो)।+ त्यसैले खम्बामा टाँगिएका मानिसहरूको खुट्टा भाँचेर तिनीहरूको लास खम्बाबाट उतारियोस्‌ भनी यहुदीहरूले पिलातसलाई आग्रह गरे। ३२ तब सैनिकहरू आए अनि उहाँसँगै खम्बामा टाँगिएको पहिलो मानिसको खुट्टा भाँचे। तिनीहरूले त्यसैगरि अर्कोचाहिँको पनि खुट्टा भाँचे। ३३ तर येसुकहाँ पुग्दा तिनीहरूले उहाँलाई मरिसकेको पाए। त्यसैले तिनीहरूले उहाँको खुट्टा भाँचेनन्‌। ३४ तर एक जना सैनिकले उहाँको कोखामा भाला घोप्यो+ अनि उत्तिखेरै त्यहाँबाट रगत र पानी निस्क्यो। ३५ जसले यो सब आफैले देख्यो, उसैले यसको साक्षी दिएको हो र उसको साक्षी साँचो छ। आफूले भनेको कुरा सत्य हो भनेर यस मानिसलाई थाह छ; त्यसैले तिमीहरू पनि उसको कुरा पत्याओ।+ ३६ वास्तवमा धर्मशास्त्रमा लेखिएको यो वचन पूरा होस्‌ भनेर यी कुरा भएका थिए: “उनको एउटै हड्डी भाँचिनेछैन।”+ ३७ त्यसैगरि धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ: “जसलाई तिनीहरूले घोपे, उसैलाई तिनीहरूले हेर्नेछन्‌।”+

३८ अब यी कुराहरू भएपछि अरिमथियाका युसुफ, जो यहुदीहरूको डरले गर्दा गुप्तमा येसुका चेला बनेका थिए,+ तिनले येसुको शव लैजान पाऊँ भनी पिलातसलाई बिन्ती गरे। अनि पिलातसले तिनलाई अनुमति दिए। त्यसैले तिनी गए र उहाँको शव लगे।+ ३९ निकोदेमस,+ जो पहिलो चोटि उहाँलाई भेट्‌न रातको बेला आएका थिए, तिनी पनि लगभग ३० किलो* मर्र* अनि अगरुको* मिश्रण* लिएर त्यहाँ आए।+ ४० तब तिनीहरूले येसुको शव लगे अनि शव गाड्‌ने यहुदी चलनअनुसार त्यसलाई सुगन्धित मसला दलेर मलमलको कपडाले बेरे।+ ४१ संयोगको कुरा, उहाँलाई मारिएको* ठाउँमा एउटा बगैँचा थियो अनि त्यस बगैँचामा एउटा नयाँ चिहान थियो,+ जहाँ त्यसअघि कसैलाई राखिएको थिएन। ४२ यहुदीहरूको तयारीको दिन भएकोले+ अनि चिहान पनि नजिकै भएकोले तिनीहरूले येसुलाई त्यहीँ राखे।

२० हप्ताको पहिलो दिन झिसमिसेमै चिहानमा जाँदा+ मरियम मग्दलिनीले चिहानको मुखमा राखिएको ढुङ्‌गा हटाइसकेको पाइन्‌।+ २ त्यसैले उनी दौडँदै सिमोन पत्रुस र येसुले माया गर्नुहुने अर्को चेलाकहाँ+ आइन्‌ र तिनीहरूलाई भनिन्‌: “तिनीहरूले प्रभुलाई चिहानबाट निकालेर लगेछन्‌!+ अनि उहाँलाई कहाँ राखेका छन्‌, हामीलाई थाह छैन।”

३ तब पत्रुस र ती अर्का चेला चिहानतिर लागे। ४ तिनीहरू दुवै जना सँगै दौडन थाले तर अर्का चेला पत्रुसभन्दा छिटो दौडे अनि चिहानमा पहिला पुगे। ५ तिनले निहुरिएर हेर्दा भुईँमा मलमलको कपडा देखे+ तर तिनी भित्र भने पसेनन्‌। ६ तब तिनको पछिपछि सिमोन पत्रुस पनि आइपुगे र चिहानभित्र पसे। उनले पनि त्यहाँ मलमलको कपडा देखे। ७ उहाँको शिरमा बाँधिएको कपडा भने अरू पट्टीसित थिएन तर बेरेर छुट्टै राखिएको थियो। ८ त्यसपछि चिहानमा पहिला पुग्ने चेला पनि चिहानभित्र पसे र त्यो देखेपछि तिनले मरियमले भनेको कुरा पत्याए। ९ किनकि उहाँ मृत्युबाट ब्युँताइनै पर्छ भनी धर्मशास्त्रमा लेखिएको कुरा तिनीहरूले त्यतिबेलासम्म बुझेका थिएनन्‌।+ १० त्यसैले ती चेलाहरू आ-आफ्नो घर फर्के।

११ तर मरियम भने चिहाननजिकै रुँदै उभिरहिन्‌। रोइरहेकै बेला उनी चिहानभित्र हेर्न निहुरिन्‌। १२ उनले सेतो लुगा लगाएका दुई जना स्वर्गदूतलाई देखिन्‌।+ येसुको शव पहिला जहाँ राखिएको थियो, त्यही ठाउँमा तिनीहरूमध्ये एक जना शिरनेर अनि अर्कोचाहिँ पाउनेर बसिरहेका थिए। १३ अनि तिनीहरूले उनलाई सोधे: “ए नारी तिमी किन रुँदै छ्यौ?” उनले तिनीहरूलाई भनिन्‌: “तिनीहरूले मेरा प्रभुलाई लगेछन्‌ अनि तिनीहरूले उहाँलाई कहाँ राखेका छन्‌, मलाई थाह छैन।” १४ यति भनिसकेपछि उनले पछाडि फर्केर हेरिन्‌ र येसुलाई उभिरहेको देखिन्‌ तर उहाँ येसु नै हुनुहुन्छ भनेर चिनिनन्‌।+ १५ येसुले उनलाई भन्‍नुभयो: “ए नारी, तिमी किन रुँदै छ्यौ? तिमी कसलाई खोज्दै छ्यौ?” उहाँलाई बगैँचे भन्ठानेर उनले भनिन्‌: “हजुर, यदि तपाईँले उहाँलाई लैजानुभएको हो भने लगेर कहाँ राख्नुभएको छ, मलाई भन्‍नुहोस्‌ र म उहाँलाई लैजानेछु।” १६ येसुले उनलाई “मरियम!” भनेर बोलाउनुभयो। फनक्क फर्केर उनले उहाँलाई हिब्रू भाषामा “रब्बोनी!” (जसको अर्थ हुन्छ, “गुरुज्यू!”) भनिन्‌। १७ येसुले उनलाई भन्‍नुभयो: “मसित टाँसिन छोड किनकि म बुबाकहाँ गइसकेको छैनँ। तर तिमी मेरा भाइहरूकहाँ जाऊ+ र तिनीहरूलाई भनिदेऊ: ‘मेरा बुबा र तिमीहरूका बुबा अनि मेरा परमेश्‍वर+ र तिमीहरूका परमेश्‍वरकहाँ म जाँदै छु।’”+ १८ मरियम मग्दलिनी उहाँका चेलाहरूकहाँ गइन्‌ र यस्तो खबर सुनाइन्‌: “मैले प्रभुलाई देखेँ!” उहाँले भन्‍नुभएका कुराहरू पनि उनले तिनीहरूलाई बताइन्‌।+

१९ त्यो दिन, जुन हप्ताको पहिलो दिन थियो, साँझको बेला चेलाहरू यहुदीहरूको डरले गर्दा ढोका थुनेर बसिरहेका थिए। तर येसु आएर तिनीहरूको माझमा उभिनुभयो र तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूलाई शान्ति होस्‌।”+ २० यति भनेर उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो।+ तब प्रभुलाई देखेर चेलाहरू खुसी भए।+ २१ येसुले तिनीहरूलाई फेरि भन्‍नुभयो: “तिमीहरूलाई शान्ति होस्‌।+ जसरी बुबाले मलाई पठाउनुभयो,+ त्यसरी नै म पनि तिमीहरूलाई पठाउँदै छु।”+ २२ यति भनेपछि उहाँले तिनीहरूतर्फ फुकेर यसो भन्‍नुभयो: “पवित्र शक्‍ति लेओ।+ २३ यदि तिमीहरूले कसैका पापहरू क्षमा गऱ्‍यौ भने ती क्षमा हुनेछन्‌; यदि तिमीहरूले कसैका पापहरू क्षमा गरेनौ भने ती रहिरहनेछन्‌।”

२४ तर येसु आउनुहुँदा ती १२ जनामध्ये एक, जुम्ल्याहा भनिने थोमा+ तिनीहरूसित थिएनन्‌। २५ त्यसकारण अरू चेलाहरूले उनलाई यसो भनिरहेका थिए: “हामीले प्रभुलाई देख्यौँ!” तर उनले तिनीहरूलाई भने: “उहाँको हातमा किलाहरूको डोब* नदेखेसम्म र त्यो डोबमा मेरो औँला नघुसारेसम्म अनि उहाँको कोखामा मेरो हात नहालेसम्म+ म पत्याउँदै पत्याउँदिनँ।”

२६ आठ दिनपछिको कुरा हो, उहाँका चेलाहरू फेरि ढोका थुनेर भित्र बसिरहेका थिए अनि थोमा पनि तिनीहरूसितै थिए। ढोका बन्द भए तापनि येसु आएर तिनीहरूमाझ उभिनुभयो र भन्‍नुभयो: “तिमीहरूलाई शान्ति होस्‌।”+ २७ त्यसपछि उहाँले थोमालाई भन्‍नुभयो: “तिम्रो औँला यहाँ घुसार अनि मेरो हात हेर। तिम्रो हात यता ल्याएर मेरो कोखामा हाल। अनि शङ्‌का गर्न छोड बरु विश्‍वास गर।” २८ थोमाले उहाँलाई भने: “हे मेरा प्रभु, मेरा परमेश्‍वर!” २९ येसुले तिनलाई भन्‍नुभयो: “के तिमीले मलाई देखेको हुनाले विश्‍वास गऱ्‍यौ? आनन्दित हुन्‌ ती, जसले नदेखीकनै विश्‍वास गर्छन्‌।”

३० साँच्चै भन्‍ने हो भने येसुले आफ्ना चेलाहरूसामु अरू पनि धेरै चमत्कार गर्नुभयो, जुन यस मुठामा लेखिएका छैनन्‌।+ ३१ तर जे-जति लेखिए, ती यसैकारण लेखिए ताकि येसु परमेश्‍वरको छोरा अनि ख्रिष्ट हुनुहुन्छ भनेर तिमीहरूले विश्‍वास गर्न सक र विश्‍वास गरेकोले उहाँको नामद्वारा जीवन पाउन सक।+

२१ त्यसपछि टाइबेरियस समुद्रनेर येसु चेलाहरूसामु फेरि प्रकट हुनुभयो। उहाँ तिनीहरूसामु यसरी प्रकट हुनुभयो: २ त्यतिखेर सिमोन पत्रुस, थोमा (जसलाई जुम्ल्याहा भनिन्थ्यो),+ गालिलको काना भन्‍ने ठाउँका नथनेल,+ जब्दिका+ छोराहरू अनि येसुका अरू दुई चेला सँगै थिए। ३ सिमोन पत्रुसले तिनीहरूलाई भने: “म माछा मार्न जाँदै छु।” तिनीहरूले उनलाई भने: “हामी पनि तिमीसँगै आउँछौँ।” तिनीहरू सबै गए र डुङ्‌गा चढे तर त्यो रात तिनीहरूले एउटै माछा पक्रन सकेनन्‌।+

४ बिहान हुनै लाग्दा येसु किनारामा आएर उभिनुभयो। तर चेलाहरूले उहाँ येसु हुनुहुन्छ भनेर चिनेनन्‌।+ ५ तब येसुले तिनीहरूलाई भन्‍नुभयो: “बाबुहरू हो, तिमीहरूसित खानेकुरा* केही छ कि?” तिनीहरूले उहाँलाई जवाफ दिए: “अहँ, छैन!” ६ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “डुङ्‌गाको दाहिनेतिर जाल हान अनि तिमीहरूले केही भेट्टाउनेछौ।” तिनीहरूले त्यसै गरे अनि जालमा यति धेरै माछा पऱ्‍यो कि तिनीहरूले तान्‍नै सकेनन्‌।+ ७ तब जुन चेलालाई येसु प्रेम गर्नुहुन्थ्यो,+ तिनले पत्रुसलाई भने: “उहाँ प्रभु हुनुहुन्छ!” उहाँ प्रभु हुनुहुन्छ भनेर सुन्‍नेबित्तिकै सिमोन पत्रुस लुगा लगाएर समुद्रमा हामफाले किनकि तिनी नाङ्‌गै थिए।* ८ तर बाँकी अरू चेला भने माछाले भरिएको जाल तान्दै डुङ्‌गा खियाएर किनारातिर आए किनकि तिनीहरू किनाराबाट धेरै टाढा होइन तर लगभग ९० मिटर* मात्र पर थिए।

९ जब तिनीहरू किनारामा आइपुगे, तब तिनीहरूले कोइलाको भुङ्‌ग्रोमा राखिएको माछा अनि रोटी देखे। १० येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूले भर्खरै समातेको केही माछा यता ल्याओ।” ११ त्यसैले सिमोन पत्रुस डुङ्‌गामा चढे र १५३ वटा ठूलठूला माछाले भरिएको जाल तानेर किनारामा ल्याए। त्यति धेरै माछा भए तापनि जाल भने फाटेन। १२ येसुले तिनीहरूलाई भन्‍नुभयो: “आओ, नास्ता गर।” तर चेलाहरूमध्ये एक जनाले पनि उहाँलाई “तपाईँ को हुनुहुन्छ?” भनेर सोध्ने आँट गरेन किनकि उहाँ प्रभु नै हुनुहुन्छ भनेर तिनीहरूलाई थाह थियो। १३ तब आएर येसुले रोटी लिनुभयो र तिनीहरूलाई दिनुभयो। त्यसैगरि माछा पनि दिनुभयो। १४ मृत्युबाट ब्युँताइएपछि येसु आफ्ना चेलाहरूसामु देखा पर्नुभएको यो तेस्रो पटक थियो।+

१५ तिनीहरूले नास्ता गरिसकेपछि येसुले सिमोन पत्रुसलाई सोध्नुभयो: “ए युहन्‍नाको छोरा सिमोन, के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?” तिनले उहाँलाई जवाफ दिए: “गर्छु प्रभु, म तपाईँलाई माया गर्छु भनेर तपाईँलाई थाहै छ नि।” उहाँले तिनलाई भन्‍नुभयो: “मेरा पाठाहरूलाई खुवाऊ।”+ १६ उहाँले तिनलाई दोस्रो चोटि फेरि सोध्नुभयो: “ए युहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” तिनले उहाँलाई जवाफ दिए: “गर्छु प्रभु, म तपाईँलाई माया गर्छु भनेर तपाईँलाई थाहै छ नि।” उहाँले तिनलाई भन्‍नुभयो: “गोठालोले झैँ मेरा साना भेडाहरूको हेरचाह गर।”+ १७ उहाँले तिनलाई तेस्रो चोटि सोध्नुभयो: “ए युहन्‍नाको छोरा सिमोन, के तिमी मलाई माया गर्छौ?” उहाँले तेस्रो चोटि “के तिमी मलाई माया गर्छौ?” भनेर सोध्नुभएकोले पत्रुस दुःखी भए। त्यसैले तिनले उहाँलाई जवाफ दिए: “प्रभु, तपाईँलाई सबै कुरा थाह छ; म तपाईँलाई माया गर्छु भनेर पनि तपाईँलाई थाह छँदै छ नि।” येसुले तिनलाई भन्‍नुभयो: “मेरा साना भेडाहरूलाई खुवाऊ।+ १८ म तिमीलाई साँचो-साँचो भन्छु, जब तिमी जवान थियौ, तब आफ्नो पटुका आफैले कसेर आफूलाई मन लागेको ठाउँमा जान्थ्यौ। तर जब तिमी बूढो हुनेछौ, तब तिमीले आफ्नो हात फैलाउनेछौ अनि अर्को मानिसले तिम्रो पटुका कसिदिनेछ र तिमीलाई जहाँ जान मन लाग्दैन, उसले तिमीलाई त्यहीँ लैजानेछ।” १९ तिनले कस्तो प्रकारको मृत्यु भोगेर परमेश्‍वरको महिमा गर्नेछन्‌ भनी देखाउन येसुले त्यसो भन्‍नुभएको थियो। त्यसपछि उहाँले तिनलाई भन्‍नुभयो: “तिमी निरन्तर मेरो पछि लाग।”+

२० पत्रुसले फर्केर हेर्दा येसुको त्यस चेलालाई पछिपछि आइरहेका देखे, जसलाई उहाँ प्रेम गर्नुहुन्थ्यो+ र जसले साँझको भोजमा उहाँको छातीमा अडेस लागेर उहाँलाई यो कुरा सोधेका थिए: “प्रभु, तपाईँलाई धोका दिने को हो?” २१ त्यसैले तिनलाई देखेपछि पत्रुसले येसुलाई सोधे: “प्रभु, यस मानिसलाई चाहिँ के हुनेछ?” २२ येसुले जवाफ दिनुभयो: “म नआउन्जेल ऊ रहिरहोस्‌ भन्‍ने मेरो इच्छा छ भने पनि तिमीलाई के मतलब? बरु तिमीचाहिँ निरन्तर मेरो पछि लाग।” २३ त्यसैले भाइहरूमाझ ती चेला मर्ने छैनन्‌ भन्‍ने हल्ला फैलियो। तर तिनी मर्ने छैनन्‌ भनेर येसुले भन्‍नुभएको थिएन बरु “म नआउन्जेल ऊ रहिरहोस्‌ भन्‍ने मेरो इच्छा छ भने पनि तिमीलाई के मतलब?” मात्र भन्‍नुभएको थियो।

२४ यी त्यही चेला हुन्‌,+ जसले यी कुराहरूको साक्षी दिन्छन्‌ र जसले यी कुराहरू लेखे अनि तिनले दिएको साक्षी सत्य छ भनेर हामीलाई थाह छ।

२५ वास्तवमा येसुले अरू पनि धेरै कुरा गर्नुभएको थियो। मलाई लाग्छ, ती सबै एक-एक बयान गरेर लेखिएका भए ती मुठाहरू संसारमा अटाउने थिएनन्‌।+

वा “ईश्‍वरजस्तो।”

वा “असीम अनुग्रह।”

वा “काखमा बस्नुहुने।” यसले विशेष अनुमोदन पाएको कुरालाई जनाउँछ।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

दिउँसो ४ बजेतिर।

अङ्‌गुरबाट बनेको रक्सी।

शा., “ए नारी, मलाई के र तिमीलाई के?” कसैले भनेको कुरामा असहमति जनाउन यस्तो उक्‍ति चलाइने गरिन्थ्यो। “नारी” भनेर सम्बोधन गर्दा अनादर गरेको हुँदैनथ्यो।

यसले बाथलाई जनाएको हुनुपर्छ। एक बाथ भनेको २२ लिटर हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “बजार।”

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, यहुदी न्यायपरिषद्‌का सदस्य।

वा सम्भवतः “माथिबाट नजन्मेसम्म।”

शा., “माथि उचाले।”

शा., “माथि उचालिनै पर्छ।”

वा “भन्‍ने कुरालाई पक्का गरेको छ।”

वा “नापेर।”

वा “मूलको।”

मध्यान्ह १२ बजेतिर।

शा., “परमेश्‍वर न्युमा हुनुहुन्छ।” शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।

अङ्‌गुरबाट बनेको रक्सी।

वा “निको हुँदै छ।”

दिउँसो १ बजेतिर।

वा “पक्षाघात भएका।”

अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

वा “खाट।”

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “उहाँसित जीवनको वरदान भएजस्तै।”

वा “सम्झनाको चिहानमा।” शब्दावलीमा “सम्झनाको चिहान” हेर्नुहोस्‌।

अर्थात्‌, धर्मशास्त्रले नै।

यो वास्तवमा ताल हो। बाइबलमा यसलाई गनेसरेत ताल पनि भनिएको छ।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शा., “लगभग २५-३० स्टेडियम।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शा., “तिमीहरू आफैमा जीवन हुँदैन।”

वा सम्भवतः “सर्वसाधारणसामु।”

शब्दावली हेर्नुहोस्‌।

वा “दियाबलजस्तै छौ।”

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, रब्बीहरूको पाठशाला।

वा “दुष्ट स्वर्गदूत।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “यहुदी न्यायपरिषद्‌का सदस्यहरू।”

शब्दावली हेर्नुहोस्‌।

धेरैजसो पुराना र आधिकारिक पाण्डुलिपिहरूमा पद ५३ देखि अध्याय ८, पद ११ सम्मको भाग पाइँदैन।

वा “मानिसको स्तरअनुसार।”

शा., “माथि उचालेपछि।”

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

वा “दुष्ट स्वर्गदूत।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

सभाघरबाट निकालिनुको अर्थ यहुदी समुदायबाट पूर्णतया बहिष्कृत हुनु हो।

वा “दुष्ट स्वर्गदूत।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

वा “एकतामा छौँ।”

वा “ईश्‍वरजस्ता।”

शा., “लगभग १५ स्टेडियम।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अर्थात्‌, मन्दिर।

शब्दावली हेर्नुहोस्‌।

शा., “एक पाउन्ड।” अर्थात्‌, रोमी पाउन्ड। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “माथि उचालिनुपर्छ।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “हाम्रो खबर।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शा., “पाखुरा।”

वा “यहुदी न्यायपरिषद्‌का सदस्यहरूमध्ये।”

शब्दावली हेर्नुहोस्‌।

वा “एकअर्काको खुट्टा धुनु तिमीहरूको कर्तव्य हो।”

वा “ऊ मविरुद्ध खडा भएको छ।”

वा “सान्त्वना दिनेवाला।”

वा “अनाथहरू जस्तोगरि।”

वा “त्यसको ममाथि कुनै अधिकार छैन।”

शब्दावली हेर्नुहोस्‌।

पद १३ र १४ मा “त्यो” र “त्यसले” जस्ता शब्दहरूले पद ७ मा बताइएको “मदतगार”-लाई जनाउँछ। येसुले पवित्र शक्‍तिको तुलना एक “मदतगार”-सित गर्नुभएको छ। पवित्र शक्‍ति कुनै व्यक्‍ति नभई एउटा शक्‍ति हो।

वा “तपाईँ अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टको ज्ञान लिइरहनुपर्छ।”

वा “चिनाएको छु।”

वा “एकतामा।”

वा “एकतामा।”

अर्थात्‌, सैतानको।

वा “अलग्गै छुट्ट्याउनुहोस्‌; चोख्याउनुहोस्‌।”

वा “एकतामा।”

वा “जाडो याममा बग्ने किद्रोन नदी।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “अपराध।”

वा “तपाईँको जय होस्‌!”

वा “खम्बामा टाँग।”

वा “खम्बामा टाँग्ने।”

शब्दावली हेर्नुहोस्‌।

वा “सिजरको विरोध गरिरहेको हुन्छ।”

शब्दावली हेर्नुहोस्‌।

मध्यान्ह १२ बजेतिर।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अङ्‌गुरबाट बनेको रक्सी।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “१०० पाउन्ड।” अर्थात्‌, रोमी पाउन्ड। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

यसले बाइबलकालीन समयमा अत्तर बनाउन प्रयोग गरिने बास्नादार तत्त्व भएको रूखलाई जनाउँछ।

वा सम्भवतः “मुठा।”

वा “खम्बामा टाँगिएको।”

वा “खत।”

वा “माछा।”

वा “भित्री लुगा मात्र लगाएर बसेका थिए।”

लगभग ३०० फिट। शा., “लगभग २०० हात।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने