कलस्सीहरूलाई पत्र
१ परमेश्वरको इच्छाद्वारा ख्रिष्ट येसुको प्रेषित* बनेको म पावल अनि हाम्रा भाइ तिमोथि+ २ कलस्सीका पवित्र जनहरू तथा विश्वासी भाइहरू, जो ख्रिष्टसित एकतामा छन्, उनीहरूलाई यो पत्र लेख्दै छौँ:
परमेश्वर, हाम्रा बुबाबाट तिमीहरूलाई असीम अनुग्रह र शान्ति मिलोस्।
३ तिमीहरूको निम्ति प्रार्थना गर्दा हामी सधैँ हाम्रा प्रभु येसु ख्रिष्टका बुबा, हाम्रा परमेश्वरलाई धन्यवाद दिन्छौँ ४ किनकि तिमीहरूले ख्रिष्ट येसुमाथि राखेको विश्वास अनि सबै पवित्र जनतर्फ देखाएको प्रेमबारे हामीले सुन्यौँ। ५ तिमीहरूले यस्तो विश्वास र प्रेम त्यस आशाले गर्दा देखायौ, जुन आशा तिमीहरूको निम्ति स्वर्गमा साँचिएको छ।+ तिमीहरूले यस आशाबारे त्यसबेला सुन्यौ, जब तिमीहरूलाई सत्य अर्थात् त्यो सुसमाचार सुनाइयो, ६ जुन सुसमाचार अब तिमीहरूकहाँ आइपुगेको छ। त्यो सुसमाचार सारा संसारभरि फैलनुका साथै त्यसले फल पनि फलाइरहेको छ,+ तिमीहरूले परमेश्वरको असीम अनुग्रहबारे सत्य कुरा सुनेर ठीकसित बुझेको दिनदेखि तिमीहरूमाझ पनि त्यस्तै भइरहेको छ। ७ तिमीहरूले इपाफ्रासबाट+ यही कुरा सुन्यौ, जो हाम्रा प्रिय सङ्गी दास अनि हाम्रो तर्फबाट ख्रिष्टका वफादार सेवक हुन्। ८ तिनले हामीलाई पवित्र शक्तिले तिमीहरूमा उत्पन्न गरेको प्रेमबारे पनि बताए।
९ त्यसैले पनि यो कुरा सुनेको दिनदेखि हामीले तिमीहरूको निम्ति प्रार्थना गर्न छाडेका छैनौँ + र तिमीहरूले सारा बुद्धि पाउनुका साथै आध्यात्मिक समझ* पाओ+ अनि तिमीहरू उहाँको इच्छाबारे सही ज्ञानले भरिपूर्ण होओ+ भनेर हामीले बिन्ती गरिरहेका छौँ १० ताकि यहोवा* परमेश्वरको सेवक कहलाइन योग्य जीवन बिताएर तिमीहरूले उहाँलाई पूर्ण रूपले प्रसन्न बनाउन सक, साथै हरकिसिमको असल कामको फल फलाउँदै तिमीहरू परमेश्वरको सही ज्ञानमा पनि बढ्दै जाओ+ ११ अनि महिमाले भरिपूर्ण उहाँको सामर्थ्यबाट+ ठूलो बल पाएर तिमीहरूले सबै कुरा धीरजी र आनन्दित हुँदै सहन सक। १२ अनि हाम्रा बुबालाई धन्यवाद चढाइरहो, जसले तिमीहरूलाई ज्ञानको ज्योति पाएका पवित्र जनहरूले+ हासिल गर्ने उत्तराधिकारको भागीदार हुन योग्य बनाउनुभयो।
१३ उहाँले हामीलाई अन्धकारको शक्तिबाट+ छुटाएर आफ्नो प्यारो छोराको राज्यमा पुऱ्याउनुभयो, १४ जसले तिर्नुभएको फिरौतीद्वारा हामी मुक्त भयौँ अर्थात् हामीले आफ्ना पापहरूको क्षमा पायौँ।+ १५ उहाँ अदृश्य परमेश्वरको प्रतिरूप+ अनि सारा सृष्टिको पहिलो सन्तान+ हुनुहुन्छ १६ किनकि उहाँद्वारै स्वर्ग अनि पृथ्वीका अरू सबै थोक सृष्टि भए, चाहे ती दृश्य होऊन् वा अदृश्य+ अथवा चाहे ती सिंहासनहरू, प्रभुत्वहरू, सरकारहरू वा अख्तियारहरू नै किन नहोऊन्। अरू सबै थोक उहाँद्वारै+ अनि उहाँकै निम्ति सृष्टि भएका हुन्। १७ साथै अरू सबै थोकभन्दा पहिल्यै उहाँ अस्तित्वमा हुनुहुन्थ्यो+ अनि उहाँद्वारै अरू सबै थोक अस्तित्वमा ल्याइयो १८ अनि उहाँ शरीरको अर्थात् मण्डलीको शिर हुनुहुन्छ।+ उहाँ सुरुवात हुनुहुन्छ, मृत्युबाट सबैभन्दा पहिले ब्युँतनुभएको पहिलो सन्तान हुनुहुन्छ।+ यसप्रकार उहाँ सबै कुरामा पहिलो हुनुहुन्छ। १९ किनकि परमेश्वरलाई यही असल लाग्यो कि उहाँ सबै थोकमा पूर्ण होऊन्+ २० र उहाँले यातनाको खम्बामा* बगाउनुभएको रगतद्वारा+ शान्ति कायम गरेर अरू सबै थोक+—चाहे ती पृथ्वीका होऊन् वा स्वर्गका, सबैलाई उहाँद्वारै आफूसित मिलापमा ल्याउन सकियोस्।
२१ हो, एक समय तिमीहरू परमेश्वरका शत्रु थियौ अनि उहाँबाट टाढा थियौ किनकि तिमीहरूले आफ्नो दिमाग दुष्ट कामहरूमा लगाएका थियौ २२ तर तिमीहरूलाई पवित्र, निष्खोट अनि निर्दोष मानिसहरूको रूपमा आफूसामु प्रस्तुत गर्न सकियोस् भनेर+ परमेश्वरले ख्रिष्ट, जसले आफूलाई मृत्युको निम्ति सुम्पनुभयो, उहाँको शरीरद्वारा तिमीहरूलाई आफूसित मिलाप गराउनुभयो। २३ तथापि यसका लागि तिमीहरू आफ्नो विश्वासमा अटल हुनुका साथै+ विश्वासको जगमा दृढ+ अनि स्थिर+ हुनुपर्छ र आफूले सुनेको त्यस सुसमाचारले दिएको आशादेखि तर्कनु हुँदैन, जुन सुसमाचार आकाशमुनि भएका सबै मानिसमाझ प्रचार भयो।+ म पावल, यही सुसमाचारको सेवक भएँ।+
२४ अहिले म तिमीहरूको निम्ति भोग्नुपरेको दुःखमा+ रमाइरहेको छु अनि म ख्रिष्टले जस्तै सङ्कष्ट भोग्दै छु तर ख्रिष्टको शरीर अर्थात् मण्डलीको निम्ति+ मैले सङ्कष्ट भोग्न बाँकी नै छ।+ २५ परमेश्वरले मलाई दिनुभएको भण्डारेको जिम्मेवारीबमोजिम+ म यस मण्डलीको सेवक भएँ ताकि तिमीहरूको हितको लागि परमेश्वरको वचन पूर्णतया प्रचार गर्न सकूँ, २६ जसमा त्यो पवित्र रहस्य+ पनि समावेश छ, जुन युगौँयुग* अनि पुस्तौँपुस्तादेखि लुकाइराखिएको थियो।+ तर अब भने त्यो रहस्य उहाँका पवित्र जनहरूलाई प्रकट गरिएको छ।+ २७ जातिजातिका मानिसहरूमाझ प्रकट गरिएको यो अनमोल धन अर्थात् पवित्र रहस्य पवित्र जनहरूलाई प्रकट गर्न परमेश्वरलाई असल लाग्यो।+ यो रहस्य ख्रिष्ट हुनुहुन्छ, जो तिमीहरूसित एकतामा हुनुहुन्छ र जससित महिमित हुने आशा तिमीहरूले राखेका छौ।+ २८ उहाँ उही हुनुहुन्छ, जसको हामी प्रचार गर्दै छौँ। हामी हरेक मानिसलाई सारा बुद्धिसहित सिकाउँदै अनि सम्झाउँदै छौँ ताकि हरेकलाई ख्रिष्टको परिपक्व चेलाको रूपमा परमेश्वरसामु प्रस्तुत गर्न सकियोस्।+ २९ म यही काम पूरा गर्न कडा परिश्रम गर्दै छु अनि उहाँको शक्तिको मदतद्वारा सङ्घर्ष गर्दै छु, जुन शक्तिले ममा पूरापूर काम गरिरहेको छ।+
२ तिमीहरूले यो जान भनी म चाहन्छु कि तिमीहरूको निम्ति, लाओडिसियामा+ हुनेहरूको निम्ति अनि ज-जसले अहिलेसम्म मलाई देखेका छैनन्, तिनीहरू सबैको निम्ति म कत्ति ठूलो सङ्घर्ष गर्दै छु। २ तिनीहरूको हृदयले सान्त्वना पाओस्+ अनि तिनीहरू प्रेममा एकसाथ जोडिएका होऊन्+ भनेर म यस्तो सङ्घर्ष गर्दै छु। यसप्रकार तिनीहरूले त्यो धन प्राप्त गरून्, जुन धन परमेश्वरको पवित्र रहस्य अर्थात् ख्रिष्टको विषयमा स्पष्ट समझ र सही ज्ञान हासिल गर्दा प्राप्त हुन्छ।+ ३ उहाँमै बुद्धि अनि ज्ञानका सारा खजाना होसियारीसाथ लुकाइएको छ।+ ४ म यो कुरा यसकारण तिमीहरूलाई भन्दै छु कि कसैले तिमीहरूलाई छली तर्कवितर्कद्वारा नबहकाओस्। ५ म तिमीहरूसँग नभए तापनि मेरो मन त तिमीहरूसितै छ र तिमीहरूको सुव्यवस्था+ अनि ख्रिष्टमाथिको अटल विश्वास+ देखेर म रमाइरहेको छु।
६ तसर्थ तिमीहरूले प्रभु ख्रिष्ट येसुलाई स्विकारिसकेको हुनाले उहाँसित एकतामा रहिरहो ७ अनि उहाँमै जरा गाडेर बढ्दै जाओ+ र विश्वासमा अटल हुँदै जाओ,+ जस्तो तिमीहरूलाई सिकाइएको पनि थियो। साथै परमेश्वरलाई सधैँ धन्यवाद चढाइरहो।+
८ होसियार बस, कसैले तिमीहरूलाई मानव दर्शनका साथै खोक्रो अनि छली विचारधाराहरूद्वारा कैदी नबनाओस्।*+ यस्ता कुराहरू मानिसहरूको परम्परा अनि संसारका आधारभूत कुराहरूमा आधारित हुन्छन्, ख्रिष्टको शिक्षामा होइन ९ किनभने उहाँमै परमेश्वरका गुणहरू पूर्ण छन्।+ १० त्यसैले उहाँ, जो सबै सरकार अनि अख्तियारको शिर हुनुहुन्छ,+ उहाँले गर्दा तिमीहरूमा कुनै कुराको कमी छैन। ११ उहाँसित गाँसिएको तिमीहरूको सम्बन्धले गर्दा तिमीहरूको खतना* मानिसहरूको हातद्वारा नभई पापी शरीरको तौरतरिकालाई मिल्काएर गरियो+ किनकि ख्रिष्टका सेवकहरूको खतना यसरी नै हुनुपर्छ।+ १२ हुन पनि उहाँको जस्तै बप्तिस्मा गरेर तिमीहरू उहाँसितै गाडिएका थियौ+ तर उहाँसित गाँसिएको तिमीहरूको सम्बन्धले गर्दा तिमीहरूलाई पनि उहाँसितै ब्युँताइयो+ किनकि तिमीहरूले उहाँलाई ब्युँताउनुहुने+ परमेश्वरले गर्नुभएको शक्तिशाली काममा विश्वास गऱ्यौ।
१३ यसबाहेक तिमीहरू आ-आफ्ना अपराधहरूले गर्दा मरेका थियौ र तिमीहरूको शरीर खतना नभएको अवस्थामा थियो तर परमेश्वरले तिमीहरूलाई फेरि जीवित बनाएर ख्रिष्टसित एकतामा ल्याउनुभयो।+ परमेश्वरले दयापूर्वक हाम्रा सबै अपराध क्षमा गर्नुभयो+ १४ र हातले लेखिएको व्यवस्थालाई मेटाउनुभयो,+ जसमा आदेशहरू थिए+ अनि जुन हाम्रो विरुद्धमा थियो।+ उहाँले त्यसलाई यातनाको खम्बामा* किलाले ठोकेर रद्द गर्नुभयो।+ १५ उहाँले त्यसद्वारा* सरकारहरू अनि अख्तियारहरूलाई परास्त गरेर+ जनसमक्ष तिनीहरूलाई तमासा बनाउनुभयो र तिनीहरूलाई आफ्नो पछिपछि लगाएर विजय जुलुसमा निस्कनुभयो।
१६ त्यसैले खानपान वा चाडबाड वा औँसी+ वा विश्रामदिन* मान्ने विषयमा कुनै मानिसले तिमीहरूको न्याय गर्न नपाओस्।+ १७ ती आउने कुराहरूको छाया मात्र हुन्+ तर वास्तविकता त ख्रिष्ट हुनुहुन्छ।+ १८ नम्रताको ढोँग गर्न अनि स्वर्गदूतहरूको उपासना गर्न मन पराउने र आफूले देखेका दर्शनहरूमा “अड्डी लिने”* कुनै मानिसले तिमीहरूले पाउने इनाम खोस्न नपाओस्।+ वास्तवमा यस्तो मानिस पापी शारीरिक झुकावले ग्रस्त भई विनाकारण घमन्डले फुल्छ। १९ यस्तो मानिस त्यस शिरसित जोडिएर बस्दैन,+ जसद्वारा पूरै शरीरले पोषण पाइरहेको हुन्छ र जसले शरीरका सबै अङ्गलाई जोर्नी र अस्थिबन्धनद्वारा एकसाथ जोडेर राखेको हुन्छ अनि जसद्वारा परमेश्वरले पूरै शरीरलाई बढाउनुहुन्छ।+
२० संसारका आधारभूत कुराहरूको सन्दर्भमा यदि तिमीहरू ख्रिष्टसितै मरिसकेका छौ+ भने यस संसारमा अझै बाँचिरहेको जस्तोगरि तिमीहरू किन यस्ता आदेशहरूको+ अधीनमा बस्छौ: २१ “यो नलेऊ, यो नचाख, यो नखाऊ”? २२ यी आज्ञा र शिक्षाहरू मानिसहरूका हुन्।+ अनि यी आदेशहरू यस्ता चिजहरूबारे हुन्, जुन प्रयोग गरेपछि नाश हुन्छन्। २३ यी सब गर्ने मानिस बुद्धिमान् देखिन्छन् तर वास्तवमा तिनीहरूले आफूखुसी उपासना गर्नुका साथै नम्र भएको ढोँग गरिरहेका हुन्छन् अनि आफ्नै शरीरलाई यातना दिन्छन्।+ तथापि यी कुराहरूले शरीरका कुइच्छाहरूसित लड्न भने कुनै मदत दिँदैन।
३ तर यदि तिमीहरू ख्रिष्टसितै ब्युँताइएका थियौ भने+ माथिका कुराहरू खोजिरहो, जहाँ ख्रिष्ट, परमेश्वरको दाहिने हाततर्फ बस्नुभएको छ।+ २ तिमीहरू माथिका कुराहरूमा ध्यान देओ,+ पृथ्वीका कुराहरूमा होइन।+ ३ किनकि तिमीहरू मरिसक्यौ र परमेश्वरको इच्छाअनुसार ख्रिष्टमा तिमीहरूको जीवन लुकाइएको छ। ४ जब हाम्रो जीवनको अर्थात् ख्रिष्टको+ महिमा प्रकट हुनेछ, तब उहाँसँगै तिमीहरूको महिमा पनि प्रकट हुनेछ।+
५ त्यसकारण पृथ्वीमा भएको तिमीहरूको शरीरका ती अङ्गहरूलाई मार,+ जसमा यस्ता कुइच्छाहरू उत्पन्न हुन्छन्: अवैध यौनसम्बन्ध,* अशुद्धपन, अनियन्त्रित कामवासना,+ खराब इच्छा अनि लोभ, जुन मूर्तिपूजा हो। ६ यी नै कुराहरूले गर्दा परमेश्वरले आफ्नो क्रोध पोखाउँदै हुनुहुन्छ। ७ तिमीहरू पनि पहिले यी नै कुराहरू गर्थ्यौ र तिमीहरूको जीवनशैली त्यस्तै थियो।+ ८ तर अब यी सबै कुराबाट पूर्णतया अलग रहो: क्रोध, रिस, खराबी,+ दुर्वचन+ अनि मुखबाट निस्कने अश्लील बोली।+ ९ एकअर्कालाई नढाँट।+ पुरानो व्यक्तित्वलाई* त्यसका कामहरूसहित फुकालेर मिल्काइदेओ+ १० अनि परमेश्वरले दिनुहुने नयाँ व्यक्तित्व धारण गर+ र त्यसलाई सही ज्ञानद्वारा परमेश्वरको प्रतिरूपअनुसारको नयाँ बनाउँदै जाओ,+ ११ जसमा न कोही ग्रीक हुन्छ न कोही यहुदी, न खतनावाल न बेखतना, न विदेशी न सिथियन,* न दास न स्वतन्त्र मानिस तर ख्रिष्ट नै सबै थोक हुनुहुन्छ र सबैमा हुनुहुन्छ।+
१२ त्यसैगरि परमेश्वरका चुनिएका,+ पवित्र अनि प्यारा जनहरूको रूपमा कोमल करुणा,+ दया, नम्रता,+ कोमलता+ र धीरज धारण गर।+ १३ यदि कसैको विरुद्धमा केही गुनासो छ भने+ पनि एकअर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।+ यहोवा* परमेश्वरले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर्नुपर्छ।+ १४ तर यी कुराहरू गर्नुको अलावा प्रेम धारण गर+ किनकि यो मानिसहरूलाई एकतामा पूर्ण रूपमा गाँस्ने बन्धन हो।+
१५ साथै ख्रिष्टको शान्तिले तिमीहरूको हृदयमा राज गरोस्*+ किनकि तिमीहरू एउटै शरीर बन भनेर यही शान्तिको निम्ति बोलाइएका थियौ। अनि तिमीहरू कृतज्ञ छौ भनी देखाओ। १६ ख्रिष्टको वचनले तिमीहरूमा प्रशस्तगरि बास गरोस् र यसरी तिमीहरू सारा बुद्धिले परिपूर्ण होओ। तिमीहरू भजन,+ परमेश्वरको स्तुतिगान र मनैदेखि कृतज्ञ हुँदै आध्यात्मिक गीतहरू* गाएर एकअर्कालाई सिकाइरहो र प्रोत्साहन दिइरहो* अनि मनमनै यहोवा* परमेश्वरको निम्ति गाइरहो।+ १७ तिमीहरू जे बोल्छौ वा गर्छौ, सबै कुरा प्रभु येसुको नाममा गर अनि उहाँद्वारा परमेश्वर, हाम्रा बुबालाई धन्यवाद चढाइरहो।+
१८ हे पत्नीहरू हो, आ-आफ्ना पतिको अधीनमा बस+ किनकि ख्रिष्टका चेलाहरूले यसै गर्नु उचित हो। १९ हे पतिहरू हो, आ-आफ्नी पत्नीलाई प्रेम गरिरहो+ अनि तिनीसित रिसले चूर नहोओ।*+ २० हे छोराछोरी हो, सबै कुरामा आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ+ किनकि यसो गर्दा प्रभु खुसी हुनुहुन्छ। २१ हे बुबाहरू हो, आफ्ना छोराछोरीलाई नचिढ्याओ*+ ताकि तिनीहरू हताश* नहोऊन्। २२ हे दासहरू हो, सबै कुरामा आफ्ना मानव मालिकहरूप्रति आज्ञाकारी होओ,+ मानिसहरूलाई खुसी पार्न तिनीहरूको आँखाको अगाडि मात्र होइन तर यहोवा* परमेश्वरको डर मान्दै निष्कपट हृदयले त्यसो गर। २३ चाहे तिमीहरू जेसुकै गर, मानिसको लागि जस्तैगरि होइन तर यहोवा* परमेश्वरको लागि जस्तैगरि तनमनले गर+ २४ किनकि तिमीहरूलाई थाह छ, यहोवा* परमेश्वरबाटै तिमीहरूले इनामस्वरूप उत्तराधिकार पाउनेछौ।+ आफ्ना मालिक ख्रिष्टको दास बनेर सेवा गर। २५ जसले गल्ती गर्छ, उसले पक्कै पनि आफ्नो गल्तीको सजाय पाउनेछ।+ कुनै पक्षपात हुनेछैन।+
४ हे मालिकहरू हो, आफ्ना दासहरूसित न्यायोचित र निष्पक्ष व्यवहार गर, यो जानेर कि स्वर्गमा तिमीहरूको पनि एक जना मालिक हुनुहुन्छ।+
२ प्रार्थनामा लागिरहो।+ यस विषयमा तिमीहरू जागा रहिरहो अनि धन्यवाद पनि चढाइरहो।+ ३ साथै हाम्रो लागि पनि प्रार्थना गरिरहो+ ताकि ख्रिष्टसम्बन्धी पवित्र रहस्य, जसको खातिर म कैदमा छु, त्यो बताउन र वचन प्रचार गर्न परमेश्वरले हाम्रो लागि मौकाको ढोका खोलिदेऊन्।+ ४ अनि जसरी मैले स्पष्टसित त्यसबारे बताउनुपर्ने हो, त्यसरी नै बताउन सकूँ भनेर पनि प्रार्थना गरिदेओ।
५ समयको पूर्ण सदुपयोग गर्दै* बाहिरकाहरूसित बुद्धिमानीपूर्वक व्यवहार गर।+ ६ तिमीहरूको बोली सधैँ नुनले स्वादिलो पारेको जस्तो दयालु होस्।+ यसो गऱ्यौ भने हरेकलाई तिमीहरूले कसरी जवाफ दिनुपर्ने हो, सो जान्नेछौ।+
७ मेरो प्रिय भाइ र प्रभुको विश्वासयोग्य सेवक अनि सङ्गी दास टाइकिकसले+ तिमीहरूलाई मेरो विषयमा सबै कुरा बताउनेछन्। ८ तिमीहरूलाई हाम्रो हालखबर थाह होस् र तिनले तिमीहरूको हृदयलाई सान्त्वना दिन सकून् भनेर म तिनलाई तिमीहरूकहाँ पठाउँदै छु। ९ म तिनीसँग मेरो विश्वासयोग्य र प्रिय भाइ ओनेसिमसलाई+ पनि पठाउँदै छु, जो तिमीहरूमध्येकै हुन्। तिनीहरूले यहाँ भइरहेका सबै कुरा तिमीहरूलाई बताउनेछन्।
१० मेरा सङ्गी कैदी अरिस्तार्खसले+ तिमीहरूलाई अभिवादन पठाएका छन्। त्यसैगरि बर्णाबासका नातेदार मर्कुसले+ (तिनी तिमीहरूकहाँ आए भने तिनको स्वागत गर्नू+ भनेर तिनको विषयमा तिमीहरूले निर्देशन पाएका थियौ) ११ अनि जस्तस भनिने येसुले पनि अभिवादन पठाएका छन्। यिनीहरू खतना भएकाहरूमध्येका हुन्। परमेश्वरको राज्यको खातिर यिनीहरू मात्र मेरा सहकर्मी हुन् अनि यिनीहरूबाट मैले निकै सान्त्वना पाएको छु।* १२ ख्रिष्ट येसुका दास इपाफ्रास,+ जो तिमीहरूमध्येका हुन्, तिनले तिमीहरूलाई अभिवादन पठाएका छन्। तिमीहरू परमेश्वरका सबै इच्छामा पूर्णतया विश्वस्त भएर अन्ततः परिपूर्ण होओ भनेर तिनी तिमीहरूका निम्ति सधैँ तनमनले प्रार्थना गरिरहन्छन्। १३ तिमीहरूको खातिर, लाओडिसियामा हुनेहरूको खातिर अनि हिरापोलिसमा हुनेहरूको खातिर तिनले कडा परिश्रम गर्छन् भन्ने कुराको म साक्षी छु।
१४ प्रिय वैद्य* लुकाले+ अनि त्यसैगरि डेमसले+ तिमीहरूलाई अभिवादन पठाएका छन्। १५ लाओडिसियाका भाइहरूलाई, बहिनी निम्फालाई अनि तिनको घरमा भेला हुने मण्डलीलाई मेरो अभिवादन छ भनिदेओ।+ १६ यो पत्र तिमीहरूकहाँ पढिसकेपछि लाओडिसियाको मण्डलीमा पनि पढ्ने प्रबन्ध मिलाउनू।+ त्यसैगरि लाओडिसियालाई पठाएको पत्र तिमीहरूले पनि पढ्नू। १७ साथै अर्खिप्पसलाई+ यसो भनिदेओ: “प्रभुको चेलाको नाताले आफूले स्विकारेको सेवाको काम ठीकसित पूरा गर्न तिमी सधैँ सजग रहनू।”
१८ अब म पावल आफ्नै हातले मेरो अभिवादन लेख्दै छु।+ म कैदमा परेको कुरा+ तिमीहरूले सधैँ सम्झिरहनू। परमेश्वरको असीम अनुग्रह तिमीहरूमाथि रहोस्।
शब्दावली हेर्नुहोस्।
वा “पवित्र शक्तिद्वारा प्राप्त हुने समझ।”
अतिरिक्त लेख क५ हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावलीमा “युग” हेर्नुहोस्।
वा “आफ्नो सिकार नबनाओस्।”
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा सम्भवतः “ख्रिष्टद्वारा।”
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
यो वाक्यांश झूटो धार्मिक रीतिबाट उद्धरण गरिएको हो।
ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्।
शा., “मानिसलाई।”
“सिथियन” शब्दले असभ्य मानिसहरूलाई जनाउँथ्यो।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
वा “तिमीहरूको हृदयलाई नियन्त्रण गरोस्।”
वा “उपासनाका गीतहरू।”
वा “सम्झाइरहो।”
अतिरिक्त लेख क५ हेर्नुहोस्।
वा “तिनलाई कठोर व्यवहार नगर।”
वा “रिस नउठाओ; दिक्क नपार।”
वा “निराश।”
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
शा., “आफ्नो निम्ति समय किन्दै।”
वा “यिनीहरू मलाई बल दिने मदतगार भएका छन्।”
वा “चिकित्सक।”