थिस्सलोनिकीहरूलाई पहिलो पत्र
१ पावल, सिल्भानस*+ र तिमोथि+ थिस्सलोनिकीहरूको मण्डलीलाई, जुन परमेश्वर, हाम्रा बुबा र प्रभु येसु ख्रिष्टसित एकतामा छ, यो पत्र लेख्दै छौँ।
तिमीहरूलाई असीम अनुग्रह र शान्ति मिलोस्।
२ हाम्रा प्रार्थनाहरूमा तिमीहरू सबैलाई सम्झँदा हामी परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछौँ + ३ किनकि तिमीहरूले आफ्नो विश्वासको कारण गरेका कामहरू, प्रेमपूर्वक गरेको परिश्रम र हाम्रा प्रभु येसु ख्रिष्टमा आशा+ राखेको हुनाले देखाएको सहनशीलता हाम्रा परमेश्वर र बुबासामु हामी हरबखत सम्झिरहन्छौँ। ४ परमेश्वरले प्रिय ठान्नुभएका हे मेरा भाइहरू हो, उहाँले तिमीहरूलाई चुन्नुभएको छ भनेर हामीलाई थाह छ ५ किनकि हामीले प्रचार गरेको सुसमाचार तिमीहरूमाझ बोलीमा मात्र सीमित रहेन तर त्यसले सशक्त प्रभाव पाऱ्यो र तिमीहरूबीच पवित्र शक्तिले काम गऱ्यो अनि त्यो सुसमाचारले तिमीहरूलाई पूर्णतया विश्वस्त तुल्यायो। तिमीहरूको निम्ति हामी के मात्र भएनौँ, त्यो तिमीहरूलाई थाहै छ। ६ अनि थुप्रै सङ्कष्ट सहँदै+ तिमीहरूले त्यस वचनलाई पवित्र शक्तिद्वारा पाइने आनन्दका साथ स्विकाऱ्यौ अनि तिमीहरू हाम्रो र प्रभुको अनुकरण गर्नेहरू भयौ।+ ७ यसरी तिमीहरू म्यासिडोनिया र अखैयामा भएका येसुका सबै चेलाका लागि उदाहरण भयौ।
८ वास्तवमा तिमीहरूद्वारा यहोवा* परमेश्वरको वचन म्यासिडोनिया र अखैयामा फैलिरहेको छ। तर त्यति मात्र नभई परमेश्वरमाथिको तिमीहरूको विश्वासको चर्चा जताततै भइरहेको छ।+ त्यसैले हामीले केही बताइरहनु आवश्यक छैन। ९ बरु मानिसहरू आफैले बताइरहन्छन् कि हामी कसरी पहिलो पटक तिमीहरूकहाँ आएका थियौँ अनि जीवित र साँचो परमेश्वरको दास बन्न तिमीहरू कसरी आ-आफ्ना मूर्तिहरू त्यागेर+ परमेश्वरतर्फ फर्क्यौ १० अनि कसरी स्वर्गबाट उहाँको छोरा येसु आउनुहुने समयलाई पर्खन+ पनि तिमीहरू फर्क्यौ, जसलाई उहाँले मृत्युबाट ब्युँताउनुभयो र जसले हामीलाई आउँदै गरेको क्रोधबाट बचाउनुहुनेछ।+
२ हे भाइ हो, हामीले तिमीहरूसित गरेको भेटघाट बेकार गएन भनेर तिमीहरूलाई पक्कै थाह छ।+ २ किनकि फिलिप्पीमा दुःख अनि बेइज्जती भोगे तापनि+ परमेश्वरको मदत पाएर हामीले कसरी साहस बटुल्यौँ र घोर विरोधको बाबजुद* तिमीहरूलाई परमेश्वरको सुसमाचार सुनायौँ, त्यो तिमीहरूलाई थाह छ।+ ३ किनकि हामी तिमीहरूलाई कुनै गलत वा अशुद्ध कुराको आधारमा वा कुनै छली मनसायले अर्ती दिँदैनौँ ४ तर परमेश्वर, जसले हाम्रो हृदय जाँच्नुहुन्छ,+ उहाँले नै हामीलाई जाँचेर सुसमाचार सुम्पिन योग्य साबित गर्नुभएको हुनाले मानिसहरूलाई होइन तर परमेश्वरलाई प्रसन्न पार्न हामी प्रचार गर्छौँ।
५ भनौँ भने तिमीहरूलाई थाहै छ, हामीले न कहिल्यै तिमीहरूको चापलुसी गऱ्यौँ न त केही हासिल गर्ने लोभमा तिमीहरूसामु ढोँग नै रच्यौँ;+ यसको साक्षी परमेश्वर हुनुहुन्छ! ६ हुनत ख्रिष्टका प्रेषितहरू* भएको नाताले हामी तिमीहरूको निम्ति खर्चिलो बोझ बन्न सक्थ्यौँ तर हामीले मानिसहरूबाट प्रशंसा खोजेनौँ, अहँ, न तिमीहरूबाट न त अरूहरूबाटै।+ ७ बरु जसरी दूध खुवाउने आमाले आफ्नो नवजात शिशुको स्याहारसुसार गर्छिन्, त्यसरी नै हामीले पनि तिमीहरूसित कोमल व्यवहार गऱ्यौँ। ८ तिमीहरूको निम्ति हामी यत्ति धेरै कोमल स्नेहले भरिएका थियौँ कि तिमीहरूलाई परमेश्वरको सुसमाचार सुनाउन मात्र होइन तर आफ्नो ज्यान दिन समेत हामी तयार* थियौँ + किनकि तिमीहरू हाम्रो निम्ति अतिप्रिय भएका थियौ।+
९ हे भाइहरू हो, हाम्रो मेहनत र कडा परिश्रम तिमीहरूले पक्कै पनि बिर्सेका छैनौ। तिमीहरूमध्ये कसैको निम्ति खर्चिलो बोझ नबनौँ भनेर दिनरात काम गर्दै+ हामीले तिमीहरूलाई परमेश्वरको सुसमाचार प्रचार गऱ्यौँ। १० तिमीहरू, जो येसुका चेलाहरू भइसकेका छौ, तिमीहरूसित व्यवहार गर्दा हामी कत्ति वफादार, असल अनि दोषरहित थियौँ, तिमीहरू आफै त्यसको साक्षी छौ अनि परमेश्वर पनि त्यसको साक्षी हुनुहुन्छ। ११ एक जना बुबाले+ आफ्नो छोराछोरीलाई गरेजस्तै हामीले पनि तिमीहरू हरेकलाई कसरी अर्ती र सान्त्वना दियौँ अनि सम्झाइबुझाइ गऱ्यौँ,+ त्यो तिमीहरूलाई राम्ररी थाह छ १२ किनकि परमेश्वर, जसले तिमीहरूलाई आफ्नो राज्य+ अनि महिमाको भागीदार हुन बोलाउँदै हुनुहुन्छ,+ उहाँको सेवक कहलाइन योग्य जीवन तिमीहरूले बिताएको+ हामी चाहन्थ्यौँ।
१३ त्यसैले हामी निरन्तर परमेश्वरलाई धन्यवाद पनि चढाइरहन्छौँ + किनकि तिमीहरूले हामीबाट सुनेको परमेश्वरको वचनलाई मानिसहरूको वचनको रूपमा होइन तर परमेश्वरकै वचनको रूपमा, जुन साँच्चै हो पनि, ग्रहण गऱ्यौ। अनि तिमीहरू, जो येसुका चेलाहरू भइसकेका छौ, तिमीहरूबीच त्यही वचनले काम पनि गरिरहेको छ। १४ हे भाइ हो, तिमीहरूले यहुदियामा भएका परमेश्वरका मण्डलीहरू, जो ख्रिष्ट येसुसित एकतामा छन्, तिनीहरूको अनुकरण गऱ्यौ किनकि तिनीहरूले यहुदीहरूको हातबाट जस्तो दुःखकष्ट भोगिरहेका छन्, तिमीहरूले पनि आफ्ना देशवासीहरूको हातबाट त्यस्तै दुःखकष्ट भोग्यौ।+ १५ ती यहुदीहरूले भविष्यवक्ताहरू अनि प्रभु येसु ख्रिष्टलाई समेत मारे+ र हाम्रो खेदो गरे।+ तिनीहरू परमेश्वरलाई मन पर्ने होइन तर सबै मानिसको अहित हुने काम गर्छन्। १६ जातिजातिका मानिसहरूको उद्धार गर्ने सन्देश उनीहरूलाई प्रचार गर्नदेखि तिनीहरू हामीलाई रोक्न खोज्छन्।+ यसो गरेर तिनीहरू आफ्नै पापको घैँटो भर्दै छन्। त्यसैले तिनीहरूमाथि परमेश्वरको क्रोध पोखाउने समय अन्ततः आइपुगेको छ।+
१७ हे भाइ हो, केही समयका लागि तिमीहरूदेखि टाढा हुनुपर्दा (दूरीको हिसाबले टाढा भए तापनि मनमा त तिमीहरू हामीसितै थियौ) तिमीहरूलाई भेट्ने तीव्र इच्छा भएकोले हामीले तिमीहरूलाई भेट्न भरमग्दुर कोसिस गऱ्यौँ। १८ यसैकारण हामी तिमीहरूकहाँ आउन चाहन्थ्यौँ। हो, म पावलले तिमीहरूकहाँ आउन एक चोटि होइन, दुई-दुई चोटि प्रयास गरेँ तर सैतानले हाम्रो बाटो छेक्यो। १९ हुन पनि हाम्रा प्रभु येसुको उपस्थितिको बेला उहाँसामु हाम्रो आशा, खुसी अनि विजयको मुकुट को हुनेछ? के तिमीहरू नै हुनेछैनौ र?+ २० वास्तवमा तिमीहरू नै हाम्रो महिमा अनि खुसी हौ।
३ तिमीहरूको हालखबर बुझ्ने तीव्र इच्छाले गर्दा एथेन्समा एक्लै रहनु हामीलाई ठीक लाग्यो+ २ अनि हाम्रा भाइ तिमोथि,+ जो ख्रिष्टबारे सुसमाचार सुनाउन परमेश्वरले खटाउनुभएको सेवक* हुन्, तिनले नै तिमीहरूलाई स्थिर गराऊन्* र तिमीहरूको विश्वासलाई दह्रो बनाउन सान्त्वना देऊन् भनेर तिनलाई तिमीहरूकहाँ पठायौँ ३ ताकि यी सङ्कष्टहरूले गर्दा तिमीहरूमध्ये कोही पनि ढलपल नहोस्। किनकि यस्ता कुराहरूबाट हामी उम्कन सक्दैनौँ* भनेर तिमीहरूलाई पनि थाहै छ।+ ४ वास्तवमा हामीले सङ्कष्ट भोग्नुपर्नेछ भनेर तिमीहरूसित हुँदा हामीले पहिल्यै भन्ने गरेका थियौँ र ठीक त्यस्तै भएको छ, जुन तिमीहरूलाई पनि थाहै छ।+ ५ त्यसैले कतै प्रलोभकले+ तिमीहरूलाई कसै गरी प्रलोभनमा त पारेन अनि कतै हाम्रो मेहनत खेर त गएन भनी तिमीहरूको वफादारीबारे बुझ्न मैले तिमोथिलाई पठाएँ किनकि म तिमीहरूको हालखबर बुझ्न आतुर थिएँ।+
६ तर तिनी भर्खरै तिमीहरूकहाँबाट फर्केका छन्+ र तिमीहरूको वफादारी अनि प्रेमबारे हामीलाई राम्रो खबर सुनाएका छन्। तिमीहरू सधैँ हाम्रो मीठो सम्झना गरिरहन्छौ र हामीले तिमीहरूलाई भेट्ने तीव्र इच्छा गरेजस्तै तिमीहरू पनि हामीलाई भेट्न तीव्र इच्छा गरिरहेका छौ भनेर पनि तिनले हामीलाई बताए। ७ त्यसैले हे भाइ हो, हामीले दुःख* अनि सङ्कष्टको सामना गर्नु परिरहेको भए तापनि तिमीहरू र तिमीहरूले देखाएको वफादारीबारे सुनेर हामीले सान्त्वना पाएका छौँ।+ ८ प्रभुमा तिमीहरू स्थिर भएको हुनाले हामीले पुनःस्फूर्ति पाएका छौँ।* ९ तिमीहरूले गर्दा परमेश्वरसामु हामीले जुन आनन्द महसुस गरिरहेका छौँ, त्यसको निम्ति परमेश्वरलाई हामी कसरी धन्यवाद देऔँ? १० तिमीहरूलाई भेट्न पाऔँ अनि तिमीहरूको विश्वासमा जे-जस्तो कमी छ, त्यो पूरा गर्न सकौँ भनेर हामी दिनरात पूरा जोसका साथ उत्कट बिन्ती चढाइरहन्छौँ।+
११ अब हाम्रा परमेश्वर अनि बुबा आफैले र हाम्रा प्रभु येसुले तिमीहरूसम्म पुग्ने बाटो हाम्रो निम्ति तयार पारिदेऊन्। १२ यसबाहेक जसरी तिमीहरूप्रति हाम्रो प्रेम बढ्दै गइरहेको छ, त्यसरी नै प्रभुले तिमीहरूको प्रेम बढाइरहून्, हो, एकअर्काप्रति अनि सबैप्रति प्रशस्तगरि तिमीहरूको प्रेम बढोस्।+ १३ यसप्रकार हाम्रा प्रभु येसु आफ्ना सबै पवित्र जनसित उपस्थित हुनुहुँदा हाम्रा परमेश्वर अनि बुबासामु उहाँले तिमीहरूको हृदयलाई स्थिर, दोषरहित अनि पवित्र बनाऊन्।+
४ अन्तमा हे भाइ हो, प्रभु येसुको नाममा हामी तिमीहरूलाई यो आग्रह गर्छौँ र प्रोत्साहन दिन्छौँ कि परमेश्वरलाई खुसी बनाउन तिमीहरू कसरी हिँड्नुपर्छ भन्ने विषयमा तिमीहरूले हामीबाट पाएको निर्देशनबमोजिम+ जसरी तिमीहरू अहिले हिँडिरहेका छौ, त्यसरी नै अझ राम्ररी हिँडिरहो। २ किनकि प्रभु येसुको तर्फबाट हामीले तिमीहरूलाई दिएका निर्देशनहरू* त तिमीहरूलाई थाहै छ।
३ परमेश्वरको इच्छा यही छ कि तिमीहरू पवित्र रहो+ अनि अवैध यौनसम्बन्धबाट* अलग रहो।+ ४ तिमीहरू हरेकले आफ्नो शरीरलाई पवित्रता+ र आदरसाथ वशमा राख्न सिक्नुपर्छ।+ ५ तिमीहरू परमेश्वरलाई नचिन्ने ती अन्यजातिका मानिसहरूजस्तो नहोओ, जो लोभी र अनियन्त्रित भएर आफ्नो कामवासना पूरा गर्छन्।+ ६ यस मामिलामा कसैले आफ्नो सीमा ननाघोस् अनि आफ्नो भाइको फाइदा नउठाओस् किनकि यहोवा* परमेश्वरले यी सबै कामको सजाय दिनुहुन्छ, जसको विषयमा हामीले तिमीहरूलाई पहिल्यै भनेका थियौँ र कडा चेतावनी पनि दिएका थियौँ। ७ किनकि परमेश्वरले हामीलाई अशुद्ध हुन होइन तर पवित्र हुन बोलाउनुभएको हो।+ ८ त्यसकारण जसले यो शिक्षालाई तिरस्कार गर्छ, उसले मानिसलाई होइन तर तिमीहरूलाई आफ्नो पवित्र शक्ति दिनुहुने परमेश्वरलाई+ तिरस्कार गर्छ।+
९ तथापि भ्रातृप्रेमको सन्दर्भमा+ हामीले तिमीहरूलाई लेखिरहनुपर्ने कुनै आवश्यकता छैन किनकि आपसमा प्रेम गर्नुपर्छ भनेर परमेश्वरबाटै तिमीहरू सिकाइएका छौ।+ १० अनि वास्तवमा म्यासिडोनियाभरिका सबै भाइलाई तिमीहरूले त्यसै गरिरहेका छौ। तर हे भाइहरू हो, हामी तिमीहरूलाई यो आग्रह गर्छौँ कि तिमीहरू झन् धेरै त्यसो गर्दै जाओ। ११ हामीले दिएको निर्देशन पालन गर्दै तिमीहरूले शान्तिसित जीवन बिताउने,+ अरूको कुरामा हात नहाल्ने+ र आफ्नै हातले परिश्रम गर्ने लक्ष्य राख।+ १२ यसो गऱ्यौ भने बाहिरका मानिसहरूको नजरमा तिमीहरूको चालचलन भद्र हुनेछ+ र तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन।
१३ साथै हे भाइ हो, तिमीहरू मृत्युको चिर निद्रामा परेकाहरूको+ विषयमा अनजान रहो भन्ने हामी चाहँदैनौँ ताकि आशा नभएकाहरूले जस्तो तिमीहरूले शोक गर्नु नपरोस्।+ १४ येसु मर्नुभयो र फेरि ब्युँतनुभयो भनी हामी विश्वास गर्छौँ भने+ जो-जो येसुको चेलाको रूपमा मृत्युको चिर निद्रामा परे, तिनीहरू उहाँसँगै होऊन् भनेर परमेश्वरले तिनीहरूलाई ब्युँताउनुहुनेछ भन्ने कुरामा पनि हामी विश्वास गर्छौँ।+ १५ यहोवा* परमेश्वरको वचनद्वारा हामी तिमीहरूलाई यो बताउँछौँ कि हामीमध्ये जो-जो प्रभुको उपस्थितिको दौडान बाँचिरहेका हुनेछौँ, मृत्युको चिर निद्रामा परिसकेकाहरूलाई हामीले कुनै हालतमा उछिन्नेछैनौँ १६ किनभने प्रभु स्वयम् प्रधान-स्वर्गदूतको+ ठूलो स्वरसहित अनि परमेश्वरको बिगुलको साथमा स्वर्गबाट ओर्लनुहुनेछ र ख्रिष्टको चेलाको रूपमा मर्नेहरू पहिला ब्युँतनेछन्।+ १७ त्यसपछि हामी जो जिउँदा छौँ र जो बचेका छौँ, हामी उठाइनेछौँ र बादलहरूमा लगिनेछौँ+ अनि तिनीहरूसित हुनेछौँ र प्रभुलाई आकाशमा भेट्नेछौँ।+ यसरी हामी सधैँभरि प्रभुसँगै हुनेछौँ।+ १८ त्यसैले एकअर्कालाई यी वचनहरूद्वारा सान्त्वना दिइरहो।
५ हे भाइ हो, जहाँसम्म समय र बेलाको कुरा छ, यस विषयमा हामीले तिमीहरूलाई केही लेखिरहनु आवश्यक छैन। २ किनकि यहोवा* परमेश्वरको दिन+ राती चोर आएजस्तै गरी आउँदै छ+ भनेर तिमीहरू आफैलाई राम्ररी थाह छ। ३ जब तिनीहरूले “शान्ति र सुरक्षा!” भनिरहेका हुन्छन्, तब गर्भवती स्त्रीलाई अचानक बेथा लागेजस्तै तिनीहरूमाथि एक्कासि विनाश आइपर्नेछ+ र तिनीहरू कुनै हालतमा उम्कनेछैनन्। ४ तर हे भाइहरू हो, तिमीहरू अन्धकारमा छैनौ, त्यसैले चालै नपाई उज्यालो हुँदा चोर छक्क परेजस्तै त्यो दिन आउँदा तिमीहरू छक्क पर्न नपरोस् ५ किनकि तिमीहरू सबै जना ज्योतिका सन्तान अनि दिनका सन्तान हौ।+ हामी न रातका न त अन्धकारका हौँ।+
६ त्यसैले आओ, बाँकी अरू मानिसहरूजस्तै हामी ननिदाऔँ+ बरु जागा बसौँ+ अनि सचेत रहौँ।+ ७ किनकि जो निदाउँछन्, तिनीहरू राती निदाउँछन् अनि जो पिएर मात्तिन्छन्, तिनीहरू रातमै मात्तिन्छन्।+ ८ तर हामीचाहिँ दिनका हौँ, त्यसैले आओ, हामी सचेत रहौँ अनि विश्वास र प्रेमको कवच अनि उद्धारको आशाको टोप लगाऔँ।+ ९ किनभने परमेश्वरले हामीलाई उहाँको क्रोध भोगौँ भनेर होइन तर हाम्रा प्रभु येसु ख्रिष्टद्वारा उद्धार पाऔँ भनेर रोज्नुभएको हो।+ १० चाहे हामी जागा बसौँ वा मृत्युको चिर निद्रामा परौँ, हामी येसुसँगै बाँचौँ भनेर+ उहाँ हाम्रो निम्ति मर्नुभयो।+ ११ त्यसैले एकअर्कालाई प्रोत्साहन* दिइरहो अनि एकअर्काको उत्थान गरिरहो;+ भनौँ भने तिमीहरूले त्यसै गरिरहेका पनि छौ।
१२ हे भाइ हो, अब हामी तिमीहरूलाई के अनुरोध गर्छौँ भने जसले तिमीहरूमाझ कडा परिश्रम गरिरहेका छन् अनि प्रभुको काममा नेतृत्व लिइरहेका छन् अनि तिमीहरूलाई सम्झाइबुझाइ गरिरहेका छन्, तिनीहरूको आदर गर १३ अनि तिनीहरूले गरिरहेको कामको खातिर प्रेमले ओतप्रोत भई तिनीहरूको झन् धेरै आदर गर।+ एकअर्कासँग शान्तिसित बस।+ १४ हे भाइहरू हो, हामी तिमीहरूलाई यो आग्रह पनि गर्छौँ कि जो बेकाइदासँग चल्छन्, तिनीहरूलाई चेतावनी* देओ,+ जो निराश छन्,* तिनीहरूसित सान्त्वनादायी कुरा गर, जो कमजोर छन्, तिनीहरूलाई मदत गर अनि सबैसित धीरजी होओ।+ १५ यो याद राख कि तिमीहरूमध्ये कसैले अरूलाई खराबीको बदला खराबी नगर+ बरु तिमीहरू सधैँ एकअर्काको अनि अरू सबैको भलो हुने काम गर।+
१६ सधैँ रमाइरहो।+ १७ निरन्तर प्रार्थना गर।+ १८ सबै कुराको निम्ति धन्यवाद चढाओ।+ ख्रिष्ट येसुका चेलाहरूले यसै गरेको परमेश्वर चाहनुहुन्छ। १९ पवित्र शक्तिको काममा बाधा नपुऱ्याओ।*+ २० भविष्यवाणीहरूलाई तुच्छ नसम्झ।+ २१ सबै कुरा जाँच+ र जे असल छ, त्यसलाई पक्रिराख। २२ हरकिसिमको दुष्टताबाट अलग बस।+
२३ शान्तिका परमेश्वरले नै तिमीहरूलाई पूर्णतया पवित्र पारून् अनि हाम्रा प्रभु येसु ख्रिष्टको उपस्थितिको दौडान तिमीहरूको सम्पूर्ण मन, ज्यान* र शरीर हरतवरले दोषरहित होस्।+ २४ जसले तिमीहरूलाई बोलाउँदै हुनुहुन्छ, उहाँले अवश्य त्यसो गर्नुहुनेछ किनभने उहाँ विश्वासयोग्य हुनुहुन्छ।
२५ हे भाइहरू हो, हाम्रो निम्ति प्रार्थना गरिरहो।+
२६ सबै भाइलाई पवित्र चुम्बनले अभिवादन गर।
२७ यो पत्र सबै भाइलाई पढेर सुनाउनू भनी म तिमीहरूलाई प्रभुको नाममा आग्रह गर्छु।+
२८ हाम्रा प्रभु येसु ख्रिष्टको असीम अनुग्रह तिमीहरूसित रहोस्।
तिनलाई सिलास पनि भनिन्छ।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
वा सम्भवतः “ठूलो सङ्घर्ष गर्दै।”
शब्दावली हेर्नुहोस्।
शा., “असाध्यै खुसी।”
वा सम्भवतः “परमेश्वरका सहकर्मी।”
वा “बलियो पारून्।”
वा “यस्ता कुराहरू हाम्रो निम्ति तोकिएका छन्।”
शा., “खाँचो।”
शा., “हामी बाँच्छौँ।”
वा “आज्ञाहरू।”
ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
वा “सान्त्वना।”
वा “सल्लाह।”
वा “हताश भएका छन्।”
शा., “पवित्र शक्तिको आगोलाई ननिभाओ।”
शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्।