तिमोथिलाई पहिलो पत्र
१ हाम्रा उद्धारक परमेश्वर अनि हाम्रा आशा+ ख्रिष्ट येसुको आज्ञाबमोजिम म पावल, ख्रिष्ट येसुको प्रेषित* बनेको हुँ २ र म विश्वासमा मेरो साँचो छोरा+ तिमोथिलाई*+ यो पत्र लेख्दै छु।
परमेश्वर, हाम्रा बुबाको अनि हाम्रा प्रभु ख्रिष्ट येसुको असीम अनुग्रह, कृपा र शान्ति तिमीसित रहोस्।
३ म म्यासिडोनियातर्फ जान लाग्दा मैले तिमीलाई एफिससमै बस्ने प्रोत्साहन दिएको थिएँ र अहिले पनि त्यसै गर्ने प्रोत्साहन दिन्छु ताकि तिमीले केही मानिसलाई के आज्ञा दिन सक भने तिनीहरूले बेग्लै सिद्धान्त नसिकाऊन् ४ अनि झूटा कथाहरूमा+ र वंशावलीहरूमा ध्यान नदेऊन्। ती कुराहरूबाट केही फाइदा हुँदैन;+ ती कुराहरूले विश्वासलाई बलियो बनाउने परमेश्वरका कुराहरू प्रदान गर्नुको सट्टा अडकलबाजीलाई मात्र बढवा दिन्छ। ५ वास्तवमा यो निर्देशनको* उद्देश्य यही हो कि हामीले शुद्ध हृदय, सफा अन्तस्करण अनि निष्कपट विश्वासका साथ+ आपसमा प्रेम गर्नुपर्छ।+ ६ यी कुराहरूबाट तर्केर कोही-कोही व्यर्थको गफ+ गर्नतिर लागेका छन्। ७ तिनीहरू व्यवस्थाको शिक्षक हुन चाहन्छन्+ तर आफूले भनेको वा जिद्दी गरेको कुरा आफैले बुझ्दैनन्।
८ हामीलाई थाह छ, मोसाको व्यवस्था राम्रो छ तर यति हो कि यसलाई ठीकसित पालन गर्नुपर्छ ९ अनि यो कुरा पनि मनमा राख्नुपर्छ कि व्यवस्था धर्मी मानिसका लागि होइन तर यस्ता मानिसहरूका लागि हो: कुकर्मी+ र विद्रोही, भक्तिहीन र पापी, विश्वासघाती* र पवित्र कुरालाई तुच्छ ठान्ने, आमाबुबाको हत्या गर्ने, ज्यानमारा, १० अवैध यौनसम्बन्ध* राख्ने, समलिङ्गी यौनसम्बन्ध राख्ने पुरुष,* अपहरणकारी, झूट बोल्ने, आफ्नो कसम तोड्ने* अनि साँचो* शिक्षाविपरीत अरू सबै काम गर्नेहरू।+ ११ यो शिक्षा आनन्दित परमेश्वरको महिमित सुसमाचारअनुरूप छ, जुन सुसमाचार मलाई सुम्पिइएको थियो।+
१२ मलाई शक्ति दिनुहुने हाम्रा प्रभु, ख्रिष्ट येसुप्रति म आभारी छु किनभने सेवाको काम सुम्पेर उहाँले मलाई विश्वासयोग्य ठान्नुभयो।+ १३ हुनत पहिले म परमेश्वरको निन्दा गर्ने, खेदो गर्ने र सोमत नभएको मानिस थिएँ+ तैपनि ममाथि कृपा देखाइयो किनभने मैले अनजानमा त्यसो गरेको थिएँ र ममा विश्वास थिएन। १४ तर मैले प्रशस्तगरि हाम्रा प्रभुको असीम अनुग्रह पाउनुका साथै ख्रिष्ट येसुमा भएको मेरो विश्वास र प्रेम पनि बढ्यो। १५ यो वचन विश्वासयोग्य र पूर्णतया स्वीकारयोग्य छ: ख्रिष्ट येसु यस संसारमा पापीहरूलाई उद्धार गर्न आउनुभयो।+ यिनीहरूमध्ये मचाहिँ मुख्य हुँ।+ १६ तैपनि ममाथि कृपा देखाइयो ताकि म, जो पापीहरूमध्ये मुख्य हुँ, मद्वारा ख्रिष्ट येसुले आफ्नो सारा धीरज देखाउन सकून् अनि अनन्त जीवन पाउन उहाँमाथि विश्वास गर्नेजति सबैको निम्ति+ म उदाहरण हुन सकूँ।
१७ युगयुगका महाराजा,+ अविनाशी,+ अदृश्य,+ एक मात्र परमेश्वरले+ सदासर्वदा आदर र महिमा पाइरहून्। आमिन।
१८ हे मेरो छोरा तिमोथि, तिम्रो विषयमा गरिएका भविष्यवाणीहरूअनुसार म तिमीलाई निर्देशन दिन्छु कि तिमी ती भविष्यवाणीहरूअनुसारै असल लडाइँ लड्दै जाऊ,+ १९ विश्वासलाई पक्रिराख अनि अन्तस्करण सफा राख,+ जसलाई कसै-कसैले बेवास्ता गरेका छन् र तिनीहरूको विश्वासको जहाज क्षतिग्रस्त भएको छ। २० हाइमेनियस+ र अलेक्जेन्डर यस्ताहरूमध्ये पर्छन् र मैले तिनीहरूलाई सैतानको हातमा सुम्पिदिएको छु+ ताकि तिनीहरूले अनुशासन पाऊन् र ईश्वरनिन्दा गर्नु हुँदैन भनेर सिकून्।
२ सर्वप्रथम म आग्रह गर्छु कि सबै किसिमका मानिसका लागि उत्कट बिन्ती, प्रार्थना, अन्तरबिन्ती र धन्यवाद चढाओ। २ राजाहरू र सबै उच्च पदाधिकारीका* लागि पनि त्यसै गर+ ताकि हामीले पूर्ण गम्भीरतासाथ परमेश्वरको भक्ति गर्दै शान्ति र चैनको जीवन बिताउन सकौँ।+ ३ यो कुरा हाम्रा उद्धारक परमेश्वरको नजरमा+ असल र ग्रहणयोग्य छ। ४ उहाँ सबै किसिमका मानिसले उद्धार पाऊन्+ र सत्यको सही ज्ञान लिऊन् भन्ने चाहनुहुन्छ। ५ किनकि परमेश्वर एक जना हुनुहुन्छ+ अनि परमेश्वर र मानिसहरूबीचको+ मध्यस्थकर्ता पनि एकै जना हुनुहुन्छ,+ जो मानिस अर्थात् ख्रिष्ट येसु हुनुहुन्छ।+ ६ उहाँले सबैका लागि* फिरौतीस्वरूप आफूलाई अर्पण गर्नुभयो।+ तोकिएको समयमा यसबारे अवश्य साक्षी दिइनेछ। ७ यसै विषयमा साक्षी दिन+ मलाई प्रचारक र प्रेषित+ अर्थात् विश्वास र सत्यबारे सिकाउन अन्यजातिका मानिसहरूको शिक्षक+ नियुक्त गरिएको थियो। म सत्य बोल्दै छु, झूट होइन।
८ त्यसैले सबै ठाउँमा पुरुषहरूले वफादार भई आफ्नो हात उठाएर प्रार्थना गरिरहून्+ अनि तिनीहरू रिस र वादविवादबाट अलग रहून्+ भन्ने म चाहन्छु। ९ त्यसैगरि स्त्रीहरूले शालीनतासाथ र सुझबुझ चलाउँदै* भद्र* पहिरनले आफैलाई सिँगारून्। नानाकिसिमले कपाल बाटेर, सुन वा मोतीको गरगहना लगाएर वा अत्यन्तै महँगो वस्त्र पहिरिएर होइन+ १० तर असल कामहरूद्वारा तिनीहरूले आफूलाई सिँगारून् किनकि परमेश्वरको भक्ति गर्छु भनी दाबी गर्ने स्त्रीहरूलाई शोभा दिने कुरा यही हो।+
११ स्त्रीले पूर्णतया अधीनमा बसेर+ चुपचाप* सिकोस्। १२ स्त्रीले सिकाउने वा पुरुषमाथि अख्तियार चलाउने अनुमति म दिन्नँ तर ऊ चुपचाप रहोस्।+ १३ किनकि पहिला आदमलाई सृष्टि गरिएको हो, त्यसपछि मात्र हव्वालाई।+ १४ साथै आदमलाई बहकाइएको होइन तर स्त्रीलाई पूर्णतया बहकाइएको हो+ र तिनले अपराध गरेकी हुन्। १५ बरु छोराछोरी जन्माउनु नै स्त्रीहरूको निम्ति सुरक्षा हो।+ तथापि तिनीहरूसित विश्वास, प्रेम र पवित्रताका साथै सुझबुझ* हुनु आवश्यक छ।+
३ यो कुरा विश्वासयोग्य छ: यदि कुनै पुरुष निरीक्षक+ बन्न अघि बढिरहेको छ भने उसले असल काम गर्न चाहेको हुन्छ। २ त्यसैले निरीक्षकलाई कुनै दोष लागेको हुनु हुँदैन, तिनी एकै जना स्त्रीको पति, सन्तुलित आनीबानी भएको, सुझबुझ भएको,*+ व्यवस्थित र अतिथि-सत्कार गर्ने+ हुनुपर्छ अनि तिनीसित सिकाउने योग्यता+ हुनुपर्छ, ३ तिनी पियक्कड+ हुनु हुँदैन, हिंस्रक हुनु हुँदैन* बरु व्यावहारिक+ हुनुपर्छ, झगडालु हुनु हुँदैन,+ पैसाको प्रेमी हुनु हुँदैन,+ ४ तिनले आफ्नो घरपरिवारको राम्ररी अगुवाइ लिनुपर्छ* र तिनका छोराछोरी पूर्ण गम्भीरतासाथ अधीनमा बस्नुपर्छ+ ५ (किनकि यदि कुनै पुरुषले आफ्नै घरपरिवारको अगुवाइ लिन जान्दैन भने उसले कसरी परमेश्वरको मण्डलीको हेरचाह गर्न सक्छ र?), ६ तिनी भर्खरै ख्रिष्टियन बनेको हुनु हुँदैन+ नत्र त तिनी घमन्डले फुल्नेछन् र तिनले दियाबलले पाएकै जस्तो दण्ड पाउनेछन्। ७ यसबाहेक बाहिरका मानिसहरूबाट पनि तिनले राम्रो नाम कमाएको हुनुपर्छ+ नत्र त तिनीमाथि दोष* लाग्नेछ र तिनी दियाबलको पासोमा पर्नेछन्।
८ त्यसैगरि सहायक सेवक गम्भीर हुनुपर्छ, दुईजिब्रे हुनु हुँदैन,* तिनले धेरै मद्यपान गर्नु हुँदैन र बेइमानीद्वारा केही पाउने लोभ गर्नु हुँदैन,+ ९ तिनले सफा अन्तस्करणले+ विश्वास अर्थात् पवित्र रहस्यलाई पक्रनुपर्छ।
१० यसबाहेक पहिले तिनीहरूको योग्यता जाँच्नुपर्छ र दोषरहित पाइएपछि+ तिनीहरूलाई सेवकको रूपमा सेवा गर्न दिनुपर्छ।
११ त्यसैगरि स्त्रीहरू गम्भीर हुनुपर्छ, तिनीहरूले अरूको निन्दा गर्नु हुँदैन+ बरु तिनीहरूको आनीबानी सन्तुलित हुनुपर्छ अनि तिनीहरू सबै कुरामा विश्वासयोग्य हुनुपर्छ।+
१२ सहायक सेवकहरू एकै जना स्त्रीको पति होऊन् अनि तिनीहरूले आफ्ना छोराछोरी र घरपरिवारको राम्ररी अगुवाइ लिऊन्। १३ किनकि राम्ररी सेवा गर्ने पुरुषहरूले असल नाम कमाउँछन् र तिनीहरूले निर्धक्क भई साहसका साथ ख्रिष्ट येसुमा भएको विश्वासबारे बोल्न सक्छन्।
१४ हुनत म तिमीकहाँ छिट्टै आउने आशा गरिरहेको छु तैपनि म यी कुराहरू लेख्दै छु १५ ताकि यदि केही गरी म आउन ढिलो भयो भने परमेश्वरको घराना,+ जुन जीवित परमेश्वरको मण्डली र सत्यको खम्बा अनि जग हो, त्यसमा तिमी कसरी चल्नुपर्छ, त्यो तिमीलाई थाह होस्। १६ वास्तवमा परमेश्वरको भक्तिको यो पवित्र रहस्य साँच्चै महान् छ: ‘येसु मानिसको रूपमा प्रकट हुनुभयो,+ पवित्र शक्तिद्वारा धर्मी ठहरिनुभयो,+ स्वर्गदूतहरूसामु देखा पर्नुभयो,+ जातिजातिका मानिसहरूबीच उहाँको विषयमा प्रचार भयो,+ संसारमा उहाँमाथि विश्वास गरियो+ अनि उहाँ महिमाका साथ माथि उचालिनुभयो।’
४ तथापि परमेश्वरको प्रेरित वचनमा स्पष्टै भनिएको छ कि पछि यस्तो समय आउनेछ, जब केही मानिसले भ्रामक प्रेरित सन्देशहरू+ अनि प्रेतहरूका* शिक्षाहरूमा ध्यान दिएर आफ्नो विश्वास त्याग्नेछन् २ अनि यस्ता कपटीहरूको झूटा कुरा सुनेर बहकिनेछन्,+ जसको अन्तस्करण तातो फलामले डामेझैँ डामिएको हुन्छ। ३ तिनीहरू विवाह गर्न निषेध गर्छन्+ अनि परमेश्वरले सृजनुभएका ती खानेकुराहरूदेखि+ अलग बस्ने आज्ञा दिन्छन्,+ जुन विश्वास हुने र सत्यको सही ज्ञान हुनेले धन्यवाद चढाएर खान सक्छन्।+ ४ किनकि परमेश्वरको हरेक सृष्टि असल छ+ अनि धन्यवाद चढाएर खाने हो भने खान नहुने त्यस्तो कुनै कुरा छैन+ ५ किनकि त्यस खानेकुरालाई परमेश्वरको वचनले र त्यसको निम्ति चढाइने प्रार्थनाले पवित्र पार्छ।
६ भाइहरूलाई यस्तो सल्लाह दिएर तिमी ख्रिष्ट येसुको असल सेवक बन्नेछौ, जसले विश्वासका वचनहरूबाट र असल शिक्षाबाट पोषण पाएको हुन्छ अनि तिमीले यस्तै शिक्षा होसियारीसाथ पालन गर्दै आएका पनि छौ।+ ७ परमेश्वरको अनादर गर्ने झूटा कथाहरू सुन्न इन्कार गर,+ जस्तो कि बूढी आइमाईहरूले सुनाउने गर्छन्। बरु परमेश्वरको भक्ति गर्ने लक्ष्य बनाएर आफैलाई तालिम देऊ। ८ किनकि शारीरिक तालिमबाट* केही फाइदा त हुन्छ तर परमेश्वरको भक्तिबाट भने सबै कुरामा फाइदा हुन्छ किनकि त्यसमा वर्तमान र भावी, दुवै जीवनमा पाइने आशिष्हरूको प्रतिज्ञा समावेश हुन्छ।+ ९ यो कुरा विश्वासयोग्य अनि पूर्णतया स्वीकारयोग्य छ। १० यसैकारण हामी कडा परिश्रम अनि सङ्घर्ष गर्दै छौँ+ किनभने हामीले जीवित परमेश्वरमाथि आफ्नो आशा राखेका छौँ, जो सबै किसिमका मानिसहरू+ र अझ विशेषगरि विश्वासी जनहरूका उद्धारक हुनुहुन्छ।+
११ यी आज्ञाहरू दिइरह अनि सिकाइरह। १२ तिम्रो कम उमेरले गर्दा कसैले तिमीलाई हेला गर्न नपाओस्। बरु बोली, चालचलन, प्रेम, विश्वास अनि चोखो* आचरणको सन्दर्भमा विश्वासी जनहरूको निम्ति उदाहरण बन। १३ म नआउन्जेल तिमी मानिसहरूसामु पवित्र लेखोटहरू पढ्ने,+ अर्ती दिने* र सिकाउने काममा लागिरह। १४ एल्डरहरूको* निकायले तिमीमाथि आफ्नो हात राख्दा+ तिमीले भविष्यवाणीमार्फत जुन वरदान पाएका थियौ, त्यस वरदानलाई हेला नगर। १५ यी कुराहरूमा चिन्तनमनन गर, यी नै कुराहरूमा डुबिरह ताकि तिम्रो प्रगति सबै मानिससामु स्पष्टै देखियोस्। १६ आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा तिमी सधैँ होसियार होऊ।+ यी कुराहरूमा लागिरह, यसो गऱ्यौ भने तिमीले आफ्नो र तिम्रो कुरा सुन्नेहरूको उद्धार गर्नेछौ।+
५ वृद्ध पुरुषको कडा आलोचना नगर+ बरु तिनलाई बुबालाई जस्तैगरि सम्झाऊ। त्यसैगरि युवकहरूलाई भाइलाई जस्तैगरि, २ वृद्ध स्त्रीहरूलाई आमालाई जस्तैगरि अनि युवतीहरूलाई चाहिँ चोखो मनले बहिनीलाई जस्तैगरि सम्झाऊ।
३ साँच्चै खाँचोमा परेका विधवाहरूको* ख्याल गर।*+ ४ तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिना छन् भने पहिला उनीहरूले नै आफ्नो घरपरिवारमा परमेश्वरको भक्ति गर्न सिकून्+ अनि आफ्नो आमाबुबा र बाजेबज्यैलाई उनीहरूले देखाएको उपकारको साटो तिरून्+ किनकि परमेश्वरको नजरमा यो ग्रहणयोग्य हुन्छ।+ ५ जो विधवालाई साँच्चै खाँचो परेको हुन्छ अनि जसको हेरविचार गर्ने कोही हुँदैन, तिनले आफ्नो आशा परमेश्वरमा राखेकी हुन्छिन्+ र तिनी दिनरात उत्कट बिन्ती र प्रार्थना गर्नमा लागिरहन्छिन्।+ ६ तर जो शरीरको अभिलाषा पूरा गर्नतिर लाग्छिन्, तिनी जिउँदो भए तापनि मरेकै बराबर हुन्। ७ त्यसैले यी निर्देशनहरू* दिइरह ताकि तिनीहरू दोषरहित होऊन्। ८ हुन पनि यदि कसैले आफन्तको र अझ विशेषगरि आफ्नै परिवारका सदस्यहरूको हेरविचार गर्दैन भने उसले विश्वासलाई त्यागेको हुन्छ र विश्वास नगर्ने मानिसभन्दा पनि खराब हुन्छ।+
९ त्यस्तो विधवाको नाम सूचीमा लेख, जो ६० वर्ष नाघेकी छिन्, जो आफ्नो पतिप्रति वफादार थिइन्,* १० जसले छोराछोरी राम्ररी हुर्काइन्,+ अतिथि-सत्कार गर्ने बानी बसालिन्,+ पवित्र जनहरूको खुट्टा धोइन्,+ दुःख पाएकाहरूलाई मदत गरिन्+ र दिलोज्यानले हरकिसिमका असल काम गरिन् अनि असल कामहरू गर्ने व्यक्तिको रूपमा नाम पनि कमाइन्।+
११ अर्कोतर्फ तरुणी विधवाहरूको नाम सूचीमा नलेख किनकि आफ्नो यौनइच्छाले ख्रिष्टको सेवा गर्न बाधा पुऱ्याउँदा तिनीहरूले विवाह गर्ने इच्छा गर्छन्। १२ अनि तिनीहरू दोषी ठहरिनेछन् किनकि तिनीहरूले आफूले पहिले गरेको वाचा तोडे। १३ त्यसबाहेक तिनीहरू काम नगरी खाली हात बस्न र घरघर चाहर्दै हिँड्न सिक्छन्। हो, काम नगरी खाली हात बस्ने मात्र होइन तर कुरा ओसार्ने, अरूको कुरामा हात हाल्ने+ र बोल्न नहुने कुरा बोल्ने पनि हुन्छन्। १४ त्यसकारण तरुणी विधवाहरूले विवाह गरेको,+ छोराछोरी जन्माएको+ र घरबार सम्हालेको म चाहन्छु ताकि तिनीहरूले विरोधीहरूलाई आलोचना गर्ने कुनै मौका नदेऊन्। १५ वास्तवमा कोही-कोही तर्केर सैतानको पछि लागिसकेका छन्। १६ यदि कुनै ख्रिष्टियन स्त्रीको आफन्त विधवा छिन् भने तिनले उनको हेरविचार गरेर मण्डलीको बोझ कम गरून्। तब मण्डलीले साँच्चै खाँचोमा परेका विधवाहरूको हेरविचार गर्न सक्नेछ।+
१७ राम्ररी अगुवाइ लिने एल्डरहरूलाई+ दोबर आदरको योग्य ठान्नू;+ विशेषगरि तिनीहरूलाई, जसले बोल्ने र सिकाउने काममा कडा परिश्रम गर्छन्।+ १८ किनकि धर्मशास्त्र यसो भन्छ: “दाइँ गरिरहेको गोरुलाई मोहोलो नलगाउनू।”+ साथै यसो पनि भन्छ: “कामदार आफ्नो ज्याला पाउन योग्यको हुन्छ।”+ १९ दुई वा तीन जना साक्षीले दिएको प्रमाणविना एल्डरविरुद्ध लगाइएको आरोप स्वीकार नगर।+ २० ज-जसले पाप गरिरहन्छन्,+ तिनीहरूलाई सबैसामु सुधार+ ताकि अरूलाई पनि चेतावनी मिलोस्।* २१ परमेश्वर, ख्रिष्ट येसु र चुनिएका स्वर्गदूतहरूसामु म तिमीलाई यो गम्भीर आज्ञा दिन्छु कि यी निर्देशनहरू कुनै पूर्वाग्रह नराखी वा पक्षपात नगरी पालन गर्नू।+
२२ कुनै मानिसमाथि आफ्नो हात राख्न कहिल्यै हतार नगर्नू*+ न त कहिल्यै अरूका पापहरूको भागीदार बन्नू; आफूलाई चोखो राखिराख्नू।
२३ अबदेखि पानी नपिउनू* तर तिम्रो पेटको खातिर र तिमी घरीघरी बिरामी परिरहेकोले अलिअलि मद्य पिउने गर्नू।
२४ कसै-कसैको पाप जनसमक्ष प्रकट हुन्छ र तिनीहरूले तुरुन्तै दण्ड पाउँछन् तर अरूको पाप भने पछि मात्र प्रकट हुन्छ।+ २५ त्यसैगरि असल काम पनि जनसमक्ष प्रकट हुन्छ+ र प्रकट नभएका असल कामहरूलाई पनि लुकाएर राख्न सकिँदैन।+
६ दासत्वको जुवामुनि हुनेहरूले आ-आफ्नो मालिकलाई पूर्ण आदरको योग्य सम्झिरहून्+ ताकि परमेश्वरको नाम र उहाँको शिक्षा कहिल्यै बदनाम नहोस्।+ २ साथै ज-जसको मालिक ख्रिष्टियन हुन्, तिनीहरूले आफ्नो मालिक सङ्गी भाइ त हो नि भन्दै उनीहरूको अनादर नगरून्। बरु तिनीहरूले अझ मेहनत गरेर सेवा गरून् किनभने जसले तिनीहरूको असल सेवाबाट लाभ उठाइरहेका छन्, उनीहरू तिनीहरूकै प्रिय ख्रिष्टियन भाइ हुन्।
यी कुराहरू सिकाइरहनू अनि यी अर्तीहरू दिइरहनू। ३ यदि कुनै मानिसले अरू नै शिक्षा सिकाउँछ अनि ऊ हाम्रा प्रभु येसु ख्रिष्टको तर्फबाट आएको साँचो* निर्देशन र परमेश्वरको भक्तिसित+ मेल खाने शिक्षासित+ सहमत हुँदैन भने ४ ऊ घमन्डले फुलेको हुन्छ अनि उसले कुनै कुरा बुझ्दैन।+ बरु उसलाई वादविवाद गर्ने र शब्दहरूको विषयमा बहस गर्ने बानी परेको हुन्छ।*+ यी कुराहरूबाट ईर्ष्या, कलह, निन्दा* र खराब नियतले भरिएको शङ्का उत्पन्न हुन्छ। ५ साथै यी कुराहरूले भ्रष्ट दिमाग भएका+ र सत्यबाट तर्किएका मानिसहरूलाई ससाना कुराहरूमा पनि निरन्तर वादविवाद गर्न उक्साउँछ। तिनीहरू परमेश्वरको भक्तिलाई कमाई खाने भाँडो+ भन्ठान्छन्। ६ तर सत्य कुरा यो हो कि आफूसित जे छ, त्यसैमा सन्तुष्ट भएर परमेश्वरको भक्ति गर्दा धेरै लाभ पाउन सकिन्छ।+ ७ किनकि हामीले यस संसारमा न केही ल्यायौँ न त केही बोकेर लैजान नै सक्छौँ।+ ८ त्यसैले खान र लाउन* पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौँ।+
९ तर जो हरहालतमा धनी बन्न चाहन्छन्, तिनीहरू प्रलोभन र पासोमा पर्छन्+ अनि अनेकौँ मूर्खतापूर्ण र हानिकारक इच्छाहरूमा फस्छन्, जसले मानिसहरूलाई विनाश र पतनतर्फ धकेल्छ।+ १० किनकि पैसाको प्रेम सबै किसिमका हानिकारक कुराहरूको जड हो अनि यही प्रेमको पछि लागेर कोही-कोही विश्वासबाट तर्केका छन् र थुप्रै पीडाले आफूलाई चोटैचोट पुऱ्याएका छन्।+
११ तर हे परमेश्वरको जन, तिमी भने यी कुराहरूदेखि भाग। बरु धार्मिकता,* परमेश्वरको भक्ति, विश्वास, प्रेम, सहनशीलता र कोमलताको+ पछि लाग। १२ विश्वासको उत्तम लडन्त लड, अनन्त जीवनलाई दह्रोसित पक्रिराख, जसको निम्ति तिमी बोलाइएका थियौ अनि जसको पक्षमा तिमीले धेरै साक्षीसामु राम्रो जनघोषणा गरेका थियौ।
१३ परमेश्वर, जसले सबै कुरालाई जीवित राख्नुहुन्छ अनि ख्रिष्ट येसु, जसले सबैसामु पन्तियस पिलातसलाई+ राम्रो साक्षी दिनुभयो, उहाँहरूसामु म तिमीलाई यो आदेश दिन्छु १४ कि हाम्रा प्रभु येसु ख्रिष्ट प्रकट नहोउन्जेल बेदाग र दोषरहित रहेर तिमीलाई दिइएको आज्ञा पालन गर।+ १५ तोकिएको समयमा प्रभु येसु ख्रिष्टले आफूलाई प्रकट गर्नुहुनेछ। उहाँ आनन्दित र एक मात्र शक्तिशाली शासक अनि राजाहरूका महाराजा र प्रभुहरूका महाप्रभु हुनुहुन्छ,+ १६ जससित मात्र अमरता छ,+ जो कोही पुग्न नसक्ने ज्योतिमा बास गर्नुहुन्छ+ अनि जसलाई कुनै मानिसले देखेको छैन र देख्न पनि सक्दैन।+ आदर र अनन्त पराक्रम उहाँकै होस्। आमिन।
१७ जो यस वर्तमान युगमा* धनी छन्, तिनीहरूलाई के निर्देशन* देऊ भने तिनीहरू अभिमानी नहोऊन् अनि आफ्नो आशा अस्थिर धनसम्पत्तिमा होइन+ तर परमेश्वरमा राखून्, जसले हामीले आनन्द उठाइरहेको सबै चिज हामीलाई प्रशस्तगरि दिनुहुन्छ।+ १८ तिनीहरूलाई निर्देशन देऊ कि तिनीहरूले भलाइको काम गरून्, तिनीहरू असल काममा धनी होऊन्, उदार होऊन्, बाँडचुँड गर्न तत्पर होऊन्+ १९ अनि आफ्नो भविष्यको लागि राम्रो जग बसालून्, जुन सुरक्षित धनसम्पत्तिसरह हुनेछ।+ यसरी तिनीहरूले साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न सक्नेछन्।+
२० हे तिमोथि, तिमीलाई नासोको रूपमा जे सुम्पिइएको छ, त्यसलाई सँभालेर राख+ अनि पवित्र कुरालाई बिटुलो पार्ने खोक्रा बोलीहरूबाट र त्यस्ता मानिसहरूको विचारबाट अलग बस, जो आफूसित ज्ञान छ भनी सोच्छन् तर तिनीहरूको ज्ञान सत्यसित मेल खाँदैन।+ २१ किनकि यस्तो ज्ञानको पछि लागेर कोही-कोही विश्वासबाट तर्केका छन्।
परमेश्वरको असीम अनुग्रह तिमीसित रहोस्।
शब्दावली हेर्नुहोस्।
यसको अर्थ हो, “परमेश्वरको आदर गर्ने व्यक्ति।”
वा “आज्ञाको।”
वा “अटल प्रेम नभएका।”
शब्दावली हेर्नुहोस्।
वा “पुरुषसित यौनसम्बन्ध राख्ने पुरुष।”
वा “झूटो कसम खाने।”
वा “स्वस्थकर; लाभदायी।”
वा “अख्तियारवालाका।”
वा “सबै किसिमका मानिसका लागि।”
वा “राम्ररी विचार गरेर; समझ चलाउँदै।”
वा “आदरयोग्य।”
वा “शान्त रहेर।”
वा “समझ।”
वा “राम्ररी विचार गर्ने; समझदार।”
वा “तिनले अरूलाई चोट पुऱ्याउनु हुँदैन।”
वा “घरपरिवारको लागि राम्रो प्रबन्ध मिलाउनुपर्छ।”
वा “कलङ्क।”
वा “छली कुरा गर्नु हुँदैन।”
वा “दुष्ट स्वर्गदूतहरूका।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्।
वा “व्यायामबाट।”
वा “शुद्ध।”
वा “प्रोत्साहन दिने।”
शब्दावली हेर्नुहोस्।
अर्थात्, मदत गर्ने कोही नभएका विधवाहरूको।
शा., “आदर गर।”
वा “आज्ञाहरू।”
शा., “एउटै पतिको पत्नी रहेकी थिइन्।”
शा., “ताकि अरू पनि डराऊन्।”
अर्थात्, कुनै मानिसलाई हतारमा नियुक्त नगर्नू।
वा “पानी मात्र पिउने नगर्नू।”
वा “स्वस्थकर; लाभदायी।”
वा “बहस गर्ने अनुचित किसिमको बानी हुन्छ।”
वा “दुर्वचन।”
वा “बस्ने ठाउँ।”
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “आदेश।”