पत्रुसको दोस्रो पत्र
१ म सिमोन पत्रुस, येसु ख्रिष्टको दास अनि प्रेषित,* तिनीहरूलाई लेख्दै छु, जसले हाम्रा परमेश्वर अनि हाम्रा उद्धारक येसु ख्रिष्टको भलाइद्वारा हाम्रोजस्तै अनमोल विश्वास प्राप्त गरेका छन्:*
२ परमेश्वरको अनि हाम्रा प्रभु येसुको सही ज्ञानद्वारा+ तिमीहरूले पाइरहेको असीम अनुग्रह अनि शान्ति प्रशस्त हुँदै जाओस् ३ किनकि परमेश्वरको भक्ति गर्दै जीवन बिताउन चाहिने सबै कुरा उहाँको शक्तिले हामीलाई दिएको* छ। हामीलाई आफ्नो महिमा अनि सद्गुणद्वारा बोलाउनुहुनेको सही ज्ञानद्वारा हामीले ती कुराहरू पाएका हौँ।+ ४ हामी परमेश्वरजस्तै अदृश्य हुन सकौँ भनेर+ उहाँले यही महिमा अनि सद्गुणद्वारा अमूल्य अनि महान् प्रतिज्ञाहरू गर्नुभएको छ।*+ संसारमा कुइच्छाले* गर्दा उत्पन्न भएको भ्रष्टताबाट हामी उम्किसकेको हुनाले उहाँले हामीसित ती प्रतिज्ञाहरू गर्नुभएको हो।
५ यही कारणले गर्दा तिमीहरू पनि भरमग्दुर प्रयत्न गर्दै+ तिमीहरूको विश्वासमा सद्गुण,+ तिमीहरूको सद्गुणमा ज्ञान,+ ६ तिमीहरूको ज्ञानमा आत्मसंयम, तिमीहरूको आत्मसंयममा+ सहनशीलता, तिमीहरूको सहनशीलतामा परमेश्वरको भक्ति,+ ७ परमेश्वरको भक्तिमा भ्रातृस्नेह, तिमीहरूको भ्रातृस्नेहमा प्रेम+ थप्दै जाओ। ८ यदि तिमीहरूसित यी कुराहरू प्रशस्त मात्रामा छन् भने ती कुराहरूले तिमीहरूलाई हाम्रा प्रभु येसु ख्रिष्टबारे सिकेको सही ज्ञान प्रयोग गरेर फल फलाउन र निष्क्रिय नहुन मदत गर्नेछ।+
९ जोसित यी कुराहरू छैन, ऊ अन्धा हो; ऊ ज्योति देख्न चाहँदैन*+ अनि आफूले पहिले गरेका पापहरू पखालिइसकेका छन् भनेर उसले बिर्सेको छ।+ १० यसकारण हे भाइहरू हो, परमेश्वरले बोलाउनुभएको+ अनि छान्नुभएको व्यक्तिको रूपमा लायक भइरहन अझ धेरै परिश्रम गर किनकि यी कुराहरू गरिरह्यौ भने तिमीहरू कुनै हालतमा असफल हुनेछैनौ।+ ११ भनौँ भने यसरी तिमीहरूले हाम्रा प्रभु अनि उद्धारक येसु ख्रिष्टको चिरस्थायी राज्यभित्र+ महिमायुक्त प्रवेश पाउनेछौ।+
१२ यही कारणले गर्दा म सधैँ तिमीहरूलाई यी कुराहरू सम्झाइरहने इच्छा गर्छु। हुनत तिमीहरूलाई यी कुराहरू थाहै छ अनि तिमीहरू आफूले सिकेको सत्यमा अडिग छौ। १३ तर म यस वासस्थानमा* छउन्जेल+ तिमीहरूलाई यी कुरा सम्झाएर उत्साहित बनाउनु उचित ठान्छु।+ १४ किनकि मेरो यो वासस्थान छिट्टै भत्काइँदै छ भनेर मलाई थाह छ र हाम्रा प्रभु येसु ख्रिष्टले पनि मलाई यो कुरा प्रस्ट पार्नुभएको थियो।+ १५ त्यसैले म सधैँ तिमीहरूलाई सम्झाइरहन यथासक्दो गरिरहनेछु ताकि म गइसकेपछि पनि तिमीहरूले आफूलाई यी कुराहरू सम्झाइरहन सक।
१६ अहँ, चतुऱ्याइँसाथ रचिएका झूटा कथाहरू सुनाएर हामीले तिमीहरूलाई हाम्रा प्रभु येसु ख्रिष्टको शक्ति अनि उपस्थितिसित परिचित गराएका थिएनौँ। बरु हामीले आफ्नै आँखाले उहाँको वैभव देखेका थियौँ।+ १७ किनकि उहाँले परमेश्वर, हाम्रा बुबाबाटै आदर अनि महिमा पाउनुभयो, जतिबेला वैभवशाली महिमाका स्रोतले उहाँलाई यसो भन्नुभएको थियो: “यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले स्विकारेको छु।”+ १८ हो, हामी उहाँसित पवित्र डाँडामा भएको बेला हामीले स्वर्गबाट त्यो वाणी सुनेका थियौँ।
१९ त्यसैले हामीसित भएको भविष्यसूचक वचन झन् पक्का भएको छ; (झिसमिसे उज्यालो नभएसम्म अनि बिहानको तारा+ नउदाएसम्म) तिमीहरूले आफ्नो हृदयमा त्यस वचनलाई अँध्यारो ठाउँमा बलिरहेको बत्तीलाई झैँ+ ध्यान दिएर राम्रै गरिरहेका छौ। २० तिमीहरूले सबैभन्दा पहिला यो कुरा बुझिराख कि धर्मशास्त्रमा भएको कुनै पनि भविष्यवाणी कसैको निजी धारणाको उपज होइन। २१ किनकि कुनै भविष्यवाणी मानिसको इच्छाबाट कहिल्यै आएन+ तर पवित्र शक्तिबाट उत्प्रेरित भएर मानिसहरूले परमेश्वरको तर्फबाट बोल्थे।+
२ जसरी इस्राएलका मानिसहरूबीच झूटा भविष्यवक्ताहरू खडा भएका थिए, त्यसरी नै तिमीहरूमाझ पनि झूटा शिक्षकहरू देखा पर्नेछन्।+ कसैले चाल नपाउनेगरि तिनीहरूले तिमीहरूको विश्वासलाई हानि पुऱ्याउने गुटहरू खडा गर्नेछन् र आफूलाई किन्ने मालिकलाई+ समेत तिनीहरूले इन्कार गर्नेछन् अनि यी सब गरेर तिनीहरूले आफ्नो विनाश छिट्टै निम्त्याउनेछन्। २ साथै धेरै जनाले तिनीहरूको निर्लज्ज आचरणको*+ सिको गर्नेछन्। तिनीहरूले गर्दा सत्यको मार्गको बदनाम हुनेछ।+ ३ यसबाहेक लोभले गर्दा तिनीहरूले झूटा कुराहरू गरेर तिमीहरूलाई फसाउनेछन्। तर तिनीहरूको निम्ति धेरै अघि नै तय भइसकेको न्यायदण्डले ढिला गर्नेछैन+ अनि तिनीहरूको विनाश थामिएको छैन।+
४ हो, पाप गर्ने स्वर्गदूतहरूलाई+ सजाय दिनदेखि परमेश्वर पछि हट्नुभएन तर न्यायदण्डको निम्ति तिनीहरूलाई टार्टरसमा* फालिदिनुभयो,+ उहाँले तिनीहरूलाई साङ्लाले बाँधेर घोर अन्धकारमा हालिदिनुभयो।*+ ५ त्यसैगरि उहाँ प्राचीन संसारलाई सजाय दिनदेखि पछि हट्नुभएन।+ तर उहाँले धार्मिकताबारे* प्रचार गर्ने नुहलाई+ अनि अरू सात जनालाई+ भक्तिहीन मानिसहरूको संसारमाथि जलप्रलय ल्याउँदा बचाउनुभयो।+ ६ अनि उहाँले सदोम र गमोरा नामका सहरहरूलाई खरानी पारेर सजाय दिनुभयो+ र यसरी भक्तिहीन मानिसहरूमाथि आइपर्ने कुराहरूको नमुना बसाल्नुभयो।+ ७ तर उहाँले धर्मी लुतलाई भने छुटकारा दिनुभयो,+ जो कुकर्मीहरूको निर्लज्ज आचरण* देखेर असाध्यै चिन्तित भएका थिए— ८ यस धर्मी मानिसलाई तिनीहरूबीच रहँदा-बस्दा हरेक दिन तिनीहरूको कुकर्म देख्नु र सुन्नुपरेकोले औडाहा हुन्थ्यो। ९ तसर्थ परमेश्वरको भक्ति गर्ने मानिसहरूलाई कसरी परीक्षाबाट छुटाउने+ तर अधर्मीहरूलाई भने न्यायको दिनमा नाश गर्नका लागि कसरी राखिछोड्ने,+ सो यहोवा* परमेश्वर जान्नुहुन्छ, १० अझ विशेषगरि त्यस्ता मानिसहरूलाई, जो अरूको शरीर बिटुलो पार्न+ खोज्छन् अनि अख्तियारलाई तुच्छ ठान्छन्।+
यी महसुर अनि आफूखुसी गर्ने मानिसहरू महिमा पाएका जनहरूको निन्दा गर्न डराउँदैनन् ११ जबकि उनीहरूभन्दा बलवान् अनि क्षमतावान् भएर पनि स्वर्गदूतहरूले अपशब्द बोलेर उनीहरूलाई दोष लगाउँदैनन् किनकि तिनीहरू यहोवा* परमेश्वरको आदर गर्छन्।+ १२ तर यी मानिसहरू भने आफ्नो सहज ज्ञानअनुसार चल्ने बेसमझ पशुहरूजस्तै छन्, जो पक्रिन र मारिनका लागि जन्मेका हुन्छन्। यिनीहरू आफूलाई थाह नभएका कुराहरूविरुद्ध अपशब्द बोल्छन्।+ विनाशको बाटोमा लागेर यिनीहरू आफ्नो विनाश आफै निम्त्याउँछन् १३ र खराबीको बाटोमा लागेको हुनाले यिनीहरूले इनामस्वरूप खराबी नै भोग्नेछन्।
दिनदहाडै विलासितामा डुब्न तिनीहरूलाई मज्जा लाग्छ।+ तिनीहरू दाग अनि खोट हुन् अनि तिमीहरूसित भोज खाँदै छलले भरिएको शिक्षालाई बढवा दिन पाउँदा तिनीहरू असाध्यै खुसी हुन्छन्।+ १४ तिनीहरूका आँखा कामवासनाले*+ भरिएका छन् अनि तिनीहरू आफूलाई पाप गर्नदेखि रोक्न सक्दैनन्। अस्थिर मानिसहरूलाई तिनीहरू फसाउँछन्। तिनीहरूले आफ्ना हृदयलाई लोभ गर्न तालिम दिएका छन्। तिनीहरू श्रापित सन्तान हुन्। १५ सोझो बाटोलाई त्यागेर तिनीहरू बहकिएका छन्। तिनीहरू बेअरको छोरा बालामको बाटोमा हिँडेका छन्,+ जसले कुकर्मको इनामलाई प्रेम गरेका थिए+ १६ र आफूले गरेको गलत कामको निम्ति हप्की खाएका थिए।+ बोल्न नसक्ने गधाले आफ्नो मुखबाट मानिसको आवाज निकालेर ती भविष्यवक्ताको पागलपनलाई रोक्यो।+
१७ तिनीहरू पानीविनाका मुहान अनि भीषण आँधीले उडाएका कुहिरो हुन्। तिनीहरूको निम्ति घोर अन्धकार साँचेर राखिएको छ।+ १८ तिनीहरू ठूलठूला कुरा गर्छन् तर ती खोक्रा हुन्छन्। अनि गलत काम गर्ने मानिसहरूको माझबाट भर्खरै निस्केर आएकाहरूलाई शरीरका कुइच्छाहरू+ अनि निर्लज्ज आचरणद्वारा* फसाउँछन्।+ १९ तिनीहरू स्वतन्त्रता दिने प्रतिज्ञा गर्छन् तर आफै भने भ्रष्टताका दासहरू हुन्।+ किनकि यदि कोही कसैको वशमा पर्छ भने* ऊ त्यसैको दास हुन्छ।+ २० साँच्चै, हाम्रा प्रभु अनि उद्धारक येसु ख्रिष्टको सही ज्ञान हासिल गरेर यस संसारका अशुद्ध कुराहरूबाट उम्केपछि+ तिनीहरू फेरि त्यही कुराहरूमा मुछिन्छन् र त्यसको वशमा पर्छन् भने तिनीहरूको पछिल्लो अवस्था पहिलेको भन्दा झनै खराब हुन्छ।+ २१ धार्मिकताको मार्गबारे सही ज्ञान हासिल गरिसकेपछि आफूले पाएका पवित्र आज्ञाहरूबाट मुख फर्काउनुभन्दा त तिनीहरूले ती कुराहरू थाहै नपाएको भए बेस हुने थियो।+ २२ यो सत्य उखान तिनीहरूमा ठ्याक्कै लागू हुन्छ: “कुकुरले फर्केर फेरि आफ्नै बान्ता चाट्छ, नुहाइदिएको सुँगुर फेरि हिलैमा लडीबुडी गर्छ।”+
३ हे प्रियहरू हो, मैले तिमीहरूलाई लेखिरहेको यो दोस्रो पत्र हो। मेरो पहिलो पत्रमा झैँ यस पत्रमा पनि केही कुरा सम्झना गराएर म तिमीहरूमा स्पष्टसित सोच्ने क्षमता जगाउँदै छु+ २ ताकि तिमीहरूले पवित्र भविष्यवक्ताहरूले धेरै पहिले बताएका कुराहरू* अनि हाम्रा प्रभु र उद्धारकले तिमीहरूका प्रेषितहरूमार्फत दिनुभएका आज्ञाहरू सम्झन सक। ३ तिमीहरूले सबैभन्दा पहिले यो कुरा बुझिराख, आफ्ना कुइच्छाहरू पूरा गर्न अन्तको दिनमा गिल्ला गर्नेहरू देखा पर्नेछन्, जो आफ्नै इच्छाअनुसार चल्नेछन्+ ४ र भन्नेछन्: “उहाँले प्रतिज्ञा गर्नुभएको उहाँको उपस्थिति खोइ?+ किनकि सृष्टिको सुरुवातदेखि सबै कुरा जसरी चल्दै आएको थियो, हाम्रा पुर्खाहरू मृत्युको चिर निद्रामा परेको दिनदेखि यता पनि त्यसरी नै चलिरहेको छ।”+
५ तिनीहरू जानीबुझीकन यस कुरालाई बेवास्ता गर्छन् कि आकाश धेरै अघिदेखि नै थियो अनि परमेश्वरको वचनद्वारा जमिन पानीमाथि निस्क्यो र त्यो चारैतिर पानीले घेरिएको थियो।+ ६ अनि तीद्वारा नै त्यसबेलाको संसार जलप्रलय हुँदा डुबेर नाश भयो।+ ७ त्यही वचनद्वारा अहिले अस्तित्वमा रहेका आकाश र पृथ्वीलाई आगोको निम्ति साँचिएको छ अनि भक्तिहीन मानिसहरूको न्याय र विनाश हुने दिनसम्मका लागि छुट्ट्याएर राखिएको छ।+
८ तर हे प्रियहरू हो, तिमीहरू यो कुरा नबिर्स, यहोवा* परमेश्वरको लागि एक दिनचाहिँ एक हजार वर्ष र एक हजार वर्षचाहिँ एक दिन हो।+ ९ केही मानिसले सोचेजस्तो यहोवा* परमेश्वर आफ्नो प्रतिज्ञा पूरा गर्न ढिला गर्नुहुन्न+ तर उहाँ तिमीहरूप्रति धीरजी हुनुहुन्छ किनकि उहाँ कोही पनि नाश नहोस् बरु सबैले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ।+ १० तर यहोवा* परमेश्वरको दिन+ चोर आएझैँ आउनेछ।+ त्यस दिन आकाश ठूलो गर्जनसहित बितेर जानेछ+ तर तत्त्वहरूचाहिँ प्रचण्ड तापले गर्दा पग्लनेछन् अनि पृथ्वी र त्यहाँ गरिएका कामहरू पर्दाफास हुनेछन्।+
११ यी सबै कुरा यसरी पग्लने भएकोले तिमीहरू कस्तो किसिमको मानिस हुनुपर्छ, सोच! तिमीहरू पवित्र आचरण भएका र परमेश्वरप्रतिको भक्ति प्रकट हुने कामहरू गर्ने मानिस हुनुपर्छ १२ अनि तिमीहरूले यहोवा* परमेश्वरको दिनको उपस्थितिलाई पर्खनुपर्छ र मनमा राख्नुपर्छ,*+ जुन दिनले गर्दा आकाश आगोले नष्ट हुनेछ+ अनि तत्त्वहरूचाहिँ प्रचण्ड तापले गर्दा पग्लनेछन्। १३ तर हामी परमेश्वरको प्रतिज्ञाबमोजिम नयाँ आकाश र नयाँ पृथ्वीको प्रतीक्षा गर्दै छौँ,+ जहाँ धार्मिकताले* बास गर्नेछ।+
१४ त्यसकारण हे प्रियहरू हो, तिमीहरूले यी कुराहरूको प्रतीक्षा गरिरहेको हुनाले अन्तमा उहाँको नजरसामु तिमीहरू बेदाग र निष्खोट रहिरहेको अनि शान्ति कायम गरिरहेको पाइन भरमग्दुर कोसिस गर।+ १५ साथै हाम्रा प्रभुको धीरजलाई उद्धार पाउने मौका ठान।+ हाम्रा प्रिय भाइ पावलले पनि आफूलाई दिइएको बुद्धिअनुसार तिमीहरूलाई यही कुरा लेखे। १६ आफ्ना अरू सबै पत्रमा पनि तिनले यी नै कुराहरूको विषयमा बताएका छन्। तथापि ती पत्रहरूमा लेखिएका केही कुरा बुझ्न गाह्रा छन् र जो-जोसित यी कुराहरूको समझ छैन* अनि जो अस्थिर छन्, तिनीहरूले यी कुराहरूलाई बङ्ग्याइरहेका छन्। तिनीहरू धर्मशास्त्रको अरू भागलाई पनि त्यसरी नै बङ्ग्याउँछन् र आफ्नै विनाश निम्त्याउँछन्।
१७ त्यसकारण हे प्रियहरू हो, तिमीहरूलाई पहिल्यैदेखि यो कुराको ज्ञान भएकोले होसियार होओ नत्र त ती कुकर्मीहरूको छली कुराहरूद्वारा बहकिएर तिमीहरूले आफ्नो स्थिरता गुमाउनेछौ।+ १८ बरु हाम्रा प्रभु अनि उद्धारक येसु ख्रिष्टको असीम अनुग्रह र ज्ञानमा बढ्दै जाओ। अहिले अनि सदासर्वदा उहाँकै महिमा भइरहोस्। आमिन।
शब्दावली हेर्नुहोस्।
वा “विश्वास प्राप्त गरेर हामीले जस्तै सम्मान पाएका छन्।”
वा “सित्तैँमा दिएको।”
वा “सित्तैँमा दिनुभएको छ।”
वा “कामवासनाले।”
वा सम्भवतः “ऊ अन्धा हो; उसले टाढाको कुरा देख्दैन।”
वा “पालमा।” अर्थात्, तिनको पार्थिव शरीर।
वा “छाडा आचरणको।” ग्रीक भाषामा असेल्गिया। शब्दावलीमा “निर्लज्ज आचरण” हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा सम्भवतः “तिनीहरूलाई घोर अन्धकारको खाडलहरूमा हालिदिनुभयो।”
शब्दावली हेर्नुहोस्।
वा “छाडा आचरण।” ग्रीक भाषामा असेल्गिया। शब्दावलीमा “निर्लज्ज आचरण” हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
वा “व्यभिचारले।” शब्दावलीमा “व्यभिचार” हेर्नुहोस्।
वा “छाडा आचरणद्वारा।” ग्रीक भाषामा असेल्गिया। शब्दावलीमा “निर्लज्ज आचरण” हेर्नुहोस्।
वा “यदि कोही कुनै कुराको वशमा पर्छ भने।”
वा “गरेका भविष्यवाणीहरू।”
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
वा “उत्सुकतासाथ इच्छा गर्नुपर्छ।”
शब्दावली हेर्नुहोस्।
वा “ज-जसलाई सिकाइएको छैन।”