प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt १ युहन्‍ना १:१-५:२१
  • १ युहन्‍ना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १ युहन्‍ना
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ युहन्‍ना

युहन्‍नाको पहिलो पत्र

१ हामी तिमीहरूलाई जीवनको वचनबारे लेख्दै छौँ,+ जो सुरुदेखि हुनुहुन्थ्यो, जसलाई हामीले सुनेका छौँ, आफ्नै आँखाले देखेका छौँ, ध्यान दिएर हेरेका छौँ अनि आफ्नै हातले छोएका पनि छौँ। २ (हो, हामीलाई अनन्त जीवन प्रकट गरियो अनि हामीले यो देखेका छौँ र यसबारे साक्षी दिँदै छौँ + अनि तिमीहरूलाई बताउँदै छौँ। यो अनन्त जीवन+ बुबाबाट आएको हो र यो हामीलाई प्रकट गरियो।) ३ हामीले जसलाई देखेका र सुनेका छौँ, उहाँबारे तिमीहरूलाई पनि बताउँदै छौँ + ताकि तिमीहरूको पनि हामीसित साझेदारी होस्‌। अनि हाम्रो यो साझेदारी बुबा र उहाँको छोरा येसु ख्रिष्टसित छ।+ ४ हाम्रो खुसी भरपुर होस्‌ भनेर हामी यी कुराहरू लेख्दै छौँ।

५ हामीले उहाँबाट सुनेको र तिमीहरूलाई सुनाइरहेको सन्देश यही हो: परमेश्‍वर ज्योति हुनुहुन्छ+ र उहाँमा रत्तीभर अन्धकार छैन। ६ यदि हामी “उहाँसित हाम्रो साझेदारी छ” भन्छौँ तर अन्धकारमा हिँडिरहन्छौँ भने हामीले झूट बोलिरहेका हुन्छौँ र सत्यमा चलिरहेका हुँदैनौँ।+ ७ तर उहाँ आफै ज्योतिमा हुनुभएझैँ यदि हामी पनि ज्योतिमा हिँडिरहेका छौँ भने एकअर्कासित हाम्रो साझेदारी पक्कै छ र उहाँको छोरा येसुको रगतले हाम्रा सबै पाप पखालेर हामीलाई शुद्ध पार्छ।+

८ यदि हामी “हामीमा पाप छैन” भन्छौँ भने आफैलाई झुक्क्याइरहेका हुन्छौँ + र हामीमा सत्य हुँदैन। ९ परमेश्‍वर विश्‍वासयोग्य र न्यायी हुनुहुन्छ। त्यसैले यदि हामीले आफ्ना पापहरू स्विकाऱ्‍यौँ भने उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ र सबै दुष्ट कामबाट हामीलाई शुद्ध पार्नुहुन्छ।+ १० यदि हामी “हामीले पाप गरेका छैनौँ” भन्छौँ भने हामीले उहाँलाई झूटा ठहराइरहेका हुन्छौँ र उहाँको वचन हामीमा हुँदैन।

२ हे मेरा साना केटाकेटी हो, म तिमीहरूलाई यी कुराहरू लेख्दै छु ताकि तिमीहरूले पाप नगर। तर यदि कसैले पाप गरिहाल्यो भने पनि बुबासँग हाम्रो निम्ति एक जना मदतगार* हुनुहुन्छ अर्थात्‌ येसु ख्रिष्ट,+ जो धर्मी हुनुहुन्छ।+ २ अनि हाम्रा पापहरूका लागि उहाँ प्रायश्‍चितको बलिदान+ हुनुहुन्छ,+ भनौँ भने हाम्रो लागि मात्र होइन तर सारा संसारका पापहरूका लागि।+ ३ यदि हामीले उहाँका आज्ञाहरू पालन गरिरह्‍यौँ भने हामीले उहाँलाई चिनेका छौँ भनेर त्यसैबाट हामीलाई थाह हुन्छ। ४ यदि कसैले “मैले उहाँलाई चिनेको छु” भन्छ तर उहाँका आज्ञाहरू भने पालन गर्दैन भने ऊ झूटा हो र त्यस मानिसमा सत्य हुँदैन। ५ तर जसले उहाँको वचन पालन गर्छ, त्यस मानिसमा परमेश्‍वरप्रतिको प्रेम साँच्चै पूर्ण रूपमा देखिन्छ।+ हामी उहाँसित एकतामा छौँ भनेर त्यसैबाट हामीलाई थाह हुन्छ।+ ६ जसले आफूलाई उहाँसित एकतामा छु भन्छ, उसले येसुले जसरी जीवन बिताउनुभएको थियो, त्यसरी नै जीवन बिताइरहनै पर्छ।*+

७ हे मेरा प्रियहरू हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन तर तिमीहरूले सुरुदेखि नै पाएको पुरानै आज्ञा लेख्दै छु।+ यो पुरानो आज्ञा त्यही वचन हो, जुन तिमीहरूले सुनिसकेका छौ। ८ फेरि पनि म तिमीहरूलाई एउटा नयाँ आज्ञाजस्तै गरी लेख्दै छु, जुन आज्ञा येसुले पनि पालन गर्नुभयो अनि तिमीहरू पनि पालन गर्छौ किनकि अन्धकार हट्‌दै छ र साँचो ज्योति चम्कन थालिसकेको छ।+

९ जसले आफू ज्योतिमा छु भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ,+ ऊ अझै पनि अन्धकारमा छ।+ १० जसले आफ्नो भाइलाई प्रेम गर्छ, ऊ ज्योतिमा रहन्छ+ र उसको लागि ठक्कर खाने केही कारण हुँदैन। ११ तर जसले आफ्नो भाइलाई घृणा गर्छ, ऊ अन्धकारमा हुन्छ र अन्धकारमै हिँडिरहेको हुन्छ+ अनि उसलाई आफू कहाँ जाँदै छु भनेर थाह हुँदैन+ किनकि अन्धकारले उसको आँखा अन्धो बनाएको छ।

१२ हे साना केटाकेटी हो, म तिमीहरूलाई लेख्दै छु किनकि उहाँको नामको खातिर तिमीहरूले आफ्ना पापहरूको क्षमा पाइसकेका छौ।+ १३ हे बुबाहरू हो, म तिमीहरूलाई लेख्दै छु किनकि तिमीहरूले उहाँलाई चिनेका छौ, जो सुरुदेखि नै हुनुहुन्छ। हे युवकहरू हो, म तिमीहरूलाई लेख्दै छु किनकि तिमीहरूले त्यस दुष्टमाथि* विजय हासिल गरेका छौ।+ हे केटाकेटी हो, म तिमीहरूलाई लेख्दै छु किनकि तिमीहरूले परमेश्‍वर, हाम्रा बुबालाई चिनेका छौ।+ १४ हे बुबाहरू हो, म तिमीहरूलाई लेख्दै छु किनकि तिमीहरूले उहाँलाई चिनेका छौ, जो सुरुदेखि नै हुनुहुन्छ। हे युवकहरू हो, म तिमीहरूलाई लेख्दै छु किनकि तिमीहरू बलिया छौ,+ परमेश्‍वरको वचन तिमीहरूमा छ+ अनि तिमीहरूले त्यस दुष्टमाथि विजय हासिल गरेका छौ।+

१५ संसारलाई वा संसारमा भएका थोकहरूलाई प्रेम नगर।+ यदि कसैले संसारलाई प्रेम गर्छ भने बुबाप्रतिको प्रेम उसमा हुँदैन+ १६ किनकि संसारमा भएको जुनसुकै थोक अर्थात्‌ शरीरको अभिलाषा,+ आँखाको अभिलाषा+ र तडकभडक * बुबाबाट होइन तर संसारबाट आउँछ। १७ यसबाहेक संसार बितेर जाँदै छ र त्यसको अभिलाषा पनि+ तर जसले परमेश्‍वरको इच्छा पूरा गर्छ, ऊ सधैँभरि रहिरहन्छ।+

१८ हे साना केटाकेटी हो, यो आखिरी समय हो। ख्रिष्ट-विरोधी आउँदै छ भनेर तिमीहरूले सुनेअनुसारै+ अहिले पनि धेरै जना ख्रिष्ट-विरोधी देखा परेका छन्‌;+ यसैबाट यो आखिरी समय हो भनेर हामी थाह पाउँछौँ। १९ तिनीहरू हामीबाट निस्केर गए तर तिनीहरू हामीजस्ता थिएनन्‌*+ किनकि तिनीहरू हामीजस्ता भएका भए तिनीहरू हामीसितै रहने थिए। तर सबै जना हामीजस्ता छैनन्‌ भन्‍ने कुरा देखियोस्‌ भनेर नै तिनीहरू निस्केर गए।+ २० तिमीहरू पवित्र परमेश्‍वरबाट अभिषेक भएका छौ,+ त्यसैले तिमीहरू सबैसित ज्ञान छ। २१ तिमीहरूलाई सत्य थाह नभएकोले मैले तिमीहरूलाई लेखेको होइनँ+ तर तिमीहरूलाई सत्य थाह भएकोले र सत्यबाट कुनै झूट नआउने भएकोले नै मैले लेखेको हुँ।+

२२ येसु नै ख्रिष्ट हुनुहुन्छ भनेर इन्कार गर्ने मानिस यदि झूटा होइन भने अरू को होला र?+ ख्रिष्ट-विरोधी त्यही हो,+ जसले बुबा र छोरालाई इन्कार गर्छ। २३ हरेक जसले छोरालाई इन्कार गर्छ, ऊसित बुबा रहनुहुन्‍न।+ जसले छोरालाई स्विकार्छ,+ ऊसित बुबा रहनुहुन्छ।+ २४ जहाँसम्म तिमीहरूको कुरा छ, तिमीहरूले सुरुदेखि जे सुनेका छौ, त्यो तिमीहरूमा रहिरहनै पर्छ।+ तिमीहरूले सुरुदेखि जे सुनेका छौ, त्यो तिमीहरूमा रहिरह्‍यो भने तिमीहरू छोरासित एकतामा रहन र बुबासित एकतामा रहन सक्नेछौ। २५ यसबाहेक उहाँ आफैले हामीसित प्रतिज्ञा गर्नुभएको कुरा यही हो अर्थात्‌ अनन्त जीवन।+

२६ म तिमीहरूलाई यी कुराहरू ती मानिसहरूको विषयमा लेख्दै छु, जसले तिमीहरूलाई बहकाउन खोजिरहेका छन्‌। २७ अनि जहाँसम्म तिमीहरूको कुरा छ, परमेश्‍वरले आफ्नो पवित्र शक्‍तिद्वारा तिमीहरूलाई अभिषेक गर्नुभएको छ+ र यो पवित्र शक्‍ति तिमीहरूमा रहिरहन्छ अनि तिमीहरूलाई कसैले सिकाइरहनु आवश्‍यक छैन। तर परमेश्‍वरले तिमीहरूको अभिषेकद्वारा तिमीहरूलाई सबै कुरा सिकाइरहनुभएको छ।+ तिमीहरूको यो अभिषेक झूटो होइन तर साँचो हो। तिमीहरूको अभिषेकद्वारा तिमीहरूलाई सिकाइएअनुसारै तिमीहरू परमेश्‍वरसित एकतामा रहिरहो।+ २८ त्यसैले अब हे साना केटाकेटी हो, उहाँसित एकतामा रहिरहो ताकि उहाँ प्रकट हुनुहुँदा हामी निर्धक्क भई साहसका साथ बोल्न सकौँ + अनि उहाँको उपस्थितिको बेला हामी सरममा परेर उहाँबाट टाढा नजाऔँ। २९ यदि उहाँ धर्मी हुनुहुन्छ भनेर तिमीहरूलाई थाह छ भने परमेश्‍वरको धार्मिक स्तरबमोजिम चल्ने हरेक मानिस उहाँबाट जन्मिएको हुन्छ भनेर पनि तिमीहरूलाई थाह छ।+

३ हेर, परमेश्‍वरका सन्तान कहलाइने सुअवसर दिएर+ बुबाले हामीलाई कत्ति धेरै प्रेम गर्नुभएको छ!+ हुन पनि हामी उहाँका सन्तान नै हौँ। त्यसैले त संसारले हामीलाई चिन्दैन+ किनकि त्यसले उहाँलाई चिनेको छैन।+ २ हे प्रियहरू हो, अहिले हामी परमेश्‍वरका सन्तान हौँ + तर पछि हामी के हुने हौँ, त्यो अहिलेसम्म प्रकट गरिएको छैन।+ हामीलाई थाह छ, जब उहाँ प्रकट हुनुहुनेछ, तब हामी उहाँजस्तै हुनेछौँ किनकि हामीले उहाँलाई साँच्चै देख्नेछौँ। ३ जसले उहाँमाथि यो आशा राख्छ, उसले आफूलाई पनि त्यस्तै शुद्ध बनाउँछ,+ जस्तो उहाँ शुद्ध हुनुहुन्छ।

४ जसले पाप गरिरहन्छ, उसले नियम तोडिरहेको हुन्छ। पाप भनेको नियम तोड्‌नु हो। ५ तिमीहरूलाई यो पनि थाह छ, हाम्रा पापहरू मेटाउन येसु ख्रिष्ट प्रकट हुनुभएको थियो+ र उहाँमा कुनै पाप छैन। ६ उहाँसित एकतामा रहिरहनेले पाप गरिरहँदैन;+ जसले पाप गरिरहन्छ, उसले न उहाँलाई देखेको छ न त उहाँलाई चिनेको नै छ। ७ हे साना केटाकेटी हो, कसैले तिमीहरूलाई बहकाउन नपाओस्‌; जसले असल काम* गरिरहन्छ, येसु ख्रिष्टजस्तै ऊ पनि धर्मी हुन्छ। ८ जसले पाप गरिरहन्छ, ऊ दियाबलबाट आएको हो किनकि दियाबलले सुरुदेखि नै* पाप गर्दै आएको छ।+ दियाबलका कामहरू नष्ट गर्ने उद्देश्‍यले नै परमेश्‍वरको छोरा प्रकट हुनुभएको थियो।+

९ हरेक मानिस जो परमेश्‍वरबाट जन्मेको हुन्छ, उसले पाप गरिरहँदैन+ किनकि यस्तो मानिसमा उहाँको शक्‍ति* रहन्छ र ऊ परमेश्‍वरबाट जन्मेको हुनाले+ उसले पाप गरिरहन सक्दैन। १० परमेश्‍वरका सन्तान र दियाबलका सन्तान यसैबाट प्रस्ट हुन्छ: जसले असल काम* गरिरहँदैन, ऊ परमेश्‍वरबाट आएको होइन अनि जसले आफ्नो भाइलाई प्रेम गर्दैन, ऊ पनि परमेश्‍वरबाट आएको होइन।+ ११ किनकि तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो कि हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ।+ १२ हामी कयिनजस्तो हुनु हुँदैन, जो त्यस दुष्टबाट* आएको थियो र आफ्नो भाइको हत्या गऱ्‍यो।+ कयिनले किन तिनको हत्या गऱ्‍यो? किनकि कयिनका कामहरू दुष्ट थिए+ तर उसको भाइका कामहरू भने असल थिए।+

१३ हे भाइहरू हो, संसारले तिमीहरूलाई घृणा गरेको देखेर चकित नहोओ।+ १४ हामीलाई थाह छ, हामीले मृत्युलाई पार गरेर जीवन पाएका छौँ+ किनकि हामी भाइहरूलाई प्रेम गर्छौँ।+ जसले प्रेम गर्दैन, ऊ मृत्युमै रहिरहन्छ।+ १५ हरेक जसले आफ्नो भाइलाई घृणा गर्छ, ऊ हत्यारा हो+ अनि कोही पनि हत्याराले अनन्त जीवन पाउँदैन भनेर तिमीहरूलाई थाहै छ।+ १६ प्रेम के हो भनेर हामीले यसैबाट जानेका छौँ कि येसु ख्रिष्टले हाम्रो निम्ति आफ्नो ज्यान अर्पण गर्नुभयो।+ त्यसैले हाम्रा भाइहरूका निम्ति आफ्नो ज्यान अर्पण गर्नु हाम्रो पनि कर्तव्य हो।+ १७ कसैसित यस संसारको भौतिक धनसम्पत्ति छ तर आफ्नो भाइलाई खाँचो परेको देखेर पनि करुणा देखाउन इन्कार गर्छ भने परमेश्‍वरको प्रेम उसमा कसरी रहन्छ र?+ १८ हे साना केटाकेटी हो, हामीले वचन र मुखले होइन तर कामद्वारा+ साँचो प्रेम गर्नुपर्छ।+

१९ हामी सत्यका हौँ भनेर यसैबाट हामीले थाह पाउनेछौँ अनि परमेश्‍वरले हामीलाई प्रेम गर्नुहुन्छ भनेर आफ्नो हृदयलाई ढुक्क बनाउनेछौँ।* २० हाम्रो हृदयले हामीलाई कुनै कुरामा दोषी ठहरायो भने पनि हामी यो कुरा नबिर्सौँ कि परमेश्‍वर हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ र उहाँलाई सबै कुरा थाह छ।+ २१ हे प्रियहरू हो, यदि हाम्रो हृदयले हामीलाई दोषी ठहराउँदैन भने हामी निर्धक्क भई साहसका साथ परमेश्‍वरसित बोल्न सक्छौँ।+ २२ अनि हामीले जेसुकै मागे तापनि उहाँबाट पाउनेछौँ + किनकि हामीले उहाँका आज्ञाहरू पालन गरिरहेका छौँ र उहाँलाई मन पर्ने कामहरू गरिरहेका छौँ। २३ वास्तवमा उहाँको आज्ञा यही हो: हामीले उहाँको छोरा येसु ख्रिष्टको नाममा विश्‍वास गर्नुपर्छ+ र उहाँले हामीलाई आज्ञा दिनुभएबमोजिम आपसमा प्रेम गर्नुपर्छ।+ २४ साथै जसले उहाँका आज्ञाहरू पालन गर्छ, ऊ उहाँसित एकतामा रहन्छ र उहाँ ऊसित एकतामा रहनुहुन्छ।+ अनि उहाँ हामीसित एकतामा रहनुहुन्छ भनेर उहाँले हामीलाई दिनुभएको पवित्र शक्‍तिद्वारा थाह पाउँछौँ।+

४ हे प्रियहरू हो, जुनसुकै प्रेरित सन्देशमाथि विश्‍वास नगर+ बरु त्यो साँच्चै परमेश्‍वरबाट आएको हो कि होइन,+ जाँचेर हेर किनकि संसारमा धेरै झूटा भविष्यवक्‍ता देखा परेका छन्‌।+

२ कुनै सन्देश परमेश्‍वरबाट आएको हो कि होइन, तिमीहरूले यसैबाट थाह पाउनेछौ: येसु ख्रिष्ट मानव शरीर धारण गरेर आउनुभएको हो भनी स्विकार्ने जुनसुकै प्रेरित सन्देश परमेश्‍वरको तर्फबाट आएको हो।+ ३ तर जुन प्रेरित सन्देशले येसु ख्रिष्ट मानव शरीर धारण गरेर आउनुभएको हो भनी स्विकार्दैन, त्यो परमेश्‍वरको तर्फबाट आएको होइन।+ बरु त्यो ख्रिष्ट-विरोधीको प्रेरित सन्देश हो। तिमीहरूले त्यस्तो सन्देश आउनेछ भनेर सुनेका थियौ+ र त्यो अहिले संसारमा आइसकेको छ।+

४ हे साना केटाकेटी हो, तिमीहरू परमेश्‍वरका हौ र तिमीहरूले तिनीहरूमाथि विजय हासिल गरिसकेका छौ+ किनकि संसारसित एकतामा भएको दियाबलभन्दा+ तिमीहरूसित एकतामा हुनुहुने परमेश्‍वर+ महान्‌ हुनुहुन्छ। ५ तिनीहरू संसारका हुन्‌,+ त्यसैले संसारबाट जे निस्कन्छ, तिनीहरू त्यही बोल्छन्‌ र संसारले तिनीहरूको कुरा सुन्छ।+ ६ हामी परमेश्‍वरका हौँ। जसले परमेश्‍वरलाई चिन्छ, उसले हाम्रो कुरा सुन्छ;+ जो परमेश्‍वरको होइन, उसले हाम्रो कुरा सुन्दैन।+ यसैबाट हामी कुन प्रेरित सन्देश सत्य हो र कुन प्रेरित सन्देशचाहिँ झूटो हो, त्यो थाह पाउँछौँ।+

७ हे प्रियहरू हो, हामी आपसमा प्रेम गरिरहौँ + किनकि प्रेम परमेश्‍वरबाट आउँछ र जसले प्रेम गर्छ, ऊ परमेश्‍वरबाट जन्मेको हुन्छ र उसले परमेश्‍वरलाई चिन्छ।+ ८ जसले प्रेम गर्दैन, उसले परमेश्‍वरलाई चिनेको हुँदैन किनकि परमेश्‍वर प्रेम हुनुहुन्छ।+ ९ हाम्रो सन्दर्भमा परमेश्‍वरको प्रेम यसरी प्रकट भएको छ कि परमेश्‍वरले आफ्नो एक मात्र छोरा+ संसारमा पठाउनुभयो ताकि उहाँद्वारा हामीले जीवन पाउन सकौँ।+ १० प्रेम यसैमा छ कि हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौँ बरु उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापहरूको निम्ति प्रायश्‍चितको बलिदानस्वरूप+ उहाँले आफ्नो छोरालाई पठाउनुभयो।+

११ हे प्रियहरू हो, यदि परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नुभयो भने हामीले पनि आपसमा प्रेम गर्नु हाम्रो कर्तव्य हो।+ १२ परमेश्‍वरलाई कसैले पनि कहिल्यै देखेको छैन।+ यदि हामीले आपसमा प्रेम गरिरह्‍यौँ भने परमेश्‍वर हामीसित रहनुहुनेछ र उहाँको प्रेम हामीमा पूर्ण हुनेछ।+ १३ उहाँले हामीलाई आफ्नो पवित्र शक्‍ति दिनुभएको छ। त्यसैले हामी उहाँसित एकतामा रहेका छौँ अनि उहाँ हामीसित एकतामा रहनुहुन्छ भनेर हामीलाई थाह छ। १४ यसबाहेक बुबाले आफ्नो छोरालाई यस संसारको उद्धारकको रूपमा पठाउनुभएको हो+ भनेर हामी आफैले देखेका छौँ र त्यसको साक्षी दिइरहेका पनि छौँ। १५ त्यसैले येसु परमेश्‍वरको छोरा हुनुहुन्छ भनेर जसले स्विकार्छ,+ परमेश्‍वर ऊसित एकतामा रहनुहुन्छ र ऊ परमेश्‍वरसित एकतामा हुन्छ।+ १६ अनि परमेश्‍वर हामीलाई प्रेम गर्नुहुन्छ भनेर हामीले थाह पाएका छौँ र त्यसमा विश्‍वास पनि गरेका छौँ।+

परमेश्‍वर प्रेम हुनुहुन्छ+ अनि जो प्रेममा रहन्छ, ऊ परमेश्‍वरसित एकतामा रहन्छ र परमेश्‍वर ऊसित एकतामा रहनुहुन्छ।+ १७ यसरी हामीमा प्रेम पूर्ण भएको छ ताकि न्यायको दिनमा हामी निर्धक्क भई साहसका साथ बोल्न सकौँ*+ किनकि यस संसारमा हामी येसु ख्रिष्टजस्तै भएका छौँ। १८ प्रेममा डर हुँदैन+ तर पूर्ण भएको प्रेमले डर हटाउँछ किनकि डरले हामीलाई रोक्छ। हुन पनि जो डराउँछ, उसको प्रेम पूर्ण भएको हुँदैन।+ १९ हामी प्रेम गर्छौँ किनकि पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो।+

२० यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने ऊ झूटा हो।+ किनकि जसले आफूले देखेको भाइलाई प्रेम गर्दैन,+ उसले आफूले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन।+ २१ अनि हामीले उहाँबाट पाएको आज्ञा यही हो कि जसले परमेश्‍वरलाई प्रेम गर्छ, उसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ।+

५ जसले येसु नै ख्रिष्ट हुनुहुन्छ भनेर विश्‍वास गर्छ, ऊ परमेश्‍वरबाट जन्मेको हुन्छ+ र जसले जन्माउनुहुनेलाई प्रेम गर्छ, उसले उहाँबाट जन्मिएकोलाई पनि प्रेम गर्छ। २ यदि हामी परमेश्‍वरलाई प्रेम गर्छौँ र उहाँका आज्ञाहरूबमोजिम चल्छौँ भने हामी परमेश्‍वरका सन्तानलाई+ प्रेम गर्छौँ भनेर यसैबाट थाह पाउँछौँ। ३ किनकि परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो+ र उहाँका आज्ञाहरू बोझिला छैनन्‌+ ४ किनभने परमेश्‍वरबाट जन्मेको हरेकले* संसारमाथि विजय हासिल गर्छ+ अनि संसारमाथि विजयी हुने विजयचाहिँ हाम्रो विश्‍वास हो।+

५ कसले संसारमाथि विजय हासिल गर्न सक्छ?+ उसैले, जसले येसु परमेश्‍वरको छोरा हुनुहुन्छ भनी विश्‍वास गर्छ।+ ६ उहाँ त्यही हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो, अर्थात्‌ येसु ख्रिष्ट; उहाँ पानीसित मात्र होइन+ तर पानी र रगतसित आउनुभयो।+ अनि पवित्र शक्‍तिले यसको साक्षी दिँदै छ+ किनभने पवित्र शक्‍तिको साक्षी सत्य छ। ७ साक्षी दिनेहरू तीन छन्‌: ८ पवित्र शक्‍ति,+ पानी+ अनि रगत;+ यी तीन आपसमा सहमत छन्‌।

९ यदि हामी मानिसहरूले दिने साक्षी स्विकार्छौँ भने परमेश्‍वरले दिनुहुने साक्षी त्योभन्दा महान्‌ छ किनभने परमेश्‍वर स्वयम्‌ले आफ्नो छोराको विषयमा साक्षी दिनुभएको छ। १० जसले परमेश्‍वरको छोरामाथि विश्‍वास गर्छ, उसले परमेश्‍वरले दिनुभएको साक्षीलाई आफ्नो मनमा स्विकारेको हुन्छ। तर जसले परमेश्‍वरमाथि विश्‍वास गर्दैन, उसले परमेश्‍वरलाई झूटा ठहराउँछ+ किनभने परमेश्‍वरले आफ्नो छोराको विषयमा दिनुभएको साक्षीलाई उसले विश्‍वास गरेन। ११ अनि त्यो साक्षी यही हो कि परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभयो+ र यो जीवन हामी उहाँको छोराद्वारा पाउँछौँ।+ १२ जसले परमेश्‍वरको छोरालाई स्विकार्छ, उसले यो जीवन पाउँछ; जसले परमेश्‍वरको छोरालाई स्विकार्दैन, उसले यो जीवन पाउँदैन।+

१३ तिमीहरूले अनन्त जीवन पाएका छौ भनी जान भनेर म तिमीहरूलाई यी कुराहरू लेख्दै छु+ किनकि परमेश्‍वरको छोराको नाममा विश्‍वास गर्नेहरू तिमीहरू नै हौ।+ १४ अनि हामी परमेश्‍वरमा पूरा भरोसा राख्छौँ*+ कि उहाँको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।+ १५ साथै हामीले जेसुकै मागे पनि उहाँले सुन्‍नुहुन्छ भनी थाह भएको हुनाले हामीले उहाँसित मागेका कुराहरू उहाँले दिनुहुन्छ भनेर हामी पक्का छौँ।+

१६ यदि कसैले आफ्नो भाइले पाप गरिरहेको देख्यो र त्यस्तो पापले मृत्युमा पुऱ्‍याउँदैन भने उसले त्यस भाइको निम्ति परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ अनि उहाँले तिनलाई, हो, मृत्युमा नपुऱ्‍याउने पाप गर्नेजतिलाई जीवन दिनुहुनेछ।+ तर मृत्युमा पुऱ्‍याउने पाप पनि छ।+ यस्तो पाप गर्ने मानिसको निम्ति प्रार्थना गर भनेर म भन्दिनँ। १७ सबै कुकर्म पाप हो+ तर यस्तो पाप पनि छ, जसले मृत्युमा पुऱ्‍याउँदैन।

१८ हामीलाई थाह छ, हरेक मानिस जो परमेश्‍वरबाट जन्मेको हुन्छ, उसले पाप गरिरहँदैन। बरु जो परमेश्‍वरबाट जन्मनुभयो, उहाँले* त्यस मानिसमाथि आफ्नो नजर राख्नुहुन्छ र ऊमाथि त्यस दुष्टले* पकड जमाउन सक्दैन।*+ १९ हामी परमेश्‍वरका हौँ भनी हामीलाई थाह छ तर सारा संसार त्यस दुष्टको* हातमा परेको छ।+ २० हामीलाई थाह छ, परमेश्‍वरको छोरा आइसक्नुभएको छ+ र उहाँले हामीलाई अन्तर्दृष्टि* दिनुभएको छ ताकि हामीले साँचो परमेश्‍वरको ज्ञान हासिल गरौँ अनि साँचो परमेश्‍वरको छोरा येसु ख्रिष्टमार्फत हामी परमेश्‍वरसित एकतामा छौँ।+ उहाँ नै साँचो परमेश्‍वर अनि अनन्त जीवनको स्रोत हुनुहुन्छ।+ २१ ए साना केटाकेटी हो, मूर्तिहरूदेखि अलग रहो।+

वा “हाम्रो पक्षबाट बोल्नेवाला।”

शा., “उहाँ जसरी हिँड्‌नुभयो, त्यसरी नै हिँडिरहनै पर्छ।”

अर्थात्‌, सैतानमाथि।

वा “आफूसित भएका कुराहरूको धाकधक्कु।”

वा “तिनीहरू हाम्रा मानिसहरू थिएनन्‌।”

वा “धार्मिकता।” शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्‌।

वा “जबदेखि त्यसको सुरुवात भयो, तबदेखि नै।”

शा., “बिउ।” अर्थात्‌, फल फलाउन सक्ने बिउ।

वा “धार्मिकता।” शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्‌।

अर्थात्‌, सैतानबाट।

वा “विश्‍वस्त पार्नेछौँ।”

वा “हामी विश्‍वस्त हुन सकौँ।”

शा., “हरेक कुराले।”

वा “परमेश्‍वरसित निर्धक्क भई साहसका साथ बोल्छौँ।”

अर्थात्‌, परमेश्‍वरका छोरा येसु ख्रिष्टले।

अर्थात्‌, सैतानले।

वा “जमाउँदैन।”

अर्थात्‌, सैतानको।

वा “आन्तरिक चेतना।” शा., “बौद्धिक क्षमता।”

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने