पाठ ९
तपाईंको परिवार कसरी आनन्दित हुन सक्छ?
१. पारिवारिक आनन्दको लागि कानुनी रूपमा विवाह गर्नु किन महत्त्वपूर्ण छ?
सुसमाचार आनन्दित परमेश्वर यहोवाबाट आउँछ। परिवारहरू आनन्दित भएको यहोवा चाहनुहुन्छ। (१ तिमोथी १:११) विवाहको सुरुवातकर्ता उहाँ नै हुनुहुन्छ। पारिवारिक आनन्दको लागि कानुनी रूपमा विवाह भएको हुनै पर्छ। यसो गर्दा बुबाआमा र छोराछोरी दुवैले सुरक्षित महसुस गर्न सक्छन्। ख्रीष्टियनहरूले विवाह दर्ता गर्ने सम्बन्धमा स्थानीय नियम-कानुनको पालना गर्नुपर्छ।—लूका २:१, ४, ५ पढ्नुहोस्।
विवाहलाई परमेश्वर कस्तो दृष्टिकोणले हेर्नुहुन्छ? विवाह पुरुष र स्त्रीबीच स्थायी बन्धन होस् भन्ने परमेश्वरको चाहना छ। वैवाहिक सम्बन्धमा पति र पत्नी आपसमा वफादार रहेको परमेश्वर चाहनुहुन्छ। (हिब्रू १३:४) सम्बन्ध विच्छेदलाई उहाँ घृणा गर्नुहुन्छ। (मलाकी २:१६) तर पति वा पत्नीमध्ये कसैले अवैध यौनसम्बन्ध राखेका छन् भने सम्बन्ध विच्छेद गर्न र पुनःविवाह गर्न ख्रीष्टियनहरूलाई परमेश्वर अनुमति दिनुहुन्छ।—मत्ती १९:३-६, ९ पढ्नुहोस्।
२. पति-पत्नीले एक-अर्कासित कस्तो व्यवहार गर्नुपर्छ?
यहोवाले पुरुष र स्त्रीलाई एक-अर्काको पूरकको रूपमा सृष्टि गर्नुभयो। (उत्पत्ति २:१८) परिवारको शिरको रूपमा पतिले आफ्नो परिवारको भौतिक आवश्यकता पूरा गर्न र परमेश्वरबारे परिवारलाई सिकाउन अगुवाइ लिनुपर्छ। पतिले आफ्नी पत्नीलाई आत्मत्यागी प्रेम देखाउनुपर्छ। पति र पत्नी दुवैले एक-अर्कालाई प्रेम र आदर गर्नुपर्छ। पति र पत्नी दुवै त्रुटिपूर्ण भएकोले क्षमा दिन सिक्नै पर्छ। वैवाहिक बन्धनमा आनन्दित हुन मदत गर्ने मुख्य कुरा यही हो।—एफिसी ४:३१, ३२; ५:२२-२५, ३३; १ पत्रुस ३:७ पढ्नुहोस्।
३. आफ्नो वैवाहिक जीवन आनन्दित छैन भन्दैमा के तपाईंले सम्बन्ध तोड्न मिल्छ?
वैवाहिक जीवनमा समस्या आइपऱ्यो भने दुवैले एक-अर्कालाई मायालु व्यवहार गर्ने कोसिस गर्नुपर्छ। (१ कोरिन्थी १३:४, ५) वैवाहिक जीवनमा आउने साधारण समस्याको समाधानको रूपमा छुट्टिएर बस्न बाइबलले प्रोत्साहन दिंदैन।—१ कोरिन्थी ७:१०-१३ पढ्नुहोस्।
४. छोराछोरी हो, तपाईंको जीवन कस्तो भएको परमेश्वर चाहनुहुन्छ?
तपाईं आनन्दित होस् भनेर यहोवा परमेश्वर चाहनुहुन्छ। तपाईंको बाल्यावस्था कसरी आनन्दसाथ बिताउने भनेर उहाँ उत्तम सल्लाह दिनुहुन्छ। तपाईंले आफ्नो बुबाआमाको बुद्धि र अनुभवबाट लाभ उठाएको उहाँ चाहनुहुन्छ। (कलस्सी ३:२०) सृष्टिकर्ता र उहाँको छोराको इच्छाअनुसार गर्दा पाइने आनन्द पनि तपाईंले अनुभव गरेको उहाँ चाहनुहुन्छ।—उपदेशक ११:९–१२:१; मत्ती १९:१३-१५; २१:१५, १६ पढ्नुहोस्।
५. बुबाआमाहरू हो, छोराछोरीको जीवनलाई तपाईं कसरी आनन्दित बनाउन सक्नुहुन्छ?
छोराछोरीलाई गाँस-बास-कपास जुटाउन तपाईंले मेहनत गर्नुपर्छ। (१ तिमोथी ५:८) तर छोराछोरी आनन्दित हुनको लागि तिनीहरूले परमेश्वरलाई प्रेम गर्नुपर्छ र उहाँबाट सिक्नुपर्छ। यस्तो कुरा सिकाउने जिम्मेवारी तपाईंको हो। (एफिसी ६:४) परमेश्वरप्रति प्रेम देखाउने सन्दर्भमा तपाईंको उदाहरणले तपाईंको छोराछोरीको मनमा गहिरो असर पार्छ। परमेश्वरको वचनमा आधारित भएर तपाईंले आफ्ना छोराछोरीलाई प्रशिक्षण दिंदा तिनीहरूको सोचाइमा सकारात्मक तरिकाले प्रभाव पर्न सक्छ।—व्यवस्था ६:४-७; हितोपदेश २२:६ पढ्नुहोस्।
छोराछोरीलाई प्रोत्साहन दिंदा र तिनीहरूको प्रशंसा गर्दा तिनीहरूले लाभ उठाउँछन्। तिनीहरूलाई सुधार्नुपर्छ र अनुशासन पनि दिनुपर्छ। त्यस्तो प्रशिक्षणले आनन्द गुमाउन सक्ने आचरणबाट तिनीहरूलाई जोगाउँछ। (हितोपदेश २२:१५) त्यसो भन्दैमा अनुशासन कहिले पनि निर्दयी वा क्रूर हुनु हुँदैन।—कलस्सी ३:२१ पढ्नुहोस्।
बुबाआमा र छोराछोरीका लागि भनेर नै यहोवाका साक्षीहरूले केही किताब तयार पारेका छन्। यी किताब बाइबलआधारित हुन्।—भजन १९:७, ११ पढ्नुहोस्।