बिहीबार, जुलाई १०
आफ्नो निवेदन परमेश्वरसमक्ष जाहेर गर।—फिलि. ४:६.
यहोवालाई नियमित रूपमा मनैदेखि प्रार्थना गर्दा हामी सहनशील हुन सक्छौँ। (१ थिस्स. ५:१७) सायद तपाईँले अहिले कुनै कठिन परीक्षा भोग्नुपरेको छैन होला। तैपनि निराश हुँदा, अलमलमा पर्दा वा दोधारमा पर्दा के तपाईँ यहोवाको डोऱ्याइ खोज्नुहुन्छ? तपाईँ अहिले सानातिना चुनौतीहरू आइपर्दा यहोवाको मदत खोज्ने गर्नुहुन्छ भने भविष्यमा अझै ठूला चुनौतीहरू आइपर्दा तपाईँले विनाहिचकिचाहट उहाँलाई पुकार्नुहुनेछ। अनि तपाईँलाई कहिले र कसरी मदत गर्ने भनेर यहोवा जान्नुहुन्छ भन्ने कुरामा तपाईँ विश्वस्त हुनुहुनेछ। (भज. २७:१, ३) हामीले अहिले वफादार भई परीक्षाहरू सह्यौँ भने महासङ्कष्टमा पनि सहनशील हुने सक्ने सम्भावना धेरै हुनेछ। (रोमी ५:३) हामी किन यसो भन्न सक्छौँ? थुप्रै भाइबहिनीले प्रत्येक चोटि विश्वासको परीक्षा सहँदा त्यसले अर्को चुनौती सहन मदत गरेको अनुभव गरेका छन्। सहनशीलताले तिनीहरूलाई खारिन मदत गरेको छ। यहोवा मदत गर्न तयार र इच्छुक हुनुहुन्छ भन्ने कुरामा तिनीहरूको विश्वास अझ बलियो भएको छ। अनि यस्तो विश्वासले अर्को परीक्षा सहन मदत गरेको छ।—याकु. १:२-४. w२३.०७ पृ. ३ अनु. ७-८
शुक्रबार, जुलाई ११
मैले तिम्रो बिन्ती सुनेँ।—उत्प. १९:२१.
यहोवाको नम्रता र दयाले उहाँलाई व्यावहारिक हुन उत्प्रेरित गर्छ। जस्तै: उहाँले सदोमका दुष्ट मानिसहरूलाई नाश गर्ने निर्णय गरिसक्नुभएको थियो। तर उहाँले आफू नम्र भएको देखाउनुभयो। यहोवाले स्वर्गदूतहरूमार्फत धर्मी लुतलाई पहाडी इलाकातिर भाग्न भन्नुभयो। तर लुत त्यहाँ भाग्न डराए र तिनले आफ्नो परिवारसँगै नजिकैको सानो सहर जोअरमा भाग्न पाऊँ भनेर बिन्ती गरे। तर यहोवाले त्यस सहरलाई पनि नाश गर्ने निर्णय गरिसक्नुभएको थियो। उहाँले आफूले दिएको निर्देशन लुतले अक्षरशः पालन गर्नै पर्छ भन्न सक्नुहुन्थ्यो। तर उहाँले लुतलाई जोअरमा भाग्न दिनुभयो र त्यो सहर नाश गर्नुभएन। (उत्प. १९:१८-२२) त्यसको सयौँ वर्षपछि यहोवाले निनवेका मानिसहरूलाई दया देखाउनुभयो। उहाँले निनवे सहर र त्यहाँका दुष्ट मानिसहरूलाई नाश गर्ने सन्देश सुनाउन भविष्यवक्ता योनालाई पठाउनुभयो। तर त्यहाँका मानिसहरूले पश्चात्ताप गरेपछि उहाँले तिनीहरूलाई दया देखाउनुभयो र नाश गर्नुभएन।—योना ३:१, १०; ४:१०, ११. w२३.०७ पृ. २१ अनु. ५
शनिबार, जुलाई १२
‘ती सेवकहरूले यहोआसको हत्या गरे। तिनीहरूले राजालाई दाउदनगरमा गाडे तर राजाहरूको चिहानमा भने होइन।’—२ इति. २४:२५.
यहोआसको उदाहरणबाट हामी के सिक्न सक्छौँ? तिनी राम्ररी जरा नगाडिएको रूखजस्तै थिए, जसलाई अडिन टेको चाहिन्छ। टेको अर्थात् यहोयादाको मृत्युपछि जब धर्मत्यागीहरूको बतास चल्न थाल्यो, तब यहोआस ढले। यसबाट हामी एउटा सशक्त पाठ सिक्न सक्छौँ: मण्डलीका भाइबहिनीहरू र परिवारका सदस्यहरूले परमेश्वरको डर मानेकोले मात्र आफूले पनि परमेश्वरको डर मान्नु सही होइन। आध्यात्मिक तवरमा बलियो रहिरहन हामीले नियमित रूपमा अध्ययन, मनन र प्रार्थना गरेर आफ्नो भक्ति र डरलाई कायम राख्नुपर्छ। (यर्मि. १७:७, ८; कल. २:६, ७) यहोवा हामीबाट बढ्तै माग गर्नुहुन्न। उहाँले हामीबाट चाहनुहुने कुराबारे उपदेशक १२:१३ मा यसो भनिएको छ: “साँचो परमेश्वरको भय मान र उहाँको आज्ञा पालन गर। यो नै मानिसले पूरा गर्नुपर्ने कर्तव्य हो।” जस्तोसुकै परीक्षाको सामना गर्नुपरे तापनि यदि हामी परमेश्वरको डर मान्छौँ भने वफादार रहन सक्नेछौँ। अनि कुनै पनि कुराले यहोवासितको हाम्रो मित्रतालाई बिगार्न सक्नेछैन। w२३.०६ पृ. १८-१९ अनु. १७-१९