मङ्गलबार, जुलाई १
उहाँ सारा देशभरि असल काम गर्दै र . . . निको पार्दै हिँड्नुभयो।—प्रेषि. १०:३८.
येसुले भन्नुभएका र गर्नुभएका सबै कुरामा आफ्नो बुबाको सोचाइ र भावना हुबहु झल्काउनुभयो। (युह. १४:९) उहाँले गर्नुभएका कुराहरूमा चमत्कारहरू पनि समावेश छन्। ती चमत्कारहरूबाट हामी के सिक्न सक्छौँ? येसु र उहाँको बुबा हामीलाई गहिरो प्रेम गर्नुहुन्छ। पृथ्वीमा हुनुहुँदा येसुले मानिसहरूको दुःख हटाउन आफ्नो शक्ति प्रयोग गरेर प्रेम गरेको देखाउनुभयो। एकचोटि दुई जना अन्धाले उहाँलाई मदतको लागि पुकारे। (मत्ति २०:३०-३४) येसु तिनीहरूको दुःख देखेर ‘टिठाउनुभयो’ र तिनीहरूलाई निको पार्नुभयो। ‘टिठाउनु’ भनेर अनुवाद गरिएको ग्रीक क्रियापदले हृदयको गहिराइबाट आउने भावनालाई बुझाउँछ। यस्तो भावना प्रेमको अभिव्यक्ति हो र यसले येसुलाई भोकाहरूलाई खुवाउन र कुष्ठरोगीलाई निको पार्न उत्प्रेरित गऱ्यो। (मत्ति १५:३२; मर्कु. १:४१) “कोमल करुणाको” परमेश्वर यहोवा र उहाँको छोरा हामीलाई गहिरो प्रेम गर्नुहुन्छ अनि हाम्रो दुःख देख्दा उहाँहरूलाई पनि दुःख लाग्छ। (लुका १:७८; १ पत्रु. ५:७) हो, उहाँहरू मानिसहरूलाई पिरोलिरहेको दुःख हटाउन धेरै इच्छुक हुनुहुन्छ! w२३.०४ पृ. ३ अनु. ४-५
बुधबार, जुलाई २
हे यहोवालाई प्रेम गर्नेहरू हो, खराब कुरालाई घृणा गर। उहाँले वफादार जनहरूको जीवनको रक्षा गर्नुहुन्छ; उहाँ तिनीहरूलाई दुष्टको हातबाट छुटाउनुहुन्छ।—भज. ९७:१०.
सैतानको संसारमा गलत सोचाइले भरिएका कुराहरू लोकप्रिय छन्। त्यस्ता कुराहरूको प्रभावमा पर्नदेखि जोगिन हामीले सक्दो प्रयास गर्नुपर्छ। हामीले बाइबल पढेर अनि अध्ययन गरेर आफ्नो दिमाग असल कुराहरूले भर्न सक्छौँ। सभाहरूमा उपस्थित भएर अनि साक्षीकार्यमा भाग लिएर पनि हामी आफ्नो सोचाइलाई सुरक्षित राख्न सक्छौँ। अनि यहोवाले पनि हामीलाई हामीले सहन सक्नेभन्दा बाहिरको परीक्षामा पर्न दिनेछैनँ भनेर प्रतिज्ञा गर्नुभएको छ। (१ कोरि. १०:१२, १३) यस कठिन समयमा यहोवाप्रति वफादार रहिरहन हामी प्रत्येकले प्रार्थना गर्नु झन् धेरै महत्त्वपूर्ण छ। हामीले प्रार्थनामा ‘मनको बह पोखाएको’ यहोवा चाहनुहुन्छ। (भज. ६२:८) यहोवाले गर्नुभएका सबै कुराको लागि उहाँको प्रशंसा गर्नुहोस् र धन्यवाद चढाउनुहोस्। साक्षीकार्यमा साहसी हुन उहाँसित मदत माग्नुहोस्। समस्याहरूको सामना गर्न र प्रलोभनहरूको प्रतिरोध गर्न उहाँलाई बिन्ती गर्नुहोस्। यहोवालाई नियमित रूपमा प्रार्थना गर्न कुनै कुराले बाधा पुऱ्याउन नदिनुहोस्। w२३.०५ पृ. ७ अनु. १७-१८
बिहीबार, जुलाई ३
एकअर्कालाई ध्यान दिएर . . . एकअर्कालाई प्रोत्साहन दिइरहौँ।—हिब्रू १०:२४, २५, फुटनोट।
हामी किन सभामा उपस्थित हुन्छौँ? मुख्य कारण हो, यहोवाको प्रशंसा गर्न। (भज. २६:१२; १११:१) यस कठिन समयमा एकअर्कालाई प्रोत्साहन दिन पनि हामी सभामा उपस्थित हुन्छौँ। (१ थिस्स. ५:११) हात उठाएर टिप्पणी दिँदा हामीले यी दुवै कुरा गरिरहेका हुन्छौँ। तर हामीलाई टिप्पणी दिन डर लाग्न सक्छ वा टिप्पणी दिन एकदमै इच्छुक भए पनि हात उठाएपिच्छे मौका नपाउन सक्छौँ। त्यसोभए हामी के गर्न सक्छौँ? प्रेषित पावलले हामीलाई ‘एकअर्कालाई प्रोत्साहन दिने’ कुरामा ध्यान दिनुपर्छ भनेर बताए। आफ्नो विश्वास प्रकट हुने सरल अभिव्यक्तिबाट पनि श्रोताले प्रोत्साहन पाउन सक्छन् भन्ने कुरा बुझेका छौँ भने हामीलाई हात उठाउन त्यत्ति डर नलाग्न सक्छ। अनि आफूले चाहेजति टिप्पणी दिने मौका पाएनौँ भने पनि अरूले मौका पाएकोमा खुसी हुन सक्छौँ।—१ पत्रु. ३:८. w२३.०४ पृ. २० अनु. १-३