बिहीबार, जुलाई ३
एकअर्कालाई ध्यान दिएर . . . एकअर्कालाई प्रोत्साहन दिइरहौँ।—हिब्रू १०:२४, २५, फुटनोट।
हामी किन सभामा उपस्थित हुन्छौँ? मुख्य कारण हो, यहोवाको प्रशंसा गर्न। (भज. २६:१२; १११:१) यस कठिन समयमा एकअर्कालाई प्रोत्साहन दिन पनि हामी सभामा उपस्थित हुन्छौँ। (१ थिस्स. ५:११) हात उठाएर टिप्पणी दिँदा हामीले यी दुवै कुरा गरिरहेका हुन्छौँ। तर हामीलाई टिप्पणी दिन डर लाग्न सक्छ वा टिप्पणी दिन एकदमै इच्छुक भए पनि हात उठाएपिच्छे मौका नपाउन सक्छौँ। त्यसोभए हामी के गर्न सक्छौँ? प्रेषित पावलले हामीलाई ‘एकअर्कालाई प्रोत्साहन दिने’ कुरामा ध्यान दिनुपर्छ भनेर बताए। आफ्नो विश्वास प्रकट हुने सरल अभिव्यक्तिबाट पनि श्रोताले प्रोत्साहन पाउन सक्छन् भन्ने कुरा बुझेका छौँ भने हामीलाई हात उठाउन त्यत्ति डर नलाग्न सक्छ। अनि आफूले चाहेजति टिप्पणी दिने मौका पाएनौँ भने पनि अरूले मौका पाएकोमा खुसी हुन सक्छौँ।—१ पत्रु. ३:८. w२३.०४ पृ. २० अनु. १-३
शुक्रबार, जुलाई ४
यरुसलेम जाओ; . . . यहोवाको भवन पुनर्निर्माण गर।—एज्रा १:३.
राजाले एउटा उर्दी जारी गरेका छन्। झन्डै ७० वर्ष बेबिलोनको निर्वासनमा रहेका यहुदीहरू अब आफ्नो मातृभूमि इस्राएल फर्कन सक्छन्। (एज्रा १:२-४) यहोवाले मात्र यो सम्भव तुल्याउन सक्नुहुन्थ्यो। किनभने बेबिलोनीहरू आफ्ना कैदीहरूलाई मुक्त नगर्ने मानिसहरू भनेर चिनिन्थे। (यसै. १४:४, १७) तर अहिले बेबिलोन परास्त भएको छ र नयाँ शासकले यहुदीहरू जान सक्छन् भनेर घोषणा गरेका छन्। त्यसैले प्रत्येक यहुदीले र अझ विशेषगरि परिवारका शिरहरूले एउटा निर्णय गर्नुपर्ने थियो: बेबिलोन छोडेर जाने वा त्यहीँ बस्ने। यो निर्णय गर्न तिनीहरूलाई पक्कै सजिलो भएन होला। वृद्धवृद्धाहरूलाई त्यो लामो यात्रा गर्न धेरै गाह्रो हुने थियो। अनि थुप्रै यहुदी त्यहीँ बेबिलोनमा जन्मिएका थिए, त्यसैले त्यो नै तिनीहरूको लागि आफ्नो घर थियो। इस्राएल त तिनीहरूको लागि केवल आफ्ना पुर्खाहरूको देश थियो। कोही-कोही यहुदी बेबिलोनमा धेरै धनी भएका हुन सक्छन्। त्यसैले तिनीहरूलाई आफ्नो सुविधा-सम्पन्न घर वा व्यापार-व्यवसाय छोड्ने र अपरिचित ठाउँमा बसोबास गर्ने कुरा सोच्दा मात्र पनि गाह्रो लागेको हुन सक्छ। w२३.०५ पृ. १४ अनु. १-२
शनिबार, जुलाई ५
तिमीहरू . . . तयार रहो।—मत्ति २४:४४.
बाइबलले हामीलाई सहनशीलता, कोमल करुणा र प्रेम विकास गरिरहन प्रोत्साहन दिएको छ। लुका २१:१९ यसो भन्छ: “तिमीहरू सहनशील भयौ भने आफ्नो ज्यान बचाउनेछौ।” कलस्सी ३:१२ यसो भन्छ: “कोमल करुणा . . . धारण गर।” पहिलो थिस्सलोनिकी ४:९, १० यसो भन्छ: “आपसमा प्रेम गर्नुपर्छ भनेर परमेश्वरबाटै तिमीहरू सिकाइएका छौ। . . . तर हे भाइहरू हो, हामी तिमीहरूलाई यो आग्रह गर्छौँ कि तिमीहरू झन् धेरै त्यसो गर्दै जाओ।” याद गर्नुहोस्, यी पदहरू सहनशीलता, कोमल करुणा र प्रेम देखाइरहेका चेलाहरूको लागि लेखिएको थियो। तैपनि तिनीहरूले यी गुणहरू विकास गरिरहनुपर्थ्यो। हामीले पनि त्यसै गर्नुपर्छ। प्रथम शताब्दीका ख्रिष्टियनहरूले यी गुणहरू कसरी देखाए भनेर सोच्नुहोस्। साथै म ती चेलाहरूको कसरी अनुकरण गर्न सक्छु र महासङ्कष्टको लागि तयार रहेको देखाउन सक्छु भनेर पनि विचार गर्नुहोस्। तपाईँले अहिल्यै परीक्षाहरू सहन सिकिसक्नुभएकोले महासङ्कष्ट सुरु हुँदा सहनशील भइरहने तपाईँको सङ्कल्प बलियो हुनेछ। w२३.०७ पृ. ३ अनु. ४, ८