शनिबार, जुलाई ५
तिमीहरू . . . तयार रहो।—मत्ति २४:४४.
बाइबलले हामीलाई सहनशीलता, कोमल करुणा र प्रेम विकास गरिरहन प्रोत्साहन दिएको छ। लुका २१:१९ यसो भन्छ: “तिमीहरू सहनशील भयौ भने आफ्नो ज्यान बचाउनेछौ।” कलस्सी ३:१२ यसो भन्छ: “कोमल करुणा . . . धारण गर।” पहिलो थिस्सलोनिकी ४:९, १० यसो भन्छ: “आपसमा प्रेम गर्नुपर्छ भनेर परमेश्वरबाटै तिमीहरू सिकाइएका छौ। . . . तर हे भाइहरू हो, हामी तिमीहरूलाई यो आग्रह गर्छौँ कि तिमीहरू झन् धेरै त्यसो गर्दै जाओ।” याद गर्नुहोस्, यी पदहरू सहनशीलता, कोमल करुणा र प्रेम देखाइरहेका चेलाहरूको लागि लेखिएको थियो। तैपनि तिनीहरूले यी गुणहरू विकास गरिरहनुपर्थ्यो। हामीले पनि त्यसै गर्नुपर्छ। प्रथम शताब्दीका ख्रिष्टियनहरूले यी गुणहरू कसरी देखाए भनेर सोच्नुहोस्। साथै म ती चेलाहरूको कसरी अनुकरण गर्न सक्छु र महासङ्कष्टको लागि तयार रहेको देखाउन सक्छु भनेर पनि विचार गर्नुहोस्। तपाईँले अहिल्यै परीक्षाहरू सहन सिकिसक्नुभएकोले महासङ्कष्ट सुरु हुँदा सहनशील भइरहने तपाईँको सङ्कल्प बलियो हुनेछ। w२३.०७ पृ. ३ अनु. ४, ८
आइतबार, जुलाई ६
त्यहाँ एउटा मूलबाटो हुनेछ; त्यसलाई पवित्र मार्ग भनिनेछ।—यसै. ३५:८.
चाहे हामी अभिषिक्त जन हौँ वा “अरू भेडा”-को सदस्य, हामी “पवित्र मार्ग”-मा हिँडिरहनुपर्छ किनभने यसले आध्यात्मिक प्रमोदवनको बाटो हुँदै नयाँ संसारतर्फ डोऱ्याउँछ। (युह. १०:१६) सन् १९१९ देखि लाखौँ पुरुष, स्त्री र केटाकेटी झूटो धर्मको विश्व साम्राज्य महान् बेबिलोनबाट निस्केर यस प्रतीकात्मक मार्गमा हिँड्न थालेका छन्। जब यहुदीहरू बेबिलोनबाट निस्के, तब यहोवाले तिनीहरूको बाटोमा आएका अवरोधहरू हटाउनुभयो। (यसै. ५७:१४) आधुनिक समयको “पवित्र मार्ग”-बारे के भन्न सकिन्छ? सन् १९१९ भन्दा सयौँ वर्षअघिदेखि यहोवाले मानिसहरूलाई महान् बेबिलोनबाट निस्केर आउन मदत गर्न वफादार पुरुषहरूलाई प्रयोग गर्नुभयो। (यसैया ४०:३ तुलना गर्नुहोस्।) ती पुरुषहरूले आध्यात्मिक बाटो निर्माण गर्न आवश्यक तयारी गरे। यसले गर्दा पछि निष्कपट मानिसहरूलाई बेबिलोनबाट निस्केर आउन र आध्यात्मिक प्रमोदवनमा प्रवेश गर्न सजिलो हुने थियो, जहाँ शुद्ध उपासना पुनर्स्थापित भएको थियो। w२३.०५ पृ. १५-१६ अनु. ८-९
सोमबार, जुलाई ७
रमाउँदै यहोवाको सेवा गर। खुसीले कराउँदै उहाँसामु आओ।—भज. १००:२.
यहोवा हामीले आनन्दित हुँदै राजीखुसीले उहाँको सेवा गरेको चाहनुहुन्छ। (२ कोरि. ९:७) तर लक्ष्य हासिल गर्ने इच्छा नै छैन भने पनि के हामीले प्रयास गरिरहनुपर्छ? प्रेषित पावलको उदाहरण विचार गरौँ। तिनले यसो भने: “म आफ्नो शरीरलाई कडा अनुशासनमा राख्छु र त्यसलाई दास बनाएर राख्छु।” (१ कोरि. ९:२५-२७, फुटनोट) कहिलेकाहीँ पावललाई यहोवाको स्तरअनुसार गरूँ जस्तो नलागे तापनि तिनले सही कुरा गर्न आफूलाई बाध्य तुल्याए। के यहोवाले पावलको सेवा स्विकार्नुभयो? पक्कै पनि! उहाँले पावललाई तिनले गरेको प्रयासको लागि इनाम दिनुभयो। (२ तिमो. ४:७, ८) कहिलेकाहीँ हामीलाई कुनै आध्यात्मिक गतिविधिमा भाग लिन मन लाग्दैन होला तर यहोवाप्रतिको प्रेमले गर्दा हामी त्यसमा भाग लिने प्रयास गर्छौँ। यसरी इच्छा नभए पनि लक्ष्य हासिल गर्न अघि बढेको देख्दा यहोवा खुसी हुनुहुन्छ। प्रेषित पावललाई जस्तै यहोवाले हाम्रो प्रयासमाथि पनि आशिष् दिनुहुनेछ। (भज. १२६:५) उहाँको आशिष् पाएको महसुस गर्दा हामीमा लक्ष्यसम्म पुग्ने इच्छा जाग्न सक्छ। w२३.०५ पृ. २९ अनु. ९-१०