पाठ १६
पृथ्वीमा हुनुहुँदा येसुले के गर्नुभयो?
येसुबारे सुन्दा कसै-कसैको मनमा एउटा निस्सहाय बालकको चित्र आउँछ। कोही-कोही उहाँ बुद्धिमान् भविष्यवक्ता हुनुहुन्थ्यो भन्छन् भने कसै-कसैको दिमागमा चाहिँ मर्नै लागेको मानिसको चित्र आउँछ। पृथ्वीमा हुनुहुँदा उहाँले गर्नुभएका कामहरू केलायौँ भने के हामी उहाँबारे अझ धेरै सिक्न सक्छौँ? यस लेखमा हामी येसुले गर्नुभएका केही असाध्यै महत्त्वपूर्ण कामबारे थाह पाउनेछौँ। साथै त्यसले तपाईँको जीवनमा कस्तो प्रभाव पार्छ, त्यो पनि बुझ्नेछौँ।
१. येसुको मुख्य काम के थियो?
येसुको मुख्य काम “परमेश्वरको राज्यको सुसमाचार सुनाउनु” थियो। (लुका ४:४३ पढ्नुहोस्।) येसुले परमेश्वरले एउटा राज्य अर्थात् सरकार स्थापना गर्नुहुनेछ र त्यसले मानिसजातिका सबै समस्याको समाधान गर्नेछ भन्ने सुसमाचार सुनाउनुभयो।a उहाँले यो सुसमाचार साढे तीन वर्षसम्म जोडतोडले सुनाउनुभयो।—मत्ति ९:३५
२. येसुले चमत्कारहरू गर्नुको उद्देश्य के थियो?
बाइबलमा ‘परमेश्वरले येसुमार्फत शक्तिशाली काम र आश्चर्यजनक कार्यहरू गर्नुभएको अनि चिन्हहरू देखाउनुभएको’ थुप्रै विवरण पाइन्छ। (प्रेषित २:२२) परमेश्वरले दिनुभएको शक्ति प्रयोग गरेर येसुले ठूलो आँधीलाई शान्त पार्नुभयो, हजारौँ मानिसलाई खुवाउनुभयो, बिरामीहरूलाई निको पार्नुभयो र मरेकाहरूलाई समेत फेरि जीवित पार्नुभयो। (मत्ति ८:२३-२७; १४:१५-२१; मर्कुस ६:५६; लुका ७:११-१७) येसुले गर्नुभएका चमत्कारहरूले गर्दा उहाँलाई परमेश्वरले पठाउनुभएको हो भनेर प्रस्ट भयो। साथै ती चमत्कारहरूले यहोवासित हाम्रा सबै समस्याको समाधान गर्ने शक्ति छ भनेर देखायो।
३. येसुको जीवनशैलीबाट हामी के सिक्न सक्छौँ?
येसुले सधैँ यहोवाको आज्ञा पालन गर्नुभयो। (युहन्ना ८:२९ पढ्नुहोस्।) येसुले आफ्नो बुबाले अह्राउनुभएको सबै काम गर्नुभयो। उहाँले विरोधको सामना गर्नुपरे तापनि मृत्युसम्मै यहोवाप्रति आज्ञाकारी हुनुभयो। उहाँले गाह्रो परिस्थितिमा पनि मानिसहरू परमेश्वरको सेवा गर्न सक्छन् भनेर देखाउनुभयो। यसरी येसुले ‘हामीले राम्ररी उहाँको पाइला पछ्याउन सकौँ भनेर एउटा उदाहरण हाम्रो निम्ति छोड्नुभयो।’—१ पत्रुस २:२१.
अझ खोतल्नुहोस्
येसुले कसरी सुसमाचार सुनाउनुभयो र चमत्कारहरू गर्नुभयो, विचार गर्नुहोस्।
४. येसुले सुसमाचार सुनाउनुभयो
येसु धेरैभन्दा धेरै मानिसलाई सुसमाचार सुनाउन चाहनुहुन्थ्यो। त्यसैले उहाँ धुलाम्मे बाटोमा सयौँ किलोमिटर हिँड्नुभयो। लुका ८:१ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
के येसुले उहाँको कुरा सुन्न भेला भएका मानिसहरूलाई मात्र सुसमाचार सुनाउनुभयो?
येसुले मानिसहरूलाई भेट्न कस्तो प्रयास गर्नुभयो?
मसीहले सुसमाचार सुनाउनेछन् भनेर परमेश्वरले भविष्यवाणी गर्नुभएको थियो। यसैया ६१:१, २ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
येसुले कसरी यो भविष्यवाणी पूरा गर्नुभयो?
के तपाईँलाई अहिले मानिसहरूले यो सुसमाचार सुन्नु जरुरी छ जस्तो लाग्छ?
५. येसुले अनमोल सत्यहरू सिकाउनुभयो
येसुले परमेश्वरको राज्यको सुसमाचार सुनाउनुका साथै व्यावहारिक शिक्षा पनि दिनुभयो। डाँडाको उपदेश भनेर चिनिने येसुको प्रख्यात उपदेशमा उहाँले दिनुभएका केही शिक्षा विचार गर्नुहोस्। मत्ति ६:१४, ३४ र ७:१२ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
येसुले यी पदहरूमा कस्तो व्यावहारिक सल्लाह दिनुभयो?
के तपाईँलाई यो सल्लाह अहिले पनि उपयोगी छ जस्तो लाग्छ?
६. येसुले चमत्कारहरू गर्नुभयो
यहोवाले येसुलाई थुप्रै चमत्कार गर्ने शक्ति दिनुभयो। एउटा उदाहरण विचार गर्न मर्कुस ५:२५-३४ पढ्नुहोस् वा भिडियो हेर्नुहोस्। त्यसपछि तल दिइएका प्रश्नहरू छलफल गर्नुहोस्:
भिडियोमा देखाइएकी स्त्रीलाई कुन कुरामा पूरा विश्वास थियो?
यस चमत्कारको कुन पक्ष तपाईँलाई रोचक लाग्यो?
युहन्ना ५:३६ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
येसुले गर्नुभएका चमत्कारहरूले कुन कुराको “साक्षी” वा प्रमाण दियो?
के तपाईँलाई थाह थियो?
येसुबारे हामीलाई थाह भएको धेरैजसो कुरा बाइबलको चार वटा किताब—मत्ति, मर्कुस, लुका र युहन्नामा पाइन्छ। यी किताबहरूलाई सुसमाचारका किताबहरू भनिन्छ। सुसमाचारको किताबका चारै जना लेखकले येसुको विषयमा फरक-फरक दृष्टिकोणबाट लेखे। यी सबै विवरण विचार गऱ्यौँ भने येसुको जीवनका विभिन्न रोचक पक्षबारे थाह पाउनेछौँ।
मत्ति
तिनले सुसमाचारका किताबहरूमध्ये पहिलो किताब लेखे। यसमा येसुले दिनुभएका थुप्रै शिक्षा पाइन्छन्, विशेषगरि परमेश्वरको राज्यबारे।
मर्कुस
तिनले लेखेको किताब सुसमाचारका किताबहरूमध्ये सबैभन्दा छोटो हो। यसमा एकपछि अर्को रोमाञ्चकारी घटनाहरूबारे उल्लेख गरिएको पाइन्छ।
लुका
तिनले येसुको लागि प्रार्थना कत्तिको महत्त्वपूर्ण थियो अनि उहाँले स्त्रीहरूसित कस्तो व्यवहार गर्नुहुन्थ्यो भन्ने विषयलाई जोड दिएका छन्।
युहन्ना
तिनले येसुले आफ्ना घनिष्ठ साथीहरू र अरूसित गर्नुभएको कुराकानी समावेश गरेर उहाँको व्यक्तित्वबारे थुप्रै कुरा प्रकट गरेका छन्।
कोही-कोही भन्छन्: “येसु एक जना असल मानिस मात्र हुनुहुन्थ्यो, अरू केही पनि होइन।”
तपाईँलाई कस्तो लाग्छ?
सारांश
येसुले यहोवाको राज्यबारे अरूलाई बताउनुभयो, चमत्कारहरू गर्नुभयो अनि सधैँ परमेश्वरको आज्ञा पालन गर्नुभयो।
तपाईँले के सिक्नुभयो?
पृथ्वीमा हुनुहुँदा येसुको मुख्य काम के थियो?
येसुले गर्नुभएका चमत्कारहरूले कुन कुरा प्रमाणित गर्छ?
येसुले कस्ता व्यावहारिक शिक्षाहरू दिनुभयो?
अझ धेरै जान्नुहोस्
येसुले अरूको ख्याल राख्नुहुन्थ्यो भनेर थाह पाउँदा एक जना मानिसको जीवनले कसरी नयाँ मोड लियो, पढ्नुहोस्।
“म आफ्नै विषयमा मात्र सोच्ने गर्थें” (प्रहरीधरहरा, अक्टोबर १, २०१४)