इजकिएल
१५ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, वनका अरू रूख वा हाँगाबिँगाको तुलनामा अङ्गुरको बोटको काठलाई राम्रो मान्न सकिन्छ र? ३ त्यसको काठबाट बनेको डन्डाको के काम? मानिसहरू भाँडाकुँडा झुन्ड्याउन त्यसबाट किला बनाउँछन् र? ४ हेर, त्यो त आगो बाल्न मात्र काम लाग्छ। त्यसको दुई छेउ ह्वारह्वार्ती बल्छ र बीचको भाग डढ्छ। त्यसपछि त्यसको के काम? ५ अङ्गुरको बोटको काठ सिङ्गो हुँदा त कामलाग्दो थिएन भने आगोमा डढिसकेपछि झन् के काम?”
६ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘वनका रूखहरूमध्ये अङ्गुरको बोटको काठलाई आगो बाल्ने दाउरा बनाएझैँ म यरुसलेमका मानिसहरूलाई नाश गर्नेछु।+ ७ म तिनीहरूविरुद्ध कदम चाल्नेछु। तिनीहरू आगोको लप्कोबाट उम्केका छन् तर तिनीहरू आगोले नै भस्म हुनेछन्। जब म तिनीहरूविरुद्ध खडा हुनेछु, तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।’”+
८ “‘म तिनीहरूको देशलाई उजाड पार्नेछु+ किनकि तिनीहरू विश्वासघाती भए,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”