शुक्रबार, अगस्त ८
सोझो बाटोमा हिँड्ने मानिसले यहोवाको डर मान्छ।—हितो. १४:२.
संसारका मानिसहरूको नैतिक आचरण देख्दा हामी धर्मी लुतले जस्तै महसुस गर्छौँ। तिनी “कुकर्मीहरूको निर्लज्ज आचरण देखेर असाध्यै चिन्तित भएका थिए।” यहोवा खराब आचरणलाई घृणा गर्नुहुन्छ भनेर लुतलाई थाह थियो। (२ पत्रु. २:७, ८) यहोवाप्रतिको प्रेम र डरले गर्दा लुत त्यतिबेलाको खस्कँदो नैतिक स्तरबाट अलग रहन सके। आज हामी पनि यहोवाको नैतिक स्तरलाई पटक्कै आदर नगर्ने मानिसहरूको बीचमा बाँचिरहेका छौँ। यसको बाबजुद यहोवाप्रतिको प्रेम र डरलाई कायम राख्यौँ भने हामी नैतिक रूपमा स्वच्छ रहिरहन सक्नेछौँ। यसो गर्न यहोवा हामीलाई हितोपदेशको किताबमार्फत मायालु प्रोत्साहन दिनुहुन्छ। यसमा पाइने बुद्धिमानी सल्लाहबाट पुरुष, स्त्री, जवान र वृद्ध सबै ख्रिष्टियनले लाभ उठाउन सक्छन्। यहोवाको डर मान्यौँ भने हामी खराब काम गर्नेहरूलाई साथी बनाउनेछैनौँ। w२३.०६ पृ. २० अनु. १-२; पृ. २१ अनु. ५
शनिबार, अगस्त ९
यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्, दिनहुँ आफ्नो यातनाको खम्बा उठाओस् र निरन्तर मेरो पछि लागोस्।—लुका ९:२३.
तपाईँले परिवारको विरोधको सामना गर्नुभयो होला अथवा परमेश्वरको राज्यलाई पहिलो स्थान दिन धेरै पैसा कमाउने जागिर वा भौतिक कुराहरू त्याग्नुभयो होला। (मत्ति ६:३३) तपाईँका यस्ता त्यागहरू यहोवाले याद गर्नुभएको छ भन्ने कुरामा ढुक्क हुनुहोस्। (हिब्रू ६:१०) सायद तपाईँले येसुका यी शब्दहरू आफैले अनुभव गर्नुभएको होला: “मेरो र सुसमाचारको खातिर जसले घर वा दाजुभाइ वा दिदीबहिनी वा आमा वा बुबा वा छोराछोरी वा जग्गा-जमिन छोड्छ, उसले अहिले खेदोका साथै १०० गुणा घर, दाजुभाइ, दिदीबहिनी, आमा, छोराछोरी र जग्गा-जमिन पाउनेछ अनि आउने युगमा अनन्त जीवन पाउनेछ।” (मर्कु. १०:२९, ३०) हो, तपाईँले त्यागहरूको तुलनामा कता हो कता धेरै आशिष् पाउनुभएको छ!—भज. ३७:४. w२४.०३ पृ. ९ अनु. ५
आइतबार, अगस्त १०
साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।—हितो. १७:१७.
यहुदियामा ठूलो अनिकाल परेको सुनेपछि एन्टिओकका भाइबहिनीले “आ-आफ्नो औकातअनुसार यहुदियामा बस्ने भाइहरूलाई राहत सामग्री पठाउने निधो गरे।” (प्रेषि. ११:२७-३०) अनिकालबाट प्रभावित भाइबहिनी धेरै टाढा बस्ने भए पनि एन्टिओकका ख्रिष्टियनहरू तिनीहरूलाई मदत गर्न अघि सरे। (१ युह. ३:१७, १८) भाइबहिनीहरू कुनै प्रकोपमा परेको थाह पाएपछि हामी पनि कोमल करुणा देखाउन सक्छौँ। त्यस्तो खबर सुन्नेबित्तिकै हामीले कुनै तरिकामा मदत गर्न सकिन्छ कि भनेर एल्डरहरूलाई सोध्न सक्छौँ, विश्वव्यापी कार्यको लागि अनुदान दिन सक्छौँ र प्रभावित भाइबहिनीको लागि प्रार्थना गर्न सक्छौँ। हाम्रा भाइबहिनीलाई आधारभूत आवश्यकताहरू पूरा गर्न पनि मदत चाहिन सक्छ। हाम्रा राजा येसु ख्रिष्ट न्याय गर्न आउनुहुने समयमा हामीले कोमल करुणा देखाइरहेको पाउनुभयो भने उहाँले हामीलाई “राज्य अधिकार” गर्न निम्तो दिनुहुनेछ।—मत्ति २५:३४-४०. w२३.०७ पृ. ४ अनु. ९-१०; पृ. ६ अनु. १२