शनिबार, अगस्त ९
यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्, दिनहुँ आफ्नो यातनाको खम्बा उठाओस् र निरन्तर मेरो पछि लागोस्।—लुका ९:२३.
तपाईँले परिवारको विरोधको सामना गर्नुभयो होला अथवा परमेश्वरको राज्यलाई पहिलो स्थान दिन धेरै पैसा कमाउने जागिर वा भौतिक कुराहरू त्याग्नुभयो होला। (मत्ति ६:३३) तपाईँका यस्ता त्यागहरू यहोवाले याद गर्नुभएको छ भन्ने कुरामा ढुक्क हुनुहोस्। (हिब्रू ६:१०) सायद तपाईँले येसुका यी शब्दहरू आफैले अनुभव गर्नुभएको होला: “मेरो र सुसमाचारको खातिर जसले घर वा दाजुभाइ वा दिदीबहिनी वा आमा वा बुबा वा छोराछोरी वा जग्गा-जमिन छोड्छ, उसले अहिले खेदोका साथै १०० गुणा घर, दाजुभाइ, दिदीबहिनी, आमा, छोराछोरी र जग्गा-जमिन पाउनेछ अनि आउने युगमा अनन्त जीवन पाउनेछ।” (मर्कु. १०:२९, ३०) हो, तपाईँले त्यागहरूको तुलनामा कता हो कता धेरै आशिष् पाउनुभएको छ!—भज. ३७:४. w२४.०३ पृ. ९ अनु. ५
आइतबार, अगस्त १०
साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।—हितो. १७:१७.
यहुदियामा ठूलो अनिकाल परेको सुनेपछि एन्टिओकका भाइबहिनीले “आ-आफ्नो औकातअनुसार यहुदियामा बस्ने भाइहरूलाई राहत सामग्री पठाउने निधो गरे।” (प्रेषि. ११:२७-३०) अनिकालबाट प्रभावित भाइबहिनी धेरै टाढा बस्ने भए पनि एन्टिओकका ख्रिष्टियनहरू तिनीहरूलाई मदत गर्न अघि सरे। (१ युह. ३:१७, १८) भाइबहिनीहरू कुनै प्रकोपमा परेको थाह पाएपछि हामी पनि कोमल करुणा देखाउन सक्छौँ। त्यस्तो खबर सुन्नेबित्तिकै हामीले कुनै तरिकामा मदत गर्न सकिन्छ कि भनेर एल्डरहरूलाई सोध्न सक्छौँ, विश्वव्यापी कार्यको लागि अनुदान दिन सक्छौँ र प्रभावित भाइबहिनीको लागि प्रार्थना गर्न सक्छौँ। हाम्रा भाइबहिनीलाई आधारभूत आवश्यकताहरू पूरा गर्न पनि मदत चाहिन सक्छ। हाम्रा राजा येसु ख्रिष्ट न्याय गर्न आउनुहुने समयमा हामीले कोमल करुणा देखाइरहेको पाउनुभयो भने उहाँले हामीलाई “राज्य अधिकार” गर्न निम्तो दिनुहुनेछ।—मत्ति २५:३४-४०. w२३.०७ पृ. ४ अनु. ९-१०; पृ. ६ अनु. १२
सोमबार, अगस्त ११
तिमीहरूको व्यावहारिकता सबै मानिसलाई थाह होस्।—फिलि. ४:५.
येसुले यहोवाको व्यावहारिकताको अनुकरण गर्नुभयो। उहाँलाई मुख्यतया ‘इस्राएलको घरानाका हराएका भेडाहरूलाई’ सुसमाचार सुनाउन पृथ्वीमा पठाइएको थियो। तर सुसमाचार सुनाउने सन्दर्भमा पनि उहाँले व्यावहारिकता देखाउनुभयो। एकचोटि एक जना गैर-इस्राएली स्त्रीले आफ्नी छोरीलाई निको पारिदिन येसुसित बिन्ती गरिन्। उनकी छोरीलाई “प्रेतले साह्रै सताइरहेको” थियो। येसुले दया देखाउँदै उनकी छोरीलाई निको पार्नुभयो। (मत्ति १५:२१-२८) अर्को उदाहरण विचार गरौँ। येसुले एकचोटि यसो भन्नुभयो: ‘जसले मलाई इन्कार गर्छ, म पनि उसलाई इन्कार गर्नेछु।’ (मत्ति १०:३३) तर के येसुले आफूलाई तीन-तीन पटक इन्कार गर्ने पत्रुसलाई इन्कार गर्नुभयो? गर्नुभएन। पत्रुसले पश्चात्ताप गरेका छन् र तिनी वफादार छन् भनेर येसुलाई थाह थियो। येसु फेरि जीवित हुनुभएपछि पत्रुसकहाँ देखा पर्नुभयो र सम्भवतः उहाँले तिनलाई क्षमा दिइसकेको अनि अझै पनि प्रेम गरिरहेको कुरा बताउनुभयो। (लुका २४:३३, ३४) हामीले यहोवा परमेश्वर र येसु ख्रिष्ट दुवै व्यावहारिक हुनुहुन्छ भनेर बुझ्यौँ। यहोवा हामी पनि व्यावहारिक भएको चाहनुहुन्छ। w२३.०७ पृ. २१-२२ अनु. ६-७