आइतबार, अगस्त १०
साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।—हितो. १७:१७.
यहुदियामा ठूलो अनिकाल परेको सुनेपछि एन्टिओकका भाइबहिनीले “आ-आफ्नो औकातअनुसार यहुदियामा बस्ने भाइहरूलाई राहत सामग्री पठाउने निधो गरे।” (प्रेषि. ११:२७-३०) अनिकालबाट प्रभावित भाइबहिनी धेरै टाढा बस्ने भए पनि एन्टिओकका ख्रिष्टियनहरू तिनीहरूलाई मदत गर्न अघि सरे। (१ युह. ३:१७, १८) भाइबहिनीहरू कुनै प्रकोपमा परेको थाह पाएपछि हामी पनि कोमल करुणा देखाउन सक्छौँ। त्यस्तो खबर सुन्नेबित्तिकै हामीले कुनै तरिकामा मदत गर्न सकिन्छ कि भनेर एल्डरहरूलाई सोध्न सक्छौँ, विश्वव्यापी कार्यको लागि अनुदान दिन सक्छौँ र प्रभावित भाइबहिनीको लागि प्रार्थना गर्न सक्छौँ। हाम्रा भाइबहिनीलाई आधारभूत आवश्यकताहरू पूरा गर्न पनि मदत चाहिन सक्छ। हाम्रा राजा येसु ख्रिष्ट न्याय गर्न आउनुहुने समयमा हामीले कोमल करुणा देखाइरहेको पाउनुभयो भने उहाँले हामीलाई “राज्य अधिकार” गर्न निम्तो दिनुहुनेछ।—मत्ति २५:३४-४०. w२३.०७ पृ. ४ अनु. ९-१०; पृ. ६ अनु. १२
सोमबार, अगस्त ११
तिमीहरूको व्यावहारिकता सबै मानिसलाई थाह होस्।—फिलि. ४:५.
येसुले यहोवाको व्यावहारिकताको अनुकरण गर्नुभयो। उहाँलाई मुख्यतया ‘इस्राएलको घरानाका हराएका भेडाहरूलाई’ सुसमाचार सुनाउन पृथ्वीमा पठाइएको थियो। तर सुसमाचार सुनाउने सन्दर्भमा पनि उहाँले व्यावहारिकता देखाउनुभयो। एकचोटि एक जना गैर-इस्राएली स्त्रीले आफ्नी छोरीलाई निको पारिदिन येसुसित बिन्ती गरिन्। उनकी छोरीलाई “प्रेतले साह्रै सताइरहेको” थियो। येसुले दया देखाउँदै उनकी छोरीलाई निको पार्नुभयो। (मत्ति १५:२१-२८) अर्को उदाहरण विचार गरौँ। येसुले एकचोटि यसो भन्नुभयो: ‘जसले मलाई इन्कार गर्छ, म पनि उसलाई इन्कार गर्नेछु।’ (मत्ति १०:३३) तर के येसुले आफूलाई तीन-तीन पटक इन्कार गर्ने पत्रुसलाई इन्कार गर्नुभयो? गर्नुभएन। पत्रुसले पश्चात्ताप गरेका छन् र तिनी वफादार छन् भनेर येसुलाई थाह थियो। येसु फेरि जीवित हुनुभएपछि पत्रुसकहाँ देखा पर्नुभयो र सम्भवतः उहाँले तिनलाई क्षमा दिइसकेको अनि अझै पनि प्रेम गरिरहेको कुरा बताउनुभयो। (लुका २४:३३, ३४) हामीले यहोवा परमेश्वर र येसु ख्रिष्ट दुवै व्यावहारिक हुनुहुन्छ भनेर बुझ्यौँ। यहोवा हामी पनि व्यावहारिक भएको चाहनुहुन्छ। w२३.०७ पृ. २१-२२ अनु. ६-७
मङ्गलबार, अगस्त १२
मृत्यु हुनेछैन।—प्रका. २१:४.
पृथ्वी प्रमोदवनमा परिणत हुनेछ भनेर शङ्का गर्नेहरूलाई हामी के भन्न सक्छौँ? पहिलो, यहोवाले त्यो प्रतिज्ञा आफै गर्नुभएको हो। प्रकाशको किताबमा यसो भनिएको छ: “सिंहासनमा बस्नुहुनेले भन्नुभयो: ‘हेर! म सबै थोक नयाँ बनाउँदै छु।’” उहाँसित आफ्नो प्रतिज्ञा पूरा गर्ने बुद्धि, शक्ति र इच्छा छ। दोस्रो, उहाँ आफ्नो प्रतिज्ञा पूरा हुने कुरामा यत्ति पक्का हुनुहुन्छ कि उहाँको नजरमा ती पूरा भइसके। त्यसैले उहाँले यसो भन्नु उपयुक्त छ: “यी वचनहरू विश्वासयोग्य र सत्य छन्। . . . यी वचनहरू पूरा भइसकेका छन्!” तेस्रो, यहोवाले कुनै काम सुरु गर्नुभएपछि त्यो पूरा गरेरै छोड्नुहुन्छ। त्यसैले उहाँले यसो भन्नुभयो: “अल्फा र ओमेगा म नै हुँ।” (प्रका. २१:६) सैतान झूटा हो र त्यसले कुनै पनि हालतमा यहोवाको उद्देश्य पूरा हुनदेखि रोक्न सक्दैन भनेर उहाँले प्रमाणित गर्नुहुनेछ। तर मानिसहरूले “कुरा त राम्रै हो तर यस्तो हुनै सक्दैन” भनेमा प्रकाश २१:५, ६ पढेर त्यसको व्याख्या गर्न सक्नुहुन्छ। त्यहाँ लेखिएको कुरा आफ्नो प्रतिज्ञा पूरा हुनेछ भन्ने कुराको ग्यारेन्टी दिन यहोवाले गर्नुभएको हस्ताक्षरजस्तै हो भनेर बताउनुहोस्।—यसै. ६५:१६. w२३.११ पृ. ७ अनु. १८-१९