प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt हाग्गै १:१-२:२३
  • हाग्गै

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाग्गै
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
हाग्गै

हाग्गै

१ राजा दाराको शासनकालको दोस्रो वर्षको छैटौँ महिनाको पहिलो दिनमा भविष्यवक्‍ता हाग्गैमार्फत*+ सालतिएलका छोरा यहुदाका राज्यपाल यरुबाबेलकहाँ + अनि यहोजादाकका छोरा प्रधानपुजारी यहोसुकहाँ यहोवा परमेश्‍वरको यो वचन आयो:

२ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘यी मानिसहरू भन्छन्‌, “यहोवा परमेश्‍वरको भवन* बनाउने* बेला अझै भएको छैन।”’”+

३ अनि भविष्यवक्‍ता हाग्गैमार्फत+ फेरि यहोवा परमेश्‍वरको यो वचन आयो: ४ “हेर, मेरो भवन उजाड भएको छ। यस्तो बेला तिमीहरूचाहिँ सुन्दर-सुन्दर काठले सजिएको आफ्नो घरमा बस्न सुहाउँछ र?+ ५ सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘तिमीहरू के गर्दै छौ, राम्ररी विचार गर। ६ तिमीहरू प्रशस्तै छर्छौ तर थोरै मात्र कटनी गर्छौ।+ तिमीहरू खान त खान्छौ तर अघाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ तर तिमीहरूको तिर्खा मेटिँदैन। तिमीहरू लुगा त लगाउँछौ तर तिमीहरू कसैलाई पनि न्यानो हुँदैन। ज्यालामा काम गर्नेले आफ्नो ज्याला प्वाल परेको थैलीमा राख्छ।’”

७ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: ‘तिमीहरू के गर्दै छौ, राम्ररी विचार गर।’

८ “‘जाओ, पहाडहरूमा गएर काठ ल्याओ।+ अनि मेरो भवन निर्माण गर।+ त्यो देखेर म खुसी हुनेछु र मेरो महिमा हुनेछ,’+ यहोवा परमेश्‍वर भन्‍नुहुन्छ।”

९ “सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, ‘तिमीहरूले आफ्नो उब्जनी प्रशस्तै होला भनेर आस गर्दै थियौ तर थोरै मात्र कटनी गर्न पायौ। तिमीहरूले आफ्नो बाली भित्र्याउँदा मैले त्यसलाई फुकेर उडाइदिएँ।+ किन, तिमीहरूलाई थाह छ? किनकि मेरो भवन उजाड भएको छ तर तिमीहरू भने आ-आफ्नै घरको लागि दौडधूप गरिरहन्छौ।+ १० त्यसैले आकाशबाट शीत पर्न बन्द भयो अनि जमिनले उब्जनी दिन छोड्‌यो। ११ अनि मैले जमिन र पहाडहरूमाथि, अन्‍न, नयाँ मद्य र तेलमाथि, जमिनको हरेक उब्जनीमाथि, मानिस र वस्तुभाउमाथि अनि तिमीहरूका हातका सबै परिश्रममाथि खडेरी निम्त्याउन छोडिनँ।’”

१२ सालतिएलका+ छोरा यरुबाबेल+ र यहोजादाकका+ छोरा प्रधानपुजारी यहोसु र बाँकी सबै मानिसले यहोवा तिनीहरूका परमेश्‍वरको वचन सुने अनि भविष्यवक्‍ता हाग्गैको कुरा सुने किनकि यहोवा तिनीहरूका परमेश्‍वरले नै तिनलाई पठाउनुभएको थियो। अनि मानिसहरूले यहोवा परमेश्‍वरको भय मान्‍न थाले।

१३ तब यहोवा परमेश्‍वरका सन्देशवाहक हाग्गैले यहोवाबाट आफूले पाएको आदेशअनुसारै मानिसहरूलाई यस्तो सन्देश सुनाए: “‘म तिमीहरूसित छु,’+ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ।”

१४ तब यहोवा परमेश्‍वरले सालतिएलका छोरा यहुदाका राज्यपाल यरुबाबेललाई+ अनि यहोजादाकका छोरा प्रधानपुजारी यहोसुका+ साथै बाँकी सबै मानिसको मनलाई उत्प्रेरित गर्नुभयो+ र तिनीहरूले सेनाहरूका यहोवा, आफ्ना परमेश्‍वरको भवन निर्माण गर्न थाले।+ १५ तिनीहरूले राजा दाराको शासनकालको दोस्रो वर्षको छैटौँ महिनाको २४ औँ दिनमा काम सुरु गरे।+

२ सातौँ महिनाको २१ औँ दिनमा भविष्यवक्‍ता हाग्गैमार्फत+ यहोवा परमेश्‍वरको यो वचन आयो: २ “सालतिएलका छोरा यहुदाका राज्यपाल+ यरुबाबेललाई,+ यहोजादाकका+ छोरा प्रधानपुजारी यहोसुलाई+ अनि बाँकी सबै मानिसलाई सोध: ३ ‘यो भवन* पहिला कत्ति भव्य थियो, तिमीहरूमध्ये कसले देखेका थियौ?+ यो अहिले कस्तो देखिन्छ? के तिमीहरूलाई लाग्दैन, पहिलेको तुलनामा अहिले त केही पनि छैन?’+

४ “यहोवा परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ, ‘तर हे यरुबाबेल, तिमी अब हिम्मत गर अनि हे यहोजादाकका छोरा प्रधानपुजारी यहोसु, तिमी पनि हिम्मत गर।’

“‘अनि देशका मानिसहरू हो, तिमीहरू सबै हिम्मत गर,’+ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ, ‘अनि काममा लाग।’

“‘म तिमीहरूको साथमा छु,’+ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ। ५ ‘तिमीहरू मिश्रबाट* निस्केर आउँदा मैले के प्रतिज्ञा गरेको थिएँ, सम्झ।+ अनि मेरो शक्‍ति तिमीहरूसित छँदै छ।*+ तिमीहरू नडराओ।’”+

६ “त्यसैले सेनाहरूका यहोवा भन्‍नुहुन्छ, ‘केही बेरपछि म आकाश र पृथ्वीलाई अनि समुद्र र सुक्खा जमिनलाई फेरि एक पटक हल्लाउनेछु।’+

७ “‘म सबै जातिलाई हल्लाउनेछु अनि सबै जातिका अनमोल* थोकहरू मेरो भवनमा ओइरिनेछन्‌+ अनि म मेरो भवनलाई महिमाले भर्नेछु,’+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

८ “‘चाँदी मेरो हो अनि सुन पनि मेरै हो,’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।

९ “‘यो भवनको महिमा पहिलाको भन्दा झन्‌ धेरै हुनेछ,’+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

“‘अनि यस ठाउँमा शान्ति छाउनेछ,’+ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।”

१० राजा दाराको शासनकालको दोस्रो वर्षको नवौँ महिनाको २४ औँ दिनमा भविष्यवक्‍ता हाग्गैकहाँ यहोवा परमेश्‍वरको यो वचन आयो:+ ११ “सेनाहरूका यहोवा यस्तो आग्रह गर्नुहुन्छ, ‘पुजारीहरूलाई व्यवस्थाबारे यो कुरा सोध:+ १२ “यदि कुनै मानिसले पवित्र मासुको चोक्टा आफ्नो पोल्टामा हाल्यो अनि उसको लुगाले रोटी कि सुरुवा कि मद्य कि तेल कि त कुनै खानेकुरालाई छोयो भने के त्यो चिज पवित्र हुन्छ र?”’”

पुजारीहरूले यस्तो जवाफ दिए: “अहँ, हुँदैन!”

१३ त्यसपछि हाग्गैले फेरि सोधे: “यदि कुनै मानिस लास* छोएर अशुद्ध भएको छ अनि उसले तीमध्ये कुनै कुरालाई छोयो भने के त्यो अशुद्ध हुँदैन र?”+

पुजारीहरूले यस्तो जवाफ दिए: “अँ, अशुद्ध हुन्छ!”

१४ तब हाग्गैले भने: “यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ, ‘मेरो नजरमा यी मानिसहरू र यो राष्ट्र त्यस्तै छन्‌। अनि तिनीहरूका हातका सबै काम पनि त्यस्तै छन्‌; तिनीहरूले त्यहाँ जे-जे चढाउँछन्‌, ती सबै अशुद्ध छन्‌।’

१५ “‘तर आजदेखि तिमीहरू यो कुरा राम्ररी विचार गर भनी आग्रह गर्छु: यहोवाको मन्दिर फेरि बनाउन थाल्नुअघि+ १६ तिमीहरूको हालत कस्तो थियो? जब कोही २० भाँडा अन्‍न पाउँला भनी अन्‍न थुपारिएको ठाउँमा जान्थ्यो, तब उसले १० भाँडा मात्र पाउँथ्यो अनि जब कोही ५० भाँडा मद्य पाउँला भनी कोलमा जान्थ्यो, तब उसले २० भाँडा मात्र पाउँथ्यो।+ १७ मैले तिमीहरूलाई प्रहार गरेँ; लु चलाएर, ढुसी लगाएर+ अनि असिना बर्साएर मैले तिमीहरूको हातका सबै कामलाई प्रहार गरेँ तैपनि तिमीहरूमध्ये कोही पनि मकहाँ फर्केनौ,’ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ।

१८ “‘आजदेखि यो कुरा राम्ररी विचार गर, हो, नवौँ महिनाको २४ औँ दिनदेखि, यहोवाको मन्दिरको जग बसालिएको दिनदेखि+ तिमीहरू यो कुरा राम्ररी विचार गर: १९ के भण्डारमा* बिउ अझै बाँकी छ?+ के अङ्‌गुर, अन्जिर, अनार र जैतुनको बोटमा फल लागेको छ र? तर आजदेखि म तिमीहरूमाथि आशिष्‌ बर्साउनेछु।’”+

२० नवौँ महिनाकै २४ औँ दिनमा भविष्यवक्‍ता हाग्गैकहाँ दोस्रो पटक यहोवा परमेश्‍वरको यो वचन आयो:+ २१ “यहुदाका राज्यपाल यरुबाबेललाई यसो भन, ‘म आकाश र पृथ्वीलाई हल्लाउनेछु।+ २२ म राष्ट्रहरूको सिंहासन पल्टाइदिनेछु अनि जातिजातिका राज्यहरूको शक्‍ति नाश गरिदिनेछु;+ म तिनीहरूका रथहरू र त्यसमा सवार हुनेहरूलाई पल्टाइदिनेछु। घोडाहरूलाई तरबारले ढालिनेछ र घोडचढीहरूलाई उनीहरूकै दाजुभाइले तरबारले काट्‌नेछन्‌।’”+

२३ “‘त्यस दिन,’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, ‘हे सालतिएलको छोरा, मेरो दास यरुबाबेल,+ म तिमीलाई बोलाउनेछु,’+ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ, ‘अनि म तिमीलाई छापऔँठीजस्तै बनाउनेछु किनकि मैले रोजेको मानिस तिमी नै हौ,’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।”

यसको अर्थ हो, “चाडको दिनमा जन्मिएको।”

वा “मन्दिर।”

वा “पुनर्निर्माण गर्ने।”

वा “मन्दिर।”

वा “इजिप्टबाट।”

वा सम्भवतः “अनि मेरो शक्‍ति तिमीहरूमाझ खडा थियो।”

वा “असल-असल।”

शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

वा “अन्‍न राख्ने खाडलमा।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने