रोमीहरूलाई पत्र
१ म पावल, जो ख्रिष्ट येसुको दास हुँ, तिमीहरूलाई यो पत्र लेख्दै छु। म प्रेषित* बन्न बोलाइएको अनि परमेश्वरको सुसमाचार सुनाउन अलग पारिएको मानिस हुँ।+ २ यस सुसमाचारबारे परमेश्वरले आफ्ना भविष्यवक्ताहरूमार्फत पवित्र धर्मशास्त्रमा पहिल्यै प्रतिज्ञा गर्नुभएको थियो। ३ यो सुसमाचार उहाँको छोराको विषयमा हो, जो दाउदको सन्तानबाट+ मानिसको रूपमा जन्मिनुभयो ४ अनि मृत्युबाट फेरि जीवित भएर+ पवित्र शक्तिद्वारा परमेश्वरको छोरा कहलाइनुभयो।+ हो, उहाँ नै हाम्रा प्रभु येसु ख्रिष्ट हुनुहुन्छ। ५ सबै जातिले उहाँमाथि विश्वास गरेर आज्ञाकारी बनून् र यसरी उहाँको नामको महिमा गरून् भनेर+ उहाँद्वारा नै हामीले असीम अनुग्रह पाउनुका साथै प्रेषितको जिम्मेवारी पनि पायौँ।+ ६ तिमीहरू पनि ती जातिहरूमध्येकै हौ र परमेश्वरले तिमीहरूलाई पनि येसु ख्रिष्टका हुन बोलाउनुभएको छ। ७ रोममा बस्ने तिमीहरू सबैलाई म लेख्दै छु, जो परमेश्वरका प्रिय छन् र जसलाई पवित्र जन बन्न बोलाइएको छ:
परमेश्वर हाम्रा बुबाबाट र प्रभु येसु ख्रिष्टबाट तिमीहरूलाई असीम अनुग्रह र शान्ति मिलोस्।
८ सर्वप्रथम तिमीहरू सबैको विषयमा येसु ख्रिष्टमार्फत म आफ्ना परमेश्वरलाई धन्यवाद दिन्छु किनकि तिमीहरूको विश्वासको विषयमा सारा संसारभरि चर्चा भइरहेको छ। ९ म आफ्नो प्रार्थनामा कति अटुट रूपमा तिमीहरूलाई सधैँ समावेश गर्छु भन्ने कुराको साक्षी परमेश्वर हुनुहुन्छ, जसको छोराको विषयमा सुसमाचार सुनाएर म उहाँलाई तनमनले पवित्र सेवा चढाउँछु।+ १० अनि परमेश्वरको इच्छा भए म जसरी भए पनि तिमीहरूकहाँ आउन सकूँ भनेर उहाँलाई बिन्ती गर्छु। ११ म तिमीहरूलाई भेट्न तीव्र इच्छा गर्दै छु ताकि केही आध्यात्मिक वरदान* दिएर तिमीहरूलाई स्थिर बनाउन सकूँ १२ वा भनौँ मैले र तिमीहरूले, हामी दुवैले आ-आफ्नो विश्वासद्वारा एकअर्कालाई प्रोत्साहन दिन सकौँ।+
१३ ए भाइहरू हो, तिमीहरूलाई यो कुरा थाह होस् भन्ने म चाहन्छु कि बाँकी अरू गैर-यहुदीको बीचमा बटुलेजस्तै तिमीहरूको बीचमा पनि केही फल बटुल्न सकूँ भनेर धेरै पल्ट म तिमीहरूकहाँ आउन चाहेको थिएँ तर अहिलेसम्म मलाई रोकिराखिएको छ। १४ ग्रीकहरू र विदेशीहरू* दुवैप्रति अनि बुद्धिमान्हरू र निर्बुद्धिहरू दुवैप्रति म ऋणी छु। १५ त्यसैले त्यहाँ रोममा भएका तिमीहरूलाई पनि सुसमाचार सुनाउन म उत्सुक छु।+ १६ सुसमाचार सुनाउन म सर्माउदिनँ+ किनकि वास्तवमा यो विश्वास गर्नेहरूजति सबैलाई,+ पहिला यहुदीहरूलाई+ अनि त्यसपछि ग्रीकहरूलाई उद्धार गर्ने परमेश्वरको शक्तिशाली माध्यम हो।+ १७ यसै सुसमाचारद्वारा परमेश्वरले आफ्नो भलाइ प्रकट गर्नुहुन्छ। अनि जोसित विश्वास छ, उसले त्यो देख्छ र त्यसले उसको विश्वासलाई अझ बलियो बनाउँछ+ किनकि यस्तो लेखिएको छ: “तर धर्मी मानिस विश्वासैले गर्दा जिउनेछ।”+
१८ सत्यलाई गलत तरिकामा दबाइरहेका मानिसहरूको सबै भक्तिहीनता र खराबीविरुद्ध+ स्वर्गबाट परमेश्वरको क्रोध+ प्रकट भइरहेको छ। १९ परमेश्वरबारे जे-जति जान्न सकिन्छ, त्यो तिनीहरूसामु छर्लङ्गै छ किनकि परमेश्वरले तिनीहरूलाई त्यो प्रकट गर्नुभएको छ।+ २० उहाँका अदृश्य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्गै देखिँदै आएका छन्। यी गुणहरूलगायत उहाँको अनन्त शक्ति+ र ईश्वरत्वसमेत+ उहाँले बनाउनुभएका कुराहरूबाट बुझ्न सकिने भएकोले+ तिनीहरूले कुनै बहाना बनाउन सक्दैनन्। २१ तिनीहरूले परमेश्वरलाई चिनेको भए तापनि उहाँलाई परमेश्वरको रूपमा महिमा दिएनन् न त उहाँलाई धन्यवाद नै दिए। तर तिनीहरूले व्यर्थको तर्क गरे र तिनीहरूको अबुझ हृदय झन् अँध्यारो भयो।+ २२ आफू बुद्धिमान् भएको दाबी गरे तापनि तिनीहरू मूर्ख भए २३ अनि अविनाशी परमेश्वरलाई दिनुपर्ने महिमा नाशवान् मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जन्तुहरूको प्रतिमालाई दिए।+
२४ त्यसैले तिनीहरूले आफ्नै शरीरको अनादर गरून् भनेर परमेश्वरले तिनीहरूलाई तिनीहरूको हृदयको इच्छाअनुसारै अशुद्धतामा छोडिदिनुभयो। २५ परमेश्वरको सत्यलाई विश्वास गर्नुको सट्टा तिनीहरूले झूटलाई विश्वास गरे अनि सृष्टिकर्तालाई उपासना र पवित्र सेवा चढाउनुको सट्टा सृष्टिको उपासना गरे र त्यसैलाई पवित्र सेवा चढाए। तर सृष्टिकर्ता मात्र सदासर्वदा प्रशंसा पाउन योग्यको हुनुहुन्छ। आमिन। २६ परमेश्वरले तिनीहरूलाई पतित कामवासनामै डुबिरहून् भनी छोडिदिनुभयो+ किनकि तिनीहरूका स्त्रीहरूले प्राकृतिक यौनसम्बन्ध राख्न छोडेर अप्राकृतिक सम्बन्ध राखे।+ २७ त्यसैगरि पुरुषहरूले पनि स्त्रीहरूसित प्राकृतिक सम्बन्ध राख्न छोडे बरु एकअर्कासित अर्थात् पुरुषहरूसितै+ कामेच्छाले जलेर निर्लज्ज काम गरे अनि तिनीहरूले आफ्नो कर्तुतको पूरापूर उचित दण्ड पाए।+
२८ तिनीहरूले परमेश्वरलाई चिन्न* आवश्यक ठानेनन्। त्यसैले तिनीहरूले अनुचित काम नै गरिरहून् भनेर परमेश्वरले तिनीहरूलाई त्यस्तो भ्रष्ट मनस्थितिमै छोडिदिनुभयो।+ २९ तिनीहरू हरप्रकारका कुकर्म,+ दुष्टता, लोभ,+ खराबी, ईर्ष्या,+ हत्या,+ कलह, छल+ र द्वेषले भरिए+ अनि तिनीहरू चुक्ली लगाउने, ३० कुरा काट्ने,+ परमेश्वरलाई घृणा गर्ने, बेसोमती, अहङ्कारी, धक्कु लगाउने, दुष्ट कुरा रचिहिँड्ने, आमाबुबाको आज्ञा नमान्ने,+ ३१ बेसमझका,+ विश्वासघाती, स्वाभाविक स्नेह नभएका र निर्दयी भए। ३२ यस्ता काम गर्नेहरू मृत्युको लायक हुन्छन्+ भन्ने परमेश्वरको न्यायोचित उर्दी तिनीहरूलाई राम्ररी थाह छ तैपनि तिनीहरू यस्ता कामहरू गरिरहन्छन् र गर्नेहरूलाई पनि मन्जुरी दिन्छन्।
२ त्यसैले ए मानिस, तिमी जोसुकै हौ, यदि अरूलाई दोष लगाउँछौ भने तिमी आफै दोषी छौ।+ अरूलाई दोष लगाएर तिमी आफैलाई दोषी ठहराउँछौ किनकि तिमी अरूलाई जुन कुराको दोष लगाउँछौ, त्यो आफै पनि गरिरहन्छौ।+ २ अब हामीलाई थाह छ, यस्ता काम गरिरहने मानिसहरूको परमेश्वरले न्याय गर्नुहुन्छ र उहाँको न्याय सही छ।
३ ए मानिस, यदि तिमी त्यस्ता काम गरिरहनेहरूलाई दोषी ठहराउँछौ तर आफूचाहिँ ती गर्छौ भने के तिमी परमेश्वरको न्यायबाट उम्कन सक्छु भन्ठान्छौ? ४ अथवा के तिमी परमेश्वरको अपार दया,+ सहनशीलता+ अनि धीरजलाई+ तुच्छ सम्झन्छौ? परमेश्वरले दया गरेर तिमीलाई पश्चात्तापतिर लैजाने कोसिस गर्दै हुनुहुन्छ भन्ने कुरा के तिमीलाई थाह छैन?+ ५ तर तिमीहरूको हृदय कठोर अनि अपश्चात्तापी भएकोले तिमीहरूले आफ्नो निम्ति त्यस दिनका लागि परमेश्वरको क्रोध साँच्दै छौ, जुन दिन उहाँको क्रोध र सही न्याय प्रकट हुनेछ।+ ६ उहाँले हरेकलाई उसको कामअनुसारको प्रतिफल दिनुहुनेछ:+ ७ निरन्तर असल काम गरेर गौरव, आदर अनि अविनाशी शरीर खोज्नेहरूलाई उहाँले अनन्त जीवन दिनुहुनेछ।+ ८ तर जो झगडालु छन् अनि जो सत्यबमोजिम चल्नुको साटो परमेश्वरको स्तरविपरीत चल्छन्, तिनीहरूमाथि क्रोध र रिस आइपर्नेछ।+ ९ हानिकारक काम गर्ने हरेक मानिसमाथि सङ्कष्ट अनि आपत् आइपर्नेछ, पहिले यहुदीमाथि अनि त्यसपछि ग्रीकमाथि। १० तर असल काम गर्ने हरेकलाई परमेश्वरले गौरव, आदर अनि शान्ति दिनुहुनेछ, पहिले यहुदीलाई+ अनि त्यसपछि ग्रीकलाई।+ ११ किनकि परमेश्वर कसैको पक्षपात गर्नुहुन्न।+
१२ व्यवस्था नजानेर पाप गर्नेहरू व्यवस्था नजानेकै अवस्थामा मर्नेछन्+ तर व्यवस्था जानेर पाप गर्नेहरू सबैको चाहिँ व्यवस्थाबमोजिमै न्याय गरिनेछ।+ १३ किनकि व्यवस्था सुन्नेहरू होइन तर व्यवस्था पालन गर्नेहरू परमेश्वरसामु असल ठहरिनेछन्।+ १४ यदि व्यवस्था नहुने गैर-यहुदीहरू+ स्वतः व्यवस्थामा भएका कुराहरू गर्छन् भने व्यवस्था नभए तापनि तिनीहरू आफै आफ्नो निम्ति व्यवस्था हुन्। १५ तिनीहरूको हृदयमा व्यवस्थाका कुरा लेखिएका छन् भनेर तिनीहरू आफैले प्रदर्शन गर्छन् र तिनीहरूको अन्तस्करणले पनि त्यसको साक्षी दिन्छ। अनि तिनीहरूको सोचाइले नै तिनीहरूलाई दोषी वा निर्दोष ठहराउँछ। १६ यो त्यसबेला हुनेछ, जब मैले प्रचार गरेको सुसमाचारबमोजिम परमेश्वरले ख्रिष्ट येसुमार्फत मानिसहरूका गोप्य कुराहरूको न्याय गर्नुहुनेछ।+
१७ तिमी आफू यहुदी हुँ भन्छौ,+ व्यवस्थामाथि भर पर्छौ अनि परमेश्वरसितको सम्बन्धमा गर्व गर्छौ, १८ परमेश्वरको इच्छा के हो, त्यो तिमीलाई थाह छ र मोसाको व्यवस्थाको शिक्षा पाएकोले* सर्वोत्तम कुराहरू के हुन्, त्यो पक्का गर्न सक्छौ+ १९ अनि तिमी यस कुरामा विश्वस्त छौ कि तिमी अन्धालाई बाटो देखाउने, अँध्यारोमा बसिरहेकाहरूलाई ज्योति दिने, २० बेसमझहरूलाई सच्याउने, साना केटाकेटीलाई* सिकाउने हौ। अनि तिमीलाई मोसाको व्यवस्थामा पाइने ज्ञान र सत्यको ढाँचा पनि थाह छ— २१ तिमी जो अरूलाई सिकाउँछौ, के आफैलाई चाहिँ सिकाउँदैनौ?+ तिमी जो “नचोर्नू” भनी प्रचार गर्छौ,+ के आफैचाहिँ चोर्छौ? २२ तिमी जो “व्यभिचार* नगर्नू” भनी भन्छौ,+ के आफैचाहिँ व्यभिचार गर्छौ? तिमी जो मूर्ति देखेर घिन मान्छौ, के आफैचाहिँ मन्दिरहरू लुट्छौ? २३ तिमी जो व्यवस्थामाथि गर्व गर्छौ, मोसाको व्यवस्थाविरुद्ध पाप गरेर के आफैचाहिँ परमेश्वरको अनादर गर्छौ? २४ किनकि यस्तो लेखिएको छ, “तिमीहरूले गर्दा अन्यजातिहरूको बीचमा परमेश्वरको नामको निन्दा भइरहेको छ।”+
२५ तिमी व्यवस्थाबमोजिम चल्छौ भने मात्र वास्तवमा खतना*+ फाइदाजनक हुन्छ तर तिमी व्यवस्थाविरुद्ध पाप गर्छौ भने खतना गरे तापनि तिमी खतना नभएसरह हुन्छौ।+ २६ त्यसैले यदि खतना नभएको मानिसले+ मोसाको व्यवस्थामा परमेश्वरले तोक्नुभएको माग पूरा गर्छ भने खतना नगरे तापनि के ऊ खतना भएसरह हुँदैन र?+ २७ शारीरिक रूपमा खतना नगरे तापनि मोसाको व्यवस्था पालन गरेर उसले तिमीलाई दोषी ठहराउनेछ किनकि तिमी लिखित नियम पाएको अनि खतना भएको मानिस भएर पनि व्यवस्थाविरुद्ध पाप गर्छौ। २८ जो बाहिरबाट यहुदी देखिन्छ, ऊ यहुदी होइन+ न त शरीरमा गरिने खतना नै खतना हो।+ २९ तर जो भित्रबाट यहुदी हो, ऊ नै यहुदी हो+ अनि लिखित नियमबमोजिम होइन+ तर पवित्र शक्तिद्वारा उसको हृदयको खतना भएको छ।+ यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, परमेश्वरबाट हुन्छ।+
३ त्यसोभए यहुदी हुनुको फाइदा के छ? वा खतना गर्नुको फाइदा के छ? २ थुप्रै फाइदा छ। पहिलो त, यहुदीहरूलाई परमेश्वरका पवित्र सन्देशहरू सुम्पिइयो।+ ३ त्यसोभए कुरा के हो त? कसै-कसैले विश्वास गरेनन् भन्दैमा के तिनीहरूको विश्वासको अभावले गर्दा परमेश्वर विश्वासयोग्य हुनुहुन्न भनेर ठहरिन्छ त? ४ त्यस्तो हुनै सक्दैन! सबै मानिस झूटो साबित भए तापनि+ परमेश्वर सत्य ठहरिऊन्+ किनकि यस्तो लेखिएको छ: “तपाईँ जे भन्नुहुन्छ, त्यो सही साबित होस् र तपाईँले मुद्दा जित्नुहोस्।”+ ५ हामीले गर्ने खराब कामबाट परमेश्वरको काम न्यायोचित छ भनेर प्रकट हुन्छ भनी कोही-कोही भन्छन्। त्यसोभए परमेश्वरले आफ्नो क्रोध खन्याउनुहुँदा उहाँले अन्याय गरिरहनुभएको हुन्छ र? (म आम मानिसको भाषामा बोल्दै छु।) ६ त्यस्तो हुनै सक्दैन! नत्र त परमेश्वरले कसरी संसारको न्याय गर्नुहुनेछ?+
७ तर यदि मेरो झूटले परमेश्वरलाई झनै सत्य साबित गर्छ र उहाँको गौरव बढाउँछ भने मलाई किन पापी ठहराइन्छ? ८ अनि “आओ, हामी खराब कुरा गरौँ ताकि असल कुरा प्रकट होस्” भनेर हामी किन नभनौँ? हामी यस्तै सिकाउँछौँ भनेर कसै-कसैले झूटो आरोप लगाउँछन्। ती मानिसहरूले न्यायोचित दण्ड पाउनेछन्।+
९ त्यसोभए हामी के ठानौँ? के हामी अरूभन्दा उच्च छौँ? पटक्कै छैनौँ! किनकि यहुदी र ग्रीक सबै नै पापको अधीनमा छन् भनेर हामीले अगाडि नै दोष लगाइसक्यौँ।+ १० जस्तो लेखिएको छ: “धर्मी मानिस कोही छैन, एक जना पनि छैन।+ ११ बुद्धिमान्* मानिस एक जना पनि छैन, परमेश्वरलाई खोज्ने एक जना पनि छैन। १२ सबै मानिस तर्केका छन्, तिनीहरू सबै जना बेकामको भएका छन्; दया गर्ने कोही छैन, एक जना पनि छैन।”+ १३ “तिनीहरूको घोक्रो खुला चिहान हो, तिनीहरूको जिब्रो कपटले भरिएको छ।”+ “तिनीहरूको ओठमुनि विषालु सर्पको विष भरिएको हुन्छ।”+ १४ “अनि तिनीहरूको मुख सराप र तीता कुराहरूले भरिएको छ।”+ १५ “तिनीहरू* रगत बगाउन हतारिन्छन्।”+ १६ “नाश गर्नु र दुःख दिनु तिनीहरूको काम हो १७ अनि शान्तिको बाटो कहाँ छ, तिनीहरूलाई थाहै छैन।”+ १८ “तिनीहरूको आँखामा परमेश्वरप्रतिको डर छैन।”+
१९ हामीलाई थाह छ कि मोसाको व्यवस्थाले भन्ने सबै कुरा मोसाको व्यवस्थाको अधीनमा हुनेहरूका लागि हो ताकि कसैले बहाना बनाउन नपाओस् अनि सारा संसार परमेश्वरको दण्ड पाउन योग्य होस्।+ २० त्यसैले व्यवस्था पालन गरेर कोही मानिस उहाँसामु धर्मी ठहरिन सक्दैन+ किनकि पाप के हो, त्यसको सही ज्ञान व्यवस्थाबाट पाउन सकिन्छ।+
२१ तर अब व्यवस्था पालन नगरीकन पनि परमेश्वरको नजरमा धर्मी ठहरिन सकिन्छ भनेर प्रकट भएको छ,+ जसको साक्षी मोसाको व्यवस्था र भविष्यवक्ताहरूको लेखोट छन्।+ २२ येसु ख्रिष्टमा विश्वास गरेर परमेश्वरको नजरमा धर्मी ठहरिन सकिन्छ। हो, विश्वास हुनेजति सबै जना धर्मी ठहरिन सक्छन्। यसमा कुनै भेदभाव छैन।+ २३ किनकि सबैले पाप गरेका छन् अनि परमेश्वरका गौरवशाली गुणहरू प्रकट गर्न चुकेका छन्।+ २४ तर परमेश्वरले आफ्नो असीम अनुग्रह+ देखाएर सित्तैँमा उपहारस्वरूप तिनीहरूलाई आफ्नो नजरमा धर्मी ठहराउनुभयो।+ ख्रिष्ट येसुले तिर्नुभएको फिरौतीद्वारा मुक्त गरेर उहाँले तिनीहरूलाई यसरी धर्मी ठहराउनुभयो।+ २५ येसु ख्रिष्टको रगतमाथिको विश्वासद्वारा+ तिनीहरूको पापको प्रायश्चित होस्* भनेर परमेश्वरले उहाँलाई बलिदानको रूपमा चढाउनुभयो।+ आफू न्यायी छु भनी प्रकट गर्न परमेश्वरले त्यसो गर्नुभयो किनकि बितेको समयमा तिनीहरूले गरेका पापहरू सहेर उहाँले क्षमा गरिरहनुभएको थियो। २६ वर्तमान समयमा पनि आफू न्यायी छु भनी देखाउन उहाँले त्यसो गर्नुभयो+ ताकि येसुमाथि विश्वास गर्ने मानिसहरूलाई आफ्नो नजरमा धर्मी ठहराउँदा आफू पनि न्यायी हुन सकियोस्।+
२७ त्यसोभए घमन्ड गर्ने कुनै कारण छ त? अहँ, छैन। कुन व्यवस्थाले गर्दा? कामको व्यवस्थाले गर्दा?+ त्यसो कदापि होइन तर विश्वासको व्यवस्थाले गर्दा। २८ किनकि हामीले बुझ्यौँ कि व्यवस्था अनुसारको कामद्वारा होइन तर विश्वासद्वारा मानिस परमेश्वरको नजरमा धर्मी ठहरिन्छ।+ २९ अथवा के उहाँ यहुदीहरूका मात्र परमेश्वर हुनुहुन्छ?+ के उहाँ अन्यजातिका मानिसहरूका पनि परमेश्वर हुनुहुन्न र?+ हो, उहाँ अन्यजातिका मानिसहरूका पनि परमेश्वर हुनुहुन्छ।+ ३० परमेश्वर साँच्चै एकै जना हुनुहुन्छ+ र उहाँले नै खतना भएका मानिसहरूलाई+ विश्वासको आधारमा धर्मी ठहराउनुहुन्छ र खतना नभएका मानिसहरूलाई+ पनि तिनीहरूको विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ। ३१ त्यसोभए के हामी आफ्नो विश्वासद्वारा व्यवस्थालाई खारेज गर्छौँ त? त्यस्तो हुनै सक्दैन! बरु हामी व्यवस्थालाई सही साबित गर्छौँ।+
४ त्यसो हो भने अब्राहामले के पाए भनी हामी भनौँ, जो शारीरिक नातामा हाम्रा पुर्खा थिए? २ उदाहरणका लागि, अब्राहामलाई कामहरूको आधारमा धर्मी ठहराइएको भए तिनीसित घमन्ड गर्ने कारण हुने थियो तर परमेश्वरसामु त होइन। ३ धर्मशास्त्रको एउटा अंश के भन्छ? “अब्राहामले यहोवा* परमेश्वरमाथि विश्वास गरे र यसले गर्दा तिनी उहाँको नजरमा धर्मी ठहरिए।”+ ४ जसले काम गर्छ, त्यस मानिसलाई दिइने ज्यालालाई उसलाई देखाइने असीम अनुग्रहको रूपमा नभई उसले पाउनुपर्ने कुराको रूपमा* हेरिन्छ। ५ अर्कोतर्फ जसले काम गर्दैन तर पापीहरूलाई धर्मी ठहराउनुहुनेमाथि विश्वास राख्छ, उसको विश्वासैले उसलाई धर्मी ठहराउँछ।+ ६ जस्तो कि दाउदले पनि यस्तो मानिसको आनन्दबारे चर्चा गरेका छन्, जसलाई कामविना पनि परमेश्वरले धर्मी ठहराउनुहुन्छ: ७ “आनन्दित हुन् तिनीहरू, जसका कुकर्महरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका* छन्। ८ आनन्दित हो त्यो मानिस, जसको पापको लेखा यहोवा* परमेश्वरले कुनै हालतमा राख्नुहुनेछैन।”+
९ त्यसोभए यो आनन्द खतना भएका मानिसहरूले मात्र पाउँछन् कि खतना नभएका मानिसहरूले पनि?+ किनकि हामी भन्छौँ: “विश्वासले गर्दा अब्राहाम उहाँको नजरमा धर्मी ठहरिए।”+ १० त्यसोभए तिनी कुन अवस्थामा धर्मी ठहरिएका थिए? खतना भएपछि कि खतना हुनुअघि? खतना भएपछि होइन, खतना हुनुअघि नै। ११ अनि खतना नभएकै अवस्थामा तिनले देखाएको विश्वासले गर्दा तिनी धर्मी ठहरिएका हुन् भन्ने कुराको ग्यारेन्टीस्वरूप* तिनले एउटा चिन्ह पाए,+ जुन खतना थियो। यसरी तिनी खतना नभए तापनि विश्वासले गर्दा धर्मी ठहरिएकाहरू सबैको बुबा बने+ १२ अनि खतना गरिएका सन्तानहरूको पनि। तिनी खतना भएकाहरूको मात्र होइन तर खतना हुनुअघि हाम्रा बुबा अब्राहामसित+ जुन विश्वास थियो, त्यसको पदचिन्हमा हिँड्ने सबैको पनि बुबा बने।
१३ अब्राहाम र तिनका सन्तानसित तिनीहरू संसारका उत्तराधिकारी हुनेछन् भनेर प्रतिज्ञा गरिएको थियो।+ तिनीहरूले व्यवस्था पालन गरेकोले तिनीहरूसित यो प्रतिज्ञा गरिएको थिएन बरु तिनीहरू विश्वासद्वारा धर्मी ठहरिएकोले+ गरिएको थियो। १४ यदि व्यवस्थाअनुसार चल्नेहरू नै उत्तराधिकारी हुन्छन् भने विश्वास बेकामको हुन्छ र प्रतिज्ञा रद्द हुन्छ। १५ वास्तवमा मोसाको व्यवस्थाले क्रोध उत्पन्न गर्छ+ तर जहाँ व्यवस्था हुँदैन, त्यहाँ अपराध पनि हुँदैन।+
१६ यसकारण विश्वास देखाएको हुनाले तिनीसित यो प्रतिज्ञा गरिएको थियो। यस प्रतिज्ञाद्वारा परमेश्वरको असीम अनुग्रह प्रकट भयो+ र यो कुरा पनि पक्का भयो कि मोसाको व्यवस्थाअनुसार चल्नेहरूका लागि मात्र होइन तर अब्राहाम, जो हामी सबैका बुबा हुन्,+ तिनको जस्तो विश्वास हुने तिनका सबै सन्तानका लागि+ पनि यो प्रतिज्ञा गरिएको थियो। १७ (जस्तो लेखिएको छ: “मैले तिमीलाई धेरै जातिका बुबा बनाएको छु।”)+ परमेश्वरकै सामुन्ने यो भएको थियो, जसमा अब्राहामले विश्वास गरेका थिए र जसले मरेकाहरूलाई जिउँदो बनाउनुहुन्छ अनि अस्तित्वमै नभएका चिजहरूबारे ती अस्तित्वमा भएझैँ गरी कुरा गर्नुहुन्छ। १८ आशा गर्ने कुनै ठाउँ नभए तापनि “तिम्रा सन्तान पनि आकाशका ताराजत्तिकै असङ्ख्य हुनेछन्” भनिएबमोजिमै+ थुप्रै जातिको बुबा हुनेछु भनेर आशा गर्दै तिनले विश्वास गरे। १९ अब्राहामलाई आफ्नो शरीर मरेतुल्य लागे तापनि (किनकि तिनको उमेर लगभग १०० वर्ष भइसकेको थियो)+ अनि तिनलाई साराको गर्भ पनि मरेतुल्य* भइसक्यो भनेर थाह भए तापनि तिनको विश्वास भने कमजोर भएन।+ २० परमेश्वरले तिनीसित प्रतिज्ञा गर्नुभएको हुनाले तिनमा विश्वासको कमी भएन र तिनी डगमगाएनन् बरु तिनको विश्वासले गर्दा तिनी बलियो भए अनि तिनले परमेश्वरको प्रशंसा गरे। २१ अनि उहाँले जे प्रतिज्ञा गर्नुभएको छ, त्यो पूरा गर्न सक्नुहुन्छ भनेर तिनी पूर्णतया विश्वस्त भए।+ २२ यसले गर्दा “तिनी उहाँको नजरमा धर्मी ठहरिए।”+
२३ “तिनी उहाँको नजरमा धर्मी ठहरिए” भनेर तिनको लागि मात्र लेखिएको थिएन+ २४ तर हाम्रो लागि पनि थियो किनकि हाम्रा प्रभु येसुलाई मृत्युबाट ब्युँताउनुहुनेमाथि विश्वास राखेको हुनाले हामी पनि धर्मी ठहरिनेछौँ।+ २५ हाम्रा पापहरूका निम्ति मारिन येसु सुम्पिइनुभएको थियो+ र हामीलाई धर्मी ठहराउनका निम्ति ब्युँताइनुभएको थियो।+
५ त्यसैले अब विश्वासले गर्दा हामी धर्मी ठहरिसकेको हुँदा+ आओ, हामी हाम्रा प्रभु येसु ख्रिष्टमार्फत परमेश्वरसित शान्तिमय सम्बन्ध कायम राखौँ।*+ २ ख्रिष्टमाथि विश्वास गरेको हुनाले हाम्रो निम्ति असीम अनुग्रह पाउने बाटो खुलेको छ, जुन अनुग्रह हामीले अहिले पाइरहेका छौँ।+ त्यसैले आओ, परमेश्वरले दिनुहुने महिमाको आशामा रमाऔँ।* ३ त्यति मात्र होइन, आओ, हामी सङ्कष्टको बेला पनि रमाऔँ*+ किनकि हामीलाई थाह छ, सङ्कष्टले सहनशीलता उत्पन्न गराउँछ+ ४ र सहनशीलताबाट परमेश्वरद्वारा अनुमोदित अवस्था प्राप्त हुन्छ+ अनि परमेश्वरद्वारा अनुमोदित अवस्थाले आशा उत्पन्न गराउँछ+ ५ अनि आशाले निराश तुल्याउँदैन+ किनकि हामीलाई दिइएको पवित्र शक्तिद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा भरिएको छ।+
६ साँच्चै, हामी कमजोर छँदै+ अभक्त मानिसहरूको निम्ति ख्रिष्ट तोकिएको समयमा मर्नुभयो। ७ हुन पनि असल मानिसको निम्ति ज्यान दिन हिम्मत गर्ने कोही निस्के तापनि धर्मी मानिसको निम्ति आफ्नो ज्यान दिने सायदै कोही होला। ८ तर हामी पापी छँदै ख्रिष्ट हाम्रो निम्ति मर्नुभयो र यसरी परमेश्वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो।+ ९ यसप्रकार ख्रिष्टको रगतद्वारा अब हामी धर्मी ठहरिसकेको हुनाले+ उहाँद्वारै परमेश्वरको क्रोधबाट पनि बच्नेछौँ भनी हामी झनै पक्का हुन सक्छौँ।+ १० यदि हामी शत्रु छँदै उहाँको छोराको मृत्युले गर्दा परमेश्वरसित हाम्रो मिलाप भयो भने+ अहिले मिलाप भइसकेको अवस्थामा ख्रिष्टको जीवनद्वारा उद्धार पाउनेछौँ भनेर झनै पक्का हुन सक्छौँ। ११ त्यति मात्र होइन, हाम्रा प्रभु येसु ख्रिष्ट, जसद्वारा अहिले परमेश्वरसित हाम्रो मिलाप भएको छ, उहाँमार्फत परमेश्वरसित गाँसिएको नातामा पनि हामी रमाइरहेका छौँ।+
१२ एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु,+ त्यसैले मृत्यु सबै मानिसमा व्याप्त भयो किनकि तिनीहरू सबैले पाप गरे।+ १३ किनकि मोसाको व्यवस्था दिइनुअघि पनि संसारमा पाप थियो तर व्यवस्था नहुँदा कसैलाई पापको दोषी ठहराउन सकिँदैन।+ १४ तैपनि आदमदेखि मोसासम्म पापले राजाले झैँ राज गऱ्यो, तिनीहरूमाथि समेत, जसले आदमले जस्तो अपराध गरेर पाप गरेका थिएनन्। यी आदम भविष्यमा आउनुहुनेको प्रतिरूप थिए।+
१५ तर वरदानको नतिजा र अपराधको नतिजा उस्तै हुँदैन। किनकि एक जना मानिसको अपराधले गर्दा धेरै जना मरे तर परमेश्वरले देखाउनुभएको असीम अनुग्रह अनि उहाँले सित्तैँमा दिनुभएको वरदानले गर्दा झन् कत्ति धेरैलाई फाइदा भयो, जुन वरदान एकै जना मानिस, येसु ख्रिष्टको असीम अनुग्रहद्वारा दिइयो।+ १६ त्यसैगरि सित्तैँमा दिइएको वरदानको नतिजा र एक जना मानिसको पापले गर्दा भएको नतिजा पनि उस्तै हुँदैन।+ किनकि एउटा अपराधले गर्दा सबै मानिस दोषी घोषित भए+ तर धेरै अपराधपछि आएको वरदानले गर्दा भने धेरै जना धर्मी ठहरिए।+ १७ एक जना मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राजाले झैँ राज गऱ्यो+ भने ज-जसले परमेश्वरको असीम अनुग्रह प्रशस्तै पाउँछन् अनि उहाँले सित्तैँमा दिनुभएको वरदानले गर्दा धर्मी ठहरिन्छन्,+ तिनीहरूले एकै जना मानिस, येसु ख्रिष्टद्वारा जीवन पाउनुका साथै राजाको रूपमा शासन गर्नेछन्+ भनेर हामी झनै पक्का हुन सक्छौँ।+
१८ तसर्थ जसरी एउटा अपराधले गर्दा हरकिसिमका मानिस दण्ड पाउन लायकका भए,+ उसरी नै निरपराध साबित गराउने एउटा कामले गर्दा हरकिसिमका मानिस+ धर्मी ठहरिएर जीवन पाउन लायकका हुन्छन्।+ १९ जसरी एक जना मानिसको अनाज्ञाकारिताले गर्दा धेरै जना पापी भए,+ उसरी नै एक जनाको आज्ञाकारिताले गर्दा धेरै जना धर्मी ठहरिनेछन्।+ २० जब मोसाको व्यवस्था आयो, तब त्यसले अपराध झनै उदाङ्ग पाऱ्यो।+ तर पाप जति बढ्यो, असीम अनुग्रह त्योभन्दा झनै बढ्यो। २१ अनि यसको उद्देश्य? यही कि जसरी पापले मृत्युसित मिलेर राजाले झैँ राज गऱ्यो,+ उसरी नै हाम्रा प्रभु येसु ख्रिष्टमार्फत असीम अनुग्रहले पनि राजाले झैँ राज गरोस् र हामीलाई धर्मी ठहराउनुका साथै अनन्त जीवन पनि देओस्।+
६ त्यसोभए हामी के भनौँ? असीम अनुग्रह झन् बढ्दै जाओस् भनेर के हामी पाप गरिरहौँ? २ त्यस्तो त हुनै सक्दैन! हामी पापको लागि मरिसकेका छौँ + भनेर बुझेपछि हामी कसरी पापैमा बाँचिरहन सक्छौँ र?+ ३ अथवा के तिमीहरूलाई थाह छैन, हामी सबै जना जसले ख्रिष्ट येसुमा बप्तिस्मा गऱ्यौँ,+ उहाँको मृत्युमा पनि बप्तिस्मा गऱ्यौँ?+ ४ त्यसकारण उहाँको मृत्युमा बप्तिस्मा गरेर हामी उहाँसँगै गाडियौँ + ताकि जसरी बुबाको गौरवशाली शक्तिद्वारा ख्रिष्ट मृत्युबाट ब्युँताइनुभयो, त्यसरी नै हामीले पनि नयाँ जीवन जिउनुपर्छ।+ ५ यदि हामी उहाँजस्तै मरेर उहाँसित एक भएका छौँ भने+ उहाँजस्तै फेरि जीवित भएर पनि उहाँसित एक हुनेछौँ।+ ६ किनकि हामीलाई थाह छ, हाम्रो पुरानो व्यक्तित्व उहाँसितै खम्बामा टाँगिएको छ+ ताकि हाम्रो पापी शरीरले हामीमाथि प्रभुत्व जमाउन नसकोस्+ र अब उप्रान्त हामी पापको दास भइरहन नपरोस्।+ ७ किनकि जो मर्छ, ऊ आफ्नो पापबाट मुक्त हुन्छ।*
८ यसबाहेक हामी ख्रिष्टसित मरेका छौँ भने उहाँसितै बाँच्ने पनि छौँ भनी हामी विश्वास गर्छौँ। ९ किनकि हामीलाई थाह छ, ख्रिष्ट अहिले मृत्युबाट ब्युँतिसक्नुभएको हुनाले+ उहाँ फेरि मर्नुहुन्न;+ उहाँमाथि अब मृत्युको प्रभुत्व छैन। १० किनकि उहाँ जुन मरण मर्नुभयो, पापको लागि* एकै चोटि सदाको लागि मर्नुभयो+ तर उहाँ जुन जीवन जिउनुहुन्छ, परमेश्वरको लागि जिउनुहुन्छ। ११ त्यसरी नै तिमीहरूले पनि पापको लागि आफू मरिसकेको छु तर ख्रिष्ट येसुमार्फत परमेश्वरको लागि जीवित छु भनी सम्झ।+
१२ त्यसैले मरणशील शरीरको इच्छाको वशमा नपर्न तिमीहरू त्यसमाथि पापलाई राजाले झैँ राज गरिरहन नदेओ+ १३ अनि तिमीहरू आफ्नो शरीरलाई* कुकर्मको हतियारको रूपमा पापलाई नसुम्प। तर मृत्युबाट ब्युँतेका मानिसहरूको नाताले तिमीहरू आफूलाई परमेश्वरलाई सुम्प अनि आ-आफ्नो शरीरलाई* पनि धार्मिकताको* हतियारको रूपमा परमेश्वरलाई सुम्प।+ १४ तिमीहरू पापलाई आफूमाथि प्रभुत्व जमाउन नदेओ किनकि तिमीहरूलाई थाह छ, तिमीहरू व्यवस्थाको अधीनमा होइन+ तर असीम अनुग्रहको अधीनमा छौ।+
१५ त्यसोभए हामी के भनौँ? हामी व्यवस्थाको अधीनमा होइन तर असीम अनुग्रहको अधीनमा छौँ भन्दैमा के हामी पाप गरौँ?+ त्यस्तो त हुनै सक्दैन! १६ के तिमीहरूलाई थाह छैन, तिमीहरू आफूलाई आज्ञाकारी दासको रूपमा कसैलाई सुम्पन्छौ भने तिमीहरू जसको आज्ञा मान्छौ, उसैको दास हुन्छौ?+ तिमीहरू कि त मृत्युको लागि पापको दास+ कि त धार्मिकताको लागि आज्ञाकारिताको दास बन्छौ। १७ तर परमेश्वरलाई धन्यवाद छ किनभने तिमीहरू कुनै समय पापका दास थियौ तर तिमीहरू त्यस प्रकारको शिक्षाप्रति मनैदेखि आज्ञाकारी भयौ, जुन तिमीहरूलाई सुम्पिइएको थियो। १८ हो, तिमीहरूलाई पापबाट स्वतन्त्र गरिएकोले+ तिमीहरू धार्मिकताको दास बन्यौ।+ १९ तिमीहरूको पापी शरीरको कमजोरीलाई विचार गर्दै म आम मानिसको भाषामा बोल्दै छु; जसरी तिमीहरूले कुकर्म गर्न आफ्ना अङ्गहरूलाई अशुद्धता र कुकर्मको दास बनायौ, त्यसरी नै अब पवित्र काम गर्न आफ्ना अङ्गहरूलाई धार्मिकताको दास बनाओ।+ २० किनकि तिमीहरू पापको दास छँदा तिमीहरूमाथि धार्मिकताको प्रभुत्व थिएन।
२१ त्यसोभए तिमीहरू त्यतिबेला कस्ता फल फलाउने गर्थ्यौ? तिमीहरू त्यस्ता कामहरू गर्थ्यौ, जसदेखि तिमीहरूलाई अहिले सरम लाग्छ। किनकि त्यस्ता कामहरूको अन्तिम परिणाम मृत्यु हो।+ २२ तथापि अहिले तिमीहरू पापबाट स्वतन्त्र भएर परमेश्वरका दास भइसकेकोले तिमीहरूले त्यसको फलको रूपमा पवित्र जीवन पाइरहेका छौ+ र अन्तमा अनन्त जीवन पाउनेछौ।+ २३ किनकि पापले तिर्ने ज्याला मृत्यु हो+ तर परमेश्वरले दिनुहुने वरदान हाम्रा प्रभु ख्रिष्ट येसुमार्फत पाइने अनन्त जीवन हो।+
७ हे भाइ हो, (म व्यवस्था थाह भएकाहरूसित बोल्दै छु) मानिस जीवित रहुन्जेल ऊमाथि मोसाको व्यवस्थाको प्रभुत्व रहन्छ भनेर के तिमीहरूलाई थाह छैन? २ उदाहरणका लागि, विवाहित स्त्री आफ्नो पति बाँचुन्जेल व्यवस्थाबमोजिम उसैसित बाँधिएकी हुन्छे तर यदि उसको पति मऱ्यो भने ऊ आफ्नो पतिको व्यवस्थाबाट मुक्त हुन्छे।+ ३ त्यसैले आफ्नो पति जिउँदो छँदै उसले अर्को पुरुषसित विवाह गरी भने उसले व्यभिचार* गरेकी हुन्छे।+ तर यदि उसको पति मऱ्यो भने ऊ आफ्नो पतिको व्यवस्थाबाट मुक्त हुन्छे, त्यसैले उसले अर्को पुरुषसित विवाह गरी भने पनि उसले व्यभिचार गरेकी हुँदिन।+
४ त्यसकारण हे मेरा भाइ हो, तिमीहरू पनि ख्रिष्टको शरीरद्वारा मोसाको व्यवस्थाको नजरमा मरिसक्यौ ताकि तिमीहरू उहाँको हुन सक,+ जो मृत्युबाट ब्युँताइनुभएको थियो।+ यसरी हामी परमेश्वरको आदर हुने फल फलाउन सक्छौँ।+ ५ किनकि जब हामी शारीरिक इच्छाअनुसार जिउँथ्यौँ, तब मृत्युको फल फलाउन हाम्रा शरीरमा* पापी इच्छाहरूले काम गर्थे,+ जुन मोसाको व्यवस्थाले गर्दा प्रकट भए। ६ तर अहिले हामी मोसाको व्यवस्थाबाट मुक्त भइसकेका छौँ + किनकि हामीलाई जसले बाँधेर राखेको थियो, त्यसको नजरमा हामी मरिसकेका छौँ। हामी लिखित नियमको आधारमा पुरानो अर्थमा होइन+ तर पवित्र शक्तिको आधारमा नयाँ अर्थमा दास बनौँ + भनेर यसो भएको हो।
७ त्यसोभए हामी के भनौँ? के मोसाको व्यवस्था पाप हो? त्यस्तो त हुनै सक्दैन! साँच्चै भन्ने हो भने मोसाको व्यवस्था नहुँदो हो त पाप के हो, मलाई थाह हुने थिएन।+ उदाहरणका लागि, “तिमीले लोभ नगर्नू” भनी मोसाको व्यवस्थाले नभनेको भए लोभ के हो, मलाई थाहै हुने थिएन।+ ८ यस आज्ञाले गर्दा पापले मौकाको फाइदा उठाएर मभित्र हरप्रकारको लोभ उत्पन्न गऱ्यो किनकि व्यवस्था नहुँदा पाप पनि मरेकै थियो।+ ९ वास्तवमा कुनै समय व्यवस्था नहुँदा म जिउँदो थिएँ तर जब व्यवस्था आयो, पाप फेरि जीवित भयो तर मचाहिँ मरेँ।+ १० जुन व्यवस्था जीवनतर्फ पुऱ्याउन दिइएको थियो,+ त्यसले नै मृत्युतर्फ पुऱ्याउँदो रहेछ भनेर मलाई थाह भयो। ११ किनकि व्यवस्थाले गर्दा पापले मौकाको फाइदा उठाएर मलाई फुस्ल्यायो र त्यसैद्वारा मलाई माऱ्यो। १२ मोसाको व्यवस्था आफैमा पवित्र छ अनि त्यसको आज्ञा पवित्र, न्यायोचित र असल छ।+
१३ त्यसोभए जे असल छ, त्यही नै मेरो लागि मृत्युको कारण बन्यो त? त्यस्तो त हुनै सक्दैन! बरु पापचाहिँ मेरो लागि मृत्युको कारण बन्यो ताकि मभित्र काम गरेर मलाई मृत्युतर्फ लैजाने पाप नै हो भनेर जे असल छ, त्यसद्वारा प्रकट होस्+ र व्यवस्थाद्वारा पाप अझ बढी प्रकट होस्।+ १४ किनकि मोसाको व्यवस्था परमेश्वरबाट आएको हो भनेर हामीलाई थाह छ तर म भने पापी हुँ र पापमा बेचिएको छु।+ १५ म के गर्दै छु, म आफै बुझ्दिनँ। किनकि म जे गर्न चाहन्छु, त्यो गर्दिनँ तर जुन कुरालाई घृणा गर्छु, त्यही गर्छु। १६ तर यदि म जे गर्न चाहन्नँ, त्यही गर्छु भने मोसाको व्यवस्था ठीक छ भन्ने कुरामा म सहमत छु। १७ तर अब त्यो काम गर्ने म होइनँ तर मभित्र बास गर्ने पाप हो।+ १८ मलाई थाह छ, मेरो शरीरमा कुनै असल कुराले बास गर्दैन किनकि ममा असल गर्ने चाहना त छ तर क्षमता भने छैन।+ १९ म जुन असल काम गर्न चाहन्छु, त्यो गर्दिनँ तर जुन खराब काम गर्न चाहन्नँ, त्यही नै गर्ने गर्छु। २० त्यसैले अब यदि म जे गर्न चाहन्नँ, त्यही गर्छु भने त्यो काम गर्ने म होइनँ तर मभित्र बास गर्ने पाप हो।
२१ त्यसैले ममा एउटा यस्तो नियम भएको म पाउँछु: जब म जे ठीक छ, त्यो गर्न चाहन्छु, तब ममा खराबी हाजिर हुँदो रहेछ।+ २२ परमेश्वरको व्यवस्थामा म साँच्चै मनैदेखि आनन्दित हुन्छु।+ २३ तर म आफ्नो शरीरमा* बेग्लै खालको व्यवस्था पाउँछु, जसले मेरो दिमागको व्यवस्थासँग लडाइँ गर्छ।+ अनि मेरो शरीरमा* बास गर्ने पापको व्यवस्थाले मलाई बन्दी बनाउने गर्छ।+ २४ हाय, म कस्तो लाचार मानिस! मृत्युतर्फ धकेलिँदै गरेको यो शरीरबाट मलाई कसले छुटाउला? २५ हाम्रा प्रभु येसु ख्रिष्टद्वारा परमेश्वरलाई धन्यवाद होस्! म आफ्नो दिमागमा त परमेश्वरको व्यवस्थाको दास हुँ तर शरीरमा भने पापको व्यवस्थाको दास हुँ।+
८ तसर्थ जो ख्रिष्ट येसुसँग एक भएका छन्, तिनीहरूलाई दोषी ठहराइँदैन। २ किनकि ख्रिष्ट येसुको चेला भएको नाताले तिमीहरूलाई जीवन दिने पवित्र शक्तिको व्यवस्थाले तिमीहरूलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र पारेको छ।+ ३ पापी मानिसहरूले गर्दा कमजोर भएको+ मोसाको व्यवस्थाले जे गर्न सकेन,+ आफ्नो छोरालाई मानिसको रूपमा*+ पठाएर+ परमेश्वरले त्यो पूरा गर्नुभयो। अनि यसरी परमेश्वरले शरीरमा बास गर्ने पापलाई दोषी ठहराउनुभयो ४ ताकि शारीरिक इच्छाअनुसार नभई पवित्र शक्तिको डोऱ्याइबमोजिम चलेर+ हामीले मोसाको व्यवस्थाको उचित माग पूरा गर्न सकौँ।+ ५ किनकि जो-जो शारीरिक इच्छाअनुसार जिउँछन्, तिनीहरूले शारीरिक इच्छाहरूमै मन लगाउँछन्+ तर जो-जो पवित्र शक्तिको डोऱ्याइबमोजिम जिउँछन्, तिनीहरूले पवित्र शक्तिका कुराहरूमा मन लगाउँछन्।+ ६ शारीरिक इच्छाहरूमा मन लगाउनुको अर्थ मृत्यु हो+ तर पवित्र शक्तिका कुराहरूमा मन लगाउनुको अर्थचाहिँ जीवन अनि शान्ति हो।+ ७ शारीरिक इच्छाहरूमा मन लगाउनुको अर्थ परमेश्वरसित दुस्मनी राख्नु हो+ किनकि शारीरिक इच्छा परमेश्वरको व्यवस्थाको अधीनमा हुँदैन, भनौँ भने हुन पनि सक्दैन। ८ त्यसैले जो शारीरिक इच्छाअनुसार चल्छन्, तिनीहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्।
९ तथापि यदि तिमीहरूमा परमेश्वरको पवित्र शक्ति साँच्चै बास गर्छ भने तिमीहरू शारीरिक इच्छाअनुसार नभई पवित्र शक्तिको डोऱ्याइबमोजिम चलिरहेका हुन्छौ।+ तर यदि कसैसित ख्रिष्टको मनोभाव छैन भने ऊ ख्रिष्टको हुन सक्दैन। १० तर यदि तिमीहरू ख्रिष्टसित एक भइसकेका छौ भने+ पापले गर्दा तिमीहरूको शरीर मरेतुल्य भए तापनि पवित्र शक्तिले तिमीहरूलाई जीवन दिनेछ किनकि तिमीहरू धर्मी ठहरिसकेका छौ। ११ अब यदि येसुलाई मृत्युबाट ब्युँताउनुहुनेको पवित्र शक्ति तिमीहरूमा बास गर्छ भने ख्रिष्ट येसुलाई मृत्युबाट ब्युँताउनुहुनेले+ तिमीहरूमा बास गर्ने आफ्नो पवित्र शक्तिद्वारा तिमीहरूको मरणशील शरीरलाई पनि जीवित पार्नुहुनेछ।+
१२ त्यसकारण हे भाइ हो, अब हामी शरीरअनुसार जिउन अनि त्यसका इच्छाबमोजिम चल्न बाध्य छैनौँ।+ १३ यदि तिमीहरू शारीरिक इच्छाबमोजिम चल्यौ भने तिमीहरू पक्कै मर्नेछौ तर पवित्र शक्तिको मदतद्वारा पापी शरीरका कामहरूलाई माऱ्यौ भने+ तिमीहरू बाँच्नेछौ।+ १४ किनकि परमेश्वरको पवित्र शक्तिको डोऱ्याइअनुसार चल्नेजति सबै वास्तवमा परमेश्वरका छोरा हुन्।+ १५ परमेश्वरको पवित्र शक्तिले हामीलाई दास बनाउँदैन न त फेरि भयभीत बनाउँछ बरु त्यही पवित्र शक्तिले हामीलाई परमेश्वरको धर्मपुत्र बनाउँछ र त्यही शक्तिद्वारा हामी “अब्बा,* हे बुबा!” भनेर पुकार्छौँ।+ १६ हामी परमेश्वरका सन्तान हौँ+ भनेर पवित्र शक्ति आफैले हाम्रो मनलाई साक्षी दिन्छ।+ १७ यदि हामी उहाँका सन्तान हौँ भने उत्तराधिकारी पनि हौँ, परमेश्वरको उत्तराधिकारी अनि ख्रिष्टका सङ्गी उत्तराधिकारी।+ यदि हामी उहाँसँगै दुःख भोग्छौँ भने+ उहाँसँगै महिमित पनि हुनेछौँ।+
१८ अहिले यस वर्तमान समयमा हामीले भोगिरहेको कष्ट हामीले पाउने महिमाको तुलनामा केही पनि होइन भन्ने मलाई लाग्छ।+ १९ किनकि सृष्टिले परमेश्वरका छोराहरू प्रकट हुने समय अति उत्सुकतासाथ पर्खिरहेको छ।+ २० किनकि सृष्टिलाई व्यर्थताको अधीनमा पारियो+ तर त्यसको आफ्नै इच्छाले गर्दा त होइन बरु त्यसलाई त्यसरी अधीनमा पार्नुहुनेको इच्छाले गर्दा। यस आशामा कि २१ भ्रष्टताको दासत्वबाट स्वतन्त्र भएर सृष्टि आफैले पनि परमेश्वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता पाउनेछ।+ २२ किनकि हामीलाई थाह छ, सारा सृष्टि अहिलेसम्म एकसाथ सुस्केरा हाल्दै पीडाले छटपटाइरहेको छ। २३ त्यति मात्र होइन, पहिलो फल अर्थात् पवित्र शक्ति पाएका हामी, हो, हामी पनि आफ्नो मनमा सुस्केरा हाल्छौँ + र फिरौतीद्वारा आफ्नो शरीरबाट मुक्त भएर परमेश्वरको धर्मपुत्र बन्ने+ तीव्र प्रतीक्षा गर्छौँ। २४ परमेश्वरले हामीलाई पापबाट उद्धार गर्नुहुँदा हामीले यही आशा पायौँ। तर देखिने आशा त आशा नै होइन किनकि कुनै कुरा देखेपछि के मानिसले त्यसको आशा गर्छ र? २५ तर यदि हामी जे कुरा देख्दैनौँ,+ त्यसको आशा गर्छौँ भने+ सहनशील भएर उत्सुकतासाथ त्यसको प्रतीक्षा पनि गरिरहन्छौँ।+
२६ त्यसैगरि पवित्र शक्तिले पनि हाम्रो कमजोरीसित लड्न हामीलाई मदत गर्छ।+ किनकि प्रार्थना नगरी नहुने बेला कुन कुराको लागि प्रार्थना गर्ने, त्यो हामीलाई थाह नहुन सक्छ। त्यतिखेर हाम्रो मनमा दबिएका* सुस्केराहरूको निम्ति पवित्र शक्तिले हाम्रो तर्फबाट बिन्ती गरिदिन्छ। २७ पवित्र शक्तिले के भन्न खोजेको हो, हृदय जाँच्नुहुनेले+ त्यो जान्नुहुन्छ किनकि त्यसले परमेश्वरको इच्छाबमोजिम पवित्र जनहरूको खातिर बिन्ती गरिरहेको हुन्छ।
२८ हामीलाई यो कुरा थाह छ, परमेश्वरलाई प्रेम गर्ने मानिसहरू, जसलाई उहाँको उद्देश्यअनुरूप बोलाइएको छ,+ तिनीहरूको भलो होस् भनेर उहाँ आफ्ना सबै कामबीच तालमेल मिलाउनुहुन्छ। २९ किनकि ज-जसलाई उहाँले सबैभन्दा पहिला स्विकार्नुभयो, आफ्नो छोराको प्रतिरूप होऊन्+ भनेर तिनीहरूलाई पहिल्यै नियुक्त पनि गर्नुभयो। ख्रिष्ट आफ्ना धेरै भाइमध्ये+ पहिलो सन्तान+ हुन सकून् भनेर पनि उहाँले त्यसो गर्नुभएको हो। ३० यसबाहेक ज-जसलाई उहाँले पहिल्यै नियुक्त गर्नुभयो,+ तिनीहरू उहाँले बोलाउनुभएकाहरू पनि हुन्+ अनि ज-जसलाई उहाँले बोलाउनुभयो, तिनीहरू उहाँले धर्मी ठहराउनुभएकाहरू पनि हुन्।+ अन्तमा, ज-जसलाई उहाँले धर्मी ठहराउनुभयो, तिनीहरू उहाँले महिमित पार्नुभएकाहरू पनि हुन्।+
३१ त्यसोभए हामी यी कुराहरूबारे के भनौँ? यदि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को खडा हुन सक्छ र?+ ३२ जसले आफ्नो छोरालाई समेत हामी सबैको निम्ति दिनुभयो,+ के उहाँले हामीमाथि दया गरेर आफ्नो छोराका साथै बाँकी अरू सबै कुरा पनि दिनुहुनेछैन र? ३३ परमेश्वरले चुन्नुभएका जनहरूमाथि कसले आरोप लगाउन सक्छ र?+ किनकि तिनीहरूलाई धर्मी ठहराउनुहुने परमेश्वर स्वयम् हुनुहुन्छ।+ ३४ तिनीहरूलाई कसले दोष लगाउन सक्छ र? किनकि जो मर्नुभयो र मृत्युबाट ब्युँतेर परमेश्वरको दाहिने हाततर्फ बस्नुभयो,+ तिनै ख्रिष्ट येसुले हाम्रो निम्ति बिन्ती गर्नुहुन्छ।+
३५ ख्रिष्टको प्रेमबाट हामीलाई कसले अलग पार्न सक्छ र?+ सङ्कष्टले, वेदनाले, खेदोले, भोकले, नग्नताले, खतराले वा तरबारले?+ ३६ जस्तो लेखिएको छ: “तपाईँको खातिर हामी दिनभरि मृत्युको मुखमा पर्छौँ, हामी काट्न लागिएका भेडाहरूझैँ भएका छौँ।”+ ३७ तर ठीक उल्टो, हामीलाई प्रेम गर्नुहुनेको मदतद्वारा यी सबै कुरामाथि हामी पूरै विजयी भएका छौँ।+ ३८ किनकि म विश्वस्त छु, न मृत्युले न जीवनले न स्वर्गदूतहरूले न सरकारहरूले न अहिले यहाँ भएका कुराहरूले न त पछि आउने कुराहरूले न शक्तिले+ ३९ न उचाइले न गहिराइले न त अरू कुनै सृष्टिले हाम्रा प्रभु ख्रिष्ट येसुमार्फत व्यक्त भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग पार्न सक्नेछ।
९ म ख्रिष्टमा सत्य बोल्दै छु; मैले झूट बोलेको होइनँ किनभने पवित्र शक्तिसित मिलेर मेरो अन्तस्करणले साक्षी दिन्छ २ कि मेरो हृदयमा ठूलो शोक र यस्तो पीडा छ, जुन कहिल्यै कम भएन। ३ मेरा भाइबन्धुको सट्टा मचाहिँ श्रापित भएर ख्रिष्टबाट अलग भइदिए हुन्थ्यो, जो रगतको नाताले मेरा नातेदार हुन्, ४ जो इस्राएलीहरू हुन्। तिनीहरूलाई धर्मपुत्र बनाइयो+ अनि गौरव, करार,+ मोसाको व्यवस्था,+ पवित्र सेवा+ र प्रतिज्ञाहरू+ सुम्पिइयो। ५ तिनीहरूबाटै हाम्रा पुर्खाहरू आए+ र तिनीहरूकै सन्तानको रूपमा ख्रिष्ट पनि जन्मिनुभयो।+ परमेश्वर, जो सबैभन्दा उच्च हुनुहुन्छ, उहाँको सदासर्वदा प्रशंसा होस्। आमिन।
६ तथापि परमेश्वरको वचन असफल भयो भन्न खोजेको त होइन। किनकि इस्राएलबाट जन्मेकाहरू सबै जना साँच्चै “इस्राएलीहरू” होइनन्+ ७ न त अब्राहामको सन्तान हुँदैमा तिनीहरू सबै तिनका छोराछोरी हुन्।+ तर यस्तो लेखिएको छ: “तिमीलाई प्रतिज्ञा गरिएको सन्तान इसहाकबाटै आउनेछ।”+ ८ यसको मतलब के हो भने रगतको नाताले अब्राहामको सन्तान भएकाहरू वास्तवमा परमेश्वरका सन्तान होइनन्+ तर प्रतिज्ञामार्फत जो उहाँका सन्तान भएका छन्,+ तिनीहरूलाई नै अब्राहामको सन्तान मानिन्छ। ९ किनकि परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुभएको थियो: “अर्को वर्ष यसै बेला म आउनेछु अनि साराले एउटा छोरा जन्माइसकेकी हुनेछिन्।”+ १० यो प्रतिज्ञा त्यही एक चोटि मात्र गरिएको थिएन बरु हाम्रा पुर्खा इसहाकबाट रिबेकाले जुम्ल्याहालाई गर्भधारण गर्दा+ पनि गरिएको थियो। ११ तिनीहरू नजन्मँदै अनि तिनीहरूले कुनै असल वा खराब काम नगर्दै यसो गरिएको थियो ताकि छनौट गर्ने काम परमेश्वरको उद्देश्यअनुसारै होस्, कसैको कामहरूअनुसार होइन। परमेश्वर जसलाई चाहनुहुन्छ, उसैलाई रोज्नुहुन्छ। १२ रिबेकालाई यस्तो भनिएको थियो: “जेठोचाहिँ कान्छोको दास हुनेछ।”+ १३ जस्तो लेखिएको छ: “मैले याकुबलाई प्रेम गरेँ तर एसावलाई भने घृणा गरेँ।”+
१४ त्यसोभए हामी के भनौँ? के परमेश्वरले अन्याय गर्नुहुन्छ? त्यस्तो त हुनै सक्दैन!+ १५ किनकि उहाँ मोसालाई भन्नुहुन्छ: “म जसलाई कृपा देखाउन चाहन्छु, उसैलाई कृपा देखाउनेछु अनि म जसलाई करुणा देखाउन चाहन्छु, उसैलाई करुणा देखाउनेछु।”+ १६ त्यसैले यो न त मानिसको इच्छामा न उसको प्रयासमा* बरु परमेश्वरमा निर्भर हुन्छ, जसले कृपा देखाउनुहुन्छ।+ १७ किनकि धर्मशास्त्रले फारोलाई* भन्छ: “तिमीद्वारा मेरो शक्ति प्रकट होस् अनि मेरो नाम सारा पृथ्वीमा घोषणा होस् भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।”+ १८ त्यसैले उहाँ जसलाई चाहनुहुन्छ, उसैलाई कृपा देखाउनुहुन्छ र जसलाई चाहनुहुन्छ, उसलाई कठोर हुन दिनुहुन्छ।+
१९ तसर्थ तिमीले मलाई भन्नेछौ: “उहाँ किन अझै दोष लगाउनुहुन्छ त? उहाँको इच्छाविरुद्ध को खडा हुन सकेको छ र?” २० तर ए मानिस, परमेश्वरलाई जवाफ फर्काउन तिम्रो के हैसियत छ?+ बनाइएको वस्तुले बनाउनेलाई “तपाईँले मलाई किन यस्तो बनाउनुभयो” भन्छ र?+ २१ माटोको एउटै डल्लोबाट आदरणीय प्रयोगको लागि एउटा भाँडो र साधारण प्रयोगको लागि अर्को भाँडो बनाउन माटोमाथि कुमालेको अधिकार हुन्छ+ भनेर के तिमीलाई थाह छैन? २२ अब आफ्नो क्रोध प्रकट गर्ने र आफ्नो शक्ति प्रदर्शन गर्ने इच्छा भए तापनि परमेश्वरले विनाशको लायक क्रोधका भाँडाहरूलाई निकै धीरज गरेर सहनुभयो। २३ कृपाका भाँडाहरूमाथि प्रचुर मात्रामा गौरव देखाउन सकियोस् भनेर उहाँले त्यसो गर्नुभयो।+ तिनीहरूले गौरव पाऊन् भनेर उहाँले यी भाँडाहरूलाई पहिल्यै तयार पार्नुभएको थियो २४ अर्थात् हामीलाई, जसलाई उहाँले यहुदीहरूको माझबाट मात्र होइन तर अन्यजातिहरूबाट पनि बोलाउनुभयो।+ यसमा हामी केही भन्न सक्छौँ र? २५ जस्तो उहाँले होसेको पुस्तकमा पनि भन्नुभएको छ: “जो मेरा मानिसहरू होइनन्,+ तिनीहरूलाई ‘मेरा मानिसहरू’ भन्नेछु अनि जसलाई मैले प्रेम गरिनँ, उनलाई ‘प्रिय’ भन्नेछु+ २६ अनि जुन ठाउँमा तिनीहरूलाई ‘तिमीहरू मेरा मानिसहरू होइनौ’ भनिएको थियो, त्यहाँ तिनीहरू ‘जीवित परमेश्वरका छोराहरू’ कहलाइनेछन्।”+
२७ यसबाहेक इस्राएलबारे यसैया ठूलो स्वरले यसो भन्छन्: “इस्राएलका छोराहरू समुद्रका बालुवासरी भए तापनि बाँकी रहेकाहरूलाई मात्र उद्धार गरिनेछ।+ २८ किनकि यहोवा* परमेश्वरले पृथ्वीको लेखा लिनुहुनेछ, उहाँले केही बाँकी नराखी यो काम झट्टै पूरा गर्नुहुनेछ।”+ २९ जस्तो यसैयाले पहिल्यै भनेका थिए: “सेनाहरूका यहोवाले* हाम्रा केही सन्तान बाँकी नराख्नुभएको भए हामी सदोमजस्तै हुने थियौँ अनि हाम्रो हालत गमोराको जस्तै हुने थियो।”+
३० त्यसोभए हामी के भनौँ? अन्यजातिका मानिसहरूले धर्मी ठहरिन कोसिस नगरे तापनि विश्वासले गर्दा तिनीहरू परमेश्वरको नजरमा धर्मी ठहरिए।+ ३१ तर इस्राएलले व्यवस्थाअनुसार चलेर धर्मी ठहरिन कोसिस गरे तापनि तिनीहरू पूर्णतया व्यवस्थाअनुसार चलेनन्। ३२ के कारणले गर्दा? किनभने तिनीहरूले विश्वासद्वारा होइन तर कामहरूद्वारा धर्मी ठहरिन कोसिस गरे। तिनीहरूले “ठेस लाग्ने ढुङ्गा”-मा ठेस खाए।+ ३३ जस्तो लेखिएको छ: “हेर, म सियोनमा ठेस लाग्ने ढुङ्गो+ र ठक्कर दिने चट्टान बसाल्दै छु तर जसले त्यसमा विश्वास गर्छ, ऊ निराश हुनेछैन।”+
१० भाइहरू हो, इस्राएलीहरूले उद्धार पाऊन् भन्ने मेरो मनैदेखिको सदिच्छा छ र म परमेश्वरसित पनि यही उत्कट बिन्ती गर्छु।+ २ किनकि तिनीहरूसित परमेश्वरको लागि जोस त छ+ तर सही ज्ञानअनुरूप छैन भन्ने कुराको म साक्षी छु। ३ किनकि परमेश्वरको नजरमा कसरी धर्मी ठहरिने+ भनी थाह नभएकोले तिनीहरूले आफूले आफैलाई धर्मी ठहराउन खोजे।+ त्यसैले धर्मी ठहरिन पूरा गर्नुपर्ने परमेश्वरका मागहरूको अधीनमा तिनीहरू बसेनन्।+ ४ किनकि विश्वास गर्ने हरेक मानिस धर्मी ठहरियोस् भनेर ख्रिष्टमै मोसाको व्यवस्थाको अन्त भयो।+
५ किनकि व्यवस्थाबमोजिम धर्मी ठहरिने विषयमा मोसा यस्तो लेख्छन्: “जसले यी कुराहरू गर्छ, ऊ जिउनेछ।”+ ६ तर विश्वासद्वारा धर्मी ठहरिने विषयमा चाहिँ यस्तो लेखिएको छ: “आफ्नो मनमा यसो नभन,+ ‘को स्वर्ग उक्लनेछ?’+ अर्थात् ख्रिष्टलाई तल ल्याउन को स्वर्ग उक्लनेछ? ७ वा ‘को अगाध खाडलमा ओर्लिनेछ?’+ अर्थात् ख्रिष्टलाई मृत्युबाट उठाउन को अगाध खाडलमा ओर्लिनेछ?” ८ धर्मशास्त्र के भन्छ? “व्यवस्थाको यो सन्देश तिमीहरूको नजिक, तिमीहरूकै मुखमा र तिमीहरूकै हृदयमा छ”;+ त्यो विश्वासको “सन्देश” हो, जुन हामी प्रचार गर्दै छौँ। ९ यदि तिमी येसु नै प्रभु हुनुहुन्छ भनेर मुखले जनसमक्ष घोषणा गर्छौ+ अनि परमेश्वरले उहाँलाई मृत्युबाट ब्युँताउनुभयो भनेर आफ्नो मनमा विश्वास गर्छौ भने तिमीले उद्धार पाउनेछौ। १० किनकि मनदेखि विश्वास गरेर मानिस धर्मी ठहरिन्छ तर त्यो विश्वास मुखले जनसमक्ष घोषणा गरेर+ चाहिँ उसले उद्धार पाउँछ।
११ किनकि धर्मशास्त्र भन्छ: “उहाँमाथि विश्वास गर्ने कोही पनि निराश हुनेछैन।”+ १२ यहुदी र ग्रीकबीच कुनै भिन्नता छैन+ किनकि सबैका प्रभु एकै जना हुनुहुन्छ, जसले उहाँलाई पुकार्नेहरूजति सबैलाई प्रशस्त* आशिष् दिनुहुन्छ। १३ किनकि “हरेक जसले यहोवाको* नाम पुकार्छ, उसले उद्धार पाउनेछ।”+ १४ तथापि जसमाथि तिनीहरूले विश्वास राखेकै छैनन्, उहाँलाई कसरी पुकार्ने? अनि जसको विषयमा सुनेकै छैनन्, उहाँमाथि तिनीहरूले कसरी विश्वास राख्ने? अनि प्रचार गर्ने कोही छैन भने तिनीहरूले कसरी सुन्ने? १५ अनि कसैले नपठाईकन तिनीहरूले कसरी प्रचार गर्ने?+ जस्तो लेखिएको छ: “असल कुराहरूको सुसमाचार घोषणा गर्नेहरूका खुट्टा कत्ति सुन्दर!”+
१६ यद्यपि तिनीहरू सबैले त सुसमाचार स्विकारेनन्। जस्तो यसैया भन्छन्: “हे यहोवा,* हाम्रो कुरा* कसले विश्वास गर्छ?”+ १७ सन्देश सुनेपछि विश्वास पलाउँछ।+ अनि सन्देश तब सुन्न पाइन्छ, जब कसैले ख्रिष्टबारे बताउँछ। १८ तर म सोध्छु, के तिनीहरूले सुनेनन्? किन नसुन्नु, भनौँ भने “सन्देश सुनाउनेहरूको स्वर सारा पृथ्वीभरि गुञ्जियो अनि उनीहरूको सन्देश पृथ्वीको कुनाकाप्चासम्म पुग्यो।”+ १९ यद्यपि म सोध्छु, के इस्राएलले बुझेन?+ पहिला मोसा भन्छन्: “जसलाई एउटा जाति नै गनिँदैन, त्यस्तो जातिद्वारा म तिमीहरूमा डाह उत्पन्न गराउनेछु। एउटा मूर्ख जातिद्वारा म तिमीहरूलाई असाध्यै रिस उठाउनेछु।”+ २० तर यसैया निर्धक्क भई यसो भन्छन्: “मलाई खोज्दै नखोजेका मानिसहरूले मलाई भेट्टाए;+ मेरो विषयमा सोधपुछ नै नगरेका मानिसहरूसामु म देखा परेँ।”+ २१ तर इस्राएलको विषयमा तिनी भन्छन्: “मैले अनाज्ञाकारी र हठी मानिसहरूको अगाडि दिनभरि हात फैलाइरहेँ।”+
११ त्यसोभए म सोध्छु, के परमेश्वरले आफ्ना मानिसहरूलाई त्याग्नुभयो?+ त्यस्तो त हुनै सक्दैन! किनभने म पनि अब्राहामको सन्तान अनि बिन्यामिन कुलको एक जना इस्राएली हुँ। २ आफूले सबैभन्दा पहिला स्विकारेका मानिसहरूलाई परमेश्वरले त्याग्नुभएन।+ एलियाले इस्राएलविरुद्ध परमेश्वरसित गरेको बिन्तीको सन्दर्भमा धर्मशास्त्रमा लेखिएको कुरा के तिमीहरूलाई थाह छैन? ३ “हे यहोवा,* तिनीहरूले तपाईँका भविष्यवक्ताहरूलाई मारिसके, तिनीहरूले तपाईँका वेदीहरू भत्काइसके र अब म मात्र बाँकी छु अनि तिनीहरू मेरो ज्यान लिन खोज्दै छन्।”+ ४ यद्यपि परमेश्वरले तिनलाई के जवाफ दिनुभयो? “मैले आफ्नो लागि ७ हजार यस्ता पुरुषहरू जोगाइराखेको छु, जसले बाआलको अगाडि घुँडा टेकेका छैनन्।”+ ५ त्यसैगरि अहिले यस वर्तमान समयमा पनि केही मानिस बाँकी छन्,+ जो परमेश्वरको असीम अनुग्रहले गर्दा चुनिएका हुन्। ६ अब यदि यो असीम अनुग्रहले गर्दा भएको हो भने+ कामहरूले गर्दा भएको हुन सक्दैन।+ नत्र असीम अनुग्रह त असीम अनुग्रह नै हुँदैन।
७ त्यसोभए हामी के भनौँ? जुन कुरा इस्राएलले धुइँधुइँती खोजिरहेको छ, त्यो तिनीहरूले पाएनन् तर चुनिएकाहरूले पाए।+ किनकि बाँकी अरूको चेतना बोधो भएको थियो।+ ८ जस्तो लेखिएको छ: “परमेश्वरले तिनीहरूलाई गहिरो निद्रामा पार्नुभएको छ।+ उहाँले तिनीहरूलाई नदेख्ने आँखा अनि नसुन्ने कान दिनुभएको छ। आजसम्मै तिनीहरू त्यस्तै हालतमा छन्।”+ ९ त्यसैगरि दाउद यसो भन्छन्: “तिनीहरूको भोज* तिनीहरूका लागि फन्दा, पासो, ठेस लाग्ने ढुङ्गा अनि बदला लिने कारण बनोस्। १० तिनीहरूको आँखामा अन्धकार छाइरहोस् र तिनीहरूले नदेखून् अनि तिनीहरूको ढाड सधैँ कुप्रो भइरहोस्।”+
११ त्यसैले म सोध्छु, के तिनीहरूले पूरै पतन हुनेगरि ठेस खाए? त्यस्तो त हुनै सक्दैन! तर तिनीहरूको गलत कदमले गर्दा अन्यजातिका मानिसहरूले उद्धार पाए र यो देखेर तिनीहरू डाही भए।+ १२ अब यदि तिनीहरूको गलत कदमले गर्दा संसारले प्रशस्त आशिष् पायो अनि तिनीहरू घटेकोले अन्यजातिका मानिसहरूले प्रशस्त आशिष् पाए भने+ तिनीहरूको सङ्ख्या पूरा हुँदा झन् कत्ति धेरै आशिष् पाइएला!
१३ अब म तिमी अन्यजातिका मानिसहरूसित बोल्दै छु। म अन्यजातिहरूको प्रेषित हुँ,+ त्यसैले म आफ्नो सेवालाई अनमोल ठान्छु+ १४ ताकि मेरा आफ्ना मानिसहरूलाई डाही बनाएर तिनीहरूमध्ये केहीलाई कसैगरि बचाउन सकूँ। १५ किनकि यदि तिनीहरूलाई पन्छ्याउनुको+ अर्थ संसारको निम्ति मिलाप हो भने तिनीहरूलाई स्विकार्नुको अर्थ तिनीहरू मृत्युबाट फेरि जीवित हुनुबाहेक अरू के हुन सक्छ र? १६ त्यसैगरि यदि उब्जनीको पहिलो फलको रूपमा चढाइएको पीठोको सानो डल्ला पवित्र छ भने पूरै ढिक्का पनि पवित्र छ। अनि यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र छन्।
१७ असल जैतुनको रूखका केही हाँगाहरू भाँचियो अनि तिमीहरू जङ्गली जैतुन भए तापनि तिमीहरूलाई त्यस रूखका बाँकी हाँगाहरूमा कलमी गरेर गाभियो र यसरी तिमीहरू त्यस रूखको भरिलो जराको भागीदार भयौ भने १८ ती भाँचिएका हाँगाहरूसामु घमन्ड नगर। तर यदि तिमीहरू हाँगाहरूसामु घमन्ड गर्छौ भने+ यो कुरा नबिर्स, तिमीहरूले जरालाई होइन तर जराले तिमीहरूलाई थामिरहेको छ। १९ तर तिमीहरूले यसो भनौला: “मेरो कलमी होस् भनेर नै हाँगाहरू भाँचिएका हुन् नि।”+ २० तिमीहरूको कुरा ठीक हो! विश्वास नभएकोले तिनीहरूलाई भाँचियो+ तर तिमीचाहिँ आफ्नो विश्वासले गर्दा टिकिरहेका छौ।+ अहङ्कारी नहोओ बरु होसियार बस २१ किनकि परमेश्वरले बगैँचाको जैतुनको रूखका हाँगाहरूलाई त बाँकी राख्नुभएन भने तिमीहरूलाई पनि बाँकी राख्नुहुनेछैन। २२ त्यसैले परमेश्वरको दया+ अनि कठोरता दुवैलाई विचार गर। जसको पतन भयो, तिनीहरूसित परमेश्वर कठोर भई व्यवहार गर्नुहुन्छ+ तर तिमीहरूलाई भने उहाँले दया देखाउनुहुन्छ। तर त्यसका लागि तिमीहरू उहाँको दया पाउन योग्य भइरहनुपर्छ, नत्र भने तिमीहरू पनि काटिनेछौ। २३ यदि तिनीहरूले फेरि विश्वास गर्न थाले भने तिनीहरूलाई पनि कलमी गरिनेछ+ किनकि परमेश्वरले तिनीहरूलाई फेरि कलमी गर्न सक्नुहुन्छ। २४ यदि तिमीहरूलाई जङ्गली जैतुनको रूखबाट काटेर बगैँचामा उम्रिने जैतुनको रूखमा प्रकृतिको नियमविपरीत कलमी गरेर गाभियो भने तिनीहरू त त्यही जैतुनको रूखका हाँगाहरू हुन्, त्यसैले तिनीहरूलाई कलमी गरेर तिनीहरूकै रूखमा गाभ्न झन् कत्ति सजिलो होला!
२५ हे भाइ हो, आफ्नै नजरमा बुद्धिमान् भएर तिमीहरू यो पवित्र रहस्यबारे अनजान रहो भन्ने म चाहन्नँ:+ अन्यजातिका मानिसहरूको सङ्ख्या पूरा नहोउन्जेल केही इस्राएलीहरूको चेतना बोधो हुँदै गएको हो। २६ अनि यसप्रकार सारा इस्राएलले+ उद्धार पाउनेछ। जस्तो लेखिएको छ: “सियोनबाट उद्धारक आउनेछन्+ र याकुबबाट दुष्कर्महरू हटाउनेछन्। २७ अनि जब म तिनीहरूको पाप हटाउँछु,+ यही मैले तिनीहरूसित गरेको करार हुनेछ।”+ २८ हो, जहाँसम्म सुसमाचारको कुरा छ, तिनीहरू परमेश्वरका शत्रुहरू हुन् र त्यसले गर्दा तिमीहरूलाई फाइदा पनि भयो तर परमेश्वरले गर्नुहुने छनौटको सन्दर्भमा भन्नुपर्दा तिनीहरूका पुर्खाहरूसित गरिएको प्रतिज्ञाले गर्दा तिनीहरू परमेश्वरका प्रियहरू हुन्।+ २९ किनकि वरदान दिनुहुँदा वा कसैलाई चुन्नुहुँदा परमेश्वर पछुताउनुहुन्न। ३० कुनै समय तिमीहरू पनि परमेश्वरप्रति अनाज्ञाकारी थियौ+ तर तिनीहरूको अनाज्ञाकारिताले गर्दा+ उहाँले अहिले तिमीहरूमाथि कृपा देखाउनुभएको छ।+ ३१ तिनीहरू अनाज्ञाकारी भएकोले अहिले तिमीहरूले कृपा पायौ ताकि अब तिनीहरूमाथि पनि कृपा देखाउन सकियोस्। ३२ किनकि तिनीहरू सबैमाथि कृपा देखाउन+ परमेश्वरले तिनीहरू सबैलाई अनाज्ञाकारिताको कैदी हुन दिनुभयो।+
३३ परमेश्वरको सम्पत्ति, बुद्धि अनि ज्ञानको गहिराइ कत्ति अथाह छ! उहाँका फैसलाहरू कत्ति अगम अनि उहाँका मार्गहरू कत्ति अपार छन्! ३४ किनकि “कसले यहोवा* परमेश्वरको विचार बुझ्न सकेको छ अथवा को उहाँको सल्लाहकार भएको छ?”+ ३५ अथवा “कसले उहाँलाई पहिले दिएको हुनाले उहाँले पनि दिनुपर्ने भएको छ?”+ ३६ किनकि सबै कुरा उहाँबाटै आउँछन्, उहाँले गर्दा नै अस्तित्वमा छन् अनि उहाँकै लागि अस्तित्वमा रहन्छन्। उहाँले नै सदासर्वदा गौरव पाऊन्। आमिन।
१२ त्यसैले हे भाइ हो, म तिमीहरूलाई परमेश्वरको करुणाको आधारमा बिन्ती गर्छु, आफ्नो शरीरलाई जीवित, पवित्र+ अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्वरलाई अर्पण गर।+ यसरी तिमीहरूले आफ्नो सोचविचार गर्ने क्षमता चलाएर+ पवित्र सेवा चढाउन सक्नेछौ। २ अनि तिमीहरू यस युगको* चालढालअनुसार चल्न छोड बरु आफ्नो सोचाइ नयाँ बनाओ ताकि तिमीहरूमा पूरै परिवर्तन आओस्।*+ तब तिमीहरूले परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ भनी राम्ररी थाह पाउन सक्नेछौ।+
३ मलाई देखाइएको असीम अनुग्रहको आधारमा म त्यहाँ हुने तिमीहरू सबैलाई भन्छु, आफूलाई जति ठान्नु आवश्यक छ, त्योभन्दा बढ्ता नठान+ बरु परमेश्वरले हरेकलाई जुन नापले विश्वास दिनुभएको छ,* त्यसबमोजिम ठान+ ताकि तिमीहरूले सुझबुझ चलाउन सक। ४ किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग छन्+ तर सबै अङ्गको काम एउटै हुँदैन, ५ त्यसरी नै हामी धेरै भए तापनि ख्रिष्टसित एकतामा बाँधिएको एउटै शरीर र एकअर्कामा गाँसिएका अङ्गहरू हौँ।+ ६ हामीलाई देखाइएको असीम अनुग्रहअनुसार हामीले फरक-फरक वरदान पाएका छौँ।+ त्यसैले यदि त्यो भविष्यवाणी गर्ने वरदान हो भने हामीलाई दिइएको विश्वासअनुसार भविष्यवाणी गरौँ; ७ सेवा गर्ने वरदान हो भने हामी सेवा गरिरहौँ; अनि जसले सिकाउने वरदान पाएको छ, उसले सिकाइरहोस्;+ ८ जसले प्रोत्साहन* दिने वरदान पाएको छ, उसले प्रोत्साहन* देओस्;+ जसले बाँड्ने* वरदान पाएको छ, उसले उदारचित्तले बाँडोस्;+ जसले अगुवाइ लिने वरदान पाएको छ, उसले लगनशील भई* अगुवाइ लेओस्+ अनि जसले कृपा देखाउने वरदान पाएको छ, उसले खुसीसाथ कृपा देखाओस्।+
९ तिमीहरूको प्रेम कपटरहित होस्।+ जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर;+ जे कुरा असल छ, त्यससित टाँसिरहो। १० एकअर्काप्रति भ्रातृप्रेम राख्दै कोमल स्नेह देखाओ। एकअर्काको आदर गर्नमा अगुवाइ लेओ।*+ ११ मेहनती* होओ, अल्छी नगर।*+ पवित्र शक्तिले भरिएर जोसिलो होओ।+ यहोवा* परमेश्वरको दास बनेर उहाँको सेवा गर।+ १२ आशामा रमाओ। सङ्कष्ट आइपर्दा सहो।+ प्रार्थनामा लागिरहो।+ १३ पवित्र जनहरू खाँचोमा पर्दा तिनीहरूसित बाँडचुँड गर।+ अतिथि-सत्कार गर्ने बानी बसाल।+ १४ तिमीहरूको खेदो गर्नेहरूलाई आशिष् दिइरहो।+ आशिष् देओ, सराप नदेओ।+ १५ रमाउनेहरूसित रमाओ; रुनेहरूसित रोओ। १६ आफ्नो विषयमा जस्तो सोच्छौ, अरूको विषयमा पनि त्यस्तै सोच। ठूलठूला कुराहरूमा मन नलगाओ बरु साना कुराहरूमा मन लगाओ।+ तिमीहरू आफ्नै नजरमा बुद्धिमान् नहोओ।+
१७ कसैलाई पनि खराबीको बदला खराबी नगर।+ सबै मानिसले जुन कुरालाई असल ठान्छन्, त्यही गर। १८ सम्भव भएसम्म सबै मानिससँग शान्तिपूर्वक बस्न तिमीहरू सक्दो कोसिस गर।+ १९ प्रियहरू हो, बदला नलेओ बरु परमेश्वरको क्रोधलाई ठाउँ देओ+ किनकि यस्तो लेखिएको छ: “‘बदला लिने काम मेरो हो; म साटो फेर्नेछु,’ यहोवा* परमेश्वर भन्नुहुन्छ।”+ २० तर “तिम्रो शत्रु भोकाएको छ भने उसलाई खुवाऊ; ऊ तिर्खाएको छ भने उसलाई केही पिउन देऊ; किनकि यसो गरेर तिमीले बलिरहेको कोइला उसको टाउकोमा थुपार्नेछौ।”*+ २१ खराबीसित नहार बरु खराबीलाई भलाइले जितिरहो।+
१३ हरेक मानिस उच्च अख्तियारवालाहरूको अधीनमा रहोस्+ किनकि परमेश्वरको अनुमतिविना कुनै अख्तियार चल्दैन।+ अनि जो-जो अख्तियारमा छन्, तिनीहरूलाई परमेश्वरले आफ्नो अधीनमा विभिन्न ओहदामा राख्नुभएको हो।+ २ त्यसैले जसले अख्तियारको विरोध गर्छ, ऊ परमेश्वरको प्रबन्धविरुद्ध खडा भएको हुन्छ अनि यस प्रबन्धविरुद्ध खडा हुनेहरूले न्यायदण्ड भोग्नेछन्। ३ राम्रो काम गर्नेहरू होइन तर नराम्रो काम गर्नेहरू शासकहरूसित डराउँछन्।+ के तिमी अख्तियारवालाहरूसित डराउनु नपर्ने मानिस हुन चाहन्छौ? राम्रो काम गरिरह+ र तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ। ४ किनकि तिनीहरू तिम्रै भलाइको लागि खटिएका परमेश्वरका सेवकहरू हुन्। तर तिमीले नराम्रो काम गरिरहेका छौ भने डराऊ किनकि तिनीहरूले विनाकारण तरबार भिर्दैनन्। तिनीहरू परमेश्वरका सेवक हुन्, नराम्रो काम गरिरहनेहरूमाथि उहाँको क्रोध पोखाउने* प्रतिशोधीहरू हुन्।
५ त्यसैले त्यस क्रोधको कारण मात्र होइन तर आफ्नो अन्तस्करणको खातिर पनि तिमीहरू अधीनमा बस्नु आवश्यक छ।+ ६ यसकारण तिमीहरू कर पनि तिर्छौ किनकि तिनीहरू परमेश्वरले खटाउनुभएका जनसेवकहरू हुन् र आफ्नो यो भूमिका पूरा गर्न तिनीहरू निरन्तर लागिरहन्छन्। ७ तिनीहरूलाई तिर्नुपर्ने सबै कुरा तिर: कर तिर्नुपर्नेलाई कर,+ तिरो तिर्नुपर्नेलाई तिरो, डराउनुपर्नेसित डराओ+ र आदर गर्नुपर्नेलाई आदर गर।+
८ आपसमा प्रेम गर्नुबाहेक तिमीहरू अरू कुनै कुरामा कसैको ऋणी नहोओ+ किनकि जसले अरूलाई प्रेम गर्छ, उसले व्यवस्था पूरा गरेको हुन्छ।+ ९ किनकि “तिमीहरूले व्यभिचार* नगर्नू,+ तिमीहरूले हत्या नगर्नू,+ तिमीहरूले चोरी नगर्नू,+ तिमीहरूले लोभ नगर्नू”+ भन्ने नियमलगायत अरू सम्पूर्ण आज्ञाको सार यस आज्ञामा पाइन्छ: “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”+ १० प्रेमले छिमेकीको कुभलो हुने काम गर्दैन,+ त्यसैले प्रेमले व्यवस्था पूरा गर्छ।+
११ तिमीहरू त्यसो गर किनकि अहिले कस्तो बेला हो भनेर तिमीहरूलाई थाह छ। हो, तिमीहरू निद्राबाट ब्युँझने समय आइसकेको छ+ किनकि हामीले विश्वास गर्न थालेको बेलामा भन्दा अहिले हाम्रो उद्धार झन् नजिक छ। १२ रात निकै बितिसक्यो र दिन नजिकै आइपुगेको छ। त्यसैले हामी अन्धकारका कामहरू त्यागेर+ ज्योतिका हातहतियार धारण गरौँ।+ १३ दिउँसोजस्तै हामी भद्र भएर हिँडौँ।+ भोजको अनियन्त्रित मोजमस्ती, अत्यधिक मद्यपान, नाजायज सम्बन्ध, निर्लज्ज आचरण,*+ कलह र डाह त्यागौँ।+ १४ तर प्रभु येसु ख्रिष्टलाई धारण गर+ अनि शरीरका अभिलाषाहरू पूरा गर्न पहिल्यै योजना बनाउने नगर।+
१४ विश्वास कमजोर भएको मानिसलाई स्विकार+ तर उसको विचार तिम्रो भन्दा फरक छ भन्दैमा* उसलाई गलत नठहऱ्याऊ। २ कुनै मानिसले सबै कुरा खानु हुन्छ भनी विश्वास गर्छ तर विश्वास कमजोर हुनेले भने सागसब्जी खान्छ। ३ खानेले नखानेलाई तुच्छ नठानोस् न त नखानेले खानेलाई दोष लगाओस्+ किनकि परमेश्वरले उसलाई स्विकार्नुभएको छ। ४ अर्काको नोकरको न्याय गर्ने तिमी को हौ?+ ऊ खडा हुने हो वा लड्ने, त्यो उसकै मालिकको हातमा छ।+ ऊ पक्कै खडा हुनेछ किनकि यहोवा* परमेश्वरले उसलाई खडा गराउन सक्नुहुन्छ।
५ एक जना मानिसले कुनै दिनलाई अर्को दिनभन्दा महत्त्वपूर्ण ठान्छ+ तर अर्को मानिसले भने सबै दिनलाई बराबर ठान्छ।+ हरेक मानिस आफैले सोचविचार गरेर पूर्णतया विश्वस्त होस्। ६ जसले कुनै एक दिनलाई महत्त्वपूर्ण ठान्छ, उसले यहोवा* परमेश्वरको निम्ति नै त्यसो गर्छ। त्यसैगरि जसले खान्छ, उसले यहोवा* परमेश्वरको निम्ति खान्छ किनकि उसले परमेश्वरलाई धन्यवाद चढाउँछ।+ अनि जसले खाँदैन, उसले यहोवा* परमेश्वरको निम्ति खाँदैन तैपनि परमेश्वरलाई धन्यवाद चढाउँछ।+ ७ वास्तवमा हामीमध्ये कोही पनि आफ्नै लागि मात्र बाँच्दैनौँ + न त कोही आफ्नै लागि मात्र मर्छ। ८ यदि हामी बाँच्छौँ भने यहोवा* परमेश्वरको निम्ति बाँच्छौँ + अनि मर्छौँ भने यहोवा* परमेश्वरकै निम्ति मर्छौँ। त्यसकारण चाहे हामी बाँचौँ या मरौँ, हामी यहोवा* परमेश्वरकै हौँ।+ ९ ख्रिष्ट यही कारणले मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि मरेका अनि जिउँदा दुवैको उहाँ प्रभु हुन सकून्।+
१० तर तिमी किन आफ्नो भाइलाई दोष लगाउँछौ?+ अनि तिमीचाहिँ किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? हामी सबै जना परमेश्वरको न्यायासनसामु खडा हुनेछौँ।+ ११ जस्तो लेखिएको छ: “यहोवा* परमेश्वर भन्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु,+ हरेक मानिसले मसामु घुँडा टेक्नेछ र म नै परमेश्वर हुँ भनी हरेकले खुलेआम स्विकार्नेछ।’”+ १२ तसर्थ हामी सबैले परमेश्वरलाई आ-आफ्नो लेखा दिनुपर्नेछ।+
१३ त्यसकारण अब उप्रान्त हामी एकअर्कालाई दोष नलगाऔँ।+ बरु तिमीहरू आफ्नो भाइसामु ठेस खाने ढुङ्गा वा ठक्कर दिने कुरा नराख्ने अठोट गर।+ १४ कुनै कुरा आफैमा अशुद्ध हुँदैन भनेर प्रभु येसुको चेला भएको नाताले मलाई थाह छ अनि म त्यसमा विश्वस्त छु।+ मानिसले कुनै कुरालाई अशुद्ध ठान्छ भने मात्र त्यो उसको निम्ति अशुद्ध हुन्छ। १५ यदि तिमीले खाएको कुराले गर्दा तिम्रो भाइलाई ठेस पुगेको छ भने तिमी प्रेममा चलिरहेका हुँदैनौ।+ जुन भाइको निम्ति ख्रिष्ट मर्नुभयो, आफ्नो खानेकुराद्वारा तिमीले उसलाई नाश नगर।+ १६ त्यसैले तिमीहरूले गर्ने राम्रा कुराहरूको अरूले बदनाम गर्न नपाऊन्। १७ किनकि परमेश्वरको राज्यको सरोकार खानु र पिउनुसित होइन+ तर पवित्र शक्तिमार्फत पाइने धार्मिकता,* शान्ति अनि खुसीसित छ। १८ जसले यसरी ख्रिष्टको दास बनेर उहाँको सेवा गर्छ, उसलाई परमेश्वरले स्विकार्नुहुन्छ र उसले मानिसहरूबाट प्रशंसा पाउँछ।
१९ त्यसैले अब हामी आपसमा शान्ति कायम हुने+ अनि एकअर्काको उत्थान हुने+ कुराहरूको पछि लागौँ। २० खानेकुराको खातिर हामी परमेश्वरको कामलाई नबिगारौँ।+ हो, सबै कुरा शुद्ध छन् तर यदि कुनै खानेकुराले गर्दा अरूलाई ठक्कर पुग्छ भने त्यो खानु गलत हो।+ २१ तिमीले मासु खाँदा, मद्य पिउँदा वा अरू केही गर्दा तिम्रो भाइलाई ठक्कर पुग्छ भने त्यसो नगर्नु नै बेस हो।+ २२ यस्ता कुराहरूको सन्दर्भमा तिमी जे विश्वास गर्छौ, त्यो तिमी र परमेश्वरबीचको मामिला होस्। आनन्दित हो त्यो मानिस, जसले कुनै निर्णय गर्छ र पछि आफूलाई दोषी ठहराउँदैन। २३ तर यदि शङ्का हुँदाहुँदै पनि उसले खान्छ भने ऊ दोषी ठहरिसकेको हुन्छ किनकि आफूले जे विश्वास गरेको छ, त्यसबमोजिम उसले खाएन। साँच्चै, विनाविश्वास गरिने हरेक कुरा पाप हो।
१५ तर हामी बलियाहरूले तिनीहरूका कमजोरीहरू सहनुपर्छ, जो बलिया छैनन्+ अनि हामीले आफूलाई मात्र खुसी पार्न खोज्नु हुँदैन।+ २ हामी प्रत्येकले आफ्नो छिमेकीको उत्थान हुने राम्रो काम गरेर उसलाई खुसी पारौँ।+ ३ किनकि ख्रिष्टले पनि आफैलाई खुसी पार्न खोज्नुभएन,+ जस्तो लेखिएको छ: “जसले तपाईँको आलोचना गर्थे, तिनीहरूको आलोचना ममाथि आइपरेको छ।”+ ४ पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्+ ताकि हाम्रो सहनशीलता+ र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीले आशा पाऔँ।+ ५ अब सहनशीलता र सान्त्वना दिनुहुने परमेश्वरले तिमीहरू सबैलाई ख्रिष्ट येसुको जस्तै मनोभाव देऊन् ६ ताकि एकताबद्ध भएर+ तिमीहरूले एउटै स्वरमा हाम्रा प्रभु येसु ख्रिष्टका परमेश्वर र बुबाको प्रशंसा गर।
७ त्यसैले जसरी ख्रिष्टले हामीलाई स्वीकार गर्नुभयो,*+ त्यसरी नै एकअर्कालाई स्वीकार गर+ र यसरी परमेश्वरको महिमा होस्। ८ किनकि म भन्छु, ख्रिष्ट खतना भएकाहरूको सेवक बन्नुभयो+ ताकि परमेश्वर सत्य हुनुहुन्छ र उहाँले तिनीहरूका पुर्खाहरूसित गर्नुभएका प्रतिज्ञाहरू भरोसायोग्य छन् भनेर प्रमाणित गर्न सकियोस्+ ९ र परमेश्वरले देखाउनुभएको कृपाको लागि अन्यजातिहरूले उहाँको महिमा गरून्।+ जस्तो लेखिएको छ: “त्यसैले जातिजातिका मानिसहरूमाझ म तपाईँलाई खुलेआम स्विकार्नेछु र तपाईँको नामको स्तुतिगान गाउनेछु।”+ १० फेरि यस्तो भनिएको छ: “हे जातिजातिका मानिसहरू हो, उहाँका जनहरूसँगै रमाओ।”+ ११ अनि फेरि यस्तो भनिएको छ: “हे जातिजातिका मानिसहरू हो, यहोवाको* प्रशंसा गर र सबै मानिसले उहाँको प्रशंसा गरून्।”+ १२ फेरि यसैया भन्छन्: “यिसैको जरा देखा पर्नेछ,+ जो जातिजातिमाथि शासन गर्न खडा हुनेछ।+ ऊमाथि नै जातिजातिका मानिसहरूले आफ्नो आशा राख्नेछन्।”+ १३ आशा दिनुहुने परमेश्वरले तिमीहरूलाई सारा खुसी र शान्तिले भरिदिऊन् किनकि तिमीहरूले उहाँमा भरोसा गऱ्यौ र यसरी पवित्र शक्तिको तागतद्वारा तिमीहरूको आशा बढ्दै जाओस्।+
१४ अब हे भाइ हो, म तिमीहरूबारे विश्वस्त छु, तिमीहरू पनि भलाइ र सारा ज्ञानले भरिपूर्ण छौ र तिमीहरू एकअर्कालाई सल्लाह* दिन सक्छौ। १५ तथापि तिमीहरूलाई फेरि सम्झाउन केही बुँदामा म अझ खुलेर लेख्दै छु किनकि परमेश्वरले मलाई असीम अनुग्रह देखाउनुभएको छ। १६ अन्यजातिका मानिसहरूको लागि ख्रिष्ट येसुको जनसेवक हुन सकूँ+ भनेर मलाई यो असीम अनुग्रह देखाइयो। म परमेश्वरको सुसमाचार घोषणा गर्ने पवित्र काममा लागेको छु+ ताकि पवित्र शक्तिद्वारा पवित्र पारिएको ग्रहणयोग्य भेटीको रूपमा अन्यजातिका मानिसहरूलाई परमेश्वरसामु चढाउन सकियोस्।
१७ त्यसैले ख्रिष्ट येसुको चेला भएकोले र परमेश्वरको सेवा गरिरहेकोले मसित गर्व गर्ने कारण छ। १८ अन्यजातिका मानिसहरूलाई आज्ञाकारी बनाउन ख्रिष्टले मद्वारा जे-जति गर्नुभयो, त्यसबाहेक अरू कुनै कुरा म बोल्दिनँ। उहाँले मेरो वचन र कामद्वारा १९ अनि चमत्कार र आश्चर्यजनक कार्यहरूका+ तागतका साथै परमेश्वरको शक्तिको तागतद्वारा यो काम सम्पन्न गर्नुभयो। मैले यरुसलेमदेखि इल्लिरिकुमसम्म चारैतिर ख्रिष्टको सुसमाचार राम्ररी प्रचार गरेको छु।+ २० वास्तवमा ख्रिष्टको नाम पहिल्यै प्रचार भइसकेका ठाउँहरूमा सुसमाचार घोषणा नगर्ने लक्ष्य मैले राखेँ ताकि अर्को मानिसले बसालेको जगमाथि मैले निर्माण नगरूँ। २१ तर जस्तो लेखिएको छ: “जसलाई उहाँबारे बताइएको छैन, तिनीहरूले उहाँलाई देख्नेछन् र जसले उहाँबारे सुनेका छैनन्, तिनीहरूले बुझ्नेछन्।”+
२२ यही कारणले गर्दा पनि म तिमीहरूकहाँ आउनदेखि धेरै पटक रोकिएँ। २३ तर अब यी इलाकाहरूमा प्रचार गर्न बाँकी कुनै ठाउँ मसित छैन र धेरै* वर्षदेखि मैले तिमीहरूकहाँ आउने तीव्र इच्छा गरेको छु। २४ त्यसकारण स्पेनको यात्रामा जाँदा बीचमा तिमीहरूलाई भेट्ने आशा राखेको छु अनि तिमीहरूसित केही समय सङ्गत गरेपछि तिमीहरू पनि मसँगै अलि परसम्म आइदिएको म चाहन्छु। २५ तर अहिले भने म पवित्र जनहरूको सेवा गर्न यरुसलेमतिर जाने तरखर गर्दै छु।+ २६ किनकि यरुसलेमका पवित्र जनहरूमध्ये जो-जो गरिब छन्, उनीहरूका लागि भनेर म्यासिडोनिया र अखैयाकाहरूले खुसीसाथ अनुदान दिएका छन्।+ २७ हो, तिनीहरूले खुसीसाथ त्यसो गरे। हुन पनि तिनीहरू उनीहरूप्रति ऋणी थिए किनकि अन्यजातिका मानिसहरूले जे-जे आध्यात्मिक कुराहरू पाए,* ती सब पवित्र जनहरूको भागबाटै पाएका हुन्। त्यसैले भौतिक कुराहरू दिएर उनीहरूको सेवा गर्नु तिनीहरूको कर्तव्य हो।+ २८ त्यसैले यो काम सकेर यो अनुदान उनीहरूलाई सुम्पिसकेपछि म तिमीहरूलाई भेटेर स्पेन जानेछु। २९ साथै मलाई थाह छ, म तिमीहरूकहाँ आउँदा ख्रिष्टको तर्फबाट प्रशस्त आशिष् लिएर आउनेछु।
३० अब हे भाइ हो, हाम्रा प्रभु येसु ख्रिष्टद्वारा अनि पवित्र शक्तिले तिमीहरूमा जगाएको प्रेमद्वारा म तिमीहरूलाई आग्रह गर्छु कि तिमीहरू पनि मेरो निम्ति मसँगसँगै तनमनले परमेश्वरलाई प्रार्थना गर+ ३१ ताकि येसुमा विश्वास नगर्ने यहुदियावासीहरूको हातबाट म बच्न सकूँ+ र यरुसलेमका पवित्र जनहरूका लागि मैले गर्ने सेवा ती जनहरूलाई स्वीकार्य होस्।+ ३२ अनि परमेश्वरको इच्छाबमोजिम म खुसीसाथ तिमीहरूकहाँ आउन सकूँ र तिमीहरूसँगै स्फूर्ति पाउन सकूँ। ३३ शान्ति दिनुहुने परमेश्वर+ तिमीहरू सबैसित रहून्। आमिन।
१६ म तिमीहरूलाई हाम्री बहिनी फिबीबारे बताउन चाहन्छु, जो सिनक्रियामा+ भएको मण्डलीकी सेविका हुन्। २ म आग्रह गर्छु कि पवित्र जनहरूलाई जसरी स्वागत गर्नुपर्ने हो, तिमीहरूले उनलाई पनि प्रभुमा त्यसरी नै स्वागत गर अनि उनलाई जे-जस्तो मदतको खाँचो पर्छ, मदत गर+ किनकि उनी आफै पनि धेरैको लागि अनि मेरो लागि पनि मदतगार साबित भएकी छिन्।
३ ख्रिष्ट येसुमा मेरा सहकर्मीहरू प्रिस्का र अक्विलालाई+ मेरो अभिवादन छ भनिदेओ, ४ जसले मलाई बचाउन आफ्नो गर्दन खतरामा पारे+ अनि जसलाई मैले मात्र होइन तर अन्यजातिका सबै मण्डलीले पनि धन्यवाद दिन्छन्। ५ अनि उनीहरूको घरमा भेला हुने मण्डलीलाई पनि अभिवादन छ।+ मेरो प्रिय इपेनितसलाई अभिवादन छ, जो एसियामा ख्रिष्टका पहिलो फलमध्येका हुन्। ६ मरियमलाई अभिवादन छ, जसले तिमीहरूका निम्ति धेरै मेहनत गरेकी छिन्। ७ एन्ड्रोनिकस र युनियसलाई अभिवादन छ, जो मेरा नातेदार हुन्+ र मसँगै कैदमा परेका पनि थिए। तिनीहरूलाई प्रेषितहरूले राम्ररी चिनेका छन् र तिनीहरू मभन्दा पहिला ख्रिष्टको चेला बनेका हुन्।
८ प्रभुमा मेरो प्रिय एमप्लिआतसलाई मेरो अभिवादन छ भनिदेओ। ९ ख्रिष्टमा हाम्रा सहकर्मी उर्बानस र मेरो प्रिय स्ताकिसलाई अभिवादन छ। १० ख्रिष्टमा असल नाम कमाएका अपेल्लेसलाई अभिवादन छ। अरिस्तोबलसको घरमा भएकाहरूलाई अभिवादन छ। ११ मेरो नातेदार हेरोदियनलाई अभिवादन छ। नर्सिससको घरानाका मानिसहरू, जो प्रभुमा छन्, उनीहरूलाई अभिवादन छ। १२ बहिनीहरू त्रिफेना र त्रिफोसालाई अभिवादन छ, जसले प्रभुमा कडा परिश्रम गरिरहेका छन्। हाम्री प्रिय परसिसलाई अभिवादन छ किनकि उनले प्रभुमा धेरै मेहनत गरेकी छिन्। १३ प्रभुमा चुनिएका रुफसलाई र तिनकी आमालाई मेरो अभिवादन छ, जो मेरी पनि आमा हुन्। १४ असिङ्क्रितस, फ्लेगन, हर्मेस, पत्रोबास र हर्मसलाई अभिवादन छ अनि ती भाइहरूलाई पनि, जो तिनीहरूसित छन्। १५ फिलोलोगस र जुलिया, नेरियस र तिनकी बहिनी* अनि ओलिम्पासलाई अभिवादन छ अनि ती सबै पवित्र जनलाई पनि, जो तिनीहरूसित छन्। १६ पवित्र चुम्बनले एकअर्कालाई अभिवादन गर। ख्रिष्टका सबै मण्डलीले तिमीहरूलाई अभिवादन पठाएका छन्।
१७ अब हे भाइ हो, म तिमीहरूलाई आग्रह गर्छु, तिमीहरूले त्यस्ता मानिसहरूमाथि नजर राख, जसले फूट गराउँछन् र तिमीहरूले सिकेको शिक्षाभन्दा विपरीत कुरा गरेर ठेस पुऱ्याउँछन्। यिनीहरूबाट टाढै बस+ १८ किनकि यस्ता मानिसहरू हाम्रा प्रभु ख्रिष्टका होइनन् तर आफ्नै लालसाका* दासहरू हुन् अनि तिनीहरूले चिप्ला कुरा गरेर अनि फुरुक्क पार्ने बोलीद्वारा सिधासादाहरूको हृदयलाई बहकाउँछन्। १९ तिमीहरूको आज्ञाकारिताबारे सबैले थाह पाएका छन्। त्यसैले तिमीहरूको कारण म खुसी छु। तर तिमीहरू असल कुराहरूको मामिलामा बुद्धिमान् र खराब कुराहरूको मामिलामा अनजान होओ भन्ने म चाहन्छु।+ २० तिमीहरूलाई शान्ति दिनुहुने परमेश्वरले चाँडै तिमीहरूलाई अख्तियार दिनुहुनेछ अनि तिमीहरूले आफ्ना खुट्टाले सैतानलाई कुच्याउनेछौ।+ हाम्रा प्रभु येसुको असीम अनुग्रह तिमीहरूसित रहोस्।
२१ मेरो सहकर्मी तिमोथि अनि मेरा नातेदारहरू+ लुसियस, जेसन र सोसिपेटरले तिमीहरूलाई अभिवादन पठाएका छन्।
२२ यो पत्र लेख्ने म तर्तियसको तर्फबाट पनि तिमीहरूलाई प्रभुमा अभिवादन छ।
२३ गायस,+ जसले मलाई आफ्नो घरमा स्वागत गरे र जसको घरमा मण्डली भेला हुने गर्छ, तिनले तिमीहरूलाई अभिवादन पठाएका छन्। सहरका खजान्ची* इरास्तसले तिमीहरूलाई अभिवादन पठाएका छन् र तिनका भाइ क्वार्टसले पनि। २४ *—
२५ म जुन सुसमाचार घोषणा गर्छु र येसु ख्रिष्टबारे जे प्रचार गर्छु, त्यसद्वारा परमेश्वरले तिमीहरूलाई स्थिर बनाउन सक्नुहुन्छ। यो सुसमाचार पवित्र रहस्यबारे+ प्रकाशमा आएको कुरासित सम्बन्धित छ अनि यो रहस्य युगौँदेखि गुप्तमा राखिएको थियो २६ तर अहिले भने प्रकट गरिएको छ। अनि सदैव रहिरहनुहुने परमेश्वरको आज्ञाअनुसार धर्मशास्त्रमा भएका भविष्यवाणीहरूद्वारा सबै जातिलाई थाह दिइएको छ ताकि विश्वास देखाएर तिनीहरू आज्ञाकारी बनून्। २७ येसु ख्रिष्टमार्फत एक मात्र बुद्धिमान् परमेश्वरको+ सदासर्वदा महिमा भइरहोस्। आमिन।
शब्दावली हेर्नुहोस्।
वा “परमेश्वरको तर्फबाट केही वरदान।”
वा “गैर-ग्रीकहरू।”
वा “परमेश्वरको सही ज्ञान लिन।”
वा “मौखिक शिक्षा पाएकोले।”
यसले ज्ञान र समझमा परिपक्व नभइसकेकाहरूलाई जनाएको हुन सक्छ।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “अन्तर्दृष्टि भएको।”
शा., “तिनीहरूका खुट्टा।”
वा “तिनीहरूले परमेश्वरसित मिलाप गर्न सकून्।”
अतिरिक्त लेख क५ हेर्नुहोस्।
वा “उसलाई तिर्नुपर्ने ऋणको रूपमा।”
वा “क्षमा गरिएका।”
अतिरिक्त लेख क५ हेर्नुहोस्।
शा., “छापस्वरूप।”
वा “बाँझो।”
वा सम्भवतः “परमेश्वरसित हाम्रो शान्तिमय सम्बन्ध छ।”
वा सम्भवतः “आशामा हामी रमाउँछौँ।”
वा सम्भवतः “हामी रमाउँछौँ।”
वा “उसले पापको क्षमा पाउँछ।”
अर्थात्, पाप हटाउन।
शा., “अङ्गहरूलाई।”
शा., “अङ्गहरूलाई।”
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शा., “अङ्गहरूमा।”
शा., “अङ्गहरूमा।”
शा., “अङ्गहरूमा।”
शा., “पापी शरीरको समानतामा।”
यो हिब्रू वा अरामी शब्द हुन सक्छ, जसको अर्थ हो, “हे बुबा!”
वा “मुखबाट ननिस्किएका।”
शा., “न कसैले इच्छा गर्दैमा न कसैले दौडधूप गर्दैमा।”
मिश्रका राजाहरूको एउटा उपाधि।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
वा “उदार भई।”
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
वा “हाम्रो खबर।”
अतिरिक्त लेख क५ हेर्नुहोस्।
शा., “टेबुल।”
अतिरिक्त लेख क५ हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “तिमीहरूको कायापलट होस्।”
वा “बाँड्नुभएको छ।”
वा “अर्ती।”
वा “अर्ती।”
वा “अनुदान दिने।”
वा “जोसका साथ।”
वा “अग्रसर होओ।”
वा “लगनशील; जोसिलो।”
वा “आफ्नो काममा आलटाल नगर।”
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अर्थात्, उसको कठोर मन पगाल्नु र उसको रिस शान्त पार्नु।
वा “नराम्रो काम गरिरहनेहरूलाई सजाय दिने।”
शब्दावली हेर्नुहोस्।
वा “छाडा आचरण।” ग्रीक भाषामा असेल्गिया। शब्दावलीमा “निर्लज्ज आचरण” हेर्नुहोस्।
वा सम्भवतः “उसको मनमा उठेका प्रश्नहरूको आधारमा।”
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “स्वागत गर्नुभयो।”
अतिरिक्त लेख क५ हेर्नुहोस्।
वा “निर्देशन।”
वा सम्भवतः “केही।”
वा “परमेश्वरबाट जे-जे पाए।”
वा “दिदी।”
वा “पेटका।”
वा “भण्डारे।”
अतिरिक्त लेख क३ हेर्नुहोस्।