कोरिन्थीहरूलाई दोस्रो पत्र
१ परमेश्वरको इच्छाद्वारा ख्रिष्ट येसुको प्रेषित* बनेको म पावलबाट र हाम्रो भाइ तिमोथिबाट+ कोरिन्थमा भएको परमेश्वरको मण्डलीका साथै सारा अखैयामा+ भएका सबै पवित्र जनलाई पत्र:
२ परमेश्वर, हाम्रा बुबाबाट र प्रभु येसु ख्रिष्टबाट तिमीहरूलाई असीम अनुग्रह र शान्ति मिलोस्।
३ हाम्रा प्रभु येसु ख्रिष्टका परमेश्वर र बुबाको+ प्रशंसा होस्। उहाँ कोमल कृपाका बुबा+ र सबै सान्त्वनाका परमेश्वर+ हुनुहुन्छ। ४ उहाँले हाम्रा सबै परीक्षामा* सान्त्वना* दिनुहुन्छ+ ताकि जुन सान्त्वना हामीले परमेश्वरबाट पाएका छौँ,+ त्यही सान्त्वनाद्वारा हामीले हरप्रकारका परीक्षामा* परेकाहरूलाई सान्त्वना दिन सकौँ।+ ५ जसरी हामीले ख्रिष्टका लागि प्रशस्त दुःख भोगिरहेका छौँ,+ त्यसरी नै ख्रिष्टमार्फत प्रशस्त सान्त्वना पनि पाइरहेका छौँ। ६ चाहे हामी परीक्षा* भोगौँ, त्यो तिमीहरूकै सान्त्वना र उद्धारको लागि हो; वा चाहे हामीले सान्त्वना पाऔँ, त्यो तिमीहरूकै सान्त्वनाको लागि हो। यस सान्त्वनाले तिमीहरूलाई हामीले भोगिरहेको जस्तै कष्ट सहन मदत गर्छ। ७ अनि तिमीहरूको विषयमा हाम्रो आशा दृढ छ किनकि हामीलाई थाह छ, जसरी तिमीहरूले हामीसँगसँगै कष्ट भोगिरहेका छौ, त्यसरी नै तिमीहरूले हामीसँगै सान्त्वना पनि पाउनेछौ।+
८ भाइहरू हो, एसिया प्रान्तमा हामीले भोगेको सङ्कष्टबारे तिमीहरू अनजान रहो भन्ने हामी चाहँदैनौँ।+ त्यहाँ छँदा हामीले सहनै नसक्ने भयङ्कर बोझ हामीमाथि आइपरेको थियो; यहाँसम्म कि हाम्रो ज्यानको समेत ठेगान थिएन।+ ९ वास्तवमा हामीले मृत्युदण्ड पाएझैँ महसुस गरेका थियौँ। हामीले आफैमाथि होइन तर मरेकाहरूलाई ब्युँताउनुहुने परमेश्वरमाथि+ भरोसा राखौँ भनेर यस्तो भएको थियो। १० उहाँले हामीलाई मृत्युको भयानक खतराबाट छुटाउनुभयो र छुटाउनुहुनेछ। उहाँले हामीलाई पछि पनि छुटाइरहनुहुनेछ+ भनेर उहाँमा आशा राखेका छौँ। ११ हाम्रो लागि उत्कट बिन्ती चढाएर तिमीहरूले पनि हामीलाई मदत गर्न सक्छौ।+ तब धेरै जनाको प्रार्थनाले गर्दा जुन दया हामीमाथि देखाइन्छ, त्यसका लागि धेरै जनाले हाम्रो तर्फबाट धन्यवाद दिन सक्नेछन्।+
१२ हामी यस कुरामा घमन्ड गर्छौँ कि हाम्रो अन्तस्करणले हामीले संसारसित र विशेषगरि तिमीहरूसित पवित्रता र परमेश्वरबाट पाइने निष्कपटतासहित व्यवहार गरेका छौँ भनेर साक्षी दिन्छ। साथै हामी यस संसारको बुद्धिमा होइन+ तर परमेश्वरको असीम अनुग्रहमा भरोसा गर्छौँ। १३ वास्तवमा तिमीहरूले पढेर बुझ्न सक्ने* कुराबाहेक अरू विषयमा हामीले तिमीहरूलाई लेखेका छैनौँ अनि मलाई आशा छ, तिमीहरूले यी कुराहरू पूर्ण रूपमा* बुझ्नेछौ। १४ अनि जसरी तिमीहरूले केही हदसम्म यो बुझेका छौ कि हामी तिमीहरूका लागि घमन्ड गर्ने कारण भएका छौँ, हाम्रा प्रभु येसुको दिनमा तिमीहरू पनि हाम्रा लागि घमन्ड गर्ने कारण हुनेछौ।
१५ यसै कुरामा ढुक्क भएर मैले पहिला तिमीहरूकहाँ आउने विचार गरेको थिएँ ताकि तिमीहरूले रमाउने दोस्रो मौका पनि पाउन सक।* १६ किनकि मैले यस्तो विचार गरेको थिएँ कि म्यासिडोनिया जाँदा यात्राको बीचमा तिमीहरूलाई भेटूँ अनि फेरि म्यासिडोनियाबाट तिमीहरूकहाँ नै फर्कूँ र त्यसपछि यहुदिया जान तिमीहरूले मलाई बिदा गरिदेओ।+ १७ जब मैले यस्तो विचार गरेको थिएँ, तब के मैले त्यसलाई हल्कासित लिएको थिएँ र? वा जब म कुनै योजना बनाउँछु, तब के म आफूखुसी गर्न सुरुमा “हुन्छ, भइहाल्छ” भन्ने अनि पछिचाहिँ “अहँ, हुँदैन” भन्ने गर्छु र? १८ तर जसरी परमेश्वरमाथि भरोसा गर्न सकिन्छ, त्यसरी नै यो कुरामा पनि भरोसा गर्न सकिन्छ कि हामीले तिमीहरूलाई सुरुमा “हुन्छ” भनेको कुरा पछि गएर “हुँदैन” हुनेछैन। १९ किनकि परमेश्वरका छोरा येसु ख्रिष्ट, जसको विषयमा तिमीहरूलाई हामीले अर्थात् मैले, सिल्भानसले* र तिमोथिले+ प्रचार गऱ्यौँ, उहाँको सन्दर्भमा “हुन्छ”-को मतलब “हुँदैन” भएको छैन तर “हुन्छ”-को मतलब “हुन्छ” नै भएको छ। २० परमेश्वरका प्रतिज्ञाहरू जतिसुकै भए तापनि ती ख्रिष्टद्वारा “हुन्छ” भएका छन्।+ त्यसैले त हामी ख्रिष्टद्वारै परमेश्वरलाई “आमिन” भन्छौँ+ र यसरी परमेश्वरको महिमा गर्छौँ। २१ तर तिमीहरू र हामी ख्रिष्टका हौँ भनेर ग्यारेन्टी दिने र हामीलाई अभिषेक गर्ने परमेश्वर नै हुनुहुन्छ।+ २२ उहाँले हामीलाई आफ्नो छाप पनि लगाउनुभएको छ+ र आउँदै गरेको कुराको बैनास्वरूप* हाम्रो मनमा पवित्र शक्ति दिनुभएको छ।+
२३ अब म परमेश्वरलाई साक्षी राखेर आफ्नो जीवनको शपथ खाएर भन्छु, तिमीहरूलाई अझ दुःखी बनाउन नपरोस् भनेर म अहिलेसम्म कोरिन्थ नआएको हुँ। २४ हामी तिमीहरूका विश्वासको मालिक होइनौँ+ बरु तिमीहरूको आनन्दको निम्ति सहकर्मीहरू हौँ किनकि तिमीहरू आफ्नै विश्वासले गर्दा खडा हुन सकिरहेका छौ।
२ म फेरि तिमीहरूकहाँ आउँदा तिमीहरूलाई दुःखी नबनाऊँ भनेर मैले सोचेको छु। २ यदि मैले तिमीहरूलाई दुःखी बनाएँ भने मलाई कसले खुसी बनाउने? किनकि मलाई खुसी बनाउने त तिमीहरू नै हौ। ३ मैले जे लेखेँ, त्यो यसैकारण लेखेको थिएँ कि जब म तिमीहरूकहाँ आउनेछु, तब जसको कारण म रमाउनुपर्ने हो, उनीहरूकै कारण दुःखी हुनु नपरोस् किनकि तिमीहरू सबैमाथि मेरो यो भरोसा छ कि जुन कारणले गर्दा म रमाउँछु, तिमीहरू पनि त्यही कारणले गर्दा रमाउँछौ। ४ ज्यादै सङ्कष्ट र हृदयको वेदनासहित आँसुको धारा बगाउँदै मैले तिमीहरूलाई लेखेको थिएँ, तिमीहरूलाई दुःखी बनाउन त होइन+ तर म तिमीहरूलाई कति धेरै प्रेम गर्छु, त्यो तिमीहरूलाई थाह दिन हो।
५ अब यदि कसैले दुःखी बनाएको छ भने+ उसले मलाई होइन तर केही हदसम्म तिमीहरू सबैलाई दुःखी बनाएको छ—योभन्दा कडा शब्द म चलाउन चाहन्नँ। ६ धेरै जनाले उसलाई दिएको हप्की नै उसको लागि यथेष्ट छ। ७ बरु अब तिमीहरूले उसलाई दयापूर्वक क्षमा दिनुपर्छ र सान्त्वना दिनुपर्छ+ ताकि ऊ अति दुःखी भएर शोकमा नडुबोस्।+ ८ त्यसैले तिमीहरू उसलाई प्रेम गर्छौ भनी उसलाई ढुक्क बनाउन म तिमीहरूलाई आग्रह गर्छु।+ ९ तिमीहरू सबै कुरामा आज्ञाकारी छौ कि छैनौ भन्ने कुरा पक्का गर्न सकूँ भनेर पनि म तिमीहरूलाई यो पत्र लेख्दै छु। १० तिमीहरूले कसैलाई कुनै कुराको लागि क्षमा दिन्छौ भने म पनि उसलाई क्षमा दिन्छु। वास्तवमा मैले जुन कुराको लागि क्षमा दिएको छु (यदि मैले कुनै कुराको लागि क्षमा दिएको छु भने) त्यो ख्रिष्टको नजरमा तिमीहरूकै खातिर दिएको हुँ ११ ताकि सैतान हामीमाथि हाबी हुन नपाओस्*+ किनकि त्यसका युक्तिहरूबारे* हामी अनजान छैनौँ।+
१२ ख्रिष्टबारे सुसमाचार घोषणा गर्न जब म त्रोआस पुगेको थिएँ+ र प्रभुको सेवा गर्न मेरो लागि मौकाको ढोका खुलेको थियो, १३ तब हाम्रो भाइ तितसलाई+ त्यहाँ नभेटेकोले मलाई चैन भएन। अनि म तिनीहरूसित बिदाबारी भएर म्यासिडोनियातिर लागेँ।+
१४ तर हाम्रा परमेश्वरलाई धन्यवाद, जसले सधैँ हामीलाई ख्रिष्टको साथमा विजय जुलुसमा डोऱ्याउनुहुन्छ र आफ्नो ज्ञानको सुगन्ध हामीद्वारा हरेक ठाउँमा फैलाउनुहुन्छ! १५ किनकि उद्धार पाउनेहरूका लागि र नष्ट हुनेहरूका लागि परमेश्वरसामु हामी ख्रिष्टका सुगन्ध हौँ। १६ नष्ट हुनेहरूका लागि मृत्युको दुर्गन्ध, जसको परिणाम मृत्यु हुन्छ+ र उद्धार पाउनेहरूका लागि जीवनको सुगन्ध, जसको परिणाम जीवन हुन्छ। यस्तो सेवाको लागि को योग्य छ? १७ हामी छौँ किनकि अरू थुप्रै मानिसजस्तो हामी परमेश्वरको वचनका व्यापारी होइनौँ।*+ तर हामी परमेश्वरबाट पठाइएकाहरू भएको नाताले परमेश्वरको नजरसामु ख्रिष्टको साथमा निष्कपटतासहित बोल्छौँ।
३ के हामीले फेरि आफ्नो सिफारिस गर्नुपर्छ? अथवा कोही-कोही मानिसले जस्तै के हामीले पनि तिमीहरूलाई सिफारिसपत्र देखाउनुपर्छ वा के तिमीहरूबाट हामीलाई सिफारिस-पत्र चाहिन्छ र? २ तिमीहरू नै हाम्रा सिफारिसपत्र हौ,+ जुन हाम्रो हृदयमा कुँदिएको छ र जसलाई सबै मानिसले थाह पाएका छन् र पढिरहेका छन्। ३ किनकि यो कुरा प्रस्ट छ कि तिमीहरू ख्रिष्टका पत्र हौ,+ जुन हामी सेवकहरूले मसीले लेखेका होइनौँ तर यो पत्र जीवित परमेश्वरको पवित्र शक्तिद्वारा ढुङ्गाका पाटीमा+ नभई हृदयमा* कुँदिएको छ।+
४ ख्रिष्टद्वारा हामीले परमेश्वरमा यस्तो भरोसा राखेका छौँ। ५ हाम्रो योग्यता हामीले आफ्नै प्रयासले गर्दा पाएका होइनौँ तर हाम्रो योग्यता परमेश्वरबाट आउँछ,+ ६ जसले हामीलाई नयाँ करारको सेवक बन्न योग्य बनाउनुभयो+ र त्यो करार लिखित व्यवस्थाको होइन+ तर पवित्र शक्तिको हो किनकि लिखित व्यवस्थाले मृत्युको सजाय दिन्छ+ तर पवित्र शक्तिले जीवन दिन्छ।+
७ अब यदि लिखित व्यवस्था, जसले मृत्युको सजाय दिन्छ अनि जसका अक्षरहरू ढुङ्गामा खोपिएका छन्,+ त्यो त यत्तिको महिमित भएर आयो कि मोसाको मुहारको महिमा, जो हराएर जाने थियो, त्यसलाई इस्राएलीहरूले हेर्न सकेनन्+ भने ८ पवित्र शक्ति दिने काम+ अझ महिमित हुनु नपर्ने के कुनै कारण छ र?+ ९ किनकि यदि सजाय दिने व्यवस्था+ महिमित+ थियो भने धर्मी ठहराउने सेवाको काम+ झनै कत्ति महिमित होला! १० भनौँ भने जसलाई कुनै समय महिमित बनाइएको थियो, त्यसको महिमा खोसिएको छ किनकि त्यसको सट्टामा जे आयो, त्यसको महिमा अझ उत्कृष्ट छ।+ ११ किनकि जो हराएर जाने थियो, त्यसलाई त महिमाका साथ ल्याइयो+ भने जो रहिरहन्छ, त्यो झन् कत्ति महिमित होला!+
१२ हामीसित यस्तो आशा भएकोले+ हामी निर्धक्क भई बोल्ने साहस गर्छौँ १३ अनि हामी मोसाले जस्तो गर्दैनौँ, जसले हराएर जाने व्यवस्थाको परिणामलाई इस्राएलीहरूले एकटक लगाएर हेर्न नसकून् भनेर आफ्नो अनुहार घुम्टोले छोप्थे।+ १४ तर तिनीहरूको दिमाग बोधो भएको थियो।+ किनकि अहिले वर्तमान समयसम्मै पुरानो करार पढ्ने बेला त्यो घुम्टो हट्दैन;+ यो ख्रिष्टद्वारा मात्र हटाइन्छ।+ १५ हो, आजसम्मै जब मोसाका लेखोटहरू पढिन्छ,+ तब तिनीहरूको हृदयमा घुम्टो लागिरहेकै हुन्छ।+ १६ तर जब कोही यहोवा* परमेश्वरतिर फर्कन्छ, तब त्यो घुम्टो हटाइन्छ।+ १७ यहोवा* परमेश्वर अदृश्य हुनुहुन्छ+ र स्वर्गमा बस्नुहुन्छ।* अनि जहाँ यहोवा* परमेश्वरको पवित्र शक्ति हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।+ १८ अनि घुम्टो नलागेको मुहारद्वारा हामी सबै ऐनाले जस्तै यहोवा* परमेश्वरको महिमा प्रतिबिम्बित गर्छौँ अनि थोरै महिमाबाट धेरै महिमा पाएर उहाँकै प्रतिरूपमा परिवर्तन हुन्छौँ।+ यसरी यहोवा* परमेश्वर, जो अदृश्य हुनुहुन्छ र स्वर्गमा बस्नुहुन्छ, उहाँले* हामीलाई जस्तो बनाउन चाहनुहुन्छ, ठीक त्यस्तै बन्छौँ।
४ यसकारण हामी हरेस खाँदैनौँ किनभने हामीमाथि यत्ति कृपा देखाइएको छ कि हामीलाई यो सेवा सुम्पिइएको छ। २ तर हामीले सरम मान्नुपर्ने छलकपट त्यागेका छौँ। हामी धूर्त चालमा हिँड्दैनौँ न त परमेश्वरको वचनलाई बङ्ग्याउँछौँ*+ तर सत्य प्रकट गरेर परमेश्वरको नजरमा हामी आफैलाई हरेक मानिसको अन्तस्करणसामु सिफारिस गर्छौँ।+ ३ वास्तवमा यदि हामीले घोषणा गर्ने सुसमाचारमा घुम्टो लागेको छ भने यो नष्ट हुनेहरूका लागि घुम्टो लागेको हो। ४ विश्वास नगर्ने ती मानिसहरूमाथि परमेश्वरको प्रतिरूप+ ख्रिष्टसित सम्बन्धित गौरवशाली सुसमाचारको ज्योति नचम्कोस्+ भनेर यस युगको* ईश्वरले+ तिनीहरूको दिमागलाई अन्धो तुल्याइदिएको छ।+ ५ किनकि हामी आफ्नो विषयमा होइन तर येसु ख्रिष्ट प्रभु हुनुहुन्छ भनी प्रचार गर्छौँ र हामीचाहिँ येसुको खातिर तिमीहरूका दास हौँ भनी घोषणा गर्छौँ। ६ किनकि यसो भन्नुहुने परमेश्वर नै हुनुहुन्छ: “अन्धकारबाट ज्योति चम्कोस्।”+ अनि ख्रिष्टको मुहारद्वारा परमेश्वरको गौरवशाली ज्ञान तिनीहरूमाथि चम्काउन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ।+
७ तथापि हामीसित यो धन+ माटाका भाँडाहरूमा छ+ ताकि हामीले पाएको असाधारण शक्ति हाम्रो आफ्नै होइन तर परमेश्वरको हो भनेर प्रकट होस्।+ ८ हामी सबैतिरबाट थिचिएका छौँ तर चल्नै नसक्नेगरि चेपिएका छैनौँ; हामी अन्योलमा परेका छौँ तर उम्कने कुनै बाटो नै नरहनेगरि होइन;*+ ९ हाम्रो खेदो गरिएको छ तर हामी त्यागिएका छैनौँ;+ हामीलाई पछारिएको छ तर हामी नाश भएका छैनौँ।+ १० येसुले भोग्नुभएजस्तै घातक व्यवहार हामी आफ्नो शरीरमा सधैँ भोगिरहन्छौँ+ ताकि हाम्रो शरीरमा येसुको जीवन प्रकट होस्। ११ किनकि हामी जो जीवित छौँ, येसुको खातिर सधैँ मृत्युको मुखैमा परिरहन्छौँ+ ताकि हाम्रो मरणशील शरीरमा येसुको जीवन पनि प्रकट होस्। १२ यसकारण हामीमा मृत्युले काम गरिरहेको छ तर तिमीहरूमा जीवनले।
१३ अब हामीसित विश्वासको त्यही मनोभाव छ, जसको विषयमा यस्तो लेखिएको छ: “मैले विश्वास गरेँ, त्यसैले मैले बोलेँ।”+ हामी पनि विश्वास गर्छौँ, त्यसैले हामी बोल्छौँ, १४ यो थाह पाएर कि येसुलाई ब्युँताउनुहुनेले हामीलाई पनि येसुसँगै ब्युँताउनुहुनेछ+ र हामीलाई तिमीहरूसँगै येसुसामु प्रस्तुत गर्नुहुनेछ। १५ यी सबै कुरा तिमीहरूकै खातिर भएका हुन् ताकि असीम अनुग्रह, जुन प्रशस्त छ, त्यो झन् प्रशस्त होस् किनकि धेरै जनाले परमेश्वरलाई धन्यवाद चढाइरहेका छन् र यसरी उहाँलाई गौरव दिइरहेका छन्।+
१६ त्यसैले हामी हरेस खाँदैनौँ बरु हाम्रो शरीर क्षीण हुँदै गइरहेको भए तापनि हाम्रो भित्री व्यक्तित्वचाहिँ निश्चय पनि दिनदिनै नयाँ हुँदै गइरहेको छ। १७ किनकि सङ्कष्ट* क्षणिक र हलुका हुन्छ तर यसले हामीमा यस्तो महिमा पैदा गर्छ, जुन अतुलनीय हुन्छ र सधैँभरि रहन्छ।+ १८ यस दौडान हामी आफ्नो नजर देखिने कुराहरूमा होइन तर नदेखिने कुराहरूमा राख्छौँ + किनकि देखिने कुराहरू अस्थायी हुन्छन् तर नदेखिने कुराहरू चिरस्थायी हुन्छन्।
५ हामीलाई थाह छ, जब हाम्रो पार्थिव घर अर्थात् पालजस्तो यो शरीर रहँदैन,*+ तब हामीले परमेश्वरबाट स्वर्गमा सधैँ रहिरहने एउटा यस्तो भवन पाउनेछौँ, जुन हातले बनाइएको होइन।+ २ किनकि यस घरमा* हामी साँच्चै सुस्केरा हाल्छौँ र स्वर्गमा हाम्रो निम्ति जे तयार पारिएको छ, त्यो* धारण गर्ने तीव्र इच्छा गर्छौँ + ३ अनि त्यो धारण गरेपछि हामी नाङ्गो भेटिनेछैनौँ। ४ वास्तवमा हामी जो यस पालमा छौँ, बोझले दबिएर सुस्केरा हाल्छौँ किनकि हामी यो फुकाल्न होइन तर अर्को धारण गर्न चाहन्छौँ + ताकि जे मरणशील छ, त्यसलाई जीवनले निलोस्।+ ५ यसको लागि हामीलाई तयार पार्ने परमेश्वर नै हुनुहुन्छ,+ जसले हामीलाई आउँदै गरेको कुराको बैनास्वरूप* पवित्र शक्ति दिनुभयो।+
६ यसकारण हामी सधैँ विश्वस्त छौँ र हामीलाई यो थाह छ कि यो घर—हाम्रो शरीरमा बास होउन्जेल हामी प्रभुबाट टाढा हुन्छौँ + ७ किनकि हामी विश्वासले हिँडिरहेका छौँ, दृष्टिले होइन। ८ तर हामी विश्वस्त छौँ र यस शरीरमा रहनभन्दा प्रभुसित बास गर्न चाहन्छौँ।+ ९ त्यसैले हाम्रो बास उहाँसित होस् वा नहोस्, उहाँका लागि ग्रहणयोग्य हुने लक्ष्य हामीले राखेका छौँ। १० किनकि हामी सबै ख्रिष्टको न्यायासनसामु हाजिर हुनै पर्छ ताकि हरेकले आफ्नो शरीरमा छँदा गरेका कामहरूको प्रतिफल पाओस्, चाहे ती असल काम होऊन् वा खराब।+
११ यसकारण प्रभुको डर मान्नुको अर्थ के हो, त्यो थाह भएकोले हामी मानिसहरूलाई हाम्रो कुरा सुन्न मनाइरहन्छौँ। हामी कस्ता मानिसहरू हौँ भनेर परमेश्वरलाई राम्ररी थाह छ तर तिमीहरूको अन्तस्करणलाई पनि हामी कस्ता मानिसहरू हौँ भनी राम्ररी थाह छ भन्ने आशा मैले गरेको छु। १२ हामीले फेरि आफूलाई तिमीहरूसामु सिफारिस गरेको होइन बरु तिमीहरूलाई हाम्रो विषयमा घमन्ड गर्न उत्प्रेरित गर्ने हेतुले यी कुरा भन्दै छौँ ताकि हृदय नहेरी बाहिरी रूप मात्र हेरेर घमन्ड गर्नेहरूलाई+ तिमीहरूले जवाफ दिन सक। १३ किनकि यदि हामी बौलाएका थियौँ भने+ परमेश्वरकै निम्ति बौलाएका थियौँ; यदि हामी सद्दे थियौँ भने तिमीहरूकै निम्ति सद्दे थियौँ। १४ ख्रिष्टको प्रेमले हामीलाई बाध्य पार्छ किनकि हामी यस्तो निष्कर्षमा पुगेका छौँ: सबैका लागि एक जना मानिस मर्नुभयो;+ भनौँ भने सबै जना मरेका थिए। १५ अनि उहाँ सबैका लागि यसकारण मर्नुभयो कि बाँच्नेहरू अबउसो आफ्नो लागि होइन+ तर उहाँकै लागि बाँचून्, जो तिनीहरूका लागि मर्नुभयो र ब्युँताइनुभयो।
१६ यसकारण अबउसो हामी कुनै मानिसलाई शारीरिक दृष्टिकोणले हेर्दैनौँ।+ हामीले ख्रिष्टलाई कुनै समय शारीरिक दृष्टिकोणले हेरेको भए तापनि अहिले भने त्यसरी हेर्दैनौँ।+ १७ यसकारण यदि कोही ख्रिष्टसँग एकतामा छ भने ऊ नयाँ सृष्टि हो;+ पुराना थोकहरू बितिसकेका छन्, हेर, नयाँ थोकहरू अस्तित्वमा आएका छन्। १८ तर सबै थोक परमेश्वरबाट आएका हुन्, जसले हामीलाई ख्रिष्टद्वारा आफूसित मिलाप गराउनुभयो+ र मिलापको सेवा सुम्पनुभयो+ १९ अर्थात् यो घोषणा गर्ने सेवा: परमेश्वरले ख्रिष्टद्वारा संसारलाई आफूसित मिलाप गराउनुभयो,+ तिनीहरूको अपराधको लेखा लिनुभएन+ र हामीलाई मिलापको वचन सुम्पनुभयो।+
२० त्यसैले हामी ख्रिष्टको सट्टामा काम गर्ने+ राजदूतहरू हौँ,+ मानौँ परमेश्वरले हामीमार्फत बिन्ती गरिरहनुभएको छ। ख्रिष्टको सट्टामा काम गर्नेहरूको रूपमा हामी यस्तो आग्रह गर्छौँ: “परमेश्वरसित मिलाप गर।” २१ हामी ख्रिष्टद्वारा परमेश्वरको नजरमा धर्मी ठहरिन सकौँ+ भनेर परमेश्वरले ख्रिष्ट, जसले कहिल्यै पाप गर्नुभएन,+ उहाँलाई नै हाम्रो निम्ति पापभेटी* तुल्याउनुभयो।
६ परमेश्वरका सहकर्मी भएको नाताले+ हामी तिमीहरूलाई यो पनि आग्रह गर्छौँ कि परमेश्वरको असीम अनुग्रह स्विकारेपछि यसको उद्देश्यलाई नबिर्स।+ २ किनकि उहाँ भन्नुहुन्छ: “निगाह पाउने समयमा मैले तिम्रो कुरा सुनेँ अनि उद्धारको समयमा मैले तिमीलाई मदत गरेँ।”+ हेर, निगाह पाउने खास समय अहिल्यै हो। हेर, उद्धारको समय अहिल्यै हो।
३ हाम्रो सेवामा कुनै खोट नभेटियोस् भनेर हामी ठेस लाग्ने कुनै कारण दिँदैनौँ+ ४ बरु हरतरहले आफूलाई परमेश्वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ:+ धेरै कुरामा सहनशील भएर, सङ्कष्ट भोगेर, खाँचोमा पर्दा सहेर, कठिनाइ सहेर,+ ५ पिटाइ खाएर, झ्यालखानामा थुनिएर,+ हुलदङ्गामा परेर, कडा परिश्रम गरेर, अनिदो रात बिताएर, भोकै बसेर,+ ६ शुद्ध रहेर, ज्ञानअनुसार चलेर, धीरज देखाएर,+ दया गरेर,+ पवित्र शक्तिअनुसार चलेर, निष्कपट प्रेम देखाएर,+ ७ सत्य बोलेर, परमेश्वरको शक्तिमा भर परेर+ अनि धार्मिकताको* हतियार+ दाहिने* र देब्रे* हातमा बोकेर, ८ आदर र अनादर पाएर, बदनामी र सुनाम कमाएर। हामी ठगाहा ठानिन्छौँ तैपनि सच्चा छौँ, ९ अपरिचित ठानिन्छौँ तैपनि चिरपरिचित छौँ, मर्नै लागेका* ठानिन्छौँ तैपनि हेर, हामी जिउँदा छौँ,+ सजाय* पाएका ठानिन्छौँ तैपनि मृत्युको हातमा सुम्पिइएका छैनौँ,+ १० अफसोस गरिरहेका ठानिन्छौँ तैपनि सधैँ रमाउँछौँ, गरिब ठानिन्छौँ तैपनि धेरैलाई धनी बनाउँछौँ अनि केही नभएका ठानिन्छौँ तैपनि हामीसित सबथोक छ।+
११ हे कोरिन्थीहरू हो, हामीले तिमीहरूसित खुलस्त कुरा गरेका छौँ र हामीले आफ्नो मन ठूलो बनाएका छौँ। १२ तिमीहरूलाई माया देखाउन हामीले आफ्नो मन साँघुरो बनाएका छैनौँ+ बरु हामीलाई माया देखाउनमा तिमीहरूकै मन साँघुरो भएको छ। १३ त्यसैले तिमीहरूलाई आफ्नै छोराछोरी सम्झेर म भन्छु, तिमीहरू पनि ठूलो मनका होओ।+
१४ विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ+ किनकि यस्तो जोडा मिल्दैन। सुकर्म* र कुकर्मबीच के मेल?+ वा अन्धकारसित ज्योतिको के साझेदारी?+ १५ साथै ख्रिष्ट र सैतानबीच* के तालमेल?+ वा विश्वास गर्ने र विश्वास नगर्नेबीच के समानता?+ १६ अनि मूर्तिहरूसित परमेश्वरको मन्दिरको के सहमति?+ किनकि हामी जीवित परमेश्वरको मन्दिर हौँ,+ जस्तो परमेश्वरले भन्नुभएको छ: “म तिनीहरूमाझ बास गर्नेछु+ र तिनीहरूमाझ हिँडडुल गर्नेछु अनि म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्।”+ १७ “यहोवा* परमेश्वर भन्नुहुन्छ: ‘त्यसकारण तिनीहरूमाझबाट निस्केर आओ र आफूलाई अलग पार अनि अशुद्ध कुरा छुन छोड+ र म तिमीहरूलाई ग्रहण गर्नेछु।’”+ १८ “सर्वशक्तिमान् परमेश्वर यहोवा* भन्नुहुन्छ: ‘अनि म तिमीहरूको बुबा हुनेछु+ र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ।’”+
७ यसकारण हे प्रियहरू हो, हामीलाई यी कुरा प्रतिज्ञा गरिएको हुनाले+ तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहेर आफूलाई शुद्ध पारौँ+ र परमेश्वरको डर राख्दै पूर्णतया पवित्र होऔँ।
२ हामीलाई तिमीहरूको हृदयमा ठाउँ देओ।+ हामीले कसैको बिगार गरेका छैनौँ, कसैलाई भ्रष्ट पारेका छैनौँ, कसैबाट फाइदा उठाएका छैनौँ।+ ३ तिमीहरूलाई दोषी ठहराउन मैले यसो भनेको होइनँ। किनकि मैले तिमीहरूलाई पहिला पनि भनिसकेँ कि चाहे हामी बाँचौँ या मरौँ, तिमीहरू हाम्रो हृदयमा छौ। ४ तिमीहरूसित निर्धक्क भई बोल्ने साहस मसित छ। म तिमीहरूमा निकै गर्व गर्छु। मैले पूरा सान्त्वना पाएको छु; हाम्रा सारा दुःखकष्टमा पनि मेरो हृदय खुसीले ओतप्रोत भएको छ।+
५ वास्तवमा म्यासिडोनिया+ पुग्दा हामीलाई पटक्कै चैन भएन बरु हामीले हरतरहको दुःखकष्ट झेलिरह्यौँ। बाहिर घोर विरोध भइरहेको थियो र भित्रचाहिँ चिन्तैचिन्ताले सताइरहेको थियो। ६ तैपनि निराश भएकाहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले+ हामीलाई तितसको उपस्थितिद्वारा सान्त्वना दिनुभयो; ७ तिनको उपस्थितिद्वारा मात्र होइन तर तिमीहरूले गर्दा तिनले जुन सान्त्वना पाए, त्यसबाट पनि हामीलाई सान्त्वना मिल्यो। तिमीहरूले मलाई भेट्न उत्कट इच्छा गरेको, तिमीहरूले निकै शोक गरेको अनि मप्रति गहिरो चासो देखाएको खबर तिनले ल्याए; त्यसैले म झनै रमाएँ।
८ यसकारण यदि मैले आफ्नो पत्रबाट तिमीहरूलाई दुःखी तुल्याएको रहेछु भने+ पनि म पछुताउँदिनँ। हुनत सुरुमा मलाई पछुतो लागेको थियो (किनकि मलाई थाह छ, त्यस पत्रले तिमीहरूलाई दुःखी तुल्यायो तर थोरै समयको लागि मात्र) ९ तैपनि अहिले म रमाउँछु तर तिमीहरू दुःखी भएकोले मात्रै होइन बरु दुःखी भएर पश्चात्ताप गरेकोले। किनकि तिमीहरू परमेश्वरको इच्छाअनुसार दुःखी भयौ र हाम्रो कारणले गर्दा तिमीहरूले कुनै क्षति बेहोर्नु परेन। १० किनकि परमेश्वरको इच्छाअनुसार दुःखी हुँदा त्यसले पश्चात्ताप गर्न लगाउँछ र यसले उद्धारतर्फ डोऱ्याउँछ अनि पछुताउनुपर्ने कुनै कारण हुँदैन;+ तर यस संसारका मानिसहरूजसरी दुःखी हुँदा त्यसले मृत्यु उत्पन्न गराउँछ। ११ किनकि हेर, तिमीहरू परमेश्वरको इच्छाअनुसार दुःखी भएको हुँदा यसले तिमीहरूमा कत्ति धेरै उत्सुकता उत्पन्न गऱ्यो; हो, आफूलाई दोषमुक्त गर्ने कत्ति धेरै इच्छा, कत्ति धेरै आक्रोश, कत्ति धेरै डर, कत्ति धेरै तिर्सना, कत्ति धेरै जोस; अनि तिमीहरूले आफ्नो गल्ती सच्यायौ!+ यस सन्दर्भमा तिमीहरूले हरतरहले आफूलाई चोखो* साबित गऱ्यौ। १२ मैले तिमीहरूलाई लेखेको भए तापनि वास्तवमा न गल्ती गर्नेको लागि+ न त जसको विरुद्धमा गल्ती गरियो उसको लागि लेखेको हुँ तर हाम्रो कुरा सुन्न तिमीहरू कति उत्सुक छौ भन्ने कुरा परमेश्वरको नजरमा प्रकट होस् भनेर लेखेको हुँ। १३ यसैकारण हामीले सान्त्वना पाएका छौँ।
तथापि हामीले पाएको सान्त्वनाका साथै तितस खुसी भएकोले हामी अझ धेरै रमायौँ किनभने तिमीहरू सबैले गर्दा तिनको हृदयले स्फूर्ति पायो। १४ किनकि मैले तिनीसामु तिमीहरूको विषयमा गर्व गरेकै भए पनि मैले सरम मान्नु परेन तर जसरी हामीले तिमीहरूलाई भनेको सबै कुरा सत्य थियो, त्यसरी नै तितससामु हामीले गर्वका साथ भनेका कुराहरू पनि सत्य साबित भएका छन्। १५ साथै तिमीहरू सबैको आज्ञाकारिता+ र तिमीहरूले गहिरो आदरसाथ तिनलाई स्वागत गरेको कुरा सम्झँदा तिमीहरूप्रति तिनको कोमल स्नेह झनै बढेको छ। १६ म रमाउँछु किनकि म सबै कुरामा तिमीहरूलाई भरोसा गर्छु।*
८ अब हे भाइ हो, म्यासिडोनियाका+ मण्डलीहरूलाई परमेश्वरले देखाउनुभएको असीम अनुग्रहबारे तिमीहरूले थाह पाओ भन्ने हामी चाहन्छौँ। २ ठूलो परीक्षाले गर्दा तिनीहरूले दुःखकष्ट झेलिरहेका थिए तर आफू कङ्गाल हुँदाहुँदै पनि तिनीहरूले खुसीसाथ दिएर आफ्नो उदारता देखाए। ३ तिनीहरूले आफ्नो औकातअनुसार,+ हो, आफ्नो औकातभन्दा पनि धेरै गरे।+ म यसको साक्षी छु। ४ पवित्र जनहरूलाई दान दिएर उनीहरूको निम्ति गरिने राहत सेवामा भाग+ लिने सुअवसर पाऔँ भनी तिनीहरूले आफै अघि सरेर हामीलाई बिन्ती गरिरहे। ५ अनि तिनीहरूले हामीले आशा गरेभन्दा धेरै गरे। पहिला तिनीहरूले आफूलाई प्रभुमा अर्पण गरे अनि परमेश्वरको इच्छाअनुसार आफूलाई हाम्रो निम्ति सुम्पिए। ६ तितसले+ तिमीहरूबीच चन्दा उठाउने काम सुरु गरिसकेको हुनाले यो काम तिनले नै सिद्ध्याऊन् भनेर हामीले तिनलाई प्रोत्साहन दियौँ। ७ तैपनि जसरी तिमीहरू सबै कुरामा अर्थात् विश्वासमा, वचनमा, ज्ञानमा, सबै उत्कटतामा र हामीले तिमीहरूलाई देखाएको जस्तै प्रेम देखाउनमा प्रशस्त भएका छौ, त्यसरी नै चन्दा दिने यो काममा पनि प्रशस्त हुँदै जाओ।+
८ तिमीहरूलाई हुकुम दिन मैले यो कुरा भनेको होइनँ तर अरूको तत्परताबारे तिमीहरूलाई थाह दिन अनि तिमीहरूको प्रेम निष्कपट हो कि होइन भनी जाँच्न मैले यो कुरा भनेको हुँ। ९ किनकि तिमीहरूलाई हाम्रा प्रभु येसु ख्रिष्टको असीम अनुग्रह थाह छ, उहाँको गरिबीद्वारा तिमीहरू धनी बन्न सक भनेर उहाँ धनी हुनुभए तापनि तिमीहरूको खातिर गरिब बन्नुभयो।+
१० अनि यस विषयमा म मेरो राय दिन्छु:+ यो काम पूरा गर्नु तिमीहरूको लागि फाइदाजनक हुन्छ किनकि एक वर्षअघि नै तिमीहरूले यो काम सुरु गरेका थियौ अनि त्यति मात्र नभई तिमीहरूले यो काम गर्ने इच्छा पनि देखाएका थियौ। ११ त्यसैले तिमीहरूले जुन तत्परतासाथ यो काम सुरु गरेका थियौ, त्यही तत्परतासाथ पूरा पनि गर। तिमीहरूसित जे छ, त्यही दिएर यो काम पूरा गर। १२ किनकि यदि दिने तत्परता छ भने त्यो नै ग्रहणयोग्य हुन्छ, मानिसले आफूसित जे छ, त्यही दिएको आशा गरिन्छ,+ नभएको कुरा होइन। १३ किनकि अरूलाई सजिलो तर तिमीहरूलाई गाह्रो भएको म चाहन्नँ। १४ तर समानताको हिसाबले अहिले तिमीहरूको प्रशस्तताबाट तिनीहरूको खाँचो टरोस् र तिनीहरूको प्रशस्तताबाट पनि तिमीहरूको खाँचो टरोस् अनि यसरी सबैमा समानता होस्। १५ जस्तो लेखिएको छ: “जोसँग धेरै थियो, उसलाई अति नै धेरै भएन अनि जोसँग थोरै थियो, उसलाई अति नै थोरै भएन।”+
१६ अब परमेश्वरलाई धन्यवाद किनकि उहाँले तितसको+ हृदयमा तिमीहरूप्रति त्यही उत्कट चासो राखिदिनुभयो, जुन हाम्रो हृदयमा पनि छ। १७ किनकि हाम्रो अनुरोध स्विकारेर मात्र त होइन बरु तिनी आफै उत्सुक भएर तिमीहरूकहाँ आउन अग्रसर भएका छन्। १८ हामी तिनीसित ती भाइलाई पनि पठाउँदै छौँ, जसले सुसमाचार सुनाउने काममा जे-जति गरेका छन्, त्यसबारे सबै मण्डलीमा तारिफ भइरहेको छ। १९ यति मात्र होइन, मण्डलीहरूले यी भाइलाई हामीसित यात्रा गर्न नियुक्त पनि गरेका छन् ताकि उदारचित्तले दिइएको यो दान बाँड्ने काममा तिनले हामीलाई साथ देऊन्। प्रभुको गौरवको लागि र हामी अरूलाई मदत गर्न कति तत्पर छौँ भन्ने कुराको प्रमाण दिनको लागि हामी यो दान बाँड्नेछौँ। २० उदारचित्तले दिइएको यो दान हामीले बाँड्दा+ कुनै मानिसले हामीमा केही दोष भेट्टाउन नसकोस् भन्ने हामी चाहन्छौँ। २१ किनकि हामी ‘यहोवा* परमेश्वरको नजरमा मात्र होइन तर मानिसहरूको नजरमा पनि सबै कुरा इमानदारीसाथ गर्छौँ।’+
२२ यसबाहेक तिनीहरूसित हामी ती भाइलाई पनि पठाउँदै छौँ, जसलाई हामीले धेरै पटक जाँचेका छौँ र थुप्रै कुरामा मेहनती पाएका छौँ। तिनी तिमीहरूलाई निकै भरोसा गर्छन्, त्यसैले तिनले अझै मेहनत गर्नेछन्। २३ तर तितसबारे कुनै प्रश्न छ भने तिमीहरूले यो कुरा थाह पाओ कि तिनी तिमीहरूको भलाइको लागि काम गर्ने मेरा साथी* र सहकर्मी हुन्। अनि भाइहरूको विषयमा कुनै प्रश्न छ भने म भन्छु, तिनीहरू मण्डलीहरूका प्रेषितहरू र ख्रिष्टका गौरव हुन्। २४ त्यसैले तिनीहरूलाई आफ्नो प्रेमको प्रमाण देओ+ अनि हामीले किन तिमीहरूबारे गर्व गरेका हौँ भनेर मण्डलीहरूसामु देखाओ।
९ अब पवित्र जनहरूका लागि गरिने सेवाको विषयमा+ तिमीहरूलाई लेखिरहनु म आवश्यक ठान्दिनँ २ किनकि तिमीहरू मदत गर्न इच्छुक छौ भनेर मलाई थाह छ। अनि अखैयाका* भाइहरूले विगत एक वर्षदेखि मदत गर्ने इच्छा देखाइरहेका छन् भनेर म म्यासिडोनियालीहरूसामु गर्व गर्दै छु र तिमीहरूको जोसले तिनीहरूमध्ये धेरै जनालाई उत्साहित बनाएको छ। ३ तर यस विषयमा हामीले तिमीहरूबारे गर्वका साथ जे भनेका थियौँ, त्यो झूटो साबित नहोस् तर मैले भनेजस्तै तिमीहरू मदत गर्न साँच्चै तत्पर रहो भनेर म भाइहरूलाई पठाउँदै छु। ४ नत्र त यदि म्यासिडोनियालीहरू मसँगै आए र मदत गर्न तिमीहरू तत्पर रहेको भेटेनन् भने तिमीहरू मात्र होइन, तिमीहरूमाथि भरोसा राखेकोले हामी पनि सरममा पर्नेछौँ। ५ तसर्थ मैले भाइहरूलाई पहिल्यै तिमीहरूकहाँ जाने प्रोत्साहन दिन र तिमीहरूले उदारतासाथ दिन्छु भनी प्रतिज्ञा गरेको उपहार पहिल्यै तयार पार्न लगाउन आवश्यक ठानेँ ताकि यो उपहार तिमीहरूले उदारतासाथ दिएको उपहार होस्, हामीले जबरजस्ती दिन लगाएको जस्तो नहोस्।
६ तर यस विषयमा जसले कन्जुस्याइँ गरेर छर्छ, उसले थोरै नै कटनी गर्नेछ अनि जसले उदारतासाथ छर्छ, उसले प्रशस्तै कटनी गर्नेछ।+ ७ हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्, मन नलागी-नलागी* वा करकापमा परेर होइन+ किनकि खुसीसाथ दिनेलाई परमेश्वर प्रेम गर्नुहुन्छ।+
८ यसबाहेक परमेश्वरले तिमीहरूलाई आफ्नो असीम अनुग्रह प्रशस्तगरि देखाउन सक्नुहुन्छ ताकि तिमीहरूसित सबै कुरा सधैँ प्रशस्त होस् र हरेक असल कामको लागि चाहिने कुराहरू पनि प्रशस्तै होस्।+ ९ (जस्तो लेखिएको छ: “उसले उदारतासाथ बाँडेको छ; उसले गरिबहरूलाई दिएको छ। उसको धार्मिकता* सधैँभरि टिकिरहन्छ।”+ १० अब जसले छर्नेलाई प्रशस्तगरि बिउ र खानेलाई रोटी दिनुहुन्छ, उहाँले छर्नको लागि तिमीहरूलाई प्रशस्तै बिउ दिनुहुनेछ अनि तिमीहरूको धार्मिकताको फसल बढाउनुहुनेछ।) ११ तिमीहरूले हरतवरले उदार भई दिन सक र हाम्रो यस कामद्वारा परमेश्वरलाई धन्यवाद मिलोस् भनेर हरेक कुरामा तिमीहरूले आशिष् पाइरहेका छौ १२ किनकि यो जनसेवा पवित्र जनहरूका आवश्यकता राम्ररी पूरा गर्नका लागि मात्र होइन+ तर परमेश्वरलाई धन्यवादका प्रशस्त अभिव्यक्ति चढाउनका निम्ति पनि हो। १३ यस राहत सेवाले गर्दा मानिसहरूले परमेश्वरको महिमा गर्छन् किनभने तिमीहरू आफूले जनघोषणा गरेजस्तै ख्रिष्टसित सम्बन्धित सुसमाचारको अधीनमा बस्छौ अनि तिमीहरू उदारतासाथ पवित्र जनहरूलाई र सबैलाई दान दिन्छौ।+ १४ अनि तिनीहरू तिमीहरूका निम्ति परमेश्वरलाई उत्कट बिन्ती चढाउँछन् र तिमीहरूलाई प्रेम गर्छन् किनभने तिमीहरूमाथि परमेश्वरको अतुलनीय असीम अनुग्रह छ।
१५ परमेश्वरले सित्तैँमा दिनुहुने अवर्णनीय वरदानको लागि उहाँलाई धन्यवाद।
१० अब म पावल, ख्रिष्टले देखाउनुभएको कोमलता र दयाको आधारमा+ तिमीहरूलाई बिन्ती गर्छु, तिमीहरूमाझ हुँदा म दुर्बल देखिए तापनि+ तिमीहरूमाझ नहुँदा भने म कडाइका साथ तिमीहरूलाई सम्झाउँछु।+ २ म तिमीहरूलाई बिन्ती गर्छु, तिमीहरूकहाँ आउँदा मैले कडाइका साथ तिमीहरूलाई सम्झाउन नपरोस्, जसरी मैले कसै-कसैलाई सम्झाउने विचार गरेको छु, जो हामी शारीरिक झुकावअनुसार चल्छौँ भन्ठान्छन्। ३ किनकि हाम्रो जीवन अरू मानिसहरूको भन्दा फरक नभए तापनि हामी शारीरिक सोचाइअनुसार लडाइँ लड्दैनौँ। ४ किनकि हामीले लडाइँमा चलाउने हतियार शारीरिक होइनन्+ तर परमेश्वरले दिनुभएका शक्तिशाली हतियार हुन्,+ जसले गहिरो जरा गाडेर बसेका कुराहरूलाई उखेल्न सक्छ। ५ किनकि परमेश्वरको ज्ञानविरुद्ध उठाइने तर्कवितर्क र हरेक विघ्नबाधालाई हामी उखेल्दै छौँ+ अनि हरेक विचारलाई कैद गरेर ख्रिष्टप्रति आज्ञाकारी बनाइरहेका छौँ। ६ अनि तिमीहरूले आफूलाई पूर्णतया आज्ञाकारी साबित गर्नेबित्तिकै प्रत्येक अनाज्ञाकारीलाई सजाय दिन हामी तयार छौँ।+
७ तिमीहरू मुख हेरेर निर्णय गर्छौ। यदि कोही आफू ख्रिष्टको हुँ भन्ने कुरामा विश्वस्त छ भने उसले यो कुरा फेरि विचार गरोस्: जसरी ऊ ख्रिष्टको हो, हामी पनि ख्रिष्टका हौँ। ८ किनकि यदि प्रभुले हामीलाई दिनुभएको अख्तियारको विषयमा मैले अलि बढी नै घमन्ड गरेँ भने पनि म सरममा पर्नेछैनँ; हामीले त्यो अख्तियार तिमीहरूको उत्थान गराउन पाएका हौँ, पतन गराउन होइन।+ ९ मैले आफ्ना पत्रहरूमार्फत तिमीहरूलाई तर्साउन खोजेको हुँ भनी तिमीहरूले सोचेको म चाहन्नँ। १० किनकि तिनीहरू भन्छन्: “उसका पत्रहरू वजनदार अनि जोडदार छन् तर यहाँ उपस्थित हुँदा भने उसको ठाँटबाँट केही देखिँदैन र सुन्न लायकको केही कुरा उसले बोल्दैन।” ११ त्यस्तो मानिसले यो कुरा विचार गरोस्: अनुपस्थित हुँदा हामी आफ्ना पत्रहरूमार्फत जे भन्छौँ, उपस्थित हुँदा त्यही गरेर पनि देखाउनेछौँ।+ १२ किनकि आफैलाई सिफारिस गर्ने*+ कोही-कोही मानिसको श्रेणीमा आफूलाई राख्ने वा तिनीहरूसित आफूलाई दाँज्ने आँट हामी गर्दैनौँ। आफ्नो नापले आफैलाई नापेर अनि आफूलाई आफैसित दाँजेर तिनीहरूले वास्तवमा आफू बेसमझ भएको देखाउँछन्।+
१३ तर हामीलाई जुन इलाका खटाइएको छ, त्यसको सिमाना नाघेर हामी घमन्ड गर्दैनौँ। परमेश्वरले हामीलाई जुन इलाका नापेर तोकिदिनुभएको छ, त्यस सिमानाभित्र तिमीहरू पनि पर्छौ,+ त्यही सिमानाभित्र रहेर हामी घमन्ड गर्छौँ। १४ मानौँ तिमीहरू हाम्रो इलाकामा पर्दै नपरे जस्तोगरि हामी आफ्नो इलाकाबाहिर गएका छैनौँ किनकि ख्रिष्टसित सम्बन्धित सुसमाचार लिएर तिमीहरूकहाँ सबैभन्दा पहिला पुग्ने हामी नै थियौँ।+ १५ अहँ, हामी आफूलाई खटाइएको इलाकाको सिमानाबाहिर गएर अरू कसैको परिश्रममा घमन्ड गरिरहेका छैनौँ बरु जहाँसम्म हाम्रो इलाकाको कुरा छ, हामीले यो आशा राखेका छौँ कि जसै-जसै तिमीहरूको विश्वास बढ्दै जान्छ, हामीले गरेको काम पनि झन्झन् सफल हुँदै जानेछ। त्यसपछि हामी झन् बढ्दै जानेछौँ १६ ताकि तिमीहरूको भन्दा परपरका देशहरूमा पनि सुसमाचार घोषणा गर्न सकौँ। किनकि अरू कसैको इलाकामा पहिल्यै भइसकेको काममा हामी घमन्ड गर्न चाहँदैनौँ। १७ “बरु जसले घमन्ड गर्छ, उसले यहोवा* परमेश्वरमा घमन्ड गरोस्।”+ १८ किनकि जसले आफ्नो प्रशंसा गर्छ, उसले यहोवा* परमेश्वरको अनुमोदन पाउँदैन+ तर त्यो मानिसले पाउँछ, जसको प्रशंसा उहाँले गर्नुहुन्छ।+
११ मेरो थोरै अव्यावहारिकतालाई तिमीहरूले सहिदिए हुने थियो। तर वास्तवमा तिमीहरूले मलाई सहिरहेका पनि छौ! २ किनकि म ईश्वरीय डाहले* तिमीहरूको निम्ति डाही भएको छु किनकि एक जना पुरुष अर्थात् ख्रिष्टसित म आफैले तिमीहरूको मगनी गराइदिएको छु ताकि तिमीहरूलाई एउटी चोखो* कुमारी केटीको रूपमा उहाँलाई सुम्पन सकूँ।+ ३ तर सर्पको धुर्त्याइँमा परेर हव्वा बहकिएजस्तै+ तिमीहरूको दिमाग पनि भ्रष्ट भएर ख्रिष्टको हक लाग्ने तिमीहरूको निष्कपटता अनि चोखोपन* खोसिएला कि भन्ने डर मलाई लागेको छ।+ ४ किनकि यदि कोही आएर तिमीहरूलाई हामीले जुन येसुको प्रचार गरेका थियौँ, त्योभन्दा बेग्लै येसुको प्रचार गर्छ वा जुन शक्तिले* तिमीहरूको मनोभावलाई प्रभावमा पारेको थियो, त्योभन्दा बेग्लै शक्तिले तिमीहरूको मनोभावलाई प्रभावमा पार्न खोज्छ वा तिमीहरूले जुन सुसमाचार सुनेका थियौ, त्योभन्दा बेग्लै सुसमाचार सुनाउँछ भने+ तिमीहरू सजिलै उसको कुरा पत्याउँछौ। ५ म आफूलाई तिमीहरूका महाप्रेषितहरूभन्दा कुनै कुरामा कम ठान्दिनँ।+ ६ म बोल्नमा त्यति सिपालु नहुँला+ तर ज्ञानमा त पक्कै छु। हामीले सबै कुरामा हरतवरले तिमीहरूलाई त्यो ज्ञान प्रकट गरेका छौँ।
७ अथवा तिमीहरू उचालिओ भनेर आफैलाई होच्याएर अनि सित्तैँमा तिमीहरूलाई परमेश्वरको सुसमाचार खुसीसाथ घोषणा गरेर+ के मैले पाप गरेँ? ८ तिमीहरूको सेवा गर्न सकूँ भनेर मैले अरू मण्डलीको मदत स्विकारेँ।*+ ९ अनि तिमीहरूमाझ भएको बेला जब म खाँचोमा परेँ, तब तिमीहरूमध्ये कसैको पनि बोझ बनिनँ। किनकि म्यासिडोनियाबाट आएका भाइहरूले मेरो आवश्यकता प्रशस्तगरि पूरा गरिदिएका थिए।+ हो, कुनै किसिमले तिमीहरूको लागि बोझ नबन्ने मैले कोसिस गरेँ र त्यस्तै गरिरहनेछु।+ १० ख्रिष्टको सत्य ममा छ भन्ने कुरा जत्तिको पक्का छ, अखैयाका इलाकाहरूमा म यस कुराबारे घमन्ड गर्न छोड्नेछैनँ+ भन्ने कुरा पनि त्यत्ति नै पक्का छ। ११ म किन तिमीहरूको बोझ बनिनँ? के मैले तिमीहरूलाई प्रेम नगरेकोले हो? परमेश्वर जान्नुहुन्छ, म तिमीहरूलाई प्रेम गर्छु।
१२ म जे गर्दै छु, त्यही नै गरिरहनेछु+ ताकि आफ्नो ओहदाको घमन्ड गरेर हामीसित बराबर हुन खोज्नेहरूले कुनै मौका नपाऊन्। १३ किनकि यिनीहरू झूटा प्रेषितहरू अनि छली काम गर्ने मानिसहरू हुन् र यिनीहरू आफूलाई ख्रिष्टका प्रेषितहरूको भेषमा परिवर्तन गर्छन्।+ १४ अनि यसमा अचम्म मान्नुपर्ने कुनै कारण छैन किनकि सैतानले पनि आफूलाई ज्योतिर्मय स्वर्गदूतको भेषमा परिवर्तन गर्छ।+ १५ तसर्थ त्यसका सेवकहरूले पनि आफूलाई धार्मिकताका* सेवकहरूको भेषमा परिवर्तन गर्नु कुनै नौलो कुरा होइन। तर तिनीहरूले आफ्नो कामअनुसारको फल पाउनेछन्।+
१६ म फेरि भन्छु: कुनै मानिसले मलाई अव्यावहारिक नठानोस्। तर यदि तिमीहरू त्यस्तै ठान्छौ भने पनि म अव्यावहारिक नै हुँ भनी सम्झेर मलाई स्वीकार गर ताकि मैले पनि थोरै घमन्ड गर्न सकूँ। १७ म अब जे भन्छु, प्रभुको उदाहरण अनुकरण गरेर होइन तर अव्यावहारिक मानिसले झैँ अति विश्वस्त भई घमन्ड गरेर भन्छु। १८ थुप्रै मानिस सांसारिक कुराहरूमा* घमन्ड गर्छन्, त्यसैले म पनि घमन्ड गर्नेछु। १९ तिमीहरू यति “व्यावहारिक” छौ कि अव्यावहारिक मानिसहरूलाई तिमीहरू खुसीसाथ सहन्छौ। २० भनौँ भने तिमीहरू यस्ता जोसुकैलाई सहन्छौ, जसले तिमीहरूलाई दास बनाउँछ, जसले तिमीहरूलाई लुट्छ, जसले तिमीहरूसित भएको कुरा खोस्छ, जसले तिमीहरूको टाउकोमा टेक्छ र जसले तिमीहरूलाई अनुहारमा झापड हान्छ।
२१ मैले यस्तो भन्नु हाम्रो लागि लाजमर्दो कुरा हो किनकि कसै-कसैलाई हामी कमजोर छौँ भन्ने लाग्दो रहेछ।
तर म अव्यावहारिक मानिसले झैँ भन्दै छु, यदि कसैले केही कुरामा घमन्ड गर्छ भने म पनि त्यस्तो घमन्ड गर्न सक्छु। २२ के तिनीहरू हिब्रू हुन्? म पनि हुँ।+ के तिनीहरू इस्राएली हुन्? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन्? म पनि हुँ।+ २३ के तिनीहरू ख्रिष्टका सेवक हुन्? बौलाहा मानिसले झैँ म चिच्याएर भन्छु, म झनै हुँ: मैले तिनीहरूले भन्दा धेरै परिश्रम गरेको छु,+ म धेरै पटक झ्यालखानामा थुनिएको छु,+ मैले अनगिन्ती कुटाइ खाएको छु र थुप्रै पटक मृत्युको मुखमा परेको छु।+ २४ मैले यहुदीहरूको हातबाट पाँच चोटि ३९-३९ कोर्रा खाएँ,+ २५ तीन खेप म डन्डाले पिटिएँ,+ एक खेप मलाई ढुङ्गाले हानियो,+ तीन चोटि म चढेको जहाज क्षतिग्रस्त भयो,+ एक रात एक दिन मैले खुला समुद्रमा बिताएँ। २६ बारम्बार यात्राको खतरामा, नदीहरूको खतरामा, डाँकुहरूको खतरामा, आफ्नै जातिको खतरामा,+ अन्यजातिको खतरामा,+ सहरको खतरामा,+ निर्जनभूमिको खतरामा, समुद्रको खतरामा, झूटा भाइहरूबीचको खतरामा म परेको छु। २७ मैले मजदुरी अनि कडा मेहनत गरेको छु, कति चोटि अनिदो रात काटेको छु,+ भोक अनि प्यास सहेको छु,+ धेरै चोटि नखाई बसेको छु,+ जाडो अनि नग्नता* खपेको छु।
२८ यी बाहिरी कुराहरूबाहेक सबै मण्डलीको चिन्ताले मलाई दिनदिनै सताउँछ।+ २९ को कमजोर हुँदा मचाहिँ कमजोर भइनँ र? कसले ठेस खाँदा मलाई चाहिँ औडाहा भएन र?
३० घमन्ड गर्नु नै छ भने म आफ्ना कमजोरीहरू प्रकट हुने कुराहरूमा घमन्ड गर्नेछु। ३१ मैले झूट बोलेको होइनँ भनेर प्रभु येसुका परमेश्वर अनि बुबा जान्नुहुन्छ, जसको सदासर्वदा प्रशंसा गरिनुपर्छ। ३२ दमिसकमा छँदा, राजा अरितसका राज्यपालले मलाई पक्रन दमिसक सहरमा पहरा दिएका थिए ३३ तर भाइहरूले मलाई टोकरीमा राखेर पर्खालको झ्यालबाट तल ओराले+ अनि म तिनको हातबाट उम्केँ।
१२ हुनत घमन्ड गर्नु फाइदाजनक कुरा होइन तैपनि मैले यसो गर्नै पर्छ। अब म प्रभुबाट पाएको अलौकिक दर्शन* अनि सन्देशहरूबारे+ कुरा गर्छु। २ म ख्रिष्टको एक जना यस्तो चेलालाई चिन्छु, जसलाई १४ वर्षअघि—शरीरमै हो वा विनाशरीर, म जान्दिनँ तर परमेश्वर नै जान्नुहुन्छ—उठाएर तेस्रो स्वर्गमा लगियो। ३ हो, म त्यस्तो मानिसलाई चिन्छु, जसलाई शरीरमै हो वा विनाशरीर, म जान्दिनँ तर परमेश्वर नै जान्नुहुन्छ— ४ उठाएर प्रमोदवनमा लगियो र तिनले त्यहाँ यस्तो कुरा सुने, जुन उच्चारण गर्न सकिँदैन र जुन कुनै मानिसले आफ्नो मुखबाट निकाल्नु समेत हुँदैन। ५ यस्तो मानिसमा म घमन्ड गर्छु तर मेरा कमजोरीहरूबाहेक अरू कुरामा म आफ्नो विषयमा घमन्ड गर्दिनँ। ६ यदि मैले घमन्ड गर्न चाहेँ नै भने पनि म अव्यावहारिक हुँदिनँ किनकि म सत्य कुरा बताउँछु। तर म घमन्ड गर्दिनँ ताकि ममा देखेको वा मबाट सुनेको कुराबाहेक अरू कुनै कुराको श्रेय कसैले मलाई नदेओस्। ७ मैले त्यस्ता असाधारण सन्देश पाएको छु भन्दैमा कसैले मलाई चाहिनेभन्दा बढी नसम्झोस्।
म घमन्डले नफुलूँ भनेर मेरो शरीरमा एउटा छेस्को हालिएको छ,+ जसले मलाई सैतानको स्वर्गदूतले झैँ झापड हानिरहेको* छ ताकि चाहिनेभन्दा बढ्ता मेरो प्रशंसा नहोस्। ८ यो छेस्को मबाट हटोस् भनेर मैले प्रभुलाई तीन चोटि बिन्ती गरेँ। ९ तर उहाँले मलाई भन्नुभयो: “मेरो असीम अनुग्रह तिम्रो निम्ति पर्याप्त छ किनकि कमजोर हुँदा तिमीले मेरो पूरा शक्ति पाउँछौ।”+ तसर्थ अत्यन्तै खुसी भएर म आफ्ना कमजोरीहरूमा घमन्ड गर्नेछु ताकि ख्रिष्टको शक्ति ममाथि पालझैँ बिछ्याइयोस्। १० त्यसैले म ख्रिष्टको खातिर कमजोरीमा, अपमानमा, खाँचोमा, खेदोमा अनि कठिनाइहरूमा खुसी हुन्छु किनकि जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु।+
११ म अव्यावहारिक भएको छु। तिमीहरूले नै मलाई यस्तो हुन बाध्य पाऱ्यौ किनकि तिमीहरूले मेरो पक्षमा बोल्नुपर्थ्यो। किनकि तिमीहरूको नजरमा म केही मोलको नभए तापनि तिमीहरूका महाप्रेषितहरूभन्दा एउटै कुरामा कम साबित भइनँ।+ १२ साँच्चै भन्ने हो भने तिमीहरूमाझ मैले देखाएको ठूलो सहनशीलता,+ चमत्कार, आश्चर्यजनक कार्य र शक्तिशाली कामहरूद्वारा+ म प्रेषित हुँ भन्ने प्रमाण तिमीहरूले पाइसक्यौ। १३ तिमीहरूले अरू मण्डलीले भन्दा कुन कुरामा कम अनुमोदन पायौ र? सायद यसैमा कि म तिमीहरूको लागि बोझ बनिनँ।+ कृपया मेरो यो गल्ती माफ गरिदेओ।
१४ हेर, तिमीहरूकहाँ आउन म तयार भएको यो तेस्रो पटक हो र म तिमीहरूका निम्ति बोझ बन्नेछैनँ। म तिमीहरूको धनसम्पत्तिको होइन+ तर तिमीहरूको चाहना गर्छु+ किनकि छोराछोरीले आमाबुबाको लागि होइन तर आमाबुबाले छोराछोरीको लागि धनसम्पत्ति थुपारेको आशा गरिन्छ। १५ म तिमीहरूका निम्ति हाँसीखुसी खर्च गर्छु, यहाँसम्म कि आफू पनि पूरै खर्चिन्छु।+ यदि म तिमीहरूलाई यति धेरै प्रेम गर्छु भने के मैले चाहिँ थोरै प्रेम पाउने? १६ तर जे होस्, म तिमीहरूको निम्ति बोझ बनिनँ।+ तैपनि तिमीहरू म “धूर्त” थिएँ र मैले तिमीहरूलाई “छल गरेर” फसाएँ भन्छौ। १७ ज-जसलाई मैले तिमीहरूकहाँ पठाएँ, तिनीहरूमध्ये कसैमार्फत पनि मैले तिमीहरूको फाइदा उठाइनँ, उठाएँ र? १८ मैले तितसलाई आग्रह गरेर तिनीसँगै एक जना भाइलाई पठाएँ। के तितसले तिमीहरूबाट कुनै फाइदा उठाए?+ हामीले उस्तै मनोभाव देखायौँ नि, होइन र? हामी एउटै पदचिन्हमा हिँड्यौँ नि, होइन र?
१९ यतिन्जेल हामीले तिमीहरूलाई आफ्नो सफाइ दिइरहेका छौँ भनेर के तिमीहरू सोच्दै छौ? बरु ख्रिष्टको चेलाको नाताले हामी त परमेश्वरसामु पो बोलिरहेका हौँ। तर प्रियहरू हो, हामी सबै कुरा तिमीहरूकै उत्थानको निम्ति गर्छौँ। २० किनकि मलाई डर लाग्छ कि कतै म आउँदा मैले तिमीहरूलाई सोचेजस्तो नपाउँला अनि तिमीहरूले पनि मलाई आफूले सोचेजस्तो नपाऔला बरु मैले तिमीहरूमाझ कलह, डाह, रिसराग, फूट, निन्दो चर्चो, चुक्लीचाक्ली, घमन्ड अनि गोलमाल भइरहेको पो भेट्टाउँला। २१ म फेरि आउँदा मेरा परमेश्वरले मलाई तिमीहरूसामु लाजमा पार्नुहोला अनि मैले शोक गर्नुपर्ला भन्ने चिन्ता मलाई छ किनकि धेरैले आफूले पहिला गरेका पापहरूको पश्चात्ताप गरेका छैनन्। तिनीहरूले अहिलेसम्म अशुद्धपन, अवैध यौनसम्बन्ध* र निर्लज्ज आचरणप्रति* आफ्नो दृष्टिकोण बदलेका छैनन्।
१३ म तेस्रो चोटि तिमीहरूकहाँ आउँदै छु। “दुई वा तीन जना साक्षीको बयानको आधारमा* मात्र हरेक मामिलाको फैसला सुनाइनुपर्छ।”+ २ म अहिले तिमीहरूमाझ नभए तापनि म तिमीहरूकहाँ दोस्रो पटक उपस्थित भएको छु भनी सम्झेर मेरो कुरा मान। पहिला पाप गर्ने मानिसहरू अनि बाँकी सबैलाई म अहिल्यैदेखि चेतावनी दिँदै छु कि म फेरि आएँ भने तिनीहरूलाई छोड्नेछैनँ ३ किनकि ख्रिष्ट, जो तिमीहरूको लागि कमजोर हुनुहुन्न बरु तिमीहरूमाझ शक्तिशाली हुनुहुन्छ, उहाँ साँच्चै ममार्फत बोल्दै हुनुहुन्छ भन्ने कुराको प्रमाण तिमीहरू खोज्दै छौ। ४ किनकि वास्तवमा उहाँ कमजोर हालतमा खम्बामा मारिनुभयो तर परमेश्वरको शक्तिले गर्दा उहाँ जीवित हुनुहुन्छ।+ हो, हामी पनि उहाँजस्तै कमजोर छौँ तर तिमीहरूमाझ काम गर्ने परमेश्वरको त्यही शक्तिले+ गर्दा हामी उहाँसँगै जिउनेछौँ।+
५ तिमीहरू विश्वासमा छौ कि छैनौ भनी जाँचिरहो, तिमीहरू कस्ता मानिसहरू हौ, साबित गरिरहो।+ अथवा के तिमीहरूलाई थाह छैन, येसु ख्रिष्ट तिमीहरूसित एक हुनुहुन्छ? यदि हुनुहुन्न भने त तिमीहरूले उहाँको अनुमोदन पाएका रहेनछौ। ६ म साँच्चै आशा गर्छु कि हामीले अनुमोदन पाएका छौँ भनेर तिमीहरूले थाह पाउनेछौ।
७ अब हामी परमेश्वरलाई प्रार्थना गर्छौँ कि तिमीहरूले कुनै गलत काम नगर। हामी अनुमोदन पाएका मानिसहरू हौँ भनी देखियोस् भनेर त होइन तर तिमीहरूले असल काम गरिरहो भनेर हो, चाहे त्यसको निम्ति हामी अनुमोदन नपाएका मानिसहरूजस्तो किन देखिनु नपरोस्। ८ किनकि सत्यको विरुद्धमा हामी केही गर्न सक्दैनौँ तर सत्यको पक्षमा मात्र गर्न सक्छौँ। ९ हामी कमजोर भए तापनि तिमीहरू शक्तिशाली हुँदा हामी साँच्चै रमाउँछौँ। अनि तिमीहरूले आवश्यक छाँटकाँट गर भनी हामी प्रार्थना गर्दै छौँ। १० यसैकारण म तिमीहरूबाट टाढा रहेको बेला यी कुराहरू लेख्दै छु ताकि म त्यहाँ हुँदा मैले आफूले पाएको अख्तियार कडाइका साथ चलाउन नपरोस् किनभने प्रभुले मलाई यो अख्तियार+ तिमीहरूको उत्थान गराउन दिनुभएको हो, पतन गराउन होइन।
११ अन्तमा भाइहरू हो, आनन्दित भइरहो, छाँटकाँट गरिरहो, सान्त्वना पाइरहो,+ समान विचार राखिरहो+ र शान्तिपूर्वक बाँचिरहो।+ तब प्रेम र शान्तिका परमेश्वर+ तिमीहरूसित रहनुहुनेछ। १२ पवित्र चुम्बनले एकअर्कालाई अभिवादन गर। १३ सबै पवित्र जनले तिमीहरूलाई अभिवादन पठाएका छन्।
१४ प्रभु येसु ख्रिष्टको असीम अनुग्रह र परमेश्वरको प्रेम अनि हामी सबैले पाएको पवित्र शक्ति तिमीहरू सबैसित रहोस्।
शब्दावली हेर्नुहोस्।
वा “सङ्कष्टमा।”
वा “प्रोत्साहन।”
वा “सङ्कष्टमा।”
वा “सङ्कष्ट।”
वा सम्भवतः “तिमीहरूले पहिल्यै राम्ररी थाह पाइसकेको र बुझिसकेको।”
शा., “अन्तसम्मै।”
वा सम्भवतः “तिमीहरूले दुई चोटि लाभ उठाउन सक।”
तिनलाई सिलास पनि भनिन्छ।
वा “ग्यारेन्टीस्वरूप।”
वा “सैतानले हामीलाई छल गर्न नपाओस्।”
वा “योजनाहरूबारे; षड्यन्त्रहरूबारे।”
वा “परमेश्वरको वचनबाट फाइदा कमाउनेहरू होइनौँ।”
शा., “मासुको पाटीमा, मनमा।”
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
युह ४:२४ को फुटनोट हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
वा सम्भवतः “यहोवा परमेश्वरको पवित्र शक्तिले।”
शा., “न त परमेश्वरको वचनमा मिसावट गर्छौँ।”
शब्दावली हेर्नुहोस्।
वा सम्भवतः “हामीलाई निराशामा छोडिँदैन।”
वा “परीक्षा।”
वा “नष्ट हुन्छ।”
वा “निवासस्थानमा।”
वा “स्वर्गको निवासस्थान।”
वा “ग्यारेन्टीस्वरूप।”
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
सायद प्रहार गर्नको लागि।
सायद आफ्नो रक्षा गर्नको निम्ति।
वा “मर्न लायकको।”
वा “अनुशासन।”
वा “धार्मिकता।” शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्।
शा., “बेलिआलबीच।” यो एउटा हिब्रू शब्दबाट लिइएको हो, जसको अर्थ हो, “निकम्मा।”
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
वा “शुद्ध; निर्दोष।”
वा सम्भवतः “तिमीहरूले गर्दा म निकै साहसी हुन सकेको छु।”
अतिरिक्त लेख क५ हेर्नुहोस्।
शा., “साझेदार।”
यो एक रोमी प्रान्त थियो, जसको राजधानी कोरिन्थ थियो।
वा “हिचकिचाउँदै।”
शब्दावली हेर्नुहोस्।
वा “आफ्नै प्रशंसा गर्ने।”
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
शा., “परमेश्वरको जोसले।”
वा “शुद्ध।”
वा “शुद्धता।”
अर्थात्, परमेश्वरको शक्तिले।
शा., “अरू मण्डलीलाई लुटेँ।”
शब्दावली हेर्नुहोस्।
अर्थात्, मानवीय कुराहरूमा।
वा “लुगाको अभाव।”
शब्दावली हेर्नुहोस्।
वा “पिटिरहेको।”
ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्।
वा “छाडा आचरणप्रति।” ग्रीक भाषामा असेल्गिया। शब्दावलीमा “निर्लज्ज आचरण” हेर्नुहोस्।
शा., “साक्षीको मुखबाट।”