प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt गलाती १:१-६:१८
  • गलाती

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गलाती
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
गलाती

गलातीहरूलाई पत्र

१ म पावल, न मानिसहरूको तर्फबाट न त कुनै मानिसद्वारा तर येसु ख्रिष्ट अनि परमेश्‍वर, हाम्रा बुबाद्वारा प्रेषित* नियुक्‍त भएको हुँ,+ जसले ख्रिष्टलाई मृत्युबाट ब्युँताउनुभयो। २ म अनि मसित हुने सबै भाइहरूको तर्फबाट गलातियाका मण्डलीहरूलाई:

३ परमेश्‍वर, हाम्रा बुबाबाट र प्रभु येसु ख्रिष्टबाट तिमीहरूलाई असीम अनुग्रह र शान्ति मिलोस्‌। ४ हाम्रा परमेश्‍वर अनि बुबाको इच्छाबमोजिम+ हामीलाई वर्तमान दुष्ट युगबाट*+ उद्धार गर्न सकियोस्‌ भनेर हाम्रा पापहरूको निम्ति ख्रिष्टले आफैलाई अर्पण गर्नुभयो।+ ५ हाम्रा परमेश्‍वर अनि बुबाले सदासर्वदा महिमा पाऊन्‌। आमिन।

६ ख्रिष्टको असीम अनुग्रहद्वारा बोलाउनुहुने परमेश्‍वरबाट तर्केर* तिमीहरूले यति छिट्टै अर्कै किसिमको सुसमाचार ग्रहण गर्न थालेको देख्दा+ म छक्क पर्छु। ७ वास्तवमा अर्को सुसमाचारै छैन बरु केही मानिसले तिमीहरूलाई दुःख दिनुका+ साथै ख्रिष्टसित सम्बन्धित सुसमाचारलाई बङ्‌ग्याउन खोजिरहेका छन्‌। ८ तथापि हामीमध्ये कसैले वा स्वर्गबाट आएको दूतले समेत तिमीहरूलाई हामीले सुनाएको सुसमाचारभन्दा फरक अरू कुनै सुसमाचार सुनाउँछ भने ऊ श्रापित होस्‌। ९ हामीले पहिला पनि भनिसकेका छौँ अनि म फेरि भन्छु, तिमीहरूले स्विकारेको सुसमाचारभन्दा फरक अरू कुनै सुसमाचार कसैले सुनाउँछ भने ऊ श्रापित होस्‌।

१० अब म कसलाई मनाउने कोसिस गर्दै छु, मानिसहरूलाई कि परमेश्‍वरलाई? अथवा के म मानिसहरूलाई खुसी पार्न खोज्दै छु? यदि मैले अहिले पनि मानिसहरूलाई खुसी पारिरहेको भए त म ख्रिष्टको दास हुने थिइनँ। ११ ए भाइहरू हो, तिमीहरूले यो कुरा थाह पाएको म चाहन्छु, मैले तिमीहरूलाई सुनाएको सुसमाचार मानिसहरूबाट आएको होइन।+ १२ किनकि न त्यो मैले कुनै मानिसबाट पाएको हुँ न त कसैले मलाई सिकाएको हो तर येसु ख्रिष्टले मलाई प्रकट गर्नुभएको हो।

१३ पहिला यहुदी धर्म मान्दा+ म कस्तो व्यवहार गर्थेँ, तिमीहरूले पक्कै पनि सुनेका छौ कि कसरी मैले परमेश्‍वरको मण्डलीलाई गर्नुसम्म खेदो गर्थेँ अनि ध्वंस पार्थेँ।+ १४ अनि आफ्नै जातिका मेरा दौँतरीहरूले भन्दा मैले यहुदी धर्ममा धेरै प्रगति गर्दै थिएँ किनकि म आफ्ना पुर्खाहरूले बसालेका परम्पराहरू असाध्यै जोसिलो भएर पालन गर्थेँ।+ १५ तर यस संसारमा मेरो जन्म गराउनुहुने अनि ममाथि आफ्नो असीम अनुग्रह देखाउनुहुने परमेश्‍वरलाई+ जब यो असल लाग्यो कि १६ ममार्फत उहाँको छोरा प्रकट होऊन्‌ ताकि अन्यजातिका मानिसहरूलाई मैले उहाँको छोराको सुसमाचार सुनाऊँ,+ तब म उत्तिखेरै कुनै मानिससित सरसल्लाह लिन गइनँ १७ न त म आफूभन्दा पहिला प्रेषित भइसकेकाहरूलाई भेट्‌न यरुसलेम नै उक्लेँ बरु म अरबी भूमितिर लागेँ र पछि फेरि दमिसक फर्केँ।+

१८ त्यसको तीन वर्षपछि केफासलाई*+ भेट्‌न म यरुसलेम उक्लेँ + र तिनीसित १५ दिन बसेँ। १९ तर मैले प्रभुको भाइ याकुबबाहेक+ अरू कुनै प्रेषितलाई देखिनँ। २० म जे लेख्दै छु, त्यो झूट होइन भन्‍ने कुराको साक्षी परमेश्‍वर हुनुहुन्छ।

२१ त्यसपछि म सिरिया अनि सिलिसियाका इलाकाहरूमा गएँ।+ २२ तर यहुदियाका ख्रिष्टियन मण्डलीहरूले पहिले मलाई देखेका थिएनन्‌। २३ तिनीहरूले यति मात्र सुनेका थिए: “पहिले हाम्रो खेदो गर्ने मानिसले+ अहिले यही विश्‍वासबारे सुसमाचार प्रचार गर्दै छ, जुन विश्‍वासलाई उसले पहिले ध्वंस पारेको थियो।”+ २४ त्यसैले मेरो कारणले गर्दा तिनीहरूले परमेश्‍वरको महिमा गर्न थाले।

२ त्यसको १४ वर्षपछि बर्णाबाससित+ म फेरि यरुसलेम उक्लेँ अनि तितसलाई पनि आफूसँगै लगेँ।+ २ मलाई यरुसलेम जानू भनी प्रकट गरिएकोले म त्यहाँ गएँ अनि आफूले अन्यजातिका मानिसहरूलाई प्रचार गर्दै गरेको सुसमाचारबारे बताएँ। तर मैले त्यसबारे त्यहाँका गण्यमान्य पुरुषहरूसित मात्र कुरा गरेँ किनकि मैले जुन दौडधूप गरिरहेको थिएँ वा गरेको थिएँ, त्यो बेकार थिएन भनेर म पक्का गर्न चाहन्थेँ। ३ यद्यपि मसँगै गएका तितस+ ग्रीक भए तापनि उनलाई समेत तिनीहरूले खतना* गर्न कर गरेनन्‌।+ ४ तर यो मामिला ती झूटा भाइहरूले गर्दा उठेको थियो,+ जो हामीले ख्रिष्टको चेलाको रूपमा पाइरहेको स्वतन्त्रता+ खोसेर हामीलाई पूर्ण रूपमा आफ्नो दास बनाउन+ मण्डलीभित्र सुटुक्क घुसेका थिए। ५ तर तिनीहरूसामु हामी झुकेनौँ,+ अहँ, एकछिन* पनि झुकेनौँ। किनकि सुसमाचारको सत्यलाई तिमीहरूले पक्रिरहो भन्‍ने हामी चाहन्थ्यौँ।

६ तर जहाँसम्म गण्यमान्य भनी चिनिएका ती मानिसहरूको कुरा छ,+ तिनीहरूले वास्तवमा मलाई कुनै नयाँ कुरा बताएनन्‌। अरूले तिनीहरूलाई जतिसुकै महत्त्वपूर्ण ठानून्‌, त्यसले मलाई केही फरक पार्दैन किनकि परमेश्‍वरले मानिसको बाहिरी रूप हेर्नुहुन्‍न। ७ बरु खतना भएका मानिसहरूलाई सुसमाचार सुनाउने जिम्मेवारी पत्रुसलाई सुम्पिइएजस्तै खतना नभएका मानिसहरूलाई सुसमाचार सुनाउने जिम्मेवारी मलाई सुम्पिइएको छ+ भनी जब तिनीहरूले देखे— ८ किनकि खतना भएकाहरूको प्रेषित बन्‍न जसले पत्रुसलाई शक्‍ति दिनुभयो, उहाँले नै मलाई अन्यजातिका मानिसहरूको प्रेषित बन्‍न शक्‍ति दिनुभयो+— ९ अनि ममाथि देखाइएको असीम अनुग्रहबारे+ जब तिनीहरूले थाह पाए, तब मण्डलीका खम्बाहरू ठानिएका याकुब,+ केफास* अनि युहन्‍नाले बर्णाबास र मसित मित्रताको* दाहिने हात मिलाउँदै हामी अन्यजातिका मानिसहरूकहाँ जाने+ अनि तिनीहरूचाहिँ खतना भएका मानिसहरूकहाँ जाने सहमति जनाए। १० तिनीहरूले यति मात्र भने कि गरिब भाइहरूको ख्याल गर्नू। अनि मैले त्यसै गर्ने पूरापूर कोसिस गरेको छु।+

११ तथापि जब केफास*+ एन्टिओक+ आए, तब तिनकै सामुन्‍ने मैले तिनको विरोध गरेँ किनकि तिनी दोषी थिए भन्‍ने कुरा प्रस्टै थियो। १२ किनभने याकुबका+ केही मानिसहरू आउनुअघि तिनी अन्यजातिका मानिसहरूसित खान्थे+ तर जब तिनीहरू आए, तब खतना भएका मानिसहरूसित डराएर तिनले त्यसो गर्न छोडिदिए र अन्यजातिका मानिसहरूदेखि पन्छिए।+ १३ यो देखेर अरू यहुदीहरूले पनि तिनले जस्तै देखावटी* व्यवहार गर्न थाले। यहाँसम्म कि तिनीहरूको लहैलहैमा लागेर बर्णाबासले समेत त्यस्तै देखावटी व्यवहार गरे। १४ जब मैले यी मानिसहरूलाई सुसमाचारको सत्यबमोजिम ठीकसित चलिरहेको देखिनँ,+ तब तिनीहरू सबैको सामुन्‍ने केफासलाई* यसो भनेँ: “यदि तपाईँ यहुदी भएर पनि यहुदीहरू जस्तो नभई अन्यजातिका मानिसहरू जस्तो गरी चल्नुहुन्छ भने तपाईँले अन्यजातिका मानिसहरूलाई यहुदी रीतिरिवाजबमोजिम चल्न कसरी बाध्य पार्न सक्नुहुन्छ?”+

१५ हामी जो जन्मजात यहुदी हौँ र अन्यजातिजस्ता पापी होइनौँ, १६ हामीलाई यो थाह छ कि मानिस व्यवस्था पालन गरेर होइन तर येसु ख्रिष्टमाथि विश्‍वास गरेर मात्र धर्मी ठहरिन्छ।+ त्यसैगरि हामीले पनि ख्रिष्ट येसुमाथि विश्‍वास राखेका छौँ ताकि ख्रिष्टमाथि राखेको विश्‍वासले गर्दा हामी धर्मी ठहरिन सकौँ, व्यवस्था पालन गरेकोले त होइन किनकि व्यवस्था पालन गरेर कोही मानिस धर्मी ठहरिन सक्दैन।+ १७ अब यदि हामी, जो ख्रिष्टद्वारा धर्मी ठहरिने कोसिस गर्दै छौँ, हामी नै पापी ठहरियौँ भने के वास्तवमा ख्रिष्टले नै पाप गर्न प्रोत्साहन दिइरहनुभएको हुँदैन र? त्यस्तो त हुनै सक्दैन! १८ जुन कुरा मैले भत्काइसकेँ, त्यसलाई फेरि बनाउन थालेँ भने मैले आफैलाई अपराधी साबित गरिरहेको हुन्छु। १९ किनकि व्यवस्थाद्वारा म व्यवस्थाको नजरमा मरिसकेँ+ ताकि परमेश्‍वरको निम्ति म जीवित हुन सकूँ। २० म ख्रिष्टसँगै खम्बामा टाँगिएको छु।+ त्यसैले अब म जीवित छैनँ+ तर ख्रिष्ट ममा जीवित हुनुहुन्छ। भनौँ भने अहिले म जुन जीवन बिताइरहेको छु, त्यो परमेश्‍वरको छोरामाथि विश्‍वास गरेर बिताउँछु,+ जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो।+ २१ म परमेश्‍वरको असीम अनुग्रहलाई तिरस्कार गर्दिनँ*+ किनकि यदि व्यवस्था पालन गरेरै धर्मी ठहरिने भए ख्रिष्ट वास्तवमा बेकारमा मर्नुभयो।+

३ ए अबुझ गलातीहरू हो, कसले तिमीहरूलाई भ्रममा पाऱ्‍यो?+ येसु ख्रिष्ट किन खम्बामा टाँगिनुभयो भनेर+ तिमीहरूलाई पहिल्यै स्पष्टसित बुझाइएको थियो। २ म तिमीहरूबाट केवल यो जान्‍न चाहन्छु: तिमीहरूले कसरी पवित्र शक्‍ति पायौ, व्यवस्था पालन गरेर वा आफूले सुनेको कुरामा विश्‍वास गरेर?+ ३ के तिमीहरू यत्तिको अबुझ छौ? के तिमीहरू आध्यात्मिक मार्गमा* चल्न सुरु गरेर अन्तमा आएर चाहिँ शारीरिक मार्गमा चल्दै छौ?+ ४ के तिमीहरूले बेकारमा यत्ति धेरै दुःख भोग्यौ? त्यो बेकार थियो भनी म मान्दिनँ। ५ जसले तिमीहरूलाई पवित्र शक्‍ति दिन्छ र तिमीहरूमाझ शक्‍तिशाली कामहरू गर्छ,+ तिनी किन त्यसो गर्छन्‌, तिमीहरूले व्यवस्था पालन गरेकाले वा आफूले सुनेको कुरामा तिमीहरूले विश्‍वास गरेकाले? ६ अब्राहामले पनि “यहोवा* परमेश्‍वरमाथि विश्‍वास गरे र यसले गर्दा तिनी उहाँको नजरमा धर्मी ठहरिए।”+

७ तिमीहरूलाई पक्कै थाह छ, विश्‍वासअनुसार चल्नेहरू नै अब्राहामका सन्तान हुन्‌।+ ८ परमेश्‍वरले अन्यजातिका मानिसहरूलाई विश्‍वासको आधारमा धर्मी ठहराउनुहुनेछ भनेर पहिल्यै देखेको हुनाले धर्मशास्त्रले अब्राहामलाई पहिल्यै यो सुसमाचार सुनायो: “तिमीद्वारा सबै जातिले आशिष्‌ पाउनेछन्‌।”+ ९ यसकारण जो विश्‍वासअनुसार चल्छन्‌, तिनीहरूले अब्राहामले जस्तै आशिष्‌ पाउँछन्‌, जोसँग विश्‍वास थियो।+

१० व्यवस्थाबमोजिमको काममा भर पर्नेहरू सबै श्रापित हुन्‌ किनकि यस्तो लेखिएको छ: “मोसाको व्यवस्थाको मुठामा लेखिएको हरेक कुरा पालन नगर्ने सबै जना श्रापित हुन्‌।”+ ११ यसबाहेक व्यवस्थाद्वारा कोही पनि परमेश्‍वरको नजरमा धर्मी ठहरिँदैन भन्‍ने कुरा प्रस्ट छ+ किनभने यस्तो लेखिएको छ, “धर्मी मानिस विश्‍वासैले गर्दा जिउनेछ।”+ १२ अब मोसाको व्यवस्थाको आधार विश्‍वास होइन किनकि यस्तो लेखिएको छ, “जसले यी कुराहरू गर्छ, ऊ जिउनेछ।”+ १३ ख्रिष्टले हामीलाई किन्‍नुभयो+ र हाम्रो सट्टामा आफै श्रापित हुनुभएर हामीलाई मोसाको व्यवस्थाको श्रापबाट छुटाउनुभयो+ किनभने यस्तो लेखिएको छ: “खम्बामा टाँगिएको हरेक मानिस श्रापित हुन्छ।”+ १४ यसको उद्देश्‍य यही थियो कि अन्यजातिले ख्रिष्ट येसुद्वारा अब्राहामको आशिष्‌ पाऊन्‌+ अनि हामीले आफ्नो विश्‍वासद्वारा प्रतिज्ञा गरिएको पवित्र शक्‍ति+ पाउन सकौँ।

१५ भाइहरू हो, मानिसहरूको चलनलाई लिएर म एउटा उदाहरण दिन्छु: कुनै करार पक्का भइसकेपछि, चाहे त्यसलाई कुनै मानिसले नै पक्का गरेको किन नहोस्‌, कसैले त्यसलाई रद्द गर्दैन वा त्यसमा थपथाप गर्दैन। १६ अब प्रतिज्ञाहरू अब्राहाम र तिनको सन्तानलाई* गरिएको थियो।+ मानौँ धेरै जनालाई प्रतिज्ञा गरिएजस्तो गरी “सन्तानहरूलाई”* भनिएको छैन बरु एक जनालाई मात्र प्रतिज्ञा गरिए जस्तो गरी यसो भनिएको छ: “र तिम्रा सन्तानको,”* जो ख्रिष्ट हुनुहुन्छ।+ १७ साथै म यसो भन्छु: परमेश्‍वरले पहिल्यै गर्नुभएको करारलाई ४३० वर्षपछि अस्तित्वमा आएको+ मोसाको व्यवस्थाले रद्द गर्दैन र त्यसले प्रतिज्ञालाई खारेज पनि गर्दैन। १८ किनकि यदि उत्तराधिकार व्यवस्थाको आधारमा दिइने हो भने प्रतिज्ञाको आधारमा पाउने कुरै भएन तर परमेश्‍वरले दया गरेर अब्राहामलाई यो उत्तराधिकार प्रतिज्ञाद्वारा दिनुभएको हो।+

१९ त्यसोभए मोसाको व्यवस्था किन दिइयो त? यो पछि यसकारणले दिइएको थियो कि जुन सन्तानलाई प्रतिज्ञा गरिएको थियो, त्यो सन्तान नआउन्जेल+ अपराधहरू प्रकट होस्‌।+ अनि यो व्यवस्था स्वर्गदूतहरूमार्फत+ एक जना मध्यस्थकर्ताद्वारा+ दिइयो। २० जहाँ एउटा पक्ष मात्र हुन्छ, त्यहाँ कुनै मध्यस्थकर्ताको खाँचो पर्दैन; परमेश्‍वरले प्रतिज्ञा गर्नुहुँदा उहाँ मात्र एउटा पक्ष हुनुहुन्थ्यो। २१ त्यसोभए के मोसाको व्यवस्था परमेश्‍वरका प्रतिज्ञाहरूको विरुद्धमा थियो? त्यस्तो हुनै सक्दैन! किनकि यदि जीवन दिन सक्ने व्यवस्था दिइएको भए व्यवस्थाद्वारा साँच्चै धर्मी ठहरिन सकिने थियो। २२ तर धर्मशास्त्रले सबै कुरा पापको हिरासतमा सुम्पिदियो ताकि येसु ख्रिष्टमाथिको विश्‍वासद्वारा पाइने प्रतिज्ञा विश्‍वास गर्नेजतिलाई दिइयोस्‌।

२३ तथापि विश्‍वास आउनुअघि व्यवस्थाले हाम्रो रखवाली गरिरहेको थियो, हामी सबै त्यसको हिरासतमा सुम्पिइएका थियौँ अनि हामी त्यस विश्‍वासको बाटो हेरिरहेका थियौँ, जुन प्रकट हुन लागेको थियो।+ २४ यसरी मोसाको व्यवस्था ख्रिष्टसम्म पुऱ्‍याउने हाम्रो अभिभावक* बन्यो+ ताकि विश्‍वासले गर्दा हामी धर्मी ठहरिन सकौँ।+ २५ तर अब विश्‍वास आइपुगेको छ,+ त्यसैले हामी अभिभावकको अधीनमा छैनौँ।+

२६ ख्रिष्ट येसुमा विश्‍वास गरेकाले तिमीहरू सबै वास्तवमा परमेश्‍वरका छोराहरू हौ।+ २७ किनकि तिमीहरू सबै, जसको ख्रिष्टमा बप्तिस्मा भएको थियो, तिमीहरूले ख्रिष्टलाई धारण गरेका छौ।+ २८ यसैले तिमीहरू न यहुदी न ग्रीक,+ न दास न स्वतन्त्र मानिस,+ न पुरुष न स्त्री नै हौ+ किनकि तिमीहरू सबै ख्रिष्ट येसुमा एक हौ।+ २९ यसबाहेक यदि तिमीहरू ख्रिष्टका हौ भने तिमीहरू साँच्चै अब्राहामका सन्तान+ र प्रतिज्ञाका+ उत्तराधिकारीहरू हौ।+

४ अब म भन्छु, उत्तराधिकारी बालक छउन्जेल ऊ सारा सम्पत्तिको मालिक भए तापनि एक जना दासभन्दा केही फरक हुँदैन २ तर उसको बुबाले पहिल्यै तोकेको दिनसम्म ऊ अभिभावक र भण्डारेहरूको अधीनमा हुन्छ। ३ त्यसैगरि हामी पनि बालक छउन्जेल संसारका आधारभूत कुराहरूको दासत्वमा थियौँ।+ ४ तर तोकिएको समय पूरा भएपछि परमेश्‍वरले आफ्नो छोरालाई पठाउनुभयो, जो एक जना स्त्रीबाट जन्मनुभयो+ र व्यवस्थाको अधीनमा हुनुभयो।+ ५ व्यवस्थाको अधीनमा भएकाहरूलाई किनेर छुटाउन+ अनि यसरी हामीलाई धर्मपुत्रको रूपमा ग्रहण गर्न सकियोस्‌ भनेर+ परमेश्‍वरले यसो गर्नुभयो।

६ अब तिमीहरू उहाँका छोराहरू भएकोले परमेश्‍वरले आफ्नो छोरालाई दिनुभएको पवित्र शक्‍ति हाम्रो हृदयमा पनि हालिदिनुभएको छ+ र यसले “अब्बा,* हे बुबा!” भनेर पुकार्छ।+ ७ त्यसैले अब तिमी दास होइनौ तर छोरा हौ अनि यदि छोरा हौ भने परमेश्‍वरले तिमीलाई उत्तराधिकारी पनि बनाउनुभएको छ।+

८ यद्यपि परमेश्‍वरलाई नचिन्दा तिमीहरू तिनीहरूको दास थियौ, जो वास्तवमा ईश्‍वरै होइनन्‌। ९ तर अहिले तिमीहरूले परमेश्‍वरलाई चिनेका छौ, अझ भन्‍ने हो भने परमेश्‍वरले तिमीहरूलाई चिन्‍नुभएको छ तैपनि तिमीहरू किन कमजोर+ अनि मूल्यहीन आधारभूत कुराहरूतर्फ फर्कन्छौ र फेरि त्यसैको दास बन्‍न खोज्छौ?+ १० तिमीहरू तिथि, महिना, ऋतु र वर्षहरू एउटै नछुटाई मनाउँछौ।+ ११ मैले तिमीहरूको खातिर बेकारमा परिश्रम गरेँ कि भन्‍ने डर मलाई लागेको छ।

१२ भाइहरू हो, म बिन्ती गर्छु, तिमीहरू मजस्तै होओ किनकि पहिला म पनि तिमीहरूजस्तै थिएँ।+ तिमीहरूले मेरो केही खराबी गरेका छैनौ। १३ तर तिमीहरूलाई थाह छ, म बिरामी परेकोले तिमीहरूलाई पहिलो पटक सुसमाचार सुनाउने मौका पाएको थिएँ। १४ मेरो बिमारी तिमीहरूको लागि एउटा परीक्षा थियो तैपनि तिमीहरूले मलाई घृणा गरेनौ वा मदेखि घिन मानेनौ।* तर तिमीहरूले मलाई परमेश्‍वरको स्वर्गदूतलाई झैँ, ख्रिष्ट येसुलाई झैँ ग्रहण गऱ्‍यौ। १५ तिमीहरूसित भएको त्यो उमङ्‌ग अहिले खोइ? किनकि म यो कुरामा पक्का छु, सम्भव भएको भए तिमीहरूले आफ्ना आँखा निकालेर मलाई दिने थियौ।+ १६ त्यसोभए तिमीहरूसित सत्य बोलेकोले के अब म तिमीहरूको शत्रु भएँ? १७ तिमीहरूलाई आफूतिर तान्‍न तिनीहरू जोसका साथ तिमीहरूको पछि लागेका छन्‌ तर तिनीहरूको मनसाय राम्रो छैन। तिमीहरू उत्सुक भएर तिनीहरूको पछिपछि लाग भनेर तिनीहरू तिमीहरूलाई मबाट टाढा लैजान चाहन्छन्‌। १८ तर यदि कोही राम्रो मनसायले जोसका साथ तिमीहरूको पछि लाग्छ भने त्यो राम्रो हो। उसले म तिमीहरूमाझ उपस्थित हुँदा मात्र होइन तर हरसमय त्यसो गरोस्‌। १९ हे मेरा साना केटाकेटी हो,+ जबसम्म तिमीहरूभित्र ख्रिष्टले आकार लिनुहुन्‍न,* तबसम्म तिमीहरूका लागि म फेरि प्रसववेदनामा परिरहन्छु। २० अहिल्यै तिमीहरूसामु उपस्थित भएर तिमीहरूसँग बेग्लै तरिकामा बोल्न पाए पनि हुन्थ्यो किनकि तिमीहरूले गर्दा म अन्योलमा परेको छु।

२१ ए व्यवस्थाको अधीनमा रहन चाहनेहरू हो, मलाई भन, मोसाको व्यवस्थाले बताएको कुरा के तिमीहरूले सुनेका छैनौ? २२ उदाहरणका लागि, यस्तो लेखिएको छ, अब्राहामका दुई जना छोरा थिए, एक जना नोकर्नीबाट+ र अर्कोचाहिँ स्वतन्त्र स्त्रीबाट।+ २३ तर जो नोकर्नीबाट जन्मेको थियो, ऊ स्वाभाविक तरिकामा जन्मेको थियो+ अनि स्वतन्त्र स्त्रीबाट जन्मेकोचाहिँ प्रतिज्ञाद्वारा जन्मेको थियो।+ २४ यी कुराहरूको प्रतीकात्मक अर्थ छ किनकि यी स्त्रीहरूको अर्थ दुई वटा करार हो, एउटा सिनै डाँडामा पाएको करार,+ जो हागार हो र जसले दासत्वको लागि छोराछोरी जन्माउँछ। २५ अब हागारको अर्थ अरबी भूमिमा भएको सिनै डाँडा हो+ र तिनलाई आजको यरुसलेमसित तुलना गर्न सकिन्छ किनकि यरुसलेम आफ्ना छोराछोरीसँगै दासत्वमा छिन्‌। २६ तर माथिको यरुसलेम स्वतन्त्र छिन्‌ र उनी हाम्री आमा हुन्‌।

२७ किनकि यस्तो लेखिएको छ: “ए कोख थुनिएकी बाँझी स्त्री, रमाऊ; प्रसववेदना नभोगेकी ए स्त्री, खुसी हुँदै जयजयकार गर किनकि पति भएकी स्त्रीका भन्दा पतिले त्यागेको स्त्रीका छोराछोरी धेरै हुनेछन्‌।”+ २८ अब हे भाइहरू हो, तिमीहरू पनि इसहाकजस्तै प्रतिज्ञाअनुसारै जन्मेका छोराछोरी हौ।+ २९ तर त्यतिखेर जो स्वाभाविक तरिकामा जन्मेको थियो, उसले पवित्र शक्‍तिद्वारा जन्मेकोलाई खेदो गर्न थाल्यो,+ अहिले पनि अवस्था त्यस्तै छ।+ ३० यद्यपि धर्मशास्त्र के भन्छ? “त्यो नोकर्नी र त्यसको छोरालाई घरबाट निकालिदिनुहोस्‌ किनकि त्यसको छोरा कुनै हालतमा स्वतन्त्र स्त्रीको छोरासँग बराबरको हकवाला बन्‍न पाउनेछैन।”+ ३१ त्यसैले भाइहरू हो, हामी नोकर्नीको होइन तर स्वतन्त्र स्त्रीका छोराछोरी हौँ।

५ ख्रिष्टले हामीलाई यस्तो स्वतन्त्रताको लागि स्वतन्त्र पार्नुभएकोले स्थिर भइरहो+ अनि दासत्वको जुवामुनि आफूलाई फेरि जोतिन नदेओ।+

२ हेर, म पावल तिमीहरूलाई भन्दै छु कि यदि तिमीहरूले खतना गऱ्‍यौ भने ख्रिष्टबाट तिमीहरूलाई केही फाइदा हुनेछैन।+ ३ खतना गर्ने सबै मानिसलाई म यो फेरि भन्छु कि यदि कसैले खतना गर्छ भने ऊ मोसाको व्यवस्थाका सबै नियम पालन गर्न बाध्य हुन्छ।+ ४ तिमीहरू जो व्यवस्थाद्वारा धर्मी ठहरिन कोसिस गर्छौ,+ तिमीहरू ख्रिष्टबाट टाढा भएका छौ। तिमीहरू उहाँको असीम अनुग्रहको दायराबाहिर पुगेका छौ। ५ हामीचाहिँ पवित्र शक्‍ति अनि विश्‍वासद्वारा धर्मी ठहरिने आशा गर्दै उत्सुकतासाथ पर्खिरहेका छौँ। ६ किनकि जो ख्रिष्टसँग एकतामा छन्‌, तिनीहरूका लागि खतना गरे पनि, नगरे पनि त्यसको केही मोल हुँदैन+ तर प्रेमद्वारा उत्प्रेरित विश्‍वासको मोल हुन्छ।

७ तिमीहरू सत्यको मार्गमा राम्ररी चलिरहेका थियौ।*+ तर कसले तिमीहरूलाई सत्यको पालना गरिरहनदेखि रोक्यो? ८ यस्तो किसिमको शिक्षा तिमीहरूलाई बोलाउनुहुनेको तर्फबाट आएको होइन। ९ अलिकता खमिरले* पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ।+ १० तिमीहरू जो प्रभुसित एकतामा छौ,+ म तिमीहरूबारे विश्‍वस्त छु कि तिमीहरूले फरक सोचाइ राख्नेछैनौ। तर तिमीहरूलाई दुःख दिने+ चाहे जोसुकै किन नहोस्‌, त्यसले आफूले पाउनुपर्ने सजाय पाउनेछ। ११ भाइहरू हो, जहाँसम्म मेरो कुरा छ, यदि मैले अझै पनि खतनाकै विषयमा प्रचार गरिरहेको भए किन मेरो खेदो गरिन्थ्यो र? यदि मैले खतनाकै विषयमा प्रचार गरिरहेको भए यातनाको खम्बाले* गर्दा कसैलाई ठेस लाग्ने नै थिएन।+ १२ जसले तिमीहरूको पतन गराउन खोजिरहेका छन्‌, तिनीहरूले आफ्नै अङ्‌ग काटे बेस हुने थियो।*

१३ भाइहरू हो, तिमीहरू स्वतन्त्र हुन बोलाइएका थियौ। तर तिमीहरूले यो स्वतन्त्रता शरीरका इच्छाहरूको पछि लाग्न नचलाओ+ बरु प्रेमद्वारा एकअर्काको दास बनेर सेवा गर।+ १४ किनकि मोसाको सम्पूर्ण व्यवस्था यही एउटा आज्ञामा पूरा हुन्छ:* “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”+ १५ यदि तिमीहरू एकअर्कालाई टोक्ने र निल्ने गर्छौ भने+ होसियार रहो नत्र त तिमीहरू एकअर्काद्वारा नष्ट हुनेछौ।+

१६ तर म भन्छु, पवित्र शक्‍तिको भरमा हिँडिरहो,+ तब तिमीहरूले कुनै किसिमको शारीरिक इच्छा कदापि पूरा गर्नेछैनौ।+ १७ किनकि शरीरको इच्छा पवित्र शक्‍तिको विरुद्धमा हुन्छ अनि पवित्र शक्‍ति शरीरको विरुद्धमा; यिनीहरू एकअर्काको विरुद्धमा हुन्छन्‌, यसैकारण तिमीहरू जे गर्न चाहन्छौ, त्यो गर्दैनौ।+ १८ साथै तिमीहरू पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चलिरहेका छौ भने तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ।

१९ अब शरीरका कामहरू प्रस्ट छन्‌। ती हुन्‌: अवैध यौनसम्बन्ध,*+ अशुद्धपन, निर्लज्ज आचरण,*+ २० मूर्तिपूजा, तन्त्रमन्त्र,*+ दुस्मनी, कलह, डाह, रिस, झगडा, फूट, गुटबन्दी, २१ ईर्ष्या, अत्यधिक मद्यपान,+ भोजको अनियन्त्रित मोजमस्ती र यस्तै अरू कुरा।+ मैले तिमीहरूलाई पहिल्यै चेतावनी दिइसकेझैँ यी कुराहरूको विषयमा म फेरि पनि चेतावनी दिँदै छु कि यस्ता कुराहरूमा लागिरहने मानिसहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।+

२२ अर्कोतर्फ पवित्र शक्‍तिको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ,+ विश्‍वास, २३ कोमलता, आत्मसंयम हो।+ यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन। २४ साथै जो ख्रिष्ट येसुका हुन्‌, तिनीहरूले आफ्नो शरीरलाई त्यसका वासना र कुइच्छासहित खम्बामा टाँगेका छन्‌।+

२५ यदि हामी पवित्र शक्‍तिको भरमा बाँचिरहेका छौँ भने आओ, हामी पवित्र शक्‍तिकै भरमा ठीकसित हिँडिरहौँ।+ २६ हामी फोस्रो घमन्ड नगरौँ,+ प्रतिस्पर्धा गर्न एकअर्कालाई नउक्साऔँ + अनि एकअर्काको ईर्ष्या नगरौँ।

६ भाइहरू हो, यदि कोही मानिसले अनजानमा कुनै गलत कदम चाल्यो भने तिमीहरू जो आध्यात्मिक रूपमा परिपक्व छौ, कोमलताको भावले+ यस्तो मानिसलाई सच्याउने कोसिस गर। तर तिमीहरू आफू पनि परीक्षामा नपर्न+ होसियार होओ।+ २ एकअर्काको बोझ बोक्ने गर,+ यसरी तिमीहरूले ख्रिष्टको व्यवस्था पूरा गरिरहेका हुनेछौ।+ ३ किनकि यदि कसैले आफू केही नभए तापनि को-को न हुँ भनी सम्झन्छ भने+ उसले आफैलाई धोका दिइरहेको हुन्छ। ४ तर हरेकले आफ्नो काम जाँचोस्‌,+ तब उसले अरूसित तुलना गरेर होइन तर आफ्नै काममा रमाउने कारण पाउनेछ।+ ५ किनकि हरेकले आफ्नो भारी* आफै बोक्नेछ।+

६ साथै जसले परमेश्‍वरको वचनसम्बन्धी शिक्षा* सिकिरहेको छ, उसले यस्तो शिक्षा दिनेसित सबै असल कुरा बाँडचुँड गरोस्‌।+

७ नबहकिओ: परमेश्‍वरलाई झुक्क्याउन सकिँदैन* किनकि मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ।+ ८ किनकि जसले शरीरको लागि छर्छ, उसले आफ्नो शरीरबाट विनाशको कटनी गर्नेछ तर जसले पवित्र शक्‍तिको लागि छर्छ, उसले पवित्र शक्‍तिबाट अनन्त जीवनको कटनी गर्नेछ।+ ९ त्यसैले आओ, हामी असल काम गर्नमा हरेस नखाऔँ किनकि थाकेनौँ भने* हामीले ठीक समयमा कटनी गर्नेछौँ।+ १० त्यसैले मौका* छँदै हामी सबैको भलाइ गरौँ, अझ विशेषगरि एउटै विश्‍वास हुने हाम्रा भाइबहिनीको।

११ हेर, मैले आफ्नै हातले कत्ति ठूलठूला अक्षरहरूमा यो चिठी लेखेको छु।

१२ जो मानिसहरूमा राम्रो प्रभाव पार्न चाहन्छन्‌,* तिनीहरू नै तिमीहरूलाई खतना गर्न कर गर्ने मानिसहरू हुन्‌। ख्रिष्टको यातनाको खम्बाको* कारण आइपर्ने खेदोबाट उम्कन मात्र तिनीहरूले त्यसो गरेका हुन्‌। १३ किनकि खतना गर्नेहरू आफै पनि मोसाको व्यवस्था पालन गर्दैनन्‌+ तर तिमीहरूको विषयमा घमन्ड गर्न सकियोस्‌ भनेर तिमीहरूले चाहिँ खतना गरेको तिनीहरू चाहन्छन्‌। १४ तर म भने हाम्रा प्रभु येसु ख्रिष्टको यातनाको खम्बाबाहेक* अरू कुनै कुरामा कहिल्यै घमन्ड गर्नेछैनँ।+ उहाँद्वारै संसार मेरो नजरमा मरिसकेको छ* अनि म संसारको नजरमा। १५ किनकि न खतना गर्नु महत्त्वपूर्ण कुरा हो न त खतना नगर्नु नै+ तर नयाँ सृष्टि महत्त्वपूर्ण कुरा हो।+ १६ यस नियमबमोजिम ठीकसित चल्नेहरूजति सबैमाथि अर्थात्‌ परमेश्‍वरको इस्राएलमाथि+ शान्ति र कृपा होस्‌।

१७ अब आइन्दा कसैले मलाई दुःख नदेओस्‌ किनकि म येसुको दास हुँ भनी चिनाउने डाम मेरो शरीरमा छ।+

१८ भाइहरू हो, तिमीहरूले देखाउने मनोभावमा हाम्रा प्रभु येसु ख्रिष्टको असीम अनुग्रह रहोस्‌। आमिन।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “बोलाउनुहुनेलाई छोडेर।”

तिनलाई पत्रुस पनि भनिन्छ।

शब्दावली हेर्नुहोस्‌।

शा., “एक घण्टा।”

तिनलाई पत्रुस पनि भनिन्छ।

वा “साझेदारीको।”

तिनलाई पत्रुस पनि भनिन्छ।

वा “कपटी।”

तिनलाई पत्रुस पनि भनिन्छ।

वा “पन्छ्याउँदिनँ।”

वा “पवित्र शक्‍तिअनुसार।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “वंशलाई।”

वा “वंशहरूलाई।”

वा “वंशको।”

वा “शिक्षक।”

यो हिब्रू वा अरामी शब्द हुन सक्छ, जसको अर्थ हो, “हे बुबा!”

वा “मलाई थुकेनौ।”

शा., “ख्रिष्ट बन्‍नुहुन्‍न।”

शा., “तिमीहरू राम्ररी दौडिरहेका थियौ।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “आफैलाई सुमरे बेस हुने थियो; आफैलाई नपुंसक बनाए बेस हुने थियो” ताकि जुन व्यवस्थालाई तिनीहरू बढवा दिन्थे, त्यही व्यवस्था पालन गर्न तिनीहरू अयोग्य ठहरिऊन्‌।

वा सम्भवतः “सम्पूर्ण व्यवस्थाको सारांश यही आज्ञामा पाइन्छ।”

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

वा “छाडा आचरण।” ग्रीक भाषामा असेल्गिया। शब्दावलीमा “निर्लज्ज आचरण” हेर्नुहोस्‌।

वा “टुनामुना; लठ्‌याउने पदार्थको प्रयोग।”

वा “जिम्मेवारीको भारी।”

वा “मौखिक शिक्षा।”

शा., “परमेश्‍वरको खिल्ली उडाउन सकिँदैन।”

वा “हार मानेनौँ भने।”

शा., “तोकिएको समय।”

वा “जो बाहिरबाट राम्रा देखिन चाहन्छन्‌।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “खम्बामा टाँगिएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने