प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt एफिसी १:१-६:२४
  • एफिसी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एफिसी
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
एफिसी

एफिसीहरूलाई पत्र

१ परमेश्‍वरको इच्छाद्वारा ख्रिष्ट येसुको प्रेषित* बनेको म पावलबाट, ख्रिष्ट येसुसित एकतामा भएका एफिससका+ पवित्र तथा विश्‍वासी जनहरूलाई पत्र:

२ परमेश्‍वर, हाम्रा बुबाबाट र प्रभु येसु ख्रिष्टबाट तिमीहरूलाई असीम अनुग्रह र शान्ति मिलोस्‌।

३ हाम्रा प्रभु येसु ख्रिष्टका परमेश्‍वर र बुबाको प्रशंसा होस्‌ किनकि हामी ख्रिष्टसित एकतामा भएकोले+ उहाँले हामीलाई आफ्नो पवित्र शक्‍तिद्वारा स्वर्गमा हरकिसिमका आशिष्‌ दिनुभएको छ। ४ उहाँसित* एकतामा हुन सकौँ भनेर संसारको प्रारम्भ हुनुभन्दा अघि नै उहाँले हामीलाई छान्‍नुभयो। हामीले प्रेम प्रकट गरौँ अनि उहाँसामु हामी पवित्र र निष्खोट हुन सकौँ + भनेर उहाँले हामीलाई यसरी छान्‍नुभएको हो। ५ आफ्नो चाहना अनि इच्छाबमोजिम+ येसु ख्रिष्टमार्फत हामीलाई आफ्नो धर्मपुत्र बनाउन+ उहाँले हामीलाई पहिल्यै नियुक्‍त गर्नुभयो।+ ६ हामीमाथि दया गरेर आफ्नो प्रिय जनद्वारा+ प्रकट गर्नुभएको असीम अनुग्रहको+ महिमा होस्‌ भनेर उहाँले यसो गर्नुभयो। ७ ख्रिष्टले आफ्नो रगतद्वारा तिर्नुभएको फिरौतीमार्फत+ हामीले छुटकारा पाएका छौँ। हो, उहाँद्वारै हामीले आफ्ना पापहरूको क्षमा पाएका छौँ,+ जुन हामीमाथि परमेश्‍वरले प्रशस्तगरि देखाउनुभएको असीम अनुग्रहबमोजिमै थियो।

८ अनि हामीलाई सारा बुद्धि र समझ दिएर उहाँले प्रशस्तगरि त्यो असीम अनुग्रह प्रकट गर्नुभएको छ ९ अर्थात्‌ उहाँले आफ्नो इच्छाको पवित्र रहस्य+ हामीलाई प्रकट गर्नुभएको छ। यो रहस्य उहाँले पहिल्यै निर्धारण गर्नुभएको उद्देश्‍यसित सम्बन्धित छ। १० तोकिएको समय सकिएपछि यस पवित्र रहस्यमा एउटा प्रबन्धको सुरुवात गर्नु समावेश छ अर्थात्‌ स्वर्गका कुराहरू अनि पृथ्वीका कुराहरूलाई ख्रिष्टमा फेरि जम्मा गर्नु।+ हो, ख्रिष्टमा, ११ जससित हामी एकतामा छौँ र हामीलाई उत्तराधिकारीको रूपमा पनि नियुक्‍त गरिएको छ।+ किनकि परमेश्‍वर, जसले सबै कुरा आफ्नो इच्छाबमोजिम गर्नुहुन्छ, उहाँले नै आफ्नो उद्देश्‍यबमोजिम हामीलाई उत्तराधिकारीको रूपमा पहिल्यै नियुक्‍त गर्नुभएको थियो १२ ताकि ख्रिष्टमा सबैभन्दा पहिला आशा राख्ने हामीद्वारा परमेश्‍वरको प्रशंसा अनि महिमा होस्‌। १३ सत्यको वचन अर्थात्‌ तिमीहरूको उद्धारको सुसमाचार सुनेपछि तिमीहरूले पनि उहाँमाथि आशा राख्यौ। तिमीहरूले विश्‍वास गरेपछि उहाँद्वारै तिमीहरूमाथि पवित्र शक्‍तिको छाप लगाइयो,+ जुन तिमीहरूलाई दिने प्रतिज्ञा गरिएको थियो। १४ परमेश्‍वरका जनहरूलाई*+ फिरौतीद्वारा+ छुटाउन सकियोस्‌ र त्यसद्वारा उहाँको प्रशंसा अनि महिमा होस्‌ भनेर हामीले पाउने उत्तराधिकारको बैनाको रूपमा परमेश्‍वरले यो पवित्र शक्‍ति हामीलाई दिनुभयो।+

१५ त्यसैले प्रभु येसुमाथि तिमीहरूले राखेको विश्‍वासबारे अनि सबै पवित्र जनलाई तिमीहरूले देखाएको प्रेमबारे सुनेको दिनदेखि मैले पनि १६ तिमीहरूको निम्ति धन्यवाद दिन छोडेको छैनँ। म तिमीहरूलाई आफ्नो प्रार्थनामा सम्झिरहन्छु १७ ताकि हाम्रा प्रभु येसु ख्रिष्टका परमेश्‍वर, जो महिमाका बुबा हुनुहुन्छ, उहाँले तिमीहरूलाई बुद्धिका साथै आफूले प्रकट गर्न लाग्नुभएका कुराहरूको समझ देऊन्‌ र तिमीहरूले उहाँको विषयमा सही ज्ञान लिन सक।+ १८ उहाँले तिमीहरूको मनको आँखा खोलिदिनुभएको छ ताकि तिमीहरूलाई कुन आशाको निम्ति बोलाइएको हो अनि पवित्र जनहरूले पाउने उत्तराधिकारको+ रूपमा उहाँले साँचेर राख्नुभएको गौरवशाली धन के हो, त्यो तिमीहरूले थाह पाउन सक १९ र हामी, जो येसुका चेला भइसकेका छौँ, हामीमाथि उहाँले देखाउनुभएको असीम शक्‍ति कत्ति बेजोड छ,+ त्यो तिमीहरूले बुझ्न सक। उहाँको शक्‍तिको महानता उहाँका कामहरूमा प्रकट हुन्छ। २० ख्रिष्टलाई मृत्युबाट ब्युँताउनुहुँदा र उहाँलाई स्वर्गमा आफ्नो दाहिने हाततर्फ राख्नुहुँदा+ परमेश्‍वरले त्यस्तै शक्‍ति प्रदर्शन गर्नुभएको थियो। २१ उहाँले यस युगमा* मात्र होइन तर आउने युगमा समेत ख्रिष्टलाई सबै सरकार, अख्तियार, शक्‍ति, प्रभुत्व अनि नामहरूभन्दा धेरै माथि राख्नुभयो।+ २२ उहाँले सबै कुरा ख्रिष्टको पाउमुनि राखिदिनुभयो+ र उहाँलाई मण्डलीसित सम्बन्धित सबै कुराको शिर बनाउनुभयो।+ २३ मण्डली उहाँको शरीर हो,+ जुन उहाँद्वारा भरिपूर्ण छ र उहाँले नै सबै कुरा परिपूर्ण गर्नुहुन्छ।

२ यसबाहेक परमेश्‍वरले तिमीहरूलाई जीवित पार्नुभयो किनकि तिमीहरू आफ्ना अपराधहरू अनि पापहरूले गर्दा मरेका थियौ।+ २ तिमीहरू कुनै बेला यस युगको तौरतरिकाअनुसार*+ अनि यस संसारमा हावासरि फैलिएको मनोभावको शासकको+ इच्छाअनुसार चल्थ्यौ, जुन मनोभावले+ अहिले अनाज्ञाकारी सन्तानमा काम गरिरहेको छ। ३ हो, तिनीहरूजस्तै कुनै बेला हामी पनि शरीरका कुइच्छाहरूबमोजिम चल्थ्यौँ + र हाम्रो शरीर अनि सोचविचारले जे गर्न लगाउँथ्यो, त्यसै गर्थ्यौँ।+ यसरी अरू मानिसजस्तै हामी पनि जन्मैदेखि क्रोधका सन्तान भएका थियौँ।+ ४ तर हामीप्रतिको गहिरो प्रेमले गर्दा+ कृपाका धनी परमेश्‍वरले+ ५ हामी आफ्ना अपराधहरूले गर्दा मरेको+ भए तापनि हामीलाई जीवित पार्नुभयो र ख्रिष्ट येसुसित एकतामा गाँस्नुभयो। उहाँको असीम अनुग्रहले गर्दा तिमीहरूको उद्धार भयो। ६ हामी ख्रिष्ट येसुसित एकतामा छौँ। त्यसैले परमेश्‍वरले उहाँसँगै हामीलाई पनि ब्युँताउनुभयो र स्वर्गमा उहाँसँगै बसाल्नुभयो+ ७ ताकि आउँदै गरेका युगहरूमा* परमेश्‍वरले ख्रिष्ट येसुसित एकतामा भएका हामीमाथि कृपा गरी आफ्नो असीम अनुग्रहको महानता प्रकट गरून्‌।

८ यही असीम अनुग्रहले गर्दा विश्‍वासद्वारा तिमीहरूको उद्धार भएको छ+ अनि यो तिमीहरूको प्रयासले गर्दा भएको होइन बरु यो त परमेश्‍वरको वरदान हो। ९ अहँ, यस्तो उद्धार तिमीहरूको कामले गर्दा भएको होइन,+ त्यसैले कसैले पनि घमन्ड गर्नुपर्ने कारण छैन। १० हामी उहाँका हातका काम* हौँ। हामी ख्रिष्ट येसुसित एकतामा भएकोले+ उहाँले हामीलाई असल कामका लागि सृष्टि गर्नुभयो,+ जुन काम हामीले गरौँ भनेर उहाँले पहिल्यै तय गरिसक्नुभएको थियो।

११ त्यसैले नबिर्स, कुनै बेला तिमीहरू जन्मैदेखि अन्यजातिका मानिसहरू थियौ अनि मानव हातद्वारा शरीरमा “खतना* भएकाहरूले” तिमीहरूलाई “बेखतनेहरू” भनी बोलाउँथे। १२ त्यतिखेर तिमीहरूले ख्रिष्टलाई चिनेका थिएनौ, तिमीहरू इस्राएल राष्ट्रदेखि टाढा थियौ, अपरिचित जाति भएकोले प्रतिज्ञाको करारमा+ तिमीहरूको कुनै भाग थिएन अनि संसारमा तिमीहरूसित कुनै आशा थिएन र तिमीहरूले परमेश्‍वरलाई चिनेका पनि थिएनौ।+ १३ तर अहिले भने ख्रिष्ट येसुसित एकतामा भएकोले तिमीहरू, जो परमेश्‍वरदेखि टाढा थियौ, ख्रिष्टको रगतले गर्दा परमेश्‍वरसित नजिक भएका छौ। १४ किनकि ख्रिष्ट नै हाम्रो शान्ति हुनुहुन्छ।+ उहाँले दुई समूहलाई एक बनाउनुभयो+ अनि दुईबीचको पर्खाल भत्काउनुभयो।+ १५ उहाँले आफ्नो शरीरद्वारा शत्रुताको अन्त गर्नुभयो अर्थात्‌ मोसाको व्यवस्था खारेज गर्नुभयो, जसमा आज्ञा अनि आदेशहरू थिए ताकि यी दुई समूहलाई आफूसित एकतामा गाँसेर एक जना नयाँ मानिस बनाउन+ र तिनीहरूबीच शान्ति कायम गर्न सकियोस्‌ १६ अनि यी दुई समूहलाई एउटा सिङ्‌गो शरीरको रूपमा यातनाको खम्बामार्फत*+ परमेश्‍वरसित पूर्णतया मिलाप गराउन सकियोस्‌ किनकि उहाँले आफ्नो शरीरद्वारा शत्रुताको अन्त गरिसक्नुभयो।+ १७ उहाँ आउनुभयो र तिमीहरू, जो परमेश्‍वरदेखि टाढा थियौ, तिमीहरूलाई शान्तिको सुसमाचार सुनाउनुभयो। त्यसैगरि तिनीहरूलाई पनि, जो परमेश्‍वरसित नजिक थिए १८ किनभने उहाँमार्फत हामी दुवै समूहका मानिसहरू एउटै पवित्र शक्‍तिद्वारा कुनै अवरोधविना बुबासामु जान सकेका छौँ।

१९ त्यसैले अबदेखि तिमीहरू अपरिचित जाति अनि परदेशीहरू होइनौ+ बरु पवित्र जनहरूको सङ्‌गी नागरिक+ अनि परमेश्‍वरको घरानाका सदस्यहरू+ हौ। २० तिमीहरू प्रेषितहरू अनि भविष्यवक्‍ताहरूको+ जगमाथि निर्माण गरिएको भवन हौ अनि ख्रिष्ट येसुचाहिँ त्यस जगको कुनाको ढुङ्‌गो+ हुनुहुन्छ। २१ उहाँसित एकतामा भएको अनि सम्पूर्ण भाग एकआपसमा राम्ररी जोडिएको+ यो भवन यहोवा* परमेश्‍वरको पवित्र मन्दिर+ बन्‍नको लागि बढ्‌दै छ। २२ ख्रिष्टसित एकतामा भएकोले तिमीहरूलाई पनि एउटा यस्तो निवासस्थानको रूपमा निर्माण गरिँदै छ, जहाँ परमेश्‍वर पवित्र शक्‍तिद्वारा बास गर्नुहुनेछ।+

३ यसकारण म पावल, तिमीहरू, जो अन्यजातिका मानिसहरू हौ, तिमीहरूका लागि ख्रिष्ट येसुको कैदी+— २ तिमीहरूले पक्कै सुनेको हुनुपर्छ कि तिमीहरूको हितको निम्ति मलाई परमेश्‍वरको असीम अनुग्रहको भण्डारे हुने जिम्मेवारी दिइएको थियो।+ ३ हो, मलाई पवित्र रहस्य प्रकट गरिएको थियो, जस्तो कि मैले पहिले पनि छोटकरीमा लेखेको थिएँ। ४ त्यसैले जब तिमीहरूले यो पढ्‌नेछौ, तब मसित ख्रिष्टको पवित्र रहस्यको+ समझ रहेछ भनेर बुझ्नेछौ। ५ अघिअघिका पुस्ताका मानिसहरूलाई यो रहस्य त्यत्तिको खुलाइएको थिएन, जत्तिको अहिले उहाँका पवित्र प्रेषितहरू र भविष्यवक्‍ताहरूलाई पवित्र शक्‍तिद्वारा प्रकट गरिएको छ।+ ६ यही कि ख्रिष्ट येसुसित एकतामा भएर अनि सुसमाचारद्वारा अन्यजातिका मानिसहरू हाम्रा सङ्‌गी उत्तराधिकारी, हामीसँग एउटै शरीरका अङ्‌ग+ अनि परमेश्‍वरले गर्नुभएको प्रतिज्ञामा हाम्रा साझेदार होऊन्‌। ७ परमेश्‍वरको असीम अनुग्रहद्वारा म यही पवित्र रहस्यको सेवक बनेँ। आफ्नो शक्‍तिद्वारा उहाँले मलाई यो वरदान सित्तैँमा दिनुभयो।+

८ पवित्र जनहरूमध्ये जो सबैभन्दा सानो छ,+ ऊभन्दा पनि सानो मजस्तो मानिसलाई यो असीम अनुग्रह यसकारण देखाइयो+ कि मैले ख्रिष्टको अथाह सम्पत्तिको विषयमा अन्यजातिका मानिसहरूलाई सुसमाचार घोषणा गरूँ ९ अनि पवित्र रहस्यले+ कसरी काम गर्नेछ भनेर सबै मानिसलाई देखाऊँ, जुन रहस्य सबै कुरा सृजनुहुने परमेश्‍वरले युगौँयुगदेखि लुकाउनुभएको थियो। १० यसको उद्देश्‍य यही थियो कि स्वर्गमा भएका सरकारहरू र अख्तियारवालाहरूलाई अब मण्डलीमार्फत+ परमेश्‍वरको बुद्धिको विविध पक्ष प्रकट गर्न सकियोस्‌।+ ११ यो उहाँले हाम्रा प्रभु ख्रिष्ट येसुको सम्बन्धमा युगौँअघि रच्नुभएको उद्देश्‍यअनुसारै छ।+ १२ ख्रिष्टद्वारा हामीले यसरी निर्धक्क भई बोल्ने साहस पाएका छौँ अनि उहाँमाथिको विश्‍वासद्वारै ढुक्क भई कुनै अवरोधविना परमेश्‍वरसामु जान सकेका छौँ।+ १३ त्यसकारण तिमीहरूको खातिर मैले भोगेका यी सङ्‌कष्टहरूको कारण हरेस नखान म तिमीहरूलाई आग्रह गर्छु किनकि यसले गर्दा तिमीहरूको महिमा हुनेछ।+

१४ यसकारण म बुबासामु घुँडा टेकेर प्रार्थना गर्छु, १५ जसद्वारा स्वर्ग र पृथ्वीमा हरेक परिवारले नाम पाएको छ। १६ म प्रार्थना गर्छु कि परमेश्‍वर, जससित अपार महिमा छ, उहाँले तिमीहरूलाई आफ्नो पवित्र शक्‍तिद्वारा त्यस्तो तागत देऊन्‌, जसले तिमीहरूको भित्री व्यक्‍तित्वलाई शक्‍तिशाली बनाउनेछ+ १७ अनि प्रेमले भरिएको तिमीहरूको हृदयमा तिमीहरूको विश्‍वासद्वारा ख्रिष्टले बास गरून्‌।+ मेरो इच्छा यही छ कि तिमीहरू विश्‍वासको जगमा जरा हालिएका+ र दृढ होओ+ १८ ताकि सबै पवित्र जनले जस्तै तिमीहरूले पनि सत्यको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ पूर्ण रूपमा बुझ १९ अनि ख्रिष्टको प्रेम जान,+ जुन प्रेम ज्ञानभन्दा पनि श्रेष्ठ छ ताकि परमेश्‍वरले दिनुहुने सम्पूर्ण ईश्‍वरीय गुणहरूले तिमीहरू भरिपूर्ण होओ।

२० परमेश्‍वर, जसको शक्‍तिले हामीभित्र काम गरिरहेको छ+ अनि जसले हामीले मागे वा सोचेभन्दा कता हो कता धेरै गर्न सक्नुहुन्छ,+ २१ मण्डली र ख्रिष्ट येसुमार्फत पुस्तौँपुस्तासम्म सदासर्वदा उहाँकै महिमा होस्‌। आमिन।

४ त्यसकारण म, जो प्रभुको खातिर कैदमा छु,+ तिमीहरूलाई बिन्ती गर्छु कि तिमीहरू आफूले पाएको बोलावटको योग्य जीवन बिताओ।+ २ सधैँ नम्र+ र कोमल भएर, धीरज धरेर,+ प्रेम देखाउँदै+ एकअर्कालाई सहेर ३ अनि शान्तिको बन्धनमा बाँधिएर+ पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहन उत्कट प्रयास गरिरहो। ४ शरीर एउटै छ,+ पवित्र शक्‍ति पनि एउटै छ,+ जसरी तिमीहरू जुन आशाको निम्ति+ बोलाइएका थियौ, त्यो पनि एउटै छ। ५ एकै जना प्रभु,+ एउटै विश्‍वास, एउटै बप्तिस्मा ६ अनि सबै जनाका परमेश्‍वर र बुबा पनि एकै जना, जो सबैभन्दा माथि हुनुहुन्छ अनि जसले सबैद्वारा र सबैमा काम गर्नुहुन्छ।

७ ख्रिष्टले हरेकलाई जुन नापअनुसार सित्तैँमा वरदान दिनुभएको छ,+ त्यसैअनुसार हामी हरेकलाई असीम अनुग्रह देखाइएको छ। ८ त्यसैले धर्मशास्त्र यसो भन्छ: “उहाँ जब माथि उक्लनुभयो, तब कैदीहरूलाई आफूसित लैजानुभयो। उहाँले वरदानको रूपमा पुरुषहरू+ दिनुभयो।” ९ “उहाँ माथि उक्लनुभयो” भन्‍नुको अर्थ के हो? यही कि उहाँ तल अर्थात्‌ पृथ्वीमा ओर्लनुभएको थियो। १० जो तल ओर्लनुभयो, उहाँ नै सबथोकलाई परिपूर्ण बनाउन सारा स्वर्गभन्दा धेरै माथि+ उक्लनुभयो।+

११ उहाँले कसैलाई प्रेषित,+ कसैलाई भविष्यवक्‍ता,+ कसैलाई प्रचारक,*+ कसैलाई गोठालो र शिक्षक+ नियुक्‍त गर्नुभयो १२ ताकि पवित्र जनहरूलाई सच्याउन* सकियोस्‌, तिनीहरूले सेवाको काम गरून्‌ र ख्रिष्टको शरीर तबसम्म बढ्‌दै जाओस्‌,+ १३ जबसम्म हामी सबैले विश्‍वासमा र परमेश्‍वरको छोराको सही ज्ञानको विषयमा एकरूपता* हासिल गरिसक्दैनौँ र पूरै हुर्किसकेको* मानिस+ भएर ख्रिष्टको पूर्णताको नापसम्म पुग्दैनौँ। १४ फलस्वरूप अब उप्रान्त हामी यस्ता बालकहरू नहोऔँ, जसलाई हरकिसिमका शिक्षा,+ मानिसहरूको छल र धूर्ततापूर्वक रचिएका षड्‌यन्त्रहरूको छालले उछालपछार गरेर यताउता हुर्ऱ्याउँछ। १५ तर सत्य बोल्दै शिर अर्थात्‌ ख्रिष्टको+ अधीनमा बसेर हामी प्रेमद्वारा सबै कुरामा बढ्‌दै जाऔँ। १६ उहाँद्वारा नै शरीरको हरेक अङ्‌ग+ आपसमा राम्ररी गाँसिएको छ र हरेक जोर्नीले आपसी तालमेल मिलाएर आ-आफ्नो महत्त्वपूर्ण भूमिका पूरा गर्छ। जब शरीरको हरेक अङ्‌गले राम्ररी काम गर्छ, तब सम्पूर्ण शरीर प्रेममा एकसाथ बढ्‌दै जान्छ।+

१७ त्यसकारण प्रभुको नाममा म तिमीहरूलाई यो भन्छु र साक्षी दिन्छु कि अबदेखि तिमीहरू अन्यजातिका मानिसहरूजस्तो+ आफ्नो बेकारको* सोचाइअनुसार+ चल्ने नगर। १८ तिनीहरूमा भएको अज्ञानताले अनि तिनीहरूको हृदयको बोधोपनले गर्दा तिनीहरूको दिमाग अन्धकारमा छ अनि परमेश्‍वरले दिनुहुने जीवनबाट तिनीहरू टाढा भएका छन्‌। १९ तिनीहरूले सबै नैतिक चेतना गुमाइसकेका हुनाले आफैलाई निर्लज्ज आचरणमा*+ सुम्पे र हरकिसिमका अशुद्ध कामहरू गरिरहनुका साथै त्यसको लालसा गरे।

२० तर तिमीहरूले ख्रिष्टबारे यस्तो कुरा त सिकेका थिएनौ। २१ येसुले सत्य सिकाउनुभएको थियो। यदि तिमीहरूले साँच्चै उहाँको कुरा सुनेका छौ र उहाँबाट सिकाइएका छौ भने तिमीहरूले यो कुरा राम्ररी बुझेका छौ। २२ तिमीहरूलाई यही सिकाइएको थियो कि तिमीहरूले आफ्नो पुरानो व्यक्‍तित्वलाई फुकाल्नुपर्छ,+ जुन तिमीहरूको पहिलेको आचरणसित मेल खान्छ अनि जुन त्यसको भ्रामक इच्छाले गर्दा+ भ्रष्ट भइरहेको छ। २३ अनि तिमीहरूले आफ्नो सोच्ने तरिकालाई नयाँ बनाइरहनुपर्छ*+ २४ र नयाँ व्यक्‍तित्व धारण गर्नुपर्छ,+ जुन धार्मिकता* अनि वफादारीको मागबमोजिम परमेश्‍वरको इच्छाअनुसार सृष्टि भएको थियो।

२५ यसकारण तिमीहरूले छलकपट त्यागिसकेको हुनाले अब तिमीहरू हरेकले आफ्नो छिमेकीसित सत्य बोल+ किनकि हामी एउटै शरीरका विभिन्‍न अङ्‌ग हौँ।+ २६ क्रोध गर तर पाप नगर;+ घाम डुब्नुअघि नै तिमीहरूको रिस मरोस्‌;+ २७ दियाबललाई मौका नदेओ।+ २८ चोर्नेले फेरि नचोरोस्‌ बरु उसले परिश्रम गरोस्‌ र आफ्नै हातले असल काम गरोस्‌+ ताकि खाँचोमा परेको मानिसलाई दिन ऊसित केही होस्‌।+ २९ तिमीहरूको मुखबाट सडेको वचन ननिस्कोस्‌+ बरु आवश्‍यकताअनुसार अरूको उत्थान गर्ने असल वचन निस्कोस्‌ ताकि सुन्‍नेहरूलाई त्यसबाट फाइदा होस्‌।+ ३० साथै परमेश्‍वरको पवित्र शक्‍तिलाई दुःखी नबनाओ,+ जसद्वारा तिमीहरू त्यस दिनको लागि छाप लगाइएका छौ,+ जुन दिन फिरौतीद्वारा तिमीहरूलाई मुक्‍त गरिनेछ।+

३१ हरकिसिमको कटुता,+ रिस, क्रोध, चिच्याउने बानी र दुर्वचनका+ साथै हानि गर्ने सबै कुरा+ त्याग। ३२ बरु एकअर्काप्रति दयालु होओ अनि कोमलताले भरिएको करुणा+ देखाओ। त्यसैगरि परमेश्‍वरले ख्रिष्टमार्फत तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि एकअर्कालाई खुला मनले क्षमा गर।+

५ त्यसैले परमेश्‍वरका प्यारा छोराछोरीझैँ उहाँको देखासिकी गर्नेहरू होओ+ २ अनि जसरी ख्रिष्टले हामीलाई* प्रेम गर्नुभयो+ र हाम्रो* निम्ति आफूलाई मीठो बास्ना भएको भेटी अनि बलिदानको रूपमा परमेश्‍वरसामु अर्पण गर्नुभयो,+ त्यसरी नै तिमीहरू पनि प्रेमको बाटोमा हिँडिरहो।+

३ जस्तो कि पवित्र जनहरूको निम्ति उचित हुन्छ,+ तिमीहरूमाझ अवैध यौनसम्बन्ध* अनि हरकिसिमका अशुद्धपन वा लोभको नामसमेत नलिइओस्‌;+ ४ लाजमर्दो आचरण, मूर्खताले भरिएको कुराकानी, अश्‍लील ठट्टा+ पनि तिमीहरूमाझ नहोस्‌ किनकि यस्ता कुराहरूले पवित्र जनलाई शोभा दिँदैन बरु तिमीहरू धन्यवाद दिने गर।+ ५ किनकि तिमीहरूलाई थाह छ अनि तिमीहरूले राम्ररी बुझेका पनि छौ कि अवैध यौनसम्बन्ध*+ राख्ने वा अशुद्ध काम गर्ने वा लोभी,+ जसको अर्थ मूर्तिपूजक हुनु हो, यिनीहरूमध्ये कोही पनि ख्रिष्ट अनि परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।+

६ कुनै मानिसले तिमीहरूलाई खोक्रा वचनहरूद्वारा नबहकाओस्‌ किनभने यस्तै कुराहरूले गर्दा अनाज्ञाकारी सन्तानमाथि परमेश्‍वरको क्रोध आउँदै छ। ७ तसर्थ तिनीहरूका कामको भागीदार नबन ८ किनकि कुनै बेला तिमीहरू अन्धकारमा थियौ तर ख्रिष्टसित एकतामा भएकोले+ तिमीहरू अहिले ज्योतिमा छौ।+ त्यसैले ज्योतिका सन्तानझैँ हिँड ९ किनकि हरकिसिमका भलाइ, धार्मिकता* अनि सत्य नै ज्योतिको फल हो।+ १० प्रभुलाई के स्वीकार्य छ, त्यो पक्का गरिरहो।+ ११ अनि तिनीहरूले गर्ने अन्धकारका निष्फल कामहरूमा भाग लिन छोड+ बरु तिनीहरूको पर्दाफास गरिदेओ। १२ किनकि तिनीहरू गुप्तमा जे गर्छन्‌, त्यो बताउनसमेत लाजमर्दो छ। १३ जति पनि कुराहरू पर्दाफास भइरहेका छन्‌, ज्योतिले गर्दा नै ती प्रकट भएका हुन्‌ किनकि प्रकट भइरहेको हरेक कुरा ज्योति हो। १४ त्यसैले यस्तो भनिएको छ: “ए सुतुवा, जाग अनि मृत्युबाट ब्युँत,+ तब ख्रिष्टले तिमीमाथि ज्योति छर्नुहुनेछ।”+

१५ त्यसैले कसरी हिँडिरहेका छौ, होसियार भई ध्यान देओ, तिमीहरू निर्बुद्धि मानिस जस्तोगरि होइन तर बुद्धिमान्‌ मानिस जस्तोगरि हिँड, १६ समयको पूर्ण सदुपयोग गर*+ किनभने हामी खराब समयमा बाँचिरहेका छौँ। १७ यसकारण अव्यावहारिक हुन छोड बरु यहोवा* परमेश्‍वरको इच्छा के हो, सो बुझिरहो।+ १८ साथै मद्य पिएर नमात्तिओ+ किनकि त्यसले दुराचारी* बनाउँछ बरु तिमीहरू पवित्र शक्‍तिले भरिँदै जाओ। १९ तिमीहरू भजन, परमेश्‍वरको स्तुतिगान र आध्यात्मिक गीतहरू* गाएर+ एकअर्कालाई* बलियो बनाओ अनि मनमनै धुन रच्दै+ यहोवा* परमेश्‍वरको भजन गाओ।+ २० साथै हाम्रा परमेश्‍वर अनि बुबालाई हाम्रा प्रभु येसु ख्रिष्टको नाममा+ सबै कुराका लागि सधैँ धन्यवाद चढाइरहो।+

२१ ख्रिष्टको डर मान्दै एकअर्काको अधीनमा बस।+ २२ पत्नीहरू ख्रिष्टको अधीनमा बसेजस्तै आ-आफ्ना पतिको अधीनमा पनि बसून्‌+ २३ किनकि पत्नीको शिर पति हो,+ जसरी ख्रिष्ट पनि आफ्नो शरीर अर्थात्‌ मण्डलीको शिर+ अनि उद्धारक हुनुहुन्छ। २४ भनौँ भने मण्डली ख्रिष्टको अधीनमा बसेजस्तै पत्नीहरू पनि सबै कुरामा आ-आफ्ना पतिको अधीनमा बस्नुपर्छ। २५ हे पतिहरू हो, आ-आफ्नी पत्नीलाई प्रेम गरिरहो,+ जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो+ २६ ताकि त्यसलाई परमेश्‍वरको वचनको पानीले धोएर पवित्र पार्न सकियोस्‌+ २७ र मण्डलीलाई त्यसको वैभवसहित आफूसामु यस्तो रूपमा प्रस्तुत गर्न सकियोस्‌, जसमा कुनै दाग लागेको वा चाउरी परेको वा कुनै किसिमको खोट लागेको नहोस्‌+ बरु पवित्र अनि निष्खोट होस्‌।+

२८ त्यसैगरि पतिहरूले आ-आफ्नी पत्नीलाई आफ्नो शरीरलाई जस्तै प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्छ, उसले आफूलाई प्रेम गर्छ २९ किनकि कुनै मानिसले आफ्नो शरीरलाई कहिल्यै घृणा गर्दैन बरु त्यसलाई त्यसरी नै खुवाउँछ अनि स्याहार्छ, जसरी ख्रिष्टले मण्डलीलाई गर्नुहुन्छ ३० किनभने हामी उहाँकै शरीरका अङ्‌गहरू हौँ।+ ३१ “यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ अनि आफ्नी पत्नीसित बस्छ* र ती दुई एउटै शरीर हुन्छन्‌।”+ ३२ यो पवित्र रहस्य+ महान्‌ छ। म ख्रिष्ट र मण्डलीबारे कुरा गर्दै छु।+ ३३ तथापि तिमीहरू हरेकले आ-आफ्नी पत्नीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ+ अनि पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गर्नुपर्छ।+

६ हे छोराछोरी हो, परमेश्‍वरको इच्छाबमोजिम आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ+ किनकि परमेश्‍वरको नजरमा यो असल छ। २ “तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।”+ यो नै प्रतिज्ञासहितको पहिलो आज्ञा हो र त्यो प्रतिज्ञा हो: ३ “ताकि तिम्रो भलो होस्‌* र पृथ्वीमा तिम्रो आयु लामो होस्‌।” ४ अनि हे बुबाहरू हो, आफ्ना छोराछोरीलाई नचिढ्‌याओ+ बरु यहोवा* परमेश्‍वरको डोऱ्‍याइबमोजिम अनुशासन+ अनि चेतावनी* दिएर तिनीहरूलाई हुर्काओ।+

५ हे दासहरू हो, ख्रिष्टप्रति आज्ञाकारी भएजस्तै डर अनि आदरसहित तिमीहरूका मानव मालिकहरूप्रति निष्कपट हृदयले आज्ञाकारी होओ।+ ६ मानिसहरूलाई खुसी पार्न तिनीहरूको आँखाको सामुन्‍ने मात्र होइन+ तर ख्रिष्टको दासको रूपमा तनमनले परमेश्‍वरको इच्छा पूरा गर।+ ७ मानिसको लागि जस्तैगरि होइन तर यहोवा* परमेश्‍वरका लागि जस्तैगरि असल मनसायले सेवा गर+ ८ किनकि तिमीहरूलाई थाह छ, चाहे दास होस्‌ वा स्वतन्त्र मानिस, उसले जे असल काम गर्छ, त्यसको इनाम यहोवा* परमेश्‍वरबाट पाउनेछ।+ ९ त्यसैगरि हे मालिकहरू हो, तिमीहरूले पनि आफ्ना दासहरूसित त्यस्तै व्यवहार गर। उनीहरूलाई नधम्काओ किनकि उनीहरू र तिमीहरू दुवैको मालिक स्वर्गमा हुनुहुन्छ+ र उहाँले कसैको पक्षपात गर्नुहुन्‍न भनेर तिमीहरूलाई थाह छ।

१० अन्तमा, प्रभुको चेलाको नाताले तिमीहरू उहाँबाट अनि उहाँको पराक्रमी शक्‍तिबाट तागत हासिल गरिरहो।+ ११ परमेश्‍वरले दिनुहुने सम्पूर्ण हातहतियार धारण गर+ अनि तिमीहरू दियाबलका दाउपेचहरूविरुद्ध* दृढ भई खडा हुन सक्नेछौ १२ किनकि हाम्रो यो सङ्‌घर्ष*+ मानिसहरूसित होइन तर सरकारहरूसित, अख्तियारवालाहरूसित, यस अन्धकार संसारका शासकहरूसित अनि स्वर्गका दुष्ट दूतहरूका दलहरूसित+ हो। १३ यसकारण परमेश्‍वरले दिनुहुने सम्पूर्ण हातहतियार उठाओ+ अनि तिमीहरूले त्यस खराब दिनको सामना गर्न सक्नेछौ र सबै काम गरिसकेपछि तिमीहरू दृढ भई खडा हुन सक्नेछौ।

१४ त्यसैले सत्यको पेटीले आफ्नो कम्मर कसेर,+ धार्मिकताको* कवच लगाएर+ १५ अनि खुट्टामा शान्तिको सुसमाचारको जुत्ता+ लगाएर तिमीहरू तयार होओ। १६ यी सब कुराबाहेक विश्‍वासको ठूलो ढाल+ उठाओ, जसद्वारा तिमीहरूले त्यस दुष्टका* सबै अग्निबाण निभाउन सक्नेछौ।+ १७ साथै उद्धारको टोप+ लगाओ अनि पवित्र शक्‍तिको तरबार अर्थात्‌ परमेश्‍वरको वचन+ पनि भिर। १८ हरकिसिमका प्रार्थना+ अनि उत्कट बिन्ती चढाएर तिमीहरू पवित्र शक्‍तिद्वारा हरबखत प्रार्थना गरिरहो।+ तिमीहरू जागा बस र सबै पवित्र जनका निम्ति निरन्तर उत्कट बिन्ती चढाओ। १९ अनि मेरो निम्ति पनि प्रार्थना गर कि मैले आफ्नो मुख खोल्दा मलाई शब्दहरू दिइयोस्‌ ताकि मैले निर्धक्क भई साहसका साथ सुसमाचारको पवित्र रहस्यबारे बताउन सकूँ।+ २० त्यही सुसमाचारको निम्ति म साङ्‌लाले बाँधिएको राजदूतको रूपमा+ सेवा गर्दै छु। मैले जे बोल्नुपर्ने हो, साहसी भई बोल्न सकूँ भनेर पनि तिमीहरूले प्रार्थना गर।

२१ म कस्तो छु र के गर्दै छु, त्यस विषयमा हाम्रा प्रिय भाइ अनि प्रभुका वफादार सेवक टाइकिकसले+ तिमीहरूलाई सबै कुरा बताउनेछन्‌।+ २२ यही उद्देश्‍यले म तिनलाई तिमीहरूकहाँ पठाउँदै छु ताकि तिमीहरूले हाम्रो विषयमा थाह पाउन सक र तिनले तिमीहरूको हृदयलाई सान्त्वना देऊन्‌।

२३ परमेश्‍वर, हाम्रा बुबाका साथै येसु ख्रिष्ट, हाम्रा प्रभुबाट भाइहरूले विश्‍वाससँगसँगै शान्ति अनि प्रेम पाऊन्‌। २४ हाम्रा प्रभु येसु ख्रिष्टलाई अपार* प्रेम गर्नेजति सबैमाथि परमेश्‍वरको असीम अनुग्रह रहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, ख्रिष्टसित।

शा., “परमेश्‍वरको आफ्नै सम्पत्तिलाई।”

शब्दावली हेर्नुहोस्‌।

वा “यस संसारको रीतिअनुसार।”

शब्दावली हेर्नुहोस्‌।

वा “उहाँको कामको उपज।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “सुसमाचारको उद्‌घोषक।”

वा “तालिम दिन।”

वा “एकता।”

वा “परिपक्व।”

वा “खोक्रो; निरर्थक।”

वा “छाडा आचरणमा।” ग्रीक भाषामा असेल्गिया। शब्दावलीमा “निर्लज्ज आचरण” हेर्नुहोस्‌।

वा “दिमागलाई नयाँ मनोभावद्वारा उत्प्रेरित गरिरहनुपर्छ।”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “तिमीहरूलाई।”

वा सम्भवतः “तिमीहरूको।”

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “तोकिएको समय किन।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “अनियन्त्रित।”

वा “उपासनाका गीतहरू।”

वा सम्भवतः “आफूलाई।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

यहाँ चलाइएको ग्रीक शब्दले गमले टाँसेजस्तै बलियोसित टाँसिनुलाई जनाउँछ।

वा “तिम्रो फलिफाप होस्‌।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “निर्देशन; डोऱ्‍याइ।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “धूर्त चालहरूविरुद्ध।”

शा., “कुस्ती।”

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, सैतानका।

वा “अविनाशी।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने