फिलिप्पीहरूलाई पत्र
१ ख्रिष्ट येसुका दास हामी पावल र तिमोथि, फिलिप्पीमा+ बस्ने ती सबै पवित्र जन, जो ख्रिष्ट येसुसित एकतामा छन्, उनीहरूका साथै निरीक्षकहरू र सहायक सेवकहरूलाई+ लेख्दै छौँ:
२ परमेश्वर, हाम्रा बुबा र प्रभु येसु ख्रिष्टबाट तिमीहरूलाई असीम अनुग्रह र शान्ति मिलोस्।
३ जब म तिमीहरूलाई सम्झन्छु, तब म मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु; ४ तिमीहरू सबैका लागि हरेक चोटि उत्कट बिन्ती चढाउँदा म खुसीसाथ त्यसो गर्नेगर्छु+ ५ किनकि सुसमाचार सुनेको दिनदेखि अहिलेसम्म तिमीहरूले सुसमाचार फैलाउनमा निकै योगदान पुऱ्याएका छौ। ६ म यस कुरामा ढुक्क छु कि तिमीहरूमा जसले असल कामको सुरुवात गर्नुभयो, उहाँले नै ख्रिष्ट येसुको दिनसम्ममा त्यो काम पूरा पनि गर्नुहुनेछ।+ ७ तिमीहरू सबैको विषयमा मैले यस्तो सोच्नु एकदमै उचित हो किनकि तिमीहरू मेरो हृदयमा बसेका छौ अनि चाहे म बन्धनमा पर्दा होस्+ वा सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापना गर्दा,+ तिमीहरूले मलाई साथ दिएका छौ। त्यसैले हामी परमेश्वरको असीम अनुग्रहका साझेदार हौँ।
८ तिमीहरू सबैलाई भेट्न म कत्ति आतुर छु, परमेश्वर त्यसको साक्षी हुनुहुन्छ। तिमीहरूप्रति मेरो कोमल स्नेह ख्रिष्ट येसुको जस्तै छ। ९ अनि म यही प्रार्थना गरिरहन्छु कि सही ज्ञान+ र पूर्ण समझसँगै+ तिमीहरूको प्रेम झन्झन् बढ्दै जाओस्+ १० अनि अझ महत्त्वपूर्ण कुराहरू के हुन्, सो तिमीहरूले पक्का गर्न सक+ ताकि ख्रिष्टको दिनसम्म तिमीहरू दोषरहित रहन सक र तिमीहरूले गर्दा अरूले ठेस खान नपरोस्+ ११ अनि तिमीहरूले येसु ख्रिष्टमार्फत प्रशस्त मात्रामा धार्मिकताको* फल फलाउन सक,+ जसले गर्दा परमेश्वरको महिमा र प्रशंसा हुनेछ।
१२ भाइहरू हो, तिमीहरूले यो जान भन्ने म चाहन्छु, म अहिले जस्तो अवस्थामा छु, त्यसले सुसमाचार फैलाउन सहयोग नै पुऱ्याएको छ। १३ ख्रिष्टको खातिर म कैदमा परेको हुँ+ भन्ने कुरा सिजरको* अङ्गरक्षक दलका सबैलाई र बाँकी अरूलाई पनि थाह भइसकेको छ।+ १४ अनि अहिले धेरैजसो भाइहरू म कैदमा परेको कारण अझ आँटिला भएका छन् र परमेश्वरको वचनबारे निर्धक्क भई बोल्न पहिलेभन्दा झन् धेरै साहस देखाउँदै छन्।
१५ यो कुरा साँचो हो कि कसै-कसैले ईर्ष्या र शत्रुताको भाव राखेर ख्रिष्टबारे प्रचार गर्दै छन् तर अरूले भने राम्रो मनसायले गर्दै छन्। १६ राम्रो मनसायले प्रचार गर्नेहरूले प्रेमको कारण ख्रिष्टबारे घोषणा गर्दै छन् किनकि मलाई सुसमाचारको पक्षमा खडा हुन नियुक्त गरिएको छ भनेर तिनीहरूलाई थाह छ।+ १७ तर वैमनस्यताको भाव राखेर प्रचार गर्नेहरूचाहिँ शुद्ध मनसायले नभई म कैदमा परेको बेला मेरो सङ्कष्ट अझ बढाउने उद्देश्यले त्यसो गर्दै छन्। १८ त्यसोभए यसको नतिजा के भएको छ? चाहे कसैले खराब मनसायले त्यो काम गरोस् वा सही मनसायले, जसरी भए पनि ख्रिष्टकै विषयमा घोषणा हुँदै छ अनि यसमा म रमाउँछु। भनौँ भने म रमाइरहने पनि छु १९ किनकि मलाई थाह छ, तिमीहरूको उत्कट बिन्ती र येसु ख्रिष्टले दिनुहुने पवित्र शक्तिको मदतद्वारा+ मेरो उद्धार हुनेछ।+ २० अनि म तीव्र इच्छा र आशा गर्छु कि म कुनै पनि कुरामा सर्माउन नपरोस् तर जसरी अहिलेसम्म बोल्दै आएको छु, त्यसरी नै निर्धक्क भई साहसका साथ बोलेर मेरो शरीरद्वारा ख्रिष्टको महिमा होस्, चाहे म बाँचूँ या मरूँ।+
२१ मेरो सन्दर्भमा भन्नुपर्दा यदि म बाँचेँ भने ख्रिष्टको निम्ति बाँच्छु+ र यदि मरेँ भने पनि त्यो मेरै फाइदाको निम्ति हुनेछ।+ २२ जबसम्म म यस संसारमा* बाँच्नेछु, मैले आफ्नो कामद्वारा अझ धेरै फल फलाउन सक्नेछु। तर म के रोज्छु, सो थाह दिन्नँ। २३ यी दुईमध्ये कुनचाहिँ रोज्ने भनेर म दोधारमा परेको छु। किनकि म छुटकारा पाएर ख्रिष्टसँगै हुने इच्छा गर्छु,+ जुन पक्कै पनि उत्तम कुरा हो।+ २४ तथापि तिमीहरूको खातिर म यस संसारमा बाँचिरहनु झनै आवश्यक छ। २५ यस कुरामा विश्वस्त भएकोले मलाई थाह छ, म बाँचिरहनेछु अनि तिमीहरूको प्रगति र तिमीहरूको विश्वासद्वारा पाइने आनन्दका लागि तिमीहरू सबैसित रहनेछु २६ ताकि म फेरि तिमीहरूकहाँ आउँदा ख्रिष्ट येसुमा तिमीहरूको खुसी प्रशस्त होस्।
२७ तिमीहरूको चालचलन ख्रिष्टसित सम्बन्धित सुसमाचारसँग सुहाउँदो होस्+ ताकि चाहे म तिमीहरूकहाँ आएर तिमीहरूलाई भेटूँ वा तिमीहरूकहाँ नआऊँ, मैले यो सुन्न पाऊँ कि तिमीहरू स्थिर छौ अनि एउटै सोचाइ र एकै ज्यानका* भएर+ सुसमाचारमा आधारित विश्वासको निम्ति एकजुट भई प्रयत्न गरिरहेका छौ २८ अनि आफ्ना विरोधीहरूसित रतीभर डराएका छैनौ। तिनीहरू नाश हुनेछन्+ तर तिमीहरूको भने उद्धार हुनेछ भन्ने प्रमाण यही हो।+ यस्तो प्रमाण परमेश्वरले नै दिनुभएको हो। २९ किनभने ख्रिष्टको खातिर तिमीहरूलाई यो सम्मान दिइएको छ कि तिमीहरूले उहाँमाथि विश्वास राख्ने मात्र होइन तर उहाँको खातिर दुःख पनि भोग्नुपर्छ।+ ३० मैले जे-जस्तो सङ्घर्ष गरेको तिमीहरूले देख्यौ+ र अहिलेसम्म पनि जे-जस्तो सङ्घर्ष गर्दै छु भनी तिमीहरूले सुनिरहेका छौ, तिमीहरूले पनि त्यस्तै सङ्घर्ष गरिरहेका छौ।
२ ख्रिष्टसित एक हुँदा पाइने प्रोत्साहन, प्रेमपूर्वक दिइने सान्त्वना, एकअर्काप्रतिको चासो, कोमल स्नेह र करुणा तिमीहरूमाझ छ भने २ एउटै सोचाइका भएर, आपसमा प्रेम गरेर, पूर्ण एकतामा रहेर अनि एउटै विचार राखेर+ तिमीहरू मलाई पूर्ण रूपमा आनन्दित बनाओ। ३ वैमनस्यता+ वा फोस्रो घमन्डले केही नगर+ तर नम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान,+ ४ तिमीहरू आफ्नै कुरामा मात्र होइन+ तर अरूको कुरामा पनि ध्यान देओ।+
५ ख्रिष्ट येसुमा भएको यस्तो मनोभाव तिमीहरूले पनि राख:+ ६ परमेश्वरको प्रतिरूपमा भएर पनि+ उहाँले अख्तियार हडप्ने अर्थात् परमेश्वरको बराबरीमा पुग्ने सोचाइ कहिल्यै राख्नुभएन।+ ७ बरु उहाँले आफूलाई रित्याउनुभयो अनि दासजस्तो भएर+ मानिसको रूपमा जन्मनुभयो।+ ८ त्यति मात्र होइन, मानिसको रूपमा जन्मेपछि उहाँले आफूलाई नम्र बनाउनुभयो र मृत्युसम्मै आज्ञाकारी हुनुभयो,+ हो, यातनाको खम्बाको* मृत्युसम्मै+ आज्ञाकारी हुनुभयो। ९ यही कारणले गर्दा परमेश्वरले उहाँलाई अझ उच्च पद दिनुभयो+ र दयालु भई अरू सबै नामभन्दा उत्तम नाम दिनुभयो+ १० ताकि स्वर्गका, पृथ्वीका र जमिनमुनिका हरेकले येसुको नाममा घुँडा टेकून्+ ११ अनि येसु ख्रिष्ट नै प्रभु हुनुहुन्छ भनेर हरेकले खुलेआम स्विकारून्,+ जसद्वारा परमेश्वर हाम्रा बुबाको महिमा हुनेछ।
१२ हे मेरा प्रियहरू हो, तिमीहरूले सधैँ आज्ञा पालन गर्दै आएका छौ। तिमीहरूले म त्यहाँ हुँदा मात्र होइन तर अहिले म त्यहाँ नहुँदा झनै तत्परतासाथ त्यसो गर्दै छौ। तिमीहरू यसरी नै आफ्नो उद्धारको निम्ति डर र कम्पसहित प्रयत्न गरिरहो। १३ किनकि परमेश्वरले नै आफ्नो इच्छाबमोजिम तिमीहरूलाई बलियो बनाउनुहुन्छ अनि तिमीहरूमा इच्छा पैदा गर्नुहुन्छ र त्यो पूरा गर्ने शक्ति पनि दिनुहुन्छ। १४ सबै काम विनागनगन+ र विनावादविवाद+ गरिरहो १५ ताकि तिमीहरू निर्दोष र सुधो बन्न सक अनि टेढो र बेइमान पुस्ताबीच+ परमेश्वरको निष्खोट छोराछोरी बन्न सक,+ जुन पुस्तामाझ तिमीहरू यस संसारमा ज्योतिझैँ चम्किरहेका छौ।+ १६ साथै जीवनको वचनलाई बलियोसित पक्रिराख।+ तब म व्यर्थमा दगुरिनँ र मैले व्यर्थमा परिश्रम गरिनँ भन्ने जानेर ख्रिष्टको दिनमा म रमाउन सक्नेछु। १७ विश्वासले गर्दा तिमीहरू जुन पवित्र सेवा* र बलिदान+ चढाउन उत्प्रेरित भयौ, त्यसका लागि म मद्यभेटीको* रूपमा अर्पित भइरहेको छु।+ तैपनि म खुसी छु र तिमीहरू सबैसित रमाउँछु। १८ अब त्यसरी नै तिमीहरू पनि मसितै खुसी हुनुपर्छ र रमाउनुपर्छ।
१९ प्रभु येसुको इच्छा भए तिमोथिलाई चाँडै तिमीहरूकहाँ पठाउने आशा गर्दै छु+ ताकि तिमीहरूको विषयमा सुनेर मैले प्रोत्साहन पाउन सकूँ। २० किनकि तिमीहरूको साँचो चासो राख्ने तिनको जस्तो मनोभाव भएका अरू मानिस मसित छैन। २१ अरू सबै जना येसु ख्रिष्टको कुरामा होइन, आफ्नै कुरामा मात्र ध्यान दिन्छन्। २२ तर तिनले आफ्नो विषयमा दिएको प्रमाण त तिमीहरूलाई थाहै छ। छोराले+ आफ्नो बुबालाई सघाएजस्तै सुसमाचार फैलाउनमा तिनले मसँगै परिश्रम गरे। २३ त्यसकारण मलाई के हुने हो, त्यो थाह हुनेबित्तिकै तिमीहरूकहाँ तिनैलाई पठाउने आशा गर्दै छु। २४ अनि प्रभुको इच्छा भए म आफै पनि चाँडै तिमीहरूकहाँ आउनेछु भनेर विश्वस्त छु।+
२५ तर अहिलेलाई मेरा भाइ र सहकर्मी अनि सङ्गी सिपाही इपाफ्रोडाइटस, जो तिमीहरूको प्रतिनिधि र मेरा निजी सेवक हुन्, जसले म खाँचोमा पर्दा मलाई मदत गरे,+ तिनलाई तिमीहरूकहाँ पठाउनु म आवश्यक ठान्छु २६ किनकि तिनी तिमीहरू सबैलाई भेट्न तीव्र इच्छा गर्दै छन् अनि तिनी बिरामी परेको खबर तिमीहरूले सुन्यौ रे भनेर निराश भएका छन्। २७ हो, वास्तवमा तिनी बिरामी परेर मर्नै आँटेका थिए तर परमेश्वरले तिनलाई कृपा देखाउनुभयो। साँच्चै भन्ने हो भने मलाई शोकमाथि शोक नथपियोस् भनेर उहाँले तिनलाई मात्र होइन, मलाई पनि कृपा देखाउनुभयो। २८ त्यसकारण तिनलाई भेटेर तिमीहरू फेरि रमाउन सक अनि मेरो चिन्ता पनि अलि कम होस् भनेर तिनलाई तुरुन्तै तिमीहरूकहाँ पठाउँदै छु। २९ त्यसकारण प्रभुका जनहरूलाई जसरी स्वागत गरिन्छ, तिनलाई पनि त्यसरी नै खुसीसाथ स्वागत गर अनि त्यस्ता मानिसहरूलाई अनमोल ठान+ ३० किनकि ख्रिष्टको कामको* निम्ति आफ्नो ज्यानलाई दाउमा लगाएकोले तिनी मृत्युको मुखैमा परेका थिए। हो, तिमीहरूको अभाव मलाई महसुस हुन नदिन तिनले तिमीहरूको सट्टा मेरो सेवा गरे।+
३ अन्तमा हे मेरा भाइहरू हो, प्रभुमा रमाइरहो।+ तिमीहरूलाई एउटै कुरा लेखिरहन म झर्को मान्दिनँ किनकि यो तिमीहरूको सुरक्षाको लागि हो।
२ अशुद्ध मानिसहरूदेखि* होसियार बस, हानि पुऱ्याउनेहरूदेखि होसियार बस अनि शरीरको अङ्ग काट्नेहरूदेखि* होसियार बस।+ ३ किनकि साँच्चैको खतना* भएकाहरू त हामी हौँ।+ हामीले परमेश्वरको पवित्र शक्तिद्वारा पवित्र सेवा चढाइरहेका छौँ अनि हामी शरीरमा भरोसा गर्दैनौँ बरु ख्रिष्ट येसुमा घमन्ड गर्छौँ।+ ४ यद्यपि यदि कसैसित शरीरमा भरोसा राख्ने आधार छ भने मसित पनि छ।
यदि अरू कोही मानिसले आफूसित शरीरमा भरोसा राख्ने आधार छ भन्ठान्छ भने मसित झन् धेरै छ ५ किनकि म आठौँ दिनमा खतना गरिएको,+ इस्राएली जातिको, बिन्यामिनको कुलको, हिब्रू आमाबुबाबाट जन्मेको हिब्रू;+ व्यवस्थाको कुरा गर्ने हो भने एक जना फरिसी;+ ६ जोसको कुरा गर्ने हो भने मण्डलीलाई खेदो गर्ने;+ व्यवस्था पालन गरेर धर्मी ठहरिने सन्दर्भमा भन्ने हो भने आफूलाई निर्दोष साबित गरेको मानिस हुँ। ७ तैपनि जुन कुराहरू मेरो निम्ति फाइदाजनक थिए, ती कुराहरूलाई मैले ख्रिष्टको खातिर बेकारको सम्झेको छु।*+ ८ वास्तवमा मेरा प्रभु ख्रिष्ट येसुको ज्ञानको उत्कृष्ट मोलसामु म सबै कुरालाई बेकारको सम्झन्छु। उहाँको खातिर मैले सबै कुरालाई इन्कार गरेको छु अनि ती कुराहरूलाई रद्दी* ठान्छु ताकि मैले ख्रिष्टलाई प्राप्त गर्न सकूँ ९ अनि उहाँसित एकतामा रहेको पाइन सकूँ, व्यवस्था पालन गरेर धर्मी ठहरिएकोले त होइन बरु ख्रिष्टमाथिको विश्वासद्वारा+ धर्मी ठहरिएकोले।+ यसरी विश्वासको आधारमा धर्मी ठहराउनुहुने परमेश्वर स्वयम् हुनुहुन्छ।+ १० मेरो लक्ष्य यही हो कि मैले ख्रिष्टबारे अनि उहाँलाई फेरि जीवित पार्नुहुनेको शक्तिबारे+ थाह पाऊँ अनि उहाँको जस्तै दुःख झेल्न+ र उहाँको जस्तै मृत्यु भोगूँ+ ११ ताकि म पनि तिनीहरूमध्ये हुन सकूँ, जसलाई मृत्युबाट सुरुमा जीवित पारिन्छ।+
१२ मैले यो इनाम पाइसकेको छु वा पूर्ण भइसकेको छु भनेर म ठान्दिनँ तर जुन कुराका लागि ख्रिष्ट येसुले मलाई रोज्नुभयो, त्यसलाई पक्रन सकूँ भनेर भरमग्दुर कोसिस गर्दै छु।+ १३ भाइहरू हो, मैले त्यो पक्रिसकेँ भनेर म सोच्दिनँ तर एउटा कुरा भने पक्का छ: म पछाडिका कुराहरूलाई बिर्सेर+ अनि अगाडिका कुराहरूतिर लम्केर+ १४ ख्रिष्ट येसुमार्फत परमेश्वरबाट पाएको माथिको बोलावटको+ पुरस्कार पाउने लक्ष्यसम्म पुग्न भरमग्दुर कोसिस गरिरहेको छु।+ १५ त्यसैले हामी, जो परिपक्व छौँ,+ यस्तै मनोवृत्ति राखौँ। यदि कुनै कुरामा तिमीहरूको मानसिक झुकाव अर्कै छ भने पनि परमेश्वरले तिमीहरूलाई सही मनोवृत्ति के हो, त्यो प्रकट गरिदिनुहुनेछ। १६ जे होस्, हामीले जुन हदसम्म प्रगति गरिसकेका छौँ, त्यहीबमोजिम व्यवस्थित ढङ्गमा अघि बढिरहौँ।
१७ भाइहरू हो, तिमीहरू सबै एक भएर मेरो अनुकरण गर+ अनि हामीले तिमीहरूको निम्ति बसालेको उदाहरणबमोजिम जो चलिरहेका छन्, तिनीहरूलाई ध्यान दिएर हेर। १८ किनकि यस्ता धेरै मानिस छन्, जसको विषयमा मैले बारम्बार लेख्ने गरेको थिएँ तर अहिले तिनीहरूबारे लेख्दा मेरो आँखाबाट आँसु आउँछ किनकि तिनीहरू ख्रिष्टको यातनाको खम्बाका* शत्रुहरू भएका छन्। १९ तिनीहरूको अन्त विनाश हो, तिनीहरूको पेट नै तिनीहरूको ईश्वर हो, सरम मान्नुपर्ने कुरामा तिनीहरू गर्व गर्छन् अनि पृथ्वीका कुराहरूमा तिनीहरू मन लगाउँछन्।+ २० तर हाम्रो नागरिकता+ स्वर्गको हो+ र त्यहीँ हुनुहुने एक जना उद्धारक, प्रभु येसु ख्रिष्टलाई हामी उत्सुकतासाथ पर्खिरहेका छौँ,+ २१ जससित सबै कुरालाई आफ्नो अधीनमा राख्ने शक्ति छ।+ यही महाशक्तिद्वारा उहाँले हाम्रो तुच्छ शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिवर्तन गर्नुहुनेछ।+
४ यसकारण हे मेरा प्रिय भाइहरू, जो मेरो खुसी र मुकुट हौ+ अनि जसलाई म प्रेम गर्छु र भेट्न तीव्र इच्छा गर्छु, तिमीहरू यसरी नै प्रभुमा स्थिर भइरहो।+
२ म इयोदियालाई आग्रह गर्छु र त्यसैगरि सिन्तकेलाई पनि आग्रह गर्छु कि प्रभुमा एकै मनका होओ।+ ३ हो, मेरो साँचो सहकर्मी, म तिमीलाई पनि यो अनुरोध गर्छु कि यी स्त्रीहरूलाई मदत गरिरह, जसले क्लेमेन्ट र मेरा अरू सहकर्मीहरू, जसको नाम जीवनको पुस्तकमा छ,+ उनीहरूसित मिलेर सुसमाचार सुनाउन मसँगै परिश्रम गरेका छन्।*
४ प्रभुमा सधैँ रमाओ। म फेरि भन्छु, रमाओ!+ ५ तिमीहरूको व्यावहारिकता+ सबै मानिसलाई थाह होस्। प्रभु नजिकै हुनुहुन्छ। ६ कुनै कुराको विषयमा चिन्तित नहोओ+ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्वरसमक्ष जाहेर गर।+ ७ तब परमेश्वरको शान्ति,+ जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले ख्रिष्ट येसुद्वारा तिमीहरूको हृदय+ र सोच्ने क्षमताको* रक्षा गर्नेछ।
८ अन्तमा हे भाइहरू हो, जुन कुराहरू सत्य छन्, जुन कुराहरू गम्भीरतासाथ ध्यान दिन लायकका छन्, जुन कुराहरू असल छन्, जुन कुराहरू चोखा* छन्, जुन कुराहरू प्रेम गर्न योग्य छन्, जुन कुराहरूले राम्रो नाम कमाएका छन्, जुन कुराहरूमा सद्गुण छ अनि जुन कुराहरू प्रशंसायोग्य छन्, ती नै कुराहरूको विचार गरिरहो।*+ ९ जुन कुराहरू तिमीहरूले मबाट सिक्यौ, स्विकाऱ्यौ, सुन्यौ र देख्यौ, ती नै कुराहरू गर्नेगर+ अनि शान्तिका परमेश्वर तिमीहरूका साथमा हुनुहुनेछ।
१० म प्रभुमा ज्यादै रमाउँछु किनकि बल्ल तिमीहरूले फेरि मेरो विषयमा सोच्न थालेका छौ।+ हुनत तिमीहरूले मेरो विषयमा सोचेका थियौ तर त्यो देखाउने मौका भने पाएका थिएनौ। ११ खाँचोमा परेकोले मैले यसो भनेको त होइनँ किनकि जस्तोसुकै परिस्थितिमा परे तापनि सन्तुष्ट हुन मैले सिकेको छु।+ १२ अभावमा कसरी जीवन बिताउने+ अनि प्रशस्ततामा कसरी जीवन बिताउने, त्यो मलाई थाह छ। पेट टन्न हुँदा होस् वा भोकै रहँदा अनि प्रशस्ततामा होस् वा अभावमा, हरेक कुरामा र सबै परिस्थितिमा कसरी सन्तुष्ट हुने, त्यो रहस्य मैले सिकेको छु। १३ किनकि जसले मलाई शक्ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।+
१४ जे होस्, मेरो सङ्कष्टमा मलाई साथ दिएर तिमीहरूले राम्रो गऱ्यौ। १५ वास्तवमा हे फिलिप्पीका भाइहरू हो, तिमीहरूलाई यो कुरा पनि थाह छ कि तिमीहरूले पहिलो पटक सुसमाचार सुनेपछि, जब म म्यासिडोनियाबाट बिदा भएँ, तब तिमीहरूबाहेक अरू कुनै मण्डलीले न मलाई मदत गऱ्यो न त मेरो मदत नै स्विकाऱ्यो+ १६ किनकि म थिस्सलोनिकामा हुँदा मेरो खाँचो टार्न तिमीहरूले एक चोटि मात्र होइन तर दुई-दुई चोटि सहयोग पठायौ। १७ म तिमीहरूबाट कुनै उपहार पाउने आशा गर्दिनँ बरु यस्तो फल पाउन चाहन्छु, जसले गर्दा तिमीहरूको खातामा असल कुराहरू थपिँदै जानेछ। १८ तथापि मसित मलाई आवश्यक पर्ने सबै कुरा छ, भनौँ भने आवश्यकताभन्दा धेरै छ। अब मलाई कुनै कुराको कमी छैन किनकि तिमीहरूले इपाफ्रोडाइटसमार्फत+ पठाएका कुराहरू मैले पाएको छु। ती कुराहरू परमेश्वरको लागि ग्रहणयोग्य अनि मीठो बास्ना भएको यस्तो बलिदान हो,+ जसले उहाँलाई असाध्यै खुसी बनाउँछ। १९ यसको बदलामा मेरा परमेश्वरले आफ्नो प्रशस्त धनसम्पत्तिद्वारा तिमीहरूको सबै खाँचो ख्रिष्ट येसुमार्फत प्रशस्तगरि पूरा गरिदिनुहुनेछ।+ २० हाम्रा परमेश्वर र बुबाको सदासर्वदा महिमा भइरहोस्। आमिन।
२१ ख्रिष्ट येसुसित एकतामा भएका सबै पवित्र जनलाई मेरो अभिवादन छ भनिदेओ। मसित भएका भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। २२ सबै पवित्र जन, अझ विशेषगरि सिजरको* घरानाले+ तिमीहरूलाई अभिवादन पठाएका छन्।
२३ तिमीहरूले देखाउने मनोभावमाथि प्रभु येसु ख्रिष्टको असीम अनुग्रह रहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शा., “शरीरमा।”
वा “मनका।”
शब्दावली हेर्नुहोस्।
वा “जनसेवा।”
शब्दावली हेर्नुहोस्।
वा सम्भवतः “प्रभुको कामको।”
शा., “कुकुरहरूदेखि।”
अर्थात्, खतना गर्नेहरूदेखि।
शब्दावली हेर्नुहोस्।
वा सम्भवतः “ख्रिष्टको खातिर राजीखुसीले त्यागेको छु।”
वा “फोहोर।”
शब्दावली हेर्नुहोस्।
वा “मसँगै कडा सङ्घर्ष गरेका छन्।”
वा “तिमीहरूको दिमागको; तिमीहरूको विचारको।”
वा “शुद्ध।”
वा “ती नै कुराहरूमा मनन गरिरहो।”
शब्दावली हेर्नुहोस्।