तिमोथिलाई दोस्रो पत्र
१ ख्रिष्ट येसुमार्फत दिइने जीवनको प्रतिज्ञाबारे घोषणा गर्न+ म पावल, परमेश्वरको इच्छाद्वारा ख्रिष्ट येसुको प्रेषित* बनेको हुँ २ र मेरो प्रिय छोरा तिमोथिलाई+ म यो पत्र लेख्दै छु।
परमेश्वर, हाम्रा बुबाको अनि हाम्रा प्रभु ख्रिष्ट येसुको असीम अनुग्रह, कृपा र शान्ति तिमीसित रहोस्।
३ म परमेश्वरप्रति कृतज्ञ छु, जसलाई मेरा पुर्खाहरूले पवित्र सेवा चढाउँथे र म पनि सफा अन्तस्करणले पवित्र सेवा चढाउँछु। मैले दिनरात आफ्ना उत्कट बिन्तीहरूमा तिमीलाई सम्झन कहिल्यै छोडेको छैनँ। ४ तिम्रा आँसुहरू सम्झँदै म तिमीलाई भेट्ने तिर्सना गर्दै छु र तिमीलाई भेटेर आनन्दित हुन चाहन्छु। ५ म तिम्रो निष्कपट विश्वास सम्झन्छु,+ जुन सुरुमा तिम्री बज्यै लोइस र तिम्री आमा युनिससित थियो र म निर्धक्क छु, त्यस्तै विश्वास तिमीसित पनि छ।
६ यसकारण म तिमीलाई सम्झाउन चाहन्छु, मैले तिमीमाथि हात राख्दा तिमीले परमेश्वरबाट जुन वरदान पायौ, त्यसलाई आगोझैँ दन्काइरह।+ ७ किनकि परमेश्वरले दिनुहुने पवित्र शक्तिले हामीमा कायरता होइन+ तर शक्ति,+ प्रेम अनि सुझबुझ जगाउँछ। ८ त्यसैले हाम्रा प्रभुको विषयमा साक्षी दिन सरम नमान+ अनि उहाँको निम्ति कैदमा परेको मेरो कारणले पनि सरम नमान बरु परमेश्वरको शक्तिमा भर परेर+ मैले जस्तै तिमीले पनि सुसमाचारको निम्ति कष्ट भोग।+ ९ परमेश्वरले हाम्रो उद्धार गर्नुभयो र उहाँको पवित्र जन बन्न हामीलाई बोलाउनुभयो+ तर उहाँले हाम्रा कामहरू देखेर बोलाउनुभएको होइन बरु आफ्नो उद्देश्य पूरा गर्न अनि आफ्नो असीम अनुग्रहले गर्दा बोलाउनुभएको हो।+ उहाँले धेरै पहिले ख्रिष्ट येसुमार्फत हामीमाथि यस्तो अनुग्रह देखाउनुभयो। १० अनि हाम्रा उद्धारक ख्रिष्ट येसु प्रकट हुनुभएकोले यस अनुग्रहबारे अहिले हामीलाई प्रस्ट पारिएको छ,+ जसले मृत्युलाई नामेट पार्नुभयो+ र कसरी जीवन पाउन+ र अविनाशी हुन सकिन्छ,+ सुसमाचारद्वारा हामीलाई प्रकट गर्नुभयो।+ ११ यही सुसमाचारका लागि मलाई प्रचारक, प्रेषित र शिक्षक नियुक्त गरिएको थियो।+
१२ यही कारणले म यी कष्टहरू पनि भोग्दै छु+ तर मैले सरम मानेको छैनँ।+ किनकि मैले कसलाई विश्वास गरेको हुँ, त्यो मलाई थाह छ र मैले उहाँलाई सुम्पेको नासोलाई न्यायको दिनसम्म सँभालेर राख्ने क्षमता उहाँसित छ भनेर म ढुक्क छु।+ १३ तिमीले मबाट सुनेको साँचो* शिक्षाको+ नमुनालाई* ख्रिष्ट येसुसित एकतामा रहँदा प्राप्त हुने विश्वास र प्रेमसहित पक्रिराख। १४ हामीलाई सुम्पिइएको यस उत्तम नासोलाई हामीमा बास गरिरहेको पवित्र शक्तिद्वारा सँभालेर राख।+
१५ एसिया प्रान्तका सबै मानिस+ मदेखि तर्केर गए भनेर तिमीलाई थाहै छ। फाइगेलस र हर्मोजेनस पनि तिनीहरूमध्येका हुन्। १६ ओन्सिफरसको घरमा हुनेजति सबैमाथि+ प्रभुले कृपा देखाऊन् किनकि तिनले मलाई निकै चोटि प्रोत्साहन दिए र म कैदमा परेकोमा सरम मानेनन्। १७ बरु तिनी रोममा छँदा मलाई धुइँधुइँती खोजेर भेट्न आउँथे। १८ न्यायको दिनमा प्रभु यहोवाले* तिनीमाथि कृपा देखाऊन्। अनि तिनले एफिससमा गरेका सबै सेवाबारे त तिमीलाई राम्ररी थाहै छ।
२ त्यसैले हे मेरो छोरा,+ ख्रिष्ट येसुले देखाउनुहुने असीम अनुग्रहद्वारा आफूलाई बलियो बनाइराख। २ अनि तिमीले मबाट जे-जे सुन्यौ अनि जसबारे धेरैले साक्षी पनि दिए,+ ती कुराहरू विश्वासी पुरुषहरूलाई सुम्पिदेऊ ताकि तिनीहरू पनि अरूलाई सिकाउन योग्य हुन सकून्। ३ ख्रिष्ट येसुको सुयोग्य सिपाहीको रूपमा+ तिमी पनि दुःख भोग्न तयार होऊ।+ ४ सैन्य सेवामा लाग्ने कुनै पनि मानिसले व्यापारमा* हात हाल्दैन* किनकि ऊ आफूलाई सैन्य सेवामा भर्ती गराउने व्यक्तिको अनुमोदन पाउन चाहन्छ। ५ त्यसैगरि खेलकुदमा प्रतिस्पर्धा गर्ने मानिसले पनि नियमअनुसार नखेलेसम्म इनाम* पाउँदैन।+ ६ कडा परिश्रम गर्ने किसानले नै पहिला आफ्नो उब्जनी खान पाउनुपर्छ। ७ मैले भनेका कुराहरूमा निरन्तर ध्यान देऊ; प्रभुले तिमीलाई सबै कुराको समझ दिनुहुनेछ।
८ येसु ख्रिष्ट मृत्युबाट ब्युँताइनुभएको थियो+ अनि उहाँ दाउदको सन्तान हुनुहुन्थ्यो+ भनेर नबिर्स। मैले प्रचार गर्ने सुसमाचार यही हो+ ९ अनि यसैको निम्ति म कष्ट भोग्दै छु र एक जना अपराधीजस्तै कैदमा परेको छु।+ तर परमेश्वरको वचन त बन्धनमा परेको छैन।+ १० यसकारण चुनिएका जनहरूको खातिर म सबै कुरा सहिरहन्छु+ ताकि तिनीहरूले पनि ख्रिष्ट येसुमार्फत उद्धार हासिल गर्नुका साथै अनन्त महिमा पनि पाऊन्। ११ यो भनाइ विश्वासयोग्य छ: यदि हामी सँगै मऱ्यौँ भने अवश्य सँगै बाँच्ने पनि छौँ;+ १२ यदि हामीले कष्ट सहिरह्यौँ भने उहाँसँगै राजाको रूपमा शासन पनि गर्नेछौँ;+ यदि हामीले उहाँलाई तिरस्कार गऱ्यौँ भने उहाँले पनि हामीलाई तिरस्कार गर्नुहुनेछ।+ १३ तर हामी विश्वासघाती भयौँ भने पनि उहाँ विश्वासयोग्य रहिरहनुहुनेछ किनकि उहाँ आफैलाई ढाँट्न सक्नुहुन्न।
१४ परमेश्वरसामु तिनीहरूलाई यी कुराहरू सम्झाइरहनू अनि शब्दहरूको विषयमा झगडा नगर्नू भनेर निर्देशन पनि दिनू* किनकि त्यसो गरेर केही फाइदा हुँदैन बरु सुन्नेहरूलाई नोक्सान मात्र हुन्छ।* १५ आफूलाई परमेश्वरको अनुमोदन पाउन योग्य सेवक, कुनै कुरामा सरम मान्नु नपर्ने कामदार अनि सत्यको वचन ठीकसित प्रयोग गर्ने मानिस साबित गर्न तिमीले भरसक कोसिस गर।+ १६ पवित्र कुरालाई बिटुलो पार्ने खोक्रा बोलीहरूलाई तिरस्कार गर+ किनकि त्यस्तो बोलीले झनै भक्तिहीन कामहरूतर्फ पुऱ्याउँछ १७ अनि त्यस्तो बोली सइनजस्तै फैलनेछ। हाइमेनियस र फिलेतस त्यस्तो बोली फैलाउनेहरूमध्येका हुन्।+ १८ यी मानिसहरू सत्यबाट तर्केका छन् र मरेकाहरूलाई फेरि जीवित पार्ने काम भइसक्यो भनेर सिकाउँछन्;+ यसरी तिनीहरूले कसै-कसैको विश्वास ध्वस्त पारिरहेका छन्। १९ यी सबको बाबजुद परमेश्वरको बलियो जग भने ज्यूँका त्यूँ रहिरहन्छ, जसमा यस्तो वचन कुँदिएको छ: “आफ्ना मानिसहरूलाई यहोवा* परमेश्वर चिन्नुहुन्छ”+ अनि “यहोवा* परमेश्वरको नाम लिने जति सबैले+ कुकर्म त्यागून्।”
२० ठूलो घरमा सुन र चाँदीका भाँडाहरू मात्र होइन, काठ र माटाका भाँडाहरू पनि हुन्छन्, कुनै आदरणीय प्रयोगका लागि त कुनै मामुली कामका लागि। २१ तसर्थ जो मामुली काममा प्रयोग हुने भाँडाहरूबाट टाढै बस्छ, ऊ आदरणीय प्रयोगका लागि छुट्ट्याइएको, चोखो, मालिकका लागि उपयोगी अनि हरेक असल कामका लागि तयार पारिएको भाँडा* हुनेछ। २२ त्यसैले युवावस्थामा उत्पन्न हुने इच्छाहरूदेखि भाग र स्वच्छ हृदयले प्रभुलाई पुकार्ने मानिसहरूसँगै तिमी पनि धार्मिकता,* विश्वास, प्रेम र शान्तिको पछि लाग।
२३ यसबाहेक मूर्खता अनि अज्ञानताले भरिएका वादविवादलाई तिरस्कार गर+ किनकि त्यसले झगडा गराउँछ। २४ प्रभुको दासले झगडा गर्नु हुँदैन बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल* व्यवहार गर्छ,+ जससित सिकाउने योग्यता छ, जो अरूले नराम्रो व्यवहार गर्दा समेत आफूलाई काबूमा राख्छ+ २५ र सल्लाह सुन्न अस्वीकार गर्नेहरूलाई कोमलतासाथ सम्झाउँछ।+ हुन सक्छ, यसरी सम्झाइबुझाइ गर्दा परमेश्वरले ती मानिसहरूलाई पश्चात्ताप गर्ने* मौका दिएर सत्यको सही ज्ञान हासिल गर्न मदत दिनुहुनेछ+ २६ अनि तिनीहरूको होस खुल्नेछ र दियाबलले आफ्नो इच्छा पूरा गर्न आफूहरूलाई जिउँदै पक्रेको रहेछ+ भन्ने कुरा बुझेर तिनीहरू त्यसको पासोबाट उम्केर आउनेछन्।
३ तर अन्तको दिनमा+ असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख। २ किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्कारी, निन्दा गर्ने, आमाबुबाको आज्ञा पालन नगर्ने, कृतघ्न, विश्वासघाती, ३ स्वाभाविक स्नेह नभएका, कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, ४ धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने, परमेश्वरलाई नभई सुखविलासलाई प्रेम गर्ने ५ अनि परमेश्वरको भक्ति गरेको ढोँग गर्ने तर त्यसअनुसार नचल्ने हुनेछन्;+ यिनीहरूबाट अलग बस। ६ यिनीहरूमध्येबाट केही यस्ता मानिसहरू निस्कनेछन्, जो अरूको घरपरिवारमा सुटुक्क छिर्नेछन् अनि विभिन्न इच्छाहरूको बहकाउमा परेर पापको भारी बोकिरहेका कमजोर स्त्रीहरूलाई आफ्नो कैदमा पार्नेछन्। ७ यी स्त्रीहरू सिक्न त सधैँ सिकिरहन्छन् तर सत्यको सही ज्ञान भने कहिल्यै हासिल गर्न सक्दैनन्।
८ यान्नेस र याम्ब्रेसले मोसाको विरोध गरेजस्तै यी मानिसहरू पनि सत्यको विरोध गर्ने गर्छन्। यिनीहरूको दिमाग पूरै भ्रष्ट छ र ख्रिष्टियन विश्वासअनुसार नचलेकोले यिनीहरू तिरस्कृत भएका छन्। ९ तर यिनीहरू अझ अघि बढ्न पाउनेछैनन् किनकि जसरी ती दुई जनाको मूर्खता प्रकट भयो, त्यसरी नै यिनीहरूको मूर्खता पनि सबैसामु उदाङ्ग हुनेछ।+ १० तर तिमीले भने मेरो शिक्षा, मेरो जीवनशैली,+ मेरो उद्देश्य, मेरो विश्वास, मेरो धीरज, मेरो प्रेम र मेरो सहनशीलता राम्ररी देखेका छौ। ११ त्यसैगरि ममाथि आइपरेको खेदो र मैले भोगेको कष्ट पनि तिमीलाई थाह छ। जस्तै: एन्टिओक,+ आइकोनियम+ र लिस्त्रामा+ ममाथि के-के आइपऱ्यो, त्यो तिमीलाई थाह छ। मैले यी सबै खेदो सहेँ र प्रभुले मलाई यी सबैबाट छुटाउनुभयो।+ १२ वास्तवमा ख्रिष्ट येसुको चेलाको नाताले परमेश्वरको भक्ति गर्दै जीवन बिताउन चाहनेहरूजति सबैमाथि खेदो आइपर्नेछ।+ १३ तर दुष्ट र जाली मानिसहरू झन्झन् खराब हुँदै जानेछन्। तिनीहरूले अरूलाई बहकाउनुका साथै आफै पनि बहकिनेछन्।+
१४ तर तिमी भने आफूले सिकेका र आफूलाई विश्वस्त पारिएका कुराहरूमा लागिरह।+ तिमीले यी कुराहरू कसबाट सिकेका हौ, तिमीलाई थाहै छ १५ अनि तिमीलाई शैशवकालदेखि नै+ पवित्र लेखोटहरू पनि थाह छ।+ यी लेखोटहरूले तिमीलाई ख्रिष्ट येसुमाथिको विश्वासद्वारा उद्धार हासिल गर्न बुद्धिमान् बनाउन सक्छ।+ १६ धर्मशास्त्रमा भएका सबै कुरा परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो+ र यो सिकाउन,+ सुधार्न, सच्याउन र परमेश्वरको स्तरबमोजिम अनुशासन दिनका लागि+ उपयोगी छ, १७ जसले परमेश्वरको जनलाई पूर्णतया योग्य र हरेक असल कामका लागि पूर्ण रूपमा तयार बनाउँछ।
४ ख्रिष्ट येसु, जसको राज्य आउन लागेको छ+ र जो प्रकट भएर+ जिउँदा र मरेका दुवैको न्याय गर्नुहुनेछ,+ उहाँसामु अनि परमेश्वरसामु म तिमीलाई यो गम्भीर आज्ञा दिन्छु: २ वचन प्रचार गर,+ चाहे अवस्था अनुकूल होस् वा प्रतिकूल, जोडतोडले प्रचार गर। त्यसैगरि असाध्यै धीरजी भएर अनि शिक्षणकलाको पूर्ण सदुपयोग गरेर सुधार,+ हप्काऊ र अर्ती देऊ।+ ३ किनकि यस्तो समय आउनेछ, जब तिनीहरूले साँचो* शिक्षालाई तिरस्कार गर्नेछन्।+ बरु आफूखुसी चलेर तिनीहरूले आफूलाई जे सुन्न मन पर्छ, त्यही मात्र सुनाउने शिक्षकहरू भेला पार्नेछन्।+ ४ तिनीहरूले सत्य सुन्नदेखि आफ्नो कान फर्काएर झूटा कथाहरूमा ध्यान दिनेछन्। ५ तर तिमी भने सबै कुरामा सचेत भएर बस, कष्ट भोग,+ प्रचारकको काम गर* र आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर।+
६ किनकि म मद्यभेटीको* रूपमा+ अर्पित भइरहेको छु अनि मेरो छुटकारा हुने समय+ अत्यन्तै नजिक छ। ७ मैले उत्तम लडन्त लडेको छु,+ मैले दौड पूरा गरेको छु,+ मैले विश्वासलाई थामिराखेको छु। ८ धार्मिकताको* मुकुट मेरो लागि अहिल्यैदेखि साँचेर राखिएको छ।+ असल न्यायाधीश प्रभुले+ न्यायको दिनमा इनामस्वरूप मलाई त्यो मुकुट दिनुहुनेछ,+ मलाई मात्र होइन तर उहाँको प्रकटीकरणको तीव्र प्रतीक्षा गर्नेहरू सबैलाई।
९ मकहाँ छिट्टै आउन सक्दो कोसिस गर १० किनकि वर्तमान युगको* प्रेममा फसेर डेमसले+ मलाई त्यागेका छन् र तिनी थिस्सलोनिका गएका छन्। क्रेसेन्स गलातियामा र तितस दलमतियामा गएका छन्। ११ लुका मात्र मसित छन्। मर्कुसलाई सँगै लिएर आऊ किनकि सेवाको काममा तिनी मेरो लागि उपयोगी छन्। १२ टाइकिकसलाई+ चाहिँ मैले एफिसस पठाएको छु। १३ मैले त्रोआसमा कार्पसकहाँ छोडेको खास्टो अनि मुठाहरू, विशेषगरि चर्मपत्रहरू* तिमी आउँदा आफूसितै लिएर आऊ।
१४ तामाको काम गर्ने अलेक्जेन्डरले मलाई धेरै दुःख दियो। यहोवा* परमेश्वरले उसलाई कामअनुसारको प्रतिफल दिनुहुनेछ।+ १५ तिमी पनि ऊदेखि होसियार बस्नू किनकि उसले हाम्रो सन्देशको असाध्यै विरोध गऱ्यो।
१६ मैले पहिलो चोटि प्रतिवाद गर्दा कसैले मेरो पक्ष लिएन तर तिनीहरू सबैले मलाई त्यागे। यसको हिसाब तिनीहरूसित नलिइयोस्। १७ तर प्रभु मेरो नजिकै खडा हुनुभयो र उहाँले ममा शक्ति भरिदिनुभयो ताकि मद्वारा प्रचारको काम राम्ररी पूरा होस् अनि सबै जातिले यो सुनून्।+ उहाँले मलाई सिंहको मुखबाट छुटाउनुभयो।+ १८ प्रभुले मलाई हरकिसिमका दुष्ट कामहरूबाट बचाउनुहुनेछ र स्वर्गको राज्यको लागि जोगाइराख्नुहुनेछ।+ उहाँले सदासर्वदा महिमा पाइरहून्। आमिन।
१९ प्रिस्का र अक्विलालाई+ अनि ओन्सिफरसको घरमा हुनेहरूलाई+ मेरो अभिवादन छ भनिदेऊ।
२० इरास्तस+ कोरिन्थमै बसे तर त्रोफिमस+ भने बिरामी परेकोले मैले तिनलाई मिलेटसमै छोडेँ। २१ हिउँदअघि नै मकहाँ आउन सक्दो कोसिस गर।
युबलसले तिमीलाई अभिवादन पठाएका छन्; त्यसैगरि पुडेस, लिनस, क्लौडिया र अरू सबै भाइले पनि।
२२ तिमीले देखाउने मनोभावमा प्रभुको आशिष् होस्। उहाँको असीम अनुग्रह तिमीमाथि रहोस्।
शब्दावली हेर्नुहोस्।
वा “स्वस्थकर; लाभदायी।”
वा “रूपरेखालाई।”
अतिरिक्त लेख क५ हेर्नुहोस्।
वा सम्भवतः “दैनिक क्रियाकलापमा।”
शा., “व्यापारमा अल्झिएर बस्दैन।”
शा., “मुकुट।”
शा., “राम्ररी साक्षी पनि दिनू।”
वा “सुन्नेहरूको विनाश गर्छ।”
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
वा “साधन।”
शब्दावली हेर्नुहोस्।
वा “कुशलतापूर्वक।”
वा “मन परिवर्तन गर्ने।”
वा “स्वस्थकर; लाभदायी।”
वा “सुसमाचार प्रचार गरिरह।”
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
अर्थात्, छालाबाट बनाइएका मुठाहरू। शब्दावलीमा “चर्मपत्र” हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।