प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt हिब्रू १:१-१३:२५
  • हिब्रू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हिब्रू
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
हिब्रू

हिब्रूहरूलाई पत्र

१ परमेश्‍वरले धेरै अघि थुप्रै पटक अनि विभिन्‍न तरिकामा भविष्यवक्‍ताहरूमार्फत हाम्रा पुर्खाहरूसित बोल्नुभयो।+ २ यी दिनहरूको अन्तमा चाहिँ उहाँ हामीसित आफ्नो छोरामार्फत बोल्नुभएको छ,+ जसलाई उहाँले सबै कुराको उत्तराधिकारी तुल्याउनुभयो+ र जसद्वारा उहाँले स्वर्ग र पृथ्वीका सबै कुरा बनाउनुभयो।*+ ३ उहाँ परमेश्‍वरको महिमाको प्रतिबिम्ब+ अनि परमेश्‍वरको प्रतिरूप हुनुहुन्छ।+ आफ्नो शक्‍तिशाली वचनद्वारा उहाँले सबै कुरा सम्हाल्नुहुन्छ। हामीलाई हाम्रा पापहरूबाट शुद्ध पारिसकेपछि+ उहाँ स्वर्गमा परमेश्‍वरको दाहिने हाततिर बस्नुभयो।+ ४ यसप्रकार उहाँ स्वर्गदूतहरूभन्दा श्रेष्ठ हुनुभएको छ,+ यहाँसम्म कि उहाँले तिनीहरूको भन्दा उत्कृष्ट नाम हासिल गर्नुभएको छ।+

५ उदाहरणका लागि, के परमेश्‍वरले आफ्ना स्वर्गदूतहरूमध्ये कसैलाई कहिल्यै यसो भन्‍नुभयो र: “तिमी मेरो छोरा हौ। म आज तिम्रो बुबा बनेको छु”?+ अनि फेरि: “म तिनको बुबा हुनेछु र तिनी मेरो छोरा हुनेछन्‌”?+ ६ अनि आफ्नो पहिलो सन्तानलाई+ पृथ्वीमा फेरि पठाउँदा उहाँ भन्‍नुहुन्छ: “परमेश्‍वरका सबै स्वर्गदूतले तिनलाई दण्डवत्‌ गरून्‌।”

७ साथै स्वर्गदूतहरूको विषयमा उहाँ यसो भन्‍नुहुन्छ: “उहाँ आफ्ना स्वर्गदूतहरूलाई शक्‍तिशाली बनाउनुहुन्छ अनि आफ्ना सेवकहरूलाई*+ आगोको ज्वाला।”+ ८ तर आफ्नो छोराको विषयमा भने उहाँ भन्‍नुहुन्छ: “परमेश्‍वर सदासर्वदा तिम्रो सिंहासन हुनुहुन्छ+ अनि तिम्रो राज्यको राजदण्ड न्यायको राजदण्ड हो। ९ तिमी धार्मिकतालाई* प्रेम गर्छौ र दुष्टतालाई घृणा गर्छौ। त्यसैले परमेश्‍वरले, तिम्रै परमेश्‍वरले तिम्रा साथीहरूलाई भन्दा बढ्‌ता गरेर तिमीलाई हर्षको तेलले अभिषेक गर्नुभयो।”+ १० अनि: “हे प्रभु, तपाईँले प्रारम्भमै पृथ्वीको जग बसाल्नुभयो अनि आकाश तपाईँकै हातको रचना हो। ११ तिनीहरू नाश हुनेछन्‌ तर तपाईँ भने सधैँभरि रहिरहनुहुनेछ। लुगाजस्तै तिनीहरू सब पुराना भएर जानेछन्‌ १२ अनि खास्टोलाई पोको पारेजस्तै तपाईँले तिनीहरूलाई पोको पार्नुहुनेछ र लुगा फेरेजस्तै फेर्नुहुनेछ। तर तपाईँ भने जस्ताको तस्तै हुनुहुन्छ अनि तपाईँको आयु कहिल्यै सिद्धिनेछैन।”+

१३ त्यसैगरि आफ्ना स्वर्गदूतहरूमध्ये कसैको विषयमा उहाँले कहिल्यै यसो भन्‍नुभएको छ र: “तिमी मेरो दाहिने हाततिर बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ”?+ १४ के तिनीहरू सबै जना पवित्र सेवा* चढाउने स्वर्गदूतहरू होइनन्‌, जसलाई उद्धार पाउनेहरूको सेवा गर्न पठाइन्छ?+

२ यसैकारण आफूले सुनेका कुराहरूमा हामीले सदाभन्दा बढी ध्यान दिनु आवश्‍यक छ+ ताकि हामी कहिल्यै तर्केर नजाऔँ।+ २ यदि स्वर्गदूतहरूद्वारा बताइएको वचन+ त पक्का साबित भयो र ज-जसले त्यसको विरुद्धमा अपराध गरे अनि अनाज्ञाकारी भए, तिनीहरूले न्यायबमोजिम दण्ड पाए भने+ ३ यस्तो महान्‌ उद्धारलाई बेवास्ता गरेर हामी कसरी बचौँला?+ यो उद्धार यसैकारणले महान्‌ छ किनभने यसबारे हाम्रा प्रभुले पहिला बताउनुभयो+ अनि उहाँको कुरा सुनेकाहरूले यो कुरा सत्य हो भनेर हाम्रो लागि पुष्टि गरिदिए। ४ साथै परमेश्‍वरले पनि चमत्कार, आश्‍चर्यजनक कार्य र विभिन्‍न शक्‍तिशाली कामहरूद्वारा+ अनि उहाँको इच्छाबमोजिम बाँडिएको पवित्र शक्‍तिद्वारा+ यसको साक्षी दिनुभयो।

५ किनकि आउनेवाला पृथ्वी, जसबारे हामीले बताइरहेका छौँ, उहाँले त्यसलाई स्वर्गदूतहरूको अधीनमा राख्नुभएको छैन।+ ६ तर एक जना साक्षीले एक ठाउँमा यसो भनेका छन्‌: “मानिस के हो र, जसलाई तपाईँ सम्झनुहुन्छ वा मानिसका सन्तान के हुन्‌ र, जसको तपाईँ ख्याल राख्नुहुन्छ?+ ७ तपाईँले उसलाई स्वर्गदूतहरूभन्दा केही मात्र कम गरेर बनाउनुभयो; तपाईँले उसलाई गौरव र आदरको मुकुट पहिऱ्‍याउनुभयो अनि आफ्नो हातको रचनामाथि अधिकार दिनुभयो। ८ तपाईँले सबै कुरा उसको पाउमुनि राखिदिनुभयो।”+ परमेश्‍वरले सबै कुरा उहाँको अधीनमा राख्नुभयो,+ परमेश्‍वरले उहाँको अधीनमा नराख्नुभएको कुनै कुरा छैन।+ यद्यपि अहिले सबै कुरा उहाँको अधीनमा भइसकेको हामीले अझै देखेका छैनौँ।+ ९ तर हामीले येसुलाई भने देखेका छौँ, जो स्वर्गदूतहरूभन्दा अलि निम्न कोटिको बनाइनुभएको थियो+ र मृत्यु भोग्नुभएकोले अहिले उहाँलाई महिमा र आदरको मुकुट पहिराइएको छ।+ परमेश्‍वरको असीम अनुग्रहद्वारा उहाँले सबैको निम्ति मृत्यु चाख्नुभयो।+

१० सबै कुरा परमेश्‍वरको लागि अस्तित्वमा आए अनि उहाँद्वारै ती अस्तित्वमा छन्‌। यसैले धेरै छोरालाई महिमित पार्नको लागि+ उहाँले तिनीहरूको उद्धार गर्ने मुख्य माध्यमलाई+ दुःखकष्ट सहन दिएर पूर्ण बनाउनु उचित थियो।+ ११ जसले पवित्र पार्दै हुनुहुन्छ अनि जसलाई पवित्र पारिँदै छ,+ दुवै एकै जनाबाट आएका हुन्‌+ र यसैकारण उहाँ तिनीहरूलाई आफ्ना भाइहरू भन्‍न सर्माउनुहुन्‍न,+ १२ जस्तो उहाँ भन्‍नुहुन्छ: “म तपाईँको नाम मेरा दाजुभाइलाई बताउनेछु; समुदायमा म तपाईँको स्तुतिगान गाउनेछु।”+ १३ अनि फेरि: “म उहाँमा मेरो भरोसा राख्नेछु।”+ अनि फेरि: “हेर! म अनि मेरा साना छोराहरू, जो यहोवाले* मलाई दिनुभएको हो।”+

१४ तसर्थ “छोराहरू” रगत र मासुले बनेका हुनाले उहाँ पनि तिनीहरूजस्तै हुनुभयो+ ताकि जससित मृत्युमा पुऱ्‍याउने क्षमता छ, त्यसलाई+ अर्थात्‌ दियाबललाई आफ्नो मृत्युद्वारा नामेट पार्न सकियोस्‌+ १५ अनि मृत्युको डरले गर्दा जो-जो जीवनभरि दासत्वमा परेका थिए, तिनीहरू सबैलाई मुक्‍त गर्न सकियोस्‌।+ १६ किनकि उहाँले वास्तवमा स्वर्गदूतहरूलाई होइन तर अब्राहामको सन्तानलाई मदत गरिरहनुभएको छ।+ १७ यसैकारण परमेश्‍वरसित सम्बन्धित कुराहरूमा कृपालु र विश्‍वासयोग्य प्रधानपुजारी बन्‍न सकियोस्‌ र यसरी मानिसहरूको पापको लागि प्रायश्‍चितको बलिदान+ चढाउन* सकियोस्‌ भनेर+ उहाँ हरतवरमा आफ्ना “भाइहरू” जस्तै बन्‍नु आवश्‍यक थियो।+ १८ परीक्षामा परेको बेला उहाँ आफैले दुःख भोगिसक्नुभएकोले+ परीक्षामा परिरहेकाहरूलाई मदत गर्न उहाँ सक्षम हुनुहुन्छ।+

३ त्यसैले हे स्वर्गीय बोलावट* पाएका पवित्र भाइहरू हो,+ हामीले स्वीकार गरेका प्रेषित* र प्रधानपुजारी येसुलाई+ विचार गर। २ परमेश्‍वर, जसले उहाँलाई नियुक्‍त गर्नुभयो, उहाँप्रति येसु वफादार हुनुभयो,+ जसरी मोसा पनि परमेश्‍वरको सारा घरानामा वफादार थिए।+ ३ जसरी घरको भन्दा घर बनाउनेको बढी आदर गरिन्छ, त्यसरी नै येसु पनि मोसाभन्दा धेरै गौरव पाउन योग्य ठहरिनुभयो।+ ४ हो, हरेक घर कसै न कसैद्वारा निर्माण गरिएको हुन्छ तर सबै थोक निर्माण गर्ने त परमेश्‍वर नै हुनुहुन्छ। ५ मोसा, पछि बताइने कुराको साक्षी थिए र परमेश्‍वरको सारा घरानामा सेवकको रूपमा वफादार रहे। ६ तर ख्रिष्टचाहिँ परमेश्‍वरको छोरा+ अनि परमेश्‍वरको सारा घरानामाथि अधिकारप्राप्त व्यक्‍तिको रूपमा वफादार रहनुभयो। यदि हामी निर्धक्क भई बोल्ने हाम्रो साहसलाई र जुन आशाबारे हामी घमन्ड गर्छौँ, त्यस आशालाई अन्तसम्म दह्रोगरि पक्रिराख्छौँ भने परमेश्‍वरको घराना हामी नै हौँ।+

७ त्यसैकारण पवित्र शक्‍तिले भनेझैँ+ “यदि आज तिमीहरू उहाँको कुरा सुन्छौ भने ८ आफ्नो हृदय कठोर नपार, जसरी तिमीहरूका पुर्खाहरूले आफ्नो हृदय कठोर पारेर मलाई क्रोधित बनाएका थिए र निर्जनभूमिमा मेरो परीक्षा लिएका थिए।+ ९ तिमीहरूका पुर्खाहरूले ४० वर्षसम्म मेरो काम देख्दादेख्दै पनि मेरो परीक्षा गरेर मलाई चुनौती दिएका थिए।+ १० त्यसैले यस पुस्तादेखि म वाक्क भएँ र भनेँ: ‘तिनीहरूको हृदय सधैँ मदेखि टाढा छ अनि तिनीहरूले मेरो मार्ग चिनेका छैनन्‌।’ ११ त्यसैले मैले रिसाएर यस्तो शपथ खाएँ: ‘तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्‌।’”+

१२ हे भाइहरू हो, होसियार रहो नत्र त जीवित परमेश्‍वरबाट टाढा भएर तिमीहरूमध्ये कसै-कसैको हृदय यति दुष्ट होला कि त्यसमा विश्‍वासै नरहला।+ १३ बरु जबसम्म यो समयलाई “आज”+ भनिनेछ, तबसम्म दिनदिनै एकअर्कालाई प्रोत्साहन दिँदै बलियो बनाओ ताकि तिमीहरूमध्ये कोही पनि पापको भ्रामक शक्‍तिले गर्दा कठोर नहोस्‌। १४ किनकि हामीले सुरुमा पाएको भरोसालाई अन्तसम्म दह्रोगरि पक्रिराख्यौँ भने मात्र हामी वास्तवमा ख्रिष्टका सहभागीहरू* हुन्छौँ।+ १५ यसो भनिएको छ: “यदि आज तिमीहरू उहाँको कुरा सुन्छौ भने आफ्नो हृदय कठोर नपार, जसरी तिमीहरूका पुर्खाहरूले आफ्नो हृदय कठोर पारेका थिए र मलाई क्रोधित बनाएका थिए।”+

१६ किनकि सुनेर पनि परमेश्‍वरलाई क्रोधित बनाउनेहरू को थिए? वास्तवमा मोसाको नेतृत्वमा मिश्रबाट* निस्केर आउने सबैले नै त्यसो गरेनन्‌ र?+ १७ साथै परमेश्‍वर ४० वर्षसम्म कोदेखि वाक्क हुनुभयो?+ ज-जसले पाप गरे अनि ज-जसको लास निर्जनभूमिमै सडे, के तिनीहरूसितै होइन र?+ १८ तिनीहरू उहाँको विश्राममा प्रवेश गर्न पाउनेछैनन्‌ भनेर उहाँले कोसित शपथ खानुभयो? के ती अनाज्ञाकारीहरूसितै होइन र? १९ त्यसैले हामीले बुझ्यौँ, विश्‍वास नभएकोले तिनीहरू विश्राममा प्रवेश गर्न सकेनन्‌।+

४ त्यसकारण उहाँको विश्राममा प्रवेश गर्ने प्रतिज्ञा कायमै भएकोले हामी होसियार होऔँ ताकि तिमीहरूमध्ये कोही पनि त्यसमा प्रवेश गर्न अयोग्य नठहरियोस्‌।+ २ किनकि हामीलाई पनि सुसमाचार प्रचार गरियो,+ जसरी तिनीहरूलाई पनि गरिएको थियो तर सुनेको वचनले तिनीहरूलाई लाभ पुऱ्‍याएन किनकि वचन सुन्‍नेहरूसित जस्तो विश्‍वास थियो, तिनीहरूसित थिएन। ३ किनकि हामी जसले विश्‍वास गरेका छौँ, हामी विश्राममा प्रवेश गर्छौँ, जस्तो उहाँले भन्‍नुभएको छ: “त्यसैले मैले रिसाएर यस्तो शपथ खाएँ, ‘तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्‌,’”+ जबकि संसारको प्रारम्भ हुँदा नै उहाँको काम सिद्धिसकेको थियो।+ ४ किनकि सातौँ दिनको विषयमा उहाँले धर्मशास्त्रको एक ठाउँमा यसो भन्‍नुभएको छ: “अनि सातौँ दिनमा परमेश्‍वरले आफ्ना सबै कामबाट विश्राम लिनुभयो।”+ ५ अनि उहाँले फेरि यसो भन्‍नुभएको छ: “तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्‌।”+

६ कोही-कोही यो विश्राममा प्रवेश गर्न बाँकी नै छ अनि ज-जसलाई पहिला सुसमाचार घोषणा गरियो, तिनीहरू आफ्नो अनाज्ञाकारिताले गर्दा प्रवेश गर्न पाएनन्‌।+ ७ अनि धेरै समयपछि दाउदको भजनमा उहाँ फेरि कुनै एक दिनलाई “आज” भनी तोक्नुहुन्छ, जस्तो माथि भनिएको छ: “यदि आज तिमीहरू उहाँको कुरा सुन्छौ भने आफ्नो हृदय कठोर नपार।”+ ८ यदि यहोसुले+ तिनीहरूलाई विश्राम गर्ने ठाउँमा पुऱ्‍याइसकेका भए परमेश्‍वरले अर्को दिनको विषयमा फेरि भन्‍नुहुने थिएन। ९ त्यसैले परमेश्‍वरका जनहरूका लागि विश्रामदिनको* आराम बाँकी नै छ।+ १० किनकि परमेश्‍वरको विश्राममा प्रवेश गरेको मानिसले आफ्ना कामहरूबाट पनि विश्राम लिएको हुन्छ, जसरी परमेश्‍वरले आफ्ना कामहरूबाट विश्राम लिनुभयो।+

११ त्यसैले त्यो विश्राममा प्रवेश गर्न हामी यथासक्दो गरौँ ताकि कसैले पनि अनाज्ञाकारिताको त्यही नमुना नपछ्याओस्‌।+ १२ किनकि परमेश्‍वरको वचन जीवित र प्रबल+ अनि कुनै दुईधारे तरबारभन्दा धारिलो छ।+ यसले भित्रसम्मै छेडेर मानिसको बाहिरी रूप* र भित्री रूपलाई* अलग पार्छ, जोर्नी र त्यसको गुदीलाई* छुट्ट्याउँछ अनि हृदयको विचार र आशय जाँच्न सक्छ। १३ यस्तो कुनै सृष्टि छैन, जो उहाँको नजरबाट लुकेको होस्‌+ तर जसलाई हामीले लेखा दिनुपर्छ, उहाँको नजरमा सबै कुरा खुला र उदाङ्‌ग छन्‌।+

१४ त्यसैले परमेश्‍वरको छोरा येसु,+ जो स्वर्गमा प्रवेश गर्नुभयो, उहाँ हाम्रो महान्‌ प्रधानपुजारी हुनुभएकोले आओ, उहाँको विषयमा जनसमक्ष घोषणा गरिरहौँ।+ १५ किनकि हाम्रा प्रधानपुजारी हाम्रा कमजोरीहरूमा सहानुभूति देखाउन नसक्ने हुनुहुन्‍न+ बरु हामीजस्तै हर तवरमा परीक्षित तर पापरहित हुनुहुन्छ।+ १६ त्यसैले आओ, निर्धक्क भई बोल्ने साहसका साथ हामी असीम अनुग्रहको सिंहासनसामु जाऔँ+ ताकि चाहिएकै बेला मदत पाउन हामीले उहाँको कृपा र असीम अनुग्रह हासिल गर्न सकौँ।

५ मानिसहरूमध्येबाट छानिएका हरेक प्रधानपुजारी मानिसहरूको तर्फबाट परमेश्‍वरको सेवा गर्न नियुक्‍त भएका हुन्छन्‌+ र तिनले पापको निम्ति भेटी र बलिदान चढाउँछन्‌।+ २ अनजानमा गल्ती गर्नेहरूसित* तिनले करुणामय* व्यवहार गर्न सक्छन्‌ किनकि तिनका पनि आफ्नै कमीकमजोरी हुन्छन्‌।* ३ त्यसैले तिनले अरू मानिसका पापहरूको निम्ति भेटी चढाएजस्तै आफ्ना पापहरूको निम्ति पनि भेटी चढाउनुपर्छ।+

४ मानिस आफैले यस्तो सम्मानजनक ओहदा लिन सक्दैन तर हारुनलाई जस्तै तिनलाई पनि परमेश्‍वर आफैले नियुक्‍त गरेको हुनुपर्छ।+ ५ त्यसैगरि ख्रिष्टले पनि आफूले आफैलाई प्रधानपुजारी नियुक्‍त गरेर आफ्नो महिमा गर्नुभएन+ तर ख्रिष्टलाई यो महिमा दिनुहुने उहाँ नै हुनुहुन्छ, जसले ख्रिष्टको विषयमा यसो भन्‍नुभएको थियो: “तिमी मेरो छोरा हौ। म आज तिम्रो बुबा बनेको छु।”+ ६ त्यसैगरि अर्को ठाउँमा पनि उहाँ भन्‍नुहुन्छ: “तिमी सधैँका लागि पुजारी हौ, मल्किसेदेकजस्तो।”+

७ पृथ्वीमा हुनुहुँदा ख्रिष्टले उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई ठूलो स्वरले कराउँदै अनि आँसुको धारा बगाउँदै उत्कट बिन्ती अनि निवेदन चढाउनुभयो+ र उहाँको सुनुवाइ भयो किनकि उहाँ परमेश्‍वरको डर मान्‍नुहुन्थ्यो। ८ उहाँ परमेश्‍वरको छोरा हुनुहुन्थ्यो तैपनि आफूले भोगेको दुःखबाट उहाँले आज्ञाकारी हुन सिक्नुभयो।+ ९ अनि पूर्ण बनाइनुभएपछि*+ उहाँले आफ्नो आज्ञा पालन गर्नेजति सबैलाई सधैँभरिका लागि उद्धार दिने जिम्मेवारी पाउनुभयो+ १० किनकि परमेश्‍वरले नै उहाँलाई मल्किसेदेकजस्तो प्रधानपुजारी नियुक्‍त गर्नुभएको हो।+

११ उहाँको विषयमा भन्‍नुपर्ने थुप्रै कुरा हामीसित छ तर तिमीहरूलाई बुझाउन गाह्रो छ किनकि तिमीहरूका कान बोधो भएका छन्‌। १२ हुन पनि अहिलेसम्म* त तिमीहरू शिक्षक भइसक्नुपर्ने हो तर तिमीहरूलाई फेरि कसैले परमेश्‍वरका पवित्र सन्देशका आधारभूत कुराहरू सुरुदेखि सिकाउनु आवश्‍यक परेको छ+ अनि तिमीहरू फेरि यस्ता मानिसहरू भएका छौ, जसलाई खँदिलो खानेकुरा होइन तर दूधैको आवश्‍यकता छ। १३ दूध मात्र पिइरहनेहरू सबै बालकै भएकोले सत्यको वचनसित* तिनीहरू अनभिज्ञ हुन्छन्‌।+ १४ तर खँदिलो खानेकुराचाहिँ परिपक्व मानिसहरूको निम्ति हो, जसले आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्ट्याउन तालिम दिएका हुन्छन्‌।

६ यसकारण ख्रिष्टसम्बन्धी प्राथमिक शिक्षालाई पछाडि छोडिसकेकोले+ अब हामी परिपक्वतातर्फ अघि बढौँ।+ हामी फेरि जग नबसालौँ, मतलब सुरुमा सिकेका यस्ता कुराहरू फेरि नसिकिरहौँ, जस्तै: व्यर्थ कामहरूबाट फर्केर पश्‍चात्ताप गर्ने, परमेश्‍वरमाथि विश्‍वास गर्ने, २ बप्तिस्माहरूसम्बन्धी शिक्षा, कसैमाथि हात राख्ने,+ मरेकाहरू फेरि जीवित हुने+ अनि अनन्त न्यायदण्डसित सम्बन्धित शिक्षा। ३ परमेश्‍वरले साँच्चै अनुमति दिनुहुन्छ भने हामी परिपक्वतातर्फ बढ्‌नेछौँ।

४ किनकि ज-जसले एक चोटि ज्ञानको ज्योति पाइसकेका छन्‌,+ ज-जसले स्वर्गबाट सित्तैँमा दिइने वरदान हासिल गरिसकेका छन्‌, जो-जो पवित्र शक्‍तिको भागीदार भइसकेका छन्‌ ५ र ज-जसले परमेश्‍वरको उत्तम वचन अनि आउँदै गरेको युगको* शक्‍ति चाखिसकेका छन्‌ ६ तर ज-जसको अहिले पतन भइसकेको छ,+ तिनीहरूलाई फेरि फर्काएर पश्‍चात्तापसम्म पुऱ्‍याउन असम्भव छ। किनकि तिनीहरू आफैले परमेश्‍वरको छोरालाई फेरि खम्बामा टाँग्छन्‌ र मानिसहरूसामु उहाँको बेइज्जत गर्छन्‌।+ ७ किनकि पानी बर्सनु जमिनको निम्ति परमेश्‍वरको आशिष्‌ हो, जमिनले त्यो पानी सोसेर वनस्पति उमार्छ, जसले गर्दा खनजोत गर्नेलाई फाइदा हुन्छ। ८ तर यदि जमिनले काँडा र जङ्‌गली झार उमार्छ भने त्यो तिरस्कृत हुन्छ अनि सराप पाउन लायकको हुन्छ र अन्तमा त्यसमा डढेलो लगाइन्छ।

९ हुनत हामी यसरी कुरा गरिरहेका छौँ, तैपनि हे प्रियहरू हो, हामी पक्का छौँ, तिमीहरूको अवस्था तिनीहरूको भन्दा राम्रो छ अर्थात्‌ तिमीहरू यस्तो मार्गमा हिँडिरहेका छौ, जसले उद्धारतर्फ लैजान्छ। १० तिमीहरूले पवित्र जनहरूको सेवा गरेका छौ र निरन्तर गर्दै पनि छौ, यसरी तिमीहरूले परमेश्‍वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई+ बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न। ११ तर तिमीहरू हरेकले यस्तै मेहनत गरिरहो भन्‍ने हामी चाहन्छौँ ताकि तिमीहरू आफ्नो आशा+ पूरा हुनेछ भनी अन्तसम्मै निश्‍चिन्त हुन सक+ १२ अनि तिमीहरू अल्छे होइन+ बरु तिनीहरूको देखासिकी गर्नेहरू होओ, जो विश्‍वास अनि धैर्यद्वारा प्रतिज्ञाहरूका हकदार बन्छन्‌।

१३ जब परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभयो, तब कसम खानलाई आफूभन्दा ठूलो कोही नभएकोले आफ्नै कसम खानुभयो+ १४ र यसो भन्‍नुभयो: “म तिमीलाई निश्‍चय आशिष्‌ दिनेछु र निश्‍चय तिम्रो वृद्धि गराउनेछु।”+ १५ अब्राहामले धैर्य गरेपछि परमेश्‍वरले तिनीसित त्यस्तो प्रतिज्ञा गर्नुभएको थियो। १६ मानिसहरू आफूभन्दा ठूलोको कसम खान्छन्‌ र तिनीहरूले खाएको शपथले जुनसुकै विवादको टुङ्‌गो लगाउँछ किनकि शपथ तिनीहरूको निम्ति कानुनी ग्यारेन्टी हो।+ १७ त्यसैगरि जब परमेश्‍वरले आफ्नो उद्देश्‍य अपरिवर्तनीय छ भनेर प्रतिज्ञाका उत्तराधिकारीहरूलाई+ स्पष्टसित बुझाउने निर्णय गर्नुभयो, तब उहाँले शपथ खाएर त्यसको ग्यारेन्टी दिनुभयो १८ ताकि परमेश्‍वरले झूट बोल्न असम्भव दुई अपरिवर्तनीय कुराद्वारा+ हामीले अर्थात्‌ भागेर उहाँको शरणमा आएकाहरूले आफूसामु राखिएको आशालाई दह्रोगरि पक्रिराख्ने ठूलो प्रोत्साहन पाउन सकौँ। १९ यो आशा+ हाम्रो जीवनको लङ्‌गर हो अनि यो पक्का र अटल छ अनि यसले हामीलाई पर्दाको पछाडि पुऱ्‍याउँछ,+ २० जहाँ हाम्रा अगुवा येसु हाम्रो तर्फबाट प्रवेश गरिसक्नुभएको छ+ अनि जो सधैँभरिका लागि मल्किसेदेकजस्तो प्रधानपुजारी बन्‍नुभएको छ।+

७ यी मल्किसेदेक, जो सालेमका राजा थिए अनि सर्वोच्च परमेश्‍वरका पुजारी पनि थिए, तिनले राजाहरूको संहार गरेर फर्किरहेका अब्राहामलाई भेटे र उनलाई आशिष्‌ दिए।+ २ अनि अब्राहामले तिनलाई सबै कुराको दशांश दिए। यही मल्किसेदेक आफ्नो नामको अर्थअनुसार सर्वप्रथम “धर्मी राजा” र त्यसपछि सालेमका राजा अर्थात्‌ “शान्तिका राजा” पनि थिए। ३ तिनको न बुबा न आमा, न वंशावली नै छ न त तिनको जन्म वा मृत्युबारे कसैलाई थाह छ। तर परमेश्‍वरको छोराजस्तै बनाइएकोले तिनी सदाको लागि पुजारी भइरहन्छन्‌।+

४ हेर, यी मानिस कत्ति महान्‌ थिए, जसलाई कुलपुरुष अब्राहामले आफ्नो लूटबाट सबैभन्दा असल चिजहरूको दशांश दिए।+ ५ हो, मोसाको व्यवस्थाअनुसार, पुजारी पद पाएका लेविका छोराहरूले+ मानिसहरूबाट अर्थात्‌ आफ्नै भाइहरूबाट दशांश उठाउने आज्ञा पाएका छन्‌,+ जबकि तिनीहरूका भाइहरू पनि अब्राहामकै सन्तान हुन्‌। ६ तर यी मानिस जो लेविको कुलका थिएनन्‌, तिनले अब्राहाम, जसलाई प्रतिज्ञा गरिएको थियो, उनीबाट दशांश लिए र उनलाई आशिष्‌ दिए।+ ७ अब यो कुरामा दुई मत छैन, सानोले ठूलोबाट आशिष्‌ पाउँछ। ८ एउटा मामिलामा अर्थात्‌ लेवीहरूको मामिलामा कुरा गर्नुपर्दा, तिनीहरू दशांश पाउने मरणशील मानिसहरू हुन्‌ तर अर्को मामिलामा कुरा गर्नुपर्दा, तिनी भने बाँचिरहन्छन्‌ भनेर धर्मशास्त्रमा साक्षी दिइएको छ।+ ९ अनि दशांश पाउने लेविले समेत अब्राहामद्वारा तिनलाई दशांश तिरेका छन्‌ भन्‍न सकिन्छ। १० किनकि मल्किसेदेकले अब्राहामलाई भेट्‌दा लेवि आफ्नो पुर्खा अब्राहामको सन्तानको रूपमा जन्मिसकेका थिएनन्‌।+

११ यदि लेवीहरूको पुजारीगिरीबाट (किनकि मानिसहरूलाई दिइएको मोसाको व्यवस्थाको एउटा पक्ष यो थियो) पूर्णता प्राप्त हुने भए+ अर्को पुजारी किन चाहिन्थ्यो र, जसलाई हारुनजस्तो नभनी मल्किसेदेकजस्तो भनिएको छ?+ १२ किनकि पुजारीगिरी परिवर्तन भइरहेको हुनाले मोसाको व्यवस्था पनि परिवर्तन हुनु आवश्‍यक छ।+ १३ किनकि यी कुराहरू जुन मानिसको विषयमा भनिएका छन्‌, तिनी अर्कै कुलका थिए, जसबाट आएका कसैले पनि वेदीमा सेवा गरेका छैनन्‌।+ १४ किनकि यो प्रस्टै छ कि हाम्रा प्रभु आउनुभएको कुल यहुदाको कुल हो,+ जुन कुलबाट पुजारीहरू आउने विषयमा मोसाले केही पनि भनेनन्‌।

१५ अनि यो कुरा झनै स्पष्ट भएको छ किनकि मल्किसेदेकजस्तै अर्को पुजारी+ खडा हुनुभएको छ,+ १६ जो व्यवस्थाले माग गरेको कुलबाट आएकोले पुजारी हुनुभएको होइन तर अविनाशी जीवन दिने शक्‍तिले गर्दा हुनुभएको हो।+ १७ किनकि उहाँको विषयमा यस्तो साक्षी दिइएको छ: “तिमी सधैँका लागि पुजारी हौ, मल्किसेदेकजस्तो।”+

१८ त्यसैले यसअघिको आज्ञा कमजोर र प्रभावहीन भएकोले त्यसलाई रद्द गरियो।+ १९ किनकि मोसाको व्यवस्थाले कुनै कुरालाई पनि पूर्ण बनाएन+ तर एउटा यस्तो उत्तम आशाले+ पूर्ण बनायो, जसले गर्दा हामी परमेश्‍वरसित नजिक हुँदै छौँ।+ २० साथै यो शपथविना भएको थिएन २१ (किनकि शपथविना पुजारी भएका मानिसहरू छन्‌ तर यी मानिसचाहिँ यस्ता छन्‌, जसलाई परमेश्‍वरले शपथ खाएर पुजारी बनाउनुभयो र तिनको विषयमा यसो भन्‍नुभयो: “यहोवाले* शपथ खानुभएको छ र उहाँ पछुताउनुहुनेछैन,* ‘तिमी सधैँका लागि पुजारी हौ।’”)+ २२ यसैअनुसार येसु उत्तम करारको ग्यारेन्टी* बन्‍नुभएको छ।+ २३ यसबाहेक एकपछि अर्को गर्दै धेरै जना पुजारी बन्‍नुपऱ्‍यो+ किनभने मृत्युले गर्दा तिनीहरू पुजारी बनिरहन सकेनन्‌ २४ तर उहाँ सधैँभरि जीवित रहिरहनुहुने भएकोले+ उहाँको पुजारीगिरीका उत्तराधिकारीहरू छैनन्‌। २५ यसैले गर्दा उहाँमार्फत परमेश्‍वरको नजिक आउनेहरूलाई उहाँले पूरै उद्धार गर्न सक्नुहुन्छ किनभने उनीहरूको निम्ति बिन्ती गर्न उहाँ सधैँ जीवित हुनुहुन्छ।+

२६ किनकि हामीलाई यस्तै प्रधानपुजारी चाहिन्छ, जो वफादार, निर्दोष, निष्खोट+ र पापीहरूभन्दा फरक हुनुहुन्छ अनि आकाशभन्दा उच्च पारिनुभएको छ।+ २७ उहाँले अरू प्रधानपुजारीहरूले जस्तो पहिला आफ्ना पापहरूको लागि अनि त्यसपछि मानिसहरूका पापहरूको लागि+ हरेक दिन बलिदान चढाउनु आवश्‍यक छैन+ किनकि उहाँले आफूलाई अर्पण गरेर एकै चोटि सदाको लागि यो काम पूरा गर्नुभयो।+ २८ किनकि मोसाको व्यवस्थाले कमीकमजोरी भएका मानिसहरूलाई प्रधानपुजारी नियुक्‍त गर्छ+ तर मोसाको व्यवस्थापछि शपथ खाएर गरिएको यो वचनले+ एक जना छोरालाई नियुक्‍त गर्छ, जो सदाको लागि पूर्ण बनाइनुभएको छ।+

८ हामीले भन्‍न चाहेको मुख्य कुरा यही हो: हाम्रो प्रधानपुजारी यस्तो हुनुहुन्छ+ र उहाँ स्वर्गमा परमेश्‍वरको सिंहासनको दाहिने हाततिर बस्नुभएको छ+ २ अनि पवित्र ठाउँ र साँचो पालको सेवक* हुनुहुन्छ,+ जुन पाल मानिसले होइन तर यहोवा* परमेश्‍वरले टाँग्नुभएको हो। ३ किनकि हरेक प्रधानपुजारी भेटी र बलिदान दुवै चढाउन नियुक्‍त भएका हुन्छन्‌। त्यसैले उहाँसित पनि चढाउनको लागि केही हुनु आवश्‍यक थियो।+ ४ उहाँ पृथ्वीमा हुनुभएको भए पुजारी हुनुहुने थिएन+ किनकि मोसाको व्यवस्थाबमोजिम भेटी चढाउने पुजारीहरू यहाँ पहिल्यैदेखि छन्‌। ५ पवित्र सेवा चढाइरहेका ती पुजारीहरू स्वर्गका कुराहरूको नमुना र छाया हुन्‌;+ जस्तो कि मोसाले पनि पाल बनाउन लाग्दा परमेश्‍वरबाट यस्तो आज्ञा पाएका थिए: “हेर, मैले तिमीलाई डाँडामा देखाएको नमुनाअनुसारै तिमीले यी सबै दुरुस्त बनाउनू।”+ ६ तर अब येसुलाई योभन्दा अझ उत्कृष्ट सेवाको* लागि ठहराइएको छ किनकि उहाँ त्यस उत्तम करारको मध्यस्थकर्ता+ पनि हुनुहुन्छ,+ जुन करार उत्तम प्रतिज्ञाहरूको आधारमा कानुनी रूपमा गरिएको छ।+

७ त्यो पहिलो करार त्रुटिरहित भएको भए दोस्रोको आवश्‍यकता नै हुने थिएन।+ ८ किनकि उहाँ यसो भनेर मानिसहरूलाई दोषी ठहराउनुहुन्छ: “‘हेर, यस्ता दिनहरू आउँदै छन्‌,’ यहोवा* भन्‍नुहुन्छ, ‘जब म इस्राएलको घराना र यहुदाको घरानासित नयाँ करार गर्नेछु। ९ त्यो करार मैले तिनीहरूका पुर्खाहरूलाई हात समाएर मिश्र देशबाट बाहिर ल्याउँदा+ तिनीहरूसित गरेको करारजस्तो हुनेछैन किनकि तिनीहरूले मेरो करार भङ्‌ग गरेकोले मैले तिनीहरूको वास्ता गर्न छोडिदिएँ,’ यहोवा* भन्‍नुहुन्छ।

१० “‘ती दिनहरूपछि इस्राएलको घरानासित मैले गर्ने करार यही हो,’ यहोवा* भन्‍नुहुन्छ। ‘मेरा नियमहरू म तिनीहरूको दिमागमा राखिदिनेछु र तिनीहरूको हृदयमा ती लेखिदिनेछु।+ अनि म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्‌।+

११ “‘तिनीहरूमध्ये कसैले पनि आफ्नो देशवासीलाई र आफ्नो दाजुभाइलाई यसो भनेर सिकाउनेछैन: “यहोवालाई* चिन!” किनकि तिनीहरू सबैले अर्थात्‌ सानादेखि ठूला सबैले मलाई चिन्‍नेछन्‌। १२ किनकि म तिनीहरूका खराब कामहरू माफ गरिदिनेछु र फेरि कहिल्यै तिनीहरूका पापहरू सम्झनेछैनँ।’”+

१३ यसलाई “नयाँ करार” भनेर उहाँले पुरानोलाई रद्द गर्नुभयो।+ अब जसलाई रद्द गरिएको छ र जुन पुरानो हुँदै गएको छ, त्यो चाँडै नामेट हुन लागेको छ।+

९ पहिलेको करारमा पवित्र सेवाका लागि कानुनी आवश्‍यकताहरू पूरा गर्नुपर्थ्यो र यसको पवित्र ठाउँ+ पृथ्वीमा थियो। २ यस पालमा बनाइएको पहिलो कोठामा पानस,+ टेबुल र परमेश्‍वरलाई चढाइएका रोटीहरू* राखिएका हुन्थे+ अनि यसलाई पवित्र कोठा* भनिन्छ।+ ३ तर पालको दोस्रो पर्दापछाडि+ महापवित्र कोठा थियो।+ ४ यस कोठामा सुनको धुपौरो+ र सुनले पूरै मोहोरिएको करारको सन्दुक* थियो।+ अनि यो सन्दुकभित्र मन्‍न भएको सुनको भाँडो,+ कोपिला लागेको हारुनको लौरो+ र करारका पाटीहरू+ थिए। ५ सन्दुकको माथिपट्टिचाहिँ प्रायश्‍चितको ढकनीमा* छाया पारिराखेका महिमित करूबहरू* थिए।+ तर यी कुराहरूको विषयमा विस्तृत तवरले बताइरहने समय अहिले होइन।

६ यी कुराहरू यसरी बनाइसकेपछि पवित्र सेवा चढाउन पुजारीहरू नियमित रूपमा पालको पहिलो कोठामा पस्थे।+ ७ तर दोस्रो कोठामा भने प्रधानपुजारी वर्षको एक पटक एक्लै पस्थे।+ तिनी रगत नलिई त्यहाँ पस्दैनथे,+ जुन रगत तिनले आफ्नो लागि+ र मानिसहरूले अनजानमा गरेका पापहरूका लागि+ चढाउँथे। ८ यसरी पवित्र शक्‍तिले यो कुरा स्पष्ट पारेको छ कि पहिलो पाल* अस्तित्वमा रहुन्जेलसम्म पवित्र ठाउँमा* पस्ने बाटो प्रकट गरिएको थिएन।+ ९ यो पाल अहिलेको समयको लागि नमुना हो+ अनि यही प्रबन्धअनुसार भेटी र बलिदानहरू अझै पनि चढाइँदै छ।+ तथापि यी कुराहरूले पवित्र सेवा चढाउने मानिसको अन्तस्करण पूर्ण रूपले सफा बनाउन सक्दैन।+ १० यी कुराहरू खानपानसित अनि शुद्धीकरणसम्बन्धी विभिन्‍न रीतिथितिहरूसित* मात्र सम्बन्धित छन्‌।+ यी कुराहरू शरीरसम्बन्धी कानुनी आवश्‍यकताहरू थिए+ अनि सबै कुरा ठीकठीक ठाउँमा ल्याउने तोकिएको समय नआउन्जेलसम्म लागू हुने थिए।

११ तथापि जब ख्रिष्ट पूरा भइसकेका उत्तम कुराहरूको प्रधानपुजारीको रूपमा आउनुभयो, तब उहाँ अझ ठूलो र पूर्ण पालभित्र पस्नुभयो, जुन हातले बनाइएको अर्थात्‌ पार्थिव सृष्टिको भाग होइन। १२ उहाँ बोका र बहरहरूको रगत लिएर होइन तर आफ्नै रगत लिएर एकै चोटि सदाको लागि पवित्र ठाउँभित्र पस्नुभयो+ र हाम्रो लागि चिरस्थायी छुटकारा हासिल गर्नुभयो।*+ १३ यदि अशुद्ध भएका मानिसहरूमाथि बोका र बहरहरूको रगत+ अनि कोरलीको* खरानी छर्कँदा तिनीहरूको शरीर परमेश्‍वरको नजरमा शुद्ध हुन्छ भने+ १४ ख्रिष्ट, जसले सदा कायम रहने पवित्र शक्‍तिद्वारा परमेश्‍वरसामु निष्खोट बलिको रूपमा आफूलाई चढाउनुभयो, उहाँको रगतले+ हाम्रो अन्तस्करणलाई मरेका कामहरूबाट झनै कत्ति शुद्ध पार्ला+ ताकि हामीले जीवित परमेश्‍वरलाई पवित्र सेवा चढाउन सकौँ?+

१५ त्यसैले उहाँ नयाँ करारको मध्यस्थकर्ता हुनुहुन्छ।+ बोलावट पाएकाहरूलाई अनन्त उत्तराधिकारको+ प्रतिज्ञा गर्न सकियोस्‌ भनेर उहाँ मध्यस्थकर्ता हुनुभयो। यी सब उहाँको मृत्युद्वारा सम्भव भएको हो अनि पहिलेको करार अस्तित्वमा छँदा गरिएका अपराधहरूबाट तिनीहरूलाई मुक्‍त गर्न उहाँकै मृत्युद्वारा फिरौती तिरियो।+ १६ कुनै करार गरिन्छ भने करार गर्ने मानिसको मृत्यु हुनु आवश्‍यक छ। १७ मृत्युपछि मात्र करारले मान्यता पाउँछ किनकि करार गर्ने मानिस जीवित छउन्जेल करार लागू हुँदैन। १८ त्यसैले पहिलो करार पनि विनारगत लागू भएको थिएन। १९ किनकि व्यवस्थाको हरेक आज्ञा मानिसहरूलाई सुनाइसकेपछि मोसाले बहर र बोकाहरूको रगतको साथमा पानी लिए अनि चहकिलो रातो ऊन र हिसपले* व्यवस्थाको पुस्तकमाथि* र सबै मानिसमाथि छर्कँदै २० यसो भने: “यो रगतले त्यस करारलाई पक्का गर्छ, जसलाई पालन गर्नू भनी परमेश्‍वरले तिमीहरूलाई आज्ञा दिनुभएको छ।”+ २१ तिनले पालका साथै पवित्र सेवामा* चलाइने सबै भाँडामाथि पनि त्यसरी नै रगत छर्के।+ २२ हो, मोसाको व्यवस्थाअनुसार रगतले प्रायः सबै थोक शुद्ध पार्छ+ अनि रगत नबगाईकन पाप क्षमा हुँदैन।+

२३ त्यसैले स्वर्गका कुराहरूको नमुनालाई+ पशुबलिहरूको रगतद्वारा शुद्ध पार्नु आवश्‍यक थियो+ तर स्वर्गका कुराहरूलाई भने अझ उत्तम बलिहरूद्वारा शुद्ध पार्नु आवश्‍यक थियो। २४ किनकि ख्रिष्ट हातले बनाइएको पवित्र ठाउँ, जुन सक्कलको नक्कल मात्र हो,+ त्यसमा नभई स्वर्गमै पस्नुभयो।+ त्यसैले अब उहाँ हाम्रो तर्फबाट परमेश्‍वरसामु* हाजिर हुनुहुन्छ।+ २५ उहाँले आफूलाई बारम्बार बलि चढाउनुपर्दैन, जस्तो कि प्रधानपुजारी हरेक वर्ष पवित्र ठाउँभित्र पस्थे+ तर आफ्नो रगत लिएर त होइन। २६ नत्र त उहाँले संसारको प्रारम्भदेखि बारम्बार दुःख भोग्नुपर्ने हुन्थ्यो। तर आफैलाई बलि दिएर पाप हटाउन सकियोस्‌ भनेर उहाँले आफूलाई युगहरूको आखिरी समयमा* सदाको लागि एकै चोटि प्रकट गरिसक्नुभएको छ।+ २७ जसरी मानिसहरू एक पल्ट मर्नै पर्छ र त्यसपछि उनीहरूको इन्साफ हुन्छ, २८ त्यसरी नै ख्रिष्ट पनि धेरैका पापहरू बोक्न एकै चोटि सदाको लागि बलि चढाइनुभयो।+ दोस्रो पल्ट देखा पर्दा उहाँ पाप हटाउनका लागि देखा पर्नुहुनेछैन अनि उहाँलाई ती मानिसहरूले देख्नेछन्‌, जो उद्धार पाउन उत्सुकतासाथ उहाँको बाटो हेरिरहेका छन्‌।+

१० मोसाको व्यवस्था वास्तविकता नभएर आउन लागेका असल कुराहरूको छाया मात्र हो।+ त्यसैले हरेक वर्ष एउटै किसिमका बलिदानहरू निरन्तर चढाइए पनि त्यसले* परमेश्‍वरका उपासकहरूलाई कहिल्यै पूर्ण* बनाउन सक्दैन।+ २ अन्यथा के बलिदान चढाउने काम बन्द भइसक्ने थिएन र? किनकि पवित्र सेवा चढाउने मानिसहरू एक पटक शुद्ध भइसकेपछि तिनीहरूलाई आफू पापी हुँ भन्‍ने चेतना नै हुने थिएन। ३ बरु यसको विपरीत यी बलिदानहरूले हरेक वर्ष तिनीहरूलाई आफ्ना पापहरूको सम्झना गराइरहन्थ्यो।+ ४ किनकि बहर अनि बोकाहरूको रगतले पापहरू हटाउन असम्भव छ।

५ त्यसैले जब उहाँ संसारमा आउनुभयो तब उहाँले परमेश्‍वरलाई यसो भन्‍नुभयो: “‘तपाईँले बलिदान र भेटीहरू चाहनुभएन तर तपाईँले मेरो निम्ति एउटा शरीर तयार पार्नुभयो। ६ तपाईँले अग्निभेटी* र पापभेटी* स्विकार्नुभएन।’+ ७ तब मैले भनेँ: ‘हे परमेश्‍वर, हेर्नुहोस्‌, तपाईँको इच्छा पूरा गर्न म आएँ (जस्तो कि मुठामा* मेरो विषयमा लेखिएको छ)।’”+ ८ पहिला उहाँले यसो भन्‍नुभयो: “तपाईँले बलिदान, भेटी, अग्निभेटी अनि पापभेटीहरू”—जुन मोसाको व्यवस्थाबमोजिम चढाइने बलिदानहरू हुन्‌—“न त चाहनुभयो न स्विकार्नुभयो।” ९ त्यसपछि उहाँ यसो भन्‍नुहुन्छ: “हेर्नुहोस्‌! तपाईँको इच्छा पूरा गर्न म आएँ।”+ नयाँलाई स्थापित गर्न सकियोस्‌ भनेर उहाँ पुरानोलाई विस्थापित गर्नुहुन्छ। १० येसु ख्रिष्टले एकै चोटि सदाको लागि चढाउनुभएको आफ्नो शरीरको भेटीले गर्दा यही “इच्छा”-द्वारा+ हामी पवित्र पारिएका छौँ।+

११ साथै बलिदानहरूले पापहरू पूरै हटाउन कहिल्यै सम्भव छैन।+ त्यसैले त पवित्र सेवा* गर्न र एउटै किसिमका बलिदानहरू बारम्बार चढाउन+ हरेक पुजारी दिनहुँ आ-आफ्नो ठाउँमा खडा हुन्छन्‌।+ १२ तर उहाँले पापहरूका निम्ति सदाको लागि एउटा बलिदान चढाउनुभयो र परमेश्‍वरको दाहिने हाततर्फ बस्नुभयो।+ १३ त्यसबेलादेखि उहाँ त्यो समयलाई पर्खिरहनुभएको छ, जब उहाँका शत्रुहरूलाई उहाँको पाउदान तुल्याइनेछ।+ १४ किनकि पवित्र पारिँदै गरेकाहरू सबैलाई उहाँले एउटै बलिदानद्वारा सदाको लागि पूर्ण बनाउनुभएको छ।+ १५ यसबाहेक पवित्र शक्‍तिले पनि हामीलाई साक्षी दिन्छ किनकि त्यसले पहिले यसो भन्छ: १६ “‘ती दिनहरूपछि तिनीहरूसित मैले गर्ने करार यही हो,’ यहोवा* भन्‍नुहुन्छ। ‘मेरा नियमहरू म तिनीहरूको हृदयमा राखिदिनेछु र तिनीहरूको दिमागमा ती लेखिदिनेछु।’”+ १७ त्यसपछि यसो भन्छ: “अनि म तिनीहरूका पापहरू र तिनीहरूका कुकर्महरू फेरि कहिल्यै सम्झनेछैनँ।”+ १८ अब जहाँ यी पापहरूको क्षमा हुन्छ, त्यहाँ पापको लागि भेटीको कुनै आवश्‍यकता हुँदैन।

१९ तसर्थ हे भाइ हो, येसुको रगतले गर्दा हामीसित पवित्र ठाउँभित्र पस्ने हिम्मत छ,+ २० जहाँ पुग्न उहाँले हाम्रो निम्ति नयाँ र जीवित बाटो खोल्नुभयो, जुन बाटो पर्दा भएर जान्छ+ र त्यो पर्दा उहाँको शरीर हो। २१ साथै परमेश्‍वरको घरानामाथि खटाइनुभएको महान्‌ पुजारी हामीसित हुनुहुन्छ।+ २२ त्यसैले आओ, निष्कपट हृदय र पूरा विश्‍वासका साथ परमेश्‍वरसामु जाऔँ। किनकि हाम्रो हृदय अनि दुष्ट अन्तस्करण शुद्ध पारिएको छ+ अनि हाम्रो शरीर सफा पानीले धोइएको छ।+ २३ आओ, हामी नधरमराई आफ्नो आशा जनसमक्ष घोषणा गरिरहौँ + किनकि प्रतिज्ञा गर्ने जो हुनुहुन्छ, उहाँ विश्‍वासयोग्य हुनुहुन्छ। २४ अनि आपसमा गहिरो चासो राखेर* हामी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔँ,*+ २५ कसै-कसैलाई एकसाथ भेला हुन छोड्‌ने बानी परेको छ तर हामी भने त्यसरी भेला हुन नछोडौँ + बरु एकअर्कालाई प्रोत्साहन दिइरहौँ + अनि दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौँ, झन्‌ बढी त्यसो गरिरहौँ।+

२६ सत्यको सही ज्ञान पाएपछि यदि हामी जानाजानी पाप गरिरहन्छौँ भने+ हाम्रा पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन।+ २७ बाँकी रहन्छ त केवल न्यायको भयावह पर्खाइ अनि विरोधीहरूलाई भस्म गर्ने क्रोधको आगो।+ २८ यदि मोसाको व्यवस्थाको अवहेलना गर्ने मानिसलाई दुई वा तीन जनाले दिएको साक्षीको आधारमा कुनै दयामाया नदेखाई मृत्युदण्ड दिइन्छ भने+ २९ तिमीहरू सोच त, त्यो मानिस झन्‌ कति ठूलो दण्ड पाउन लायक हुनेछ, जसले परमेश्‍वरको छोरालाई कुल्चेको छ अनि जुन करारको रगतले+ आफूलाई पवित्र बनायो, त्यसैलाई मूल्यहीन सम्झेको छ अनि जसले परमेश्‍वरले देखाउनुभएको असीम अनुग्रहलाई हेय दृष्टिले हेरेर पवित्र शक्‍तिको अपमान गरेको छ?+ ३० किनकि हामी परमेश्‍वरलाई चिन्छौँ, जसले यसो भन्‍नुभएको छ: “बदला लिने काम मेरो हो, म साटो फेर्नेछु।” अनि फेरि: “यहोवाले* आफ्ना मानिसहरूको न्याय गर्नुहुनेछ।”+ ३१ जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्दो कुरा हो।

३२ तथापि तिमीहरू पहिले-पहिलेका ती दिनहरू सम्झिरहो, जुन बेला ज्ञानको ज्योति पाइसकेपछि+ तिमीहरूले ठूलो सङ्‌घर्ष गरेर दुःखकष्ट सह्‍यौ। ३३ कहिले सबैको अगाडि* तिमीहरूको अपमान गरियो र तिमीहरूलाई सताइयो भने कहिलेचाहिँ त्यस्ता कुराहरू अनुभव गर्नेहरूसितै तिमीहरूले दुःख भोग्यौ।* ३४ तिमीहरूले झ्यालखानामा हुनेहरूलाई सहानुभूति देखायौ अनि आफ्नो सम्पत्ति लुटिँदा हाँसीहाँसी सह्‍यौ+ किनकि तिमीहरूसित त्योभन्दा उत्तम अनि स्थायी सम्पत्ति छ भनेर तिमीहरूलाई थाह थियो।+

३५ तसर्थ साहसी हुन नछोड* किनकि त्यसबापत तिमीहरूले प्रशस्त इनाम पाउनेछौ।+ ३६ तिमीहरू सहनशील हुनु आवश्‍यक छ+ किनकि परमेश्‍वरको इच्छा पूरा गरिसकेपछि तिमीहरूले त्यो कुरा पाउन सक्नेछौ, जसको विषयमा उहाँले प्रतिज्ञा गर्नुभएको छ। ३७ किनकि “थोरै समय मात्र” बाँकी छ+ अनि “जो आउँदै हुनुहुन्छ, उहाँ ढिलो नगरी आउनुहुनेछ।”+ ३८ “तर मेरो नजरमा धर्मी ठहरिएको मानिस विश्‍वासैले गर्दा जिउनेछ”+ अनि “यदि ऊ पछि हट्‌छ भने म ऊसित खुसी हुनेछैनँ।”+ ३९ अब हामी पछि हटेर नाश हुने खालका मानिसहरू होइनौँ + बरु विश्‍वास गरेर आफ्नो जीवन बचाउने खालका मानिसहरू हौँ।

११ विश्‍वास भनेको आशा गरिएका कुराहरू पक्कै पूरा हुनेछन्‌ भनेर पर्खनु+ र अहिले नदेखिएका वास्तविकताहरूको स्पष्ट प्रमाण* हो। २ किनकि यसैले गर्दा पहिले-पहिलेका मानिसहरूले* आफ्नो विषयमा राम्रो साक्षी पाएका थिए।

३ विश्‍वासैले गर्दा हामी बुझ्छौँ कि परमेश्‍वरको वाणीद्वारा स्वर्ग र पृथ्वीमा भएका कुराहरू सृष्टि भए।* यसप्रकार जुन कुराहरू देखिन्छन्‌, ती नदेखिने कुराहरूबाट अस्तित्वमा आएका हुन्‌।

४ विश्‍वासैले गर्दा हाबिलले कयिनले भन्दा उत्तम बलिदान परमेश्‍वरलाई चढाए।+ यसै विश्‍वासले गर्दा तिनले आफू धर्मी छु भन्‍ने साक्षी पाए किनकि परमेश्‍वरले तिनको भेटी स्वीकार गर्नुभयो।*+ अनि तिनी मरिसकेको भए तापनि यसै विश्‍वासद्वारा अझै बोल्दै छन्‌।+

५ विश्‍वासैले गर्दा हनोक+ अर्कै ठाउँमा सारिए ताकि तिनले आफ्नो मृत्यु देख्न नपरोस्‌। अनि तिनी कतै पनि भेटिएनन्‌ किनभने परमेश्‍वरले तिनलाई अर्कै ठाउँमा सारिसक्नुभएको थियो।+ तिनलाई अर्कै ठाउँमा सार्नुअघि तिनले आफूले परमेश्‍वरलाई असाध्यै खुसी पारेको छु भन्‍ने साक्षी पाइसकेका थिए। ६ साथै विनाविश्‍वास परमेश्‍वरलाई खुसी पार्न असम्भव छ किनभने जो परमेश्‍वरसामु जान्छ, उसले उहाँ साँच्चै हुनुहुन्छ* र जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ भनेर पत्यार गर्नुपर्छ।+

७ विश्‍वासैले गर्दा नुहले+ आफूले नदेखेका कुराहरूबारे परमेश्‍वरबाट चेतावनी पाएपछि+ उहाँको डर राखे अनि आफ्नो परिवारलाई बचाउन जहाज निर्माण गरे।+ यही विश्‍वासद्वारा तिनले संसारलाई दोषी ठहराए+ अनि तिनको विश्‍वासले गर्दा तिनलाई धर्मी ठहराइयो।

८ जब अब्राहामलाई बोलाइयो, तब विश्‍वासैले गर्दा तिनी+ आज्ञाकारी भएर त्यस ठाउँमा गए, जुन तिनले उत्तराधिकारको रूपमा पाउने थिए। आफू कहाँ जाँदै छु भनेर थाह नभए तापनि आफ्नो ठाउँ छोडेर तिनी गए।+ ९ विश्‍वासैले गर्दा तिनी प्रतिज्ञा गरिएको भूमिमा परदेशी भएर बसोबास गरे।+ तिनी इसहाक र याकुबसँग पालमा बसे,+ जो तिनीजस्तै यही प्रतिज्ञाका उत्तराधिकारीहरू थिए।+ १० किनकि तिनी साँचो जग भएको त्यस सहरको प्रतीक्षामा थिए, जुन सहरको रचनाकार* र निर्माता परमेश्‍वर हुनुहुन्छ।+

११ विश्‍वासैले गर्दा साराले गर्भधारण गर्ने शक्‍ति पाइन्‌ जबकि गर्भधारण गर्ने तिनको उमेर नाघिसकेको थियो+ किनकि प्रतिज्ञा गर्नुहुने व्यक्‍तिलाई तिनी विश्‍वासयोग्य* ठान्थिन्‌। १२ यसैकारण मरेतुल्य एक जना मानिसबाट+ आकाशका ताराजत्तिकै असङ्‌ख्य र समुद्र किनाराका बालुवाजत्तिकै अनगिन्ती सन्तान जन्मिए।+

१३ तिनीहरू सबैले आफ्नो मृत्यु नहोउन्जेल अन्तसम्मै विश्‍वास गरे। आफूलाई प्रतिज्ञा गरिएका कुराहरू आफ्नो जीवनकालमा पूरा नभए तापनि+ तिनीहरूले ती कुराहरूलाई टाढैबाट देखे+ र स्वागत गरे अनि आफू बसोबास गरिरहेको भूमिमा परदेशी र अस्थायी बासिन्दा हौँ भनी जनसमक्ष घोषणा गरे। १४ किनकि जो यस्ता कुरा गर्छन्‌, तिनीहरू जोडतोडले त्यस्तो ठाउँ खोज्दै छन्‌ भनेर प्रमाण दिन्छन्‌, जुन ठाउँ तिनीहरूको आफ्नै हुनेछ। १५ अनि यदि तिनीहरूले आफूले छोडेर आएको ठाउँलाई सम्झिरहेका भए+ तिनीहरूसित फेरि त्यहीँ फर्कने मौका हुने थियो। १६ तर अब अझ उत्तम ठाउँ हासिल गर्न तिनीहरू अघि बढिरहेका छन्‌, जसको सम्बन्ध स्वर्गसित छ। त्यसैले तिनीहरूका परमेश्‍वर भनेर कहलाइन परमेश्‍वर सर्माउनुहुन्‍न+ किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ।+

१७ विश्‍वासैले गर्दा अब्राहामले आफ्नो परीक्षा हुँदा+ इसहाकलाई झन्डै बलि चढाइसकेका थिए—प्रतिज्ञाहरू खुसीसाथ स्विकारेका यी मानिस आफ्नो एक मात्र छोरालाई बलि चढाउन ठिक्क परेका थिए+— १८ हुनत तिनलाई यसो भनिएको थियो: “तिमीलाई प्रतिज्ञा गरिएको सन्तान इसहाकबाटै आउनेछ।”+ १९ तर पनि तिनलाई थाह थियो, परमेश्‍वरले इसहाकलाई मृत्युबाट समेत ब्युँताउन सक्नुहुन्छ। अनि तिनले आफ्नो छोरालाई साँच्चै फिर्ता पाए, जुन पछि हुने कुराको नमुना बन्यो।+

२० विश्‍वासैले गर्दा इसहाकले पछि आउने कुराहरूबारे याकुब र एसावलाई आशिष्‌ दिए।+

२१ विश्‍वासैले गर्दा याकुबले आफू मर्नै लाग्दा+ युसुफका दुवै छोरालाई आशिष्‌ दिए+ अनि आफ्नो लौरोको टुप्पोमा अडेस लागेर परमेश्‍वरको उपासना गरे।+

२२ विश्‍वासैले गर्दा आफ्नो जीवनको अन्ततिर युसुफले इस्राएलका छोराहरू एक दिन मिश्रबाट निस्कनेछन्‌ भनेर बताए। अनि तिनले आफ्ना हड्डीहरूबारे* निर्देशन* दिए।+

२३ विश्‍वासैले गर्दा मोसाका आमाबुबाले तिनी जन्मेपछि तीन महिनासम्म तिनलाई लुकाइराखे+ किनभने तिनीहरूले त्यो सानो बालकलाई सुन्दर देखे+ र तिनीहरू राजाको हुकुमदेखि डराएनन्‌।+ २४ विश्‍वासैले गर्दा मोसाले आफू हुर्किएपछि+ फारोकी* छोरीको छोरा कहलाइन इन्कार गरे+ २५ अनि पापको क्षणिक सुखभोग गर्नभन्दा परमेश्‍वरका जनहरूसित दुर्व्यवहार भोग्न रोजे। २६ किनभने तिनले मिश्रका धनसम्पत्तिलाई भन्दा अभिषिक्‍त जनको* रूपमा निन्दा सहनुलाई धेरै मोलको ठाने। किनकि आफूले पाउने इनाममा तिनले आफ्नो नजर लगाएका थिए। २७ विश्‍वासैले गर्दा तिनले मिश्र छोडे,+ राजाको क्रोधसित डराएर त होइन+ किनकि अदृश्‍य परमेश्‍वरलाई देखेझैँ गरी+ तिनी अटल रहिरहे। २८ विश्‍वासैले गर्दा तिनले निस्तार चाड* मनाए अनि रगत छर्के ताकि नाश गर्नेले इस्राएलीहरूका पहिलो सन्तानलाई हानि गर्न* नपाओस्‌।+

२९ विश्‍वासैले गर्दा तिनीहरूले सुक्खा भूमिमा हिँडेझैँ गरी लाल समुद्र पार गरे+ तर मिश्रीहरूले त्यसै गर्न खोज्दा समुद्रले उनीहरूलाई निल्यो।+

३० विश्‍वासैले गर्दा मानिसहरूले यरिहो सहरको पर्खाललाई सात दिनसम्म फन्को लगाएपछि त्यो ढल्यो।+ ३१ विश्‍वासैले गर्दा वेश्‍या राहाब अनाज्ञाकारी मानिसहरूसँगसँगै नाश भइनन्‌ किनभने तिनले जासुसहरूलाई मित्रभावले स्वागत गरिन्‌।+

३२ अझ अरू क-कसको विषयमा भनूँ? किनकि गिदोन,+ बाराक,+ सिमसोन,+ यिप्तह,+ दाउद,+ समुएलका+ साथै अरू भविष्यवक्‍ताको विषयमा बताउन थालेँ भने मलाई समय पुग्दैन। ३३ विश्‍वासद्वारै यिनीहरूले राज्यहरूलाई परास्त गरे,+ धार्मिकता* स्थापित गरे, प्रतिज्ञाहरू हासिल गरे,+ सिंहहरूका मुख थुने,+ ३४ आगोको ज्वाला निभाए,+ तरबारको धारबाट बचे,+ कमजोर अवस्थाबाट शक्‍तिशाली बनाइए,+ युद्धमा वीरता देखाए,+ आक्रमण गर्न आएका फौजलाई खेदे।+ ३५ स्त्रीहरूले मरिसकेका आफ्ना मानिसहरू फेरि जीवित भएको पाए।+ अरू पुरुषले भने आफूलाई सताइए तापनि कुनै सम्झौता गरेर छुट्‌न मानेनन्‌ किनकि तिनीहरू फेरि जीवित भएर उत्तम जीवन पाउन चाहन्थे। ३६ हो, अरू कति भने गिल्ला अनि कोर्राको सिकार भए। यति मात्र होइन, तिनीहरू साङ्‌लाले बाँधिए+ अनि झ्यालखानामा थुनिए।+ ३७ तिनीहरू ढुङ्‌गाले हानेर मारिए,+ परीक्षामा परे, करौँतीले दुई फ्याक पारिए, तरबारले मारिए।+ तिनीहरू भेडा-बाख्राको खाल ओडेर हिँडे,+ खाँचोमा र सङ्‌कष्टमा परे+ अनि दुर्व्यवहारको सिकार भए।+ ३८ संसार तिनीहरूको लायक थिएन। तिनीहरू मरुभूमि, पहाड, ओडार+ र जमिनका प्वालहरू हुँदो भौँतारिए।

३९ विश्‍वासैले गर्दा यिनीहरू सबैले आफ्नो विषयमा राम्रो साक्षी पाए तापनि प्रतिज्ञा पूरा भएको भने देख्न पाएनन्‌ ४० किनकि परमेश्‍वरले हामीलाई अझ उत्तम कुरा दिने विचार पहिल्यै गरिसक्नुभएको थियो+ ताकि तिनीहरू हामीविना पूर्ण नहोऊन्‌।

१२ त्यसैले हाम्रो वरपर साक्षीहरूको यति बाक्लो बादल भएकोले आओ, हामी पनि हरकिसिमका बोझ र हामीलाई सजिलै अल्झाउने पापलाई पन्छ्याएर*+ हाम्रो अगाडि राखिएको दौड धैर्य गरेर दौडौँ।+ २ अनि हाम्रो विश्‍वासको मुख्य माध्यम र यसलाई पूर्ण तुल्याउनुहुने येसुलाई+ एकटक लगाएर हेरौँ। किनकि उहाँले आफ्नो अगाडि राखिएको आनन्दका लागि बेइज्जतीको समेत वास्ता नगरेर यातनाको खम्बामा* मृत्यु सहनुभयो र उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।+ ३ हो, उहाँलाई ध्यान दिएर हेर, जसले पापीहरूको मुखबाट यस्ता दुर्वचन सहनुभयो,+ जसद्वारा तिनीहरू आफै दोषी ठहरिए। यसो गऱ्‍यौ भने तिमीहरू थाकेर हरेस खानेछैनौ।+

४ आफ्नो रगत बगाउनुपर्ने स्थितिसम्म पुग्ने गरी तिमीहरूले पापको विरुद्धमा सङ्‌घर्ष गर्नुपरेको छैन। ५ अनि तिमीहरूलाई छोराहरू भनेर सम्बोधन गर्दै दिइएको यो अर्तीलाई तिमीहरूले पूरै बिर्सेका छौ: “हे मेरो छोरा, यहोवाले* अनुशासन दिनुहुँदा त्यसलाई हल्कासित नलेऊ न त उहाँले सुधार्नुहुँदा हरेस खाऊ ६ किनकि यहोवा* जसलाई माया गर्नुहुन्छ, उसैलाई अनुशासन दिनुहुन्छ। हो, आफूले छोराको रूपमा स्विकारेको हरेकलाई उहाँ कोर्रा लगाउनुहुन्छ।”*+

७ तिमीहरू आफूले अनुशासन* पाइरहेका छौँ भनी सम्झँदै सहो। परमेश्‍वरले तिमीहरूलाई आफ्ना छोराहरू सम्झेर व्यवहार गरिरहनुभएको छ।+ कुनचाहिँ छोराले बुबाबाट अनुशासन पाएको हुँदैन र?+ ८ तर यदि तिमीहरू सबैले यस्तो अनुशासन पाएका छैनौ भने वास्तवमा तिमीहरू छोराहरू नभई नाजायज सन्तान हौ। ९ साथै हाम्रा मानव बुबाले हामीलाई अनुशासन दिन्थे अनि हामी तिनको आदर गर्थ्यौँ। त्यसोभए के हाम्रो जीवनलाई पवित्र शक्‍तिद्वारा डोऱ्‍याउनुहुने बुबाको झन्‌ अधीनमा बस्नुपर्दैन र, ताकि हामी जीवित रहिरहौँ?+ १० किनकि हाम्रा मानव बुबाले त आफूलाई जस्तो उचित लाग्यो, त्यसैअनुसार हामीलाई थोरै समयका लागि मात्र अनुशासन दिए तर उहाँले भने हामी उहाँको पवित्रताको भागीदार हुन सकौँ भनेर+ हाम्रै फाइदाको लागि अनुशासन दिनुहुन्छ। ११ हो, कुनै पनि अनुशासन हालको लागि रमाइलो हुँदैन तर पीडादायी* हुन्छ तैपनि ज-जसले यसद्वारा तालिम पाइसकेका छन्‌, तिनीहरूका लागि यसले पछि गएर शान्ति र धार्मिकता* फलाउँछ।

१२ त्यसैले कमजोर हातहरू र दुर्बल घुँडाहरू बलिया बनाओ+ १३ अनि आफ्ना पाइलाको निम्ति सीधा बाटो बनाइरहो+ ताकि जुन अङ्‌ग कमजोर छ, त्यो जोर्नीबाट नफुस्कोस्‌ तर निको होस्‌। १४ सबै मानिससित शान्ति कायम गरिरहो+ र पवित्र रहिरहो+ किनकि यदि कोही पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन। १५ तिमीहरू असाध्यै होसियार बस ताकि परमेश्‍वरको असीम अनुग्रह पाउनदेखि कोही पनि नचुकोस्‌ अनि कुनै विषालु जरा उम्रेर समस्या खडा गर्न र धेरै जनालाई अशुद्ध बनाउन नपाओस्‌।+ १६ साथै होसियार रहो, तिमीहरूमाझ अवैध यौनसम्बन्ध* राख्ने कोही नहोस्‌ न त पवित्र कुराहरूको कदर नगर्ने एसावजस्तो कोही होस्‌, जसले एक छाक भोजनसित आफ्नो ज्येष्ठ-अधिकार साटे।+ १७ किनकि तिमीहरूलाई थाहै छ, पछि तिनले आशिष्‌ पाउन खोज्दा तिनी तिरस्कृत भए। तिनले रोइकराइ गरेर उनको* फैसला बदल्न खोजे तापनि+ त्यसो गर्न सकेनन्‌।

१८ तिमीहरू साँच्चैको डाँडानजिक पुगेका छैनौ, जसलाई छुन सकिन्छ,+ जुन आगोमा दनदनी बलिरहेको छ+ न त तिमीहरू कालो बादल, घोर अन्धकार र आँधीको नजिक नै पुगेका छौ+ १९ न तिमीहरूले बिगुलको चर्को आवाज+ र यस्तो स्वर सुनेका छौ,+ जुन स्वर सुन्दा मानिसहरूले अब अरू नबोल्नुहोस्‌ भनेर बिन्ती गरेका थिए।+ २० किनकि यो आज्ञा सुनेर तिनीहरू असाध्यै डराएका थिए: “यदि कुनै पशुले यस डाँडालाई छोयो भने त्यसलाई समेत ढुङ्‌गाले हानेर मार्नू।”+ २१ साथै त्यो दृश्‍य यति भयावह थियो कि मोसाले यसो भने: “म डरले थरथर कामिरहेको छु।”+ २२ तर तिमीहरू सियोन डाँडानजिक,+ जीवित परमेश्‍वरको सहर, स्वर्गको यरुसलेमनजिक,+ लाखौँलाख स्वर्गदूतको २३ सभानजिक+ अनि स्वर्गमा नाम लेखिएका पहिला सन्तानहरूको मण्डलीनजिक पुगेका छौ। अनि परमेश्‍वरसामु पुगेका छौ, जो सबैका न्यायकर्ता हुनुहुन्छ+ र उहाँको पवित्र शक्‍तिको डोऱ्‍याइअनुरूप जीवन बिताउने+ ती धर्मी मानिसहरूनजिक पुगेका छौ, जो पूर्ण बनाइएका छन्‌।+ २४ अनि नयाँ करारका+ मध्यस्थकर्ता येसुनजिक+ र उहाँले छर्किनुभएको त्यस रगतनजिक पुगेका छौ, जुन रगत हाबिलको रगतभन्दा उत्तम तरिकामा बोल्छ।+

२५ होसियार रहो! जो बोलिरहनुभएको छ, उहाँको कुरा सुन्‍न इन्कार नगर।* किनकि जसले पृथ्वीमा परमेश्‍वरको चेतावनी सुनाए, तिनको कुरा सुन्‍न इन्कार गर्नेहरू त बचेनन्‌ भने जो स्वर्गबाट बोल्नुहुन्छ, उहाँको कुरा सुन्‍न इन्कार गऱ्‍यौँ भने हामी झन्‌ कसरी बचौँला र!+ २६ त्यतिबेला उहाँको स्वरले गर्दा पृथ्वी काम्यो+ तर उहाँले अहिले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ: “फेरि एक पटक म पृथ्वीलाई मात्र होइन तर आकाशलाई पनि हल्लाउनेछु।”+ २७ “फेरि एक पटक” भन्‍ने अभिव्यक्‍तिले यो देखाउँछ कि हल्लाइएका कुराहरू अर्थात्‌ बनाइएका कुराहरू हटाइनेछन्‌ ताकि नहल्लाइएका कुराहरू सधैँका लागि रहिरहून्‌। २८ त्यसैले हामीले हल्लाउन नसकिने राज्य पाउने भएको हुँदा परमेश्‍वरको असीम अनुग्रह हासिल गरिरहौँ, जसद्वारा हामी परमेश्‍वरप्रतिको डर र श्रद्धासहित उहाँलाई ग्रहणयोग्य पवित्र सेवा चढाइरहन सक्नेछौँ। २९ किनकि हाम्रा परमेश्‍वर भस्म गर्ने आगो हुनुहुन्छ।+

१३ तिमीहरूको भ्रातृप्रेम कायम रहोस्‌।+ २ अतिथि-सत्कार गर्न* नबिर्स+ किनकि यसो गर्दा कसै-कसैले थाहै नपाई स्वर्गदूतहरूको सत्कार गरे।+ ३ झ्यालखानामा थुनिएकाहरूलाई* सम्झ+ र आफू पनि तिनीहरूसित झ्यालखानामा परेझैँ ठान+ अनि दुर्व्यवहारको सिकार भइरहेकाहरूलाई पनि सम्झ किनकि तिमीहरू र तिनीहरू एउटै शरीरका भाग हौ।* ४ विवाहलाई सबैले आदरणीय ठानून्‌, वैवाहिक सम्बन्ध नबिटुलिओस्‌।+ किनकि अवैध यौनसम्बन्ध* राख्ने अनि व्यभिचार* गर्ने मानिसहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ।+ ५ तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्‍त होस्‌,+ अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ।+ किनकि उहाँले यसो भन्‍नुभएको छ: “म तिमीलाई कुनै हालतमा छोड्‌नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।”+ ६ त्यसैले हामी असाध्यै साहसी भएर यसो भन्‍न सकौँ: “यहोवा* मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ र?”+

७ जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌ अनि जसले तिमीहरूलाई परमेश्‍वरको वचन सुनाएका छन्‌, तिनीहरूलाई सम्झ।+ तिनीहरूको आचरणको असल परिणामलाई राम्ररी विचार गर्दै तिनीहरूको विश्‍वासको अनुकरण गर।+

८ येसु ख्रिष्ट हिजो, आज अनि सधैँभरि उस्तै हुनुहुन्छ।

९ तिमीहरू थरीथरीका अनि अनौठा शिक्षाहरूको बहकाउमा नपर। किनकि भोजनद्वारा* होइन तर असीम अनुग्रहद्वारा हृदयलाई दह्रो बनाउनु बेस हो। भोजनलाई चाहिनेभन्दा धेरै महत्त्व दिनेहरूलाई कुनै फाइदा हुँदैन।+

१० हामीसित यस्तो वेदी छ, जुन वेदीबाट खाने अधिकार पालमा पवित्र सेवा चढाउनेहरूसित छैन।+ ११ किनकि जुन पशुको रगत प्रधानपुजारीले पापभेटीको रूपमा पवित्र ठाउँभित्र लैजान्छन्‌, त्यस पशुको शरीर छाउनीबाहिर लगेर जलाइन्छ।+ १२ त्यसैगरि येसुले पनि आफ्नो रगतले मानिसहरूलाई पवित्र पार्न+ सहरको ढोकाबाहिर कष्ट भोग्नुभयो।+ १३ त्यसैले आओ, उहाँले सहनुभएको अपमान सहँदै+ हामी छाउनीबाहिर उहाँकहाँ जाऔँ १४ किनकि यहाँ हामीसित सधैँभरि रहिरहने सहर छैन बरु हामी आउँदै गरेको सहरको उत्कट प्रतीक्षा गर्दै छौँ।+ १५ आओ, हामी येसुद्वारा परमेश्‍वरलाई सधैँ प्रशंसाको बलिदान+ अर्थात्‌ ओठको फल चढाऔँ।+ परमेश्‍वरको नाम जनसमक्ष घोषणा गरेर हामी त्यसो गर्छौँ।+ १६ यसबाहेक भलाइ गर्न अनि आफूसित भएको कुरा बाँडचुँड गर्न नबिर्स+ किनकि यस्तै बलिदानहरूसित परमेश्‍वर असाध्यै खुसी हुनुहुन्छ।+

१७ जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌, तिनीहरूप्रति आज्ञाकारी होओ+ र तिनीहरूको अधीनमा बस+ किनकि परमेश्‍वरलाई लेखा दिनुपर्छ भनी सम्झेर तिनीहरूले तिमीहरूको हेरचाह गरिरहेका छन्‌।+ तिनीहरूले यो काम खुसीसाथ गरून्‌, सुस्केरा हाल्दै होइन नत्र त त्यो तिमीहरूका लागि हानिकारक हुनेछ।

१८ हामीसित सफा* अन्तस्करण छ भनेर हामी विश्‍वस्त छौँ किनकि हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौँ।+ त्यसैले हाम्रो निम्ति प्रार्थना गरिरहो। १९ म तिमीहरूलाई अझ बढी प्रार्थना गर्न आग्रह गर्छु ताकि म छिट्टै तिमीहरूकहाँ आउन सकूँ।

२० अब शान्तिका परमेश्‍वर, जसले भेडाहरूको महान्‌ गोठाला+ अर्थात्‌ हाम्रा प्रभु येसुलाई कहिल्यै नटुट्‌ने करारको रगतका साथ मृत्युबाट फर्काएर ल्याउनुभयो, २१ उहाँले आफ्नो इच्छा पूरा गर्न तिमीहरूलाई हर असल कुराले सुसज्जित पारून्‌ अनि येसु ख्रिष्टमार्फत हामीभित्र ती कामहरू गरिरहून्‌, जुन उहाँको नजरमा मन पर्दा छन्‌। उहाँले नै सदासर्वदा महिमा पाऊन्‌। आमिन।

२२ अब हे भाइ हो, सान्त्वनाले भरिएका मेरा यी शब्दहरू धीरजी भई सुन भनी म आग्रह गर्छु किनकि मेरो यो पत्र छोटो छ। २३ हाम्रा भाइ तिमोथि मुक्‍त भइसकेका छन्‌ भनेर म तिमीहरूलाई बताउन चाहन्छु। तिनी छिट्टै आए भने म तिनीसँगै तिमीहरूलाई भेट्‌न आउनेछु।

२४ तिमीहरूबीच अगुवाइ लिइरहेकाहरू अनि अरू सबै पवित्र जनलाई मेरो अभिवादन छ भनिदेओ। इटालीमा+ भएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।

२५ हाम्रा परमेश्‍वरको असीम अनुग्रह तिमीहरू सबैसित रहोस्‌।

वा “जसद्वारा उहाँले युगहरू बनाउनुभयो।” शब्दावलीमा “युग” हेर्नुहोस्‌।

वा “जनसेवकहरूलाई।”

शब्दावली हेर्नुहोस्‌।

वा “जनसेवा।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “पापको प्रायश्‍चित गर्न।”

वा “स्वर्गबाट निम्तो।”

शब्दावली हेर्नुहोस्‌।

वा “ख्रिष्टसँगै साझेदार।”

वा “इजिप्टबाट।”

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।

वा “मासीलाई।”

वा “बाटो बिराएकाहरूसित।”

वा “कोमल; सहानुभूतिसाथ।”

वा “तिनी आफै पनि आफ्ना कमीकमजोरीको वशमा हुन्छन्‌।”

वा “पूर्णतया योग्य बन्‍नुभएपछि।”

शा., “समयको हिसाबले।”

शा., “धार्मिकताको वचनसित।”

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “उहाँले मन परिवर्तन गर्नुहुनेछैन।”

वा “जमानी।”

वा “जनसेवक।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “जनसेवाको।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “भेटीका रोटीहरू।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “प्रायश्‍चितको ठाउँमा।”

शब्दावली हेर्नुहोस्‌।

यसले पृथ्वीमा भएको पाललाई सङ्‌केत गर्छ।

यसले स्वर्गको पवित्र ठाउँलाई सङ्‌केत गरेको हुनुपर्छ।

शा., “विभिन्‍न किसिमका बप्तिस्माहरूसित।”

शा., “फिरौती तिरेर छुटाउनुभयो।”

साँढे नलगाइएको गाई।

शब्दावली हेर्नुहोस्‌।

वा “मुठामाथि।”

वा “जनसेवामा।”

शा., “परमेश्‍वरको मुहारसामु।”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “मानिसहरूले।”

वा “त्रुटिरहित।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “पुस्तकको मुठामा।”

वा “जनसेवा।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “एकअर्काको ख्याल राखेर; एकअर्कालाई ध्यान दिएर।”

वा “उत्प्रेरित गरौँ।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शा., “रङ्‌गमञ्चमा तमासा बनाइएजसरी।”

वा “त्यस्ता कुराहरू अनुभव गर्नेहरूको साथमा खडा भयौ।”

शा., “निर्धक्क भई बोल्ने साहस गरिरहो।”

वा “ठोस प्रमाण।”

वा “हाम्रा पुर्खाहरूले।”

वा “युगहरू बनाइए।” शब्दावलीमा “युग” हेर्नुहोस्‌।

वा “भेटी स्विकारेर साक्षी दिनुभयो।”

वा “उहाँको अस्तित्व छ।”

वा “शिल्पकार।”

वा “भरोसायोग्य।”

वा “आफ्नो लास गाड्‌नेबारे।”

वा “आज्ञा।”

मिश्रका राजाहरूको एउटा उपाधि।

शा. “ख्रिष्टको।”

शब्दावली हेर्नुहोस्‌।

शा., “छुन।”

शब्दावली हेर्नुहोस्‌।

वा “फुकालेर।”

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “सजाय दिनुहुन्छ।”

वा “तालिम।”

वा “दुःखदायी।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, आफ्नो बुबाको।

वा “उहाँको कुरा नसुन्‍न बहाना नबनाओ; उहाँको कुरालाई बेवास्ता नगर।”

वा “विदेशीहरूलाई दया देखाउन।”

शा., “बन्धनमा परेकाहरूलाई।”

वा सम्भवतः “आफूले पनि तिनीहरूसँगै दुःख भोगिरहेको छु भनी सम्झ।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अर्थात्‌, भोजनसम्बन्धी नियमहरूद्वारा।

वा “इमानदार।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने