प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt याकुब १:१-५:२०
  • याकुब

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • याकुब
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
याकुब

याकुबको पत्र

१ म याकुब,+ परमेश्‍वरको र प्रभु येसु ख्रिष्टको दास, विभिन्‍न ठाउँमा तितरबितर भएका १२ कुललाई लेख्दै छु:

अभिवादन!

२ हे मेरा भाइ हो, विभिन्‍न किसिमको परीक्षा आइपर्दा तिमीहरू यसलाई निकै खुसीको कुरा सम्झ+ ३ किनकि तिमीहरूलाई थाहै छ कि यसरी जाँचिएको तिमीहरूको विश्‍वासले सहनशीलता उत्पन्‍न गराउँछ।+ ४ तर सहनशीलतालाई त्यसको काम पूरा गर्न देओ, तब तिमीहरू हरक्षेत्रमा पूर्ण र दोषरहित हुनेछौ अनि तिमीहरूमा कुनै कुराको अभाव हुनेछैन।+

५ त्यसैले यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्‍वरसित मागिरहोस्‌+ र उसलाई त्यो दिइनेछ+ किनकि उहाँले सबैलाई उदारचित्तले अनि नझर्कीकन* दिनुहुन्छ।+ ६ तर उसले रतीभर शङ्‌का नगरी+ विश्‍वाससहित मागिरहोस्‌+ किनकि जसले शङ्‌का गर्छ, ऊ बतासले उचाल्दै-पछार्दै गरेको समुद्रको छालजस्तो हुन्छ। ७ भनौँ भने त्यस्तो मानिसले यहोवा* परमेश्‍वरबाट केही पाउने आशा नगरे पनि हुन्छ। ८ त्यो मानिस दोमनको+ र आफ्नो सबै कामकुरामा अस्थिर हुन्छ।

९ तर जो भाइ गरिब छ, ऊ आफूलाई उच्च पारिएकोमा रमाओस्‌*+ १० अनि जो धनी छ, ऊ आफूलाई होच्याइएकोमा रमाओस्‌+ किनकि ऊ मैदानको फूलझैँ ओइलाइहाल्नेछ। ११ जसरी घाम उदाएपछि त्यसको चर्को रापले बोटबिरुवा ओइलाउँछ र त्यसको फूल झर्छ अनि त्यसको सौन्दर्य उडेर जान्छ, त्यसरी नै धनी मानिस पनि जीवनमा दौडधूप गर्दागर्दै हराएर जानेछ।+

१२ आनन्दित हो त्यो मानिस, जसले परीक्षा सहिरहन्छ+ किनकि सफलतापूर्वक परीक्षाको सामना गरेपछि उसले जीवनको मुकुट पाउनेछ,+ जुन मुकुट यहोवा* परमेश्‍वरले उहाँलाई प्रेम गरिरहनेहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको छ।+ १३ परीक्षा आइपर्दा कसैले पनि यसो नभनोस्‌: “परमेश्‍वरले मेरो परीक्षा लिइरहनुभएको छ।” किनकि कुनै दुष्ट कुराद्वारा परमेश्‍वरको परीक्षा लिन सकिँदैन र उहाँ आफैले पनि कुनै दुष्ट कुराद्वारा कसैको परीक्षा लिनुहुन्‍न। १४ तर हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ* र परीक्षामा पर्छ।+ १५ जब तृष्णा गर्भवती हुन्छ, तब त्यसले पापलाई जन्माउँछ अनि पाप गरेपछि त्यसले मृत्यु निम्त्याउँछ।+

१६ हे मेरा प्रिय भाइहरू हो, नबहकिओ। १७ हरेक असल वरदान र हरेक उत्तम उपहार हामी माथिबाट अर्थात्‌ आकाशका ज्योतिहरूका बुबाबाट+ पाउँछौँ।+ उहाँ सरिरहने छायाजस्तो परिवर्तन भइरहनुहुन्‍न।+ १८ हामी उहाँले बनाउनुभएका मानिसहरूमध्ये पहिलो फल+ होऔँ भनेर उहाँले हामीलाई सत्यको वचनद्वारा जन्माउने इच्छा गर्नुभयो।+

१९ हे मेरा प्रिय भाइहरू हो, तिमीहरूलाई यो कुरा थाह होस्‌: हरेक मानिस सुन्‍नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन+ अनि हतपती रिसाउनु हुँदैन+ २० किनकि रिस गर्ने मानिस परमेश्‍वरको धार्मिक स्तरबमोजिम+ चलिरहेको हुँदैन। २१ त्यसकारण सबै अशुद्धता र खराबीको हरेक दागलाई*+ हटाओ अनि परमेश्‍वरले तिमीहरूलाई बचाउन सक्ने वचन तिमीहरूमा रोप्नुहुँदा त्यसलाई कोमलतासाथ स्विकार।

२२ तर वचन पालन गर्ने होओ,+ सुन्‍ने मात्र होइन नत्र त तिमीहरूले झूटा तर्कहरूद्वारा आफैलाई धोका दिइरहेका हुनेछौ। २३ यदि कसैले वचन सुन्छ तर पालन गर्दैन भने+ ऊ आफ्नो अनुहार ऐनामा हेर्ने त्यो मानिसजस्तै हुन्छ, २४ जसले आफ्नो अनुहार हेर्न त हेर्छ तर आफू कस्तो छु भनेर त्यहाँबाट हिँड्‌नेबित्तिकै बिर्सिहाल्छ। २५ तर जसले स्वतन्त्रता दिने पूर्ण व्यवस्थामा+ ध्यान दिएर हेर्छ र त्यसमा लागिरहन्छ, ऊ सुनेर बिर्सने होइन तर त्यसैअनुसार काम गर्ने मानिस हुन्छ। अनि उसले जे गर्छ, त्यसमा ऊ आनन्दित हुनेछ।+

२६ यदि कुनै मानिसले आफूलाई परमेश्‍वरको उपासक* सम्झन्छ तर आफ्नो जिब्रोमा कस्सिनेगरि लगाम लगाउँदैन भने+ उसले आफूलाई* धोका दिइरहेको हुन्छ र उसको उपासना व्यर्थ हुन्छ। २७ हाम्रा परमेश्‍वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना* यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको सङ्‌कष्टमा हेरविचार गर्नु+ अनि आफूलाई यस संसारबाट बेदाग राख्नु।+

२ हे मेरा भाइ हो, के तिमीहरू एकातिर हाम्रा महिमित प्रभु येसु ख्रिष्टमाथि विश्‍वास गर्दै अर्कोतिर भेदभाव पनि गरिरहेका छौ?+ २ किनकि सुनका औँठीहरू र सानदार लुगा लगाएको एक जना मानिस अनि फोहोर लुगा लगाएको एक जना गरिब मानिस तिमीहरूको सभामा पस्दा ३ के तिमीहरू सानदार लुगा लगाउनेलाई इज्जत गर्दै “तपाईँ यहाँ राम्रो ठाउँमा बस्नुहोस्‌” भन्छौ तर गरिबलाई चाहिँ “तिमी यहीँ उभिरह” अथवा “यहाँ मेरो पाउदाननजिकै बस” भन्छौ?+ ४ यसो गर्छौ भने के तिमीहरूले सानो-ठूलो भनेर भेदभाव गरिरहेका हुँदैनौ र?+ अनि के तिमीहरू दुष्ट फैसला गर्ने न्यायाधीशहरू भएनौ र?+

५ हे मेरा प्रिय भाइ हो, सुन। के परमेश्‍वरले संसारले गरिब ठानेका मानिसहरूलाई विश्‍वासमा धनी हुन+ अनि त्यस राज्यको उत्तराधिकारी हुन छान्‍नुभएको होइन र, जुन उहाँले आफूलाई प्रेम गर्नेजतिलाई दिने प्रतिज्ञा गर्नुभएको थियो?+ ६ तर तिमीहरूले गरिबको बेइज्जत गरेका छौ। के धनी मानिसहरूले तिमीहरूको शोषण गर्दैनन्‌+ अनि के तिमीहरूलाई घिसारेर अदालत लैजाँदैनन्‌? ७ के तिनीहरू तिमीहरूलाई दिइएको असल नामको निन्दा गर्दैनन्‌? ८ तर यदि तिमीहरू धर्मशास्त्रमा लेखिएबमोजिम “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”+ भन्‍ने शाही* व्यवस्था पालन गर्छौ भने असलै गरिरहेका छौ। ९ तर यदि तिमीहरू भेदभाव गरिरहन्छौ भने+ तिमीहरूले पाप गरिरहेका हुन्छौ अनि त्यो व्यवस्थाले तिमीहरूलाई दोषी ठहराउँछ।+

१० यदि कसैले मोसाको व्यवस्थामा भएका सबै कुरा पालन गर्छ तर ऊ एउटा आज्ञा पालन गर्न चाहिँ चुक्छ भने उसले पूरै व्यवस्था उल्लङ्‌घन गरिरहेको हुन्छ।+ ११ किनकि जसले “तिमीहरूले व्यभिचार* नगर्नू”+ भन्‍नुभयो, उहाँले “तिमीहरूले हत्या नगर्नू”+ पनि भन्‍नुभयो। त्यसैले यदि तिमी व्यभिचार गर्दैनौ तर हत्याचाहिँ गर्छौ भने तिमीले व्यवस्था उल्लङ्‌घन गरिरहेका हुन्छौ। १२ तिमीहरू ती मानिसहरूझैँ बोलिरहो अनि ती मानिसहरूले झैँ व्यवहार गरिरहो, जसको न्याय स्वतन्त्र मानिसहरूको व्यवस्थाबमोजिम हुनेछ।*+ १३ किनकि जसले कृपा देखाउँदैन, न्याय हुँदा ऊमाथि पनि कृपा देखाइनेछैन।+ कृपाले न्यायमाथि विजय हासिल गर्छ।

१४ हे मेरा भाइ हो, यदि कसैले परमेश्‍वरमाथि विश्‍वास गर्छु भन्छ तर त्यसबमोजिम कामचाहिँ गर्दैन भने के फाइदा हुन्छ र?+ के त्यस्तो विश्‍वासले उसको उद्धार गर्न सक्छ?+ १५ यदि कुनै भाइ वा बहिनीसित लुगा छैन* वा दिनभरि खान पुग्ने भोजन छैन १६ र तिमीहरूमध्ये कोही उसलाई “शान्तिसित जाऊ, न्यानो गरी बस अनि पेटभरि खाऊ” भन्छौ तर उसको शरीरलाई चाहिने कुराचाहिँ दिँदैनौ भने त्यसबाट के फाइदा हुन्छ र?+ १७ विश्‍वास पनि त्यस्तै हो, यदि कामबाट प्रकट हुँदैन भने त्यो मरेको हुन्छ।+

१८ तर कसैले तिमीलाई यसो भन्‍न सक्छ: “तिमीसित विश्‍वास छ तर मसित कामहरू छन्‌। तिमी कामविनाको विश्‍वास देखाऊ तर म आफ्ना कामहरूद्वारा मेरो विश्‍वास प्रकट गर्नेछु।” १९ परमेश्‍वर एकै जना हुनुहुन्छ भनेर तिमी विश्‍वास गर्छौ, होइन र? धेरै राम्रो। प्रेतहरू* पनि विश्‍वास गर्छन्‌ अनि थरथर काँप्छन्‌।+ २० तर ए अज्ञानी मानिस, कामविनाको विश्‍वास बेकामको हुन्छ भनेर चाहिँ के तिमी स्विकार्न चाहँदैनौ? २१ आफ्नो छोरा इसहाकलाई वेदीमा चढाएको हुनाले नै के हाम्रा पुर्खा अब्राहाम कामद्वारा धर्मी ठहरिएका होइनन्‌ र?+ २२ तिनले विश्‍वास गर्नुका साथै त्यसबमोजिम काम पनि गरे र तिनको कामले गर्दा नै तिनको विश्‍वास पूर्ण भयो+ २३ अनि धर्मशास्त्रमा लेखिएको यो वचन पूरा भयो: “अब्राहामले यहोवा* परमेश्‍वरमाथि विश्‍वास गरे र यसले गर्दा तिनी उहाँको नजरमा धर्मी ठहरिए”+ अनि तिनी यहोवा* परमेश्‍वरको मित्र कहलाइए।+

२४ त्यसैले तिमीहरूले देखिहाल्यौ, मानिसलाई उसको विश्‍वासद्वारा मात्र होइन तर कामहरूद्वारा धर्मी ठहराइनेछ। २५ त्यसैगरि के वेश्‍या राहाबले सन्देशवाहकहरूलाई आफ्नो घरमा स्वागत गरेर अर्कै बाटोबाट पठाइदिएकी हुनाले नै तिनी पनि कामद्वारा धर्मी ठहरिएकी होइनन्‌ र?+ २६ वास्तवमा जसरी सासविनाको शरीर मरेको हुन्छ,+ त्यसरी नै कामविनाको विश्‍वास पनि मरेको हुन्छ।+

३ हे मेरा भाइ हो, हामीमध्ये धेरै जना शिक्षक नबन्‍नु नै बेस किनकि परमेश्‍वरले अरूको भन्दा हाम्रो अझ कठोरतासित* न्याय गर्नुहुन्छ+ भनेर हामीलाई थाह छ। २ किनकि हामी सबै जना धेरै चोटि चुक्छौँ।*+ यदि कोही आफ्नो वचनमा चुक्दैन भने ऊ आफ्नो सारा शरीरमा लगाम कस्न सक्ने सर्वगुणी मानिस हुन्छ। ३ हाम्रो आज्ञा मानून्‌ भनेर हामी घोडाहरूको मुखमा लगाम लगाउँछौँ र त्यसो गर्दा तिनीहरूको पूरै शरीरलाई पनि काबूमा राख्न सक्छौँ। ४ जहाजहरूलाई पनि हेर: हुनत तिनीहरू निकै ठूलठूला हुन्छन्‌ र तिनीहरूलाई तेज बतासले हाँक्छ तैपनि नाविकले एउटा सानो पतवारको सहारा लिएर जहाजलाई आफ्नो इच्छाअनुसार जता मन लाग्छ, त्यतै लैजान्छ।

५ त्यसैगरि हाम्रो शरीरको एउटा सानो अङ्‌ग भएर पनि जिब्रोले कत्ति ठूलठूलो कुरा गर्छ। हेर, बडेमानको जङ्‌गलमा डढेलो लगाउन आगोको सानो झिल्का मात्र भए पुग्छ! ६ जिब्रो पनि आगै हो।+ हाम्रो शरीरका अङ्‌गहरूमध्ये जिब्रो एउटा त्यस्तो अङ्‌ग हो, जहाँ खराबीको दुनियाँले नै बास गरेको हुन्छ। किनकि त्यसले सारा शरीरलाई अशुद्ध बनाउँछ+ र मानिसको पूरै जीवनमा आगो लगाइदिन्छ अनि गेहेन्‍नाको* आगोले जस्तैगरि भस्म गर्छ। ७ हरकिसिमका जङ्‌गली जनावर, चरा, भुईँमा घस्रने जीव अनि समुद्री जीवलाई तह लगाउन सकिन्छ अनि मानिसहरूले तिनीहरूलाई तह लगाएका पनि छन्‌। ८ तर जिब्रोलाई भने कुनै मानिसले तह लगाउन सक्दैन। त्यो खतरनाक अनि काबूमा राख्न नसकिने अङ्‌ग हो र त्यो ज्यानमारा विषले भरिएको हुन्छ।+ ९ त्यही जिब्रोले हामी यहोवा,* हाम्रा बुबाको प्रशंसा गर्छौँ अनि त्यही जिब्रोले हामी “परमेश्‍वरको स्वरूपमा” बनाइएका+ मानिसहरूलाई सराप्छौँ। १० एउटै मुखबाट प्रशंसा र सराप दुवै निस्कन्छन्‌।

हे मेरा भाइ हो, यस्तो हुनु उचित होइन।+ ११ के एउटै मुहानबाट मीठो र तीतो पानी निस्कन्छ र? १२ मेरा भाइ हो, के अन्जिरको रूखले जैतुन वा अङ्‌गुरको बोटले अन्जिर फलाउन सक्छ र?+ त्यसैगरि नुनिलो पानीको मुहानबाट मीठो पानी निस्कन सक्दैन।

१३ तिमीहरूमध्ये बुद्धिमान्‌ अनि समझदार को छ? जो छ, उसले यो कुरा आफ्नो असल चालचलनद्वारा देखाओस्‌ र ऊ बुद्धिमार्फत प्राप्त हुने कोमलतासाथ चलोस्‌। १४ तर तिमीहरूको हृदयमा डाह+ अनि वैमनस्यता*+ छ भने घमन्ड गर्न+ र सत्यविरुद्ध झूट बोल्न छोड। १५ त्यस्तो बुद्धि माथिबाट आउने बुद्धि होइन तर सांसारिक,+ पाशविक अनि सैतानी बुद्धि हो। १६ किनकि जहाँ ईर्ष्या अनि वैमनस्यता* हुन्छ, त्यहाँ गोलमाल र हरकिसिमका खराब कुराहरू पनि हुन्छन्‌।+

१७ तर माथिबाट आउने बुद्धि पाउने मानिस सर्वप्रथम शुद्ध हुन्छ,+ त्यसपछि शान्तिप्रिय,+ व्यावहारिक,+ आज्ञाकारी, कृपा र असल फलहरूले भरिपूर्ण,+ निष्पक्ष+ र निष्कपट+ हुन्छ। १८ यसबाहेक जसले शान्ति कायम गर्छ, उसको लागि शान्तिपूर्ण अवस्थामा+ धार्मिकताको* फल+ रोपिन्छ।*

४ तिमीहरूमाझ लडाइँ झगडा किन भइरहेको छ? के ती तिमीहरूलाई काबूमा राख्न तिमीहरूसित* सङ्‌घर्ष गर्ने तिमीहरूका शारीरिक इच्छाहरूले गर्दा+ भएका होइनन्‌ र? २ तिमीहरू इच्छा गर्छौ तैपनि पाउँदैनौ। तिमीहरू हत्या गरिरहन्छौ र लालच गरिरहन्छौ तैपनि हासिल गर्न सक्दैनौ। तिमीहरू झगडा गरिरहन्छौ र लडाइँ गरिरहन्छौ।+ तिमीहरूले पाएका छैनौ किनभने तिमीहरूले मागेकै छैनौ। ३ अनि माग्दा पनि तिमीहरू पाउँदैनौ किनकि तिमीहरू आफ्नो शारीरिक इच्छा पूरा गर्न गलत उद्देश्‍यले माग्छौ।

४ हे विश्‍वासघाती* हो, यस संसारसितको मित्रता परमेश्‍वरसितको शत्रुता हो भनेर के तिमीहरूलाई थाह छैन? त्यसकारण जो यस संसारको मित्र हुन चाहन्छ, उसले आफूलाई परमेश्‍वरको शत्रु बनाइरहेको हुन्छ।+ ५ अथवा के तिमीहरूलाई धर्मशास्त्रले यो कुरा बेकारमा भनेको हो जस्तो लाग्छ: “हामीमा बास गर्ने झुकावले हामीमा लालसा र ईर्ष्या उत्पन्‍न गराउँछ”?+ ६ तर उहाँले दिनुहुने असीम अनुग्रह त्यो झुकावभन्दा प्रबल छ। त्यसैले धर्मशास्त्र भन्छ: “परमेश्‍वरले अहङ्‌कारीहरूको विरोध गर्नुहुन्छ+ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।”+

७ त्यसकारण आफूलाई परमेश्‍वरको अधीनमा राख+ र दियाबलको विरोध गर+ अनि त्यो तिमीहरूबाट भाग्नेछ।+ ८ परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।+ हे पापी हो, आफ्नो हात शुद्ध पार।+ हे दोमने हो, आफ्नो हृदय चोखो बनाओ।+ ९ दुःखित होओ, शोक मनाओ र रोओ।+ तिमीहरूको हाँसो शोकमा र तिमीहरूको खुसी निराशामा बदलियोस्‌। १० आफूलाई यहोवा* परमेश्‍वरको नजरमा नम्र बनाओ+ र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ।+

११ हे भाइ हो, एकअर्काविरुद्ध बोल्न छोड।+ जसले आफ्नो भाइविरुद्ध बोल्छ वा उसको न्याय गर्छ, त्यसले व्यवस्थाविरुद्ध बोल्छ र व्यवस्थाको न्याय गर्छ। अब यदि तिमी व्यवस्थाको न्याय गर्छौ भने तिमी व्यवस्था पालन गर्ने होइन तर त्यसको न्यायकर्ता पो भयौ। १२ व्यवस्थाको दाता र न्यायकर्ता एकै जना हुनुहुन्छ,+ जसले उद्धार गर्न सक्नुहुन्छ अनि नाश पनि गर्न सक्नुहुन्छ।+ तर आफ्नो छिमेकीको न्याय गर्ने तिमी को हौ?+

१३ सुन, तिमीहरू यसो भन्छौ: “आज वा भोलि हामी फलानो सहरमा जाऔँला अनि त्यहाँ एक वर्ष बिताऔँला र व्यापार गरेर केही नाफा कमाऔँला,”+ १४ जबकि तिमीहरूको जीवन भोलि के हुने हो, त्यो तिमीहरूलाई थाह छैन।+ किनकि तिमीहरू त एकछिन देखा परेर बिलाइहाल्ने कुहिरो हौ।+ १५ बरु तिमीहरूले यसो भन्‍नुपर्छ: “यहोवा* परमेश्‍वरको इच्छा भए+ हामी बाँचौँला अनि यसो गरौँला र उसो गरौँला।” १६ तर तिमीहरू अहङ्‌कारी हुँदै फुर्ती लगाउँछौ। यसरी फुर्ती लगाउनु दुष्ट कुरा हो। १७ त्यसकारण यदि कसैले सही काम गर्न जानेर पनि गर्दैन भने उसले पाप गरिरहेको हुन्छ।+

५ अब हे धनी मानिस हो, सुन, आफूमाथि आउँदै गरेको सङ्‌कष्टको कारण डाँको छोडेर रोओ।+ २ तिमीहरूका धनसम्पत्ति सडेका छन्‌ अनि तिमीहरूका लुगाहरू किराले खाएका छन्‌।+ ३ तिमीहरूको सुन र चाँदीमा कस लागेको छ अनि त्यही कसले तिमीहरूविरुद्ध साक्षी दिनेछ र तिमीहरूको मासु खानेछ। तिमीहरूले जे जम्मा गरेका छौ, त्यो अन्तको दिनमा आगोजस्तै हुनेछ।+ ४ हेर, तिमीहरूको खेतमा कटनी गर्ने खेतालाहरूलाई तिमीहरूले नदिएको ज्याला तिमीहरूको विरुद्धमा कराइरहेको छ अनि बाली काट्‌नेहरूको गुहार सेनाहरूका यहोवाको* कानमा पुगेको छ।+ ५ तिमीहरूले पृथ्वीमा विलासी जीवन बिताएका छौ अनि आफ्ना लालसाहरू पूरा गर्नतिर लागेका छौ। तिमीहरू ती पशुहरूजस्तै भएका छौ, जसलाई काट्‌ने दिनका लागि बेसरी खुवाएर मोटो पारिएको हुन्छ।+ ६ तिमीहरूले त्यस धर्मी मानिसलाई दोषी ठहराएका छौ र हत्या गरेका छौ। त्यसैले तिमीहरूको विरोध गरिँदै छ।

७ त्यसकारण हे भाइ हो, प्रभुको उपस्थिति+ नभएसम्म धैर्य गर। हेर, एक जना किसानले भूमिको बहुमूल्य उब्जनी बटुल्न पर्खेर बस्छ अनि अघिल्लो वर्षा र पछिल्लो वर्षा नहोउन्जेल धैर्य गर्छ।+ ८ तिमीहरू पनि धैर्य गर;+ आफ्नो हृदय स्थिर बनाओ किनकि प्रभुको उपस्थिति हुनै लागेको छ।+

९ हे भाइ हो, एकअर्काविरुद्ध गनगन नगर* ताकि तिमीहरूको न्याय नगरियोस्‌।+ हेर! न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ। १० भाइहरू हो, यहोवा* परमेश्‍वरको नाममा बोल्ने भविष्यवक्‍ताहरूले+ भोगेको कष्ट+ र उनीहरूले देखाएको धैर्यलाई+ नमुनाको रूपमा लेओ। ११ हेर, सहनशील मानिसहरूलाई हामी आनन्दित ठान्छौँ।+ तिमीहरूले अय्युबको सहनशीलताको+ विषयमा त सुनेकै छौ अनि यहोवा* परमेश्‍वरले तिनलाई दिनुभएको इनाम+ पनि देखेकै छौ कि यहोवा* परमेश्‍वर कोमल स्नेहले भरिपूर्ण* अनि कृपालु हुनुहुन्छ।+

१२ विशेषगरि, हे मेरा भाइ हो, कसम खान छोड। तिमीहरूले न स्वर्गको न पृथ्वीको न त अरू कुनै कुराको नाममै कसम खाओ। तर तिमीहरूको ‘हुन्छ’ चाहिँ ‘हुन्छ’ अनि ‘हुँदैन’ चाहिँ ‘हुँदैन’ नै होस्‌+ ताकि तिमीहरू सजाय पाउन लायक नठहरिओ।

१३ के तिमीहरूमध्ये कसैले कष्ट भोगिरहेको छ? उसले प्रार्थना गरिरहोस्‌।+ के कसैको मन खुसी छ? उसले भजन गाओस्‌।+ १४ के तिमीहरूमध्ये कोही बिरामी* छ? उसले मण्डलीका एल्डरहरूलाई* आफूकहाँ बोलाओस्‌+ अनि तिनीहरूले उसको लागि प्रार्थना गरिदेऊन्‌ र यहोवा* परमेश्‍वरको नाममा तेल घसिदेऊन्‌।*+ १५ अनि विश्‍वाससहित गरिएको प्रार्थनाले त्यस बिरामी मानिसलाई* निको पार्नेछ र यहोवा* परमेश्‍वरले उसलाई उठाउनुहुनेछ। उसले पाप गरेकै रहेछ भने पनि उसलाई क्षमा दिइनेछ।

१६ त्यसकारण एकअर्कासामु आफ्ना पापहरू खुलमखुला स्विकार+ अनि एकअर्काका लागि प्रार्थना गर ताकि तिमीहरू निको होओ। धर्मी मानिसको उत्कट बिन्तीले ठूलो काम गर्छ।+ १७ एलिया हाम्रो जस्तै भावना भएका मानिस थिए तैपनि तिनले पानी नपरोस्‌ भनेर व्यग्र प्रार्थना गर्दा त्यस देशमा साढे तीन वर्षसम्म पानी परेन।+ १८ तिनले फेरि प्रार्थना गर्दा आकाशबाट पानी पऱ्‍यो र जमिनले आफ्नो उब्जनी दियो।+

१९ हे मेरा भाइ हो, यदि तिमीहरूमध्ये कोही सत्यको मार्गबाट तर्केर गयो र कसैले उसलाई फर्काएर ल्यायो भने २० तिमीहरूलाई यो थाह होस्‌ कि जसले एक जना पापीलाई गलत मार्गबाट फर्काएर ल्याउँछ,+ त्यसले उसलाई मृत्युबाट बचाउनेछ र उसका असङ्‌ख्य पापहरू ढाक्नेछ।+

वा “गल्ती नखोजीकन।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शा., “घमन्ड गरोस्‌।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “चारो हालेर पासोमा पारेझैँ फस्छ।”

वा सम्भवतः “धेरै खराबीलाई।”

वा “धर्मकर्म गर्ने मानिस।”

शा., “आफ्नो हृदयलाई।”

वा “धर्म।”

वा “राजकीय।”

शब्दावली हेर्नुहोस्‌।

शा., “जसको न्याय स्वतन्त्रताको व्यवस्थाबमोजिम हुनेछ।”

शा., “कुनै भाइ वा बहिनी नाङ्‌गो छ।”

वा “दुष्ट स्वर्गदूतहरू।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “कडा।”

वा “गल्ती गर्छौँ।” शा., “ठक्कर खान्छौँ।”

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा सम्भवतः “स्वार्थी महत्त्वाकाङ्‌क्षा।”

वा सम्भवतः “स्वार्थी महत्त्वाकाङ्‌क्षा।”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “उसले शान्तिपूर्ण अवस्थामा धार्मिकताको फल छर्छ।”

शा., “तिमीहरूका अङ्‌गहरूमा।”

शा., “व्यभिचारी।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “गुनासो नगर।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “असाध्यै करुणामय।”

यसले परमेश्‍वरसितको सम्बन्ध कमजोर हुनुलाई जनाएको हुनुपर्छ।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

यसले परमेश्‍वरको वचनको प्रयोगलाई जनाएको हुनुपर्छ।

वा सम्भवतः “थकित मानिसलाई।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने