प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt १ पत्रुस १:१-५:१४
  • १ पत्रुस

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १ पत्रुस
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ पत्रुस

पत्रुसको पहिलो पत्र

१ येसु ख्रिष्टको प्रेषित,*+ पत्रुसको तर्फबाट पोन्टस, गलातिया, क्यापाडोसिया,+ एसिया अनि बिथिनियामा अस्थायी बासिन्दाका रूपमा तितरबितर भएका चुनिएका जनहरूलाई, २ जसलाई आज्ञाकारी बनाउन र येसु ख्रिष्टको रगत छर्किन+ परमेश्‍वर, हाम्रा बुबाले+ आफ्नो पूर्वज्ञानअनुसार रोज्नुका साथै आफ्नो पवित्र शक्‍तिद्वारा पवित्र पार्नुभएको छ:+

तिमीहरूले पाइरहेको परमेश्‍वरको असीम अनुग्रह र शान्ति प्रशस्त हुँदै जाओस्‌।

३ हाम्रा प्रभु येसु ख्रिष्टका परमेश्‍वर र बुबाको प्रशंसा होस्‌ किनकि येसु ख्रिष्टलाई मृत्युबाट फेरि जीवित पारेर+ परमेश्‍वरले आफ्नो ठूलो कृपाअनुसार हामीलाई नयाँ जन्म+ दिएर जीवित आशा दिनुभयो+ ४ अनि अविनाशी, विशुद्ध र नगुम्ने उत्तराधिकार दिनुभयो।+ यो उत्तराधिकार तिमीहरूका लागि स्वर्गमा साँचिएको छ।+ ५ हो, तिमीहरूसित विश्‍वास भएकोले आखिरी समयमा प्रकट गरिने उद्धारका लागि परमेश्‍वरले आफ्नो शक्‍तिद्वारा तिमीहरूलाई सुरक्षित राखिरहनुभएको छ। ६ यसले गर्दा तिमीहरू ठूलो रमाहट गर्छौ। तर केही समयका लागि भने विभिन्‍न परीक्षाले गर्दा तिमीहरूले दुःख भोग्नुपर्छ+ ७ ताकि यसरी जाँचिएर अमूल्य साबित भएको तिमीहरूको विश्‍वास+ येसु ख्रिष्ट प्रकट हुँदा+ प्रशंसा, महिमा अनि आदर पाउने कारण बन्‍न सकोस्‌। तिमीहरूको जाँचिएको विश्‍वास त्यस्तो सुनभन्दा अनमोल छ, जुन आगोले खारिए तापनि नष्ट भइजान्छ। ८ तिमीहरूले उहाँलाई कहिल्यै देखेनौ तैपनि उहाँलाई प्रेम गर्छौ। अहिले तिमीहरू उहाँलाई देख्दैनौ तैपनि उहाँमाथि विश्‍वास गर्छौ र अवर्णनीय अनि ठूलो रमाहटले खुसी मनाउँछौ। ९ किनकि तिमीहरूलाई थाह छ, तिमीहरूको विश्‍वासले गर्दा तिमीहरूले इनामस्वरूप उद्धार पाउनेछौ।+

१० तिमीहरूका लागि साँचेर राखिएको असीम अनुग्रहको विषयमा भविष्यवाणी गर्ने भविष्यवक्‍ताहरूले यही उद्धारबारे लगनशील भई सोधपुछ गर्नुका साथै होसियार भई खोजतलास गरेका थिए।+ ११ आफूमाथि काम गरिरहेको पवित्र शक्‍तिले ख्रिष्टबारे बताएको कुरा कुन समय वा कुन परिस्थितिमा पूरा हुन्छ होला भनेर ती भविष्यवक्‍ताहरूले खोजतलास गरिरहे।+ किनकि पवित्र शक्‍तिले तिनीहरूलाई ख्रिष्टले भोग्नुहुने दुःखकष्ट+ अनि उहाँले त्यसपछि पाउनुहुने महिमाबारे पहिल्यै बताएको थियो। १२ तिनीहरूले सेवकको रूपमा जे-जे बताए, त्यो तिनीहरूको निम्ति नभई तिमीहरूको निम्ति थियो भनेर तिनीहरूलाई प्रकट गरियो। तिमीहरूलाई सुसमाचार सुनाउनेहरूले स्वर्गबाट पठाइएको पवित्र शक्‍तिद्वारा ती कुरा अहिले तिमीहरूसामु घोषणा गरेका छन्‌।+ स्वर्गदूतहरूसमेत ती कुराहरू बुझ्न अति इच्छा गर्दै छन्‌।

१३ त्यसैले कडा मेहनत गर्नको लागि आफ्नो दिमागलाई तयार पार,+ पूर्णतया सचेत रहो+ अनि येसु ख्रिष्ट प्रकट हुनुहुँदा तिमीहरूलाई देखाइने असीम अनुग्रहमाथि आफ्नो आशा राखिरहो। १४ परमेश्‍वरको ज्ञान नपाउँदा तिमीहरू जुन इच्छाअनुसार चल्थ्यौ, अब आज्ञाकारी बालकहरू भएर त्यसअनुसार चल्न* छोड। १५ तर तिमीहरूलाई बोलाउनुहुने पवित्र परमेश्‍वरजस्तै तिमीहरू पनि आफ्नो सारा चालचलनमा पवित्र होओ+ १६ किनभने यस्तो लेखिएको छ: “तिमीहरू पवित्र हुनै पर्छ किनकि म पवित्र छु।”+

१७ हरेकको कामअनुसार निष्पक्ष न्याय गर्नुहुने बुबालाई+ तिमीहरू पुकार्छौ भने अहिले केही समयको लागि परदेशीको रूपमा जीवन बिताइरहेको बेला तिमीहरू परमेश्‍वरको डर मान्दै चल।+ १८ किनकि तिमीहरूलाई थाह छ, तिमीहरूले आफ्ना पुर्खाहरूबाट* जुन निरर्थक जीवनशैली पाएका थियौ, त्यसबाट तिमीहरू मुक्‍त भएका छौ।*+ यो मुक्‍ति तिमीहरूले चाँदी वा सुनजस्ता नाशवान्‌ वस्तुहरूद्वारा पाएका होइनौ १९ तर निष्खोट अनि बेदाग पाठो+ अर्थात्‌ ख्रिष्टको अमूल्य रगतद्वारा+ पाएका हौ।+ २० हो, संसारको प्रारम्भ हुनुअगावै परमेश्‍वरले ख्रिष्टलाई चुन्‍नुभएको थियो+ तर तिमीहरूका खातिर अन्तको समयमा मात्र उहाँ प्रकट गराइनुभयो।+ २१ उहाँद्वारा तिमीहरू परमेश्‍वरमाथि विश्‍वास गर्छौ।+ तिमीहरूले परमेश्‍वरमाथि विश्‍वास अनि आशा गर्न सक भनेर उहाँले ख्रिष्टलाई मृत्युबाट ब्युँताउनुभयो+ र महिमा दिनुभयो।+

२२ सत्यको वचन पालन गरेर तिमीहरूले आफूलाई शुद्ध पारेको हुनाले तिमीहरूमाझ निष्कपट भ्रातृस्नेह+ छ। त्यसैले एकअर्कालाई हृदयदेखि प्रगाढ प्रेम गर।+ २३ तिमीहरूले विनाशी होइन तर अविनाशी बिउ*+ अर्थात्‌ जीवित र अनन्त परमेश्‍वरको वचनद्वारा+ नयाँ जन्म पाएका छौ।+ २४ किनकि “सबै मानिस घाँसजस्तै छन्‌ अनि तिनीहरूको महिमा मैदानको फूलजस्तै छ; घाँस ओइलाउँछ र फूल पनि झर्छ २५ तर यहोवा* परमेश्‍वरको वचन भने सदासर्वदै रहिरहन्छ।”+ यो “वचन” तिमीहरूलाई सुनाइएको सुसमाचार हो।+

२ त्यसैले हरकिसिमका खराबी, छल, कपट, ईर्ष्या अनि अरूको कुरा काट्‌ने बानी त्याग।+ २ नवजात शिशुहरूले झैँ+ शुद्ध दूध अर्थात्‌ परमेश्‍वरको वचनको तिर्सना गर। यसो गऱ्‍यौ भने त्यस वचनद्वारा तिमीहरू बढ्‌दै जानेछौ र उद्धार पाउनेछौ।+ ३ किनकि प्रभु दयालु हुनुहुन्छ भनेर तिमीहरूले चाखिसकेका छौ।*

४ हो, तिमीहरू त्यस जीवित ढुङ्‌गोकहाँ आयौ, जसलाई मानिसहरूले तिरस्कार गरे+ तर परमेश्‍वरले चुन्‍नुभयो अनि अनमोल ठान्‍नुभयो।+ ५ त्यसैले तिमीहरू आफै पनि जीवित ढुङ्‌गा हौ र तिमीहरूलाई आध्यात्मिक घरको रूपमा* निर्माण गरिँदै छ+ ताकि तिमीहरू पवित्र पुजारीको दल बन्‍न सक र तिमीहरूले परमेश्‍वरलाई येसु ख्रिष्टमार्फत स्वीकार्य आध्यात्मिक बलिदान* चढाउन सक।+ ६ किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ: “हेर, म सियोनमा एउटा चुनिएको ढुङ्‌गो बसाल्दै छु, जुन जगको कुनाको अनमोल ढुङ्‌गो हो; त्यसमाथि विश्‍वास गर्ने कोही पनि कहिल्यै निराश हुनेछैन।”*+

७ त्यसैले तिमीहरूको निम्ति उहाँ अनमोल हुनुहुन्छ किनकि तिमीहरूले उहाँमाथि विश्‍वास गऱ्‍यौ तर विश्‍वास नगर्नेहरूको निम्ति भने “जुन ढुङ्‌गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने,+ त्यही ढुङ्‌गो नै कुनाको शिरढुङ्‌गो बनेको छ”+ ८ अनि “ठेस लाग्ने ढुङ्‌गो र ठक्कर दिने चट्टान” बनेको छ।+ तिनीहरू ठेस खान्छन्‌ किनकि तिनीहरू परमेश्‍वरको वचन पालन गर्दैनन्‌। तिनीहरूको अन्त यसरी नै हुनुपर्ने हो। ९ तर तिमीहरू त “चुनिएका मानिसहरू, शाही पुजारीको दल, पवित्र जाति+ अनि परमेश्‍वरको विशेष सम्पत्ति हौ।+ त्यसकारण तिमीहरूले उहाँका असल गुणहरूबारे* चारैतिर घोषणा गर्नुपर्छ,”+ जसले तिमीहरूलाई अन्धकारबाट बोलाएर आफ्नो अद्‌भुत ज्योतिमा ल्याउनुभयो।+ १० किनकि कुनै बेला तिमीहरू परमेश्‍वरका जन थिएनौ तर अहिले परमेश्‍वरका जन हौ;+ कुनै बेला तिमीहरूलाई कृपा देखाइएको थिएन तर अहिले भने तिमीहरूले कृपा पाएका छौ।+

११ हे मेरा प्रियहरू हो, आफूलाई परदेशी अनि अस्थायी बासिन्दा+ ठानेर शारीरिक इच्छाहरूदेखि अलग बसिरहो+ भनी म तिमीहरूलाई आग्रह गर्छु किनकि यस्तै इच्छाहरूले तिमीहरूसित युद्ध गर्छ।+ १२ संसारका मानिसहरूबीच तिमीहरूको चालचलन असल भइरहोस्‌+ ताकि तिमीहरूलाई कुकर्मी भनेर दोष लगाउने मानिसहरूले आफ्नै आँखाले तिमीहरूको असल काम देखून्‌+ र परमेश्‍वरले जाँच्नुहुने दिनमा उहाँको महिमा गरून्‌।

१३ प्रभुको खातिर, मानिसहरूले स्थापना गरेका सबै अख्तियारको अधीनमा बस:+ चाहे राजाको+ किनकि तिनी अरूभन्दा ठूला हुन्‌ १४ वा चाहे राज्यपालहरूको किनकि तिनीहरू कुकर्मीहरूलाई सजाय दिन तर असल काम गर्नेहरूको प्रशंसा गर्न राजाले पठाएका मानिसहरू हुन्‌।+ १५ परमेश्‍वरको इच्छा पनि यही छ कि तिमीहरूले असल काम गरेर मूर्ख मानिसहरूको मुख बन्द गर,* जो सोचविचारै नगरी तिमीहरूविरुद्ध बोल्छन्‌।+ १६ स्वतन्त्र मानिसहरूझैँ बाँच+ तर आफ्नो स्वतन्त्रतालाई खराब काम गर्ने आड* नबनाओ+ बरु परमेश्‍वरको दासको रूपमा जीवन बिताओ।+ १७ हरप्रकारका मानिसहरूको आदर गर,+ सबै भाइहरूलाई प्रेम गर,+ परमेश्‍वरको डर मान+ अनि राजाको आदर गर।+

१८ आफ्ना मालिकहरूलाई दिनुपर्ने आदर दिँदै नोकरहरू उनीहरूको अधीनमा बसून्‌।+ तिनीहरू असल अनि व्यावहारिक मालिकहरूको मात्र होइन तर रिझाउन गाह्रो मालिकहरूको पनि अधीनमा बसून्‌। १९ परमेश्‍वरसामु आफ्नो अन्तस्करण सफा राख्न यदि कसैले दुःख* सहन्छ अनि अन्याय भोग्छ भने त्यो राम्रै कुरा हो।+ २० किनकि तिमीहरूले पाप गरेकोले तिमीहरू पिटियौ अनि तिमीहरूले सह्‍यौ भने के नै ठूलो कुरा भयो र?+ तर तिमीहरूले असल काम गरेकोले दुःख पायौ अनि तिमीहरूले सह्‍यौ भने त्यो पो परमेश्‍वरको नजरमा राम्रो कुरा हो।+

२१ भनौँ भने यसैको निम्ति तिमीहरू बोलाइएका हौ किनभने ख्रिष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो+ र तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्‌नुभयो।+ २२ उहाँले एउटै पाप गर्नुभएन+ अनि उहाँको मुखमा कुनै छल पाइएन।+ २३ अरूले अपमान* गर्दा+ उहाँले उल्टो अपमान* गर्नुभएन।+ आफूले दुःख भोग्नुपर्दा+ उहाँले धम्काउनुभएन बरु सही न्याय गर्न सक्नुहुनेको+ हातमा आफूलाई सुम्पनुभयो। २४ हामी पापहरूबाट मुक्‍त हुन सकौँ अनि हामीले धर्मी जीवन बिताउन सकौँ भनेर उहाँ हाम्रा पापहरू बोकेर+ खम्बामा* टाँगिनुभयो।+ अनि “उहाँका चोटहरूद्वारा तिमीहरू निको भयौ।”+ २५ तिमीहरू बाटो बिराएका भेडाहरूजस्तै थियौ+ तर अब तिमीहरू आफ्नो गोठालो अनि तिमीहरूको जीवनको रेखदेख गर्नेकहाँ फर्केर आएका छौ।+

३ त्यसैगरि हे पत्नीहरू हो, आ-आफ्ना पतिको अधीनमा बस+ ताकि यदि कसैको पतिले परमेश्‍वरको वचनको आज्ञा मान्दैन भने पनि तिनकी पत्नीको असल चालचलनद्वारा विनावचन तिनलाई मनाउन सकियोस्‌;+ २ आफ्नी पत्नीको चोखो चालचलन अनि गहिरो आदर आफ्नै आँखाले देखेर तिनी परमेश्‍वरको वचन पालन गर्ने होऊन्‌।+ ३ त्यसैगरि तिमीहरूको सिँगार बाहिरी सिँगार नहोस्‌—कपाल बाट्‌ने, सुनको गरगहना लगाउने+ वा राम्रा-राम्रा लुगाहरू लगाउने— ४ बरु तिमीहरूको सिँगार हृदयको सिँगार होस्‌ र तिमीहरू आफूलाई शान्त अनि नम्र मनोभावले सिँगार+ किनकि यस्तो सिँगार कहिल्यै बिग्रेर जाँदैन र परमेश्‍वरको नजरमा त्यो ठूलो मोलको हुन्छ। ५ किनभने परमेश्‍वरमाथि आशा राख्ने उहिले-उहिलेका पवित्र स्त्रीहरूले पनि आ-आफ्ना पतिको अधीनमा बसेर आफूलाई त्यसरी नै सिँगार्थे। ६ जस्तै, साराले अब्राहामलाई प्रभु भनेर पुकार्दै+ तिनको आज्ञा पालन गर्थिन्‌। तिमीहरूले असल काम गरिरह्‍यौ अनि डरलाई आफूमाथि हाबी हुन दिएनौ भने+ तिमीहरू पनि उनका छोरीहरू बन्‍न सक्नेछौ।

७ त्यसैगरि हे पतिहरू हो, आ-आफ्नी पत्नीको मनको कुरा राम्ररी बुझेर* तिनीहरूसित जीवन बिताइरहो। स्त्रीजातिलाई आफूभन्दा कोमल पात्र सम्झेर आदर गर+ किनकि तिनीहरू पनि तिमीहरूजस्तै परमेश्‍वरले आफ्नो असीम अनुग्रहद्वारा दिनुहुने जीवनका उत्तराधिकारीहरू हुन्‌।+ यसो गऱ्‍यौ भने तिमीहरूको प्रार्थनामा बाधा पुग्नेछैन।

८ अन्तमा म के भन्‍न चाहन्छु भने तिमीहरू सबै एकै मनका होओ,*+ एकअर्काको पीडा महसुस गर, भ्रातृस्नेह प्रकट गर, कोमलताले भरिएको करुणा देखाओ+ अनि नम्र होओ।+ ९ खराबीको बदला खराबी नगर;+ अपमानको बदला अपमान नगर।+ त्यसको उल्टो आशिष्‌ देओ+ किनकि तिमीहरू यसैका निम्ति बोलाइएका थियौ ताकि तिमीहरू आफै पनि आशिष्‌को उत्तराधिकारी हुन सक।

१० किनकि “जसले जीवनलाई प्रेम गर्छ र आनन्दित भएर जीवन बिताउन चाहन्छ, उसले आफ्नो जिब्रोलाई खराब कुराबाट अलग राखोस्‌+ र आफ्नो ओठलाई छली कुरा बोल्नदेखि रोकोस्‌। ११ उसले खराब काम त्यागोस्‌+ र जे असल छ, त्यो गरोस्‌+ अनि शान्ति खोजोस्‌ र त्यसको पछि लागोस्‌।+ १२ किनकि धर्मीहरूमाथि यहोवाको* नजर रहन्छ अनि तिनीहरूको उत्कट बिन्ती सुन्‍न उहाँले आफ्नो कान थाप्नुहुन्छ+ तर ज-जसले खराब काम गर्छन्‌, तिनीहरूदेखि यहोवाले* आफ्नो अनुहार फर्काउनुहुन्छ।”+

१३ हुन पनि तिमीहरू असल काम गर्नमा जोसिला भयौ भने कसले तिमीहरूलाई हानि पुऱ्‍याउँछ र?+ १४ बरु असल काम गरेकोले दुःख भोग्छौ भने तिमीहरू आनन्दित हौ।+ तथापि तिनीहरू जुन कुरासित डराउँछन्‌, तिमीहरू त्यससित नडराओ* न त त्यसले गर्दा चिन्तित नै होओ।+ १५ आ-आफ्नो हृदयमा ख्रिष्टलाई प्रभु मानेर तिमीहरू उहाँलाई पवित्र सम्झ। यदि कसैले तिमीहरूको आशाको कारणबारे सोध्यो भने तिनीहरूलाई जवाफ दिन सधैँ तयार भइरहो तर जवाफ दिँदा तिमीहरूले कोमल भाव+ र गहिरो आदर देखाओ।+

१६ आफ्नो अन्तस्करण सफा बनाइराख+ ताकि ज-जसले तिमीहरूविरुद्ध केही बोल्छन्‌, तिनीहरू तिमीहरूले ख्रिष्टको चेलाको रूपमा देखाएको असल आचरण+ देखेर लज्जित होऊन्‌।+ १७ असल काम गर्दागर्दै पनि तिमीहरूलाई दुःख भोग्न दिने परमेश्‍वरको इच्छा रहेछ भने खराब काम गरेर दुःख भोग्नुभन्दा त असल काम गरेर दुःख भोग्नु नै बेस।+ १८ किनकि ख्रिष्ट हाम्रा पापहरू हटाउन एकै चोटि सदाको लागि मर्नुभयो।+ तिमीहरूलाई डोऱ्‍याएर परमेश्‍वरकहाँ पुऱ्‍याउन सकियोस्‌ भनेर+ उहाँ धर्मी हुनुभए तापनि पापीहरूको लागि मर्नुभयो।+ उहाँ मानिसको रूपमा मर्नुभयो+ तर अदृश्‍य व्यक्‍तिको रूपमा ब्युँताइनुभयो।+ १९ यस्तै रूपमा गएर उहाँले कैदमा परेका प्रेतहरूलाई* प्रचार गर्नुभयो,+ २० जसले नुहको दिनमा परमेश्‍वरले धैर्य गर्दै पर्खिरहनुभएको बेला उहाँको आज्ञा उल्लङ्‌घन गरेका थिए।+ त्यसबेला जहाज पनि निर्माण हुँदै थियो,+ जसभित्र पसेर केही मानिस अर्थात्‌ आठ जना* पानीबाट बचे।+

२१ यस घटनाले बप्तिस्मालाई सङ्‌केत गर्छ, जसले येसु ख्रिष्ट फेरि जीवित हुनुभएको कुराद्वारा अहिले तिमीहरूलाई बचाउँदै छ। (बप्तिस्माको अर्थ शरीरको मैला पखाल्नु होइन तर सफा अन्तस्करणको निम्ति+ परमेश्‍वरसित बिन्ती गर्नु हो।) २२ उहाँ परमेश्‍वरको दाहिने हाततर्फ हुनुहुन्छ+ किनकि उहाँ स्वर्ग गइसक्नुभयो अनि स्वर्गदूतहरू, अख्तियारहरू र शक्‍तिहरू उहाँकै अधीनमा राखिएका छन्‌।+

४ मानिसको रूपमा हुनुहुँदा ख्रिष्टले दुःख भोग्नुभएको हुनाले+ तिमीहरूले पनि उहाँको जस्तै मानसिक झुकाव* विकास गर किनकि जसले मानिसको रूपमा दुःख भोगेको हुन्छ, उसले पाप गर्न छोडेको हुन्छ+ २ ताकि उसले आफ्नो मानव जीवनको बाँकी समय मानिसहरूको अभिलाषा पूरा गर्न होइन+ तर परमेश्‍वरको इच्छा पूरा गर्न बिताउन सकोस्‌।+ ३ किनकि निर्लज्ज आचरण,* अनियन्त्रित कामवासना, अचाक्ली मद्यपान, भोजको अनियन्त्रित मोजमस्ती, मद्यपानको होडबाजी र घृणित मूर्तिपूजामा लागेर तिमीहरूले संसारका मानिसहरूको इच्छा पूरा गर्न+ जे-जति समय बितायौ, त्यो नै यथेष्ट छ।+ ४ तिमीहरूले तिनीहरूसित यस्तो दुराचारको मार्गमा हिँड्‌न छोडिदिएको हुनाले तिनीहरू चकित भएका छन्‌, त्यसैले तिमीहरूको विषयमा दुर्वचन बोल्छन्‌।+ ५ तर यी मानिसहरूले जिउँदा र मरेकाहरूको न्याय गर्न तयार हुनुभएकालाई+ लेखा दिनेछन्‌। ६ वास्तवमा मरेकाहरूलाई पनि यसैका लागि सुसमाचार घोषणा गरियो+ ताकि सबै मानिसलाई जस्तै तिनीहरूलाई पनि बाहिरी रूप हेरेर न्याय गरिएको भए तापनि परमेश्‍वरको नजरमा भने तिनीहरू उहाँको पवित्र शक्‍तिको निर्देशनअनुसार जिउन सकून्‌।

७ तर सबै कुराको अन्त नजिक आइपुगेको छ। त्यसैले सुझबुझ चलाओ+ र प्रार्थना गर्ने विषयमा सजग* भइरहो।+ ८ सबैभन्दा महत्त्वपूर्ण कुरा, आपसमा प्रगाढ प्रेम गर+ किनकि प्रेमले असङ्‌ख्य पापहरू ढाक्छ।+ ९ गनगन नगरी एकअर्काको अतिथि-सत्कार गर।+ १० तिमीहरू हरेकले परमेश्‍वरबाट वरदान पाएका छौ। त्यसैले विभिन्‍न तरिकामा प्रकट भएको परमेश्‍वरको असीम अनुग्रहको असल भण्डारेको रूपमा त्यो वरदान एकअर्काको सेवा गर्नमा चलाओ।+ ११ यदि कोही बोल्छ भने उसले परमेश्‍वरबाट आएको वचन बोलोस्‌ अनि यदि कसैले सेवा गर्छ भने उसले परमेश्‍वरले दिनुहुने बलमा भर पर्दै सेवा गरोस्‌+ ताकि येसु ख्रिष्टद्वारा सबै कुरामा परमेश्‍वरको महिमा होस्‌।+ महिमा र पराक्रम सदासर्वदा उहाँकै हुन्‌। आमिन।

१२ हे प्रियहरू हो, परीक्षाको जुन आगो तिमीहरूमाथि आइपरेको छ, आफूमाथि कुनै अनौठो घटना आइलागेजस्तो गरी यसमा अचम्म नमान।+ १३ बरु यस हदसम्म ख्रिष्टका दुःखहरूमा साझेदार हुन पाएकोमा रमाओ।+ त्यसो गऱ्‍यौ भने उहाँको महिमा प्रकट हुँदा तिमीहरू रमाउन र अत्यन्तै खुसी हुन सक्नेछौ।+ १४ ख्रिष्टको नामको खातिर तिमीहरूको बदनाम* भइरहेको छ भने तिमीहरू आनन्दित हौ+ किनकि परमेश्‍वरको पवित्र शक्‍ति र त्यसको महिमा तिमीहरूमाथि छ।

१५ तर तिमीहरू कसैले पनि हत्यारा, चोर, कुकर्मी वा अरूको निजी मामिलामा हात हाल्ने मानिसको रूपमा दुःख भोग्नु नपरोस्‌।+ १६ तर यदि कसैले ख्रिष्टियन भएको कारण दुःख भोग्छ भने उसले सरम नमानोस्‌+ तर ख्रिष्टियनको रूपमा जीवन बिताएर परमेश्‍वरको महिमा गरिरहोस्‌। १७ किनकि न्याय गर्न तोकिएको समय आइपुगेको छ र न्याय गर्ने काम परमेश्‍वरको घरानाबाटै सुरु हुनेछ।+ अब यदि यसको सुरुवात हामीबाटै हुन्छ+ भने परमेश्‍वरको सुसमाचारप्रति आज्ञाकारी नहुनेहरूको हालत के होला?+ १८ “यदि धर्मी मानिसको त बल्लतल्ल उद्धार हुन्छ भने भक्‍तिहीन र पापी मानिसको हालत झन्‌ के होला?”+ १९ त्यसकारण परमेश्‍वरको इच्छाअनुसार चलेको हुनाले ज-जसले दुःख भोगिरहेका छन्‌, तिनीहरूले असल काम गर्दै आफूलाई विश्‍वासयोग्य सृष्टिकर्ताको हातमा सुम्पिरहून्‌।+

५ त्यसकारण ख्रिष्टले भोग्नुभएका दुःखहरूको साक्षी, प्रकट हुन बाँकी रहेको महिमाको साझेदार+ र एक सङ्‌गी एल्डरको रूपमा म तिमीहरूमाझ भएका एल्डरहरूलाई* यो आग्रह गर्छु:* २ तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैँ हेरचाह गर,+ परमेश्‍वरसामु निरीक्षकको रूपमा सेवा गर,* करमा परेर होइन तर स्वेच्छाले;+ बेइमानीद्वारा धन कमाउने लोभले होइन+ तर तत्परतासाथ; ३ परमेश्‍वरको सम्पत्तिमाथि हैकम जमाएर होइन+ तर बगालको निम्ति उदाहरण भएर।+ ४ तब मुख्य गोठालो+ प्रकट हुनुभएपछि तिमीहरूले कहिल्यै नष्ट नहुने महिमित मुकुट पाउनेछौ।+

५ त्यसैगरि हे युवाहरू हो, आफूभन्दा पाकाहरूको* अधीनमा बस।+ तर तिमीहरू सबै एकअर्कासित व्यवहार गर्दा नम्र होओ* किनकि परमेश्‍वरले अहङ्‌कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।+

६ त्यसकारण परमेश्‍वरको बलवान्‌ बाहुलीमुनि आफूलाई नम्र बनाओ ताकि उहाँले आफ्नो समयमा तिमीहरूलाई उच्च पारून्‌।+ ७ त्यतिन्जेल तिमीहरूले आफ्नो सारा फिक्री* उहाँमाथि बिसाओ+ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।+ ८ सचेत रहो, जागा बस!+ तिमीहरूको शत्रु दियाबल कसलाई निलूँ भनेर गर्जने सिंहझैँ घुमेर हिँड्‌छ।+ ९ तर विश्‍वासमा दह्रो भएर त्यसविरुद्ध खडा होओ+ किनकि संसारभरिका तिमीहरूका सबै भाइले तिमीहरूले जस्तै दुःखकष्ट भोगिरहेका छन्‌ भनेर तिमीहरूलाई थाह छ।+ १० तर तिमीहरूले केही समय दुःख भोगिसकेपछि सबै असीम अनुग्रहका परमेश्‍वर, जसले तिमीहरू ख्रिष्टसित एकतामा भएको हुनाले तिमीहरूलाई आफ्नो अनन्त महिमाको लागि बोलाउनुभयो,+ उहाँ आफैले तिमीहरूको तालिम पूरा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई स्थिर बनाउनुहुनेछ,+ तिमीहरूलाई बलियो पार्नुहुनेछ+ र तिमीहरूलाई दह्रोगरि खडा गर्नुहुनेछ। ११ पराक्रम सदासर्वदा उहाँकै होस्‌। आमिन।

१२ तिमीहरूलाई प्रोत्साहन दिन अनि परमेश्‍वरको साँचो असीम अनुग्रह यही हो भनेर तिमीहरूलाई विश्‍वस्त पार्न भाइ सिल्भानस,*+ जसलाई म विश्‍वासयोग्य ठान्छु, तिनीमार्फत मैले तिमीहरूलाई केही शब्द लेखेको छु। तिमीहरू त्यस असीम अनुग्रहलाई बलियो गरी पक्रिराख। १३ तिमीहरूजस्तै चुनिएकी स्त्री, जो बेबिलोनमा छिन्‌, तिनले तिमीहरूलाई अभिवादन पठाएकी छिन्‌ अनि त्यसैगरि मेरो छोरा मर्कुसले+ पनि। १४ मायालु चुम्बनले एकअर्कालाई अभिवादन गर।

तिमीहरू सबै, जो ख्रिष्टसित एकतामा छौ, तिमीहरूलाई शान्ति होस्‌।

वा “पठाइएको जन।” ग्रीक भाषामा “अपोस्टोलस।”

वा “ढालिन।”

वा “आफ्नो परम्परास्वरूप।”

शा., “तिमीहरूलाई फिरौती तिरेर छुटाइएको छ।”

अर्थात्‌, फल फलाउन सक्ने बिउ।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “अनुभव गरिसकेका छौ।”

वा “परमेश्‍वरको पवित्र शक्‍तिद्वारा बनाइँदै गरेको घरको रूपमा।”

वा “तिमीहरूले परमेश्‍वरको पवित्र शक्‍तिको निर्देशनबमोजिम येसु ख्रिष्टमार्फत उहाँलाई स्वीकार्य बलिदान।”

शा., “सरममा पर्नेछैन।”

अर्थात्‌, उहाँका प्रशंसनीय गुण र कामहरू।

शा., “मुखमा मोहोलो लगाओ।”

वा “बहाना।”

वा “पीडा।”

वा “गाली।”

वा “गाली।”

वा “रूखमा।”

वा “आ-आफ्नी पत्नीको अवस्था बुझेर।”

वा “विचारमा एक होओ।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा सम्भवतः “तिनीहरूको धम्कीसित नडराओ।”

वा “दुष्ट स्वर्गदूतहरूलाई।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

वा “अठोट; सङ्‌कल्प।”

वा “छाडा आचरण।” ग्रीक भाषामा असेल्गिया। शब्दावलीमा “निर्लज्ज आचरण” हेर्नुहोस्‌।

वा “सचेत; जागा।”

वा “अपमान।”

शब्दावली हेर्नुहोस्‌।

वा “अर्ती दिन्छु।”

वा “बगालको राम्ररी हेरचाह गर।”

वा “एल्डरहरूको।”

वा “नम्रताको पोसाक लगाओ।”

वा “चिन्ता।”

तिनलाई सिलास पनि भनिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने