संसारका होइनन्?
जर्मनीका ब्यूँझनुहोस्! सम्वाददाताबाट
“जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्।” (यूहन्ना १७:१६) राजनैतिक गतिविधीहरूमा आफ्ना अनुयायीहरूको पूर्ण तटस्थताबारे येशूले यी शब्दहरूमा वर्णन गर्नुभयो। मसीही भनौंदाहरूले के यो स्तर कायम राखेका छन्?
सन् १९९० मा विघटन नहोउञ्जेल कम्युनिष्ट सरकारद्वारा संचालित पहिलेको गणतन्त्र जर्मनीसित (जीडीआर) मसीहीजगतको सलंग्नताबारे प्रेसको निम्न टिप्पणीलाई विचार गर्नुहोस्।
• “थोरै समयको लागि भए तापनि शान्तीपूर्ण क्रान्तिको आमा कहलिएर त्यसको महिमामा आनन्दसित बसिरहेको जीडीआरको लुथरन चर्चको ख्याती हाल द्रुत गतिले खस्किंदै गएको जस्तो देखिन्छ। धेरैको नजरमा यो सरकारको मेरूदण्ड र स्टासी (स्टेट सिक्योरिटी सर्भिस) को जगको रूपमा देखिएको छ।”—डी जाइट, नोभेम्बर १९९१.
• “स्टासीसित चर्चका कार्यकर्त्ता तथा त्यस क्षेत्रका बासिन्दाहरूको सलंग्नताप्रति भिन्दाभिन्दै प्रान्तका लुथरन चर्चहरूले आश्चर्य प्रकट गरेका छन्।”— इभान्जलिश कोमेन्तार, जनवरी १९९१.
• “राजनीतिमा बढी सक्रिय भएकोले पादरीहरूले आफ्ना मानिसहरूलाई त्यति ध्यान दिन नसकेको गुनासो [लुथरन] चर्चका नेताहरूले सुनिरहेका छन्।”—स्युडोइच् जाइतूङ्, फेब्रुअरी १९९०.
• “दुई जर्मनी प्रान्तहरूको राजनैतिक सम्बन्धमा [लुथरन] चर्चले सधैं मदतकारी भूमिका खेलेको छ भनी [गणतन्त्र जर्मनीका भूतपूर्व राष्ट्रपति] भाइट्सजेकरले भने।”—भेतेरऊ जाइतूङ्, फेब्रुअरी १९९२.
लुथरन चर्च मात्र राजनैतिमा लागेको थिएन। “झण्डै चर्चको प्रत्येक [प्रोटेस्टेन्ट] सङ्गठनलाई स्टासीका एजेन्टहरूले अतिक्रमण गरेका थिए” भनी दि युरोपियन रिपोर्ट गर्छ। “कम्युनिष्ट अख्तियारवालाहरूसित मिलोमतो गर्ने प्रोटेस्टेन्ट चर्चका नेता” भनी दि युरोपियनले सम्बोधन गरेको मनफ्रेट श्टोल्पले आफ्नो बचाउमा यसो भने: “हाम्रो गतिविधी अघि बढ्ने हो भने, दियाबलसित हात मिलाउन समेत म पछि हट्ने थिइनँ।”
लण्डनबाट प्रकाशित हुने गार्डियनले इटालीका पादरीहरू र माफियाबीचको घनिष्ठ सम्बन्धबारे यसरी रिपोर्ट गर्छ: “चर्च र कोसा नोस्त्राबीच निकै समयदेखिको शान्तिपूर्ण उठबासले गर्दा अपराध कार्यमा सहभागी भएको आरोप चर्चमाथि बारम्बार आइपरेको छ।”
पहिलेको केजीबी र रुसका केही रुढीवादी पादरीहरूबीचको सम्बन्धबारे टोरोन्टो स्टारले एउटा लेख प्रकाशित गरेको थियो। रिपोर्ट यसो भन्छ: “चर्चले कम्युनिष्ट सरकारलाई दिएको सहयोग प्रकाशमा आउँदा त्यसले निकै ठूलो आघात पुऱ्यायो। . . . चर्चका उच्च पदाधिकारीहरूले आफ्ना सिद्धान्तहरू मात्र उलङ्घन गरेनन् तर विदेशमा रहेका धार्मिक नेताहरूलाई समेत जोखिममा पार्न इच्छुक थिए भनेर . . . केजीबीको अभिलेखमा रहेको सामग्रीहरूले औंल्याउँछ।”
मसीहीजगतका चर्चहरू राजनीतिमै सलंग्न भए तापनि संसारको भाग नहुनू भनी येशूले गर्नु भएको बन्देजलाई साँचो मसीहीहरू मान्छन्। (g95 01/08)