“धूम्रपान दुर्गन्धपूर्ण छ”
हालसालै क्यालिर्फोनिया डिपार्टमेन्ट अफ हेल्थ सर्भिसेजले धूम्रपान विरूद्ध सचेत पार्ने खालका शैक्षिक अभियानहरू चलाए। छोटो तर स्पष्ट सन्देश भएका विज्ञापनहरू प्रान्तभरि देखिए। तीमध्ये केही सूचनाहरू के के थिए? “धूम्रपान गर्नेहरू लग्गू हुन्। सुर्ती कम्पनीहरू अवैध लागू पदार्थ बिक्रेताहरू हुन्। धूम्रपान दुर्गन्धपूर्ण छ।” “चुरोटको धूवाँले गर्दा धूम्रपान नगर्ने ५०,००० व्यक्तिहरूले यस वर्ष अकालैमा ज्यान गुमाउनेछन्। धूम्रपान दुर्गन्धपूर्ण छ।” अर्को विज्ञापनमा चुरोटको प्याकेट मुन्तिर यस्तो लेखिएको छ: “अहिले किन्नोस्। पछि तिर्नोस्।” पक्कै आफ्नो जीवन गुमाएर। एउटा स्पेनिश प्रान्तको संकेतले यसो भन्छ: “मे मुएरो पोर फुमार।” यो शब्द क्रीडालाई यसरी पढ्न सकिन्छ, “चुरोट पिउन नपाएर मर्नै लागें” वा “चुरोट सेवन गर्नाले म मर्दैछु।” आधा खोपडी र आधा अनुहारले यस विचारलाई प्रष्ट्याउँछ।
सुर्ती र निकोटिन सेवनबाट मानिसहरूलाई हतोत्साही पार्न प्रयोग गरिएका विभिन्न तरिकाहरूमध्ये “मृत्यु” नाम भएको चुरोट पनि एक हो। यो कालो प्याकेटमा खतरा चिह्न र यस्तो सूचना हुन्छ: “धूम्रपानले लग्गू र दुर्बल बनाउँछ। चुरोट सेवन गर्नु भएको छैन भने, नगर्नुहोस्। छ भने, छोड्नुहोस्।”
यस्ता आघात पार्ने विज्ञापनहरूले धूम्रपान गर्नेहरूलाई केही असर गऱ्यो वा गरेन त्यो भन्न कठीन छ। यद्यपि, बिगत छ वर्षदेखि क्यालिर्फोनियामा सुर्तीको प्रयोग २७ प्रतिशतले, अर्थात अधिराज्यभरिको औसतभन्दा तीन गुना खस्केको छ।” यो पोष्टर अभियानले धूम्रपान गर्न लागेकाहरूलाई समेत यस खतरापूर्ण कुलतबाट जोगाउँछ होला। निस्सन्देह, मसीही हुँ भनेर दावा गर्नेहरूले यस्तो अशुद्ध र स्वार्थी दुर्व्यसनबाट अलग्गै बस्नुपर्छ। प्रेरित पावलले लेखे: “यसकारण ए प्रिय हो, यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं, औ परमश्वरको डर राखेर पवित्रतालाई सिद्ध पारौं।”—२ कोरिन्थी ७:१. (g95 01/08)