मातृ वात्सल्य
ऊघरबारविहीन छोटो रौं भएकी नाउँ नभएकी बिरालो थिई। आफ्ना पाँच न्याउराहरूसित इस्ट न्यु योर्कको घटिया सडकमा बाँच्न संघर्षरत थिई। उसले एउटा भत्कनै लागेको र आगलागीको खतरा भएको ग्यारेजमा आफ्नो घर बनाएकी थिई। हुर्किरहेका न्याउराहरूलाई पोस्न खानेकुराको टुक्राटाक्री खोज्न ऊ टोलछिमेकमा फोहर खोतल्थी।
तर मार्च २९, १९९६ को बिहान ६:०६ बजे परिस्थिति अदलबदल हुनै लागेको थियो। शंकास्पद ढंगमा ग्यारेज आगोको चपेटामा परेर दनदन दन्कन थाल्यो। बिरालोको घरलाई पनि आगोको मुस्लोले भेट्यो। ल्याडर कम्पनी १७५ आइपुग्यो र तत्कालै दन्केको आगो निभायो। आगो नियन्त्रकहरूमध्ये एक जना डेविड झानेलीले न्याउराहरूको रोदन सुने। तिनले भवनको ठीक बाहिर तीनवटा न्याउराहरू, अर्को चाहिं सडकभन्दा तीन चौथाई पर अनि पाँचौं चाहिं पेटीमा भेट्टाए। ती न्याउराहरू आफै भाग्न नसक्ने अवस्थामा अर्थात् निकै साना भएको झानेलीले देखे। पालैसित ती न्याउराहरूलाई माउ बिरालोले उद्धार गरेकी हुँदा आफ्नो पालो पर्खनु परेकोले प्रत्येक न्याउराहरू कोही धेरै त कोही थोरै जलेका थिए।
अप्रिल ७, १९९६ को न्यु योर्क डेली न्युज-मा माउ बिरालोको ठेगाना र मायालु हेरचाहबारे यस्तो विवरण दिइएको थियो: “झानेलीले नजीकैको खाली ठाउँमा पीडाले गर्दा बेहोश भएकी माउलाई भेट्टाए। र यो देखेर तिनी दुःखित भए। धुवाँले गर्दा माउको पटल सुन्निएर आँखा नै खोल्न नसक्ने भएको थियो। उसका पञ्जाहरू नराम्रोसित जलेका थिए। आगोले जलेको उसको अनुहार, कान तथा खुट्टाहरूमा डरलाग्दा दागहरू थिए। झानेलीले एउटा गत्ताको बाकस भेट्टाए। तिनले माउ बिरालो र न्याउराहरूलाई सुस्तरी त्यसमा राखे। झानेलीले भने, ‘ऊ आँखा खोल्नसमेत सक्दिन थिई। तर आफ्ना न्याउराहरूलाई भने एक एक गरी पञ्जाले छुँदै गन्थी।’”
उनीहरू नर्थ शोर एनिमल लिगमा आइपुग्दा अवस्था निकै चिन्ताजनक भइसकेको थियो। विवरणले अझै यसो भन्यो: “मानसिक प्रघातसित जुझ्न औषधीहरू प्रयोग गरिए। प्रतिजैविकीहरूले भरिएको ट्युब झुण्ड्याएर त्यस साहसी बिरालोको नशामा पठाइएको थियो। पोलेका ठाउँहरूमा बिस्तारै प्रतिजैविकी मलमहरू लगाइएका थिए। श्वासप्रश्वास सजिलो होस् भन्ने हेतुले उसलाई अक्सिजनले भरिएको बाकसमा राखिएको थियो भने त्यतिखेरै एनिमल लिगका सम्पूर्ण कर्मचारीहरू अब के होला भनी मानौं सासै रोकेर पर्खिरहेका थिए। अठ्चालीस घण्टाभित्रै त्यस आँटिलो बिरालो बिउँझी। उसको सुन्निएको आँखा खुल्यो अनि उसको आँखामा कुनै खराबी नभएको चिकित्सकहरूले पत्ता लगाए।”
पर्खनुहोस् र यसो विचार गर्नुहोस्। आगोदेखि डराउने स्वभाव भएकी त्यस साहसी माउ आफ्ना रोइरहेका बच्चाहरूलाई बचाउन धुवैधुवाँले भरिएको र हुरहुर दन्किरहेको त्यो भवनमा पसेको दृश्य मनमनै कल्पना गर्नुहोस्। आफ्ना साना निस्सहाय न्याउराहरूलाई भित्र पसेर एकैचोटि बाहिर निकाल्नु असम्भव हुनेथियो। तर पाँच पाँच पटक भित्र पस्दै न्याउराहरूलाई निकाल्नु र भित्रबाहिर गर्दा खुट्टा र अनुहार झन् झन् पोल्नु, त्यो त कल्पनै गर्न सकिन्न! त्यस हिकमती जनावरको नाउँ स्कारलेट राखियो। किनकि आगोले पोलेको छाला निक्खुर रातो वा रातो देखिएको थियो।
नर्थ शोर एनिमल लिगले मातृ वात्सल्यको यो हृदयस्पर्शी कथा संसारभरि प्रकाशित गर्दा त्यहाँ फोनको घण्टी निरन्तर घन्कन थाल्यो। जापान, नेदरल्याण्डस् र दक्षिण अफ्रिकाजस्ता टाढाबाट पनि ६,००० भन्दा धेरै मानिसहरूले स्कारलेटको हालखबरबारे जानकारी प्राप्त गर्न चाहे। पन्ध्र सय व्यक्तिहरूले त स्कारलेट र उसका हुर्कंदै गरेका न्याउराहरूलाई पाल्ने प्रस्ताव राखे। एउटा न्याउरो पछि मऱ्यो।
स्कारलेटले विश्वभरिका मानिसहरूको हृदय द्रवित पारेकी छे। स्कारलेटको मातृ वात्सल्यको उदाहरणबाट आज आफ्ना बच्चाहरू गर्भमै तुहाउने वा दुर्व्यवहार गरेर जन्मने बित्तिकै मार्ने करोडौं आमाहरू किन प्रभावित नभएका होलान् भनेर तपाईं छक्क पर्नुहुन्छ होला।
[पृष्ठ २७-मा भएको चित्रको स्रोत]
North Shore Animal League