पाठकहरूका प्रतिक्रिया
सन्तुलन “परमेश्वरद्वारा सन्तुलनको उपहार” (अप्रिल-जून, १९९६) लेख पढिसकेपछि म तपाईंहरूलाई धन्यवाद नदिई बस्नै सकिनँ। हाल म श्रवणविज्ञान पढ्दैछु र ब्यूँझनुहोस्!-को यो लेखमा भए जत्ति सरल तथा पूर्ण जानकारी त मेरो पाठ्यपुस्तकमा पनि पाइनँ। कानको चित्र पनि उत्कृष्ट थियो।
जे. पि. ए., ब्राजिल
छाडा व्यवहारको कारण हैरान “जब छाडा व्यवहारबाट हैरान हुनुपर्नेछैन!” (जून ८, १९९६) (अंग्रेजी) श्रृंखला लेखहरूका लागि धन्यवाद। यो पत्रिका अरूलाई पनि दिएँ। विशेषगरि यसरी हैरान पार्नेहरूदेखि कसरी बच्ने र हैरान गर्दा के गर्ने भन्ने सुझाउहरूका लागि धेरैजसो महिलाहरूले आभार व्यक्त गरेको पाएँ। केही हप्ताअघि मात्र काम गर्ने ठाउँमा मलाई अरूले यौन दुर्व्यवहार गरेको थियो। मैले त्यसबारे प्रहरीलाई खबर गरें। त्यसो गरेको हुँदा मैले स्याबासी पाएँ।
नाउँ गोप्य राखिएको छ, जर्मनी
लेखहरूका लागि म निकै कृतज्ञ छु। म अहिले कक्षा ११ मा पढ्दैछु र यसरी हैरान हुनु परेको भए तापनि मैले त्यसबारे कसैलाई बताएकी थिइनँ। तर यी लेखहरू पढेपछि आमाबाबु र शिक्षकशिक्षिकाहरूलाई त्यसबारे निर्धक्कतासाथ बताउने प्रोत्साहन पाएँ। छाडा व्यवहार गरेर हैरान पार्नेहरूलाई कस्तो जवाफ दिनुपर्छ, अहिले त्यो गर्न सकेकी छु।
के. वाइ., जापान
म २१ वर्षकी सेक्रेटरी हुँ र हालै हाकिमको छाडा व्यवहारले गर्दा म हैरान भएकी थिएँ। तिनलाई कसरी जवाफ दिनु उचित होला भनेर विचार गरिरहेकै बेला ब्यूँझनुहोस्!-को (अंग्रेजी) यो अंक पाएँ। मैले यस पत्रिकाको एक प्रति हाकिमलाई पनि दिएँ र तिनले त्यो पढे। पढिसकेपछि तिनले मसित माफी मागे र आइन्दा त्यस्तो व्यवहार नगर्ने वचन दिए।
डी. एन. आइ., नाइजेरिया
यस्तो महत्त्वपूर्ण जानकारीका लागि म तपाईंहरूको सराहना गर्छु तर तपाईंहरूको पत्रिकामा भएको तस्बिरमा लोग्नेमानिसहरूले मात्रै हैरान पारेको देखाइएको छ। यसरी त तपाईंहरूले सरासर पक्षपात गरेजस्तो देखियो नि।
एच. टी., संयुक्त राज्य
धेरैजसो अनुसन्धानकर्ताअनुसार छाडा व्यवहारबाट हैरान हुनेहरूमध्ये महिलाहरू नै बढी पाइएको छ। तैपनि ती लेखहरूमा केही खास उदाहरणहरू दिंदै पुरुषहरू पनि छाडा व्यवहारको कारण हैरान हुनुपरेको बताइएको छ।—स.
यस विषयसित सम्बन्धित अधिकांश लेखहरूले आत्मरक्षाको लागि महिलाहरूले के गर्नुपर्छ, त्यो मात्र बताएको हुन्छ तर लोग्नेमानिसहरूलाई महिलाहरूको आदर गर्ने तरिका सिकाउँदैन। तर जे होस्, हैरान पार्नेहरू नै भएनन् भने हैरान हुनुपर्नेहरू पनि त हुँदैनन्। तपाईंहरूले “पुरुषहरूले देखाउनुपर्ने उचित आचरण” भन्ने विषयमा पनि छलफल गर्नुभएको थियो। त्यसको लागि तपाईंहरू प्रशंसाको योग्य हुनुहुन्छ।
ओ. च., ताइवान
मित्रता “युवा जनहरू सोध्छन् . . . म किन मित्रहरू बनाउन सक्दिनँ? (मे २२, १९९६) (अंग्रेजी) लेखको लागि तपाईंहरूलाई हृदयदेखि नै धन्यवाद। यो लेखले मलाई कत्ति मदत गऱ्यो, तपाईंहरू अनुमान लगाउन सक्नुहुन्न। समस्याहरूका बावजूद चिरकालीन मित्रता गाँस्न सकिन्छ भनेर त्यस लेखबाट सिकें। ठाकठुक पर्दा समयमै नसुल्झाएकोले कहिलेकाहीं हामी मित्रहरू गुमाउँछौं। यो लेखले ठाकठुक पर्दा समयमै नसुल्झाउने मेरो नराम्रो बानीलाई सुधार्न मदत गऱ्यो।
ए. एम. पी., ब्राजिल
चाहिएकै बेला यो लेख पाएँ। तीन महिनाअघि मेरो एकदम मिल्ने सँगिनी र मेरो खटपट सुरु भएको थियो। हाम्रो बोलचालै बन्द भइसकेको थियो। यो लेख पाएपछि हामी दुवैले पढ्यौं र हामी त मूर्खले जस्तै व्यवहार गरिरहेका रहेछौं भनेर बुझ्यौं। आपसी छलफलपछि भएभरको मनमुटाउ सुल्झायौं। अहिले हाम्रो मित्रता पहिलेको भन्दा घनिष्ठ भएको छ।
एन. टी., इटाली