छोराछोरीसित बिछोडिनुको पीडा
“पहिलो बच्चा जन्मेकै दिनमा मेरो श्रीमान्ले मलाई भन्नुभएको थियो—‘प्रिय, छोराछोरीहरू हुर्काउनु भनेको अन्तमा गएर तिनीहरूसित बिछोड हुन तयारी गर्नु हो।’ ”—“हामी तथा हाम्रा बालबच्चा—आमाबाबुद्वारा आमाबाबुकै लागि लेखिएको पुस्तक।” (अंग्रेजी)
प्रायजसो आमाबाबु आफ्नो पहिलो बच्चा जन्मँदा अत्यन्तै खुसी र दंगदास हुन्छन्। आमाबाबु बनेपछि आइपर्ने अनेकन् असुविधा, समस्या, पीडा, हतोत्साह तथा चिन्ताको बावजूद छोराछोरीहरू ठूलो आनन्दको स्रोत हुनसक्छन्। लगभग ३,००० वर्षअघि बाइबलमा यसो भनिएको थियो: “छोराछोरीहरू प्रभुका वरदान हुन्; तिनीहरू साँच्चै आशिष् हुन्।”—भजन १२७:३, टुडेज इंग्लिश भर्सन।
तर जे होस्, बाइबलले यो विचारणीय कुरा पनि पहिल्यै बताएको थियो: “मानिसले आफ्ना आमा-बाबुलाई छोड़छ।” (उत्पत्ति २:२४) हुर्किसकेका छोराछोरीहरू विभिन्न कारणले प्रायजसो घर छोडेर जान्छन्। जस्तै—उच्च शिक्षा हासिल गर्न वा पेशामा लाग्न, मसीही सेवकाई विस्तार गर्न वा विवाह गर्न। तर कोही कोही आमाबाबुलाई यो कुरा असह्य हुन्छ। छोराछोरीहरूले स्वतन्त्रता खोज्ने स्वाभाविक चाहना देखाउँदा तिनीहरू “आफ्नो अपमान भएजस्तो ठान्छन्, रिसाउँछन्, असजिलो मान्छन्, धम्की दिएजस्तो वा तिरस्कृत भएको महसुस गर्छन्” भनी एक लेखिकाले बताइन्। फलस्वरूप कहिल्यै टुंगो नलाग्ने पारिवारिक कलह र तनाउको सुरुआत हुन्छ। आफ्ना छोराछोरीले कुनै दिन घर छोडेर जानेछन् भन्ने कुरा पत्यार नलाग्दा कोही कोही आमाबाबु छोराछोरीलाई वयस्क जीवनको लागि तयार पार्न असक्षम हुन्छन्। त्यसको परिणाम खतरनाक हुनसक्छ: छोराछोरी घरजम गर्न, परिवारको हेरचाह गर्न वा जागिरमा मन लगाएर काम गर्न नसक्ने वयस्कहरू बन्नसक्छन्।
आमा या बुबा मात्र भएको एकल परिवारमा यस्तो बिछोडको पीडा विशेषगरि असह्य हुनसक्छ। त्यस्तै परिवारकी करेन यसो भन्छिन्: “म र मेरी छोरी असाध्यै घनिष्ठ छौं; हामी दुइबीच प्रगाढ मित्रता छ। म जहाँ गए पनि उसलाई सँगै लैजान्थें।” एकल परिवारहरूमा आमा या बुबा र बच्चाबीच यस्तो आत्मीय सम्बन्ध हुनु सामान्य कुरा हो। हो, त्यस्तो आत्मीयता गुमाउनु पर्ने सोचाइ मात्र पनि असह्य हुनसक्छ।
तथापि, स्वास्थ्यकर परिवारको चिनारी (अंग्रेजी) पुस्तक आमाबाबुहरूलाई यसरी सम्झाउँछ: “पारिवारिक जीवन भनेको नै यही हो: अरूमा निर्भर शिशुलाई लालनपालन गरेर आत्मनिर्भर वयस्क बनाउनु।” अझ यस्तो चेताउनी दिन्छ: “आमाबाबुले छोराछोरीलाई सधैं आफ्नो नियन्त्रणमा राख्न खोज्दा थुप्रै समस्याहरू खडा हुन्छन्।”
तपाईं नि? के तपाईं आमा या बुबा हुनुहुन्छ? हुनुहुन्छ भने तपाईंको छोराछोरी पनि कुनै दिन घर छोडेर जानेछन् भन्ने यथार्थ स्वीकार्न के तपाईं तयार हुनुहुन्छ? तपाईंका छोराछोरीहरू नि? के तपाईं तिनीहरूलाई आत्मनिर्भर वयस्क बनाउन तयार पार्दै हुनुहुन्छ?